प्रा गोपीनारायण प्रधानलाई हाम्रो श्रद्धाञ्जली
विषयसूची
- कवि गोपीनारायण प्रधानका कविता : एक अवलोकन
- प्रधानसरसँग व्यतीत पलहरू : आँखी झ्यालबाट चियाउँदा
- गोपीनारायण प्रधानको “ब्रह्मपुत्रले बोगिबिल बगायो” कविताको विश्लेषण
- गोपीनारायण प्रधान र उनको ‘आकाशले पनि ठाउँ खोजिरहेछ’ कविता सङ्ग्रहको विश्लेषण
- स्व. गोपीनारायण प्रधानसँगको भेट : मात्र एक झझल्को
- नेपाली भाषाका खेताला गोपी नारायण प्रधान
कवि गोपीनारायण प्रधानका कविता : एक अवलोकन
ज्ञानबहादुर छेत्री
पूर्वाञ्चल भारतमा नेपाली साहित्यको शुरूवात कविताबाट भएको हो। 1893 सनमा तुलचन आलेले “मणिपुरको लडाइँको सवाई’ लेखेर पूर्वाञ्चल भेकमा नेपाली साहित्यको जग बसाले। यसका पछिल्लो वर्ष धनवीर भण्डारीले “अब्बर पहाडको सवाई’ त्यसपछि उनैले “भूइँचालाको सवाई’ लेखे। यसरी नेपाली साहित्यको शुरूवात उ.पू. भारतको परिप्रेक्षमा सवाइबाट भएको भन्न सकिन्छ। त्यस समयदेखि आजसम्म (2008-1893=115) एक सय पन्द्रह वर्षको लामो अवधिमा उत्तर पूर्वाञ्चल भारतबाट अनगन्ती पत्र-पत्रिका, स्मृतिग्रन्थ र ठेलीका ठेली नेपाली साहित्यका पुस्तकहरू रचित भए। यसै बीचमा पहिलेको असम राजनैतिक रूपमा सातवटा राज्यहरूमा विभाजित भयो। नेपाली भाषा बोल्ने जनसमूह ती सबै राज्यहरूमा धेरथोर मात्रामा बसोबास गरेको हुनाले यस भेकको नेपाली साहित्यको चर्चा गर्नु पर्दा समग्रमा उत्तर-पूर्व भारतीय नेपाली साहित्य भनेर गरिएको पाइन्छ। अहिलेको मेघालय राज्य हुनुभन्दा पहिलेनै त्यहाँ नेपाली साहित्यको सिर्जना भएको हो। पूर्वाञ्चलको पहिलो पत्रिका “गोर्खा सेवक’ (1936) पनि मेघालयबाट प्रकाशित भएको हो। सवाइ लेख्ने भण्डारीपछि पद्मप्रसाद ढुङ्गाना, कृष्णप्रसाद ज्ञवाली र गोपी नारायण प्रधान – यी त्रिरत्नको मेघालयको नेपाली साहित्यमा सबैभन्दा बढी अवदान रहेको छ। यी तीनैजना कवि पूर्वाञ्चल भेकका मात्र नभएर भारत तथा विश्वभरमा स्थापित कवि भनेर परिचित भएका छन्। यी तीनमा कवि ढुङ्गाना र कवि ज्ञवालीले छन्दोबद्ध कविता लेखे अनि दुबै दिवंगत भएका छन् भने कवि प्रधानले गद्य शैलीलाई अपनाएको पाइन्छ। यस निबन्धमा कवि प्रधानको काव्य प्रतिभाको साधारण परिचय दिने प्रयास गरिन्छ।
कवि प्रधानको संक्षिप्त कैरन
जन्म/जन्म स्थान – 1935 को 7 जनवरी, दार्जीलिङ नगरी फार्ममा
आमा-बुवा – लक्ष्मी प्रधान, मंगलानन्द प्रधान
शिक्षा – एम.ए. (नेपाली, त्रि.वि.)
प्रकाशित कृति
1. साइलक आइरहेछ (कविता संग्रह), 1975
2. यस्तो भूल पो गरेछु (कविता संग्रह), 1978
3. विवर्त्तन (समालोचना), 2000
4. आकाशले पनि ठाउँ खोजिरहेछ (कविता संग्रह) 2007
सम्पादित कृति –
1. “आशा’ र “हाम्रो आशा’ 1963
2. मादल, 1971
पुरस्कार
1. साहित्य सम्मेलन पुरस्कार (2001)
2. मदन गुठी व्याख्यानमाला पुरस्कार (1994)
3. पद्म प्रसाद ढुङ्गाना पुरस्कार (2004)
4. सञ्जय नारायण स्वर्ण पदक (1998)
5. रत्नश्री स्वर्ण पदक (1975)
6. माइकल मधुसुदन सम्मान (2004)
7. आशबहादुर स्मृति पुरस्कार (2008)
8. पारसमणि प्रधान पुरस्कार (2008)
सेवाकार्य –
1. संस्थापक अध्यक्ष – नेपाली साहित्य परिषद् (1969)
2. गुवाहाटी वि. वि. अन्तर्गत पहिलो नेपाली भाषाको प्रवक्ता
3. सदस्य – साहित्य अकादेमीको नेपाली परामर्श मण्डल
4. संयोजक – साहित्य अकादेमी नेपाली परामर्श मण्डल (2003-2007)
आजीविका – शिक्षकता
1. सन्त एन्थोनी कलेजमा, पैंतालिस वर्ष
2. गोर्खा हाइस्कूल (शिलाङ), पाँच वर्ष
कृतिको संख्या थोरै भए पनि गोपी नारायण प्रधान अर्ध शताब्दीभन्दा बढी समय नेपाली साहित्य संसारमा सक्रिय रहेर पूर्वाञ्चलीय भारतीय नेपाली साहित्यका एकजना सर्वमान्य अथोरिटी हुन पुगेका छन्। पूर्वाञ्चलका मात्र होइन भारतभरिमा धेरै सभापित नेपाली लेखकका उनी गुरूका रूपमा मान्य छन्। एकजना व्यक्तिबाट एउटा अनुष्ठानमा उन्नत भइसकेका प्रधानलाई जीवन्त किम्बदन्तीभन्दा अतिशयोक्ति नहोला। प्रधानको सुउच्च व्यक्तित्वका अघि अरू स्थापित/पुरस्कृत लेखकहरू बाउन्नेजस्ता देखिनु नै स्वाभाविक हो।
शान-मान-प्रतिष्ठा देखाउन मुजुर बन्न चाहँदैनन उनी। त्यसैले उनले आफ्नै जातीय पहिरन दौरा-सुरूवाल छोडेनन्। ठूलाठूला संगोष्ठी/सभाहरूमा सुट-टाइले सजिएका अरूहरूका बीचमा प्रधान मात्र एक्लै मञ्चमा जातीय पहिरनमा गौरवका साथ बसेको दृश्य सबैले देखेकै हो। यस्तो स्थितिमा मञ्चमा बसेका अरूहरू या त हीन मन्यता अनुभव गर्दा हुन् या त प्रधानको जातीय भावनामा सिर झुकाउँदा हुन्। प्रधानको पहिरन देखेर उनलाई “पूराना विचारका बूढा मान्छे’ भनी ठान्नेहरू पनि छैनन् भन्न सकिंदैन। मान्छे प्रकृतार्थमा विचारमा पो आधुनिक हुनसक्छ। पाश्चात्य शैली अनुकरण गर्नु आधुनिक हुनु होइन। अंग्रेजीकै कुरा गर्नु हो भने पनि प्रधान अंग्रेजीमा भाषण दिनु पर्दा अति सहज पारामा मातृभाषामा झैं भाषण दिन सक्षम छन्। अंग्रेजी माध्यममा पढ्ने छात्र-छात्रहरूसँग हँसी-ठट्टा गर्दै उनीसँग अंग्रेजीमा कुराकानी गर्छन्। कतिपय उग्र जातियतावादीहरू अरूको भाषा संस्कृतिलाई मन पराउँदैनन् तर प्रधान भने यस कुरामा उदार छन्। आफ्नी आमालाई माया गर्नु पर्छ, अरूका आमालाई पनि सम्मानका नजरले हेर्नु पर्छ – यही हो प्रधानको सांस्कृतिक विचार जुन विचार भारजस्तो बहुभाषिक, बहुसांस्कृतिक देशमा ज्यादै अनुकरणीय छ।
कुनै पनि उमेरको व्यक्तिसँग मिल्नसक्ने मिलनसार व्यक्तित्व प्रधानको एउटा विशेषता हो। हँसी ठट्टा गर्ने उनको बानीले उनीप्रति श्रद्धालु छात्र-छात्रा कोही बेला लाजले भुतुक्क हुनु पर्छ। गोजीमा पैसा हुँदा साथी-सङ्गी, छात्र-छात्राहरूलाई होटलमा चिया खाजा खुवाउनु मौकामा कामलाग्ने चीज उपहार दिनु उनको उदार स्वभाव हो।
साइलक आइरहेछ!
गोपी नारायण प्रधानको कलम साहित्यका अरू विधाहरूमा पनि चलेको देखिए तापनि उनी मूलतः कवि हुन, कविताबाटै उनको साहित्ययात्रा शुरू भएको हो। उनको पहिलो कविता “आँसु’ शीर्षकको हस्तलिखित पत्रिकामा (दार्जीलिङ) प्रकाशित भएको हो। सन् 1953 मा प्रकाशित त्यो कविताको नाम “बिचरा मुटु’ हो। त्यसपछि सन् 1956 मा “फिलिङ्गो’ अंक 1 मा उनको “खुसी लाग्छ’ शीर्षकको कविता प्रकाशित भएको पाइन्छ।
पुस्तकाकारमा प्रधानको पहिलो कृति “साइलक आइरहेछ’ (कविता संग्रह) सन् 1975 (वि.स. 2031, माघ) जनवरीमा प्रकाशित हुन्छ। भोटु प्रधानको अर्थवह आवरण चित्र भएको, वाराणसीको श्रीमाहेश्वरी प्रेसमा मुद्रित अनि भा.रू. 4 रूपियाँ मोल राखिएको यस कविता संकलनलाई श्रीमती हस्तमाया प्रधानले प्रकाशित गराएको हो। यस संकलनमा “भूमिका’ कृतिकारले नै लेखेको पाइन्छ भने “उदय’ का सम्पादक काशीबहादुर श्रेष्ठले प्रधानका कविताको भूयसी प्रशंसा गरेका छन्। श्रेष्ठ लेख्छन् : “उहाँ (गोपीनारायण प्रधान) कवितामा व्यङ्ग खूब कस्नु हुन्छ औ समाजको आँखा उघारिदिनुहुन्छ। हृदयस्पर्शी, यथार्थवादी जनपक्षीय भावलाई सरल, सरस र सुन्दर भाषामा व्यक्त गरिदिनु उहाँको विशेषता हो। उहाँका निबन्धहरू पनि मननयोग्य र कवितामय हुन्छन्।’ संकलनमा समेटिएका कविताहरू यस प्रकार छन् –
साइलक आइरहेछ, कविको मृत्यु, यतातिर, उतातिर, चारैतिर …, … परेको छ, कतिलाई सम्झे पनि, बाँच्नु परेको छ!, उखेलिसकेको छु!, मानिस खोज, विस्मय, शुभकामना, नयाँ सालको क्यालेण्डर, आँखा, विश्वासघात, मायालाग्दा अनुहारहरू, मलामी पाइँदैन!, जिन्दगीको यो छोटो यात्रामा, यहाँ पानी होइन आँसु पो बगेको छ, देखें, बलिदान, बत्ती बल्यो, फेरि साइलक आइरहेछ!, माग्ने, ब्रह्मपुत्रले बोगिबिल बगायो, पानी पऱ्यो, स्वीट फल्स, फेरि पनि साइलक आइरहेछ! छोरीको जन्मदिन, फागुने हावा, यो अभिनय होइन!, यस्तै अपराध थप्तै जाऊँ!, मलामी, जीवन-फूल ओइलिहाल्छ!, बार्ड लेक, बौलाहाको फतफत, यहाँ थरि थरि छन्, पूर्णशाला, नीलाचल र ब्रह्मपुत्र, गल्फ-लिंक्स, म निराशावादी होइन, नबाँचू!, अचम्भको रहर, विपनामा परेको ऐेंठन, म बन्दी होइन, जीवन यात्रा, जीवन यात्रा, पूर्व हेर्दा खुसी लाग्छ, युद्ध चलिरहेछ, चिची भूँडीहरूको विजोग, जीवन, सम्झनामा बाँचिरहन्छु, बेहुला बिहे गर्न आउँछन्, मूल सडक, नयाँ विश्वास पाएँ!, धरतीको श्रृङ्गार, शरद् लाग्यो, समय बितिरहेछ, छुट्टिने बेला।
संकलनमा समेटिएका प्राय सबै जसो कवितामै कविको प्रगतिवादी क्रान्तिकारी भावधारा अभिव्यक्त भएको हुनाले संकलनको शीर्षक युक्तिपूर्ण देखिन्छ। स्वयं कविले नै कविता संकलनको सीर्षक “साइलक आइरहेछ’ लाई युक्तियुक्त ठानेको पाइन्छ। कवि लेख्छन् – “साइलक’ एउटा अन्तर्राष्ट्रिय चरित्र हो। यसको घीनलाग्दो पञ्जामा संसार खुम्चिएको छ, रन्थनिएको छ औ फन्फनिएको छ। साइलकको कठोर फन्दामा परेका, परिरहेका औ भविष्यमा पर्ने सम्भावना भएका एन्टोनिओहरूप्रति “साइलक आइरहेछ!’ अवश्य एउटा सहानुभूति बन्नेछ, आशा राख्दछु। आफैं एन्टोनिओ बनी साइलकहरूको फन्दामा परेकोले आफ्नो तीतो मीठो अनुभव, अनुभूति-वेदनाको यो अभिव्यक्तिलाई कविता भन्दै पोखिरहछु औ यस संकलनको नाउँ नै “साइलक आइरहेछ!’ राखिदिएको छु।’ (भूमिकाबाट)
साइलक शोषकको प्रतीक हो भने एन्टोनिओले शोषितवर्गलाई प्रतिनिधित्व गरेको छ। भूमिकामा उल्लेख गरे अनुसार कवि पनि शोषणको शिकार भएका हुनाले शोषणका विरूद्धमा रचिएको काव्यिक अभिव्यक्ति हो यो कृति। शोषणको चरित्र विश्वजनीन हुन्छ, यो कुनै स्थान, काल, जाति वा धर्ममा सीमित रहेको हुँदैन। संकलनमा साइलक तीन पटक आएको छ – यसले साइलक कुनै पनि समयमा आउने कुरालाई संकेत गरेको छ। शेक्सपीयरको नाटकमा साइलकले एन्टोनिओलाई मार्न थापेको पासोमा उ आफैं पर्छ तर कवि प्रधानको साइलक भने निर्ढुक्क भएर शोषण गरिरहेको छ। उसलाई कानून र सरकारले छुन सकेको छैन। के, गरूँन कवि! कढा र तीखा शवहरूको वाण वर्षाएका छन् साइलकलाई धराशायी पार्ने उद्देश्यले। तर साइलक मर्दैन।
अहँ, त्यो मरेको छैन
(धर्मी पो प्वाक्कै मर्छ
पापी पाप गर्नलाई बाँचिरहन्छन्)
◙ साइलक आइरहेछ
एउटा हात सत्यले तानेको छ
अर्को हात असत्यले तानेको छ
दुबैको जोर तनाइमा
यो मान्छे हिंड्दैछ
धर्मरधर्मर गर्दै
असत्यलाई भरिलो देख्छ
सत्यलाई रित्तो देख्छ।
◙ यतातिर, उतातिर, चारैतिर
कुटिल, कपटी, क्रूर …
एक पेटकै निम्ति के मान्छे
यत्ति तल खस्नुपर्छ?
◙ विश्वासघात
कैंची खूब चलाउनेहरू
देखें यहाँ सन्त हुँ भन्दै
धेरै धन बटुल्नेहरू।
◙ देखें
हो त कविले धेरै थोक देखे। कवि रवि नपुगेको ठाउँमा पुग्छ। कवि स्रष्टा मात्र होइन द्रष्टा पनि हो। हाम्रा कवि प्रधानले धेरै कुरा देखे। विशेष गरेर मान्छेलाई उनले अध्ययन गरे। मान्छेलाई जीवश्रेष्ठ भन्न उनको जिभ्रो लर्बराउँछ। किनभने मान्छेले मान्छेलाई मार्न नीच षडयन्त्र गरेको छ। मान्छेले मान्छेलाई मार्न युद्ध रचाएको छ। पहिलो विश्वयुद्धका समयमा कवि जन्मेका थिएनन् तर द्वितीय विश्वयुद्धका समयमा टुकुर टुकुर हिंड्ने बालक थिए। कवि युद्धलाई समाप्त पार्न चाहन्छन् –
यसलाई समाप्त पार
नत्र यसले तिमीलाई समेत खरानी पार्ने छ
वास्तवमा युद्धनै हाम्रो शत्रु हो
अनि मानिस नै हाम्रो मित्र हो
◙ युद्ध चलिरहेछ
नैराश्यले ढाकेको मेरो जीवन होस्
अझ भाग्यले दुखको अथाह तालमा डुबूँ
त्यहाँ पनि म सुखको साम्राज्य पाउँछु
कारण …, म निराशावादी होइन!
◙ म निराशावादी होइन! साइलक …
कवि प्रधानले यसरी “म निराशावादी होइन’ भनेर घोषणा नै गरिसकेपछि उनलाई निराशावादी भन्ने प्रश्नै आउँदैन। जतिनै दुख भोगे पनि, जतिनै हण्डर खाए पनि कवि प्रधान अटल अविचलित रहन सक्छन्। उनमा दुखलाई सुखमा परिवर्त्तन गराउन सक्ने अद्भुत क्षमता छ, जादू छ। त्यसैले उनी दुखको अथाह समुद्रमा डुबे पनि त्यहाँ सुखको साम्राज्य फेला पार्छन्। हुन पनि कवि प्रधान पितामह भीष्मजस्तै छन्, जुन कुरा उनले घोषणा गरे त्यसलाई असत्य हुन दिएनन् कुनै दिन। कस्तै संकटपूर्ण स्थितिमा पनि अविचलित रहेर जीवनलाई सामना गर्न सक्ने अद्भुत क्षमताका अधिकारी प्रधान अनन्य छन्, युनिक छन् – प्रधानको पारिवारिक जीवन र सामाजिक दायित्व पालनको बारेमा जान्नेहरू यस कुरालाई अस्वीकार गर्न सक्तैनन। वास्तवमा, कवि प्रधानको हृदय निर्मल छ। उनी भित्र जे छन् बाहिर पनि त्यही नै छन्। कवि प्रधानको जीवन एउटा खुला किताब हो। जीवनमा आइपर्ने स-साना संकटमै हताश भएर हात-खुट्टा लल्याक लुलुक पार्ने हामीजस्ताले उनको जीवनबाट ठूलो पाठ र प्रेरणा लिन सक्छौं।
कवि प्रधान त्यो दीप्ति हुन् जसको उपस्थितिमा अँध्यारो भाग्छ, उनी त्यो आशा हुन् जसको स्पर्श मात्रामा निराशा डढेर खरानी हुन्छ।
2. यस्तो भूल पो गरेछु!
पहिलो कविता संकलन “साइलक आइरहेछ’ प्रकाशित भएको तीन वर्षपछि सन् 1978मा कवि प्रधानको द्वितीय कविता संकलन “यस्तो भूल पो गरेछु’ शिलाङ्गको नेपाली साहित्य परिषदद्वारा प्रकाशित भएको पाइन्छ। प्रधानको यो कृतिमा पनि आवरण चित्रकार भोटु प्रधान र मुद्रक वाराणसीको श्री महेश्वरी प्रेस नै रहेको पाइन्छ अनि उनका दुवै काव्यकृतिहरूको प्रकाशनमा “उदय’का सम्पादक काशीबहादुर श्रेष्ठको विशेष योगदान रहेको उल्लेखित छ। यस संकलनमा चालीसवटा कविता समावेश गरिएका छन् जो यस प्रकाल छन् :-
यस्तो भूल पो गरेंछु, भन्न मन लाग्छ, चाहिएको छ, मान्छे चाहिएको छ, पर्वत चढ्नुपर्छ, सिंगार, मन लाग्छ, बसेको छु, जीवनलाई, बत्ती, बिहान, धोका, मानिस र फूल, भनिरहँदैन, म पनि एउटा मानिस हुँ, यहाँ केही आयो, ऊ मर्दा, भावनामा बगिरहें, कारण छ! मेरो कोठाको तस्वीर, नरोक, भाडा-घर, नयाँ साल, फेरि आयो नयाँ साल, काजीरङ्गा, मनपर्छ, तब मैले युगको गीत कसरी गाएँछु, तिमी आऊ, यस्तै छ, थिएँ, कालो हीरा, देशभक्ति, गरीबी, शिशिर पो आइसकेछ, यस्तो हुन्छ, कलम बिर्सेछु, स्पष्टीकरण, यो बीशौं शताब्दी, स्मृति बनी आऊ, कस्तो कर्म।
मिल्न चाहनेलाई ज्यानसमेत दिन चाहने कवि प्रधानलाई जसलाई जुन कुराको अभाव छ त्यसलाई त्यही कुरा दिन मन लाग्छ।
भोकोलाई उपदेश होइन खानेकुरा दिन मन लाग्छ
बाँच्न चाहनेलाई अधिकार पनि दिन मन लाग्छ
श्रद्धेय व्यक्तिलाई भेट्दा शिर झुकाई दिन मनलाग्छ
◙ मन लाग्छ
माया नपाएकालाई माया दिनुमा मायाको सार्थकता हुन्छ। माया पाइरहेकालाई नै माया दिनु भूल हो। त्यसरीनै भोकोलाई भात दिनुमा भातको सार्थकता रहन्छ। तर अघाएकोलाई भात दिनु भूल हो। यही भूल गरेका छन् कवि प्रधानले पनि अनि यसैको अभिव्यक्ति हो उनको दोस्रो काव्यकृति “यस्तो भूल पो गरेछु’। पछि मात्र उनलाई थाहा भयो –
मेरो औषधी रोगीलाई पुगेन रहेछ
मेरो माया, माया नपाउनेलाई रहेन रहेछ
मदत नचाहिनेलाई पो मदत दिंदै हिंडेछु
समय र शक्ति नष्ट गरेछु
– यस्तो भूल पो गरेछु!
