पंजुलाल गुरुङलाई हार्दिक श्रद्धाञ्जली
….
शिलाङका पंजुलाल गुरुङको सम्झनामा
दिल साहनी, बुटवल, नेपाल
मलाई मेरा मित्र धर्मलाल भुसालले फोन गर्दै भने शिलाङका पंजुलाल गुरुङको मृत्यु भएछ। सय वर्ष काटिसकेका पंजुलाल गुरुङको मृत्यु भएछ। उनलाई यो कुरा शिलाङका तुल्सीराम फुल्लेलले सुनाएछन्। तुल्सीराम फुल्लेल अर्घाखाँचीका युवक हुन्। उनका बुबाले शिलाङ कलेजमा काम गर्दथे। यसैले उनी पनि उतै जागीरे भएका छन्। शिलाङमा पंजुलाल गुरुङको मृत्यु हामी सबैको लागि निकै दुखद कुरो हो। हालै शिलाङ नजिक नयाँ बंगलाका शिक्षकको रूपमा कार्यरत भई अवकाश प्राप्त गरेका व्यंग्यकवि तथा लेखक बलराम पोखरेलले मसितको बुटवलको भेटघाटमा भनेका थिए हामीले शिलाङको मोप्रेममा पुगी पंजुलाल गुरुङलाई भेटेका थियौं। 100 वर्ष काटिसकेका पंजुलाल गुरुङ हिंडडुल गर्न सक्दैनन्। ओछ्यानमा परेका छन्। तर बोली भने बुलन्द छ, टाठो छ, चर्को छ, वजनदार छ; पहिलाको जस्तो वजनदार। शताब्दीपुरूष श्री पंजुलाल गुरूङलाई उनको 100 वर्षगाँठको उपलक्ष्यमा नेपाली साहित्य परिषद्- शिलाङका सचिव प्रा. नरबहादुर राईको नेतृत्वमा परिषद्का सदस्यहरू श्री तुल्सीराम फुल्लेल, श्री राम शाह एवं श्री होमलाल जोशीद्वारा संवर्धना गरिएको समाचार सुन्न पाउँदा म अत्यन्त हर्षित पनि भएको थिएँ। उनको जन्म गुवाहाटी आसाममा 22 अगस्त 1917 (वि.सं. 7 भाद्र 1976) मा भएको हो।
मेरो पंजुलाल गुरुङसित भेटघाट नभएको 4 दशकभन्दा बढी भयो होला? बीचमा हामीबीच चिठी-पत्र चल्दथ्यो। उनले लेखेको एउटा चिठी मसित अझै सुरक्षित छ। यो ऐतिहासिक दस्तावेज बन्न सक्दछ। म सोच्दछु पंजुलाल गुरुङसित लामो समयसम्म भेटघाट हुन नसक्नाले मैले धेरै कुरा गुमाएको छु। मलाई लाग्दछ पंजुलाल गुरुङ अनुभव र ज्ञानका खानी थिए, नेपाली समाजका ठूला सम्पति थिए।
केही वर्षअघि भैरहवाका गजलकार बुँद राना घुम्दै फिर्दै शिलाङ पुगेका थिए। उनले पंजुलाल गुरुङलाई आफूले लेखेका गजल सुनाएका रहेछन्। बुँद रानाका गजल सुनेर पंजुलाल गुरुङ निकै प्रभावित भएका रहेछन्। पंजुलाल गुरूङले बुँद रानाको उर्दू भाषामा दखल देखेर उनको निकै तारीफ गरेका रहेछन्।
मेरा मित्र दुर्गा अधिकारी शिलाङ जाँदा मैले पंजुलाल गुरुङका बारेमा लेखेको साप्ताहिक समकालीनमा प्रकाशित लेख उनलाई भेटेर दिनुहोला भनेको थिएँ। त्यही भेटको सन्दर्भमा दुर्गा अधिकारीले मणिसिंह गुरुङको बारेमा जानकारी लिंदै जाँदा उनी खुदै पंजुलाल गुरूङबाट निकै प्रभावित भएका रहेछन्। पंजुलाल गुरुङबाट मणिसिंह गुरुङका बारेमा धेरै कुरा बुझेपछि दुर्गा अधिकारीले बाबु मणिसिंह गुरुङका बारेमा पुस्तक नै लेखे, जसलाई साझा प्रकाशनले प्रकाशित गरेको थियो।
पंजुलाल गुरुङ मणिसिंह गुरुङका ज्वाईँ हुन्। छोरी ज्वाईँ। यो कुरा बेग्लै हो कि मणिसिंह गुरुङ आजीवन अविवाहित रहे। पंजुलाल गुरुङले मणिसिंह गुरुङको भाइकी छोरी बिवाह गरेका हुन्।
मणिसिंह गुरुङको पुर्ख्यौली घर अर्घाखाँची र गुल्मीको सिमाना धुरकोट नजिक पर्ने सिरसेनीमा भए पनि उनी मणिपुरमा जन्मेका र शिलाङमा बसोबास गरेका हुन्। मणिसिंह गुरुङ आसामका प्रथम बी.ए. हुन्। उनले कोलकत्ताबाट सन् 1815 मा बी.ए. उत्तीर्ण गरेका थिए। उनी नेपालका प्रथम प्रधान न्यायाधीश हरिप्रसाद प्रधानका सहपाठी थिए। उनी शिलाङबाट कलकत्तामा अध्ययन गर्न जादाँ शिलाङ-गुवाहाटी सडक निर्माण भइनसकेकोले ब्रिटिश प्रशासनले उनको लागि बग्गीको व्यवस्था गरिदिएको रहेछ। यो कुरा मैले पंजुलाल गुरुङबाट थाहा पाएको हुँ। शिलाङमा सामाजिक र राजनैतिक जीवन व्यतीत गरेका मणिसिंह गुरुङको पहलमा आजभन्दा सय वर्ष अघि स्थापित गरिएको शिलाङको प्रथम गोर्खा पाठशाला यति बेला हाइर सेकेण्ड्री स्कूल भइसक्यो। मणिसिंह गुरूङ आसामका प्रथम नेपाली पत्रकार पनि हुन्। उनले सन् 1936 मा “गोर्खा सेवक’ साप्ताहिक पत्रिकाको सम्पादन गरेका थिए।
पंजुलाल गुरूङ मणिसिंह गुरूङका ज्वाईँ भएको कारणले पनि होला उनीसित मणिसिंह गुरुङको सम्बन्धमा धेरै तथ्य उपलब्ध थिए। यी तथ्यको सहयोगमा दुर्गा अधिकारीलाई बाबु मणिसिंह गुरुङको योगदानको बारेमा पुस्तक लेख्न सजिलो भयो। दुर्गा अधिकारी भन्छन्- पंजुलाल गुरुङसितको भेटले नै उनलाई मणिसिंह गुरुङको बारेमा पुस्तक लेख्न उत्साहित गऱ्यो, प्रेरणा दियो, जाँगर चल्यो।
प्रसंग कुरो मणिसिंह गुरुङको उठे पनि यहाँ मैले चर्चा गर्न खोजेका व्यक्ति हुन् पंजुलाल गुरुङ। जस्तो कि मैले माथि चर्चा गरें, जसको हालै 100 वर्ष भन्दा बढी उमेरमा पुगेर मृत्यु भयो।
शिलाङमा रहँदा, बस्दा मैले त्यहाँका लगभग सबै नेपालीलाई चिन्दथें भन्दा पनि हुन्थ्यो। बाटोघाटोमा हिंड्दा मेरो पंजुलाल गुरुङसित धेरैपल्ट भेट भएको होला? फेरि म पनि केही वर्ष मोप्रेम पंजुलाल गुरुङको घरको नजीक बसेको हुँदा उनीसित मेरो भेट हुने अवसर मिलेको पनि हुँदो हो। तथापि उनीसित मेरो देखभेट र कुराकानी भएको मलाई थाहा थिएन। थाहा छैन।
त्यतिबेला हामीले नै 26 जनवरी 1969 मा स्थापना गरेको नेपाली साहित्य परिषद् शिलाङको प्रो. गोपीनारायण प्रधान अध्यक्ष थिए। म दिल साहनी सचिव थिएँ। हामी परिषद्को मुखपत्रको रूपमा मादल पत्रिकाको सम्पादन गर्दथ्यौं। नेपाली साहित्य परिषद् शिलाङले बेलाबखतमा विविध प्रकारका साहित्यक कार्यक्रमको आयोजना गर्दथ्यो। यसै सिलसिलामा 25 जनवरी 1970 मा साहित्य परिषद्ले गोर्खा पाठशालाको प्राङ्गणमा एउटा साहित्यिक कार्यक्रमको आयोजना गरेको थियो। त्यस कार्यक्रममा प्रा. गोपीनारायण प्रधानको विशेष निमन्त्रणामा पंजुलाल गुरुङ उपस्थित भएका थिए। उनले प्रा. गोपीनारायण प्रधानकै आग्रहमा नेपाली भाषामा उर्दू भाषाको प्रभाव शीर्षक माथि एउटा लामो प्रवचन दिएका थिए। व्याख्या विश्लेषण गरेका थिए। मेरो पंजुलाल गुरुङ बारे खासै कुनै जानकारी नभएको हुनाले मलाई यी लाहुरेले नेपाली भाषामा उर्दु भाषाको प्रभावको बारेमा के गहिरो कुरा गर्न सक्लान् जस्तो लागेको थियो। तर पछि उर्दू भाषाको नेपाली भाषामा प्रभाव बारेमा उनको व्याख्या विश्लेषण वा चर्चा सुनेर म निकै प्रभावित भएँ। म उनको यस विषयको चर्चामा मुख्यतः दुइ कुराले बढ़ी प्रभावित भएँ। पहिलो कुरा उनले नेपाली भाषामा प्रचूर मात्रामा ठेट नेपाली शब्दको प्रयोग गर्दै बोले। दोस्रो कुरा, उनले नेपाली भाषामा प्रयोग भएका यति धेरै उर्दू शब्दको चर्चा गरे, जसको परिकल्पना पनि हामीले नगरेका हुन सक्छौं। यसै प्रसंगमा उनले भानुभक्तले रामायणमा खिल्लत जस्तो उर्दू शब्द प्रयोग गरेकोमा उनको निकै तारीफ गरेका छन्। उनले भनेका थिए – भानुभक्तमा पनि उर्दू भाषाको गहिरो प्रभाव रहेको थियो। जे होस्, त्यस दिन साहित्य परिषद्को कार्यक्रममा पंजुलाल गुरुङले नेपाली भाषामा उर्दू भाषाको प्रभाव सम्बन्धमा वजनदार र दमदार चर्चा गरेपछि म उनीप्रति धेरै आकर्षित भएँ। म उनको नाली-बेली खोज्नपट्टि लागें।
