Skip to content
Shanti Thapa Hamro Dhwani
यस विशेषाङ्कमा

हाम्रोध्वनि – डॉ. शान्ति थापा विशेषाङ्क (भाग-1)

सम्पादकीय – डा. शान्ति थापाको स्मरणामा अनलाइन अङ्क – पद्मधर पौड्याल

            डा. शान्थि थापा बितेको दुइ वर्ष भयो। नेपाली साहित्य जगतकी एकजना वरिष्ठ साहित्यकार तथा विभिन्न विधामा कलम चलाउने एउटो शिद्धहस्त लेखिका। नेपाली भाषा साहित्यमा ठूलो योगदान स्व. डा. शान्ति थापाले पुऱ्याउनु भएको छ तर खोई दुइ वर्ष वित्दा पनि वहाँको स्मरणा स्मृतिग्रन्थ कतैबाट पनि प्रकाशित भएन। हो, साच्चैनै हो – अहिलेसम्म निस्किसक्नु पर्ने थियो। त्यो हुन सकेन। दुख लागिरहेको छ। यसै बिचमा हाम्रोध्वनिका प्रकाश उत्तम प्रधानको मनले मानेन। डा. शान्ति थापाको स्मृतिमा त केही निकाल्नै पर्छ भन्ने भावनाले उनलाई प्रेरित गऱ्यो। हाम्रोध्वनिको स्मापादिका पनि डा. शान्ति थापानै हुनुहुन्थ्यो। जीवितकालमा अरूको कृतित्व र व्यक्तित्व लेख्न र प्रकाशित गर्न अग्रणि भूमिका लिने डा. शान्ति थापा आफै बित्दा उनको व्यक्तित्व र कृतित्व लेख्न र प्रकाशित गर्न अहिलेसम्म कसैले अग्रणि भूमिका नलिएको देख्दा, उनको उचित सम्मान नहुने त होइन भन्ने कताकता महसुस भइरहेको छ। त्यस्तो निश्चय हुँदैन। डा. शान्ति थापाको स्मृतिमा बृहद स्मृतिग्रन्थ निश्चय नै प्रकाशित हुने छ। डा. शान्ति थापाको कृतित्व र व्यक्तित्व समयको गतिमा विलिन भएर जाने छैन। हाम्रो समाज र साहित्यजगत निश्चय त्यस्तो अकृतज्ञ छैन। उचित व्यक्तिको कदर ढिलो र चाँडो पक्कै हुन्छ। आशा छ – वहाँको पनि समयमा उचित सम्मान दिने कार्य हुनेनै छ तर अहिले हाम्रोध्वनिको प्रयासमा यस पत्रिकाको प्रथम अनलाइन अङ्कमा डा. शान्ति थापा सम्बन्धमा लेखादि प्रकाशित गरि वहाँको द्वितीय मृत्यु वार्षिकी तिथीको अवसरमा श्रद्धाञ्जली दिने कार्यमात्र भएको छ। यस अनलाइन अङ्कमा डा. शान्ति थापाको छोटो परिचयको अतिरिक्त उहाँका कृतिहरूको समिक्षा गर्दै लेखिएका केही लेखहरू समावेश भएका छन्। पूर्वमा जस्तो हाम्रोध्वनिको प्रिन्ट एडिसन प्रकाशित गर्न विभिन्न कारणले गर्दा हामी असमर्थ भयौं। हाम्रोध्वनिका धेरै शुभकांक्षीहरूले हाम्रोध्वनिलाई अनलाइन पत्रिकाको रूपमा प्रकाशित गर्न सुझाव दिनु भयो र हामीलाई पनि उहाँहरूको त्यो सुझाव ग्रहण जोग्य लाग्यो र यो प्रथम अङ्क हामीले तपाईहरूको समक्ष अनलाइन मार्फत पुऱ्याएका छौं। तपाईहरूको सहयोग र सुझावको कामना गर्छौं।

डॉ0 शान्ति थापा : छोटो परिचय

1. जन्म       :      9 जनवरी 1961, माधवदेव पथ, दुर्गासरोवर, गुवाहाटी-9, असम

2. बाबु / आमा :      स्व0 कालु थापा, श्रीमती यशोदा देवी

3. हालको बसोबास र राष्ट्रियता :      भारतको असम राज्य, गुवाहाटी शहर, भारतीय

4. शिक्षा      :      एम. ए., पी. एच. डी.

5. विश्वविद्यालय      : गौहाटी विश्वविद्यालय

6. पहिलो रचना प्रकाशन मिति : 1984, दुइ गीत, परिषद् पत्र 1 मा

7. कृति सूची (मिति र विधा समेत)

अनूदित —

(क) नामघरे – उपन्यास, असमीयाबाट, नेपाली,  1997

(ख) अस्तराग – उपन्यास, असमीयाबाट, नेपाली, 2002

(ग) असमीया नारी कविका कविता – कविता, असमीयाबाट, नेपाली, (बत्तीसवटा कविताको अनुवाद), 2002

(घ) भारत के स्वाधीनता आन्दोलन में पानबारी रेलगाडी दुर्घटना काण्ड, इतिवृत, संयुक्त रूपमा, असमीयाबाट हिन्दी, 2003

मौलिक : 

(क) माया (गीत संग्रह, 2004)

(ख) आवर्तन (कथा सङ्ग्रह, 2007)

(ग) मोहनी डट् कम् (उपन्यास, 2009)

(घ) यो शहर ढल्दैछ (कथा सङ्ग्रह, 2016)

सम्पादन (पुस्तक)       :

(क) असमेली नेपाली कथा यात्रा, नेपाली, 2008

(ख) लोहित घाटी की कहानियाँ (अनूदित) असमीयाबाट हिन्दी, 2008

(ग) स्व अध्ययन सामग्री, नेपाली एम.ए., आइडोल (IDOL) गौहाटी विश्वविद्यालय (2010-2012)

(घ) अस्मिताका कवि नवसापकोटा : व्यक्तित्व र कृतित्व (2015)

(ङ) समन्वयकी साँघु गीता उपाध्याय : व्यक्तित्व र कृतित्व (2015)

(च) अक्लान्त गोमा शर्मा : व्यक्ति एक विचार अनेक (2017)

सम्पादन (पत्रिका)       :

(क) हाम्रोध्वनि (नेपाली) सन् 2001 फरवरी अङ्कबाट निवत्र्तमानसम्म

(ख) अंतरंग (हिन्दी) सन् 2005, समकालीन नेपाली कथा विशेषांक (अतिथि सम्पादक)

(ग) रंगघर (असमीया), सन् 2005, नेपाली साहित्य, संस्कृति र कला विशेषांक, (सहयोगी सम्पादक)

(घ) मृण्मय (बहुभाषी), सन् 2005 शोध पत्रिका, अङ्क 2

(ङ) दस्तावेज (हिन्दी), सन् 2006, असमीया भाषा साहित्य अङ्क (सहयोगी सम्पादक)

(च) स्नेहिल (हिन्दी), सन् 2017, अङ्क 2

पुरस्कार      :     

                              (1)          संजय नारायण स्मृति स्वर्ण पदकले पुरस्कृत, 1999

                                (2)          साहित्य अकादमी अनुवाद पुरस्कार, 2002

                                (3)          टंकनाथ उपाध्याय पुरस्कार, 2008

                                (5)          गुञ्जन प्रतिभा पुरस्कार, 2009

                                (6)          दियालो पुरस्कार, 2012

                                (7)          मदन स्मारक सम्मान, 2014

रूचि : गीत सुन्नु र पुस्तक पढ्नु

डॉ. शान्ति थापा – एक संक्षिप्त साहित्यिक परिचय – ज्ञानबहादुर छेत्री

यस पालिको साहित्य अकादमी पुरस्कार दार्जीलिङका लेखक प्रेम प्रधानले उपन्यास ‘उदासीन रूख’का निम्ति प्राप्त गरेका छन् भने अनुवाद पुरस्कार असमेली लेखिका डॉ. शान्ति थापाले हासिल गरेकी छन्। सन् १९९७ मा प्रकाशित उनको ‘नामघरे’ (मूल-असमीया उपन्यास ‘नामघरीया’-लेखक अतुलानन्द  देव गोस्वामी) अनुवाद कृति अकादमीको अनुवाद पुरस्कारका लागि चुनिनु हाम्रो लागि गौरवको कुरा हो। यहाँ अघि पनि जयशंकर प्रसादको हिन्दी नाटक एकै नामले नेपालीमा तर्जुमा गरेर छविलाल उपाध्यायले, ज्ञानपीठ विजयिनी मामनि रयछम गोस्वामीको ‘आधालेखा दस्तावेज’ (असमीया उपन्यास) ‘अर्धवृत्त जीवन यात्रा’ नामले नेपालीमा अनुवाद गरेर किरण कुमार राईले र पोहोर साल असमीया कथा लेखक दीनेश शर्माका कथाहरू (गल्पर गाछपेडा)’ब्रह्मपुत्रका छालहरू’ शीर्षकमा अनुवाद गरेर दुर्गा खतिवडाले अनुवाद पुरस्कार पाइसकेका छन्। यो छोटो निबन्धमा यस पालाको साहित्य अकादमी अनुवाद पुरस्कारका लागि चुनिने कृति र कृतिकार (अनुवादिका) को परिचयात्मक इतिवृत्त कोरिने छ।

            डॉ. शान्ति थापा नेपाली साहित्यमा समालोचकको रूपमा प्रतिष्ठा लाभ गरेकी छन यद्यपि उनको कलम कविता, कथा र अरू विधाहरूमा पनि दौडेको पाइन्छ। भारतीय नेपाली साहित्यको प्रसंग आउँदा दार्जीलिङ र सिक्किमको तुलनामा असममा नेपाली साहित्य राम्रो मौलाउन सकेको छैन भन्ने धेरैको धारणा छ। वास्तवमा यो सम्पूर्ण सत्य होइन। सिक्किम र दार्जीलिङमा नेपाली साहित्यको जुन परिवेश छ असममा छैन – हुने सम्भावना पनि देखिँदैन। यस्तै प्रतिकूल परिवेशमा पनि असमेली नेपाली साहित्यकारहरूले जुन साहित्यको सिर्जना गरेका छन त्यो दार्जीलिङ अथवा सिक्किमको भन्दा कम छैन। पत्रपत्रिका र समालोचनाको अभावले गर्दा असमबाट प्रकाशित कृतिहरू र लेखकहरू ओझेलमा परेका छन्। हालै दुइचार जना असमेली लेखक त्यो प्रयोजनीयता पूरा गर्न समालोचकका रूपमा उत्रिएका छन भने त्यो हूलको अग्रिम पंक्तिमा डॉ. शान्ति थापा देखिएकी छन।

            डॉ. शान्ति थापा हिन्दी साहित्यमा पनि परिचित छन्। डॉ. थापाले धेरै असमीया कविताहरू नेपालीमा अनुवाद गरेकी छन भने उनको सन् १९९७ मा अनुवाद गरेको कृति ‘नामघरे’ २००२ को अनुवाद पुरस्कारका लागि चुनिएको छ।

            असमेली साहित्य र जनजीवनमा महापुरूष शंकरदेव र माधवदेवको अतुलनीय महत्व छ। महापुरूषद्वयले नामधर्मद्वारा भक्ति मार्ग देखाए, साहित्य रचना गरे अनि नामघर, भाओना जस्ता अनुष्ठानहरू खडा गरे जसको महत्व आज पनि झन् बढ्दै गएको छ। नामघरहरूका ‘बाटचरा’ मै अंकित ‘गुरूचरित’ ग्रन्थका यी पंक्तिहरूले महापुरूषद्वयको स्थान निरूपण गर्दछन्-

            शंकर स्वरूप हरि निज अंशे अवतरि

                        भकति प्रदीप लगाइ थैला।

            माधव स्वरूपे आसि  ताते तैलवन्ति दिया

                        अज्ञान आन्धार दुर कैला॥

            नामघरको देखरेखका निम्ति खटिएको व्यक्तिलाईनै नामघरीया (नामघरे) भन्दछन। नामघरका ‘गोसाईं’ समाजमा मानिएका व्यक्ति हुन भने नामघरे एउटा मामुली काम गर्ने व्यक्ति हो। असमीया लेखक अतुलानन्द देव गोस्वामीले यही नामघरेको जीवनलाई लिएर उपन्यास रचना गरेका छन्। उपन्यासकार गोस्वामीले ‘नामघरीया’ उपन्यासमा असमेली जनजीवनको सजीव झाँकी प्रस्तुत गर्नुका साथै समाजको निम्नवर्गको मान्छेले पनि निष्ठाका साथ आफ्नो कत्र्तव्य पालन र छरछिमेकीहरूको सेवा मद्दत गरी जीवन सफल पार्न सक्छ, जनप्रिय हुन सक्छ भन्ने आशय व्यक्त गरेका छन। नामघरे कति जनप्रिय व्यक्ति थियो त्यो कुरा पुलिसको डायरीबाट थाह लाग्छ।

            डॉ. शान्ति थापाले सन् १९७८/७९ देखि गीत/कविता लेखनबाट नेपाली साहित्य जगतमा प्रवेश गरेकी हुन। उनका गीतहरू गुवाहाटीको आकाशवाणी र दूरदर्शनबाट प्रसारित भएका छन् और विभिन्न केसेट आदिमा पनि रेकर्डिङ भइसकेका छन्। उनले नेपाली, हिन्दी र असमीया तीनैवटा भाषामा गीत लेखेकी छन्। उनका कविताहरू परिषद् पत्र, खोजी, अंतरंग (हिन्दी), समकालीन भारतीय साहित्य (हिन्दी), गरिमा (नेपाल), सुगन्ध (नेपाल), श्रद्धाञ्जली, मदानी, प्रत्यय (असमीया) आदिमा प्रकाशित भएका छन्।  त्यस्तै उनका कथा/अनुवाद कथा नेसापस, समकालीन भारतीय साहित्य र श्रद्धाञ्जली आदिमा प्रकाशित भएका छन्। यस अतिरिक्त अन्तर्वार्ता, लेख, संस्मरण आदिमा पनि उनले कलम चलाएको पाइन्छ।

            सन् १९८६ मा गुवाहाटी विश्वविद्यालयको प्राचीर पत्रिका ‘कण्ठ स्वरत कण्ठ मिलाइ’मा स्व. हरिभक्त कटुवालको ‘यो जिन्दगी खै के जिन्दगी’ कविताको असमीया अनुवाद लिएर उनी अनुवाद जगतमा ओह्रिन्छिन्। त्यसपछि उनका धेरै अनुवाद कविता, कथा आदि हिन्दी, असमीयामा प्रकाशित हुन थाल्दछ।

            विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित डॉ. थापाका समालोचनात्मक निबन्धहरू यस प्रकार छन् –