◙ यस्तो भूल पो गरेछु
लुटुवालाई हनुमान भनेछु
कञ्जूसलाई दयावान भनेछु
नकचरोलाई प्रशंसा गरेछु
अत्याचारीलाई सदाचारी
दुष्टलाई महात्मा
रगत चुसुवालाई दानी
………………………….
यस्तो भूल पो गरेछु
◙ यस्तो भूल पो गरेछु
दात-भात, लुगा-फाटा
घर-जमीनमात्र होइन
इज्जतसित बाँच्ने
अधिकार पनि चाहिएको छ
◙ चाहिएको छ
मान्छे चरा-मुसा जसरी बाँच्न सक्तैन। मान्छेका जसरी बाँच्नु पर्दा मान्छेलाई कतिपय मौलिक अधिकार प्राप्त हुनै पर्छ। हाम्रो लोकतान्त्रिक देशमा संविधानले ती अधिकार दिएको हुँदा हुँदै कवि प्रधानले “अधिकार पनि चाहिएको छ’ भनेर किन भन्नु पऱ्यो होला? -कुरा मनन योग्य छ। अधिकारबाट वञ्चित व्यक्ति अथवा जातिलाई यसको अनुभव नभएको होइन।
गर्नु पर्ने कामहरू
बस्नु पर्ने ठाउँहरू
पुग्नै पर्ने घर-गाउँहरू
सम्झनु पर्ने नाउँहरू
◙ बसेको छु
मान्छेको जीवन अति छोटो छ काम गर्नेहरूका लागि। अल्छे बसाहाका लागि भने समयनै जाँदैन। कवि प्रधानले धेरै काम गरे, अझ धेरै गर्नु पर्ने कामहरू छन्। काम भ्याउन उनलाई हतार छ। वास्तवमा मान्छेको जीवनलाई उसले गरेका कर्मले जोखिन्छ, बाँचेका वर्षहरूले होइन। “बसेको छु’ शीर्षकका उक्त हरफहरूले कवि Robert Frost को And miles to go before I sleep को झझल्को दिलाउँछ।
जो अरूको निम्ति
ज्यान बलिदान दिन्छ फूल त्यही हो
जो सबको निम्ति/शिर चुँडाइ दिन्छ
◙ मानिस र फूल
मान्छे फूलजस्तो हुनुपर्छ – यो कविको परिभाषा हो। कविले चाहे अनुसार हुँदो हो त यो पृथ्वी स्वर्ग हुने थियो। तर मान्छे त यहाँ यस्तो आचरण गर्छ ऊ अजर अमर हो। “म खाऊँ मैं लाऊँ अरू सब मरून् दुर्बलहरू’ (लेखनाथ) भन्छ पाखण्डी मान्छे। कहीं सन्तुष्टिको कुरा, कविजस्ता, कविले चाहेजस्ता मान्छे थोरै भए पनि यो पृथ्वीमा थिए/छन्/भविष्यमा पनि जन्मिने छन्।
“जीवन-फूल ओइलिहाल्छ’ जस्ता कवितामा कवि प्रधान निराशावादीजस्ता देखिन्छन्। आशावादी भावना नै उनका कविताको मूल स्वर हो। प्रधानले उनको पहिलो कविता संकलनमा “म निराशावादी होइन’ भनेर घोषणा गरिसकेका छन्।
◙ केही नकेही
प्रत्येक आउने बिहानले (हेर)
मलाई उज्यालो लिएर आएको हुन्छ
◙ नरोक
प्रचलित समाज व्यवस्थामा जताततै बेथिति मात्र देखेर कवि व्यथित भएका छन् तर यो समाज व्यवस्थामा एक दिन अवश्य नै सुधार आउने छ भन्ने कुरामा विश्वस्त कवि कता कवि रिमालजस्ता लाग्छन् भने अग्रेज कवि श्येलीको ODE TO THE WEST WIND माझैं शिशिरपछि बसन्त आउँछ भनेर पर्खिबसेका छन्।
भाडा-घर मालिकको नबिग्रने गाडी
भाडा-घर मालिकको तीसै दिनमा पाक्ने बाली
◙ भाडा घर
भाडा-घर मै कवि प्रधानले जीवन बिताए। कलेजका प्रवक्ता, श्रीमती पनि जागीरे-एउटा घर बनाउनु त्यति ठूलो कुरा थिएन। कवि प्रधानले धेरै कुरा जाने तर रूपियाँ कमाउने कला भने जानेनन्, जान्ने कोशिशै गरेनन्। “साग र सिस्नु खाएको बेश आनन्दी मनले’ भन्ने देवकोटाझैं धनलाई हातको मैला ठान्छन् र हातमा लाग्ने साथ सिकसिक अनुभव गर्छन्। भाडा-घरको मालिकले प्रत्येक महिनामा बिना श्रममा रूपियाँ पाउँछ।
मातृ भाषालाई सधैं तुच्छ ठानेछु
◙ तर आफूलाई कम्ति छैन मानेछु
दुनियाले “कृतघ्न’ भनेको
मैले नबुझ्दो रहेछु
तब मैले युगको गीत कसरी गाएँछु?
◙ तब मैले युगको गीत कसरी गाएछु?
आफ्नी आमाको कदर गर्न नजान्नेले प्रकृतार्थमा कसैको पनि कदर गर्न जान्दैन किन भने विश्व प्रेम आफ्नै घरमा टुसाउँछ। मातृभाषालाई हेला गर्नेलाई सभ्य संसारले कृतघ्न भनेर धिक्कार्छ। सोही कुरालाई काव्यिक अभिव्यक्तिको माध्यममा जातीय चेतना जगाउने प्रयास गरिएको छ।
3. आकाशले पनि ठाउँ खोजिरहेछ!
यस्तो भूल पो गरेछु (1978) प्रकाशनको पछि झण्डै तीस वर्ष पर्खनु पऱ्यो प्रधानको तेरुाो कविता संकलन “आकाशले पनि ठाउँ खोजिरहेछ’ छापिनलाई। हुन त यसअघि उनको एउटा समालोचना ग्रन्थ “विवर्त्तन’ सन 2000 मा प्रकाशित भएको हो। तीस वर्षको लामो अवधिसम्म उनले केही लेखेनन् भन्ने होइन। उनको कलम निरन्तर चलिरहेको थियो तर पुस्तक प्रकाशनका आफ्नै कतिपय अडचनहरू छन् जसले गर्दा पुस्तकाकारमा उनका कृतिहरू आउन सकेनन्। ढिलै सही, सुन्दर आवरण चित्रले सजिएर हार्ड कभर पेज, दामी कागजमा उनको नवीनतम कृति “आकाशले पनि ठाउँ खोजिरहेको छ’ देखा परेको छ। 2007मा प्रकाशित यस कृतिले प्रधानलाई साहित्य अकादेमीको पुरस्कार दिलाउँछ भन्ने आशा गर्न सकिन्छ। यस संकलनमा लामा छोटा जम्मा सत्रवटा कविता संकलित भएका छन्। संकलनमा समेटिएको पहिलो कविताको शीर्षकनै यस कविता संकलनको शीर्षक रहेको छ। यो पहिलो कविता छोटो छ तर यसैमा छ गुदी, यसैमा छ जम्मै कविताहरूको निचोड। आजको वस्तुवादी दुनियाको प्रकृत चित्रण पाइन्छ यस कवितामा। आकाश सीमाहीन ठाउँको प्रतीक हो तर उसलाई ठाउँ पुगेन रहेछ। त्यसरीनै समुद्रमा पानीको के कमी तर यहाँ त समुद्रनै तिर्खाएको रहेछ।
गरीबको रगत चुसेको चुसेकै छ
भिखारीहरूसित पनि हात थापिरहेछ
◙ आकाशले पनि ठाउँ खोजिरहेछ!
मान्छे जाति, धर्म आदि अनेकौं गुटहरूमा, टुक्रा-टुक्रामा विखण्डित भएको छ। सिङ्गो मान्छे कतै देख्न पाइँदैन। यसैले कविलाई आफ्नो परिचय दिन पनि अपठ्य रो परेको छ। परिचय दिन जाँदा कुनै न कुनै गुटभित्र पस्नुपर्छ, कुनै न कुनै वादभित्र परिन्छ भन्ने डर छ कविलाई। कविका अनुसार –
पुरूष अनि स्त्री
अनि मान्छेलेनै बनाएको
दुइ जात-धनी अनि गरीब
कवि कुनै वादभित्र पस्न अनिच्छुक भए पनि मान्छेलाई धनी र गरीबमा वर्गीकरण गरेको अपराधमा उनलाई मार्कसवादभित्र थुन्न सकिन्छ कि!
“आतंकवाद : युगको अभिशाप’ शीर्षकको कविता यस संकलनको सबैभन्दा लामो कविता हो। आतंकवादीहरूलाई सम्बोधन गरेर लेखिएको यस कवितामा आफ्नो नीच स्वार्थका लागि निर्दोष मान्छेहरूको – नारी, शिशुहरूको समेत ज्यान लिन नहिच्किचाउने नराधमहरूलाई कठोर शब्दले निन्दा गरेका छन्। आतंकवादीहरूको कुकृत्यले गर्दा जमानै बदलिएको, सबै थोक उल्टो देख्छन् कवि :
चोरलाई चोर नभनेर
सज्जन भनेर सम्बोधन गरिन्छ
अपराधीलाई फूलको माला
लगाउने नकच्चराहरू छन्
यस धरतीमा पापीलाई
देवता मान्नेहरू छन्
यहाँ चोरको मान हुन्छ
सज्जनको अपमान हुन्छ
हत्यारलाई माला पहिऱ्याइन्छ
नीचहरूको जय जयकार गरिन्छ”
यस्तो स्थितिमा समाजका गुणी ज्ञानीहरूले पनि निरापद अवस्थान गरेको, झुकनै झुकनै हिंडेकी देख्ता कविको कन्सिरी तात्छ। अर्को विडम्बना, मानव अधिकारका लागि चिच्याउनेहरूले आफैं मानव-अधिकार लुटेका छन्। यस संसारमा सबैथोकले आफ्नो ठाउँ छोडिसकेको देख्छन् कवि :
यो संसारमा सत्यलाई अभिनय मानिन्छ
“भूइँचालो’, “तूफान’ शीर्षकका कवितामा पनि साम्प्रदायिक संघर्षका घटक तत्वहरूलाई नकार्दै मानवतावादी दृष्टिभंगी अपनाउन सबैलाई आह्वान गरिएको छ। भूइँचालो आउँदा मान्छेको बिल्लीबाठ हुन्छ। त्यसरीनै तुफानले पनि ज्यान-माल सखाप पार्छ। यहाँ तूफानका रूपमा आउने साम्प्रदायिकतावाद उग्र जातियतावादजस्तो विनाशकारी तत्वहरूको विरोध गरिएको छ। जसरी तूफानले चिचिला लागेका फल-फूल झार्छ, ठूला रूखहरू जरैसमेत उखेलेर लडाउँछ, घरहरू भत्काउँछ त्यसरीनै उग्र साम्प्रदायिकतावाद र जातियतावादले पनि मान्छेलाई गोली हानेर, भालाले रोपेर, दाउले काटेर, चुप्पी भसाएर बडो नृशंस पाराले मार्छ। उग्र जातिवादले सर्वप्रथम मान्छेभित्रको मानवता र विवेकलाई सखाप पार्छ। त्यस कारण कवि भन्छन् जातिवाद एड्सभन्दा डरलाग्दो, क्यान्सरभन्दा घातक, हाइड्रोजेन बमभन्दा विषालु हो।
“जन्म थलोको संझना’ यस संकलनको सत्रौं तथा अन्तिम कविता हो। दार्जीलिङको नागरी फार्ममा जन्मेका, हुर्केका कवि प्रधानको कर्मथलो शिलाङ हो। कवि पनि मान्छे हो। आफू जन्मेको, हुर्केको ठाउँ र समाजसँग उसको गहिरो आवेगको सम्बन्ध हुन्छ। व्यतिक्रम छैनन् कवि प्रधान पनि। शिक्षकताको नोकरीबाट सेवानिवृत भएपछि अनि जीवन सङ्गिनीको पनि स्वर्गवास भएपछि तिरत्तर वर्षका कवि प्रधान जन्मभूमि, इष्ट-मित्र र साथीसङ्गीहरूलाई संझेर नोष्टालजिक हुन्छन्। कविलाई – “”कहिले पुगुँ लाग्छ
……………………
साठी वर्ष पुगेछ राम्ररी नागरी छोडेको
अहिले तिरत्तर वर्षमा हिंड्दैछु
कतिवर्षपछि कहिले पुगिन्छ
आफ्नो अति प्यारो जन्म थलोमा।”
कवि प्रधानलाई आफ्नो जन्मथलोप्रति असीम माया छ। कहिल्यै बिर्सदैनन् उनी आफ्ना दौंतेरीहरू, दार्जीलिङका चियाबारी, डाँडा-काँडा र पाखा-पखेराहरूलाई। संझन्छन् :
साग, गुन्द्रुक, सिन्की, माने-पिंडालु, निङरो, फर्सी-इस्कुस
च्याउ, करेला, कुभिण्डो, उखु, शक्करखण्ड
घर-सिमलतरूल, मह, बनतरूल, फलफूल
दूध-दही-घिउ र ढेंडो सबको ताकत
अझै मभित्र छ जमेर बसेको
दार्जीलिङको विश्वविख्यात चिया।”
◙ जन्मथलोको संझना
निचोडमा भन्नु पर्दा कवि गोपी नारायण प्रधानका कविताहरू उनी व्यक्तिजस्तै सहज सरल छन्; शब्दको चटक देखाउने शब्दका जादूगर उनी होइनन्। उनका कुनै कवितालाई पनि दुर्बोध्यताको बीमारले छोएको छैन। उनका कविताहरू शिक्षित-अशिक्षित केटा-केटी, बूढा-बूढी सबैका लागि उपयोगी छन्। सबै कविताहरूमा कविको भाव-पक्ष प्रबल रहेको अनुभव हुन्छ।
प्रधानका सबै काव्यकृतिमा नै मानवतावादी दृष्टिभंगी सर्वोपरि देखिन्छ। उनी दुखी-गरीब, भोका-नाङ्गा र शोषितहरूप्रति ज्यादै सहानुभूतिशील देखिन्छन्। अन्याय-अत्याचारका विरूद्धमा क्रान्तिकारी चेतना जगाउने कवि हुन् उनी। प्रकृतिको वर्णनमा पनि सिद्धहस्त छन् भन्ने कुराको दसीका रूपमा “स्वीट फल्स’, वार्ड लेक, धरतीको श्रृङ्गार, शरद लाग्यो, काजीरङ्गा, जन्म थलोको संझना आदि कवितालाई लिन सकिन्छ। जातिप्रेम र देशप्रेम पनि कवितामा पाइन्छन्। जननी जन्मभूमि स्वर्गादपि गरीयसी कवि प्रधानका रगतका थोपा थोपामा छ, त्यसको श्रेष्ठ नमूनाका रूपमा “जन्म थलोको संझना’ लाई राख्नु पर्छ।
कवि प्रधानको जातिप्रेम उदारताको मस्कौटेले माझिएकोले टल्किएको छ भने उनको देश प्रेम सह-अस्तित्व (Peaceful Co-existance) पञ्चशील नीतिमा आधारित र चोखो छ। कवि प्रधानको जातिप्रेम र देशप्रेम झांगिदै विश्व प्रेममा परिणत भएको कुरा उनका कविताहरूलेनै भनेका छन्।
शोधकर्ता मनोज कुमार उपाध्यायका अनुसार सात साल (2007 वि.स.)को प्रगतिवादी आन्दोलनबाट कवि प्रधान पनि प्रभावित भएका हुन्। उपाध्यायले लेखेका छन् :
“यसरी प्रधानमा देवकोटा, सिद्धिचरण श्रेष्ठ आदि स्वच्छन्दतावादी चिन्तनको बिन्दु वर्गीय बिन्दुलाई पनि उनले आफ्ना कविताको मूल विषय बनाएका छन्। कवि प्रधानले जीवनका रहस्यमय पक्षहरूलाई पनि आफ्ना कवितामा व्यक्त गरेका छन्। ज्ञानेन्द्र द्वारा अनुभव गरिने भागवत सत्यलाई प्रधानले आफ्ना कवितामा यत्रतत्र प्रकट गरेका छन्। जीवन के हो र यसको कारक र परिणतिको रहस्यमयतालाई खोजी गर्नु अनि यस प्रतिको प्रेरक तत्वका रूपमा अलौकिक शक्तिलाई स्वीकार्नु कवि प्रधानको रहस्यवादी धारणा पनि कवितामा प्राप्त गर्न सकिन्छ। प्रकृतिको सौन्दर्य भित्र जीवनलाई खोज्नु स्वच्छन्दतावादीहरूको प्रवृत्तिनै हो भने त्यहाँ जीवनमा अमूत्र्त प्राप्त गर्नु रहस्यवादिता हो। त्यस्तै प्रधानले पनि जीवन र जगतको समीकरणात्मक प्रस्तुति आफ्ना कवितामा प्रकट गर्दै कतै भावुक स्वच्छन्दतावादी चिन्तनलाई र कतै आदर्शवादी छटालाई प्रदर्शित गरेका छन्। कवि सिद्धिचरण श्रेष्ठजस्तै कोमल प्रकृतिलाई विषय-वस्तु बनाएर एकातिर भावनाका मसिना अनुभूतिहरूलाई सम्वेदनापूर्ण ढङ्गले सहज रूपमा अभिव्यक्त गर्नु प्रधानको काव्यगत प्रवृत्ति बनेको छ भने अर्कातिर विसङ्गतिप्रति विद्रोह र क्रान्तिपरक चेतना पनि उनको काव्यगत चेतना बनेको छ।” (मनोज कुमार उपाध्यायको शोधग्रन्थ)
आलोचक मनोज कुमार उपाध्याय कवि प्रधानलाई कवि लक्ष्मी प्रसाद देवकोटाको नजीक पाउँछन्। नयाँ नयाँ बिम्ब र प्रतीकहरूलाई प्रयोग गरेर प्रधानले कविता लेखेका छन्। कवि प्रधान प्रयोगवादी र विसंगतिवादी सृजनाको पूर्ववर्ती क्षणमा विकसित भएको स्वच्छन्दतावादी भावधाराको उत्तरार्द्ध चरणमा देखिएका प्रगतिशील चेत प्रबल भएका कवि हुन् – भनेर उपाध्यायले लेखेको पाइन्छ।
सन्दर्भ ग्रन्थ1. गोपीनारायण प्रधानको व्यक्तित्व र कृतित्व शोधग्रन्थ – मनोजकुमार उपाध्याय
2. मेघालयमा नेपाली साहित्यको विकास शोधग्रन्थ – गोविन्द सिंह रावत
3. कवि प्रधानका कविता संकलनहरू
विषयसूची
- कवि गोपीनारायण प्रधानका कविता : एक अवलोकन
- प्रधानसरसँग व्यतीत पलहरू : आँखी झ्यालबाट चियाउँदा
- गोपीनारायण प्रधानको “ब्रह्मपुत्रले बोगिबिल बगायो” कविताको विश्लेषण
- गोपीनारायण प्रधान र उनको ‘आकाशले पनि ठाउँ खोजिरहेछ’ कविता सङ्ग्रहको विश्लेषण
- स्व. गोपीनारायण प्रधानसँगको भेट : मात्र एक झझल्को
- नेपाली भाषाका खेताला गोपी नारायण प्रधान
प्रधानसरसँग व्यतीत पलहरू : आँखी झ्यालबाट चियाउँदा
होम बहादुर क्षेत्री
प्रधान सरलाई संत एंथोनी कलेजमा नेपाली विभागको प्रमुखका रूपमा शायद त्यतिबेलाबाट नै चिने जहिलेदेखि नेपाली पुस्तक र पत्र-पत्रिकाहरू पढ्ने मौका हात पऱ्यो – कक्षा पाँचको छात्र छँदा दुलियाजानमा। उहाँको व्यक्तित्व र कवित्वका बारेमा त्यति धेरै थाहा न भए तापनि उहाँको विद्वता एवं संत एंथोनी कलेजजस्तो विख्यात कलेजमा नेपाली भाषाको झण्डा फहराएको गुणलाई अवश्यै कलिलो उमेरमा नै बुझ्न सकेको थिएँ। कता न कतै मुटुको कुनामा मलाई पनि नेपाली भाषा लिएर एम.ए., तदोपरान्त पी.एच.डी. गरेर नेपाली भाषाको अध्यापन र जगेरा गरूँ भन्ने कामना पनि न पलाएको होइन त्यस भेकमा। उहाँको सम्पादनमा प्रकाशित ‘मादल’ मा मेरो कविता ‘बानी फाल अब ता’ छापिएको मुहूर्त्त शायद मेरो साहित्य-यात्रामा ऐतिहासिक क्षण थियो म कक्षा आठमा छँदा। हुन त दुलियाजान नेपाली छात्र संघद्वारा प्रकाशित हस्तलिखित पत्रिकाहरू ‘पुष्प’ र ‘फुलवारी’ अनि डिब्रुगढबाट प्रकाशित हुने ‘साथी’ (प्रा. घनश्याम खातीको सम्पादनमा) मेरा कविता एवं कथाहरू छापिसकेका थिए तर ‘मादल’ जस्तो पत्रिकामा आफ्नो कविताले ठाउँ पाउँदा अति प्रोत्साहित भएको थिएँ। कक्षा नौ दसको छात्रहुँदा केही गरूँ भन्ने जाँगरले दुलियाजानबाट मुद्रित रूपमा प्रकाशित हुने प्रथम पत्रिका (गोजिका) ‘जुनकिरी’ को सम्पादनको भार वहन गर्दा प्रधान सरलाई पत्र लेखें कविताको निम्ति आमंत्रण दिंदै। उहाँको जवाब आयो कविता एवं पत्रिकाका निम्ति शुभकामना सहित।
मानवताको नाताले
मानिसको मानिसलाई मदत गर्नु
मेरो अपराध हो भने
म मेरो अपराध
यही मानवतावाद
दोहोराउँदै जाऊँ, दोहोराउँदै जाऊँ
यस्तै अपराध थप्दै जाऊँ।’
◙ जुनकिरी, वर्ष-2, अंक -4-5)
दुलियाजान जस्तो साहित्यिक गति-विधिमा त्यतिबेलासम्म अपरिपक्व नगरबाट निस्कने गोजिकाका निम्ति समय निकालेर रचना पठाइदिने कुरोले उहाँको सरल ह्मदय र टुसाउँदै जाने हाम्रा पत्र-पत्रिकाहर प्रति प्रेम दर्शाउँछ।
यसै उपरान्त हाई स्कूलको जाँचका निम्ति खट्नु परेका हुनाले ‘जुनकिरी’ को प्रकाशन बन्द भयो। दुलियाजानको अयल इण्डिया हायर सेकेण्डरी विद्यालयका अंग्रेजी माध्यममा पढ्नु पर्दथ्यो र मातृभाषाका रूपमा हिन्दी विषय नै सम्भव थियो – नेपाली पढ्ने सुविधा-मौका थिएन। असम बोर्डमा (1974 इस्वीमा) मेरो नाउँ तेरुाो ठाउँमा घोषित भयो रेडियो र समाचार पत्रहरूमा। ‘भूगोल’ विषयमा समग्र असममा सर्वाधिक अंक। … थुप्रै बधाईका पत्र र तारहरू प्राप्त भए। प्रधान सरले पनि पत्र पठाउनु भएको थियो -‘भाइ होमबहादुर, … ‘जुनकिरी’को सम्पादकले हाई स्कूलको जाँचमा स्टैण्ड गरेको समाचारले मलाई एकक्षणका निम्ति अल्मलाएको थियो … मेरो हार्दिक शुभकामना र बधाई!’