मैले त्यतिबेला शिलाङमा उनको अन्तर्वार्ता पनि लिएको थिएँ। तर त्यसलाई मैले प्रकाशित भने गरिनँ। ठीक त्यसरी नै जसरी मैले दार्जीलिङमा तेनजिङ शेर्पाको अन्तर्वार्ता लिएको भए पनि प्रकाशित गरिनँ। मैले लिएको अन्तर्वार्ताका कुरा मेरै एक मित्रले भने प्रकाशित गरेका थिए।
मैले पंजुलाल गुरुङसित लिएको अन्तर्वार्ता प्रकाशित नगरे पनि उनले त्यतिबेला मलाई बताएका धेरै कुरा अझ पनि मेरा स्मृतिपटलमा नाचिरहेका छन्, सूचीकृत भएर बसेका छन्। अन्तर्वार्तामा मैले उनलाई प्रश्न गरेको थिएँ – उनले उर्दू भाषाको ज्ञान कसरी प्राप्त गरे? जवाफमा उनले मलाई बताएका थिए उनी सानामा गुवाहाटीमा बस्दथे, पढ्दथे। त्यतिबेला उनको संगत मुस्लिम साथीहरूसित भयो। मुस्लिम साथीसंग संगत गर्दा उनले स्कूलमा उर्दू विषय अध्ययन गरे पछि उनले एक विषय उर्दू भाषा लिएर बी.ए. पास गरे। पंजुलाल गुरुङले सन् 1943 मा गुवाहाटीको प्रसिद्ध कलेज, कटन कलेजबाट बी.ए. पास गरेका थिए। त्यो भनेको ब्रिटिशहरूको राजको जमाना थियो।
पंजुलाल गुरुङले मलाई बताए अनुसार उनी बी.ए. पास गरेपछि नेपालमा जागीर खान काठमाण्डौं पुगे। उनले जागीर खान राणाहरूको चाकरी गर्नु पर्ने देखे। यो कुरा उनलाई मन परेन। उनी आसामतिर नै फर्के।
पछि पंजुलाल गुरुङ इण्डियाको एअर फोर्समा भर्ती भएर लाहुरे भए। दिल्लीमा भएको बेलामा उनले रुसी भाषाको पनि अध्ययन गरे। यसले गर्दा पंजुलाल गुरुङ बहुभाषी भए। उनी नेपाली, अङ्ग्रेजी, हिन्दी, उर्दू, आसामी, बंगाली, रुसी र खसिया भाषा एकसाथ पूरा दखलको साथमा बोल्न सक्दथे। पंजुलाल गुरुङले कुनै भाषा विज्ञानको अध्ययन गरेका थिएनन्। तर पनि भाषाको बारेमा उनको राम्रो ज्ञान थियो। भाषा विज्ञान नपढे पनि उनी भाषाशास्त्री जस्तै थिए। दोस्रो विश्वयुद्धको बेलामा उनी जापान पुगेका रहेछन्। जापानीहरूसितको सम्पर्कमा आएपछि उनले उनीहरूको संस्कृतिको राम्रो ज्ञान हासिल गरेछन्। उनले जापानको सम्झनामा लेखेका दुइ लेखहरूले मलाई निकै आकर्षित गरेका छन्।
पहिलो लेख फाटेको मोजासित सम्बन्धित थियो। एकदिन उनी पल्टने साथीहरूसित एउटा जापानी परिवारको घरमा पुगेछन्। जापानीको घरमा बस्दा उनका एकजना साथीको मोजा फाटेको उनकी छोरीको नजरमा परेछ र उनले इशाराले त्यो फाटेको मोजा निकालेर सिलाइदिने माग गरिछन्। उनको साथीले जापानी चेलीका बुबासित भनेछ “हामी फौजका मान्छेको मोजा फाटेमा त्यो कन्डेममा जान्छ। नयाँ मोजा पाइन्छ। सिलाउन पर्दैन।’ जापानी सज्जनले भनेछन् – “त्यो कुरा ठीक हो। तर हाम्रा जापानी चेलीबेटीहरूसित जुन सीप छ त्यो पर-पाहुनाको सेवामा लगाउन चाहन्छन्। हाम्रा चेलीबेटीको हातमा सीप हुनु र हाम्रा पाहुनाको मोजा फाटेर पनि त्यसलाई नसिलाई पठाउनु मिल्ने कुरा भएन। हाम्रा चेलीबेटीको हातमा सीप हुनु र सर्टको बटन छिनेको कुनै पाहुना हाम्रा घरमा आउँदा उनको सर्टको बटन नलगाई फर्काउनु राम्रो कुरा होइन। हाम्रो संस्कृतिको विपरीत कुरा हो। त्यसैले तपाईले तपाईको कन्डेम गर्ने मोजा कन्डेम गर्नु होला र नयाँ मोजा ल्याउनु होला। तर यति बेला हाम्रा चेलीबेटीको हातमा सीप हुनु र तपाईले च्यातिएको मोजा लगाएर फिर्ता हुनु राम्रो कुरा भएन!’ जापानी सज्जनका कुरा सुनेपछि पंजुलाल गुरुङका साथीले च्यातिएका मोजा खुट्टाबाट निकालेर दिएछन्। जापानी चेलीले त्यो च्यातिएको मोजा सिलाएर दिइछन्।
पंजुलाल गुरुङले आफ्नो जापानको सम्झनामा लेखेको अर्को घटना हो सुइटर सम्बन्धी। जापानमा रहेका बेलामा उनको एकजना साथीको जापानी केटीसित चिनाजानी भएको रहेछ, परिचय भएको रहेछ। जापानी केटीले उनीहरू बिदा हुने बेलामा उनका साथीलाई उनकै हातले बुनेको एउटा सुइटर उपहारको रूपमा दिएकी रहिछन्।
पंजुलाल गुरुङले आफ्नो संस्मरणात्मक लेखमा लेखेका छन् – उनको साथीले पल्टनमा छउन्जेल प्रत्येक वर्षमा एकदिन जापानी युवतीले दिएको सुइटर बाकसबाट निकालेर लगाउने गर्दथ्यो। उनी अगाडि लेख्छन् पेन्सन् गएर पनि ऊ त्यसै गर्दथ्यो। वर्षमा एकदिन मात्रै सुइटर लगाएर फेरि अर्को वर्ष लगाउन बाकसमा थन्काएर राख्ने गर्दथ्यो।
जेहोस्, शिलाङमा एकजना जिउँदा नेपाली पंजुलाल गुरुङ यतिबेला हामीबीच छैनन्। लामो इतिहास बोकेका लाहुरे पंजुलाल गुरुङ सय वर्षभन्दा लामो जीवन व्यतीत गरेर हामीबीचबाट विदा भएका छन्। लाहुरे जीवन व्यतीत गर्न वाध्य भएर पनि भाषा-साहित्यप्रतिको उनको चिन्ता र चासो मननयोग्य छ। नेपालदेखि टाढा भए पनि उनको नेपाली भाषामा बेजोड दखल थियो। उर्दू र अंग्रेजी भाषा त उनकै शैक्षिक अध्ययनको विषय नै भयो। पंजुलालजस्ता नेपाली समाजका एक गौरवमय व्यक्तिसित मेरो परिचय भएकोमा म गौरवान्वित छु, तर पनि चार दशकभन्दा बढी समयसम्म उनीसित भेटघाट हुन नसकेकोमा म निकै दुखित छु।
यिनै शब्दले म पंजुलाल गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु।
रचनाकाल : 20 अक्टुबर 2019
▬
‘गोर्खा सेवक’ प्रसङ्ग र पञ्जुलाल गुरूङसँगको अन्तर्वार्ता
डा. खेमराज नेपाल शोणितपुर, असम