१) तुलसीदास र भानुभक्तको रामकथामा सामाजिकता

२) कवि कमल बगाले र उनका कविता – मेरो युद्ध भोलिका लागि

३) कवि मोतिसिङ्ग छेत्रीकृत स्मृतिवेदना : एक दृष्टि

४) कवि नव सापकोटाको ‘काव्यान्तर’ : एक दृष्टि

५) नव सापकोटाको व्यक्तित्व र कृतित्व

६) कवि भविलाल लामिछाने कविता यात्रा : अनागतदेखि शब्द हुन यी मेरासम्म

७) कवि भानुभक्त आचार्यको नारी भावना

८) असमेली काव्य जगत्का एक नवीन हस्ताक्षर पुष्पधर शर्मा र उनको ‘हाम्रो धुकधुकी : जराहरू’

९) कथाकार खडकराज गिरी र उनका कथाहरू

१०) अनुराग प्रधान : व्यक्तित्व र कृतित्व

११) प्रेमसिंह सुवेदी : व्यक्तित्व र कृतित्व

१२) आम्रपालीको सेरोफेरोमा

१३) भानुभक्तको रामायणमा सामाजिक जीवन

१४) स्वतंत्रता उत्तर नेपाली कविता-यात्रा

            डॉ. शान्ति थापाको जन्म गुवाहाटीको दुर्गासरोवर भन्ने ठाउँमा सन् १९६१को ९ जनवरीमा भएको हो। उनका पिता स्व. कालु थापा र माता श्रीमती यशोदा देवी हुन। उनले प्राथमिक शिक्षा तरूणराम फूकन हाईस्कूलबाट १९६७ थालेकी हुन र  सन् १९७८मा  प्रवेशिका पास गरेकी हुन। त्यस पछि शान्ति थापाले उच्चशिक्षाको निम्ति असमको प्रतिष्ठित कलेज गुवाहाटी स्थित सन्दिकै गर्लस कलेजमा नाम दर्ता गरिन औ १९८२मा प्रागज्योतिष कलेजबाट हिन्दीमा ससम्मान स्नातक उत्तीर्ण गरिन। गुवाहाटी विश्वविद्यालयबाट सन् १९८४ मा हिन्दी साहित्यमा स्नातकोत्तर डिग्री हासिल गरिन। यत्तिमा पनि शान्ति थापाको ज्ञान पिपासु मन शान्त भएन। उनले शोधकार्य गरी ज्ञानको नयाँ आयाम थप्ने विचार गरिन। सन् १९८५ मा पी.एच.डी. गरेर डक्टरेट डिग्री हासिल गरिन। उनको शोधको विषय थियो – Changing values of women’s life in Ajneya’s novel’s गाइड हुनुहुन्थ्यो प्रो. हीरालाल तिवारी।

            कतिपय अनुवादलाई दोस्रो श्रेणीको साहित्य मान्दछन। हिजो आज अनुवादको महत्व धेरै बढेको छ। आज विश्व संकुचित हुँदैछ, ‘ग्लोवेल भिलेज’ को धारणा साकार हुँदैछ। साहित्य क्षेत्रमा पनि त्यसको प्रतिफलन भएको छ। विश्वका हजारौं भाषाहरूमा उत्तमोत्तम साहित्य रचिएको छ। एकजना व्यक्तिले सबै भाषा जान्नु सम्भव छैन भने अनुवाद कार्यद्वारा विश्वको साहित्यसंग हामी परिचित हुन सक्छौं। अनुवाद लर्तरो कार्य होइन। यहाँ अनुवादकले एउटा भाषा मात्रै जानेर काम चल्दैन। लेखक Source language र Target language दुवैको ज्ञाता हुनु पर्दछ। फेरि भाषाहरूका आआफ्ना स्वकीयता हुन्छन्। ती स्वकीयताहरू ती भाषाहरूका प्राण मानिन्छन्।

            ‘नामघरे’ मा डॉ. शान्ति थापाले आफ्नो प्रतिभाको परिचय दिन सक्षम भएकी छन। ‘नामघरे’ जस्तो असमीया जनजीवनको संस्कृति पर्गेल्ने उपन्यासलाई नेपाली भाषामा अनुवाद गर्नु कठिन कार्यको सफल रूपायन भएको छ। अवश्य, ठाउँठाउँमा अनुवादिकाले ‘फुटनोट’ द्वारा विषयलाई छर्लङगाउन कोशिश गरेकी छन्। पहिलेनै भनियो कतिपय भाषिक सांस्कृतिक विशेषताहरूलाई अनुवाद गर्न सकिँदैन। अनुवादिकाले मूल ग्रन्थका भाषिक सांस्कृतिक विशेषताहरूलाई भरसक जस्ताको तस्तै गाभ्ने प्रयास गरेकी छन्। ‘नामघरे’ भन्दा अघि सन् १९९७मै सामूहिक रूपमा विराटनगरको वाणी प्रकाशन द्वारा प्रकाशित, डा. गणेश भण्डारी र गोपाल बहादुर नेपाली द्वारा सम्पादित ‘असमेली कविता’मा उनका केही गीतहरू प्रकाशित भएका छन्। साहित्य अकादमी द्वारा प्रकाशित र जीवन नामदुङ द्वारा सम्पादित ‘समकालीन नेपाली समालोचना’मा उनको समालोचना संकलित भएको पाइन्छ। त्यस्तै एकै प्रतिष्ठानद्वारा प्रकाशित, डा. लक्खी देवी सुन्दास द्वारा सम्पादित ‘भारतीय महिला लेखन’मा (२००२) उनको लेख संकलित भएको पाइन्छ। अक्टोबर सन् २००२मा प्रकाशित ‘असमीया नारी कविका निर्वाचित कविता’मा उनले चौँतीसवटा अनुवाद गरेकी छन् औ संयुक्त रूपमा सम्पादन पनि गरेकी छन्। उहाँलाई बधाई।

शान्ति थापा र उनको गीत संग्रह माया : एक झलक – प्रा. घनश्याम तिम्सिना

            डा0 शान्ति थापाको जन्म नौ जनवरी 1961, माधवदेव पथ, दुर्गासरोवर, गुवाहाटी-9 मा भएको हो। शैक्षिक परिवेश अनुकूल भएको गुवाहाटीजस्तो ठाउँमा उनकी माता श्रीमती यशोदा देवी र पिता स्व0 कालु थापा (शालिग्राम)को सपनालाई साकार बनाउँने क्रममा शान्ति थापाले आफ्नो लगन र अशेष प्रचेष्टाद्वारा हिन्दी विषयको स्नातकोत्तर परीक्षामा प्रथम श्रेणीको द्वितीय स्थान सन् 1987मा हासिल गर्न सक्षम भएको पाइन्छ। शैक्षिक दिशामा निरन्तरता कायम राखी केवल आठ वर्षपछि नै सन् 1995मा अज्ञेय के उपन्यासों में नारी के बदलते जीवन मूल्य (Changing values of life in Ajneyas novels) शीर्षकमा विद्यावारिधिसमेत हासिल गर्ने उत्तर-पूर्वाञ्चल भारतको उनी एक उज्वल प्रतिभा हुन्। नेपाली भाषी भएर हिन्दी साहित्य जगतमा विद्यावारिधि सम्मान हासिल गर्न सक्षम बनेकी एक नारी हस्ताक्षरको रूपमा उनको चिनारी रहन गएको छ। उनी पेशागत रूपमा हाल राधा गोविन्द बरूवा महाविद्यालय (गुवाहाटी)मा हिन्दी विभागकी विभागाध्याक्षाको रूपमा कार्यरत रहेको पाइन्छ।

            कुनै पनि साहित्यिकहरूको सर्जकको रूपमा पत्र-पत्रिकाको योगदान नै मुख्य मानिन्छ। यस दृष्टिबाट डा0 शान्ति थापा पनि पत्र-पत्रिका मार्फत नै अघिबढ़ेको भए तापनि उनको साहित्यिक यात्राको शुभारम्भचाहिं आकाशवाणी गुवाहाटी केन्द्र, युवा कार्यक्रम, उत्तराञ्चलमा सन् 1979 मा कविता औं गीत वाचनबाट नै प्रारम्भ भएको देखिन्छ। त्यस पछि नेपाली साहित्य परिषद्-को परिषद पत्र अङ्ग-1 सन् 1984/85 मा दुइवटा गीत प्रकाशित भएको र यो नै उनको लेखन प्रारम्भको पहिलो प्रकाशित रूप मानिन्छ। हालसम्म बहुमुखी प्रतिभाकी धनी डा0 थापाको लेखनीमा साहित्यका अनेक विधा जस्तै- कविता, गीत, कथा, निबन्ध, समालोचना, संस्मरण, विभिन्न साहित्यिक व्यक्तित्व र कृत्तित्व र समीक्षा एवं आलोचना साथै अन्य भाषा हिन्दी, असमिया, बंगाली तथा अंग्रेजीमा लेखिएका दिग्गिज साहित्यकारहरूको अनुवाद रूपान्तरण आदिमा राम्रो दखल रहेको कुरा तोकेर भन्न सकिन्छ। साहित्य क्षेत्रमा कुशल व्यक्तित्वकी, धनी डा0 थापा हिन्दी, असमिया साहित्यकाशमा पनि उत्तिकै चिनिएको नाम हो। अनुवाद क्षेत्रमा नेपाली भाषाका महान कवि हरिभक्त कटुवालको “यो जिन्दगी खै के जिन्दगी’ को असमीया भाषामा अनुवाद गरी गुवाहाटी विश्वविद्यालयको प्राचीर पत्रिका “कण्ठ स्वरत कण्ठ मिलाई’ (सन् 1985) वर्ष भरिको अनुवाद श्रेष्ठ कविताको रूपमा प्रकाशित भएको पाइन्छ। त्यसैलाई पछि सन् 1986 मा “कण्ठ स्वरत कण्ठ मिलाई’ पुस्तकाकार कृतिको रूप दिई प्रकाशित भएको र यो नै उनको पहिलो अनुवाद रचनाको रूपमा रहेको कुरा ज्ञात हुन्छ।

            राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न पत्रिका मार्फत उनका रचनाहरू जनसमक्ष चिनिएका छन्। जस्तै परिषद पत्र, गरिमा, खोजी, समकालीन भारतीय साहित्य, मधानी, श्रद्धाञ्जली, मुहान, हाम्रोध्वनि, दियालो, सुगन्ध, नवयात्रा, पदाभास, निकेतन, गरियसी, असम भारती, उद्गम, प्रक्रिया, प्रथा, रङघर, चम्पाकली, अन्तरङ्ग, प्रत्यय, सपरिवार आदिमा उनका कथा, कविता, गीत, लेख/निबन्ध, समालोचना, संस्मरण, अनुवाद, व्यङ्ग्य लेखन, अन्र्तवार्ता आदि प्रकाशित भइरहेका छन्। त्यसरी नै डा0 थापाद्वारा रचित र विभिन्न पुस्तकहरूमा संकलित रचनाहरूको सूची निम्नानुसार रहेको पाइन्छ –

1. केही गीत – असमेली नेपाली कविता सन् 1996, वाणी प्रकाशन, विराटनगर नेपाल, सम्पादकद्वय – डा0 गणेश भण्डारी र गोपालबहादुर नेपाली।

2. पैंतीसवटा अनुवाद कविता – असमिया नारी कवयित्रीका निर्वाचित कविता सन् 2002, सदौ असम लेखिएका संस्था, सम्पादिकाद्वय- गीता उपाध्याय र मीरा ठाकुर।

3. कवि नव सापकोटाको काव्यान्तरः एक दृष्टि – समकालीन नेपाली समालोचना, सन् 2002, साहित्य अकादमी नयाँ दिल्ली सम्पादक – डा0 जीवन नामदुंग।

4. भानुभक्तको रामायण सामाजिक जीवन – भारतीय नेपाली महिला लेखन सन् 2002, साहित्य अकादमी नयाँ दिल्ली, सम्पादक – डा0 भीमकान्त उपाध्याय।

5. गडगाउँ कविता –  केही अनुदित असमिया कविता (सन् 2004), साहित्य अकादमी नयाँ दिल्ली, सम्पादक – डा0 भीमकान्त उपाध्याय।

6. केही मौलिक/अनुदित कविता – आछामेर नेपाली कविता (सन् 2004) साहित्य हाइलाकान्दि, अनुवादक औं संकलक – भक्तसिंह ठकुरी सम्पादक –  नव सापकोटा।

            साहित्य क्षेत्रमा उनको रुाष्टा-द्रष्टा दुवै व्यक्तित्व रहनुका साथै सम्पादकीय व्यक्तित्व पनि टड्कारो देखिन्छ। सम्पादिका रूपमा गुवाहाटीबाट प्रकाशित मासिक पत्रिका हाम्रोध्वनि को सन् 2001 देखि हालसम्म संयुक्त सम्पादिकाको रूपमा कार्यभार सम्हालेको देखिन्छ। त्यसरी नै अंतरंग (हिन्दी)- नेपाली कथा विशेषाङकमा अतिथि सम्पादिकाका रूपमा, रंगघर (असमिया) नेपाली साहित्य संस्कृति विशेषाङकमा सहयोगी सम्पादिकाका रूपमा, मृण्मय (बहुभाषी शोध-पत्रिका) द्वितीय अङ्क 2004 मा संयुक्त सम्पादिकाका रूपमा, दस्तावेज (हिन्दी) असम विशेषाङ्क (113) 2006मा सहयोगी सम्पादिकाका रूपमा र पूर्वा (हिन्दी शोध-पत्रिका) 2007, पूर्वोत्तर हिन्दी अध्ययन मञ्चमा संयुक्त सम्पादिकाका रूपमा रहेकी छन्। उनको सम्पादिका व्यक्तित्वले नवागन्तुक प्रतिभा साथै साहित्य व्यक्तित्वको व्यावहारिक पक्ष कायम राख्न सफल रहेको देखिन्छ।

            डा0 थापा बहुभाषी व्यक्तित्व सम्पन्न भएको नाताले नेपाली, असमीया, बंगाली, अंग्रेजी भाषा लगायत हिन्दी भाषामासमेत उनका लेखन प्रतिभाहरू फिंजारिएको देखिन्छ। हिन्दीमा स्नातकोत्तर भएको र हिन्दीमा नै विद्यावारिधि समेत गरिसकेको हुँदा यस भाषा तर्फको ज्ञान भण्डार उनमा निकै प्रबल बनेको पाइन्छ। फलस्वरूप हिन्दी भाषामा शोधमूलक लेखहरू एक दर्जनभन्दा बढी, केही संस्मरण लेखहरूका साथै हिन्दी भाषामा लेखिएका कविता, कथा आदिको अनुवादहरू अंतरंग, समकालीन भारतीय साहित्य आदि पत्रिकामा प्रकाशित पाइन्छ। यस अतिरिक्त हिन्दी र नेपाली भाषामा तुलनात्मक अध्ययनको रूपमा लघु शोध-प्रबन्ध तुलसीदास कृत रामचरितमानस और भानुभक्तकृत नेपाली रामायण में व्यक्त सामाजिक जीवन शीर्षक प्रबन्ध सन् 1984मा गुवाहाटी वि·ाविद्यालयबाट तयार पारी दुवै भाषाको समन्वयात्मक पाइलाहरूको निम्ति उनको प्रचेष्ठा विद्यार्थी अवस्थादेखि नै सराहनीय रहेको छ।