नेपाली भाषा पढ्ने रहरले हाईस्कूल उपरान्त पी.यू.(विज्ञान) मा संत एंथोनी कलेजमा प्रवेश लिने कुरोमा घरका सबै सदस्यहरू (बा, आमा र विशेष गरेर ठूल्दाई श्री एकबहादुर क्षेत्री) मा सहमति भयो। उनताक संत एंथोनी कलेजको स्तर अति राम्रो थियो र त्यस माथि नेपाली भाषामा प्रा. गोपीनारायण प्रधान सरसँग पढ्ने सुअवसर। सांच्चै नै मनमा सन्तुष्टि र तृप्तिको आभास नै रहेको थियो। दिल साहनी, धर्मलाल भूसाल, पीताम्बर पोखरेल, हेम जोशी, कृष्ण प्रसाद ज्ञवाली, भूपेन्द्र अधिकारी, अर्जुन निरौला, दिल बहादुर नेवार सबैसँग भेट्ने अवसर र साहित्य-चर्चाका निम्ति मलिलो माटो। मुटु रोमांचित भै रहेको थियो।
अन्ततः शिलाङको माटोमा खुट्टा टेक्न पाउँदा आफ्नो छात्रावस्थाको अध्ययन र साहित्यिक यात्रामा उपलब्धिहरू थप्न सकुँ भन्ने चाहना पीङ खेलिरहेको थियो। प्रा. अर्जुन निरौला र स्व. कृष्ण प्रसाद ज्ञवालीज्यूले पुलिस बजारको बस-स्टैण्डमा स्वागत गर्नु भयो। त्यसै दिनमा संत एंथोनीमा एडमिशन लिएर कलेजको होस्टल स्टीफन हलमा प्रवेशिनु जरूरी थियो शनिबारको दिन परेका हुनाले, नत्र राति बस्ने खाने सुविस्ता खोज्नु पर्ने स्थिति हुने थियो। कलेजमा प्रवेश सम्बन्धी औपचारिकताहरू पूर्ण गरेपछि होसटलको चाँजो मिलाउने समस्या। प्रधान सरको डेरा कलेजकै छेउमा मेरीभ्यू (संत मेरी कलेजको गेटमा) मा भएको हुनाले हामी तुरन्तै उहाँको दैलामा पुग्यौं। प्रधानसरले ढोका खोल्नु भयो र मुस्काउँदै स्वागत गरेर भित्र बस्न भन्नु भयो – ‘… बस्दै गर्नु होस् ल … एकै मिनेट …।’ उहाँ लुगा फेरेर निस्कनु भयो। प्रथम खेप प्रधान सरसँग भेंट भएको मेरो … मेरो परिचय गराएर प्रा. निरौला र ज्ञवालीज्यू ढिलो भएका हुनाले विदा भए … मलाई प्रधान सरको जिम्मामा छोडेर। प्रधान सरले हर्षित स्वरमा प्रश्न गर्नु भयो – ‘होम बहादुर भाई, शिलाङमा स्वागत छ। यहाँ पनि टप गर्नु पर्छ, नेपालीको नाक ठाडो पार्नु पर्छ…। …. नेपाली भाषा लिनु पर्छ है …!’
मैले उहाँको आशीर्वाद र सहयोगको कामना गर्दै नेपाली भाषाप्रति आफ्नो प्रेम, आस्था र सपना सुनाएँ …! उहाँ अति हर्षित हुनु भयो। आफ्नी छोरी श्रद्धा (त्यतिबेला शायद कक्षा छ की छात्रा)सँग परिचय गराउँदै भन्नु भएको थियो – ‘… श्रद्धा … यहाँ हुनुहुन्छ होम बहादुर क्षेत्री … असमको दुलियाजानबाट आउनु भएको … सम्पूर्ण असममा तेरुाो स्थान प्राप्त गरेर म्याट्रिकमा स्टैण्ड गरेका … कवि पनि हुनुहुन्छ…!’ प्रधान सरले विभिन्न ठाउँमा मेरो प्रशंसा गर्ने यो सिलसिला झण्डै तीन-चार महीना कायम राख्नु भयो …. मलाई यस्तो मान दिएकोमा भित्र-भित्रै कता-हो-कता पी.यू. मा पनि यसरी नै राम्रो परिणाम ल्याउने कोशिश गर्ने जाँगर प्रबल हुन थाल्यो।
प्रधान सरले हाते घडी हेर्दै भन्नु भयो – ‘भाई, आधा घंटाभित्र होस्टलमा पुग्नु आवश्यक छ, नत्र फादर थोमसलाई भेट्न गाह्रो पर्छ … स्टीफेन हलमा प्रवेश उहाँको अनुमति बिना सम्भव छैन ..। कपडामा इस्त्री छैन, तर कोई सुर्ता न गरूँ … केही गरूँला …।’
पाखुरा समाएर इस्त्री न भएको दौरा-सुर्वाल लगाएर उहाँले मलाई डोऱ्याउन थाल्नु भयो मेरी भ्यूबाट स्टीफेन हलसम्मको गोरेटोमा। उहाँको सुरिलो स्वर र मीठो भाषा लगातार जारी रह्रो … माझमा एउटा धोबीको पसलमा पस्नु भयो। दौरा-सुर्बाल खोलेर भित्री लुगामै स्वयं उभिएर इस्त्री गर्नु थाल्नु भयो। धोबी अर्को टेबलमा इस्त्री गर्नमा व्यस्त थियो। प्रधान सर उसँग हिन्दीमा कुरा-कानी गर्दै इस्त्रीको काम सिद्धाएर आफ्नो दौरा-सुर्बालमा पुन चिटिक्क पर्नु भयो। … म चुप्प, अवाक! उहाँको यस्त रूप र व्यवहार मेरोनिम्ति अनूठो थियो। बाहिर निस्केर भन्नु भयो – ‘भाई, यहाँ हामीले आफ्नो पहिरनलाई इस्त्रीले तिखारेर अरूहरूको कोट-टाईलाई उछिन्नु पर्छ …. झुम्रे भएर हिंड्यो भने मलाई भरूवा भनि हाल्दछन् नि!’ खित्का छोडेर हाँस्नु भयो खुल्ला, उन्मुक्त हाँसो। … मलाई लाग्यो, शिलाङमा पढ्न आएर मैले गल्ती गरिन।
स्टीफेन हलमा फादर थोमससँग अंग्रेजीमा बोलेको सुन्दा उहाँको अंग्रेजी भाषामा वार्त्तालाप गर्ने कौशलबाट पनि परिचित हुने अवसर पाएँ पहिलो भेटमा नै। मलाई स्टीफेन हलमा हुलेर प्रधानसर विदा हुँदा उपदेश दिनु भयो – ‘भाई, शिलाङमा तीन ज़् बाट होशियार रहनु पर्छ – Wine, Woman र Weather संयम राखेर आफ्नो ध्येयमा लागिरहनु होला … अवश्य सफल हुनुहुन्छ …।’
तदोपरान्त दुइ वर्षसम्म प्रधान सरको छत्र-छायाँमा संत एंतोनी कलेजका दिनहरू र नेपाली भाषाको अध्ययन जारी रह्रो …! कंगको पसलमा सम्पूर्ण नेपाली क्लासलाई चिया खुवाउँदै उहाँले भनेको वाक्य अझै याद आउँछ – ‘… भाइहरू हो … यो कंगको गाला कस्तो रंगिएको — रातो गुलाफ फुलेझैं …।’ उहाँको हरेक कुरामा कविता हुन्थ्यो र उहाँले भनेको हरेक उद्गारमा नेपाली भाषाप्रति प्रेम र असाध्य भक्ति-प्रष्ट झल्किन्थ्यो। उहाँसँग बार्डसलेक, गल्फ लिंक्स र शिलाङ पीक डुलेका क्षणहरूलाई बटुल्ने हो भने शायद एउटा रोचक उपन्यास बन्ला। उहाँसँग शिलाङमा साहित्यिक गोष्ठी, भानु जयन्ती र देवकोटा जयन्तीहरूमा बिताएका पलहरू पनि कहिलै नबिर्सने अनुभव भएका छन् मेरो निम्ति।
पी.यू. को जाँचमा विश्वविद्यालयमा नेपाली भाषामा सर्वोच्च अंक, रसायन शास्त्रमा रेकर्ड अंक प्राप्त गरेर पंचम स्थान पाएको दिन शायद मेरा निम्ति, साथै-साथ प्रधान सरका निम्ति पनि ऐतिहासिक क्षण थियो। शिलाङबाट विदा लिने बेलामा प्रधान सरले भन्नु भएको थियो – ‘भाइ, साहित्य सेवा गरिरहनु होला… कविता मात्र ह्वैन, कथा पनि लेख्नु होला … सफल हुनुहुन्छ एक दिन …।’ प्रधान सरले नेपाली भाषाको ज्ञानबाहेक साहित्यिक चर्चाहरूद्वारा साथै शिलाङ भ्रमणमा आउने अनेक विख्यात विभूतिहरूसँग मेरो परिचय गराएर जुन उपकार गर्नु भयो, त्यसप्रति म आफ्नो हार्दिक आभार प्रकट गर्दै उहाँको सुस्वास्थ्यको कामना गर्दछु।
कुवैत
▬
विषयसूची
- कवि गोपीनारायण प्रधानका कविता : एक अवलोकन
- प्रधानसरसँग व्यतीत पलहरू : आँखी झ्यालबाट चियाउँदा
- गोपीनारायण प्रधानको “ब्रह्मपुत्रले बोगिबिल बगायो” कविताको विश्लेषण
- गोपीनारायण प्रधान र उनको ‘आकाशले पनि ठाउँ खोजिरहेछ’ कविता सङ्ग्रहको विश्लेषण
- स्व. गोपीनारायण प्रधानसँगको भेट : मात्र एक झझल्को
- नेपाली भाषाका खेताला गोपी नारायण प्रधान
गोपीनारायण प्रधानको “ब्रह्मपुत्रले बोगिबिल बगायो” कविताको विश्लेषण
डा. खगेन्द्रप्रसाद लुइटेल
१. परिचय
वि.सं. १९९३ कार्तिक १६ गते दार्जिलिङ नागरी फार्म चियाकमानमा जन्मिएका गोपीनारायण प्रधानले नेपालीमा एम्. ए. गरेका छन् । मूलतः शिक्षण पेसा अवलम्बन गरेका प्रधानको सेवा, पेसा र संलग्नता निम्नलिखितअनुसार रहेको देखिन्छ :
- दार्जीलिङ सरकारी महाविद्यालयको मुखपत्रको प्रकाशनमा सक्रिय (सन् १९५३)
- दार्जीलिङ नगरपालिका एम. इ. स्कूलमा शिक्षण (सन् १९५६)
- फिलिङ्गो पत्रिकाको प्रकाशन (सन् १९५६)
- शिलाङबाट प्रकाशित आसाम गोर्खाको सहसम्पादक (सन् १९५६)
- अपर शिलाङको गोर्खा हाइस्कूलमा शिक्षण (सन् १९५७)
- नेपाली साहित्य सङ्घ सिलाङको प्रचार मन्त्री (सन् १९५९)
- वार्षिक पत्रिका उषाको प्रकाशन (सन् १९५९)
- असम नेपाली साहित्य परिषद्को उपसभापति (सन् १९६१)
- सन्त एन्थोनी कलेजमा प्राध्यापन (सन् १९६२)
- आशा र हाम्रो आशा पत्रिकाको सम्पादन (सन् १९६४–१९६५)
- नेपाली साहित्य परिषद् सिलाङको संस्थापक अध्यक्ष (सन् १९६९)
- मादल पत्रिकाको प्रकाशन (सन् १९७१)
- असम हायर सेकेन्डरी एजुकेसन काउन्सिल तथा गुवाहाटी विश्वविद्यालयको पाठ्यक्रम समितिका सदस्य
- साहित्य अकादेमी नेपाली भाषाको सल्लाहकार समितिका संयोजक
साहित्यकार गोपीनारायण प्रधानका निम्नलिखित कृतिहरू प्रकाशित छन् :
कविता सङ्ग्रह :
- साइलक आइरहेछ (सन् १९७५),
- यस्तो भुल पो गरेछु (सन् १९७८) ।
पाठ्यपुस्तक :
- नेपाली रचनावली (सन् १९८३, सह सम्पा.),
- नेपाली नवीन पाठ सङ्ग्रह (सन् १९९३, सह सम्पा.),
- फुटकर निबन्ध, संस्मरण, नाटक ।
गोपीनारायण प्रधानले निम्नलिखित सम्मान र पुरस्कार प्राप्त गरेका छन् :
- रत्नश्री सूवर्ण पदक (२०३३)
- अखिल भारतीय नेपाली भाषा केन्द्रीय समिति देहरादुनबाट अभिनन्दन (सन् १९९३)
- आनन्दसिंह थापा स्मृति दिवस समारोह समिति सिलाङबाट सम्मानित (सन् १९९३)
- श्री विद्याधर्म प्रचारिणी नेपाली समिति वाराणसीबाट पुरस्कृत (सन् १९९५)
- मदन स्मारक व्याख्यान माला पुरस्कार (सन् १९९५)
- नेपाल तथा भारतका विभिन्न सङ्घसंस्थाहरूबाट सम्मान–अभिनन्दन
- गोपाल पाण्डे असीम पुरस्कार
- सञ्जयनारायण स्वर्णपदक
२. गोपीनारायण प्रधानका काव्यप्रवृत्ति
दार्जिलिङको एउटा सामान्य परिवारमा जन्मिएर त्यहीँ हुर्किएका गोपीनारायण प्रधानले केही निबन्ध, समीक्षा, नाटक, एकाङ्की र पाठ्यपुस्तक लेखन गरे पनि यिनको लेखनी विशेषतः कविताका क्षेत्रमा फस्टाएको छ । सन् १९५३ मा दार्जिलिङ सरकारी स्कूलको कारमाइकल छात्रावासबाट आफ्नै सम्पादनमा प्रकाशित हस्तलिखित पत्रिका आँसुमा छापिएको विचरा मुटु शीर्षक कविताका माध्यमबाट नेपाली कविताका क्षेत्रमा प्रवेश गरेका प्रधानले लगभग साढे पाँच दशक लामो कवितायात्रा पुरा गरिसकेका छन्। यिनका माथि उल्लिखित कविता सङ्ग्रहका अतिरिक्त नेपाल र भारतबाट प्रकाशित हुने विभिन्न पत्रपत्रिकामा थुप्रै कविताहरू छापिएका छन् । दोस्रो विश्वयुद्धको भयावह स्थिति, भारतीय स्वतन्त्रता आन्दोलन, आफुले प्रत्यक्ष भोगेको गरिबी, दार्जिलिङको सुरम्य प्राकृतिक वातावरण, तत्कालीन नेपाली कविता धारा आदि युगीन परिवेशबाट प्रभावित र प्रेरित भई कविता लेखनतर्फ उन्मुख भएका प्रधानका कवितामा स्वच्छन्दतावादी भावुकताका साथै प्रबल क्रान्तिकारी चेतना, निम्नवर्गीय पक्षधरता र प्रगतिशील दृष्टिकोण मुखरित भएको पाइन्छ। तत्कालीन परिवेशमा व्याप्त गरिबी, शोषण, दमन, उत्पीडन, अशिक्षा, अज्ञानता, अन्याय, अत्याचार आदि प्रत्यक्ष देखेभोगेका प्रधानमा सानैदेखि यसप्रकारका सामाजिक समस्याका विरुद्ध क्रान्तिकारी चेतना जागृत भएको र यिनले त्यसको अभिव्यक्ति आफ्ना कवितामा गरेको देखिन्छ। युगीन सन्दर्भअनुरूप स्वच्छन्दतावादी, क्रान्तिकारी र प्रगतिशील दृष्टिकोण प्रस्तुत गरिएका यिनका कवितामा उहिल्यैदेखि निरन्तर रहेको सामाजिक शोषण, अत्याचार आदिको विरोध र त्यसप्रति विद्रोहको स्वर प्रकट भएको छ । यिनका कतिपय कवितामा भौतिकवादी दृष्टिकोणका साथसाथै अध्यात्मवादी चिन्तनको व्यङ्ग्यात्मक अभिव्यक्ति पनि पाइन्छ । राष्ट्रवादी र मानवतावादी भावनाले ओतप्रोत यिनका कवितामा जनपक्षधरता र क्रान्तिकारी चेतनाका साथै वर्गीय विभेद, निम्न वर्गले झेल्नुपर्ने आर्थिक सङ्कट, सुधारवादी दृष्टिकोणको अभिव्यञ्जना तीव्र ढङ्गमा गरिएको छ । तत्कालीन प्रसिद्ध नेपाली कवि महानन्द सापकोटा, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाललगायतबाट प्रभावित भएका प्रधानले आफ्ना अग्रज कविहरूप्रति श्रद्धा व्यक्त गरेर पनि कविता सिर्जना गरेका छन् ।
गोपीनारायण प्रधानका कवितामा गरिबीका कारण जीवन धान्न कठिन भई प्रवासिनु पर्ने नेपालीहरूको बाध्यात्मक स्थिति र भारतका विभिन्न ठाउँमा तिनीहरूले भोगेका अनेक समस्याहरूलाई अनुभूतिजन्य ढङ्गबाट प्रस्तुत गरिएको छ । प्रवासमा रहुँदाबस्दाका अनेक समस्याहरूका प्रत्यक्ष भोक्ता भएकाले पनि यिनका कविता यथार्थका बढी निकट देखिन्छन् । आफुले भोगेका सङ्कटपूर्ण सामाजिक यथार्थलाई कतिपय कवितामा सोझै र कतिपय कवितामा स्वच्छन्दतावादी भावधारामा रङ्गाएर प्रस्तुत गरेको हुँदा यिनका कविता पनि यथार्थवादी र भावुक स्वच्छन्दतावादी दुवैखाले बन्नपुगेका छन् । जातीय जागरणको सशक्त अभिव्यक्ति पाइने यिनका कवितामा नेपाल र नेपालीका साथै प्रवासी नेपालीको दिग्दर्शन पाइन्छ । देवकोटा, रिमाल आदिबाट प्रवर्तित स्वच्छन्दतावादी धारालाई आत्मसात् गरी लेखिएका यिनका कवितामा इन्द्रियानुभूतिजन्य अभिव्यक्तिका साथै जीवनको रहस्यलाई पनि खोतल्ने प्रयास गरिएको छ ।
कतै स्वच्छन्दतावादी–रहस्यवादी, कतै आदर्शवादी, कतै क्रान्तिकारी र प्रगतिशील चिन्तनलाई काव्यात्मक अभिव्यक्ति दिने गोपीनारायण प्रधानले प्रकृतिचित्रणलाई पनि आफ्ना कवितामा विशेष स्थान दिएका छन् । यसप्रकारका कवितामा भारतीय भूमिका विभिन्न जङ्गल, नदी, गाउँको चित्रण सामाजिक सन्दर्भसँग गाँसेर कतिपय सोझै र कतिपय ठाउँमा प्रतीकात्मक ढङ्गले अभिव्यक्त गरिएको छ । यिनले प्रकृतिका शान्त, मनोरम, कोमल रूपका साथै भयानक र उग्र रूपको पनि चित्रण गरेका छन्। यिनका कवितामा प्रकृतिचित्रण वस्तुपरक र आत्मपरक दुवै ढङ्गबाट गरिएको पाइए पनि स्वच्छन्दतावादी भावुकताका कारण बढी मात्रामा आत्मपरक र यथार्थवादी चिन्तनका कारण कतिपय वस्तुपरक बनेको छ । प्रकृति र मानव जीवनका अनेक पाटाहरूलाई तुलनात्मक ढङ्गले प्रस्तुति गरेका सन्दर्भबाट प्रकृतिप्रेम वा प्रकृतिप्रतिको मोहभावको अभिव्यक्ति यिनका कविताको वैशिष्ट्य हो । एकथोक गर्ने भनी अर्को थोक गर्ने मानवीय दुष्ट प्रवृत्तिको चित्रण गरिएका यिनका कतिपय कवितामा सामाजिक विसङ्गतिको यथार्थ चित्रणका साथै सुधारवादी, आदर्शवादी र औपदेशिक धारणा पनि मुखरित भएको छ । आफ्नो अधिकार र कर्तव्यप्रति सचेतता, छलकपट र प्रपञ्चरहित अवस्था, सत्यवादिता आदिको यथार्थवादी अभिव्यञ्जना गरिएका यिनका कवितामा आत्मानुभवका साथै विविध सामाजिक सन्दर्भलाई स्पष्ट विचारका साथ अभिव्यक्त गरिएको छ ।
गोपीनारायणका कवितामा राष्ट्रवादी चिन्तनले पनि विशेष महत्व पाएको छ । राष्ट्र र राष्ट्रियताप्रति अगाध श्रद्धा व्यक्त गरिएका यिनका कवितामा राष्ट्रघातीहरूलाई समाप्त पार्नुपर्ने भावाभिव्यञ्जना पाइन्छ । यिनका कतिपय कवितामा राष्ट्रभाषा, राष्ट्रका वीरहरू, कविहरू आदि राष्ट्रका सम्पत्ति भएकाले तीप्रति विशेष श्रद्धा व्यक्त गर्नपर्छ भन्दै जातीय सांस्कृतिक मूल्य र मान्यताको महिमागान पनि गरिएको छ । यिनका राष्ट्रवादी कवितामा ढोंगी राष्ट्रवाद नभएर सच्चा राष्ट्रवादको चाहना अभिव्यञ्जित छ, जस्तै—
घाँटी सुकुन्जेल
मेरो देश – मेरो देश – भनेर के हुन्छ ?