भाषा र जातिको उत्थानका लागि मरिमेट्ने केही सपूतहरूमध्ये स्व. मणिसिंह गुरूङ अन्यतम मानिन्छन् – जसले सन् 1915 मा कलकत्ता विश्वविद्यालयको आधीनमा बी.ए. पास गरेका थिए। त्यस समयका एक उच्चशिक्षित व्यक्ति रहेर पनि उनले सरकारी जागीरको साटो जातीय उत्थानमा आफ्नो जीवनव्यतीत गरेको पाइन्छ – जो उनको महानताको परिचायक मानिन्छ। मणिसिंह गुरूङको प्रयासमै शिलाङमा गोर्खा पाठशालाको श्रीगणेश हुनुमात्र होइन 1936-38 सम्म ‘गोर्खासेवक’ साप्ताहिक पत्रिका प्रकाश पनि भएको देख्न-जान्न पाइएको छ। मणिसिंह गुरूङको जीवनी, ‘गोर्खा सेवक’ को जानकारी आदि नेपाली-भाषा – साहित्य, संस्कृति र जातीय उत्थानसँग सम्पर्कित कुनै पनि सचेत व्यक्तिका लागि खोजी र अनुसन्धानको विषय भएको हुनाले यस लेखकले दुइचार चोटि शिलाङ जाने मौका पाउँदा विशेषत: प्रा. गोपीनारायण प्रधान, प्रा. एन.बी.राई आदिसँग सम्पर्क गरिरहेको थियो। जसको परिणाम स्वरूप पञ्जुलाल गुरूङ र स्व. दिलबहादुर नेवारका सुपुत्र श्रीमान सुभाष नेवारसँग सम्पर्क जोड्ने मौका पाइयो। यस संयोग सूत्रको अगुवा भइदिनुभएकोमा सर्वप्रथम उक्त प्राध्यापकद्वयलाई कृतज्ञता ज्ञापन गर्दछु। त्यसै सिलसिला अर्थात् – (मणिसिंह गुरूङ र गोर्खा सेवक)लाई अघि सार्दै विगत पहिलो अगष्ट 2010 का दिन यो लेखक शिलाङ निवासी वर्तमान प्रायः ब्यान्नब्बे वर्षको जीवन धान्ने पञ्जुलाल गुरूङको निवासमा प्रायः 2.30 अपराह्नमा उपस्थित भएको थियो। साथमा हुनुहुन्थो रूवन शर्मा (निरोला)। हामी दुइलाई सरिता गुरूङ (बुहारी)ले स्वागत गर्नुहुन्छ र उहाँको आतिथ्य स्वीकार्दै हामीले आसन ग्रहण गर्दछौं। उक्त समयमा पञ्जुलाल गुरूङसँग भएको भेटवार्ताका साथै प्रासङ्गिक केही कुरा यहाँ उपस्थापन गर्ने प्रयास गरिन्छ …।
आ-आफ्ना आसनमा रही हामी कसैको प्रतीक्षामा हुनाले हाम्रा आँखा ढोकातिरै थिए। एकैछिनमा वर्षानुरूप शिरमा शरत्का काँसको फूलझैं केश भएका, आँखा केही मधुरा र मझौले शरीरका एक व्यक्ति धिमा गतिमा कोठामा आउँदै गरेको देखी हामीले उहाँको स्वागत गर्दै दुइहात जोड्यौं। उहाँले पनि हाम्रो अभिवादनको प्रतिदानमा दुइहात जोड्नु भयो अनि हाम्रो सन्मुखको कुर्सीमा स्थिति लिनुभयो। अभिवादन पर्व सकिएपछि स्वभावसुलभ सरलताले उहाँले आफ्ना श्रवणेन्द्रिय शिथिल हुनलागेको जानकारी दिनुभयो र त्यसै अनुरूप वार्तालाप गर्ने आग्रह प्रकट गर्नु भयो। उहाँको यो सरलतापूर्ण आग्रह हामीले पनि ग्रहण गयौं। त्यसपछि हाम्रो प्रश्न र उहाँको उत्तरक्रम यसरी चलेको थियो : –
प्र.यहाँको जन्म कहाँ र कहिले भएको हो?
उ.मेरो जन्म सन् 1918 मा गुवाहाटीको पल्टनबजारमा भएको हो।
प्र.यहाँका पिता-माताको परिचय दिनुहुन्थ्यो कि?
उ.पिता देवानसिंह गुरूङ र माता सरस्वती गुरूङ।
प्र.दाजु-भाइ, दिदी-बहिनी?
उ.एकजना दाजु र एउटी दिदी हुनुहुन्थ्यो।
प्र.पारिवारिक जीवन के कस्तो होला?
उ.सन् 1957 मा मणिसिंह गुरूङका भाइ ध्रुवसिंह गुरूङकी छोरी जगधात्रीसँग बिहे भयो। वर्तमान दुइजना छोरा- कल्याण (बुहारी सरिता), सञ्जीत (बुहारी रजनी) एउटी छोरी राखी छन्।
प्र.यहाँको शिक्षा कसरी कहाँ आरम्भ भएको थियो र कहाँ समाप्त भयो?
उ.प्रायः पाँच-छः वर्षको उमेरमा म गुरूबाबु लछुमनसिंह थापाको सान्निध्यमा आएँ। त्यसबेला उनी कुल्ली (भरिया)हरूका सरदार थिए। केही लेखा-पढा जान्ने मानिस हुनाले उनीसँग लागेर बाह्यखरी धुलौटो कोर्ने भएँ। साउँ अक्षर चिनेपछि मात्रा लाउँदै गएँ। त्यसपछि चण्डी, दुर्गा कवच आदि पढ्न जान्ने भएँ। (उहाँले कुरैकुरामा चण्डी र दुर्गा कवचका केही श्लोकहरू शुद्ध उच्चारणमा सुनाउनु भएकोमा हामी मक्ख पयौं।) त्यसबेला शिलाङमा भर्खरै हाईस्कूल स्थापन भएको थियो – पुलिस बजारको अनुपचन्द हिन्दी हाईस्कूल 1926 सन्मा। अनि केहीपछि अर्थात् – सन् 1932-33 तिर मलाई त्यही स्कूलमा भर्ती गराइयो। त्यहाँ मैले दुइ-तीन महीनामै 2/3 कक्षामा प्रमोसन् (उत्तीर्ण) लिएँ। अर्थात् मलाई तल्लो कक्षादेखि माथिल्लो कक्षामा उत्तीर्ण गराइयो। त्यसै समयमा बाबा पुलिसको जागीरे गुवाहाटीमा रहेका हुनाले मैले त्यहाँको सोनाराम हाईस्कूलमा कक्षा चार(4) मा पढ्ने मौका पाएँ – सन् 1934 तिर। त्यहाँ पढ्दै गर्दा उर्दू भाषा पनि पढ्ने मौका पाएँ – (भन्दै उहाँले केही कष्ठस्थ सायरी पनि सुनाउनु भयो)। तीनवर्ष यसरी उर्दू पढेपछि कक्षा सात (7) देखि झन् फारसी पढ्ने मन भयो र त्यसै पनि गरें। यसै क्रममा सन् 1938-39 मा त्यही हाई स्कूलबाट मेट्रिक परीक्षामा उत्तीर्ण भएँ। त्यसपछि कटन कलेज गुवाहाटीबाट 1941 मा आइ.ए. पास गरी बी.ए. पढ्दै गर्दा 1942 मा ‘भारत छोडो’ आन्दोलनको राँको देशभरि नै सल्केको हुँदा पढाइ भएन।
प्र.यहाँका कलेज जीवनका केही साथीको नाम जान्न पाइन्छ कि?
उ.मेरा कलेज जीवनका एक साथी हुन् – विष्णुलाल उपाध्याय। उनी उजानबजारका रावल महाजनकोमा बसेर पढ्थे। त्यसै कलेजबाट पछि हामी दुइले 1944 मा बी.ए.पास गयौं। त्यसपछि सन् 1945 मा म Air Force मा जागीरे भएँ।
प्र.यहाँको एउटा लेख हाम्रोध्वनिमा एकपल्ट पढ्ने मौका पाएको थिएँ – जुन लेखबाट एकापट्टि – विष्णुलाल उपाध्यायजस्ता यहाँका कटन कलेजका सहपाठी भएको कुरो जान्न पाइन्छ भने अर्कापट्टि यहाँको साहित्यकर्मप्रतिको रूची-अनुराग पनि जाहेर हुन्छ। त्यसो भए यहाँका यस प्रकारका लेख निबन्धहरू अन्यान्य पनि छन् कि भन्ने प्रश्न यहाँ प्रासङ्गिक हुन्छ। यस सन्दर्भमा यहाँको भनाइ के कस्तो छ?
उ.मैले यदाकदा ससाना लेख, चिठी-पत्र, वार्ता आदि प्रस्तुत गरी प्रेरण गरेको छु र केही विभिन्न पत्र-पत्रिकामा प्रकाशित पनि भएका छन्। अवश्य, साहित्यिक प्रमूल्य ती सबैको छ छैन भन्न सकिन्नँ, तर, दुःखको कुरो के हो भने ती सबै केही नगण्य मूल्यका छन् भने केही उपलब्ध नै छैनन्। तैपनि, हाम्रो जिज्ञासाको अडानमा परी उहाँले भित्रबाट एउटा फाइल लिएर आउनुभयो, जुन फाइलमा मणिसिंह गुरूङको देहान्त भएको खबर अंग्रेजी समाचार-पत्र शिलाङ टाइम्समा छापिएको थियो। उल्लेखनीय के छ भने – यो शोक समाचार उहाँले नै लेख्नु भएको थियो। उक्त फाइलमा मणिसिंह गुरूङले सन् 1910 मा मेट्रिक, 1912 मा आइ.ए र 1915 मा बी.ए. पास गरेका प्रमाणपत्रहरू पनि त्यहीं सुरक्षित देखिए। आजका ठीक सय वर्षअघि कलकत्ता विश्वविद्यालयबाट मेट्रिक पास गरेको प्रमाण-पत्र सुन्दर अक्षरमा अक्षत् अवस्थामा देख्न पाउँदा आफूलाई साह्रै भाग्यमानी ठानेको थिएँ – र त्यसबेला हाम्रा आँखा रसिला भएका थिए…। त्यसपछि मणिसिंह गुरूङद्वारा सन् 1936 मै सम्पादित र प्रकाशित साप्ताहिक पत्रिका ‘गोर्खा सेवक’को पनि दर्शन गर्न पाउने आशा केही दृढ हुँदा त्यसबारेमा जिज्ञासा राख्दै सोधेको थिएँ –
प्र.आफूले बडाससुरा मणिसिंह गुरूङको सान्निध्य निश्चय नै पाउनु भयो होला? त्यसो हुनाले मणिसिंह गुरूङका जीवनका विभिन्न पक्षसँग यहाँको जानकारी रहेको कुरो पनि सत्यताकै वाहक हो भन्नु पर्दछ। उहाँको जीवन-दर्शन, कर्म-तत्परता, जातीय चेतना आदि विभिन्न पक्षसँग यहाँको परिचय रहेको र मणिसिंह गुरूङद्वारा सम्पादित ‘गोर्खा सेवक’सँग यहाँको घनिष्ठता रहेको कुरो पनि सिद्ध हुन आउँछ। यी दुइ विषयमा यहाँको वक्तव्य के होला?