            उनी साहित्यिक, सामाजिक र सांस्कृतिक गतिविधिसँग पनि कुशल तरिकाले संलग्न रहेको तथ्य पनि उल्लेखनीय देखिन्छ। विभिन्न गतिविधिसँग रहेको संलग्नताको बुँदागत चिनारी यस प्रकार रहेको छ –

1. नेपाली साहित्य परिषद असम – सदस्य, केन्द्रिय कार्यकारिणी

2. सदौ असम लेखिका संस्था – आजीवन सदस्य

3. असम भारती – सदस्य

4. राधा गोविन्द बरूवा परिचालना समिति – शिक्षक प्रतिनिधि सदस्य

5. सन् 1979 देखि 1993 सम्म नाट्याभिनयसित संलग्न – अल असम एकाङ्की प्रतियोगितामा भाग लिएको अनि असमीया पूर्णाङ्क नाटकहरूमा अभिनय गरेको।

6. स्नातकोत्तर छात्र-संस्थाको तत्वाधानमा आयोजित नाट¬ कर्मशालामा 45 दिनको प्रशिक्षणमा प्रशिक्षित प्रथम नेपाली कलाकारका रूपमा स्वीकृति अनि त्यस प्रशिक्षणमा प्रस्तुत गरिएको नाटक अन्धायुगमा मूल हिन्दीः धर्मवीर भारती – अनुवादः दुलाल राय) अभिनय गरेको।

7. उत्तर पूर्वाञ्चलबाट ब्रादर्स भन्ने एसोसिएसनको तत्वावधानमा प्रथम पटक प्रस्तुत गरिएको लघु ख्याल क्लासिकल क्यासेटमा आठवटा बंदिश-लेखन् सन् 1996 र क्यासेटको नाम थियो संगीतिका।

8. बुकुर आपोन (सन् 1994) शीर्षक क्यासेटमा गीत लेखन।

9. उनका धेरैजसो गीतहरू विभिन्न कलाकारहरूद्वारा रेडियो, दूरदर्शन औं मञ्चमा गाइसकेको र रेकर्डिङ्ग भइसकेको।

            यसरी विभिन्न पत्र-पत्रिका, पुस्तकादि र सामाजिक, सांस्कृतिक गतिविधि मार्फत अघि बढेको उनको साहित्यकार व्यक्तित्वको उपजको रूपमा देखापरेका कृतिगत उपहारहरू यस प्रकार रहेको पाइन्छ – नामघरे (सन् 1997, असमेली उपन्यास, अनुवाद), अस्तराग (सन् 2002, असमेली उपन्यास, अनुवाद) भारत के स्वाधीनता आन्दोलन मैं पानबारी रेलगाड़ी दुर्घटना काण्ड (सन् 2003, संयुक्त रूपमा) र माया (सन् 2004, मौलिक गीत संग्रह) देखा पर्दछन्। यस भित्रमा असमेली साहित्यका वरिष्ठ उपन्यासकार अतुलानन्द गोस्वामीले लेखेको नामघरिया शीर्षक उपन्यासलाई उपन्यासकारको भावविधान र शैली पक्षलाई समेत ध्यानमा राखी नेपाली भाषामा अनुवाद गरी नामघरे शीर्षकमा रूपान्तरण गरेको हुँदा सन् 2002मा साहित्य अकादमी दिल्लीद्वारा सम्मानित समेत भएको गौरव उनमा रहेको देखिन्छ। त्यसरी नै समालोचना क्षेत्रमा पनि सन् 1998 मै सञ्जय नारायण प्रधान स्मृति स्वर्णपदक राष्ट्रिय पुरस्कारले सम्मानित हुने श्रेय उनमा रहेको हुँदा उनको रुाष्टा-द्रष्टा दुवै व्यक्तित्व भारतीय नेपाली साहित्यकाशमा एक उज्वल नक्षत्र बन्ने कुरामा निर्धक्क अनुमान लगाउन सकिन्छ।

            प्रस्तुत लेखमा डा0 थापाको गीत संग्रह माया (2004)मा संग्रहीत गीतहरूको आधारमा उनका गीतहरूको विश्लेषण तथा मूल्याङकन गर्ने प्रयास गरिएको छ। पूर्वाञ्चल भारतको गीत संग्रहहरूको खोजी गर्दा स्व0 हरिनारायण उपाध्याय विद्याभूषण द्वारा लेखिएको गीतमाला (सन् 1910) यस भेकको पहिलो गीत संग्रहको रूपमा देखापर्दछ। लगभग 50 वर्षको अन्तराल पछि अर्को गीत संग्रह सम्झना (1960) गीतकार हरिभक्त कटुवालद्वारा, राग अनुराग (1973) टिकाराम उपाध्याय निर्भीक, अनुराग (1983), के. बी. नेपाली, धुकधुकी (1983) दुर्गाप्रसाद घिमिरे, मेरा पीर/मेरा गीत (1988) गुरूभक्त घिताल, यहाँका ढुंगा र माटोले भन्छ (1991) इन्द्र भट्टराई आदि देखापर्दछन्। (साधना दुर्गाप्रसाद घिमिरे)

            गीत एउटा यस्तो शब्दहरूको लयात्मक अभिव्यक्ति हो जसले मानिस जीवनका हर्ष-विस्मात तथा आवेग-संवेगको अवरोहलाई अन्तर्क्रियामा समाहित गर्न सक्षम बन्दछ। गीतको लयविधानको कोमलताले गर्दा अन्तर्मनका सुषुप्त भावनाहरूलाई जाग्रद बनाउँने कार्यमा ठूलो सहयोग गर्दछ। गीतमा विद्यमान सरलता, सरसता र माधुर्यको संमिश्रण नै ह्मदय आहलादित गर्ने एक अमूल्य उपादान मानिन्छ। जुनसुकै शोक-तापमा तल्लीन ह्मदयमा एक सञ्जीवनीको काम गर्ने  गीति-विधान सधैं ह्मदयस्पर्शी रहेको पाइन्छ। गीतमा स्वर संगीतको समागमले गीतकारको मर्मस्पर्शी भावोद्गारहरूलाई झन्भन्दा झन् श्रुतिमधुर बनाएर श्रोताको अन्तर्दृष्टिलाई भित्रबाट नै सजग तुल्याउँने कार्य यसले गर्दछ। गीतको परम्परा वैदिक युगदेखि थालिएर अहिलेसम्म टडकारो रूपमा रहेको र यसको महत्व स्वीकार्य छ। वेदका विभिन्न ऋचाहरूमा गीतिमयता रहनुका साथै रामायण, महाभारतका विभिन्न दृश्यहरूमा गीतहरूको समावेश भएको पाइन्छ। शकुन्तला तथा कादम्बरी कृतिमा समेत गीतको प्रभाव नभएको होइन। प्राचीन कालदेखि नै विभिन्न नाट¬कृति, महाकाव्य आदिमा समाहित गीतहरूको संवेद्यता रहिरहेको हुनाले आजसम्म पनि यसले मानव जीवनका अनुभूतिहरूलाई घच्घच्याउँन सफल बनेको कुरा व्यक्त गर्न सकिन्छ। त्यसैले गीतमा रहेको स्वर लहरीको माधुर्यलाई जसका ह्मदयले चुम्न सक्दैन त्यो मानिस नभएर अरू नै अन्य प्राणी हुनुपर्दछ नत्र गीतले उसलाई कता कता छोइरहेको हुन्छ नै।

(क) माया गीत संग्रहको संरचना – संरचना भन्नाले साधारणतः कुनै वस्तुको ढाँचा एवं बनोट भन्ने बुझिन्छ। यसले भाषिक एकाइहरूको संगठित एवं व्यवस्थित रूपलाई एकान्विति दिने कार्य गर्दछ। कुनै पनि लयात्मक अभिव्यक्तिमा वस्तु, भाव र शब्दहरूको समन्वयात्मक रूपले संरचनालाई निर्माण गरेको हुँदा त्यो अभिव्यक्तिको महत्व स्वीकार्य एवं ग्राह्र मानिन्छ। प्रस्तुत संग्रहमा धेरैजसो गीतहरू पद्यात्मक लयमा आधारित रही अनुप्रासयुक्त पनि भएकाले गीतहरूको भावविन्यासमा माधुर्यता छाएको देखिन्छ। यो संग्रह 100 पृष्ठको र 100 वटा नै शीर्षक गीत रही प्रत्येक पृष्ठमा नै एक एक शीर्षक गरी  संरचित देखिन्छ। यहाँ चार हरफसम्मका एक पंक्तिगुच्छा, कतै दुइ/तीन, चार/छ, चार/नौ आदि हरफहरूले युक्त पंक्ति गुच्छहरू देखिन्छन्। एकैनास हरफहरूले युक्त पंक्तिगुच्छाको श्रृङखलित रूप भने यस संग्रहमा त्यत्ति देखिदैंन। बाह्र आकारका दृष्टिले हेर्दा यस सङ्ग्रहका प्रत्येक गीतहरू नै लघु आकारका देखिन्छन् र भावात्मकता, लयात्मकता र संगीतात्मकता, आदिको आन्तरिक पक्षचाहिं निकै सुदृढ रहेकाले सबै गीतहरू नै हृदयस्पर्शी बन्न पुगेका छन्। कुनै पनि गीतमा स्थायी र अन्तराको समायोजनले गीतलाई मर्मस्पर्शी र प्रभावकारी बनाएको हुन्छ। यस दृष्टिले माया संग्रहका गीतहरूमा एक स्थायी र अन्य अन्तराको समायोजनले गीतहरू बढी प्रभावकारी बन्न पुगेका छन्।

(ख) डा. थापाका गीतमा देशप्रेम/जातीय प्रेमभावना- डा0 शान्ति थापाले यो देशको माटामा शीर्षक गीतमा देशप्रेम भावनामा आत्म-बलिदान दिनसक्ने हाम्रा जातीय गौरवमाथि संस्मरण गरेको देखिन्छ। उनको चारै दिशामा गुञ्जेछ आज गीतमा जातीय स्वाभिमानका निम्ति सधैं अग्रसर रहने आह्वान रहेको पाइन्छ। त्यसरी नै जाग जाग हिमाली सन्तान र हे शक्तिमान हिमाली सन्तान गीतमा हिमाली काखमा हुर्किएका नेपाली जातिय सन्तानलाई आफ्नो अस्तित्वको निम्ति संघर्ष गर्ने आह्वानका साथै-दोस्रो गीतमा हाम्रो जातीय वीरत्वको इतिहासमा अस्तित्वको प्रश्न चिन्ह देखापरेको गुनासो व्यक्त गर्दै जाति, भाषा, अधिकार र अस्मिताका निम्ति आवश्यक परेमा खडगहस्त बन्ने आह्वान पनि गरेको देखिन्छ। नाना जाति र उपजाति गीतमा भने भारतको एउटा प्रान्त असम भूमिमा विभिन्न जाति उपजातिका संस्कृतिका अमूल्य गीतहरूको झन्कारले असम देश साँच्चै नै गुञ्जायमान बनेको कुरा चित्रित पाइन्छ।

(ग) डा. थापाका गीतमा प्रेम-प्रणय भावना – प्रेम मूलतः दुइ प्रकारको पाइन्छ-संयोग प्रेम र वियोग प्रेम। प्रेमी-प्रेमिका बीच वार्तालाप, प्रेमालाप र उनीहरूको मिलनको संयोगको अवस्था व्यक्त प्रेम संयोग प्रेम हो भने वियोग प्रेममा प्रेमी-प्रेमीकाको रूष्टभाव, छटपटिएको अवस्था र विचलनजनित अवस्थामा सिर्जित दुःखदायक स्थिति समेटिएको हुन्छ। यसरी संयोग र वियोग प्रेमको समायोजन माया संग्रहले समाहित गरेको देखिन्छ। तिमी आइ दिए एक फेर, तिमीलाई आँखाको नानीमा, जूनले हाँसी भन्यो, जति छ माया, ओ मेरो मायालु आदि आदिमा संयोग प्रेम चित्रित छ भने तिमी आउने दिनहरू गनी, उसको मायाले माऱ्यो, बिछोडको आँसु पिउन सकिन, के देखें मैले हिजो राति सपनामा, आदि गीतहरूका वियोग-प्रेम तथा प्रेमका छटपटाइहरू चित्रण भएको पाइन्छ। माया-प्रेम आश्रित यस सांसारिक जीवनमा कहिले मिलन त कहिले विछोडको आरोहले चाकाचुली खेलिरहेको हुँदा यसरी दुवै प्रेमको समायोजन हुनु स्वाभाविक नै देखापर्दछ र गीतकार यसमा सफल पनि बनेकी छन्।

(घ) डा. थापाका गीतमा अनुप्रास योजना – नेपाली वृहत शब्दकोश अनुसार कुनै पद वा पदावली अन्र्तगत समान ध्वनि भएका एक वा अनेक व्यञ्जन वर्णको बारम्बार आवृत्ति हुँदा हुन जाने एकरूपताको लयात्मकता नै अनुप्रास हो। शब्दालङकारका चार भेदमध्ये अनुप्रास पनि मुख्य भेदका रूपमा देखापर्दछ। अनुप्रास विशेषतः कुनै पनि गीतहरूमा लयात्मकता थप्ने एक महत्वपूर्ण तत्व मानिन्छ। डा0 थापाका गीतहरूमा मूलतः अन्त्यानुप्रासको प्रयोग नै बढी मात्रामा भएको देखिन्छ। किनकि यस संग्रहका धेरैजसो गीतहरूमा पाउको अन्त्यमा एक समानका शब्दहरू दोहोरिएर गीतको माधुर्यलाई सुरिलो भाकामा व्यक्त गर्न सक्षम बनेको देखिन्छ।

जस्तै – (क) पूर्वेली हावा आऊ आऊ

            नन्दन वनको सुवास फिंजाऊ

            निंदरी रानी आऊ आऊ

            सपनाको कोसेली बोकी ल्याऊ। (पूर्वेली हावा, पृ0 15)

            (ख) जून पग्लिने जाडोको रातमा

            तिमी र म बसेर साथमा ….