ब र र र … आँसु चुहाएर के हुन्छ ?
थ र र र … कामेर के हुन्छ ?
राष्ट्रको नाउँमा घुस खाइन्छ भने
नातावाद, कृपावाद, जातिवाद
अपनाइन्छ भने … ।
◙ यस्तो भुल पो गरेँछु , देशभक्ति
गोपीनारायण प्रधानका कवितामा स्वच्छन्दतावादी भावुकता, सामाजिक यथार्थका साथै मानवतावादी र प्रगतिशील दृष्टिकोण पाइन्छ । यिनी विशेषतः प्रकृति चित्रणका सन्दर्भमा बढी स्वच्छन्दतावादी र भावुक बनेका छन् भने समाजका सबल–दुर्बल, सकारात्मक–नकारात्मक पाटाको यथातथ्य चित्रण गर्ने सन्दर्भमा यथार्थवादी छन् । समाजमा उच्चवर्गबाट निम्नवर्गका गरिब निमुखाहरूप्रति गरिने भेदभावपूर्ण र अमानवीय पशुतुल्य व्यवहार तथा मौलिक अधिकारको हस्तक्षेपप्रति आक्रोशित हुँदै समाजमा नारीहरूप्रति गरिने अनेक प्रकारका शोषणको अन्त्य तथा समान अधिकार प्रदान गर्नुपर्ने धारणाको प्रस्तुतिका सन्दर्भबाट यिनी मानवतावादी प्रगतिशील कविका रूपमा देखापर्छन् ।
विभिन्न विषयवस्तुलाई सरल, सहज, सुबोध र स्वाभाविक भाषाशैलीय विन्यासमा अभिव्यक्त गर्ने कौशल गोपी नारायण प्रधानमा पाइन्छ । प्रायः सरल तत्सम शब्दको प्रयोग गर्ने प्रधानले आफ्ना कवितामा लेख्य भाषाका साथसाथै ठाउँठाउँ कथ्य वा बोलीचालीको ग्राम्य भाषा पनि प्रयोग गरेका छन् । यिनका कतिपय कवितामा दार्जिलिङमा प्रचलित ‘भएन रहेछ, रहेन रहेछु जस्ता नेपाली भाषाको प्रयोग पनि पाइन्छ । यसप्रकारको प्रयोगले कवितालाई रोचक नै तुल्याएको छ । कतिपय ठाउँमा भाषिक विचलन पाइए पनि त्यसले कवितालाई महत्ता नै प्रदान गरेको छ । ठाउँठाउँ कतिपय भाषिक कसरमसर पाइए पनि समग्रमा यिनका कवितामा प्रयुक्त भाषा स्तरीय र मानक प्रकारकै देखिन्छ । यिनले शास्त्रीय छन्दमा नभई मुक्तछन्दमा गद्यकविताको सिर्जना गरेका छन् । मुक्तछन्दमा संरचित यिनका गद्यकविता पनि अनुप्रासको संयोजनका कारण सबैजसो लयात्मक र सङ्गीतात्मक गुणले ओतप्रोत छन् । प्राकृतिक, सामाजिक, सांस्कृतिक, पौराणिक, ऐतिहासिक आदि विभिन्न क्षेत्रबाट टिपेर प्रयोग गरिएका बिम्ब र प्रतीकहरू केही क्लिष्ट र दुर्बोध भए पनि तिनले कवितालाई विशिष्टता प्रदान गरेका छन् । यिनका सबैजसो कविताको सुरुमा विषयको प्रतिपादन, बीचमा विस्तार र अन्त्यमा स्पष्ट रूपले निष्कर्ष प्रस्तुत गर्ने प्रवृत्ति पाइन्छ । समग्रतः नेपाली कवितालाई प्रयोगवादी जटिलता र दुरुहताले गाँजेका बेला लेखिएका यिनका कविता सरल, सहज र सुबोध छन् ।
३. ब्रह्मपुत्रले बोगिबिल बगायो – कविताको विश्लेषण
- शिल्पसंरचना
- विषयवस्तु वा मुलभाव
- परिवेश, उद्देश्य र दृष्टिबिन्दु
- भाषाशैलीय विन्यास
- उपसंहार
सर्वप्रथम दियालो पत्रिकामा छापिएको गोपीनारायण प्रधानको प्रसिद्ध कविता सङ्ग्रह साइलक आइरहेछभित्र तेईसौँ कविताका रूपमा सङ्कलित ब्रह्मपुत्रले बोगिबिल बगायो शीर्षक कविता ४–४ पङ्क्तिका १६ पङ्क्तिपुञ्जका ६४ पङ्क्तिमा संरचित छ । झट्ट हेर्दा छन्दोबद्ध ढाँचामा लेखिएको जस्तो लाग्ने मझौला आयामको यो कविता छन्दोबद्ध नभई मुक्तछन्दमा लेखिएको छ । ब्रह्मपुत्रले बोगिबिल बगायो भन्ने शीर्षककै परिधिमा रही एउटै भावको वृत्तमा घुमेको यो प्रगीतात्मक संरचनामा आबद्ध गद्यकविता हो ।
ब्रह्मपुत्रले बोगिबिल बगायो शीर्षक कविता असमको प्रसिद्ध नदी ब्रह्मपुत्र र डिब्रुगढ सहरदेखि केही परको ब्रह्मपुत्रले बगाएको बोगिबिल भन्ने एउटा नेपाली बस्तीलाई मुख्य विषयवस्तु बनाएर लेखिएको छ । यसमा भौगोलिकताका साथसाथै सामाजिकताको समेत जीवन्त चित्रण गरिएको छ । ब्रह्मपुत्रले दिनहुँ अनेक थोक बगाइरहने कुरा सुनी पहिले रोएको र दुखी भएको अनि अहिले त्यही ब्रह्मपुत्र हेर्न आएको सन्दर्भबाट यस कविताको थालनी गरिएको छ । बडो बेगले बगेर पृथ्वीको एउटा नन्दन वनका रूपमा रहेको बोगिबिल पनि बगाएर चिथोरी आज कता पुऱ्याइस् भन्दै यहाँका कति बोगिबिल र कति डिब्रुगढ बगिसके गन्ती गर्नै नसक्ने भइसकेको छ । एकोहोरो बग्दा व्यक्तित्व रहन्न र त्यसलाई प्रगति पनि भनिन्न, अगिपछि पनि हेर्नुपर्छ भन्ने कुरा कान खोलेर सुन् । लहलह धानखेत, सुन्दर दृश्य, मलिला बारी, केराका सुन्दर घारी, नाना फूलले लटरम्म भएको पृथ्वीको सुन्दर बगैँचा बोगिबिल आज मरुभूमि भएछ । मधुर गाना गाउने चराहरू, हाँस्ने लाटोकोसेरो, बास्ने भाले, वसन्त आएको सङ्केत दिने कोइली सबलाई ब्रह्मपुत्रले कता खेद्यो कता ? त्यस बोगिबिलमा फलेदो फुल्थे, जुरेली भुल्थे, कोकले कराउँथे, रानीचरी प्वाँख खसाउँदै उड्थी । यस्तो दृश्य देखेर बोगिबिल हाँसिरहन्थी । यताउताका हाम्रा छाप्राछाप्री, तामाका गाग्रा, नेपाली वानगिलास ब्रह्मपुत्रले कति दिन भएछ । घर, खेत, धन, मन सब बगाए पनि मैमाथि बग्दा पनि मनको आँसु भने बगाउन सक्दैनस् । तेरै आडमा सधैँ बाँचिरहने, जीवनज्योति साँचिरहने, प्रफुल्ल हृदय हाँसिरहने, मधुर पवनमा नाचिरहने अनेक आशा र अभिलाषाहरू आज सब निराश बनिरहेछन्, विरहमा जलेर अन्तिम घडी गनिरहेछन् । म आज आएँ, मन अमिलो पारेँ, तँ बगिरहेछस्, बग्दै, बगाउँदै, बढ्दै जा म तँजस्तो बग्न सक्तिन । मैले कति ठाउँ अडीअडी बग्नुछ, कति ठाउँ बढीबढी बोल्नुछ, तँजस्तो निष्ठुर भएर भत्काउँदै बग्नु छैन मलाई, यसरी बग्ने मानिस हुँदैन । मानिसका क्रन्दन, व्यथा, बन्धन सुन्न र भन्न सकिन्न, तँ खै कसरी सुनिरहन्छस्, हामी दुईमा यही अन्तर छ । कति मानिस पनि यस्तै हुन्छन्, पलपल अरूलाई ठग्दै डुल्छन्, व्यथा बुझेर पनि भन्न सकिन्न, क्रन्दन कसैको सुन्न पनि सकिन्न ।
ब्रह्मपुत्रले बोगिबिल बगाएका सन्दर्भबाट प्रवासी नेपाली जनजीवनको दयनीय र कारुणिक अवस्था चित्रण गरिएको यस कवितामा त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई प्रकृतिले समेत कष्ट दिएको कुरा चित्रण गरिएको छ । नेपालीहरूको बसोबास भएको बोगिबिललाई पृथ्वीकै एउटा सुन्दर बगैँचाका रूपमा चित्रण गरी त्यस सुन्दर बगैँचामा नेपालीहरूको सुन्दर बस्ती रहेको र त्यसलाई ब्रह्मपुत्र नदीले डुबाउने गरेको र अहिले बगाइ नै सकेको सन्दर्भ वर्णनबाट प्रकृतिले समेत नेपालीहरूलाई दुख दिएको भावाभिव्यक्ति गरिएको छ । सोझो अर्थमा चराचुरुङ्गीहरूले समेत बास बस्ने नेपालीहरूको बसोबास रहेको नन्दन वनरूपी अत्यन्त सुन्दर भूमि बोगिबिल ब्रह्मपुत्रले बगाएर नेपालीहरूलाई बिचल्ली पारेको भावाभिव्यञ्जित यस कवितामा व्यञ्जना अर्थमा ब्रह्मपुत्र रूपी ठूलाठालू शोषक सामन्तीहरूले बोगिबिलरूपी निम्नवर्गीय नेपालीहरूलाई चरम अन्याय र अत्याचार गरी तिनीहरूका छाप्राछाप्रीसमेत भत्काएर तिनको सुन्दर बस्ती उजाड पारी मर्नु र बाँच्नुको दोसाँधमा पुऱ्याएको भाव प्रकट गरिएको छ । प्रकृतिको विध्वंसात्मक एवं उग्र रूपका माध्यमबाट मानवीय क्रूर प्रवृत्तिको चित्रण आक्रोशपूर्ण ढङ्गमा गरिएको यस कवितामा त्यस्ता दृष्टहरूको जस्तो व्यवहार आफुले नगर्ने र आफू त्यस्तो मानव क्रन्दन र व्यथा सुन्न पनि नसक्ने भाव अभिव्यञ्जित छ । यसरी एकसाथ दोहोरो अर्थ प्रकट हुने गरी स्वच्छन्दतावादी ढङ्गमा प्रस्तुत गरिएको यस कवितामा सामाजिक व्यङ्ग्यको समेत अभिव्यक्ति पाइन्छ ।
यस कवितामा परिवेशसूचक स्थानका रूपमा मूलतः ब्रह्मपुत्र र बोगिबिल आएका छन् र ती ठाउँकै वृत्तमा कविता घुमेकाले यसले स्थानीयता वा आञ्चलिकताको सङ्केत गरेको छ । यहाँ समयको स्पष्ट उल्लेख नभए पनि वर्षाको भेल र वसन्तको मनोरम अवस्थाको चित्रण गरिएकाले यस कविताले विशेषतः त्यही समयलाई सङ्केत गरेको छ । यस कृतिको वातावरण आद्योपान्त दुखद र सन्त्रस्त रहेको छ । प्रकृतिको सुन्दर रूप ब्रह्मपुत्रले बगाई बिगारेर तहसनहस पारी मरुभूमितुल्य बनाइएको चित्रणका सन्दर्भबाट वा नेपालीहरूलाई त्यहाँका ठालुहरूले गरेको अत्याचारका सन्दर्भबाट पनि यहाँको वातावरण दुखद छ । मूलतः प्राकृतिक विपत्तिबाट उत्पन्न मानवीय सङ्कटसम्बन्धी युगीन यथार्थको प्रकटीकरण मुख्य उद्देश्य रहेको यो कविता प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित छ । कतिपय मानिसहरूले पलपल ठग्नेगरेको यथार्थलाई बुझेर पनि भन्ननसकिने अवस्था रहेको विचार अभिव्यञ्जित यो एउटा आञ्चलिक प्रकृति विषयक उत्कृष्ट गद्यकविता हो ।
गोपीनारायण प्रधानको ब्रह्मपुत्रले बोगिबिल बगायो शीर्षक कविता अत्यन्त सरल भाषा र वर्णन–विवरणमूलक शैलीमा संरचित छ । विशेषगरी प्रकृतिबाट टिपिएका परम्परित बिम्बप्रतीकको सहज र स्वाभाविक प्रयोग पाइने यस कवितामा विभिन्न अलङ्कार प्रयोगका साथै प्रकृतिको मानवीकरण जीवन्त ढङ्गमा गरिएको छ । झट्ट हेर्दा पद्य ढाँचाका छोटाछोटा पङ्क्ति र स्पष्ट पङ्क्तिपुञ्ज देखिए पनि यो मुक्तछन्दमा संरचित तीव्र लयात्मक गद्यकविता हो । पङ्क्तिको बीच र अन्त्य दुवै ठाउँमा पाइने तुकबन्दी र आनुप्रासिक संयोजनले कविताको लयलाई तीव्रता प्रदान गरेको छ । सुन्थेँ, रुन्थेँ, हुन्थेँ, बगाइस्, पु¥याइस्, रहन्न, भनिन्न, काम, कान, नाना, गाना, हाँस्ने, बास्ने, फूल्थे, भुल्थे, राम्रा, हाम्रा, बाँचिरहने, साँचिरहने, हाँसिरहने, नाचिरहने, बनिरहेछ, गनिरहेछ, अडीअडी, बडीबडी, क्रन्दन, बन्धन, हुन्छन्, डुल्छन् जस्ता अनुप्रासयुक्त शब्दहरूको सहज प्रयोग तथा कतै सम र कतै विषम पङ्क्तिमा विन्यस्त विशिष्ट अनुप्रास योजनाका साथै विभिन्न वर्ण, शब्द र पदावलीको पुनरावृत्ति र समानान्तरताको प्रयोगले यो गद्यकविता भएर पनि लयात्मक, गेयात्मक र साङ्गीतिक बन्नपुगेको छ ।
एउटा सिङ्गो बस्तीलाई नै बगाएर समाप्त पार्ने नदीको उग्र रूपको चित्रणका माध्यमबाट प्रकृति र समाज दुवैतिर हुने दर्दनाक परिस्थितिको चित्रण गरिएको यस कवितामा अभिधार्थमा नदीले बस्ती उजाडेको र व्यञ्जनार्थमा कथित ठूलाबडाबाट निम्नवर्गका व्यक्ति प्रताडित भएको भावाभिव्यञ्जित छ । यसमा स्वच्छन्दतावादी ढङ्गबाट आञ्चलिकताको झझल्को दिने गरी प्रकृतिका उग्र, रौद्र र भयानक रूपको चित्रण गरिएको छ । सरल र सहज भाषाशैलीय विन्यासबाट लयात्मक ढङ्गले प्रस्तुत गरिएको यस कवितामा भावको तीव्रता पाइन्छ । मूलभावको सहजै आकलन गर्न सकिने प्रगीतात्मक संरचनायुक्त यस कविताको शीर्षक सामञ्जस्यमूलक, सार्थक र औचित्यपूर्ण रहेको छ। प्राकृतिक र सामाजिक परिवेशमा नेपालीहरूका दयनीय अवस्थाको चित्रण गर्ने उद्देश्यबाट प्रथम पुरुष दृष्टिबिन्दुमा कलात्मक रूपले लेखिएको यो स्वच्छन्दतावादी धाराको उल्लेख्य गद्यकविता हो ।
सन्दर्भसामग्री
- प्रधान, गोपीनारायण, साइलक आइरहेछ, शिलाङ : श्रीमती हस्तमाया प्रधान, २०३१ ।
- लुइटेल, खगेन्द्रप्रसाद, नेपाली काव्य समालोचना, काठमाडौं : साहित्य प्रकाशन, २०६७ ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौं, नेपाल
▬
विषयसूची
- कवि गोपीनारायण प्रधानका कविता : एक अवलोकन
- प्रधानसरसँग व्यतीत पलहरू : आँखी झ्यालबाट चियाउँदा
- गोपीनारायण प्रधानको “ब्रह्मपुत्रले बोगिबिल बगायो” कविताको विश्लेषण
- गोपीनारायण प्रधान र उनको ‘आकाशले पनि ठाउँ खोजिरहेछ’ कविता सङ्ग्रहको विश्लेषण
- स्व. गोपीनारायण प्रधानसँगको भेट : मात्र एक झझल्को
- नेपाली भाषाका खेताला गोपी नारायण प्रधान
गोपीनारायण प्रधान र उनको ‘आकाशले पनि ठाउँ खोजिरहेछ’ कविता सङ्ग्रहको विश्लेषण
डा. टेकनारायण उपाध्याय, शिलाङ, मेघालय
1. परिचय
गोपीनारायण प्रधानको जन्म 7 जनवरी 1935 को दिन नागरी फार्म, चियाकमान राङभाङ, बालासन दार्जीलिङमा भएको हो। प्रधानले त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट नेपाली विषयमा एम.ए. गरेका हुन्। दार्जीलिङमै आइ.ए.सम्मको औपचारिक शिक्षा लिएपछि सन् 1956 मा स्नातक अध्ययनका निम्ति आफ्ना जेठा दाजु भक्तिमान प्रधानसित शिलाङ आएपछि सन्त एन्थोनी कलेजबाट सन् 1958 मा स्नातक उत्तीर्ण गर्छन्। स्नातककै क्रममा सन् 1957 मा गोर्खा स्कूल उपर शिलाङमा शिक्षण कार्य गर्छन्। स्नातक गरेपछि सन्त एन्थोनीमै नेपाली विषय पढाउन थाल्छन्। केही वर्ष शिक्षण गराएपछि त्यही कलेजका प्रिन्सिपलको अनुरोधमा सन् 1963 मा एम.ए. गर्न काठमाडौं जान्छन् र त्यहींबाट उनले सन् 1966 मा नेपाली विषयमा एम.ए. समाप्त गर्छन् र सन्त एन्थोनीमै सन् 1996 सम्म कार्य गर्दै निवृत्त हुन्छन्।