उ.मणिसिंह गुरूङका जीवन सम्बन्धी विभिन्न पक्षको जानकारी अवश्य, नभएको होइन र यस विषयमा मैले धेरै कुरा व्यक्त गर्नुपर्ने पनि हो तापनि ती सम्पूर्ण व्यक्त गर्न अहिले हाल म केही असमर्थ छु। कति चाहिं भन्न सकिन्छ भने – उहाँ नेपाली जातिको उत्थानकालागि एकजना मरिमेट्ने व्यक्ति हुनुहुन्थ्यो र भारतवर्षका अन्यान्य जाति-जनसमुदायसरह हाम्रो पनि उन्नति, विकासको गायत्री महामन्त्र मानौं उहाँको जपको विषय थियो। त्यसैले उहाँले सामाजिक उत्थानका लागि विशेषतः शिक्षामा बल दिनुभएको हो। विद्यालय-स्थापन, परिचालन गर्नु, पत्रिका प्रकाश गर्नु जस्ता कँटिला विषयमा हातहाली समाज परिवर्तनको जुन सपना उहाँले देख्नु भएको थियो – त्यो आज पनि धेरै जातीय संस्था-सङ्गठनहरूले गर्न त परैजावस् – सोच्न पनि सकेका छैनन् भन्नु पर्दछ।
यहाँको दोस्रो प्रश्नको उत्तर मेरा लागि साँच्चै नै दुःखदायक एवं लाजमर्दो विषय बनेको छ। किनभने वर्तमान हाम्रो घरमा/हातमा ‘गोर्खा सेवक’का कुनै प्रति (कपी) छैनन्। हुनतः एउटा पूरा सेटको बण्डल हाम्रो घरमा थियो, जो योगप्रसाद भन्ने एकजना महानुभावले लानुभयो – जसको कुनै पत्तो अहिले हालसम्म थाहा छैन। त्यस बाहेकै अर्को एउटा बण्डल थियो – जो यहींकै एकजना साहित्यकार दिलबहादुर नेवारलाई दिइएको थियो। दिलबहादुरज्यू त अहिलेहाल बितिसक्नु भयो र उहाँका सुपुत्र सुभाष नेवारका हातमा त्यो बण्डल हुनसक्छ, त्यहाँ खबर गर्नुभयो भने अवश्य नै केही पत्तो लाग्ने छ।
यस्तैमा श्री गुरूङज्यूकी जेठी बुहारी सरिता गुरूङले हाम्रो सत्कारकालागि बनाउनु भएको चिसो-तातो पानी, लघु चमेना, पदिनाको चटनी आदि ल्याउनु भयो र हामीलाई ती सबै ग्रहण गर्ने आग्रह गर्नु भयो। गोर्खा सेवकका प्रतिहरूको दर्शन गर्न नपाउँदा भएको दुखेसो लाघव गर्न भनेर नै मानौं उहाँले हाम्रो जलयोगको कष्ट उठाउनु भएको थियो …। बाहिर चिसोचिसो थियो तापनि कोठाभित्र हामीले केही न्यानो अनुभव गरेका थियौं र चिया-चमेनाको स्वादमा मानौं हाम्रो अप्राप्तिको वेदना केहीछिनका लागि पर सरेको थियो। प्लेट र कप रित्याएपछि हामीलाई पुनः शिलाङे तामूल-पानले स्वागत गरियो …। हामी तृप्ति र अतृप्तिको दोसाँधमा मानौं अल्मलिएका थियौं। … हामीले अझै धेरै प्रसङ्गको जानकारी पञ्जूलालज्यूबाट लिनुपर्ने थियो तापनि समयले हाम्फालिसकेको हुनाले त्यहाँबाट विदा लिन विवश भयौं। अवश्य आउने बेलामा उहाँको सुझाउ अनुसार उहाँको दूरभाष नम्बर लिएर हामीले विदाको नमस्कारको आदानप्रदान गऱ्यौं।…
उल्लेखनीय के छ भने – अघिल्लो दिन अर्थात् 31/7/2010 को बेलुकीपख प्रा. नरबहादुर राईज्यूको अगुवाइमा हामीले स्व. दिलबहादुर नेवारका सुपुत्र सुभाष नेवारको निवास – ‘भारती भवन’मा पदार्पण गरेका थियौं .. उद्देश्य ‘गोर्खा सेवक’को दर्शन। तर, त्यसबेला उहाँ आफ्नो व्यवसाय केन्द्रमा हुनुभएको जान्न पाउँदा त्यहाँबाट सोझै बडाबजार पुगेर उहाँसँग भेट गऱ्यौं। त्यो भेटघाटमा उहाँले हामीलाई फाइल-पत्रहरू हेरेर सूचना गर्ने आश्वासन दिनु भएको थियो र बेलुकाको 8 बजेपछि उहाँसँग सम्पर्क गर्ने आग्रह गर्नु भएको थियो। त्यसै अनुसार हामीले सम्पर्क गर्दा उहाँले तात्कालिक खोजीमा उक्त फाइल फेला नपरेको सूचना दिनु भयो तापनि हाम्रो आग्रहप्रति अति नै चासो देखाई भविष्यमा उक्त फाइल खोज्न कम्मरकस्ने वचन दिनु भयो। हामीले पनि उहाँको तत्पतरता नै हाम्रो उद्देश्यपूर्तिको धरोहर ठानेका थियौं। अवश्य, हाम्रो आशा र उहाँको अभियान, मणिसिंह गुरूङको त्याग-तपस्याको दसी, दिलबहादुर नेवारको संरक्षणशीलता, पूर्वाञ्चलीय नेपाली साहित्यको मात्र होइन – भारतीय तथा समग्रमा नेपालीमात्रको साहित्यिक वाङ्मयको विगत प्रायः सयवर्ष अघिको इतिहासको साक्षी-प्रमाणस्वरूप गोर्खा सेवकका केहीप्रति (सुभाषज्यूसँग रहेको बण्डलबाट) फोटोकपी गरी श्री रूवन शर्मा मार्फत यस लेखकका हातमा पुऱ्याउने जुन उदारता-सहृदयता हामीले पायौं त्यसका लागि सुभाष नेवारज्यू अशेष धन्यवादका पात्र हुनुहुन्छ साथै प्रा. गोपीनारायण प्रधान, प्रा. नरबहादुर राई लगायत पञ्जुलाल गुरूङ एवं रुवन शर्माप्रति पनि यो पत्रलेखक आभार व्यक्त गर्दछ।
उपसंहार :
स्व. मणिसिंह गुरूङको त्याग-तपस्याको धरोहरस्वरूप ‘गोर्खा सेवक’का उक्त प्रतिहरूको वैज्ञानिक तरीकाले संरक्षण एवं पुनर्मुद्रण गर्न आजका जातीय साहित्यिक-सामाजिक संस्था-सङ्गठनहरू अघिसरे मात्र प्रकृतार्थमा मणिसिंह गुरूङप्रति श्रद्धा-तर्पण गरेको ठहरिन्छ! अतः यस विषयमा हाम्रा नेपाली/गोर्खाली संस्था-सङ्गठनहरूको दृष्टि आकर्षण गर्ने प्रयास चाहिं गरियो…! अस्तु
▬
स्मृतिको पानामा स्व. पञ्जुलाल गुरूङ
दुर्गाप्रसाद अधिकारी, बटुवल-8 (नेपाल)
कति धेरै समय बितेर अतीत बनिसकेको रहेछ। म शिलाङमा भएको समय। त्यसदिन अर्थात् 10 जून 1995 शनिबारको दिन बिहानैदेखि पानी पर्दैथियो, मेरो मनमा पञ्जूलाल गुरूङसित भेट गरी अन्तर्वार्ता लिने विचार उठेको थियो। मेरा मित्र दिल साहनीबाट मैले सुनेको थिएँ पञ्जूलालले स्व. मणिसिंह गुरूङका भाइ ध्रुवसिंह गुरूङकी छोरी विवाह गरेकाले नाताले मणिसिंहका ज्वाइँ पर्नुहुन्थ्यो। त्यही उद्देश्य लिएर पानी परे पनि म उहाँको निवास खोज्दै मौप्रेम (शिलाङ) पुगेको थिएँ। संयोगले त्यसदिन मुहर्रमको तजिया निस्केको हुँदा सडकमा भीड लागेको थियो, तर म कतै नअल्मलिकन सोध्दै-खोज्दै ठीक ठाउँमा पुगें। घरको अगाडि फूलबारी र हरिया बुटाहरू टम्म मिलाएर छप्टेर सम्म पारिएको पर्खाल जस्तो बार थियो। मैले गेट खोलेर अलि नजिक गएर सोधेको थिएँ – “पञ्जूलाल गुरूङज्यूको घर कुन होला?’