            उपरोक्त पंक्तिमा आऊ, फिंजाऊ, ल्याऊ र रातमा, साथमा पंक्तिहरू बीच अन्त्यानुप्रासको सफल समायोजन रहेको देखिन्छ।

(ङ) डा. थापाको माया गीत संग्रहको भाषा-शैली – कविता तथा गीतको भाषा सहज, सरल र सरस हुनु अति आवश्यक देखिन्छ। भाषाको सहजता र सरलताले नै गीतलाई श्रुतिमधुर, स्वाभाविक र प्रवाहमय बनाउनमा सहयोग पुऱ्याउँछ। डा0 थापाको भाषा प्रयोगमा तत्सम र तद्भव दुवै प्रकारका शब्दहरूको प्रयोग देखिए तापनि मूल रूपमा नेपाली स्तरीय लेख्य भाषाको प्रयोगले नै उनको गीत संग्रह सिंगारिएको देखिन्छ। प्रस्तुत संग्रहमा पूर्णविराम र अर्धविरामको ठाउँ ठाउँमा उचित प्रयोग गरिएको हुँदा गीतको स्वर लहरीमा आउँने आरोह-अवरोहको सही सन्तुलन कायम हुन गएको देखिन्छ। उनको गीतमा प्रयोग भएको उपमा, रूपक अलङ्कारले गर्दा शैलीपक्षको मनोमोहकतालाई अझ स्पष्ट पारेको देखिन्छ। यसरी क्लिष्टताको परिधिबाट पर नाघेर सहज सरलताको प्रवाहमा उनिन गएको डा0 थापाका गीतहरू श्रोताका निम्ति श्रुतिमधुर, स्वाभाविक र आस्वाद्य बन्न सक्षम भएको देखिन्छ।

            निष्कर्षमा भन्दा डा0 शान्ति थापाका गीतहरू मूलतः दुइ प्रकारका पाइन्छन् – प्रेममूलक गीत र प्रकृति गीत। पहिलो प्रकारको गीतमा संयोग, वियोग, देशप्रेम, दाम्पत्यप्रेम देखिन आउँछ भने दोस्रोमा प्राकृतिक सौन्दर्यको आलममा प्रेम र सौन्दर्यको झलक पाइन्छ। उनका गीतहरूमा सामाजिक यथार्थता, संगीतात्मकता र भाव प्रचुरताको सुनौलो सरगम बगेको पाइन्छ। गीत मूलतः आत्मपरक अभिव्यक्ति रहेको हुनाले वैयक्तिक भावनामा मार्मिक अनुभूतिहरू पोखिन जानु डा0 थापाका गीतहरूको मूल स्वर रहेको छ। उनको बहुमुखी शतावधान व्यक्तित्वले नै कुनै पनि शकुन निर्माणमा अवश्य पनि सफलता पाउँने छ भन्ने कुरामा निःशाङक रहन सकिन्छ।

            प्रस्तुत संग्रहमा असमेली वरिष्ठ एवं प्रतिष्ठित साहित्यिक नव सापकोटाको परिक्रमा मायाको भूमिका लेखनमा गीतको आवश्यकता, महत्व र यस संग्रहको परिक्रमा सम्बन्धी सैद्धान्तिक पक्षहरूको तालमेलले कुशल तरिकाले सिंगारेको सत्यतालाई स्वीकार गर्दै त्यस भूमिकाको अन्तिम अनुच्छेदलाई यथावत लिपिबद्ध गरी यस लेखनीलाई टुङ्ग्याउँन चाहन्छु –

            नेपाली साहित्यमा गीतकारका रूपमा आफूलाई सङ्गीतको सगरमा चम्काउँने ताराहरूमा मास्टर मित्रसेन थापा ध्रुव तारा नै हुन भने जनकवि धर्मराज थापा, बच्चु कैलास, मबीबी शाह, माधव घिमिरे, हरिभक्त कटुवाल, अगमसिंह गिरी, गुरूभक्त घिताल आदि प्रमुख तारा हुन्। त्यही संगीतको तारा मण्डलमा आफ्नो स्थान सुरक्षित पार्ने तर्खर हो कि डा0 सान्ति थापाको पनि? यस कुराको सही उत्तर समयले बेलामा देला। हामी उनको सफलताको कामना गरौं। अस्तु।

आवर्तन : शान्ति थापाको कथा संकलन – एक दृष्टि  – ज्ञान बहादुर छेत्री

           पहिलो अनूदित कृतिमै साहित्य अकादेमीको अनुवाद पुरस्कार हासिल गर्न सक्षम हुने प्राध्यापिका डा. शान्ति थापा गीतकार, कवि, समालोचक अनि कुशल अनुवादिकाका रूपमा परिचित थिइन्। आफ्नो साहित्यिक व्यक्तित्वमा नयाँ आयाम थप्तै उनी नवीनतम कथाकृति “आवर्तन’ लिएर देखा परेकी छन्। यसै त उनका फुटकर कथाहरू “हाम्रोध्वनि’, “कोशेढुङ्गा’, “नेसाप्रस : आजको साहित्य’ उद्गम आदि पत्रिकाहरूमा पहिलेदेखि नै प्रकाशित हुन थालेका थिए। तिनै कथाहरूलाई समेटेर अनि केही नयाँ कथाहरू थपेर “आवर्तन’ शीर्षकको कथा संकलन सन् 2007 मा पुस्तकाकारमा प्रकाशित भएको छ।

            डा. शान्ति थापाबाट उपहारमा पाएको “आवर्तन’ यस बखत मेरा सामुन्ने छ अनि म दुइ चार फन्का रिङ्ने तरखरमा छु। रिङटा पो लाग्ने हो कि भन्ने डर पनि लागेको छ मलाई। तर डराएर भएन। देखा जाला भनेर आँट गरें।

            डा. थापाको यो पहिलो “आवर्तन’ शीर्षकको कथा संकलनमा जम्मा दशवटा कथाहरू समेटिएका छन्। पहिलो कथाको शीर्षक अनुरूप संकलनको न्वारान गरिएको छ। समावेश गरिएका कथाहरू यस प्रकार छन् – 1. “आवर्तन’ 2. मुनु 3. समृद्धि पुराण, 4. स्वीकारोक्ति 5. बिदाइ, 6. आत्मजा, 7. अन्तिम संस्कार 8. स्वाद, 9. अन्ततः, 10. अलमल।

            “अलमल’ यस कथा श्रङ्खलाको दशौं तथा अन्तिम कथा हो। यस कथामा एकजोडी लोग्ने स्वास्नीको आपसी झगडा अनि त्यसको फलस्वरूप वैवाहिक सम्बन्ध टुट्न लागेको कुरा पाइन्छ। हुन त आशा र श्यामको प्रेम विवाह भएको थियो। एउटा छोरो पनि जन्मियो। तर अनुदाता र सम्वेदनाहीनताको आरोप लगाएर श्याम आशालाई पन्छाउन चाहन्छ। आशाको घर संसारमा अन्धकारा छाउँछ। उसको जिउने एउटै मात्र आशा छ – त्यो हो उसको सन्तान। छोरालाई मान्छे बनाउनै पर्छ। तर बनाउने कसरी? सन्तानको शारीरिक मानसिक विकासमा बाबु-आमा बेफिक्र रहुन तर सहृदय पाठक भने सम्वेदनशील हुनु स्वाभाविक हो। किनभने शिशु भोलि देशको दायित्वशील नागरिक बन्ने छ; शिशुहरू हाम्रा भविष्य हुन्।

            सफल र सुखी संसार हुनका लागि पति-पत्नीका बीचमा आपसी मेल मिलाप र विश्वास हुनुपर्छ। विश्वासको अभावमा कुनै पनि बन्धन फितलो हुन जान्छ। पढे-लेखेका आधुनिक पति-पत्नी एकातिर व्यक्ति-स्वाधीनताका कुरामा सचेतन हुँदै गएका छन् भने अर्कातिर अविश्वास र असहिष्णुताले एकार्काबाट टाढिंदै गएका छन्। हिजो आज लोग्ने – स्वास्नीको झगडा मैनालीले भने जस्तो (परालको आगो) मात्र कहाँ हुन्थ्यो! यहाँ त झिल्काले खाण्डव दाह गर्ने संकेत देखिन्छ। शीर्षकले न अल्मल्याएको भए राईलेझैं मैनालीको कथालाई विनिर्माण गरेर नयाँ कथा लेखिएको हो भन्ने थिएँ।

            “अन्ततः’ – यो कथामा पनि उच्चशिक्षित शहरिया परिवारको व्यस्तता र ढोंग छ। यहाँ सबैथोक हुन्छ, नभए पनि भएको ढोंग गर्नु पर्छ – यानि “स्टेटस’ मेन्टेन गर्नु पर्छ। नयाँ मोडेलको गाडी हुनु स्टेटस बढ्नु हो। सौम्य र सुमित्राको विवाहित जीवन राम्रै चलेको छ – कुनै चीजको कमी छैन। समाजको उच्च आसनमा बसेकी रूपवती पत्नीलाई लिएर गौरवान्वित सौम्यलाई अरू कुरामा चासो छैन, उसकी पत्नी सुमित्रा परपुरुषसँग सल्केको कुरामा पनि। सुमित्रालाई आफ्नो रूप र यौवनमाथि गर्व थियो। ऊ ठान्दथी सबै पुरुषहरू एकै किसिमका हुन्छन् अनि उनीहरू नारीको बुद्धिलाई भन्दा रूपलाई बढी कदर गर्छन्। तर अम्लानले सुमित्राको धारणालाई असत्य सावित गरिदियो। सुमित्राले अम्लानलाई उसको रूप-यौवनको जालमा फँसाउने प्रयत्न गरी तर सफल हुन सकिन। सुमित्राको दर्प चूर्ण भयो।

            “स्वाद’ भोक-कथा हो। यस कथामा एउटी बूढीको मासु खाने तीव्र इच्छा, त्यही इच्छा पुरण गराउने आशामा बिहे बटुलाहरूमा जन्ते बाख्रो खान कुरेर बसेको तर मासु भने आफ्नै आँखाअघि लालसाले हेर्दा हेर्दै सकिएको अनि अवशेषमा घर फर्किदा कुकुरले मारेको कुखुराको भाले फेला पर्दा काखीमा च्यापेर ल्याएको कुरा छ। कुनै वस्तुप्रति तीव्र चाहना हुँदा, त्यसलाई हासिल गर्न मुख्य उद्देश्य हुन जान्छ, उचित अनुचितका कुरा गौण हुने गर्छ। यस कथामा पनि त्यही भएको छ, कुखुराको मासु खाएर हरहर भएको आँतलाई शान्त पार्नु मुख्य कुरा भएको छ बूढीलाई। यो चिरन्तन सत्य जैविक प्रवृत्तिलाई आफ्नै संस्कृतिले सिंगारेर प्रस्तुत गर्नु कथाको विशेषता हो। नेपाली बिहेको राम्रो झलक देखाइएको यस कथामा पुरुषहरूको प्रवेश निषेध हुने रत्यौली खेलिन्छ – “एक्कासी नौली बिहाइतेहरू चिच्याउँदै तँछाड मछाड गर्दै कुना काप्चातिर पसे। कुन चाहिं हो कुन्नि छोरो मान्छेको वेशमा उपस्थित भएछ – कमेज पायन्टमा, गम्छाले मुख छोपेको, टाउकामा टोपी लाएको। आँखामा कालो चश्मा। त्यतिसम्म त ठिकै थियो नि। तर अघिल्तिर परालको लुँडो हल्लाउँदा पो आतंक मच्चिएछ नौलीहरूमा’ – अधबैंसेहरू त बौलाउन थाले। अनावश्यक लम्याइएकोले कथाको स्वाद घटेको छ।

            “अन्तिम संस्कार’ शीर्षक कथामा आधुनिक वस्तुवादी जीवनमा नैतिकता, मूल्यबोध, मानवीय आवेग अनुभूतिको पनि अन्तिम संस्कार भएको/हुन थालेको संकेत छ। नब्बे प्रतिशत जलेकी सुजाताको अस्पतालमा मृत्यु हुन्छ। उसका दुइ छोराहरू भने रक्सी घोकेर लर्बराइरहेका, लोग्नेचाहिं एकातिर टुक्रुक्क बसेर झोक्राइरहेको। अस्पताल, थानाहरूजस्ता जनसेवाका ठाउँहरूमा पैसाबाहेक अरू थोक कसैले चिन्दैनन्। मानवता भन्ने शब्दको कुनै अर्थ हुँदैन त्यहाँ। अरू त के मानव-सेवाको कसम खाएको डाक्टरलाई समेत घुस दिनु पर्छ। जसैतसै थाना र अस्पताल “मेनेज’ भयो। त्यसपछि झन् ठूलो झमेला आउँछ। धार्मिक नीति नियम, परम्परा आदिका कुराहरू आउँछन्। यहाँ पनि रूपियाँ नभए नहुने। धेरै दक्षिणा दिन सक्ने धनीहरूका घरमा पण्डितहरूको ताँति लाग्छ तर गरीबहरूको घरमा काम उतार्ने बेलामा धेरै बहाना देखाउँछन्। यस कथाको माध्यममा सरकारी विभागहरूमा चलेको घुसखोरी अनि सामाजिक-धार्मिक व्यवस्थाका कुरीतिहरू दर्शाउने प्रयत्न गरिएको छ। साथै देशमा, समाजमा थोरै भए पनि असल मान्छे पनि छन् भन्ने इंगित पाइन्छ।

            “आत्मजा’ एउटी कथाकर्त्रीको कथा हो। कथाकारले आफ्नो अनुभव र भन्न चाहेका कुराहरू कथाका माध्यममा अभिव्यक्त गर्छन्। त्यहाँ उसले आफ्नो कलाकारिताको फूलबुट्टा जडेको हुन्छ। कथाकारले पनि आफ्नो कथाकारिताको सीप र प्रभावको विषयमा विज्ञ पाठकको प्रतिक्रिया र समीक्षकबाट मूल्यांकन भएको चाहन्छ। यस कथामा कथाकर्त्री सुमनले आफ्नी सहेली स्निग्धाको सहायतामा एकजना खुबै ख्यातिप्राप्त लेखक-समीक्षकलाई भेट गर्न जाँदाको मानसिक खटपटी पाइन्छ। अरू कतिपय ठूला लेखकहरूमा झैं ती नामी लेखकमा पनि सुन्दरी तरूणीहरूप्रति दुर्वलता छ भन्ने कुरा सुनेपछि सुमनलाई एकातिर हिचकिचाहट छ भने अर्कातिर आफ्नो कथाकारिताबारेमा उनको मन्तव्य सुन्ने तीब्रा चाहना पनि छ। शेषमा, भेटमा सुमनलाई सफल कथाकार मात्र होइन, नौलो प्रयोग लिएर देखा परेकी सशक्त हस्ताक्षर भनिदिंदा सुमनलाई ढुक्क लाग्छ।

            “बिदाइ’ यस संकलनको पाँचौं कथा हो। कथाकी नायिका सुन्दर र शिक्षित छे। कलेजकी प्रवक्ता रोशनीमा बाहिरी दृष्टिमा कुनै कुराको कमी नभएकी देखिन्छे। तर सबै थोक हुँदा-हुँदै पनि केही नभएको पीरलाई छोप्न उसले “डेम्केयर’ को खोल ओडेकी छे। अरूलाई ढाँट्न सकिन्छ तर आफैंलाई कसरी ढाँट्ने? कसैसँग नभनेको मनको बह आफ्नी हितकी सहेलीलाई कहन्छे – “बस यति जान मेरा बाबु-आमाका दुइटा भिन्नाभिन्नै बेडरूम छन्।’ रोशनीको विसंगतिपूर्ण जीवन शैली देखेर उसैका अरू सहेलीहरू मुखेञ्जी नभने पनि कटु मन्तव्य गर्छन्। अनु भने रोशनीप्रति सहानुभूतिशील छे। रोशनीको “पिता कहलाउने मान्छे’, समाजको तथाकथित भद्रपुरूष वास्तवमा व्यभिचारी नराधम थियो। रोशनीको बाबुप्रति थियो तीब्रा घृणा भाव। यही घृणा भावले उसलाई विद्रोही तुल्यएको थियो अनि उसको विसंगत जीवन त्यही विद्रोहको बहिर्प्रकाश हो। रोशनीले आफ्नो कर्मथलो छोडेर जाने समयमा अरूले कस्तो अनुभव गरे जानिदैन तर उसकी हितको साथी अनुलाई भने भक्कानो फुटेर आउँछ, आँखाबाट बरर्र आँसुका थोपाहरू चुहुन्छन्, जसैतसै दुइ शब्द निस्कन्छन् अनुका मुखबाट – “बिदा … साथी …अलबिदा!’