गोपीनारायणले सन् 1956 मा केही समय दार्जीलिङ नगरपालिका स्कूलमा पढाएका थिए। त्यतिखेर नै उनले फिलिङ्गो पत्रिकाको प्रकाशन गरेका थिए। उनले असम गोर्खा (1956) आशा, हाम्रो आशा (1964-65) र मादल (1971) पत्रिकाको सम्पादन गरेका हुन्। उनले नेपाली साहित्य संघ (1959) का प्रचार मन्त्री, नेपाली साहित्य परिषद्का (1969) संस्थापक अध्यक्ष, असम हायर सेकेन्डरी इडुकेसन काउन्सिल तथा गुवाहाटी विश्वविद्यालय पाठ्यक्रमका सदस्य, साहित्य अकादेमी नेपाली भाषाका सल्लाहकार समितिका सदस्यमा बसेर काम गरेका थिए। रत्नश्री स्वर्ण पदक (वि.सं.2033), अखिल भारतीय नेपाली भाषा केन्द्रीय समिति देहरादुनबाट अभिनन्दन (1993), श्री विद्याधर्म प्रचारिणी नेपाली समिति वाराणसीबाट पुरस्कार (1995), मदन स्मारक व्याख्यानमाला पुरस्कार (1995), गोपाल पाण्डे असीम पुरस्कार, सञ्जय नारायण प्रधान स्वर्णपदक, साहित्य अकादेमी पुरस्कार (2010) आदि उनले पाएका प्रमुख पुरस्कार हुन्।
गोपीनारायण प्रधानका हालसम्म साइलक आइरहेछ! (1975), यस्तो भूल पो गरेछु (1978), आकाशले पनि ठाउँ खोजिरहेछ, (2007), नेपाली रचनावली (सह सम्पा. 1983), नेपाली पाठ सङ्ग्रह (सह सम्पा. 1993) कविता सङ्ग्रह र पाठ्यपुस्तक प्रकाशित भएका छन्। उनको एउटा समालोचनाको पुस्तक विवर्तन (2000) पनि प्रकाशित छ। लगभग 55 वर्षको नेपाली भाषा, समाज र साहित्यको सेवा गरेर सधैं जातीय पोशाकमा ठाँटिएर सेवा गरेपछि सन् 6 जनवरी 2012 का दिन उनी यस संसारबाट विदा भए।
2. काव्यप्रवृत्ति
दार्जीलिङमा जन्मे, हुर्केर शिलाङलाई कर्मक्षेत्र बनाएका गोपीनारायण समसामयिक युगका स्वच्छन्दतावादी, यथार्थवादी कवि हुन्। उनी मूल रूपमा कविका रूपमा चिनिन्छन्। कविताका अतिरिक्त उनको कलम निबन्ध, समीक्षा, भूमिका आदि विधाम पनि चलेको छ। प्रधानका कवितामा स्वच्छन्दतावादी भावुकता साथै क्रान्तिकारी चेतना, निम्नवर्गीय पक्षधरता पाइन्छ। तत्कालीन परिवेशमा देखिएका गरिबी, शोषण, दमन, उत्पीडन, अशिक्षा, अज्ञानता, अन्याय, अत्याचार आदिको अभिव्यक्ति उनका कवितामा पाइन्छ। यिनका कतिपय कवितामा क्रान्तिकारी चेतना, राष्ट्रवादी र मानवतावादी भावना, वर्गीय विभेद, निम्नवर्गले झेल्नुपर्ने आर्थिक सङ्कट अभिव्यक्ति भएका छन्। तत्कालीन प्रसिद्ध नेपाली कवि महानन्द सापकोटा, लक्ष्मीप्रसाद देवकोटा, अगमसिंह गिरीबाट प्रभावित प्रधानले ती अग्रज कविप्रति श्रद्धा व्यक्त गरेर कविता लेखेका छन्।
प्रधानका कवितामा कतै स्वच्छन्दतावादी, रहस्यवादी, कतै आदर्शवादी, कतै क्रान्तिकारी र प्रगतिशील चिन्तन र भाव पाइन्छ। प्रधानले प्रकृतिचित्रणलाई पनि काव्यमा विशेष स्थान दिएका छन्। यिनले विभिन्न जङ्गल, नदी, गाउँको चित्रण गरेका छन्। यिनका कवितामा आतङ्कवाद, हिंसा, विद्रोह, युद्ध झैझगडा आदिको घोर विरोध गरिएको छ। प्रकृति र मानव जीवनका अनेक पाटालाई तुलनात्मक ढङ्गले प्रस्तुत गरिएको छ। यिनले मानवका सबै खाले विकृति र नकारात्मकताको विरोध गरेका छन्। यिनले राष्ट्र, राष्ट्रियता, राष्ट्रका वीरहरूको मूल्य र मान्यताको वर्णन गरेका छन्। यिनले आफ्नो जन्मभूमि, कर्मभूमिको खुलेर महिमागान गरेका छन्। छलकपट, शोषण, प्रकृति नष्ट, युद्ध, बम, गोला बारुद आदि सबै थोकको विरोध गरेका छन्।
समाजमा उच्चवर्गबाट निम्नवर्गका गरीब निमुखाहरूप्रति गरिने भेदभावपूर्ण र अमानवीय व्यवहार, अनेक प्रकारका शोषणको अन्त्य तथा समान अधिकार प्रदान गर्नुपर्ने धारणाको प्रस्तुतिका दृष्टिमा यिनी मानवतावादी प्रगतिवादी कविका रूपमा देखिन्छन्।
प्रधानले विभिन्न विषयवस्तुलाई सरल, सहज, सुबोध र स्वाभाविक भाषाशैलीय विन्यासमा अभिव्यक्त गरेका छन्। यिनका भाषामा शुद्ध नेपाली बोलचाल, तत्सम र आगन्तुक शब्दको प्रयोग पाइन्छ।
3. आकाशले पनि ठाउँ खोजिरहेछ (कविता सङ्ग्रहको) विश्लेषण
- शिल्पसंरचना
- विषयवस्तु वा मूलभाव
- परिवेश
- उद्देश्य
- दृष्टिबिन्दु
- भाषाशैलीय विन्यास
- निष्कर्ष
नीलो आकृतिमाथि सेता अक्षरले आकाशले पनि ठाउँ खोजिरहेछ लेखेको र पुछारमा पहेंला अक्षरले गोपीनारायण प्रधान लेखेको यो कविता सङ्ग्रह सन् 2007 मा नेपाली साहित्य परिषद्, शिलाङले प्रकाशित गरेको हो। यो सङ्ग्रह कविले आफ्नी धर्मपत्नी हस्तमाया प्रधानलाई समर्पण गरेका छन्। आकाशलाई पनि ठाउँ दिन खोज्ने कवि भनेर जीवन नामदुङले यसको भूमिका लेखेका छन्। त्यसै गरी मनोजकुमार उपाध्यायको प्रधानमाथि गरिएको शोधग्रन्थबाट दुइ पृष्ठ उद्धरण गरेर राखिएको साथै परिषद्का सचिव प्रा. नरबहादुर राईले प्रधानको सम्मानमा केही शब्दहरू प्रकट गरेका छन्। प्रा. हरिभक्त नवपानीय, उमेश गौतम, विष्णु शर्मा अधिकारी, काशीबहादुर श्रेष्ठ, प्रेमलाल जैशी, दिल साहनी, कृष्णसिंह मोक्तान्, डी.टी. जिम्बा, डी.पी. जोशी, रुवी न्यौपाने, हेम जोशी, अर्जुन प्रधान, डी.के श्रेष्ठ, सुकराज दियाली, शरद् ज्ञवाली, चन्द्रमणि अधिकारी, रणबहादुर सापकोटा, लक्ष्मी मिनु आदिले प्रधानको कवित्व एवं लेखनशैलीमाथि आफ्ना विचार प्रकट गरेका केही अंश यसमा समावेश गरिएका छन्। कविता सङ्ग्रहमा समावेश गरिएका कविताक्रमभन्दा अघिको पातोमा कृतज्ञता प्रकट गरिएको छ।
यस सङ्ग्रहमा साना-ठूला विभिन्न शीर्षकका सत्रवटा कविता सङ्ग्रहीत छन्। पृष्ठसङ्ख्या 19 बाट कविताक्रम थालिएर 80 पृष्ठसम्म यी कविताहरूको विस्तार भएको छ। आकाशले पनि ठाउँ खोजिरहेछ सङ्ग्रहको पहिलो कविता हो भने जन्मथलोको सम्झना (पृ.71) अन्तिम कविता हो। यस सङ्ग्रहमा प्रधानका आठ पङ्क्तिले पङ्क्तिपुञ्ज (स्तर, पृ.25) बनाइएको छोटो कविता हो भने चार पङ्क्तिपुञ्जमा बाँडिएको र छसय बाह्य पङ्क्तिमा रचिएको (आतङ्कवाद : युगको अभिशाप, पृ. 40) सबैभन्दा लामो कविता हो। कममा एक शब्द र धेरैमा आठशब्द (जन्मथलोको सम्झना, पृ. 71) प्रयोग गरी पङ्क्ति बनाइएको यस सङ्ग्रहमा असमानुपातिक पङ्क्ति निर्माण योजना छ। समसामयिक युगका विभिन्न विषयलाई लिएर रचिएको यो सङ्ग्रह प्रतीकात्मक संरचनामा आधारित छ।
यस सङ्ग्रहमा आधुनिक युगले जन्माएको विसङ्गत परिवेश, आतङ्कवाद, आजको वस्तुवादी दुनियाँको चित्रण, गरिबी, शोषण, साम्प्रदायिक सङ्घर्ष, प्रकृति चित्रण, जन्मथलोको महिमा आदि विषयवस्तु वा भाव भएका कविता छन्। यस सङ्ग्रहमा आयामका दृष्टिले कति छोटा र कति लामा कविता रहेका छन् र विषय र भावको विविधता पाइन्छ। विषयको विविधता पाइए तापनि यसमा आतङ्क, अशान्ति, शोषण, अन्याय, मानवले जन्माएको विषम परिवेश आदि मुख्य विषय रहेका छन्। सङ्ग्रहको पहिलो कविताको नाममा सङ्ग्रहको नामकरण गरिएको छ। आकाशले पनि ठाउँ खोजिरहेछ भनेर आजको मानवीय वृद्धि र यसको विसङ्गति अङ्कित गर्ने प्रयास यसमा गरिएको छ र विस्मय चिह्नद्वारा मान्छे भविष्यमा के हुने? भनेर आश्चर्य प्रकट गरिएको छ।
आकाश सीमाहीन ठाउँको प्रतीक हो, तर आजको मान्छेले उसको सीमाहीन परिवेशलाई पनि ढाक्ने हो कि र उसैलाई पनि ठाउँ नपुग्ने हो कि भनेर आश्चर्य प्रकट गरिएको छ। कवि विशाल जलराशिले भरिएको समुद्रका विषयमा पनि चिन्तित छन्। त्यहाँ पनि लालची एवं अतृप्त मानसिकताले पीडित मान्छेले आफ्नो साम्राज्य फैलाएर विविध प्रकारले प्रदूषित पार्नथालेको छ भनेर चिन्तित छन्। यही मान्छेको अतृप्त इच्छा देखेर कहिलेकाहीं समुद्र सुनामी बनेर उसमाथि बर्सने गर्छ। यस सम्बन्धी एउटा उदाहरण यस्तो छ :
यो विशाल अनन्त आकाशलाई पनि
ठाउँ पुगेन रहेछ
आकाशले पनि ठाउँ खोजिरहेछ!
यसै पानी पुगेन भनेर समुद्र
तिर्खाएको तिर्खाएकै छ
यो अगाध जलराशिलाई पानी
पुगेन रहेछ।
(पृ. सं. 19)
पुँजीपति, सामन्ती र अनन्त इच्छा भएका मान्छेहरू यो संसारलाई मुठीमा राख्न चाहन्छन्। उनीहरूको सेपले गर्दा संसारभरि रोग, शोक र भोकले ग्रस्त अनेक मानव, प्राणी त्राहित्राहि छन्। प्रकृतिले सबैलाई समान अधिकार दिए तापनि मान्छेले सिमाना खिचेको छ। आज तिनीहरूका छायाँमा परेर अनेकौंले भोकै, नाङ्गै बसेर लाचार जीवन बिताउन बाध्य हुनुपरेको छ। कवि प्रधानले यस अनन्त आकाशसित यी गरीबहरूप्रति कस्तो न्याय हुनसक्छ भनेर प्रश्न गरेका छन्, जस्तै –
गरिबको रगत चुसेको चुसेकै छ
भिखारिहरूसित पनि हात थापिरहेछ
यतिसम्म कि मेरो फाटेको खल्ती
पनि खोतलिरहेछ।
(पृ.19)
कवि प्रधान एक्काइसौं शताब्दीका मान्छेसँग असन्तुष्ट छन्। आजको मान्छेले आफ्नो बुद्धि, बल शक्तिले धेरै उन्नति गरेको छ, तर उसका इच्छाहरूले अनेक प्रकारका जरा-हाँगाहरू हालेका छन्। यो मान्छे जाति, धर्म, वर्ग आदि अनेकौ गुटमा विखण्डित भएको छ। मान्छेले अनेक प्रकारका देश, राज्य, समाज, गाउँ, टोल बनाएर आफूलाई विभिन्न टुक्रा पारेको छ साथै इच्छा, चाहना आदि बोकेर अर्कालाई होचो देखाउन खोजेको छ। आफू ठूलो बन्न अनेक प्रकारका हातहतियार, अणुपरमाणु निर्माण गरी अरूलाई मार्ने गरेको छ। कवि यस्ता प्रवृत्ति मन पराउँदैनन्। मान्छे यस्तै रहिरह्रो भने भोलि संसार सखाप हुनेछ भन्ने उनको दृष्टिकोण रहेको छ, जस्तै –
सखाप पार्दैछ
मान्छेको अस्तित्वको विलुप्ति
मान्छेले गर्दैछ
मान्छे सदा युद्धरत छ
यस्तै भइरह्रो भने
यस धरतीमा मान्छे रहँदैन
निरन्तर मान्छेले खोजिरहेछ
मान्छे मार्ने साधन
(मान्छे मार्नलाई मान्छे जन्मेको रहेछ)
मान्छेलाई मार्दैछ, पृ.सं. 22
गुफा, ओडार आदिमा बसेर, काँचै खाएर जीवन बिताउने मान्छे आज शहरिया बनी सृष्टिको शक्तिशाली प्राणी बन्न खोजेको छ। सभ्य भएर उन्नति गरे तापनि उसभित्र रहेको पाश्विक प्रवृत्ति भने जस्ताको तस्तै छ। आफूलाई श्रेष्ठ राख्न वा बचाउन प्रयत्न गरेको मान्छेले आज युद्धको नीति फेरेको छ, तर उसको हिंसालु स्वभाव जस्ताको तस्तै छ। सीमा, घेरा आदि बनाएर बसे तापनि प्रतिशोधको ज्वालामा जलेको छ र अरूलाई पनि अशान्त पारेको छ। कविले मान्छेका यस्ता स्वभावप्रति यसरी दुःख व्यक्त गरेका छन् : –
दुनियाँ जलेको छ
यसो केही भन्यो
दुनियाँ जलेकै छ
राम्रो लुगा लगाउँ
राम्रो घरमा बसौं
राम्रो राम्रो खाउँ
वा कतै नजाउँ
दुनिया जलेकै छ
दुनियाँ जलेकै छ, पृ. सं. 24
मान्छेको जनसङ्ख्या तीव्र रूपमा बढेको बढेकै छ। सात अरब जनसङ्ख्याले पृथ्वी त्राहि-त्राहि भइसकेको छ। माटो, सागर, आकाश मान्छेले सबै ठाउँ ढाकिसकेको छ। पृथ्वीका सबै वस्तुमाथि उसले कब्जा गरिसकेको छ। यसरी नै मान्छेको सङ्ख्या बढिरहने हो भने धरतीमा रहेका सबैथोक मासिने छन्। त्यसपछि मान्छे भन्ने जीव यस ब्रह्माण्डमा देखिने छैन। समय छँदै मान्छेले यस धरतीको विषयमा सोच्नु, विचार गर्नुपर्छ भन्ने कविको सोचाइ रहेको छ, जस्तै –
आकाश भरियो मान्छेले<
समुद्र पनि भरियो मान्छेले
हो धेरै अति धेरै मान्छेले
धरती पनि भासिदै छ
धरतीको सबथोक मासिंदै छ
जहाँ पनि मान्छे छ, पृ.सं. 29-30
यस कविता सङ्ग्रहको मुख्य विषय आतङ्कवाद हो। आतङ्कवाद युगको अभिशाप शीर्षक कविता सङ्ग्रको सबैभन्दा लामो कविता हो। आतङ्कवादीहरूलाई सम्बोधन गरेर लेखिएको यस कवितामा आफ्नो नीच स्वार्थका लागि निर्दोष मान्छेहरूको, नारी, शिशुहरूको समेत ज्यान लिन नडराउने नराधमहरूको कुकर्मले गर्दा संसार विक्षिप्त भएको छ, यसले सबैथोक उल्टोपाल्टो पारेको छ। आफ्ना इच्छा सफल भएनन् भनेर उनीहरूले हतियार उठाएका छन्, तर तिनीहरूका यस्ता कर्मले निर्दोष र सामान्य जीवन निर्वाह गर्नेहरूलाई ठूलो पीर परेको छ। कवि आतङ्कवादीका निर्मम कर्मप्रति सहमत छैनन्। आफ्नो हक र अधिकारका लागि लड्ने अधिकार सबैलाई छ, तर हात-हतियार चलाई, गोली, बम चलाई, पड्काई दुनियाँलाई पीर पार्नु भन्ने नियम कहाँ छ भन्दै कविले यसरी प्रश्न गरेका छन् –
तिमीहरूको माग पूरा भएन भनेर
आतङ्क फैलाएर
दुनियाँलाई सताएर
निर्दोषहरूको ज्यान लिएर
आफ्नो स्वार्थमात्र हेरेर
देशवासीहरूलाई पीर पारेर
दबाब गरेर
अत्याचार गरेर
एउटासितको रिस
अर्कोसित फेरेर
के यस्तो पाप गरेको?