गेट खोलेर एउटी युवतीले भनेकी थिइन् – “यही हो।’ मलाई ढुक्क लागेको थियो, किनभने धेरै ठाउँमा सोधेर बल्ल त्यहाँ आएको थिएँ। युवतीले मलाई “”बैठक कोठामा बस्नुहोस्”” भन्दै अर्को कोठातिर गएकी थिइँन्। भिजेको छाता बाहिर बरण्डामा राखेर म भित्र बैठक कोठामा गएर बसेको थिएँ। केहीबेरपछि अर्की महिला नानीलाई काखमा उचालेर बैठक कोठामा आएर मलाई सोधेकी थिइन् – “कसलाई खोज्नु भएको होला?’ उनले उभिएरै भनेकी थिइन् – “बाबाको खुट्टा मर्केर ओछ्यानमा आराम गर्नु भएको छ। यहाँ आउन सक्नुहुन्न होला।’ मैले उनलाई भनेको थिएँ – “उहाँको बारेमा दिल साहनीज्यूले एउटा संस्मरण लेख पत्रिकामा छाप्नु भएको छ सो उहाँलाई दिनको लागि म आएको हुँ। उहाँसित भेट नगरी भएको छैन। यो पत्रिका उहाँलाई लगेर दिनुहोस्न” त्यसो भन्दै मैले पत्रिका उनको हातमा दिएको थिएँ।
पत्रिका लिएर नानीलाई त्यही छोडी उनी अर्को कोठामा गएकी थिइँन्। ती दुवै युवतीहरू पञ्जूलालका छोरी र बुहारी रहेछन् भन्ने पछि मैले थाहा पाएको थिएँ। एकछिनपछि बुहारी फेरि त्यहाँ आएर बस्दै भनेकी थिइन् – “बाबा आउँदै हुनुहुन्छ, तर धेरैबेर कुरा गर्न सक्नु हुन्न!’ मलाई उनको कुरा सुनेर एक्कासि खुशी लाग्यो, कतै भेट हुन्न कि भन्ने आशंका लागेको थियो।
उहाँ नआउन्जेल युवतीले त्यहीं बसेर नानीलाई काखमा उचालेर मसित केहीबेर कुरा गरेकी थिइँन्। उनले भनेकी थिइँन् – “हिजोआज छोराछोरीहरूलाई इंग्लिस स्कूलमा पढाउने चलन आएको हुनाले सकिनसकी सबैले इंग्लिस स्कूलमा नै पढाउँदा नेपाली भाषा पढ्नै पाउँदैनन्, त्यसकारण नानीहरूले नेपाली लेख्न-पढ्न जान्दैनन्।’ उनको गुनासो सुनेर मैले भनेको थिएँ – “हो, यहाँको परिवेश र रोजगारीको समस्याले गर्दा इंग्लिस पढाउन पर्ने बाध्यता छ। इंग्लिस पनि पढ्नैपर्छ, तर आफ्नो मातृभाषालाई हेला गरेर होइन। आफ्नो भाषा त पढ्नैपर्छ नभए हाम्रो परिचय हराउने छ। भाषा नै नजान्ने हो भने हामीले आफ्नो परिचय कसरी चिनाउने?’ उनले अगाडि भनेकी थिइन् – “बंगालीहरू त आफ्नो भाषाको पनि राम्रो अध्ययन गर्छन् त्यही भएर नै बंगाली साहित्य सम्पन्न छ।’ मलाई उनको विचार मन परेको थियो। मैले उनको विचारप्रति सहमति प्रकट गरेको थिएँ।
हामी कुरा गरिरहेकै बेला पञ्जूलालज्यू सुस्त-सुस्त आउनु भएको थियो। बुहारी भने भित्रतिर गएकी थिइन्। मैले उहाँलाई अभिवादन गर्दै सोफामा बस्न भनेको थिएँ। उहाँले अभिवादन फर्काउँदै भन्नुभएको थियो – “यो खुट्टाले त मलाई बसाल्यो।’ खुट्टा मर्केर केही सुन्निएको रहेछ। उहाँ बिस्तारै सोफामा मेरै छेउमा बस्नु भएपछि मैले दिएको पत्रिका पनि त्यहीं राख्नु भएको थियो। मतिर हेर्दै उहाँले भन्नु भएको थियो – “यहाँको भेट गर्ने उद्देश्य के होला?’ मैले समकालीन पत्रिकामा छापिएको लेख देखाउँदै भनेको थिएँ दिल साहनीज्यूले तपार्इंको बारेमा केही संस्मरण लेख्नुभएको छ। त्यसबेला धेरै कुरा थाहा भएन, अझ धेरै जानकारी लिने उद्देश्यले म यहाँ आएको हुँ।’ उहाँको प्रतिउत्तर यस्तो थियो, “ए! दिल साहनीलाई मैले चिनेको छु। उहाँ यहीं पारि बस्नुहुन्थ्यो। त्यसबेला मसित भेटघाट पनि हुन्थ्यो। अहिले त नेपाल जानु भयो।’
उहाँसित जानकारी लिने प्रयास गर्दै मैले भनेको थिएँ “तपार्इंलाई त उर्दु भाषाको ज्ञान छ। धेरै वर्षअघि गोर्खा पाठशालामा साहित्यिक गोष्ठी हुँदा “नेपाली भाषामा उर्दुको प्रभाव’ बारे तपार्इंले चर्चा गर्दा म पनि त्यस कार्यक्रममा उपस्थित थिएँ। यसबारे तपार्इंले लेख्नुभएको छ भने सो दिनुभएमा हामीले उताका पत्रिकामा छपाउने प्रबन्ध मिलाउने छौं।’ उहाँले आफ्ना कुरा यसरी राख्नुभएको थियो, “मैले पढ्ने ताका स्कूलमा नेपाली पढाउने व्यवस्था थिएन। स्कूलहरू पनि कहाँ थिए र? मेरा बाबा गुवाहाटीमा पुलिसमा हवल्दार हुनुहुन्थ्यो। हामी पुलिस लाइन्मा बस्थ्यौं। त्यहाँ मुस्लिम साथीहरूको संगतमा म बसें। उनीहरूसित सोनाराम स्कूलमा 5/6 क्लासम्म उर्दु पढ़ें र उर्दु मलाई राम्रो लाग्यो। त्यसबेला त्यो मेरो लागि सुनौलो मौका थियो। मौलवीले भनेका थिए “तिमीले यस्तो मौका फेरि पाउने छैनौं। साँच्चै नै मौलवीलाई मैले मेरो गुरु मानेको छु। सन् 1939 तिर म गुवाहाटीको कटन कलेजमा भर्ना भएँ। त्यसबेला संयोगले 5/6 जना नेपाली विद्यार्थीहरू त्यहाँ भर्ना भएका रहेछन्। शायद त्यो नै नेपाली विद्यार्थीहरूको पहिलो टोली थियो। तर नेपाली पढाउने व्यवस्था भने त्यतिखेर थिएन। त्यसैले मैले फारसी लिएर पढ़ेको थिएँ। मेरा साथी विष्णुलाल उपाध्यायले (बिहाली, असमका) आसामी भाषा लिनुभएको थियो। त्यसरी नै नरसिंह थापा (तिराप), प्रभुधन राना (कोहिमा), किसनसिंह क्षेत्री (डिब्रुगढ) र कमलबहादुर क्षेत्री (इलाम)-ले पनि धेरैजसोले आसामी नै लिनुभएको थियो।”
मैले बीचैमा उहाँलाई सोधेको थिएँ “त्यसबेला नेपाली भाषा पढाउने कुनै व्यवस्था थिएन कि?’ त्यसपछि फेरि उहाँले विस्तारसित आफ्नो कुरा यसरी व्यक्त गर्नु भएको थियो, “पछि हामीलाई थाहा लाग्यो कलकत्ता युनिभर्सिटीमा नेपाली पढाउँछ भन्ने, तर हामीले पढ्न पाएनौं। नेपाली पढ्ने इच्छा निकै लागेको थियो। तर किताब पाउन पनि गाह्यो थियो। त्यसबेला भानुभक्तको रामायण, धरणीधरको नैवेद्य, छन्द सम्बन्धी किताब आदि पाइन्थ्यो। मैले आफै किताबहरू खोजेर पढें। एकफेर सानैमा माइला बा, माइली आमालाई भेट्न शिलाङ गएको बेलामा गाडी-खानामा नेपाली पढाउने स्कूल खुलेको छ भन्ने सुनेर एक्लै त्यस स्कूलमा जाँदै थिएँ, बाटैमा माइलाबाले गुवाहाटी जाँदा देख्नुभयो र च्याप्प छोपेर आफूले चलाएको गाडीमा बसालेर गुवाहाटी ल्याउनु भयो। त्यसकारण नेपाली राम्रो अध्ययन गर्ने मौका पाइन्। विष्णुलालको भने नेपाली अलि राम्रो थियो।’