            “आवर्तन’ को कथाक्रममा चौथो मोडमा छ “स्वीकारोक्ति’। यस कथामा नीलपवन र सुमीको प्रेम, सुमीको गर्भ धारण र प्रेमीको दबावमा सुमीले भ्रूणहत्या गर्न विवश भएको करूण व्यथा छ। एकाधिक ठाउँमा सुमीले उसको प्रेमीले उसको नारी भावना, मातृ-भावनालाई बुझ्न नसकेको कुरा आवेग-विह्वल भएर भनेको छ। पछि नीलपवनले आफ्नो भूल स्वीकार गर्दै क्षमा प्रार्थना गर्छ। तर त्यतिञ्जेलमा धेरै ढिलो भइसकेको थियो। बितेको समय फर्केर आउने होइन। नीलपवन घुँडा टेकेर क्षमा प्रार्थना गरिरहेछ। सुमीको प्रभू यीशु बनिदिनु सिवाय अर्को विकल्प पो के छ र!

            “समृद्धि पुराण’मा रातारात धनी भएको सन्ते उर्फ सन्तमानको धनको तुजुकमा पुर्खौंदेखि मानिल्याएका परम्परा र मान्यतालाई लत्याएको प्रसङ्ग छ। चन्द्रकलाको बिहेमा कतिपय जँड्याहा उरण्ठेउलाहरूले चर्तिकलानै देखाउँछन्। साइनो-सम्बन्ध, मान्यजन, चेलीबेटी कसैको पर्वाह छैन बिहेजस्तो शुभ-कार्यमा। चेलीबेटीहरूलाई आबरू जोगाउन हम्मे पर्छ – भागभाग हुन्छ। विसंगति देखिन्छ सबैतिर। होमेन बरगोहार्इंको “हाती’ शीर्षकको कथामा जेनेरेसन ग्यापले ल्याएको मान्यताको संघात पाइन्छ। कथामा बेहुलाको बाबु पुर्खौंदेखि चलिआएको परम्परा अनुसार बेहुलोलाई हातीमा अन्भाउन चाहन्छ तर एम्बासाडर कारमा अन्भाएको देखेर दुखी हुन्छ। पहिले हात्ती समृद्धिको प्रतीक मानिन्थ्यो तर छोरा-नातिका दिनमा हातीको ठाउँ कारले बेदखल गरिसकेको छ। “समृद्धि पुराण’मा पनि संस्कृति र सभ्यताको संघात अनि नयाँ प्रजन्मले कसरी संस्कृति र परम्परालई लत्याएर वस्तु-सर्वस्व सभ्यता(?) लाई अँगालिरहेछ त्यसको अभिव्यक्ति छ। थापाको यस कथाले झिनो रूपमा भए पनि रूसी कथाकार लिओ टलस्टायको “दय इम्प एण्ड दय पीजेन्ट्स ब्रोड’ कथाको याद दिलाउँछ।

            “मुनु’मा यौन शोषणको कुरा पाइन्छ। नारीहरूको विवश स्थितिको करूणतम अभिव्यक्ति भएको यस कथामा यौवनावस्थामा आइनपुग्दै, यौवन के हो केही नबुझेकी सानी केटी मुनु यौन शोषणको शिकार बन्छे, बिडम्बनाको कुरा, त्यो पनि आफन्तबाट। आफ्नै साख्खे दिदी भिनाजुका घरमा पनि सुरक्षित हुन सकिन। मुनुको कलिलो शरीरमा उसको भिनाजु भनाउँदो राक्षसको यौन उत्पीडनका दागहरू देखेर आमालाई ठूलो पीर पर्छ। आफ्नै परिवारभित्रको कुरा, भनौं भने शत्रु हाँस्छन्। कसरी बुझउनु यति सानी केटीलाई यौवनका जटिल कुरा? कसरी सिकाउनु आत्मरक्षा गर्ने तरिका?? उपायसरी एउटै छ, उसलाई बालखमै प्रौढा बनउनु पर्छ। यसरी नारीको दुःख नारीका मनभित्रै दफनाउनु पर्ने, मनलाई चिहान बनाउनु पर्ने स्थिति नारीले नै उपलब्धि गर्न सक्छन्। डा. थापा नारी हुनाले निश्चय पनि उनले उपलब्धि गरेकी छन् र तिनै अव्यक्त वेदनाका कुराहरूको अभिव्यक्ति हो यो कथा। “कुरालाई यहीं दबाउनु पर्छ। गाड्नु पर्छ आफ्नै मुटुमा, सधैंझैं। युगौंदेखि यसरी नै नारीले गाड्दै आएका छन्। हर आमाले गाड्छन्। हर नारीले आफ्नो मुटुमा कैयौं चिहान बनाएका छन्।’

            “आवर्तन’ यस कथासंकलनको पहिलो कथा हो। यही हो संकलनको सर्वोत्तकृष्ट कथा पनि। कथाकर्त्र्रीको लगनशीलता र कथाकारिताको सीप पनि अरू कथाहरूको तुलनामा बडी देखिन्छ यस कथामा।

            कथा पूर्वीय मिथक राधा-कृष्णको प्रेम लीलामा आधारित छ। जीवनको अर्को नाम प्रेम हो। यो प्रेम पति-पत्नीको प्रेम मात्र होइन, होइन आमा-बाबुको छोरा-छोरी प्रतिको प्रेम मात्र पनि। न त काम भावनाबाट उब्जेको प्रेम नै हो यो। समस्त सृष्टिलाई समेट्ने अनन्त अक्षय प्रेम हो यो। मिथकमा श्रीकृष्णलाई भगवान मानेर उनको प्रेम तथा अन्य क्रियाकलापहरूलाई लीला मानिएको छ। त्यसरी नै राधाको कृष्णप्रतिको प्रेमलाई पनि मिथकमा देहज काम भावनारहित स्वर्गीय प्रेमको रूपमा हेरिन्छ। तर कथाकर्त्र्रीले राधालाई मृत्यलोकमा ओह्यालेकी छन्। मानुषी राधालाई उपेक्षा गर्न सक्तैनन् कृष्णले किन भने कृष्णलाई पनि मानव प्रेमीका रूपमै उतारिएको छ। राधाको प्रेमलाई उपेक्षा गर्नु भूल थियो। वास्तवमा, प्रेमलाई अस्वीकार गरेर कुनै पनि सिर्जना हुन सक्तैन। राधा, कृष्णको प्रेम र क्रियाकलापलाई लीला मान्न तैयार छैनन्। कृष्णका नीति, आदर्श र लीलालाई अपांग इतिहास मान्छिन् उनी। पछि स्वयं कृष्णलाई पनि पछुतो हुन्छ अनि उनी राधालाई सम्झन्छन्। राधा बिना कृष्णको कुनै अर्थ छैन, अब लेखिने इतिहास/साहित्यमा राधा उपेक्षित हुने छैनन्।

            इन्द्रबहादुर राईको लीला लेखन यही पूर्वीय मिथकमा आधारित छ। “कठपुतलीको मन’ कथा संकलनमा मिथकीय कथालाई विनिर्माण गरेर नयाँ तरिकाले लेखिएको छ। यसरी उत्तराधुनिकतालाई नेपाली साहित्यमा भित्र्याउने कथाकार राई नै हुन्। एउटै फाँटमा मिथकलाई विनिर्माण गरेर लेखिएको डा. थापाको “आवर्तन’ पनि उत्तराधुनिक कथा हो। “अलमल’, “अनन्तः’ कथाहरूमा पनि उत्तराधुनिकताका लक्षण पाइन्छन्।

            संकलनमा समेटिएका कथाहरूमा धेरजसोमा यथार्थवादी प्रवृत्ति रहेको पाइन्छ। “मुनु’, “स्वीकारोक्ति’, “अन्ततः’ आदि कथामा नारीवादी चिन्तन पाइन्छ भने “बिदाइ’लाई अस्तित्ववादी कथाको रूपमा लिन सकिन्छ। त्यसरी नै प्रयोगवादी उत्तराधुनिक प्रवृत्ति “आवर्तन’ शीर्षक कथामा पाइन्छ। डा. थापाको वर्णनशैली आकर्षक देखिन्छ। उदहरणका लागि केही वाक्यहरूलाई लिन सकिन्छ।

1.         “उनको मनभित्र एकतमाशको हुरी चलिरहेको छ। एक दिन तरकारीमा नून थोरै भए नै यस्तो झिंजिएको व्यवहार देखाउँछन् यिनी। यहाँ तरकारीमा नून थोरै भएको कुरा गर्छन्। जीवनमा कुनचाहिं नून सकिन आँटेको छ – त्यो थाहै छैन।’ (मुनु : पृ. 13)

2.         “भन्न कति सजिलो छ। जिउको चोक्टा काट्दा त्यो उसलाई कसरी थाहा हुने। त्यो पनि फेरि आधा काँचो। कुनै बोटको काँचो फलझार्दा त्यो बोट जति विध्वस्त हुन्छ, त्यही बोटले फेरि पाकेको फल टिप्दा आनन्दमा रमाउने गर्छ, नारीको शरीर-मनले पनि असम्पूर्ण बच्चा गिराउनु र सम्पूर्ण बच्चा जन्माउनुमा बेग्ला बेग्लै अनुभव गर्ने गर्छ।’ (स्वीकारोक्ति : पृ 31)

3.         “हतार हतार डेक्ची चुल्हादेखि ओह्याली र कराही बसाली। सुकेका जिरे खोर्सानी तेलमा फुराएर गुन्द्रुक हाली – हर्दी, नून र साना गोल भेंडा हाली र एकछिन भुटुभाट पारेर खललल पानी हाली – भुर्लुक्क गुन्द्रुक उम्लदा सोधी – “बज्यैले बिहान एक बटुको रातो चिया मात्र खानु भाथ्यो, एक गाँस भए पनि खाएर जानुहुन्थ्यो कि?’ (स्वाद – पृ. 69)

            अरू केही घतलाग्दा अर्थपूर्ण वाक्यहरूलाई हेरौं

1.         हर नारीले आफ्नो मुटुमा कयौं चिहान बनाएका हुन्छन्। (पृ.12)

2.         शायद ससुरा बा’ले सानो भाइका घरमा पाएको अपमान चियाको घुट्कोसितै निल्ने प्रयास गरिरहेका थिए। (पृ. 22)

3.         पीडा र वेदनाले भरिएका ती स्मृतिहरू समयको अन्तरालमा आज कथा बनेर व्यक्तिएको छ ..। (पृ. 97)

4.         नौलीहरूको उम्किने तर्खर छ – उता घरमा लोग्नेहरू मट्टी तेलको धिप्री बुताएर बिंडीका ठुटा सल्काउँदै पर्खिरहेका होलान्। (पृ. 74)

            “आत्मजा’ कथाकी नायिका सुमनका मुखबाट कथाकत्र्रीले व्यक्त गराएकी छन् कि उनी नारीवादकी घोर विरोधी हुन अनि उनका कथाहरूमा निसर्ग नारीवाद पाइन्छ। तर थापाका कथाहरू पढ्दा अनि पुरूष पात्रभन्दा नारी पात्रलाई प्राधान्य दिएको देख्ता नारीवादी प्रवृति छैन भन्न मिल्दैन। आमाहरूले मुटुमा चिहान बनाउनु पर्ने, बच्चा गिराउनु पर्ने विवशता, नारी जलेर मरेको (जलाएर मारिएको?) जस्ता प्रसङ्गहरूमा नारीवादी स्वर स्पष्ट रूपमा सुन्न पाइन्छ। केही वाक्यहरूमा पुरूषका कमजोरी दर्शाउने पनि प्रयत्न गरिएको छ। जस्तै –

1. यस्तै हुन्छ पुरुषको नीति। (पृ.34)

            2. आखिर मर्दका जात न हुन! (पृ. 47)

            3. नारीको बुद्धिभन्दा उसको रूपमा पुरूष मक्ख पर्छ। (पृ. 84)

            साँचो होस् अथवा काल्पनिक, कथाकारले दर्शाउन अथवा भन्न खोजेका कुरासँग पाठकको सोचाई मिल्नु पर्छ भन्ने कुरा होइन तर भन्न खोजिएको कुरालाई कथाकारले तर्कसम्मत रूपमा देखाउनु पर्छ। “अलमल’ शीर्षक कथामा श्याम र आशाको डिभोर्स हुन आँटेको कुरा छ तर डिभोर्सको कारण फितलो छ (अनुदारता र सम्वेदनहीनता)। आधुनिक युगका पढे लेखेका नारी पुरुषभन्दा कुनै कनै कुरामा पनि कमजोर छैनन्। आशालाई “सबै थोक सकिइहाल्यो’ भनेर बिलौना गाउने दुर्बल नारीका रूपमा देखाउनु त्यो पनि डा. शान्ति थापाको कथामा, अहँ। मेरो भने चित्त बुझेन।

            “मुनु’ मा एउटी सानी केटी उसकै भिनाजुको यौनताको शिकार हुन्छे। शिशुले उसलाई पीडाबोध हुँदा चिच्याउँछ, कराउँछ, प्रतिवाद गर्छ। तर यस कथामा भिनाजुले टोकेर जिउभरी दाग पार्दा पनि शिशुका मुखबाट प्रतिवाद भएको (रोएको, कराएको) देखिएन। अर्को प्रश्न आउँछ, त्यो भिनाजु भनाउँदो नराधमले के टोकेछ मात्रै? आधुनिक युगका पढेलेखेका केटीहरू उनीहरूका अनपढ आमाहरूभन्दा धेरै बाठा छन्। बाठा पार्नुमा मिडियाको ठूलो भूमिका छ। कथामा उल्लेखित समस्याबाट छुटकारा पाउने साधनहरूको विषयमा अनभिज्ञ छैनन् उनीहरू। तसर्थ, आमाहरूले छोरीहरूमाथि लागु गरेको निषेधाज्ञाको म्याद सकियो कि!