आतङ्कवाद : युगको अभिशाप, पृ.सं.40
आतङ्कवाद आज संसारका लागि चुनौती बनेको छ। आतङ्कवादीले दया-माया नराखी बम, बारुद, बन्दुक पड्काएर, हत्या, अपरहरण, षडयन्त्र, बलात्कार गरेर लाशै-लाशको थुप्रो, रागतका टाटा, मानव शरीरका क्षतविक्षत् अङ्गप्रत्यङ्ग देखेर, सुनेर कविको ह्मदय पीडा र वेदनाले छियाछिया परेको भावभिव्यक्ति यसरी गरिएको छ :-
मरेकाहरूलाई
घाइतेहरूलाई
पोलिएकाहरूलाई
निस्सासिएकाहरूलाई
भष्मिएकाहरूलाई
आतङ्कवाद : युगको अभिशाप, पृ.सं. 45
आतङ्गवादीहरू पनि मान्छे हुन्, उनीहरूको पनि हृदय छ, मान्छे हुँदाहुँदै र आत्मा हुँदाहुँदै किन यसरी अमानवीय कार्य गर्छन्। आतङ्कवादी सङ्गठनहरूलाई यस्तो नगर्न कविले यसरी उपदेश दिएका छन् :-
तर तिमीहरू अन्यायको नाउँमा
निर्दोषहरूमाथि विवेकहीन भएर
स्वार्थी भएर
अत्याचारी भएर
घोर अत्याचार गरिरहेछौ
आतङ्कवादीहरूको आदर्श हुनुपर्छ
आतङ्कवाद : युगको अभिशाप, पृ.सं. 47
कवि आतङ्कवाद, हिंसा, अत्याचार समाप्त गरी शान्ति, सौहार्द, अहिंसा, प्रेम, बन्धुत्व र आपसी भाइचाराको पक्षधर बनेका छन्। आतङ्कवादी पनि मान्छे हुन्, उनीहरू पनि मान्छेकै समाजमा बस्छन् यसर्थ मानवीय गुण भएका व्यवहार गर्नुपर्छ भन्ने कविको दृष्टिकोण यसरी प्रकट भएको छ :-
खै शान्ति आउन सकेको
सदा मानिस सन्त्रस्त छ
सङ्घातमा परेको छ
आतङ्कवाद : युगको अभिशाप, पृ.सं. 49
पूर्वोत्तर भारत बर्सौंदेखि आतङ्कबाट गुज्रिरहेको छ। एकातिर देश निर्माणमा लागेका नेताको स्वार्थलोलुपता अर्कोतिर सामान्य जनताले बाँच्नका लागि गर्नुपर्ने सङ्घर्ष छ। आतङ्कवाद यी दुइ धाराका उपज हुन्। पचास वर्षअघि असमको राजधानी शिलाङमा प्रवेश गरेर यहाँका प्रत्येक गतिविधिसँग साक्षात्कार गरेका कवि आफै पनि यस चपेटाभित्र परेका थिए। कविको चासो केवल आतङ्कवादी सङ्गठनहरूबाट हुने विषयमा सीमित छैन। उनको चासो जातीय तथा धार्मिक गुट र सरकारतिर पनि छ। त्योभन्दा माथि उनको चिन्ता अतिराष्ट्रवाद, विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्न सम्पूर्ण विश्वमा मच्चाएको आतङ्कवादप्रति पनि छ। यस्ता शक्तिहरूप्रति सचेत, जागरूक र गम्भीर हुन कविले यसरी आह्वान गरेका छन् :-
निर्दोषहरूलाई पिरोलिएर होइन
चित्त नबुझेकोमा माग गर्ने
शान्तिपूर्वक माग गर्ने
कला-ढङ्ग खोज्नुपर्छ
जनताको सफलताबिना
सफलता कसैले पाउँदैन।
आतङ्कवाद : युगको अभिशाप, पृ.सं. 59
यस सङ्ग्रहका भूइँचालो र तुफान शीर्षकका कवितामा कविले मान्छेको साम्प्रदायिक सङ्घर्षका घटक तत्त्वहरूलाई नकार्दै मानवतावादी भाव अवलम्बन गर्न आह्वान गरेका छन्। संसारमा ठूला-ठूला भैंचालाहरू आएर हजारौं लाखौं मान्छे र अन्य प्राणी समाप्त भएका छन्। कवि यस्ता प्राकृतिक प्रकोप नआउन् भन्छन्। आज मान्छेले उन्नति गर्दै लगेर ढुङ्गा, ईटा, रङ, सिमेन्ट, बालुवाका भवन निर्माण गरेको छ। एउटै भवन कैयौं तलाका छन्, यसले गर्दा पृथ्वीको सन्तुलन बिग्रेको छ। मान्छेले प्रकृतिलाई विजय गर्छु भनेर अनेक भाँतीका कर्महरू गर्दैछ। त्यस्ता क्रमले कुनै पनि समय ठूला विनाश, सुनामी, भूकम्प आउन सक्छन् र उसले गरेको उन्नति एकैक्षणमा ध्वस्त हुनसक्छन्। कविले मान्छेलाई घमण्ड नगर्न र प्रकृतिलाई बुझ्न यसरी आह्वान गरेका छन् :-
सदा डुबेको हुन्छ
छातीमा सबै थोक
लिएर जान्छु सोच्छ
घमण्डको पोको हुन्छ
मानिसले काम गर्नुपर्छ
अरूलाई दुःख नदिईकन
उन्नति गर्नुपर्छ
अरूलाई नदबाईकन।
भूइँचालो, पृ.सं. 63
भूइँचालो जस्तै तुफानले पनि ज्यानमाल सखाप पार्छ। यहाँ कविले तुफानका रूपमा आउने साम्प्रदायिकतावाद, उग्रजातीयतावाद, विनाशकारी तत्त्वहरूको पनि विरोध गरेका छन् साथै प्रकृतिको विनाशकारी लीलाको उद्घाटन गरेका छन्। मान्छे, जीवजन्तुबीच अन्तःसम्बन्ध रहेको छ। पृथ्वीका अन्य जीवले त प्रकृतिका नियामानुसार कार्य गरिरहेका छन्, तर मान्छेले बाठो भएर प्रकृतिलाई नै आफ्नो वशमा पार्नखोजेको छ। यिनै अनेक कारणले पृथ्वीमा असमय र वेमौसमका आपदाहरू आउन थालेका छन्। प्रकृतिको आपदासँगसँगै मान्छेका विसङ्गति, साम्प्रदायिकता र अमानवीयता जस्ता कृत्यहरूलाई कवितामा उद्घाटन यसरी गरेका छन् :-
आगो लगाएको
मान्छेले मान्छेलाई गोली हानेको
घिसारेर निकालेको
समातेर पछारेको
घोक्रयाएको
मुन्ट्याएको
ठुन्क्याएको
घोचेको
तुफान, पृ.सं. 67
आफ्नो जन्मस्थानका बारेमा रचिएको … जन्मथलोको सम्झना (पृ. सं. 71) सङ्ग्रहको सत्रौं तथा अन्तिम कविता हो। दार्जीलिङको रमणीय वातावरणमा जन्मेका, हुर्केका कवि प्रधानको कार्यक्षेत्र शिलाङ बन्यो। जन्मथलोमा व्यक्तिका शैशवकालदेखिका सुखदुःख आदि भावहरू जोडिएका हुन्छन् र यी जीवनपर्यन्त रहिरहन्छन्। आफू जन्मेको, हुर्केको ठाउँ र त्यहाँको समाजसँग उनको गहिरो सम्बन्ध हुन्छ। कवि प्रधानले बाल्यकालमा बिताएका दिनहरू विर्सन सकेका छैनन्। आफ्नो शैक्षणिक जीवनबाट निवृत्त भएपछि र आफ्नी जीवनसङ्गिनीको देहावसान भएपछि उनलाई आफ्नो जन्मस्थानको सम्झनाले झन् सताउन थाल्छ। उनले त्यस अनुभवलाई यसरी वर्णन गरेका छन् :-
कहिले हेरूँ लाग्छ
साठी वर्ष पुगेछ राम्ररी नागरी छोडेको
अहिले तिरत्तर वर्षमा हिंड्दैछु
कति वर्षपछि कहिले पुगिन्छ
आफ्नो अति प्यारो जन्मथलो
जन्मथलोको सम्झना, पृ. सं. 71
कवि प्रधानलाई आफ्नो जन्मथलोप्रति असीम प्रेम छ। उनले आफ्ना दौंतरीहरू, चियाबारी, डाँडाकाँडा, पाखापखेरालाई सम्झेका छन्। नागरीफार्मका एउटा-एउटा वस्तुलाई उनले चित्रात्मक ढङ्गले कवितामा उतारेका छन्। पचासवर्षपछि पनि कविले दार्जीलिङका चियाबारी नागरी- फार्मका सानोभन्दा सानो वस्तु बिर्सेका छैनन्। साँचो राष्ट्रभक्तमा हुनुपर्ने गुणहरू यस कवितामा पाइन्छन्। देश र जन्मस्थान स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने कुरा कविले यसरी प्रस्तुत गरेका छन् :-
मेरो प्यारो शैशवकाल
त्यो रमाइलो नागरीको आँचल
न्यानो आमाको पवित्र काख
आफू जन्मेको, खाएको, खेलेको
डुलेको, कुदेको, बढेको, पढेको
कसले कसरी बिर्सन सक्छ आमालाई
म नागरीको हावा नागरीको पानी
मुटु पनि नागरीको अनि मथिङ्गल पनि
नागरी-नागरी भनेको सुन्छु
जन्मथलोको सम्झना, पृ. सं. 72
माथि आएका मूल विषयवस्तु वा भावबाहेक प्राप्ति अप्राप्ति, आँखाले देखेको क्षितिज, जीवनमा आइपर्ने समस्या, काव्यको महिमा, आशैआशमा बाँच्नुपर्ने जीवनको सत्यता, मान्छेको परिचय पुरुष र स्त्रीबाहेक अरू केही छैन, नयाँ जीवनको खोज, जीवन फूलझै बन्नसक्छ आदि उनका यस कवितामा आएका अन्य विषय हुन्।
कवि गोपीनारायण प्रधानको आकाशले पनि ठाउँ खोजिरहेछ कविता सङ्ग्रहमा (जन्मथलोको सम्झना, पृ.सं. 73 र ब्रह्मपुत्र पनि, पृ.सं.20) दुइ कवितामा परिवेशको उल्लेख पाइन्छ। यी दुइ कविताबाहेक अन्य कवितामा परिवेशको उल्लेख पाइँदैन। जन्मथलोको सम्झना कवितामा दार्जीलिङको नागरीफार्म चियाकमानको परिवेशको उल्लेख गरिएको छ। यसरी नै ब्रह्मपुत्र पनि (पृ.सं.20) कवितामा असमको नदी ब्रह्मपुत्रको निश्चित परिवेश पाइन्छ। सङ्ग्रहका अन्य कविताहरूले भूत, वर्तमान र भविष्यत् काललाई सङ्केत गरेका छन्। यस हिसाबले उनका पन्ध्रवटा कविता सार्वस्थानिक र सार्वकालिक छन्। जन्मथलोको महिमा कवितामा प्रधानले आफू जन्मेको, देखेको, हेरेको अनुभव गरेका र आफ्नो बचाइ, सङ्घर्ष, अध्ययनकालमा आफ्नो सम्पर्कमा आएका आफन्तहरू नातागोताहरू, इष्टमित्रहरूका सम्झनाको परिवेशलाई राम्ररी चित्रण गरेका छन्।
ब्रह्मपुत्र पनि (पृ.सं.20) कवितामा उनले ब्रह्मपुत्रले विभिन्न समयमा पारेको नकारात्मक, सकारात्मक दुवै परिवेशको उल्लेख गरेका छन्। ब्रह्मपुत्रलाई ठाउँठाउँमा मान्छेले अनेक प्रकारले अतिक्रमण एवं दूषित पारेको छ। ब्रह्मपुत्र मान्छेका हरेक प्रकारका दुष्प्रवृत्तिको साक्षी बनेको छ। त्यसकारण उसले समयसमयमा उग्ररूप धारण गरेर उसलाई दुःख दिनेलाई दुःख दिने गर्छ। कविले ब्रह्मपुत्र र मान्छेका कर्महरू देखेकाले दुवैको परिवेश कवितामा प्रकट गरेका छन्।
एक्काइसौं शताब्दीमा आतङ्कवाद एउटा नयाँ समस्या र चुनौतीका रूपमा आएको छ। कवि प्रधानले आतङ्कवाद : युगको अभिशाप (पृ.सं.44) कवितामा आतङ्कवादीहरूले कसरी मान्छे मार्छन्, बमगोला पड्काएर सताउछन्, हातहतियार चलाएर तर्साउँछन् आदि विषयलाई प्रमुख विषय बनाएका छन्। यस कवितामा आतङ्कवादले पार्ने, गर्ने आदि आतङ्क र त्रासदीय परिवेशको उल्लेख गरेका छन्। आतङ्कवादीहरूले लुट्ने, दुःख दिने, त्रासदीय वातावरणको निर्माण गर्ने व्यवसाय जस्तै बनाएका छन्। कविले आतङ्कवादको उग्र, भयानक, दुष्टरूप हुन्छ र यो सभ्य समाजका लागि घातक भएको छ भन्ने परिवेश पनि अघि सारेका छन्। कविले संसारमा सम्पन्नताले ढाडिएका, विपन्नताले चाउरिएका, अहम्ले फुलेका, धुत्र्याइँ, जालसाज आदिको जालो फैलाएर साधारण मान्छेलाई आतङ्कवादी कार्यतिर धकेलिरहेका छन् भन्ने त्रासद परिवेशको चित्रण पनि गरेका छन्।
मान्छे यस धरतीको बुद्धिमानी प्राणी हो। उसले चाहेका खण्डमा यो धरतीलाई स्वर्ग बनाउन सक्छ, तर आजको मान्छेले उन्नतिको नाममा अनेक प्रकारका कुकृत्य गरेर पृथ्वीलाई खेलौना जस्तै बनाएको छ। कविले यस संसारमा अन्य सबै जीवजन्तु सकिएर केवल मान्छे नै मान्छे फैलिएका छन् र अनेक प्रकारका नराम्रा कर्म गरेर पृथ्वीलाई दूषित पारेका छन् भन्ने विनाशक परिवेशको चित्रण गरेका छन्।
कविले यस सङ्ग्रहमा मान्छेका सकारात्मक परिवेशभन्दा नकारात्मक परिवेशलाई अघि सारेका छन्। मान्छेले संसारमा पारेको असर, मान्छे नै आतङ्गवादी बनेर दिएको दुःख, हातहतियार, बमगोला, बारुद बनाएर मच्चाएको आतङ्ग, अन्य सबै जीवजन्तुलाई सखाप पारेको नकारात्मक परिस्थिति चित्रण गरेका छन्। कविले शहरिया एवं ग्रामीण दुवै क्षेत्रमा मान्छेले पारेको असरको दूषित परिस्थिति देखाएका छन्। कवितामा जन्मभूमिको महिमाको सकारात्मक वर्णनबाहेक अन्य सबै परिवेश नकारात्मक रहेका छन्। यससम्बन्धी केही उदाहरण तल दिइन्छ :-
निर्दोषमाथि विवेकहीन भएर
स्वार्थी भएर
अत्याचारी भएर
घोर अत्याचार गरिरहेछौ
आतङ्गवाद : युगको अभिशाप, पृ. सं.47
आकाश पनि भरियो मान्छेले
समुद्र पनि भरियो मान्छेले
नगरभरि मान्छे छ
शहरभरि मान्छे छ
जङ्गलभरि मान्छे छ
जहाँ पनि मान्छे छ, पृ.सं. 29
मेरो जन्मस्थल
मेरो प्यारो नागरीको हाल
अनेक बन्धनमा बाँधिएको छु
तर जन्मथलोको प्रेम
छात्तीभरि मुटुभित्र राखेको छु
जन्मथलोको सम्झना, पृ.सं. 73
कवि गोपीनारायण प्रधानले आकाशले पनि ठाउँ खोजिरहेछ कविता सङ्ग्रहमा आधुनिक युगमा देखिएका विसङ्गति, आतङ्कवाद, संसारमा बढ्दै गएको मानवीय चाप, गरीबी, शोषण, साम्प्रदायिक सङ्घर्ष, विडम्बना, मानवीय सङ्कट आदि निकट भविष्यमा समाप्त भई एउटा स्वच्छ, स्वस्थ र द्वन्द्वरहित समाजको स्थापना गर्ने उद्देश्य राखेका छन्। आज संसारमा देखिएको सबभन्दा डरलाग्दो परिस्थिति हो आतङ्कवाद। आतङ्कवादका कारण संसारभरि असङ्गति र अन्यायको साम्राज्य फैलिएको छ। हत्या, अत्याचार, शोषण, घृणा, काटमार, लुटपिट सामान्य कार्यजस्ता भएका छन्। स्वर्थवश मान्छेलाई नै समाप्त पार्न खोजेको छ। कवि निकट भविष्यमा आतङ्क र अनैतिकता समाप्त गर्दै एउटा शान्त, समन्वययुक्त संसारको निर्माण गर्न चाहन्छन्।
संसारमा असामयिक रूपले भूइँचालो, तुफानको प्रकोप बढेको छ। यी प्राकृतिक विपदा बढाउनमा मान्छेकै हात छ। मान्छेले सोचविचारै नगरी पृथ्वीलाई खन्ने, भित्रबाट बाहिर निकाल्ने, पहाड फुटाउने, आवश्यकताभन्दा धेरै शहरमा थुपार्ने काम गरेको छ, जसले गर्दा प्रकृतिको सन्तुलन बिग्रँदैछ। कवि समयमै सचेत हुन आह्वान गर्छन्। कविताद्वारा मान्छेसम्म यो सन्देश पुऱ्याउने उनको उद्देश्य छ।
कवि आफ्नो देश, आफ्नो समाज, आफू जन्मेको ठाउँको माया गर्नुपर्छ भन्छन्। माटाको माया, जन्मस्थानको माया गर्नेले मात्र देशको माया गर्न सक्छ भन्ने सन्देश पुऱ्याउने उद्देश्य कविले राखेका छन्। हाम्रा नदीनाला, वनपाखा, बोटबिरुवा हाम्रा जीवनका आधार हुन्। यी सबै जोगाउने काम मान्छेको हो। मान्छेका लागि नै यो पृथ्वी बनेको हो र यसलाई सुरक्षित राख्ने जिम्मा मान्छेले नै लिनुपर्छ र यस धरतीमा मान्छे सुरक्षित हुनेछ भन्ने मुख्य उद्देश्य कविको छ।
यस कविता सङ्ग्रहमा प्रथम पुरुष दृष्टिबिन्दु र तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग भएको छ। समस्या (पृ.26), परिचय (पृ. 30), एकछिनको सोचाइ (पृ. 33), फूलफुलाउने रहर (पृ.36), जन्मथलोको सम्झना (पृ. 71) गरी 6 वटा शीर्षकका कविता प्रथम पुरुष दृष्टिबिन्दुमा रचिएका छन् भने ब्रह्मपुत्र पनि … (पृ.20), आतङ्कवाद : युगको अभिशाप (पृ. 40), आकाशले पनि ठाउँ खोजिरहेछ! (पृ.19) मान्छेलाई मार्दैछ (पृ.22), दुनियाँ जलेकै छ 1 (पृ.24), स्तर (पृ.25), कविता (पृ.27), आशा (पृ.28), जहाँ पनि मान्छे छ (पृ.29), भूँइचालो (पृ.60), तुफान (पृ. 65) शीर्षकका कविताहरू तृतीय पुरुष दृष्टिबिन्दुमा संरचित छन्। प्रथम पुरुष र तृतीय पुरुष दृष्टिबिन्दुका उदाहरण तल दिइन्छ :-
रोकिन्छ
सबै रोकिन्छन्
यो कुदाइ
यो घुमाइ
मेरा प्रत्येक पाइलाको
पृथ्वीमाथि परेको थिचाइ
म आफै रोकिन्छु
एकछिनको सोचाइमा, पृ.सं. 33
यस्तै भयो भने
यस्तै भइरह्रो भने
यस धरतीमा मान्छे रहँदैन
निरन्तर मान्छेले खोजिरहेछ
मान्छे मार्ने साधन
मान्छेलाई मार्दैछ, पृ. 22
कवि प्रधानले संसारमा व्याप्त अनेक समस्याप्रति आफ्नो दृष्टि पुऱ्याएका छन्। कवि संसारमा फैलिएको मानवीय सङ्कीर्णता समाप्त गरी सकारात्मक सोच राख्दै एउटा स्वच्छ, स्वस्थ समाजको निर्माण हुनुपर्छ भन्छन्। मान्छे लोभ-लालचमा परेर, स्वार्थमा बाँधिएर अनेक नकारात्मक कार्य गरिरहेछ। कतै आतङ्कवादी, गुण्डा बनेर त्राहित्राहि मच्चाएको छ भने कतै अन्धो बनेर पृथ्वीको सन्तुलनलाई बिगार्दै छ। अब उप्रान्त आतङ्कवाद रोकिनुपर्छ, मान्छेले पृथ्वी नै समाप्त हुने गरी गरेका काम बन्द हुनुपर्छ। यस पृथ्वीमा बढ्दो मान्छेको वृद्धिलाई कम गर्नुपर्छ। प्रकृति जीवन हो यसलाई बचाउनुपर्छ, प्रकृति बचाइयो भने आँधी, तुफान, सुनामी, खडेरी, वैश्विक उत्ताप हुने छैनन् भन्ने विश्वास प्रकट गर्दै सकारात्मक बन्नुपर्छ भन्ने मुख्य दृष्टि कविमा देखिन्छ।
आकाशले पनि ठाउँ खोजिरहेछ कविता सङ्ग्रहको भाषा अत्यन्त सहज, सरल र बोधगम्य छ। सङ्ग्रहका सत्रवटै कविताहरू गद्य शैलीमा रचिएका छन्। कविताहरू बोलचालको भाषामा छन् र सबै कविता अभिधात्मक छन्। तत्सम एवं अन्य आगन्तुक शब्द पनि प्रायः दैनिक जीवनको प्रयोगमा आउने खालका छन्, जस्तै —
दुनियाँ जलेकै छ
उसो केही भन्यो
दुनियाँ जलेकै छ
राम्रो लुगा लगाऊँ
राम्रो घरमा बसौं
दुनियाँ जलेकै छ
दुनियाँ जलेकै छ, पृ.सं. 25
यस सङ्ग्रहका सबै कविताहरूमा अन्तरानुप्रास र अन्त्यानुप्रासको राम्रो निर्वाह गरिएको छ। अनुप्रासको सहज र स्वाभाविक प्रयोग भएकाले लयको निर्माण पनि स्वतः भएको छ। सबै कविताहरू मुक्तछन्दमा रचिएका छन्। सङ्ग्रहमा प्रतीक र बिम्बहरू पनि सहज रूपमा आएका छन्। कसरत गरेर बिम्बहरू प्रयोग गर्ने र मिलाउने प्रयास गरिएको छैन। दैनिक जीवनमा प्रयोग गरिने, हेरिने प्रतीकहरू कवितामा प्रयोग गरिएका छन्, जस्तै –
नाउमा पनि मान्छे छ
सब्मेरिनभित्र पनि मान्छे छ
पहाडमा पनि मान्छे छ
मैदानमा पनि मान्छे छ
हिमाच्छादित पर्वतमा पनि
मान्छे छ।
जहाँ पनि मान्छे छ, पृ.सं. 29
कवि प्रधानले प्रयोग गरेका प्रतीक जस्तै जहाज, नाउ, सब्मेरिन, पहाड, मैदान, पर्वत आदि भावहरूसँगै जोडिएर सम्प्रेषित भएका छन्। प्रकृतिका चित्रहरू स्वतः नै बिम्ब बनेका छन्। ब्रह्मपुत्र, भूइँचालो, तुफान आदि कविता आफै प्रतीकका रूपमा आएका छन्, जस्तै –
मलाई जस्तै
तिम्रो करङ देखिरहेछ
अनुहारमा रगत छैन
भरिलो गाला चाउरिएछ।
ब्रह्मपुत्र पनि … पृ.सं. 20
कोदोबारी, मकैबारी, टिम्बुरको बोट
बाँसघारी, अम्लिसोघारी, खरबारी
अलैचीबारी, उत्तीसघारी, तोरिका बारी
चिलाउने, सउर, सगुन, टुनीको बोट
मलता, टाँकी, पाँचपाते
जन्मथलोको सम्झना, पृ.सं. 70
यस सङ्ग्रहको शीर्षकले कविताहरूको केन्द्रीय भावलाई अँगालेको छ। शीर्षक लामा, छोटा दुवै खाले छन्। सङ्ग्रहका नामाङ्कन अङ्कन भएको शीर्षक लामो हो भनेर स्तर (पृ.सं. 24) कविता सङ्ग्रहको छोटो शीर्षक हो।
यस सङ्ग्रहमा आश्चर्यबोधक चिह्न, प्रश्न चिह्न, उद्गारक चिह्न, अल्पविराम, अर्धविराम, पूर्णविराम आदि विराम चिह्नहरू निकै थोरै मात्रामा प्रयोग भएका छन्, तर प्रश्नवाचक चिह्न अरूभन्दा अधिक प्रयोग गरिएका छन्, जस्तै —
कहाँबाट आयो? कहाँ जाँदैछ?
कहाँ बस्छस्? त्यहाँ बसेको कति भयो?
के गर्छस्? के गर्थिस्?
कुन जातिको?
कहाँ को नागरिक?
परिचय, पृ.सं. 31
पानी जहाजमा चढेर के हुन्छ?
महल जस्तो घर बनाएर के हुन्छ?
सुन्दर गाडीमा चढेर के हुन्छ?