एकछिन रोकिएर उहाँले आफ्नो कुरा अगाडि जारी राख्नुभयो, त्यसै बीचमा दोस्रो विश्वयुद्ध शुरू भयो। मानिसहरू आत्तिएर अलि सुरक्षित ठाउँतिर भाग्दै थिए। बर्माबाट नेपालीहरू रेलमा हुलकाहुल आउँदै थिए। गुवाहाटीमा पनि मानिसहरू आत्तिएर यता-उता लाग्दैथिए। मैले पनि आमा, दिदी र भाइलाई लिएर नेपालतिर जाने विचार गरें। अध्ययन बीचैमा छोड्नु पऱ्यो। त्यसबेला रेल पार्वतीपुर (हाल बंगलादेश) भएर सिलिगुडी, कटिहार हुँदै, गोरखपुर जान्थ्यो। सन् 1942 मा “भारत छोडो आन्दोलन’ चर्किदै थियो। ठाउँ-ठाउँमा आन्दोलनकारीले रेलका लाइन् र टेलिफोन लाइन्हरू बिगार्ने काम गर्दैथिए। सीमानाका नाकाहरू पनि बन्द गरेका थिए। त्यसबेला आम मानिसहरू आतंकित र भएभीत थिए। नेपाल सरकारले बर्माबाट आउने नेपालीहरू बिच्चली नपरुन् भनेर तिनीहरूको सहयोगको लागि डाक्टर कप्तान गणेशबहादुर रेग्मी क्षेत्रीको (डिल्ली बजारका) नेतृत्वमा दश-बाह्यजनाको टोली पार्वतीपुरमा खटाएको थियो। संयोगले त्यहाँ मेरो भेट उनीसित भयो। उनले मलाई धेरै सहयोग गरे। उनले आफ्ना ज्वाइँ भवानी जंग थापा क्षेत्री (खरसाङमा केम्ब्राीज पास गरेका थिए)ले काठमाडौंको ठेकाना दिएर मलाई पठाए। उनले शान्त शमशेर राणाको जागिर खान्थे।’
उहाँ एकछिन रोकिएर फेरि बोल्न थाल्नु भएको थियो, “त्यसपछि म आमा, दिदी र भाइलाई लिएर काठमाडौं गएँ। त्यहाँ केही समयसम्म बसें। डा. कप्तान रेग्मीज्यूको घरमा पनि गएको थिएँ। कप्तान साहेबको घरमा “युनानी’ औषधी उपचार पद्धतिको किताब देखेर मलाई आश्चर्य लाग्यो। कप्तान साहेबलाई फारसीको ज्ञान रहेछ भन्ने अनुमान लगाएँ। मैले त्यसबेला राणाहरूको कस्तो चाकरी गर्नु पर्दोरहेछ भन्ने पनि देख्ने मौका पाएँ। राणाहरूको ठूलो दबदबा थियो। प्रधानमन्त्रीको सवारी चल्दा झ्यालबाट हेर्न पनि अपराध मानिन्थ्यो। त्यसरी हेर्नेलाई राणाहरूको अगाड़ि हाजिर गराइन्थ्यो अनि हप्की-दप्की र सजाय समेत दिइन्थ्यो। यहाँसम्म कि राणाहरूको अगाडि छाता ओड्न पनि पाइन्नथ्यो। राणाहरूलाई देख्ने बित्तिकै निहुरिएर “दर्शन हजूर’ भन्नु पर्थ्यो। मेरो स्वाभिमानले त्यस्तो चाकरी गर्न मानेन्, त्यसकारण म नेपालमा नोकरी गर्ने विचार छोडी फेरि आफू जन्मेको थलोमा फर्के।’ उहाँ धाराप्रवाह बोलिरहनु भएको थियो।
उहाँको स्वाभिमानको प्रशंसा गर्दै मैले बीचैमा भएको थिएँ – यसरी नेपालबाट फर्केर के गर्नुभयो?’ उहाँले आफ्नो विगतको कथा यसरी सुनाउनुभएको थियो, “गुवाहाटी फर्केपछि सन् 1944 मा बी.ए. पास गरें। मेरा अरु मित्रहरूले भने अध्ययन पूरा गर्नुभएन। शायद कसै-कसैले पछि गर्नु भयो होला? नरसिंह थापाले “हिमाद्रि’ भन्ने नेपाली पत्रिकाको सम्पादन गर्नु भएको थियो। त्यसपछि म सन् 1944 मा आर्ल ल कलेजमा भर्ना भएको थिएँ, तर तीन महिनासम्म पढेर मलाई सो छोडेर कलकत्ता जान पयो. त्यसबेला विश्वयुद्धले गर्दा त्यहाँ फौजमा खोजी-खोजी भर्ती गर्दै थियो। मलाई पनि जबर्जस्ती एयर फोर्स (हवाइ सेना)-मा भर्ती गरेर लाहोर लग्यो। त्यसरी म एक्कासि हवाई सेनाको जागीर खान लागें। हवाई सेनाको नोकरी गर्दा धेरै ठाउँहरूको भ्रमण गर्ने मौका पाएँ। सन् 1967 मा नोकरीबाट अवकाश पाएँ। त्यसै वर्ष मणिसिंह बाबुको निधन भयो। उहाँ मेरो ससुरा ध्रुवसिंह गुरूङका जेठा दाइ हुनुहुन्थ्यो, तर अविवाहित हुनुभएकोले मैले नै छोरालेझैं मुण्डन गरी अन्त्येष्टि क्रिया गरेको थिएँ। मणिसिंह गुरूङको बारेमा पनि उहाँसंग मैले जान्ने इच्छा प्रकट गरेको थिएँ। पञ्जूलालले मलाई मणिसिंह गुरूङको सन् 1918 मा कलकत्तामा अध्ययन गर्दा खिचेको फोटो देखाउनु भएको थियो, जसमा 11 जना नेपाली विद्यार्थीहरूको तस्वीर थियो। उहाँले मणिसिंह बाबुका प्रमाणपत्र, अन्य कागजात, पुस्तक, पोशाक सबै महत्वपूर्ण सामान जतन गरी राख्नु भएको रहेछ। त्यसैले मेरो मनमा उठेको जिज्ञासा राख्दा उहाँले विभिन्न समयमा सहयोग गर्नु भएको थियो। मैले उहाँसंग नौ पटक भेटगरी सोधपूछ गरेको थिएँ र पछि नेपाल आएपछि पनि चिठीबाट आवश्यक जानकारी लिएर एउटा पुस्तक लेखें – “कर्मवीर मणिसिंह गुरूङ : जीवनी र योगदान’, जसको साझा प्रकाशनबाट विक्रमसंवत् 2060 सालमा प्रकाशन भएको छ।’
मैले उहाँलाई फेरि उर्दुबारे जानकारी लिएको थिएँ। उहाँले भन्नुभएको थियो, “नेपाली भाषामा बोलिने धेरै शब्दहरू उर्दु र फारसीबाट आएको मैले पाएँ जस्तै हजूर, मौसूफ, सनाखत, कलम, अर्जि, उजूर, सुरुवाल आदि। यी शब्दहरू कसरी नेपाली भाषामा प्रवेश गरे सो खोजी गर्नुपर्ने आवश्यकता छ। ऐन, कानूनमा त झन् उर्दु, फारसी, अरबी शब्दहरू छ्याप-छ्याप्ति पसेका छन्। उर्दुको अर्थ “छावनी” हो। उर्दुको प्रारम्भ मुगलकालमा छावनीमा तुर्की, अरबी, फारसी र हिन्दी भाषाको छास्मिसबाट भएको हो। हाम्रो भाषामा प्रयोग हुने “बाबु’ शब्दको अर्थ “त्यो गनाउँछ’ भन्ने हुँदो रहेछ। “बा’ को अर्थ “युक्त’, बु (गन्ध), ऊ, (त्यो), अस्त (छ)। त्यसरी नै “हजुर’ को अर्थ “उपस्थिति’ र “मौसूफ’ को अर्थ “उल्लेख गरिएको’ भन्ने हुँदो रहेछ।’ यसरी उहाँले कुनै झर्को नमानी आफ्ना कुरा राख्नुभएको थियो।
मैले उहाँका महत्वपूर्ण कुरा सुनेपछि आफ्नो विचार राखेको थिएँ “मुगकालमा भारतमा उर्दु, फारसीको प्रचलन बढ्दै गयो र पढाइ पनि ती भाषामा नै हुन्थ्यो। त्यसकारण त्यसबेला बनारस या भारतका अन्य ठाउँमा नेपालबाट पढ्न आउने विद्यार्थीहरूले संस्कृतका साथै उर्दु, फारसीको ज्ञान प्राप्त गर्थे। अध्ययनपछि नेपाल गएर ती शब्दहरूको प्रयोग गर्ने हुँदा लिखित् र बोलिचालीको भाषामा जनासाधारणले पनि प्रयोग गर्न थालेका हुनसक्छन्। मोतीराम भट्ट् र उनका समकालीन कविहरूले पनि उर्दु, फारसीका शब्दहरू प्रयोग गरेको पाइन्छ।’
उहाँले भन्नु भएको थियो, “हो! भानुभक्तको रामायणमा पनि उर्दु शब्दहरू धेरै प्रयोग भएका छन्। रामायण लोकप्रिय हुनुका कारणहरूमा एउटा कारण उर्दु भाषाको प्रयोग पनि हो। उर्दु भाषामा मिठास हुन्छ।’
हामी कुरामा भुलिरहेका थियौं। भित्रबाट चिया, बिस्कूट र पान ल्याएर टेबलमा राखिएको थियो। चिया खाँदै हामी फेरि कुरा गर्न लागेका थियौं। पञ्जूलालज्यूको अनुहार उज्यालो र जोशिलो देखिन्थ्यो। कुराको दौरानमा मैले अनुभव गरेको थिएँ उहाँको स्मरणशक्ति अद्भुत रहेछ। एक-एक घटना, मिति, मानिसका नाम, ठाउँ सबै सम्झिरहनुभएको थियो। त्यसबेलाका घटनाहरू छर्लाङ्ग चित्र हेरेझैं सुन्न पाउँदा मलाई रमाइलो लागेको थियो। यसै क्रममा मैले उहाँको जन्म मिति सोधेको थिएँ। उहाँले भन्नु भएको थियो, “23 भदौ 1975 अर्थात् 8 सेप्टेम्बर 1918 मा गुवाहाटीमा जन्म भएको हो। मेरा पिता पश्चिम नेपालको आँधिखोलाका र आमा लमजुङ्गकी हुनुहुँदो रहेछ।’ त्यसदिन धेरैबेर कुरा गरेपछि फेरि अझै आवश्यक जानकारी लिन आउने इच्छा प्रकट गर्दै विदा भएको थिएँ।