            शान्ति थापाको भाषा सरल नै छ। ठेट शब्दहरूको र उखान-तुक्का वाग्धाराहरूको सठिक प्रयोग गर्नमा समेत सिपालु छिन् उनी। यति मात्र होइन, जातीय संस्कार, परम्परा र संस्कृतिका विषयमा पनि उनको गहिरो अध्ययनको परिचय पाइन्छ कथाहरूमा। यति हुँदाहुँदै पनि जताततै बग्रेल्ती अन्यभाषाका शब्दहरू, विशेष गरेर अंग्रेजी शब्दहरू पाइन्छन्। जस्तै – एचिभ गर्नु, डिस्टर्ब, नथिङ, एक्सपर्ट कमेन्ट, कन्सर्न, डेम इट, आइ नो, एपीसोड, डिस्ट्रयााक्ट (मुनु); कन्फेसन (स्वीकारोक्ति); कलगर्ल, आइ डोन्ट केयर, ड्रयार, पिरियड, हलो, पोजिटिव, ह्राङ ओभर, फ्लेस बेक, जब, इम्प्रेशन, इमेज, क्यासेट (बिदाइ); एपोइन्टमेन्ट, मल्टिनेशनेल, पोप्युलारिटि, अफर, हाउस्वीट, रिसेप्सनिस्ट, इन्टरकम, रिसिव, रिटर्न कल, इस्यू, एसिड टेस्ट, शेयरिङ, डिपार्टमेन्टल, सर्कुलेशन, डिस्गस्टिङ (आत्मजा); बर्न इन्जुरी, अप् टु डेट, बिजी सिडयूल, पेशेन्ट, ट्रेकर, स्ट्रेचर, अर्डर, एपिसोड, रेडीमेड, कम्प्रोमाइज (अन्तिम संस्कार); अलार्म, स्क्रीन, स्ट्रेसनिल, स्टडी, ग्लेमर, मेन्टेन, ट्रेफिक प्वाइन्ट, अर्केष्ट्रा, अडिटोरियम, बाइ गड् फाइनल टच् (अनन्तः); फूल भोल्यूम, चेयर, कोर्ट (अलमल) आदि।

            छुटानाम (पृ. 88) शब्दका ठाउँमा “डिभोर्स’ भएको भए अझ “एप्रोप्रिएट’ हुने थियो कि!

            असमीया भाषामा कान्छो छोरो/कान्छी छोरी बुझाउने “पेटमसा’ शब्द छ। त्यसैको अनुकरणमा थापाले पेट पुछुवी शब्द भित्र्याएको बुझिन्छ। मर्लक्क (15), ह्यसक्क (26), जगाउन (81) यी शब्दहरूको अर्थ वाक्यमा खुलेको छैन या त मेरो बोधगम्य भएन। अरू केही वाक्यहरूमा शब्दको अशुद्ध प्रयोग पाइन्छ – सोलामा (55) कि चितामा जलिरहेकी छ? मानिसको एक हुल (83) कि हूल? उनी रहिरहने छिन विस्मृति (33) बनेर कि स्मृति बनेर?

            बीशौं शताब्दीको तेस्रो दशकबाट सुरू भएको भारतीय आधुनिक कथाको पहिलो चरणमा यथार्थवादी प्रवृत्ति प्रवल रूपमा रहेको पाइन्छ। रूपनारायण सिंह, इन्द्र सुन्दास र शिव कुमार राई यस प्रवृतिका चम्किला प्रतिभा हुन्। यस युगमा भारतीय नेपाली जनजीवनमा देखिएका रोटी-कपडा-मकानका समस्याहरू कथाका विषय बनेको देखिन्छ। 1950-65 को समयावधिमा केही कथाकारहरू नयाँ विचार, नयाँ आस्था र नयाँ आविष्कारका खोजीमा निस्कन्छन्। यस अवधिमा नेपाली कथामा अरू आयामहरू पनि थपिन्छन् अनि कथाको शिल्पकारितामा पनि परिवर्तनहरू देखा पर्छन्। सन् 1966 देखि शुरू भएको तेस्रो उठान कालमा विश्व साहित्यका केही प्रमुखवाद, आन्दोलन र शिल्पकलाको स्पष्ट छाप नेपाली कथामा पर्न थाल्छ। यस अवधिका (1966-1980) कथाहरूमा शिल्पवैशिष्ट्य, वैचारिकता, चरित्र केन्द्रिकता, आस्था विघटनता, पिंढी अन्तराल, अति यथार्थवाद, अस्तित्ववाद, आञ्चलिकतावाद आदिको प्रभाव देख्न पाइन्छ। 1980 सन् पछि आजसम्मको अवधिलाई समकालीन धाराको रूपमा अध्ययन गर्दा उत्तराधुनिकतावाद त्यति जनप्रिय हुन नसके पनि चर्चाको एउटा प्रमुख विषय बनेको छ। यस अवधिमा इन्द्रबहादुर राईको कथा संग्रह कठपुतलीको मन (1989) लीला लेखन प्रवृत्ति लिएर देखा पर्छ। गुरू प्रसाद मैनालीको स्थिर मिथक (लोग्ने स्वस्नीको झगडा परालको आगो)लाई विनिर्माण गरेर अर्को कथा लेखिएको छ। “बाघ’ कथामा राधा-कृष्णको मिथक छ भने “मिथक मात्र’ मा ग्रीसेली मिथकलाई लिइएको देखिन्छ। शरद् छेत्रीका कथाहरूमा पनि स्वैर कल्पना र मिथकीय प्रयोग पाइन्छ। यसरी शरद् छेत्री पनि उत्तराधुनिक प्रवृत्तिलाई अँगालेर देखा परेका सफल कथाकार हुन्। उत्तर पूर्वाञ्चलको कथाकरितामा उत्तराधुनिक प्रवृत्तिलाई भित्र्याउने कथाकार हुन खडकराज गिरी। उनको “अभाव’ शीर्षकको कथालाई उत्तराधुनिक प्रवृत्तिको उत्कृष्ट नमूनाका रूपमा लिन सकिन्छ। उत्तर पूर्वाञ्चल भेकबाट 1980 सन् पछि निकै कथाकारका कथा संकलनहरू प्रकाशित भए तर उत्तराधुनिक प्रवृत्ति भने यदाकदा पत्र पत्रिकाहरूमा प्रकाशित कथाहरूमा मात्र देखा परेका छन्।

            खडकराजपछि पुस्तकाकारमा उत्तराधुनिक प्रवृत्तिका कथा लेख्नेमा डा. शान्ति थापाको नाम लिन सकिन्छ। यद्यपि उनको सन् 2007 मा प्रकाशित कथा कृति “आवर्तन’ धेरजसो कथामा यथार्थवादी प्रवृत्ति पाइन्छ तापनि शीर्षक कथा “आवर्तन’, “बिदाइ’, “अन्ततः’ जस्ता कथाहरूमा उत्तराधुनिक तत्वहरू फेला पर्छन्। “आवर्तन’ मा राधा-कृष्णको मिथकलाई विनिर्माण गरेर पुनः आजको सन्दर्भमा नयाँ कथा लेखिएको छ भने “बिदाइ’ मा आधुनिक यान्त्रिक सभ्यताले जन्माएको बिसंगतिलाई सहज रूपमा लिइएको छ। त्यसरी नै “अन्ततः’ शीर्षक कथामा सौम्य-सुमित्रा-अम्लनको त्रिकोणीय प्रेम सम्बन्धलाई पनि उत्तराधुनिक प्रवृत्तिकै रूपमा हेर्न सकिन्छ।

            आधुनिकतावाद प्रथम र दोरुाो विश्वयुद्धको बीचको अवधिमा साहित्य र कलाको क्षेत्रमा आएका जीवन र जगत्लाई बुझ्ने विशेष दृष्टि हो। आजको मान्छेको जीवन बहुसांस्कृतिक जीवन हो। बहुसांस्कृतिक जीवन बाँच्ने मान्छेको दृष्टि पनि बहुलवादी हुन्छ। अब निश्चयात्मकता हराउँदै गएको दृष्टिले उत्तराधुनिकतावादलाई जन्म दिन्छ। यसरी अघिको भन्दा भिन्दै भिन्दै हुँदै जाने प्रक्रिया नै उत्तराधुनिकतावाद हो। आधुनिक काल र उत्तराधुनिकतावाद एउटै होइनन्। आधुनिकतावादले आधुनिक मानिस विखण्डित छ भन्छ। आधुनिक मान्छेको बुद्धि एकातिर मन अर्कातिर, बुद्धि एकातिर विश्वास अर्कातिर भएर टुक्रा-टुक्रा खण्डित भयौं, यस्तो नहुनु पर्ने किन भयौं? मनभित्र कता हो कता गहिरो पीडाको बोध हुन्छ। उत्तराधुनिकताले पनि मान्छे विखण्डित छ भन्छ तर त्यसलाई सहज स्वीकार्य वास्तविकता हो भनेर मान्छ। आधुनिक मान्छेको व्यक्तिको विखण्डनले पीडाबोध गरेर छटपटाउँदैन।

            आधुनिकतावादी लेखनको आधार विवेचना, गहिरो ज्ञान र नयाँ चिन्तन हो। त्यसैले आधुनिकतावादी लेखन (फ्रायडवाद, माक्र्सवाद, अस्तित्ववाद) वौद्धिक भएको हो। यो पनि भन्न सकिन्छ आधुनिकतावादले गहिरो ज्ञान खोज्छ तर उत्तराधुनिकतावाद ठीक त्यसको विपरीत हुन्छ। उत्तराधुनिकतावादले जगज्ञान (Foundationalism) मा विश्वास गर्दैन। हाम्रा सबै बुझाहरूलाई यसले अविश्वासले हेर्छ। (स्रष्टा, वर्ष 28 अंक 56, पृ. 100)

            कालु (शालिग्राम) थापा र यशोदा देवीकी सुपुत्री शान्ति थापाको जन्म 9 जनवरी 1961 मा दुर्गासरोवर (गुवाहाटी) भन्ने ठाउँमा भएको हो। उनले 1978 मा एस.एल्सी, 1983 मा कलामा स्नातक र 1987 मा गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तरको डिग्री हिन्दी साहित्यमा लिएकी हुन्। त्यस पछि उनले अज्ञेयको उपन्यासमा नारीको बदलिंदो मूल्यबोध (Changing values of women’s life in Ajnea’s Novel) विषयमा शोध गरेर विद्यवारिधिको (Ph.D.) डिग्री पनि प्राप्त गरिन्। सन् 1984 देखि उनी गुवाहटीको राधागोविन्द महाविद्यालयमा हिन्दी साहित्यको प्रवक्ताका रूपमा नियुक्ति पएर अध्यावधि कार्यरत छन्।

            कलेजकी छात्राछँदा उनी गीतकारका रूपमा परिचित थिइन्। उनका गीतहरू गुवाहाटी रेडियोबाट प्रसारित भए। यही समयमा गीति कविताको माध्यममा उनले साहित्यको क्षेत्रमा पाइला टेकेकी हुन्। उनका गीतहरू परिषद्-पत्र पहिलो अंक (सम्पादक -अविनाश श्रेष्ठ)मा प्रकाशित भए। उनको पहिलो रचना यिनै गीतहरू हुन्। उनका सयवटा गीतहरूको संकलन “माया’ प्रकाशित भएको छ। डा. थापाले प्रख्यात असमीया उपन्यासकार अतुलानन्द गोस्वामीको “नामघरीया’ नामको उपन्यास “नामघरे’ शीर्षकमा नेपाली भाषामा अनुवाद गरेर साहित्य अकादेमीको अनुवाद पुरस्कार प्राप्त गरिन्। उनले निकैवटा नेपाली कविता असमीया भाषामा पनि अनुवाद गरेकी छन्। “हाम्रोध्वनि’ मासिक पत्रिकाको संयुक्त सम्पादिकाका रूपमा कार्यरता डा. थापा नेपाली साहित्य परिषद्, असमकी सक्रिय कार्यकर्त्री हुन्।                                                     तेजपुर, असम

भारतीय नेपाली महिला कथाकार – शान्ति थापा  — लीला लुइटेल

1. आमुख : विषयप्रवेश

            वर्तमान विश्व एक्काईसौं शताब्दीमा प्रवेश गरिसकेको छ। एक्काईसौं शताब्दी भनेको विज्ञान र प्रविधिको विकास द्रुततर गतिमा दौडिरहेको समय हो। ज्ञानविज्ञानका हरेक क्षेत्रमा भइरहेको तीव्रतर विकासले विश्वमा पलपल परिवर्तन भइरहेको छ। यसले हाम्रा जीवनशैली, संस्कार तथा मूल्यमान्यताहरूलाई समेत निरन्तर रूपमा परिवर्तन गर्दै नयाँ नयाँ अवधारणाहरूको विकास गराइरहेको छ। हाम्रा जीवनका प्रत्येक पल प्रविधि नियन्त्रित हुँदै गइरहेका छन्। अझ विद्युतीय सञ्चार र सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व र अकल्पनीय क्रान्तिले विश्व क्रमशः भूमण्डलीकृत हुँदै गइरहेको छ। यसबाट एकातिर सम्पूर्ण मानवीय क्रियाकलापहरू सरल, सुगम तथा मनोञ्जनात्मक हुँदैछन् भने अर्कातिर परिस्थिति उत्तिकै भयावह पनि बन्दै गइरहेको छ।

            ज्ञान, विज्ञान, प्रविधि, विचार र चिन्तनका क्षेत्रमा विश्व पलपल परिवर्तन हुँदै एक्काईसौं शताब्दीमा प्रवेश गरिसकेको वर्तमान अवस्थामा अधिकांश दक्षिण एसियाली महिलाहरू अझै पनि मध्ययुगीन बर्बरता र पाशविकताको सिकार बनेर पिल्सिरहेका छन्। भौगोलिक र सांस्कृतिक विविधताका कारण शोषणको प्रकृति र प्रवृत्ति फरक भए पनि शोषित र पीडित भने अवश्यै छन्। अझ त्यसमा पनि शिक्षित महिलाहरू र घरपरिवारका अतिरिक्त बाहिरको दोहोरो जिम्मेवारीको बोझले गर्दा अत्यन्त कष्टकर जीवन बाँच्न बाध्य छन्।