आतङ्कवाद : युगको अभिशाप, पृ.सं. 40
समग्रमा आकाशले पनि ठाउँ खोजिरेछ कविता सङ्ग्रह प्रधानको सहज, सरल कविताको नमुनाका रूपमा लिन सकिन्छ। यो अत्यन्त सरल, बोधगम्य, रसिलो र आकर्षक छ। प्रायः सबै कविता वर्णनात्मक शैलीमा छन्। व्यङ्ग्यको प्रयोग पनि सरल, सहज र शिष्ट भाषामा गरिएको छ।
गोपीनारायण प्रधान समसामयिक युगका सामाजिक-यथार्थवादी धाराका सहज कवि हुन्। उनले गद्य भाषाको प्रयोग गरी विभिन्न भावधारामा कविता रचेका छन्। उनका कविता प्रतीकात्मक संरचनामा आधारित छन्। यस सङ्ग्रहका प्रायः कविता असमानुपातिक पङ्क्ति र पङ्क्तिपुञ्जमा आधारित छन्। यस कविता सङ्ग्रहमा समाजमा व्याप्त असङ्गति, मानवीय चाप, आतङ्कवाद, विसङ्गत परिवेश, गरिबी, शोषण, प्रकृतिका विविध रूप, जन्मस्थलको महिमा आदि विषय र भाव छन्। उनले सार्वस्थानिक र सार्वकालिक परिवेशका अतिरिक्त ग्रामीण एवं शहरिया परिवेशको प्रयोग गरेका छन्। उनका कवितामा सकारात्मक, नकारात्मक दुवै परिवेश छन्। कवि प्रधानले प्रथमपुरुष र तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग गरेका छन्। संसारमा बढ्दै गएको मानवीय चाप, सेखी, आतङ्कवाद र शोषणरहित समाजको निर्माण हुनुपर्छ भन्ने दृष्टि राखेका छन्। कविले संसारमा व्याप्त मानवीय अतिक्रमण रोकी खतरामा पर्नथालेको यो विश्वलाई समयमै जोगाउनुपर्छ, आतङ्कवाद सभ्य समाजका लागि ठूलो अभिशाप बन्न गएको छ, यो क्रम रोकिनुपर्छ, मान्छेले प्रकृतिमाथि अनेक प्रकारले शोषण, दोहन गरेको छ, यो रोकिएन भने प्रकृतिले भीषण रूप धारण गरी मानव जाति नै समाप्त गर्नेछ भनेका छन्। समयमै यसको समाधान हुनुपर्छ भन्ने उद्देश्यलाई उनले सरल, सहज भाषामा प्रस्तुत गरेका छन्।
▬
विषयसूची
- कवि गोपीनारायण प्रधानका कविता : एक अवलोकन
- प्रधानसरसँग व्यतीत पलहरू : आँखी झ्यालबाट चियाउँदा
- गोपीनारायण प्रधानको “ब्रह्मपुत्रले बोगिबिल बगायो” कविताको विश्लेषण
- गोपीनारायण प्रधान र उनको ‘आकाशले पनि ठाउँ खोजिरहेछ’ कविता सङ्ग्रहको विश्लेषण
- स्व. गोपीनारायण प्रधानसँगको भेट : मात्र एक झझल्को
- नेपाली भाषाका खेताला गोपी नारायण प्रधान
स्व. गोपीनारायण प्रधानसँगको भेट : मात्र एक झझल्को
हरिभक्त शर्मा, रूम्तेक, पूर्व सिक्किम
सन् 1996 सालको कुरा हो, जुनबेला म नाम्ची दक्षिण सिक्किममा उप-जिल्ला शिक्षा अधिकारीको ओहोदामा कार्यरत थिएँ। त्यसबेला मेरी श्रीमती (हाल स्व. राधा उपाध्याय) पनि भर्खरै 1995 सालको नोभेम्बर महीनादेखि मात्र मेघालय राज्यको तुरा गोर्खा एम.ई. स्कूलबाट दुइवर्षको डिपुटेशनमा सिक्किम सरकारको देउराली कन्या उच्चत्तर माध्यमिक विद्यालयमा स्नातक शिक्षिकाको पदमा प्रवेश गेरकी थिइन्। त्यो बेला हाम्रो बसाइँ देउराली बजारमुनि स्यारी सरकारी आवासमा थियो। घरमा छोरी ‘देवश्री’, छोरीको हेरचाह गर्ने कर्मचारी ‘माधवी’, मेरी जेठी भाउजुकी छोरी ‘अनिता’ (हाल स्वर्गवास) हामीसँगै बसेर देउराली स्कूलमै एघारौं श्रेणीमा अध्ययनरत थिइन्। उनीहरू लगायत ‘श्रीमती’ र म स्वयं गरेर जम्मा पाँचजनाको परिवार थियौं। त्यसमा पनि मेरो बास भने हप्तामा केवल एक-दुइ दिनको लागि मात्र हुने गर्दथ्यो। कोही बेला छुट्टीको समय मेरो माइला दाजुकी छोरी ‘दीपा’-ले पनि हाम्रै आवासमा आएर समय बिताउने गरेकी थिइन्।
यसरी सरकारी आवासमा बस्दा आलस्यको भान भने पटक्कै हुँदैनथ्यो। किनभने शिक्षिकाको घर भएर होला बिहान-बेलुका कोही ट्यूसन् पढ्ने, कोही नाचगान सिक्ने, कोही केही लेखिमाग्ने, कोही नबुझेको जान्न आउने विद्यार्थीहरूको आवत्-जावत् भई नै रहन्थ्यो। त्यतिमात्र नभएर मेरी श्रीमतीले स्कूले नानीहरूलाई लिएर अल इन्डिया रेडियोद्वारा प्रसारित गरिने ‘हिन्दी भाषा पाठ’ र ‘बाल जगत्’ कार्यक्रम बेलाबखतमा गर्दैगर्ने साथै उनी एउटी साहित्यकार पनि भएको नाताले गर्दा होला समय समयमा त्यही वरिपरिका दुइ-चारजना साहित्यकारहरू आएर केही न केही साहित्यिक चर्चा परिचर्चा पनि गर्ने गरेका थिए।
यस्तै साहित्यिक सिलसिलामा उनले मलाई पूर्वोत्तर राज्यका धेरै वरिष्ठ साहित्यकारहरूसँग उनको भेटघाट भएको र उनीहरूसँग बातचित, चिनाजाना भएको कुरा फूर्सदको बेलामा सुनाउने गरेकी थिइन्। यस्ता चिरपरिचित नामहरूमध्ये हरिप्रसाद गोर्खा राई, हरिभक्त कटुवाल, गोपीनारायण प्रधान, नरबहादुर राई, पदम छेत्री, अविनाश श्रेष्ठ, हेम जोशी, चन्द्रबहादुर लम्साल, जगतबहादुर लुंगेली, प्रवीण लोहार, बोगे नेवार, मधुसूदन अधिकारी, जान्वी छेत्री, ऐवमाया छेत्री, कान्ता छेत्री, मोहन पन्थी, दिलीप छेत्री, भूपेन्द्र अधिकारी लगायत अन्य धेरै-धेरै नामहरू थिए। तर मलाई सजिलैसँग स्मरण हुनसकेका नामहरू मात्र यहाँ लेख्ने धृष्टता गरेको हुँ। यी नामहरूमध्ये पनि उहिले गोपीनारायण प्रधान, नरबहादुर राई, अविनाश श्रेष्ठ, हेम जोशी, पदम छेत्री, मोहन विक्रम पन्थी, गीता घतानी, जयन्ती छेत्री, मानु नेवार साथै अन्य थुप्रै साथीहरूसँग अखिल भारतीय नेपाली भाषा समितिको सदस्यता ग्रहण गरी नेपाली भाषाको संवैधानिक मान्यताको लागि गरिएका आन्दोलनहरूमा एकजूट भएर धेरै काम गरेका कुराहरू सुनाउने गरेकी थिइन्।
यस्तै धेरै कुरै-कुरामा भारतको पूर्वोत्तर भेगका नेपालीहरूमा गोपीनारायण प्रधान मात्र एकजना यस्ता व्यक्तित्व हुन् जसले सदैव नेपालीको जातीय पोशाक – दौरा-सुरुवाल पहिरिनका साथै एक प्रकारको सरल र सादगी जीवन व्यतीत गर्दै नेपाली संस्कृतिको संरक्षण गर्नुहुन्थ्यो। यसको साथै नेपाली साहित्यलाई पनि विशेष कविताको माध्यमद्वारा सहजरूपमा धेरै माथिसम्म पुऱ्याउनमा प्रशस्त योगदान पुऱ्याउनु भएको छ भनेर मलाई गोपीनारायण प्रधानको बारेमा धेरै जानकारी दिएकी थिइन्। ‘के तपार्इंले उहाँको नाम सुन्नु भएको थियो? उहाँका केही कविताहरू पढ्नु भएको थियो?’ भनेर उनले मलाई प्रश्न राख्दा मैले सोझै उत्तर दिंदै ‘उहाँको नाम भने सुनेको हो र उहाँ सेन्ट एन्थोनीज कलेज, शिलाङमा नेपाली विषयका प्राध्यापक हुनुहुन्छ भन्नेसम्म मात्र जान्दछु, तर मैले आजसम्म उहाँको कुनै पनि रचना पढ्ने मौका पाएको छुइन’ भनेको थिएँ। ‘यसरी नेपाली पोशाक लगाएर हिंड्दा बङ्गाल-आसाम राज्यको सीमानामा भएको पुलिस-चौकीमा उहाँलाई नेपालको नागरिक भनेर पक्रँदैन?’ भनेर मैले श्रीमतीलाई सोध्दा उनले जवाबमा ‘गोपीनारायण प्रधानज्यूले भारतमा भारतीय गोर्खालीको पहिचान आफ्नो कलमद्वारा नै बनाइसक्नु भएको छ, उहाँलाई शिलाङको वासिन्दा साथै नेपाली भाषाका गन्यमान्य साहित्यकार भनेर नेपाली त के धेरैजसो अनेपालीहरूले पनि चिन्ने गरेका छन्; उहाँलाई त सायद प्रमाण-पत्रको आवश्यकता पनि पर्दैन’ भनेकी कुरा अहिलेसम्म मेरो स्मृतिपटमा आलोको आलै रहेको छ।
कस्तो खालको भुल्नै नसकिने संयोग हामीले यसरी कुरा गरेको वर्षदिन पनि नबित्दै सन् 1996 सालको जून महिनातिरको कुरा हो सिक्किमको राजधानी गान्तोक शहरमा आयोजित, हुनसक्छ, कुनै निकै गतिलै साहित्यिक कार्यक्रममा भाग लिनको निम्ति मेघालय राज्य, शिलाङका वरिष्ठ साहित्यकार गोपीनारायण प्रधान र नरबहादुर राईलाई पनि निम्त्याएको रहेछ। त्यस कार्यक्रममा मेरी श्रीमतीले पनि अंशग्रहण गरेकी हुनाले कार्यक्रमको समाप्तिपछि भाग्यवश उनको उहाँहरूसँग भेट भएछ। कतिका वर्षसम्म विछोडिएका माइती-चेली साथै मेघालय राज्यका नेपाली भाषा सेनानीहरूको यसरी अचानक भेट हुँदा त्यस समय उहाँहरूको हर्षले सीमा पार गरिसकेको रहेछ। त्यसपछि केहीबेरसम्म भलाकुसारी भएपश्चात् मेरी श्रीमतीले त्यसैदिन बेलुकी स्यारीस्थित आफ्नो सरकारी आवासमा दुःख-सुखका गफ गर्न साथै रात्रिभोज उतै गर्ने हिसाबले उहाँहरूलाई पाउकष्ट गरिदिनुहुन विनम्र आग्रह गरेकी रहिछन्। धेरै समयको अन्तरालपछि यसरी अपरझट् भेट भएकी साहित्यिक बहिनी ‘राधा’-को निमन्त्रणालाई टाल्न नसकी उहाँहरूले जस्तै परिस्थिति आइपरे तापनि पक्का आउने निधो दिनुभएको रहेछ। कहिले पनि आफ्नो हातेब्याग बाहेक झोला बोकेर हिंडेको नदेखिएकी मेरी श्रीमतीलाई त्यसदिन घरमा केही सब्जीहरू हुँदाहुँदै पनि एउटा प्लास्टिकको थैलोमा फेरि केही सब्जीहरू बोकी एकप्रकारको हर्षित अनुहार लिएर हतार-हतार गर्दै बेलुकाको पाँच बजीतिर घरभित्र पस्दा मलाई अचम्म लाग्नु स्वाभाविकै कुरा हुन गएको थियो। भित्र पसेर ‘यो सब्जी चाहिँ पाहुनाको लागि ल्याएको’ भन्दै डाइनिङ् टेबलमाथि फ्यात्त सब्जीको थैलो राखेर मलाई हेर्दै ‘आज तपाई नाम्ची नगएर बसेको राम्रै भयो। अहिले नै एक-दुइ घण्टापछि गोपीनारायण प्रधान र नरबहादुर राई मेरा दुइ माइती दाजुहरू खाना खानेगरी आउनु हुँदैछ, तपार्इंको पनि उहाँहरूजस्ता ठूला साहित्यिक हस्तीहरूसँग परिचय हुनेभयो’ भनेकी थिइन्।
मैले भने ‘साहित्यको ‘स’ पनि नजान्ने मान्छेले उहाँहरूसँग भेट गरेर पो के गर्नु’ भन्दै मन-मनै सोच्न लागेको थिएँ। नभन्दै बेलुकी सातबजीतिर उहाँहरूको आगमन भयो। परिचयको आदान-प्रदान भयो। साँच्चै नै हो रहेछ श्रीमतीले मलाई अस्तिहुँदो बखान गरेझैं त्यति ठूला विद्वानसाथै साहित्यकार भएर उहाँहरूमा थोरैमात्र पनि घमण्ड्याइपन छैन रहेछ। त्यसबेला म अवाक बनेको थिएँ किनकि म साधारण मान्छे भनेको उल्टा उहाँहरू त झन् मभन्दा पनि अधिक साधारण व्यक्ति हुनुहुँदो रहेछ। गोपीनारायण प्रधान नेपाली दौरा-सुरुवालमा चिटिक्क परेको, छरितो, हेर्दै फूर्तिलो, हँसिलो स्वभाव भएको एकक्षण पनि नबोली बस्न नसक्ने हुनुहुँदो रहेछ। उहाँको दाँजोमा नरबहादुर राई भने अलिक कम्ति मात्रामा बोल्नुहुँदोरहेछ, तर उहाँ पनि उतिकै असाधारण व्यक्तित्व भएको साधराण मान्छे हुनुहुँदो रहेछ। मैले त केवल उहाँहरूले सोधेका कुराहरूको उत्तर मात्र दिने कोशिश गरेको थिएँ। उताको कुरा लिएर उहाँहरू तीनजनाको बीचमा घण्टौंसम्म कुराकानी भई नै रह्रो। त्यसपछि बस अब के थियो उहाँहरूको आपसमा कविता सुनाउने प्रक्रिया शुरू भयो। छोरी त सानै थिई खाएर सुती हाली। हामी – म, अनिता, दीपा र माधवी मन लागे पनि नलागे पनि, बुझे पनि नबुझे पनि बाध्यतावश उहाँहरूले सुनाएका कविताहरू हामी आपसमा मुखामुख गर्दै मूक श्रोता बनेर सुनी बस्यौं। त्यससमय एकाअर्काका कविता सुनेर उहाँहरू कति आनन्दित भएका थिए, कति हाँसेका थिए, कति रमाएका थिए साथै खुशीले मनमनै कति गद्गद् भएका थिए होलान् अहिले म त्यसको अनुमानसम्म पनि लाउन सक्दिनँ। यस्तो छोटो अवधिमा पनि गोपीनारायण प्रधानज्यूले अनिता, दीपा र माधवीलाई मानौं मोहनी नै लगाएझैं मक्ख बनाउनुको साथै उनीहरूलाई नेपाली भाषा विषय लिएर उच्च शिक्षा हासिल गर्ने साथै कविता लेख्ने प्रेरणा समेत दिनु भएको थियो। त्यसपछि ‘राधा’ बहिनी मात्र नभएर एउटी पूर्वेली नेपाली भाषा सेनानीको हातबाट तयार गरिएको विभिन्न प्रकारका स्वादिला खाद्य पदार्थहरू नेपाली भाषा विषयकै कुरा गर्दै धेरै समय लगाएर प्रफुल्ल चित्तले पेटभरि खाएपछि एकैचोटि मिलनको खुशी र बिछोडको विस्मात व्यक्त गर्दै कोठाको घड़ीले राती एघार बजीको घण्टी हानेको केहीबेरपछि मात्र उहाँहरूले हामीबाट विदा लिएर आफ्नो वासस्थान – होस्टेलको रूमतिर प्रस्थान गर्नु भएको थियो।
त्यो दिन साँच्चै नै हाम्रो लागि धेरै यादगार सिद्ध भएको थियो। त्यसबेला अहिले जस्तो न त मोबाइल थियो, न त भनेको बेला घरमा क्यामेरा नै हुन्थ्यो। अहिले सम्झँदा उहाँहरूसँग सम्झाउनी-बिर्साउनी एउटा फोटो मात्र पनि लिन सकेको भए सदाको निम्ति एउटा स्मृति रहने थियो भने जस्तो लाग्छ। त्यसपछि उहाँहरू फर्किएको त्यस्तै दश-पन्ध्र दिनपछि गोपीनारायण प्रधानज्यूको तर्फबाट एउटा पत्र बहिनी राधा उपाध्यायको नाममा प्राप्त हुन्छ, जो यस प्रकार छ –
स्नेही राधा,
शिलाङ फर्केर गान्तोकको स्मरणीय भेटघाटलाई सम्झँदै दिनहुँ 2-3 वटा चिठी लेख्दै छु। त्यहाँ सबैको सम्मान पायौं, माया पायौं, स्वागत पायौं। तिम्रा पतिदेव असल (भद्र) व्यक्ति रहेछन् अनि मलाई र प्रा. राईलाई तिमीले देखाएकी मान ‘जसरी पनि हाम्रो घर जानैपर्छ!’ यो जिद्दि खूबै राम्रो लाग्यो। दीपालाई चिठी लेखें, अँग्रेजी साहित्य सम्बन्धी एउटा पुस्तक दिएँ साथै ‘मादल’। तिमीलाई तिम्रो प्रति अवश्य पठाउने छु। सानी छोरी (नाम बिर्सें)-मा हाम्रो ‘स्नेहाशीष’ पुगोस्। दीपाको अध्ययनमा खूबै रूचि रहेछ, राम्रो लाग्यो। त्यो केटीले मलाई धेरै मदत् गरी।
श्रीमती तिवारीमा सबैभन्दा पहिले मेरो ‘अशेष स्नेह’ व्यक्त गरिदेऊ। उनका पतिदेव र उनले हामीलाई ठूलो सम्मान गरे। भाषा-साहित्य, कला प्रेमीहरू रहेछन्, गौरव लाग्यो। उनीहरूलाई अवश्य चिठी लेख्ने छु। यस समय मेरो हातमा विश्व-विद्यालयहरूका, बोर्डहरूका प्रश्नहरू तयार पार्ने काम, परीक्षा पत्रहरू जाँच गर्ने काम, कालेजको परीक्षा, (अलि ज्वरो पनि आएको) फेरि घरभरि बिरामीहरूको हेर्चाह, डाक्टर दवाईपानी सियो लगाई-ले चौपट्टै व्यस्त पारेको छ। तिमीलाई थाह छ, म गान्तोकमा सबैसित थोरै समयमा पनि झ्यामिन खोजेर मलाई नबिर्सिदिउन् भनी एउटा सानो छाप छोड्ने प्रयत्न गर्दैथें। कि तिमीले पनि बिर्सायौ? तिम्रो उन्नति देखेर खुशी लाग्यो। तिम्रा विद्यालयका नानीहरूका उत्सुक रसिला आँखाहरू कति हेरिरहूँ जस्ता होलान्। कति राम्रा-राम्रा ‘नव-जीवनको प्रस्फुटित पल्लव’ ‘अनुभवसित जोरी खोज्नेहरू’ होलान्। तिनीहरूलाई पढाउनु कस्तो आनन्द आउँछ। मैले एउटा हाई स्कूलमा 5 वर्ष पढाएँ, कालेजमा 35 (पैंतिस) वर्ष पुग्न लाग्यो। अब अवकाश पाइन्छ, पेन्सन पाइँदैन, यहाँ केही गर्ने ठाउँ छैन। हाम्रा आफ्नै समस्याहरू छन्। विद्यार्थीहरूलाई पढाउनु मेरो रुचिको विषय। ‘विद्यार्थी’ बारे मैले मेरो दार्जीलिङमा छात्रावस्थामा छँदा पढेको कविताको यो पंक्ति सम्झना गरेको –
नव जीवनको प्रस्फुटित पल्लव
अनि अनुभवसित जोरी खोज्ने युवक
युवती
त्यस साँझ तिमीले हामीलाई नखुवाएकी भए हामी भोकै सुत्नु पर्ने रहेछ। होस्टेल पुग्दा त सब बन्द। तिमीलाई ‘तिमी’ भनी सम्बोधन गरें – नराम्रो लागेन निश्चय! शिलाङ बाहिर असाध्य राम्रो छ, तर भित्र त्यही कालो मैलो।
राधा, म मे महीनामा तुरा 6 दिनको निम्ति गएको थिएँ, स्कूलको स्वर्ण-जयन्तीको पत्रिका पनि पाएँ। तिम्रो गान्तोकको देउराली विद्यालयकी प्रधानअध्यापिका को हुन्? नाउँ लेखन …।
पत्रोत्तर लेख्नु नबिर्स।
तिमीलाई माया गर्ने,
गोपीनारायण प्रधान