उहाँसंग र अन्य विभिन्न प्रयासबाट सामग्री संकलन गरी मैले तयार पारेको पुस्तक “कर्मवीर मणिसिंह गुरूङ : जीवनी र योगदान’ साझा प्रकाशनबाट विक्रम संवत् 2060 सालको अन्तिममा प्रकाशित भएपछि म किताबका केही प्रति लिएर शिलाङ गएको थिएँ विमोचन गराउने उद्देश्यले। जसअनुसार 31 जेठ 2061 को दिन मणिसिंह गुरूङले सन् 1915 मा स्थापना गरेको “गोर्खा पाठशाला’ स्कूलमा पञ्जूलाल गुरूङ र ध्रुवनाथ जोशीद्वारा पुस्तक विमोचन गरिएको थियो। शिलाङका गन्यमान्य व्यक्तिहरूको उपस्थितिमा पुस्तकको विमोचन गर्न पाएकोमा खुशी लागेको थियो। पञ्जूलालज्यूको हातमा पुस्तक दिंदा खुशीले उहाँ भावुक बन्नुभएको थियो। समाजसेवी, निष्ठावान व्यक्तित्वको मेटिन लागेको गाथाले पुस्तकको आकार लिंदा मलाई जति खुशी लागेको थियो, त्यसभन्दा धेरै प्रशन्न त मैले उहाँलाई देखेको थिएँ। उहाँले आत्मीयता देखाउँदै हाम्रो विदाईमा आफ्नै निवासमा चियापानको प्रबन्ध गर्नु भएको थियो। उहाँको परिवारमा श्रीमती, दुइ छोरा, एक छोरी, बुहारी, नाति, नातिनीहरू भएको मैले देखेको थिएँ। सुखी परिवार उहाँको।
त्यसपछि म विदा भएर अर्को दिन नेपाल फर्कंदा उहाँ बिहान हातमा कोसेली, लिएर मलाई विदा गर्न मोटर स्ट्याण्डमा आउनु भएको थियो। यही नै हाम्रो अन्तिम भेट भयो। त्यसपछि म शिलाङ गएको छैन। त्यसको धेरै वर्षपछि 101 वर्षको उमेरमा उहाँको निधन 29 जुलाई 2019 (13 श्रावण 2076) को दिन शिलाङमा भएको दुःखद खबर धेरै पछिमात्र थाहा लाग्यो। मलाई पुस्तक लेख्न अथक एवं निरन्तर सहयोग गर्ने सहृदयी विद्वान व्यक्तिको निधन भएको खबरले म अत्यन्त दुःखित भएको छु। नेपाली समाजले पनि विद्वान व्यक्ति गुमाएको छ। उहाँको दिवंगत आत्मालाई चिरशान्ति मिलोस्। श्रद्धासुमन समर्पित छ।
▬
आफ्नो डम्फू आफै बजाउँदा …
पञ्जूलाल गुरूङ
अघि कहिले पनि साक्षात् नभएको डाक्टर विवेकानन्द उपाध्याय (दन्त चिकित्सक)ले नक्कली दाँतका निम्ति छाप बनाई दोस्रो चरणमा त्यो छापालाई मुखमा टम्म गरी बसाए पछि अब बोल्नमा सजिलो – असजिलो कस्तो हुन्छ त्यो जान्नका निम्ति अनि साथै यही मौकामा आफ्नो व्यक्तिगत जानकारीको लागि पनि होला प्रश्न गरें – “अब बोल्नुहोस्, तपार्इंको नाउँ?’ मैले संक्षेपमा “पी. गुरूङ’ भनें। अझ सम्मको मेरो साधारण व्यवहार र बोली-चाली लक्ष गरी उनले मलाई आफ्नै जिन्दगीकालमा पहाड़ (नेपाल)बाट आई यतै जागिर खाई घर-जम गरी बसेको अन्दाज गरेर होला उनले बोल्न लगाउने निहुमा फेरि अर्को प्रश्न गरे – “तपार्इंको पहाड़ घर? नेपालको मूल घर?’ मैले सहजै “पश्चिम लम्जुङ’ भनें। यत्तिले उनको कौतुहल समाप्त भएझैं ठानें, अनि उनले अर्का शब्दहरू, जस्तै ब्रह्मपुत्र, गंगा, जमुना आदि बोल्न लगाउँदै आफ्नो सहायक श्री नवराजसंग मेरो उच्चारणतिर गौर गरे। त्यसपछि फेरि गिंजामा बसाएको छापालाई सूक्ष्मप्रकारले निरीक्षण गर्दै नमिलेको ठाउँहरूलाई सपार्नमा उनी मौनपूर्ण एकाग्र भए। म चाहिं त्यो शून्यकालमा वर्तमानको परिस्थितिलाई एकापट्टि पन्छ्याई सुदूर अतीतको बालखकालमा यही गणेशगुड़ीको बाटो भै सङ्गी-साथीसँग जोस्सिदै लम्किदै बाटोमा पर्ने आइतबारे बेलतोला हाटमा चाहिने सामग्रीको किनमेल गरी, कैयौं चोटी वशिष्ट आश्रम पुगी त्यहाँ स्नान, दर्शन अनि बनभोज (खिचड़ी) खाएको दृश्यमा चर्न पुगेछु। गणेशगुड़ीको यही चारआलीमा तिनताका वर्षै वैशाखमा हुने बिहुको मेलामा हामी आठगाउँ र पल्टनबजारबाट रमाइलो गर्दै हिंडेर आउथ्यौं। त्यसताक न बसगाडी थियो न त्यसको खाँचो परेको थियो हामीलाई।
यी सबै सम्झनाको सूत्रपात डाक्टर विवेकको क्लिनिकबाट भएर त्यसको सिलसिला आफू बसेको होटेलको डेरामा आई पुग्दा अझ प्रबल भएको महसूस गरें। झन् विवेकको अनुहारले त मेरो भावनाको प्रवाहलाई अझ अघि बगाउँदै लगेझैं अनुभव गरें। उनको क्लिनिकमा पस्ता उनी त्यसबेला त्यहाँ थिएनन्। उनका भाई श्री नवराज थिए। गम्भीर भै डाक्टर विवेकको विस्तृत परिचय दिंदै उनले भनेका थिए – “तेजपुर बिहालीका प्रख्यात एम.एल.ए. श्री विष्णुलाल उपाध्यायको नाउँ त सुन्नु भएको होला नि। उहाँ अहिले 88 वर्षको हुनुहुन्छ। उहाँकै सुपुत्र यहाँ डाक्टर विवेकानन्द हुनुहुन्छ, आदि, आदि …’म चुप लागी सुनिरहें। अस्तु।
आज भन्दा 60/70 वर्ष अघिको कुरा हो। भरलुमुखको सोनाराम हाई स्कूलमा असमीया माध्यममा अध्ययन गरी हिन्दी राष्ट्रभाषा सिक्ने रहरले गर्दा पल्टनबजारको बंगाली हाई स्कूलमा सरें। त्यहींबाट 1939 सालमा म्याट्रिक पास गरेर “कटन कलेज‘मा भर्ना हुन अर्जी चढ़ाएँ। त्यो युगमा आसाम उपत्यकाको छात्रहरूका निम्ति यही एउटा “कटन कलेज‘ थियो। उता सुर्मा उपत्यकाको लागि सिलहट (वर्तमान बंगलादेश)मा एम.सी. कलेज (मुरारी चाँद कलेज) थियो। त्यसर्थ आसाम उपत्यकाका तिनसुकिया, सदिया आदिबाट लिएर तल गोआलपाड़ा, धुबुडीसम्मका छात्र-छात्राहरू म्याट्रिक पास गरेपछि उच्च शिक्षाका निम्ति गुवाहाटी नआई हुँदैनथ्यो। अँ, हुने-खाने-घरका छोराहरू भने यहाँ भन्दा अझ उच्चकोटिको शिक्षाका निम्ति कलकत्ता जान्थे। तिनीहरू मध्ये एकजना स्व. माणिसिङ गुरूङ पनि हुन्। प्रारम्भ भै भर्खरै 8/9 वर्ष भएको कटन कलेजले भन्दा कलकत्ताको अति पुरानो र विख्यात प्रेसिडेन्सी कलेजले उनलाई धेरै आकृष्ट गरेको थियो। यही आकांक्षाले गर्दा 1910 सालमा म्याट्रिक पास गरी शिलांग-गुवाहाटीको 64 माइल लामो बाटो घोंड़ाको बग्गी गाड़ीमा चढ़ेर नाघि, गुवाहाटीबाट रेलमा सवारी भै कलकत्ता पुगेका थिए।
कलेज अझ खुलेको थिएन। बाहिरबाट छात्र-छात्राहरू आउँदै थिए। भर्ना हुने काम धमाधम चलि रहेको थियो। यसै बीच एक दिन डुल्दै उजानबजारमा स्व. गोबिन्द रावलको घर पुगें। त्यहाँ सौभाग्यवश, कलेजमा भर्ना हुने उद्देश्यले आएका दुइजना युवकसित भेट भयो। एकजना उनै गोबिन्द रावलका साला पूर्व नेपाल इलामबाट आएका श्री कमल बहादुर छेत्री औ अर्का चाहिं तेजपुर बिहालीबाट भर्खरै आई पुगेका श्री विष्णुलाल उपाध्याय थिए। एकै लक्ष्यले प्रोत्साहित भएका, त्यसमाथि सहपाठी भै अध्यायन गर्ने सु-अवसरको सम्भावनाले हामी तीनैजनाको त्यस घडी खुशीको सीमा रहेन। हामी उत्तिनैखेरि मित्रताको सूत्रमा बाँधियौं। अब म कलेज नखुलुञ्जेल एक दुइ दिन बिराई उजानबजार जान थालें। हाम्रो वार्तालाप धेरै जसो कलेज र शिक्षामा केन्द्रित हुन्थ्यो, यसैको चर्चामा हामी मग्न हुन्थ्यौं। तर, पछि पछि त म विष्णुलाल प्रति ढल्किन थालेछु। यसको मुख्य कारण हामी भारतीय थियौं औ हाम्रो चाख लाग्दो चर्चाको विषय हुन्थ्यो त्यस्ताकको भारतको राजनैतिक हलचल, भारतीय नेपालीको अविकसित समाज र शिक्षा।