            विभिन्न प्रकारका सामाजिक समस्या र सङ्कटहरूसँग जुध्दै आफ्नो पहिचान कायम गर्न अगि बढिरहेका भारतीय नेपाली महिलाहरू जातीय र भाषिक अस्तित्वको सङ्कटजस्ता थप समस्या पनि भोग्न बाध्य छन्। प्रशासनिक रूपमा यस्ता समस्याको समाधान भएको देखिए पनि शिक्षित एवं चेतनशील भारतीय नेपाली महिलाहरू व्यावहारिक एवं मनोवैज्ञानिक रूपमा यस्ता समस्याबाट अझै पीडित देखिन्छन्। यस्ता विषम परिस्थितिहरूका माझमा बसेर व्यक्तिगत प्रयासबाट नेपाली भाषा र साहित्यका लागि भारतीय नेपाली महिलाहरूले दिएको योगदान अविस्मरणीय र उल्लेखनीय रहेको छ। प्रस्तुत लेखमा चाहिं भारतका विभिन्न क्षेत्रमा बसोबास गरेर नेपाली कथा सिर्जना लागि परेका महिलाहरूको अवस्थिति र योगदानका बारेमा कालक्रमिक ढङ्गले सङ्क्षिप्त रूपमा चर्चा गर्दै कथाकार शान्ति थापाको आवर्तन कथासङ्ग्रहका आधारमा यिनका कथाशिल्पको निरुपण गरिन्छ।

2. विषयविस्तार : भारतीय नेपाली महिला कथाकारको संक्षिप्त विवरण

            हालसम्म प्राप्त जानकारी अनुसार भारतीय नेपाली कथाका क्षेत्रमा देखापरेका प्रमुख महिला कथाकार, तिनका पहिलो प्रकाशित कथाको शीर्षक र मिति एवं कथा सङ्ग्रहहरू यस प्रकार रहेका छन् –

June 2009 Hamro Dhwani

            आफ्नो कथायात्राको आरम्भमा हिन्दी भाषामा कथा लेख्ने लक्खीदेवी सुन्दासको सन् 1945 को बापू पत्रिकामा प्रकाशित क्या यह जिन्दगी है? शीर्षक कथा पहिलो प्रकाशित कथा हो। नेपाली भाषामा चाहिं हस्तलिखित पत्रिका कमल (सन् 1948) मा निस्किएको बलिदान शीर्षक कथा यिनको पहिलो प्रकाशित कथा हो। युगीन जीवनका विकृति, विवशता, अभाव आदिको प्रस्तुति पाइने यिनका कथाहरूमा मनोविश्लेषणको प्रधानता रहेको छ। यिनका प्रायः मनोवैज्ञानिक कथाहरूमा मानिसभित्र रहेको हीनताग्रन्थिको विश्लेषण गरिएको छ। सरल र सहज बोलीचालीको भाषिक प्रयोगमा रुचि राख्ने कथाकार सुन्दासको भाषा निकै परिष्कृत र परिमार्जित छ।

            नारी समस्या, पुरुषको अत्याचार, दुराचार, यौनशोषण, मातृत्व, जातिप्रेम आदि चन्द्रकला नेवारका कथामा पाइने प्रमुख विषयवस्तु हुन्। यिनले आफ्ना कथाहरूमा जीवन र प्रेमसम्बन्धी परिभाषाहरूका रूपमा दार्शनिक विचारहरू प्रकट गरेकी छन्। यिनका कथाहरूमा प्रकृतिको शान्त, सौम्य पक्षका साथै भयानक पक्षको चित्रण पनि स्वच्छन्दतावादी ढङ्गमा गरिएको छ। सरल बोलीचालीका साथै आलङ्कारिक भाषाको समेत प्रयोग यिनका कथाको भाषाशैलीगत वैशिष्ट हो।

            अत्यन्त छोटो आयाममा संरचित हर्कमणि थापाका केही कथाहरू परिपुष्ट कथानक र चरित्रको न्यूनताका कारण निबन्धजस्ता देखिन्छन्। कारुणिकताको प्रधानता पाइने यिनका कथाहरूमा अन्धाधुन्ध रूपमा गरिने पश्चिमीकरण र बढ्दो फेसनप्रति व्यङ्ग्य प्रहार गरिएको छ। निरीह र विवश नारीप्रति सहानुभूति अभिव्यञ्जित यिनका कथामा प्रयुक्त भाषा सरल र परिष्कृत छ।

            गरिबी र अभावमा बाँच्न विवश व्यक्तिको निरीहपनको प्रस्तुति पाइने मटिल्डा राईका कथामा युवासुलभ प्रेम, विपनामा सपनाको असरका अतिरिक्त प्रकृति र मानव बीचको तादाम्यलाई भावुक तथा स्वच्छन्दतावादी ढङ्गले प्रस्तुत गरिएको छ। सरल भाषामा लेखिएका यिनका कथाको भाषामा स्थानीयताको छाप प्रशस्त मात्रामा पाइन्छ।

            युवासुलभ प्रणय, प्रणयवेदना, मानवता आदिलाई आत्मसात् गरेर कारुणिक कथालेखनमा रुचि राख्ने कथाकार विन्द्या सुब्बाको कथायात्राको आरम्भतिरका कथाहरूमा स्वच्छन्दतावादी प्रवृत्ति पाइन्छ भने पछिल्ला समयका कथाहरूमा मनोविश्लेषणवादी प्रवृत्ति बढी मात्रामा पाइन्छ। नारीले भोग्नुपरेका विविध प्रकारका पीडाहरूको प्रस्तुति पाइने यिनका कथाहरूमा नारीबाट प्रताडित पुरुषको पीडालाई पनि अभिव्यक्त गरिएको छ। दार्जीलिङे नेपालीको प्रभाव पाइने यिनका कथाको भाषा सरल, सहज तथा शैली वर्णनात्मक छ।

            भौतिकभन्दा आत्मिक सुखलाई विशेष महत्त्व साथ प्रस्तुत गरिएका कमला आँशुका कथामा मानिसलाई परजीवी होइन कर्मयोगी भएर आत्मनिर्भर हुनुपर्ने सन्देश मुखरित भएको पाइन्छ। यिनका कथामा आफ्नो जन्मभूमिलाई श्रद्धा गर्नुपर्छ, आफूभन्दा ठूलाको सधैं आदर र सम्मान गर्नुपर्छ र दीनदुःखीहरूको निःस्वार्थ सेवा गर्नु पर्छ भन्ने जस्ता भावनाहरू अभिव्यञ्जित छन्। भावुकता र आदर्शको सम्मिश्रण पाइने यिनका कथाहरू स्वच्छन्दतावादी प्रवृत्तिका देखिन्छन्। यिनको भाषिक प्रयोगमा स्थानीयताको छापका अतिरिक्त हिन्दी भाषाको पनि स्पष्ट प्रभाव रहेको देखिन्छ।

            नारीको सहनशील प्रवृत्ति, त्याग, अघाध पतिभक्तिको प्रस्तुति पाइने आशारानी राईका कथाहरूमा पुरुषको दम्भी, हठी र स्वेच्छाचारी प्रवृत्तिको विरोध गरिएको छ। समाजमा व्याप्त अन्धविश्वास र जातीय विभेदको अन्त्य तथा समाज सुधार र जातीय सम्मानको जगेर्ना गर्नुपर्ने भावना मुखरित भएका यिनका कथामा प्रयुक्त भाषामा कहींकहीं व्याकरणगत त्रुटि पनि पाइन्छ।

            छोटा आयाममा संरचित सम्पूर्णा राईका कथाहरू घटनाप्रधान  नभएर मनोविश्लेषणप्रधान छन्। कुनै पनि घटना र दृश्यले पात्रको मनमा पार्ने प्रभाव र त्यसबाट उत्पन्न मानसिक आरोह-अवरोहको स्थिति र सन्दर्भलाई प्रस्तुत गरिएका यिनका कथाहरू पात्रको एक क्षणको सोचाइमा आधारित छन्। पूर्व र पश्चिम दुवै क्षेत्रमा प्रचलित पुराण र मिथबाट चयन गरिएका बिम्ब र प्रतीकको प्रयोगले यिनका कथालाई सुन्दर र रोचक बनाएका छन्। थोरैमा धेरै भन्न सक्ने क्षमता भएको यिनको भाषिक प्रयोग निकै परिष्कृत र परिमार्जित देखिन्छ।

            दार्जीलिङे जीवनको यथार्थ चित्रण पाइने सरिता प्रधानका कथाहरूमा विभिन्न उमेर, वर्ग र पेसासँग सम्बन्धित विविध पक्षहरूलाई विषयवस्तु बनाइएको छ। दुइ भिन्न परिवेश र संस्कृतिका माझबाट नारीको स्थितिलाई तुलनात्मक रूपमा प्रस्तुत गर्दै नारीप्रति पुरुषले राख्ने सङ्कीर्ण सोचाइको सङ्केतात्मक रूपमा विरोध गरिएका यिनका कथाहरूमा नयाँ पुस्ताले पुरानो पुस्ताको भावनालाई बुझ्न नसक्दाको स्थितिलाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। प्रकृतिचित्रण र रहस्यवादी प्रस्तुतिले गर्दा यिनका केही कथाहरू स्वच्छन्दतावादी प्रवृत्तिका देखिन्छन्। स्थानीयताको छाप पाइने यिनको भाषिक प्रयोग सापेक्षित रूपमा परिष्कृत र परिमार्जित छ।

            नारीभित्र रहेका गुण तथा कमजोरीहरूलाई केलाउँदै यिनीहरूका विविध समस्यालाई कथ्य बनाइएका इन्द्रमणि दर्नालको कथाहरूमा नारी अस्मिताको साथै जातीय अस्तित्वको खोजी गरिए पनि केही कथाहरूमा जीवनप्रति पलायनवादी दृष्टिकोण राखिएको पाइन्छ। गरिबी र अभावको चपेटामा बाँच्न बाध्य जीवनको यथार्थ प्रस्तुति पाइने यिनका केही कथाहरूमा चरित्रिक र सामाजिक सुधारको सन्देश मिश्रित आदर्शवादी स्वरको पनि प्रकटीकरण भएको छ। छोटोछरितो वाक्यगठन र अङ्ग्रेजी मिश्रित सरल शब्दावलीमा यिनका कथाहरू संरचित छन्।

            कमला खप्तावलीका प्रायः कथामा चियाबगानका निम्नवर्गीय श्रमिकहरूले भोग्नुपरेका पीडा, अभाव, विकृति, विसङ्गतिहरूलाई विष्यवस्तु बनाइएको छ। विविध उमेर र वर्गका नारीले भोग्नुपरेका विभिन्न प्रकारका समस्याको प्रस्तुति पाइने यिनका कथाहरूमा नारीभित्र रहेको साहसलाई पनि देखाइएको छ। इच्छा, आकाङ्क्षा, माया, घृणा, रिसजस्ता शाश्वत मानवीय प्रवृत्तिहरू अभिव्यक्त भएका यिनका कथाहरूमा विकृति र विसङ्गतिका माझबाट जातीय गौरवलाई प्रस्तुत गरिएको छ। निम्नवर्गीय पात्रको बहुलता भएका कमलाका कथाहरूमा नेपालबाहिर बसोबास गर्ने नेपाली जनजीवनको यथार्थपरक चित्रण पाइनाका साथै भाषामा स्थानीयताको छाप टड्कारो रूपमा रहेको देखिन्छ।

            मुगलान पसेका नेपालीहरूको दयनीय स्थिति, चेलीबेटीको बेचबिखन, बेचिएका चेलीका विवशता, गरिबीबाट उत्पन्न निराशाजस्ता कारुणिक पक्षको सघन चित्रण पाइने सरला राईका कथामा भावुक प्रेम, वात्सल्य, देशप्रेम, संस्कृति-प्रेमजस्ता सन्दर्भहरूको पनि प्रस्तुति पाइन्छ। भावुकता र आदर्शको सम्मिश्रण गरी सरल र सुबोध भाषाशैलीमा कथा सिर्जना गर्ने राई स्वच्छन्दतावादी कथाकार हुन्।

            युगीन विकृति, विसङ्गति, युद्धको विभीषिका, प्रणय, प्रणय-वेदना वात्सल्य र त्यसको अभावमा पिल्सिएको मानसिकताजस्ता विभिन्न सन्दर्भहरूलाई कथ्य बनाइएका सुधा राईका कथाहरू प्रायः छोटा आयाममा संरचित छन्। यिनका कथामा पुराना र नयाँ पुस्ताका बीचमा देखापरेका अन्योलग्रस्त एवं सङ्कटपूर्ण मानसिकताको प्रस्तुति पाइन्छ। मानवेतर प्राणीलाई मानवीय प्रवृत्ति आरोपण गरेर रोचक ढङ्गमा कथा सिर्जना गर्नु यिनको वैशिष्ट्य हो। वर्गीय विभेद र नारी शोषणको प्रत्यक्ष रूपमा नभएर सङ्केतात्मक ढङ्गमा चित्रण गरिएका यिनका प्रायः कथाहरू मनोवैज्ञानिक खालका देखिन्छन्। यिनका कथामा प्रयुक्त भाषाचाहिं अपरिष्कृत हुनाका साथै कतिपय ठाउँमा त्रुटिपूर्णसमेत रहेको देखिन्छ।

            माथि उल्लेख गरिएका कथाकारहरूमा चन्द्रकला नेवार, माया ठकुरीजस्ता केही कथाकारहरू आफ्नो कथायात्राको पूर्वार्धमा भारतमा बसेर सिर्जनशील रहेका र उत्तरार्धमा चाहिं नेपालमा साधनारत छन्। उनीहरूले भारतमै बसेर साहित्य सिर्जना गरे पनि उनीहरूका कृतिहरूचाहिं नेपालबाटै प्रकाशित भएको थियो।

3. मूल प्रतिपाद्य : कथाकार शान्ति थापाको कथाशिल्प

3.1 कथाकार परिचय

            शान्ति थापाको जन्म सन् 1961 मा गुवाहाटीको दुर्गासरोवर भन्ने ठाउँमा भएको हो। गुवाहाटी विश्वविद्यालयबाट हिन्दीमा एम.ए.गरेकी यिनले पी.एच.डी. उपाधि पनि हासिल गरेकी छन्। गीत लेखन र गायनमा रुचि राख्ने यिनी हाल प्राध्यापन पेसामा संलग्न छन्। वि.सं. 2037 तिर असममा भएको कोलाज आन्दोलमा पनि यिनको सक्रियता रहेको थियो।

            शान्ति थापाको आवर्तन (सन् 2007) शीर्षकको कथा सङ्ग्रह प्रकाशित छ। यसका अतिरिक्त यिनको माया (सन् 2004) नामक गीत सङ्ग्रह पनि प्रकाशित छ। सिर्जनात्मक लेखनका अतिरिक्त यिनले नामघरे र अस्तराग शीर्षक दुईवटा उपन्यासहरू असमीयाबाट नेपाली भाषामा अनुवाद पनि गरेकी छन्। यसका अतिरिक्त असमेली नेपाली कथा यात्रा, लोहित घाटीकी कहानियाँजस्ता सङ्ग्हरूको सम्पादन पनि गरेकी छन्। अन्तरङ्ग (हिन्दी) पत्रिकाको नेपाली कथा विशेषाङ्कको अथिति सम्पादक, रङ्गघर नामक असमीया पत्रिकाको नेपाली साहित्य संस्कृति विशेषाङ्क तथा दस्तावेजको हिन्दी असम विशेषाङ्कमा सहयोगी सम्पादकका रूपमा योगदान पुऱ्याउने यिनी हाम्रोध्वनि नामक पत्रिकाको सम्पादन कार्यमा पनि संलग्न रहेकी छन्।