श्रीमतीले पत्रको उत्तर दिइन् कि दिइनन्, त्यसबारे मलाई केही थाहा भएन। त्यसपछि उही त हो जीवन धान्नका लागि सबैजना आ-आफ्नो व्यवसायमा व्यस्त। चिट्ठी-चपेटा केहीको पनि ओहोरो-दोहोर हुन सकेन, तर हामीले भने आपसमा उहाँहरूको कुरा समय-समयमा गरिनै रहन्थ्यौं। शायद उहाँहरूले पनि यसरी नै हाम्रो सम्झना गर्नुहुन्थ्यो होला। अचानक 6 जनवरी 2012 मा गोपीनारायण प्रधानको स्वर्गवास भएको खबर सुन्दा हामी अति नै मर्माहत हुन पुगेका थियौं। मेरी श्रीमतीले गहभरि आँसु पारेर ‘मलाई लेख्न प्रोत्साहित गराउने साहित्यिक दाजु’ भन्दै त्यसैदिन उहाँको आत्माको चीर शान्तिको निम्ति प्रार्थना गर्दै एकछाक छोडेकी थिइन्। त्यससमय उहाँको अन्तेष्टि कार्यमा सामेल भएर उहाँको परिवारमा समवेदना चढाउन जान पनि हामी असमर्थ रहेका थियौं। जे होस्, आज यस लेखको माध्यमद्वारा गोपीनारायण प्रधानजस्ता नेपाली साहित्य जगत्का स्रष्टाहरू मध्येका एकजना अग्रज दिवङ्गत रुाष्टालाई मात्र शब्दरूपी श्रद्धाञ्जली व्यक्त गर्न साथै जहाँ भए तापनि उहाँका परिवरप्रति पनि हार्दिक शान्तवना प्रकट गर्न चाहन्छु।
यसरी उहाँहरूसँगको क्षणिक तर बडो मनोरञ्जनात्मक र अविस्मरणीय भेट भएपछाडिको एउटा निकै लामो समय व्यतीत भएपछि सन् 2014 को 28 मईको दिन मेरी अतिप्रिय धर्मपत्नी राधा उपाध्यायको पनि हृदयरोगको कारण अकस्मात् स्वर्गारोहण भएको हुनाले उनको यादगार सदैव जागो राख्नको लागि एउटा ‘स्मृतिग्रन्थ’ निकाल्ने उद्देश्यले मलाई शिलाङमा श्री हेम जोशीज्यू र प्रा. नरबहादुर राईज्यूसँग सम्पर्क साध्न बाध्य गरायो। उहाँहरूले आ-आफ्नो अति सुन्दर लेख पठाएर मलाई अघिबाटै कृतज्ञ पनि बनाइसक्नु भएको छ।
एकदिन प्रा. श्री नरबहादुर राईज्यूले मलाई फोनद्वारा ‘स्व. गोपीनारायण प्रधानको स्मृतिग्रन्थ निकालेका छौं, तपाईको कपी के ठेगानामा पठाउनु’ भनी सोध्नु भएको थियो। मैले ‘मिरमिरे कञ्जनजंगा समाचार पत्रका सम्पादक एवं मालिक श्री हेमन्त गिरीज्यूको ठेगानामा पठाउनु भयो भने पाइहाल्छु’ भनेको थिएँ। उहाँले पनि ‘हुन्छ’ भन्नु भएको थियो। तर भाग्यवश जून महिना 2015 को अन्ततिर उहाँ स्वयंको आफ्नी धर्मपत्नीसँगै गान्तोक आउने काम परेछ र उहाँले फेरि मलाई फोनद्वारा ‘देउराली टेक्सी स्ट्याण्डमाथि नगरनिगम कार्यालयमा श्री सी.पी. ढकालज्यूको अफिसकक्षमा भेट गरी स्मृतिग्रन्थ लानुहोस्’ भन्दा म त्यहाँ पुग्छु। कुनै कारणवश त्यसदिन ढकाल साहेब आफ्नो अफिसमा नहुँदा म बाहिरको एउटा वेञ्चमा बसिरहेको हुन्छु। केही बेरपछि म जस्तै होचा-होचा, पातलो खालका एकजना सज्जन व्यक्ति मेरो सामुन्ने आएर ‘तपाई शर्मा साहेब हुनुहुन्छ?’ भन्दै आफ्नो हात अगाडि बढ़ाउनु भयो। प्रत्युत्तरमा मैले पनि ‘तपाई नर बहादुर राई सर हुनुहुन्छ?’ भन्दै हात मिलाएँ। केहीक्षणपछि उहाँकी श्रीमतीसँग पनि परिचय भयो। उहाँले मलाई स्व. गोपीनारायण प्रधानको स्मृतिग्रन्थको निकै मोटो पुस्तक झोलाबाट निकालेर दिनुभयो। फेरि अर्को पुस्तक पनि निकालेर ‘यो पुस्तक चाहिँ मलाई शिलाङको गोर्खा हाई स्कूलमा पढाउने मेरी अविस्मरणीय आदरणीय गुरुआमा श्रीमती सत्य बस्नेत र उहाँका श्रीमान जोगेन्द्र बस्नेतज्यूलाई दिनुहोस्’ भन्नुभयो। उहाँहरू मेरै गाउँले छिमेकी भएका हुनाले मैले ‘हुन्छ दिन्छु’ भनेर किताब लिएँ। त्यसपछि नजिकैको एउटा चिया दोकानमा गएर एक-एक कप चियाको चुस्कीसँगै यता-उताको कुराकानी गर्दै केहीबेर विगतका यादहरूलाई आलो गरायौं। म कुनै साहित्यकार नभए तापनि मलाई सम्झेर यसरी पुस्तक दिनुभएकोमा मैले उहाँसँग कृतज्ञता व्यक्त गरें। पछि जोगेन्द्र बस्नेतज्यूबाट अवगत भएअनुसार बस्नेतज्यू र स्व. गोपीनारायण प्रधान कुनै समय सेन्ट एन्थोनीज कलेजका समकालीन विद्यार्थी पनि रहनु भएको रहेछ।
मान्छेको जात स्वभावले नै स्वार्थी हुन्छ भन्ने तथ्य सत्य हो रहेछ, किनकि राईज्यूसँग भेट भएको धेरै वर्ष बितिसक्दा पनि केही खोज-खबर नलिएर यसपाली अचानक काम पर्दा मात्र मोबाइल मार्फत उहाँको र मेरो आपसी बातचित शुरू हुन थालेको थियो। हाम्रो पहिलो भेट भएको तकरीबन अठार वर्षबादमा उहाँले मलाई यसरी सोझै चिन्नसक्नु पनि मेरो लागि एउटा अचम्मकै कुरा साबित हुन पुगेको थियो। उहाँहरूलाई मेरो घर रूम्तेक जाऊँ, कम्सेकम एकरात बास बसेर फर्किनुहोस्, भन्दा उहाँहरूले कम्ति समयमा थुप्रै कामहरू लिएर आउनु भएको कारण यसपालि नभ्याउने तर छोरो यतै कार्यरत् रहेको हुनाले पछि फेरि अर्को चोटि आएको बेला अवश्य जाने बाचा बाँधेर मबाट विदा लिनुभयो।
घरमा पुगेपछि अनायसै फेरि मलाई उहाँहरूसँग पनि यादगारको निम्ति एउटा फोटो लिएको भए पनि हुन्थ्यो भने जस्तो लाग्यो। अहिले त सबैको गोजी-गोजीमा मोबाइल हुन्छ, जसद्वारा एकैमिनटमा फोटो लिन सकिन्थ्यो, तर गफको धुनमा त्यससमय त्यतातिर कसैको सोंच पुग्नै सकेन। जे होस्, उहिले उहाँ र गोपीनारायण प्रधानसँग हामीले फोटो खिच्न नसकेको कुरा पुनः एकपल्ट मेरो मनमा दोहोरिन पुग्यो।
आजभन्दा त्यस्तै अठाह्र-उन्नाइस वर्ष अगाडि स्यारीस्थित त्यस समयको हाम्रो सरकारी आवासको बैठक कोठामा गोपीनारायण प्रधान, नरबहादुर राई र मेरी श्रीमती राधा उपाध्यायले चार-चारघण्टासम्मको निकै लामो समयसम्म धारावाहिक गतिमा गरिएको परस्पर साहित्यिक चर्चा, नेपाली भाषा मान्यताको आन्दोलनमा खटिएको कथा, त्यसक्षणको उहाँहरूको आपसी कविगोष्ठी साथै त्यसरात अबेरगरी बडो हर्षउल्लासको साथमा गरिएका रात्रि-भोजका इत्यादि कुराहरू अहिले मेरा यी दुइ नयन अगाडि हो कि भने जस्तो मात्र एउटा झझल्को जीवित रहन सकेको अनुभव गरिरहेको छु।
▬
विषयसूची
- कवि गोपीनारायण प्रधानका कविता : एक अवलोकन
- प्रधानसरसँग व्यतीत पलहरू : आँखी झ्यालबाट चियाउँदा
- गोपीनारायण प्रधानको “ब्रह्मपुत्रले बोगिबिल बगायो” कविताको विश्लेषण
- गोपीनारायण प्रधान र उनको ‘आकाशले पनि ठाउँ खोजिरहेछ’ कविता सङ्ग्रहको विश्लेषण
- स्व. गोपीनारायण प्रधानसँगको भेट : मात्र एक झझल्को
- नेपाली भाषाका खेताला गोपी नारायण प्रधान
नेपाली भाषाका खेताला गोपी नारायण प्रधान
नवसापकोटा, गुवाहाटी, असम
पूर्वाञ्चलको सुविस्तृत भूमिमा छर्पस्टिएर फैलिएको नेपाली समाजमा नेपाली भाषाको खेती गर्ने एकजना कर्मठ किसानका रूपमा टड्कारो देखिन्छन् स्व. गोपीनारायण प्रधान सर। स्व. पारसमणि प्रधानले जसरी भारतमा नेपाली भाषालाई एउटा प्रमुख भारतीय साहित्यिक भाषाका रूपमा प्रतिष्ठित गराउन निरन्तर काम गरेर लक्ष्यहासिल गरिछाडे, धन्न त्यस्तै पूर्वाञ्चल भारतमा गोपीनारायण प्रधानसरले असमीया, बङ्गाली, अङ्ग्रेजी अथवा मणिपुरी भाषामा शिक्षाग्रहण गरिआएको नेपाली समाजलाई नेपाली भाषाले ने पढ्ने प्रेरणा दिई नेपाली भाषा-साहित्यप्रति उन्मुख गराए। हुनत उनी शिलाङको सेन्ट एन्थनी कलेजमा नेपाली भाषाको अध्यापक मात्र थिए। त्यस कलेजमा नेपाली मातृभाषा विषय पढ्ने छात्रछात्राहरूलाई मात्र प्रत्यक्ष रूपमा पढाउँथे, तर परोक्ष रूपमा पूर्वाञ्चल भारतका सात राज्यका उनी नेपाली विषयका विद्यार्थीहरूकै गुरु थिए। उनले सबैतिरका प्रत्येक विद्यार्थीलाई नेपाली पढ्ने र शुद्ध लेख्ने सुझाउ मुखले भनेर अनि चिठी लेखेर दिइरहन्थे। कतिसम्म भने कुनै ठाउँको नेपाली विद्यार्थीले नेपाली विषय नभएको कलेजमा नेपाली पढ्ने आग्रह गऱ्यो भने उसलाई चिठीमार्फत किताबको सूची, पढ्नु पर्ने पाठको तालिका, किताब पाउने ठेगाना र प्रश्न पत्रको नमूना समेत पठाएर सहयोग गर्ने र बेलामौकामा चिठीलेखेर खबर लिने एकजना सच्चा अविभावकको दायित्व पालन गर्दथे। शिलाङ शहर बाहिरका नेपाली विषय पढ्ने विद्यार्थीहरूका नाम ठेगानाको उनले एउटा रजिस्टरकै व्यवस्था गरेका हुन्थे कि भन्ने भान हुन्थ्यो। यस कुराको प्रत्यक्ष प्रमाण म स्वयम हुँ। मैले सन् 1966 जब एच.एसल.एल.सी परीक्षामा उत्तीर्ण भई कलेजमा भर्ती हुँदा मैले नेपाली विषय लिएँ। तर म पढ्ने प्रागज्योतिष कलेज मात्र होइन गुवाहाटीका कुनै कलेजमा पनि नेपाली विभाग थिएन। मातृभाषाको पेरिअडमा म मेरा हिन्दीका सहपाठीहरूसित हिन्दीको कक्षामा बसेर ड. हीरालाल तिवारीका रसिला लेक्चर सुन्दथें। तर मलाई मेरो विषय नेपालीका कुनकुन किताबहरू हुन र कुनकुन पाठ पढ्नु पर्ने हो, केही थाहा थिएन। मैले तिवारी सरलाई नै सोधें कतै केही सुइँको पाइन्छ कि भन्ने सोचेर। उहाँले आफूलाई जानकारी नभएको हुनाले (जो स्वाभाविक थियो) प्रा. लीलबहादुर क्षत्री सरलाई भेट्ने सल्लाह दिनु भयो। दोस्रो दिन म सर लीलबहादुर क्षत्रीका घर पुगें र आफ्नो जिज्ञासा राखें। उहाँले पनि आफ्नो जानकारी नभएको कुरा गर्दै ‘शिलाङमा सेन्ट एन्थोनी कलेजमा गोपीनारायण प्रधानले पढाउँछन् अरे, उनैलाई सोद्धा सबै कुरा थाहा लाग्नेछ’ भन्नु भयो। उहाँबाट विदा भएर घर आएपछि एकैचोटि शिलाङजानु भन्दा पहिला चिठी लेखी हेर्छु भन्ने सुर चल्यो र एउटा इन्ल्याण्ड लेटरमा आफ्नो सबैकुरा लेखेर पोष्ट गरें। पूरा ठेगाना नपाएकाले ‘Prof. Gopi Narayan Pradhan, Saint Anthony’s College, Shillong’ मात्र लेखेर हुलाकेबाक्समा हालिदिएँ। म अन्योलमा थिएँ – चिठीको ठेगाना पूरा नलेखिएकाले ठाउँमा पुग्ने हो कि होइन? अनि पुगे तापनि प्रधान सरबाट उत्तर पाउने हो वा होइन? इत्यादि। तर मेरो अन्योलपन भङ्ग गर्दै एकदिन एउटा चिठीको लामो खाम मेरो ठेगानामा आइपुग्यो। पठाउनेको नाम G. N. Pradhan पढ्न पाउँदा खुशीले मन फुलेको थियो। खाम खोलेर हतार हतार चिठी पढ्न थालें। चिठीमा नेपाली विषय पढ्ने साहस गरेकोमा धन्यवाद दिंदै कितापका नाम, पाठको तालिका, पुरानो प्रश्नपत्रको प्रति र किताप मगाउने ठेगाना- भारती पुस्तकालय बडाबजार, शिलाङ-2 (मालिक कवि कृष्णप्रसाद ज्ञवाली) भनेर लेखिएको थियो। त्यति मात्र होइन, शिलाङ आउँदा मलाई भेट्नु होला अनि पाठ पढ्दा केही अप्ठ्यारो भएमा चिठी लेख्नु होला भनी लेख्नु भएको थियो। उहाँको हस्तलिपि कति राम्रा हेरिरहुँझैं लाग्ने। कागजमा एक समान कतै काटकुट पनि नभएको सुन्दर चिठी मैले धेरै दिनसम्म राखेको थिएँ। चिठी पाएकै साताभित्र म शिलाङ गएर सोझै उहाँको कलेजमा पुगें। कलेजमा नभेट्दा उहाँको डेरा सोधेर पुगें। उहाँ घरमा पनि दौरा सुरुवालमा हुनुहुन्थ्यो। मैले मेरो नाम र ठाउँ भन्ने बित्तिकै ए भाइले मैले पठाएको चिठी पाउनु भयो भनी सोध्नु हुँदै भित्र बोलाएर बसाउँदै सबै हाल सुनाउनु भएको थियो। केही महिना अघि आफ्ना पिताजीको दाहसंस्कार पनि ब्रह्मपुत्रको भूतनाथ श्मशानघाटमा गरेको कुरा सुनाउनु भयो। मलाई चिया नखाई उठ्न दिनु भएन। घर सानो तर सफा सुग्धर चिटिक्क परेको थियो। बैठक कोठामा कितापको रास थियो, तर सबै मिलाएर राखिएका थिए। त्यही मेरो पहिलो सम्पर्क र भेट थियो, जसबाट मेरो नेपाली पढाइमा अजस्र प्रेरणा र उत्साह पाएको थिएँ। यसैले गोपीनारायण प्रधानलाई गुरुका रूपमा म गोपीनारायण प्रधान सर भन्ने गर्दछु।
गोपीनारायण प्रधान नेपाली नारीहरूको स्वतन्त्रता र शिक्षाका पक्षधर थिए। शिक्षा मात्र होइन, साहित्य लेखन र नेपाली संस्कृतिका रक्षकका रूपमा हाम्रा नारीहरूलाई उनले मान्दथे। हाम्रो नारी समाजको विकासप्रति उनको साह्यै उच्चविचार थियो। नेपाली नारीहरू शारीरिक रूपले जति राम्रा, गठिला र सुन्दर हुन्छन्, त्यस्तै भित्रबाट पनि उनीहरू सबै क्षेत्रमा पुरुषका हाराहारी नेपाली भाषा-साहित्य, संस्कृतिको रक्षा र साधना गर्दै सुशिक्षित भएर अघि बढेको देख्न चाहन्थे।
उनी सौन्दर्यप्रेमी थिए। उनी आफै सुन्दर थिए। सधैं सफा सुग्धर बस्थे, इस्त्री नभएका लुगा र पालिस नलाएका फुस्रा जुत्ता कहिल्यै लगाउँदैनथे। बाहिर हिंड्दा जुत्ता पुछ्ने उनको भिन्दै रूमाल साथमा हुन्थ्यो। जुत्तामा धुलो लाग्न पाउँदैनथ्यो।
अनेपाली ठाउँमा नेपाली संस्कृति बँचाइ राख्ने गोपी सर एकजना कट्टर संरक्षक थिए। उनले जीवनभर नेपाली दौरा सुरुवाल र कोट पहिरेर यस क्षेत्रको अनेपाली समाजलाई नेपाली वेषभूषाको सुन्दरताको महत्वको ज्ञान दिलाइरहे।
साहित्य साधनामा उनी निरन्तर रूपमा लागिरहन्थे। यात्रामा पनि उनीसित एउटा स्लिप फाइल हुन्थ्यो जसमा आफूले लेख्दै गरेको पाण्डुलिपि र मादल पत्रिकाका निम्ति प्राप्त भएका रचनहारू हुन्थे, जसको सम्पादन यात्रामै गरिसिध्याउँदथे।
म यसघरि सम्झीरहेछु प्रधान सर अस्पतालमा उपचाराधीन अवस्थाको समाचार सुनेर नेपाल राष्ट्रको सर्वोच्च साहित्यिक संस्थान नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री गंगाप्रसाद उप्रेती आएर भेट गरी संस्थानबाट उनको उपचारार्थ आर्थिक सहयोग दिइएको थियो। यस कुराले पनि अवदानको र जनप्रियताको सूचना दिन्छ। तर हाम्रो मेघालय सरकारले केही आर्थिक सहयोग दिए नदिएको थाहा भएन। गोपीसरको मृत्यु शोकमा श्रद्धाञ्जलि चढाउने भारत, नेपालका संघ-संस्थाहरूको निम्नलिखित सूचीले पनि उहाँको जनप्रियताको प्रमाण दिन्छ – (1) नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं, (2) गोर्खा जनपुस्तकालय, खरसाङ (3) भारतीय नेपाली लेखिका मञ्च (वसुधा), दार्जीलिङ (4) नेपाली साहित्य परिषद्, गान्तोक (5) नेपाली साहित्य सम्मेलन दार्जीलिङ (6) अरुगि साहित्य संस्थान, खरसाङ (7) अखिल भारतीय नेवार संगठन, मिरिक (8) मिरिक प्रेस क्लब, मिरिक, दार्जीलिङ (9) साहित्य सुनौ परिवार मिरिक (10) नवज्योति क्लब, चारन, बरगाउँ दार्जीलिङ, (11) भारतीय गोर्खा परिसंघ, मुख्यालय, सिलगढी (12) असम नेपाली नाट्य सम्मेलन, तेजपुर (13) श्री श्री हरिहर धाम सांस्कृतिक उन्नयन समिति, चाँदमारी, तेजपुर (14) नेपाली साहित्य परिषद्, असम (15) नेपाली साहित्य परिषद्, मणिपुर (16) नङ्पो नेपाली साहित्य संस्थान, रिभोई, मेघालय (17) द शिलाङ गोर्खा एडुकेशनल एण्ड सोसियो कल्चरल सोसाइटी, शिलाङ (18) सन्त एन्थोनीज कलेज, शिलाङ (19) उमसिर्पी कलेज, शिलाङ (20) उदय प्रकाशन, बनारस (21) दिल्ली नेपाली सम्मेलन, नयाँ दिल्ली (22) नेपाली परिषद्, देहरादून (23) गोर्खा पब्लिक पञ्चायत, शिलाङ।
यसरी गोपीनारायण सरको मृत्यु शोकमा श्रद्धाञ्जलि चढाउन जाँदा उनका धेरै-धेरै सकारात्मक कुरा, कर्म र कृतिहरू अघि आएर तेर्सिन्छन् ‘मेरो उल्लेखगर’, ‘मलाई पनि सम्झी देऊ’ आदि आदि भन्दै। उनी थोरै आफ्नो निम्ति र धेरै जातिका निम्ति, भाषाका निम्ति, साहित्यका निम्ति र अरूका निम्ति बाँचे। जबसम्म बाँचे, एक सच्चा नेपाली विद्वानका रूपमा सबैलाई चकित पारेर बाँचे, अर्काको ठाउँमा अल्पसंख्यकले बाँच्नपर्ने सीप देखाएर बाँचे अनि यो मरणशील चोला त्यागेर अन्तमा हजारौंका मनमन्दिरमा अमर भएर बाँचे चिर नमस्य भई रहे। भई रहनेछन्।
अन्तमा उनकै कविताले टुङ्ग्याउँछु —
तिम्रो निधनको विदीर्ण व्यथा
जोड्थ्यौ जो क्षणिक नाता,
उफ्! तिमी मौन कथा …’
आकाशले पनि ठाउँ खोजिरहेछ -बाट, 2007
▬
हाम्रोध्वनिका अन्य पोष्टहरू :
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