कलेज खुले पछि हाम्रो टोलीमा अझ तीनजनाको वृद्धि भयो। हाम्रो अज्ञातमा भर्ना हुने ती तीनजनाहरू हुन् – पुरानो सदियाबाट आएका श्री नरसिंह थापा, कोहिमाबाट श्री प्रभुधन राना औ डिब्रुगढबाट श्री किसन सिं छेत्री। कटन कलेजमा अझसम्म 6 जनाको संख्यामा भएको सायद सर्वाधिक नेपाली छात्रको प्रथम टोली यहीनै थियो।
हामीहरूको एउटा उल्लेखयोग्य दुर्बलता के थियो भने हामी कसैले पनि अध्ययन कालको कुनै स्तरमा नेपाली भाषाको शिक्षा पाएका थिएनौं। सबैले असमीयाको माध्यमबाट ज्ञान पाएका थियौं। म्याट्रिकमा पनि म र कमलबहादुर बाहेक अरु सबैको “भर्नाकुलर’ असमीयानै थियो। मेरो चाहिं हिन्दी थियो। यसरी आफ्नो भाषाको ज्ञानबाट वंचित भएको हुनाले हामी बेला बेलामा एकत्रित हुँदा यो विषयमा अति चाख लिई चर्चा गर्थ्यौं औ पढ्ने अभिलाषा पनि प्रकट गर्यौं तर कलकत्ता विश्वविद्यालयमा नेपाली भाषाको स्थितिको बारेमा केही जानकारी नभएको हुनाले धेरै कालसम्म इच्छा हुँदा पनि हामी अनिश्चित भै रह्यो। पछि, पक्का सूचना नपाए तापनि कुनै सुत्रबाट कलकत्ता विश्वविद्यालयले नेपाली छात्रलाई आफ्नो भाषामा अध्ययन गर्ने तथा परीक्षा दिने अनुमति दिई सकेको छ भन्ने समाचार जान्न पायौं। तर पढ्ने सूची खोई? पुस्तक खोई? जे होस्, बी.ए.को श्रेणीमा पुगुन्जेल सूची र पुस्तकको प्रबन्ध गर्न सक्नेछौं भन्ने विचारले बी.ए.मा हामी सबैले नेपाली विषयमा परीक्षा दिने निश्चय गऱ्यौं।
अहिले ती कुराहरू सम्झँदा अचम्भ लाग्दछ। वास्तवमा, 20/22 वर्ष अघिनै कलकत्ता विश्वविद्यालयले म्याट्रिक, आई.ए. र बी.ए. परीक्षाका निम्ति नेपाली भाषालाई पर्वते भाषाको नाउँमा 24-7-1918 मा स्वीकृति दिई सकेको रहेछ। कस्तो आश्चर्य, नेपाली भाषाले त्यतिखेर मान्यता पाई सक्दा पनि, नेपाली छात्रको बहुलता भएको दार्जीलिङ, कालेबुङ र खर्साङका स्कूलहरूमा अझ पनि हिन्दीनै पढाइन्थ्यो, शिक्षणको माध्यम पनि हिन्दीनै थियो। स्व. पारसमणि प्रधानले पनि 1918 सालमा हिन्दीबाट म्याट्रिक पास गरेका थिए। अर्को छक्क लाग्दो कुरा, मान्यताको समयमा, कलेजको त परै जाओस्, स्कूलका निम्ति पनि पाठ्यपुस्तक छापिएको थिएन। अध्यापक छैन, पाठ्यपुस्तक छैन र पनि कस्तो युक्ति र उद्यमले त्यो बेलामा नेपाली भाषाले स्वीकृति पायो त। दार्जीलिङमा त्यसताक श्री हरिप्रसाद प्रधान र श्री मोती चाँद प्रधान, दुइ जनाले मात्र बी.ए. पास गरेका थिए। औ मान्यता पाउनु अघि देखिनै उनीहरू कलकत्तामा एम.ए.को लागि अध्यायनमा रत थिए। पारसमणिले म्याट्रिक पास गरेर भर्खरै 4/5 महिना मात्र भएको थियो। दार्जीलिङबाट कसैले पनि यो भाषा-स्वीकृतिको इति-वृत्ति कहेको छैन। केवल 1918 साललाई जान्दछन्।
आई.ए.को प्रथम दुइ वर्ष जर्मनी र जापानको लडाइँ चली रहे तापनि हाम्रो शिक्षाको क्रममा कुनै बाधा परेन। यथासमयमा सबैले साबिक बमोजिम परीक्षा दियौं। अन्त्यमा दीर्घकालका निम्ति कलेज बन्द भयो। सहपाठीहरू आ-आफ्ना घरतिर लागे। त्यसपछि युद्धले गर्दा आसामको परिस्थिति बिग्रँदै गयो। जापानको लडाइँ दिनदिनै उग्र हुन थाल्यो। आइ.एन.ए. र जापानको सेना बर्मालाई मिच्दै आसामको पूर्व सीमाना नाघेको अनि कोहिमाको जङ्गलभित्र आई पुगेको समाचार फैलियो। दिनहुँ रेलगाडीमा बर्माबाट भागेर आउने शरणार्थीको नटुङ्गिने ताँतो लाग्यो। आतंकको प्रभावले आसामका शहरहरू रित्तिनु थाले। गुवाहाटी पनि जनहीन भयो। सबै यत्र-तत्र लागेको देखि म पनि आमा र दिदीलाई साथमा लिई नेपाल पसें। अनि काठमाडौंको डिल्ली बजारमा डेरा गरी आसामको परिस्थिति, युद्धको गतिविधि र कंग्रेसको देशव्यापि असहयोग आन्दोलमा भएको राजनैतिक अस्थिरता माथि नजर गरी दिन बिताउन लागें। क्रमागत कंग्रेसको नीति कठोर हुँदै गयो र अन्त्यमा “देश छोडो’ घोषणाले राजनैतिक वातावरण रन्कियो। तोडफोडको घटना हुन थाल्यो। उत्तरप्रदेश र बिहारका विभिन्न ठाउँमा रेलका लिख र साँधुहरू भत्किए। यसै ताक म फर्कने रेलको बाटो पनि ध्वंश भएको समाचार “दैनिक पत्र’ मार्फत् थाहा पाएँ।
येन-केन गरी आखिरमा गुवाहाटी फर्कें। 4 महिना ढिलो भए पनि विन्तिपत्रमा दुख पोखी कलेजमा भर्ना हुन सक्षम भएँ।
अब, सहपाठीतिर ध्यान गयो। आश्चर्य, कसैको पनि पत्तो पाइन। तुरन्त निधो गर्ने प्रयासमा तर्खरिएँ। अनि एउटा एउटा गरी सबैको नैराश्यजनक विवरण जान्न पाई खिन्न भएँ। नरसिंह थापाको बुवा बितेको हुनाले उनी अब घर धान्ने लठारामा परेछन्। गुवाहाटी आउने कुरा चिताउनु पनि नसक्ने भए। कोहिमाका प्रभुधन राना पल्टनमा जागिर खान हिंडेछन्। किसन सिं छेत्रीले पनि त्यस्तै कुचक्रले गर्दा अब उपरान्त कलेजमा पढ्ने विचार त्यागेछन्। कमलबहादुरले यो मुंगलानमा अशान्तिको यातना सहनु भन्दा उतै इलाम (नेपाल)मा शान्तिपूर्वक दिन व्यतित गर्नु रूचाए। विष्णुलाल उपाध्यायलाई कलेजको अध्यायनले भन्दा राजनैतिक संघर्षले धेरै आकर्षित गरेको कुरा थाहा लाग्यो।
यसरी आफ्नो टोलीको छत्र-भङ्ग भए पछि म एक्लै टुहुरोझैं अध्ययनको सुरमा एकचित्त भएँ।
अहिले मेरो सामुन्ने मेरो उहिलेका सहपाठी रमित्र श्री विष्णुलाल उपाध्यायका सुपुत्र डाक्टर विवेकानन्द उपाध्यायले दाँतको काम सिद्धाउँछन्, अनि उनको सहायकले सामुन्ने ऐना टकार्दै सोध्छन – “नया दाँत हाले पछि अनुहारमा कतै फेर पऱ्यो कि? हेर्नुहोस् त?’ ठिकै देखें, केही अन्तर भेट्टाइन। त्यसपछि डाक्टर विवेक र उनका सहायकलाई धन्यवाद ज्ञापन गर्दै बिदा हुन उभिएँ। दैलोतिर पाइलो सार्ने क्षणमा एक्कसि मेरा उहिलेका सहपाठी र मित्र विष्णुलाई सम्झें, अनि आफ्नो परिचय दिन आँट गरें। तर किन हो कुन्नि मुखमा वाक्य आएन। अघि डाक्टर विवेकका भाई पर्ने श्री नवराजले गम्भीर भई व्यक्त गरेका कुरा मात्र मनमा खेलिरह्रो – “तेजपुर बिहालीका प्रख्यात एम.एल.ए. श्री विष्णुलाल उपाध्यायको नाउँ त सुन्नु भएको होला नि। उहाँकै सुपुत्र यहाँ डाक्टर विवेकानन्द हुनुहुन्छ।’
शिलाङ, मेघालय
▬
हाम्रोध्वनिका अन्य पोष्टहरू :
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