            लामो समयदेखि सिर्जना, अनुवाद एवं सम्पादनमा सक्रिय रहेकी शान्ति थापा सञ्जयनारायण प्रधान स्मृति स्वर्ण पदक (सन् 1998), साहित्य अकादमी अनुवाद पुरस्कार (2002), आवर्तन कथा सङ्ग्रहका लागि टङ्कनाथ स्मृति पुरस्कार (2008) गुञ्जन प्रतिभा पुरस्कार 2065 नेपाल जस्ता पुरस्कारबाट पुरस्कृत पनि भइसकेकी छन्।

            अन्य साहित्यिक गतिविधिलाई छोडेर आवर्तन कथा सङ्ग्रहमा समाविष्ट कथामा आधारित भएर शान्ति थापाको कथाशिल्प निरूपण गर्नु प्रस्तुत लेखको अभीष्ट रहेको छ।

3.2 आवर्तन कथा सङ्ग्रहको विश्लेषण

            सन् 2007 मा अनुराग प्रकाशन, गुवाहाटीद्वारा प्रकाशित शान्ति थापाको “आवर्तन’ कथा सङ्ग्रहमा दसवटा कथा समाविष्ट छन्। यिनको यो सङ्ग्रह टङ्कनाथ स्मृति पुरस्कारले (2008) सम्मानित पनि भएको छ। यस सङ्ग्रहमा सङ्गृहीत सबै कथाहरूको अन्तमा रचनाकाल र प्रकाशित कथाहरूको मिति एवं पत्रिकाको पनि उल्लेख गरिएको छ। यस प्रकारको उल्लेखले कथाकारको कथायात्रालाई बुझ्न सुगम बनाएको छ। यहाँ विभिन्न दृष्टिकोणबाट यस सङ्ग्रहको विश्लेषण गरिन्छ।

3.2.1 शीर्षक र संरचना

            शान्ति थापाको प्रस्तुत कथा सङ्ग्रहको शीर्षक चयन यसै सङ्ग्रहभित्र समाविष्ट पहिलो कथा आवर्तनलाई आधार बनाएर गरिएको देखिन्छ। विषयवस्तु, भाव, पात्रनाम, आदि आधारमा शीर्षकीकरण गरिएका यिनका सबै कथाका शीर्षक छोटा खालका छन्। यिनका केही कथाहरू शीर्षकबाटै कथ्यको अनुमान गर्न सकिने खालका छन् भने केही गर्न नसकिने खालका छन्। शीर्षक जेजस्तो भए पनि यिनका कथाको शीर्षकीकरण असहज र अस्वाभाविक नभएर सहज र स्वाभाविक रहेको देखिन्छ। प्रायः कथाका शीर्षकहरू अभिधात्मक देखिने यस सङ्ग्रहमा समाविष्ट कथाका शीर्षक कथ्यअनुरूप अभिधात्मक एवं सामञ्जस्यमूलक छन्।

            शान्ति थापाका “आवर्तन’ कथा सङ्ग्रहमा समाविष्ट कथाहरूको अध्ययन गर्दा प्राय सबै कथाहरू सरदर आयाममै संरचित छन्। यिनका कथाको सङ्गठनात्मक व्यवस्थापन प्रचलित परिपाटीबद्ध ढाँचाको देखिन्छ र सबैजसो कथाहरूमा आदि, मध्य र अन्त्यको क्रमिक वितरण पाइन्छ। प्रायः वर्णनात्मक ढङ्गबाट कथाको प्रारम्भ गरी लगभग उही तरिकाले कथानकको विस्तार गर्दै विषम परिस्थितिमा कथालाई समापनको बिन्दुमा पुऱ्याउने परिपाटी यिनको यस सङ्ग्रहका कथामा देखिन्छ। यसर्थ प्रचलित परिपाटीबद्ध ढाँचामा कृति र वस्तु दुवैको क्रमिक सङ्गठनात्मक व्यवस्थापन गरी कथा सिर्जना गर्नु कथाकार शान्तिको शीर्षक एवं संरचनागत विशेषता हो।

3.2.2 विषयवस्तु

            विषयवस्तुलाई कथ्य वा वस्तु पनि भनिन्छ। वस्तु कथा संरचना निर्माणको लागि अनिवार्य घटक हो। शान्ति थापाका कथामा प्रयुक्त वस्तुको सङ्क्षिप्त विवरण यस प्रकार रहेको छ :

कथा                                                                 वस्तु/ कथ्य

1.         आवर्तन –           कृष्ण र राधाको बिम्बका आधारमा व्यक्तिको क्षणिक मनोवेगको प्रस्तुति।

2.         मुनु       –           तथाकथित इज्जतका लागि यौनदुव्यर्वहारलाई दबाउनु पर्ने बाध्यतामा परेको मातृत्वको पीडादायी अवस्थाको चित्रण

3.         समृद्धि पुराण –    टुप्पाबाट पलाएकाहरूले आफ्नोपन बिर्सेका कारण हुन पुगेको सामाजिक एवं मानसिक दुर्घटनाको प्रस्तुति।

4.         स्वीकारोक्ति –     पुरुषले नारीप्रति गरेको यौनशोषणको अपराधबोध र पश्चात्ताप।

5.         विदाइ    –           पुरुषले नारीप्रति गरेको शोषण देखेर विद्रोही हुनुपुगेको मानसिकता।

6.         आत्मजा –           सर्जकले आफ्नो कृतिको सही मूल्याङ्कनको अपेक्षा गर्ने भावाभिव्यक्ति।

7.         अन्तिम संस्कार – द्रव्यपिशाचहरूप्रति व्यङ्ग्य प्रहार, संस्कार, रीतिथिति पनि पैसाका आधारमा मूल्याङ्कन हुने सामाजिक परिपाटीप्रति व्यङ्ग्य प्रहार।

8.         स्वाद     –           गरिबीको पराकाष्ठाका कारण भौतिक तथा मनोवैज्ञानिक दुवै रूपले गिरेको मानसिकता।

9.         अन्ततः  –           शिक्षित एवं चेतनाशील नारीमा पनि मानवीय कमीकमजोरीहरू हुन्छन् भन्ने भावको प्रस्तुति।

10.       अलमल –           सन्तानप्रतिको जिम्मेवारीबाट पुरुष हट्नसक्ने तर नारी हट्न नसक्ने यथार्थको प्रस्तुति।

            माथिको तथ्याङ्कलाई हेर्दा कथाकार शान्ति थापा विभिन्न वर्ग र अवस्थाका नारीहरूले सम, विषम तथा विसङ्गत परिस्थितिमा भोग्नुपरेका मानसिक सङ्कटबाट उत्पन्न संवेदनालाई विविध सन्दर्भका माध्यमबाट विषयवस्तु बनाएर कथा सिर्जना गर्ने कथाकार हुन्। यिनले नारीका दुर्दशा, वेदना, छटपटी, उकुसमुकुस, सन्तानप्रतिको मोह, सङ्कटमा परेको मातृत्व आदिलाई वस्तुको रूपमा यस सङ्ग्रहका कथामा समेटेकी छन्। यिनको यस सङ्ग्रहका कथामा पाइने मूल स्वर नारी संवेदना नै हो।

            नारी संवेदनाबाहेक शान्ति थापाका यस सङ्ग्रहका कथाहरूमा सामाजिक क्षेत्रमा देखापरेका विकृति तथा विसङ्गतिलाई पनि औंल्याइएको छ। पैसाको मातमा आफ्नोपनलाई बिर्सिनेहरूको स्वेच्छाचारिता तथा पाखण्डीपनलाई समृद्धि पुराण कथामा प्रस्तुत गरिएको छ भने पैसाकै आडमा निर्धारित हुने संस्कारहरूको यथार्थ चित्र अन्तिम संस्कार कथाले अभिव्यक्त गरेको छ। यसैगरी स्वाद कथाले गरिबीको पराकाष्ठालाई देखाएको छ। घटनाको न्यूनता र कथानकहीनता पाइने यिनका कुनैकुनै कथा त व्यक्तिको क्षणिक मनोवेगमा पनि आधारित छन्।

3.2.3     सहभागी : कथाका घटनाहरूलाई अगाडि बढाउने वा गति प्रदान गर्ने काम पात्र वा सहभागीहरूले गर्छन्। बिनासहभागी कथाको निर्माण हुँदैन। शान्ति थापाका कथामा प्रयुक्त प्रायः सबै पात्रहरू शिक्षित, बौद्धिक हुनाका साथै आफ्नो अस्तित्वप्रति सचेत छन्। पुरुषभन्दा नारी सहभागीको आधिक्य पाइने यिनका कथामा प्रयुक्त पुरुष सभागीहरूलाई खासै भूमिका दिइएको छैन। यिनका कथामा संवेदनशील नारी सहभागीको प्रयोग पाइन्छ। यिनका नारी सहभागीहरू आफूमाथि परेको अन्यायको विरोध गर्नसक्ने, आफ्नो हकहितका लागि डटेर सङ्घर्ष गर्नसक्ने, आफ्नो लक्ष्यमा पुग्न सक्ने सशक्त र निर्णयात्मक शक्ति भएका नभई संवेदनशील र पिलन्धरे खालका छन्। यसरी अत्यन्त संवेदनशील सहभागीका माध्यमबाट कथ्यलाई अगि बढाई कथात्मक संरचना निर्माण गर्नु यिनको चरित्रगत वैशिष्ट्य हो।

3.2.4 परिवेश : परिवेशले स्थान, समय र वातावरणलाई बुझाउँछ। शान्ति थापाका कथामा स्थान र समयको खास उल्लेख भएको देखिंदैन। यिनका प्रायः कथामा असमेली निम्न, निम्न मध्यम र मध्यवर्गीय सहरिया नेपाली परिवेशको चित्रण पाइन्छ भने स्वाद कथामा ग्रामीण परिवेश चित्रित छ। यिनका कथामा स्थान र समयको उल्लेख नभए पनि कथामा प्रयुक्त विषयवस्तुबाट यिनमा प्रयुक्त समयावधि र स्थानबोध हुन्छ। यिनका कथामा समय र स्थानभन्दा वातावरण सशक्त ढङ्गमा व्यक्त भएको छ र त्यो आन्तरिक र बाह्र दुवै पक्षबाट सुखदभन्दा बढी दुःखद र त्रासद रहेको छ। यसरी स्थान र समयलाई कम महत्त्व दिएर दुःखद एवं त्रासदीय वातावरणमा कथाको अनत्य गर्नु कथाकार शान्ति थापाका कथाको परिवेशगत प्रवृत्ति रहेको देखिन्छ।

3.2.5 उद्देश्य : हरेक विधाका साहित्यिक कृतिको सिर्जना उद्देश्यमूलक ढङ्गले गरिने हुँदा साहित्य सिर्जनाका पछाडि प्रत्यक्ष वा परोक्ष रूपमा कुनै न कुनै उद्देश्य अन्तर्निहित हुन्छ। उद्देश्यबिना कुनै पनि साहित्यिक कृतिको रचना हुँदैन। नारीमाथि हुने गरेका विभिन्न प्रकारका अन्याय, अत्याचार र शोषणको अन्त्य गर्दै समतामूलक स्वस्थ्य समाजको चाहना राख्नु शान्ति थापाका कथाको उद्देश्य रहेको देखिन्छ। यसका अतिरिक्त समाजिक विकृति – विसङ्गतिलाई देखाउने उद्देश्यले पनि यिनको कथालेखन अभिप्रेरित भएको देखिन्छ। यसरी हेर्दा वैयक्तिक र सामाजिक स्तरमा समतामूलक स्वस्थ्य समाजको चाहना यिनका कथाको मूल अभीष्ट रहेको देखिन्छ।

3.2.6 दृष्टिबिन्दु : कथाशिल्प विश्लेषणको एउटा महत्त्वपूर्ण घटक/तत्व दृष्टिबिन्दु पनि हो। कथाकार शान्ति थापाका मुनु, समृद्धि पुराण, स्वीकारोक्ति, स्वाद, अन्ततः कथाहरूमा तृतीयपुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ भने आवर्तन, बिदाइ, आत्मजा, अन्तिम संस्कार, अलमलजस्ता कथाहरू प्रथम पुरुष दृष्टिबिन्दुमा संरचित छन्। यिनमा कथाकार स्वयं समाख्याता भएर कथा प्रस्तुत गर्ने पद्धतिको अनुसरण गरिएको छ। आफ्ना कतिपय कथाहरूमा विभिन्न उमेर एवं वर्गका नारी संवेदनालाई प्रस्तुत गर्ने प्रयासका कारण यिनका कतिपय कथाहरू तार्किक एवं बौद्धिकभन्दा बढी भावुक र संवेदनशील बन्न पुगेका छन्। यसरी समानुपातिक ढङ्गले प्रथम पुरुष र तृतीयपुरुष दुवै दृष्टिबिन्दुमा संवेदना मिश्रित वैचारिकताको प्रस्तुति यिनको कथागत वैशिष्ट्य रहेको देखिन्छ।

3.2.7 भाषाशैली : भाषा अभिव्यक्तिको माध्यम हो भने शैली अभिव्यक्तिको तरिका हो। भाषाशैलीय विन्यासका दृष्टिले शान्ति थापाका कथाहरू छोटाछोटा अजटिल संरचनामा आवद्ध छन्। घुमाउरो पाराको नभएर सोझो, सरल र अभिधात्मक भाषाको प्रयोगमा रुचिराख्ने शान्ति थापाका कथामा स्थानीय नेपाली भाषाको प्रयोग पाइन्छ। वर्णनात्मक, संवादात्मक शैलीको प्रयोग पाइने शान्ति थापाको आवर्तन कथामा एकालापीय शैलीको पनि प्रयोग गरिएको छ। तत्सम शब्द, अङ्ग्रेजीका शब्द, पदावली आदिको प्रयोग पाइने यिनका कथामा कतैकतै क्रियापदहीन वाक्यात्मक अभिव्यक्तिका कारण गद्यकविताको छनक पनि पाइन्छ। समग्रमा भन्दा स्थानीय प्रभावयुक्त सरल र भाषा र वर्णनात्मक शैलीको प्रयोग कथाकार शान्ति थापाको भाषा शैलीय विशेषता हो।

4. उपसंहार : भारतका विभिन्न प्रान्तमा बस्ने नेपालीहरूले नेपाली भाषा र साहित्यका लागि दिएको योगदान अविस्मरणीय छ। बहुभाषी तथा बहुधर्मी भारतीय समाजका बीचमा रहेर नेपाली साहित्यका विविध क्षेत्रको साधना गरिरहेकी साहित्यकार शान्ति थापा आफ्नो साहित्य यात्रामा भारतीय नेपाली कथाको क्षेत्रमा निजी पहिचान कायम गर्न सक्षम कथाकारका रूपमा देखिन्छिन्। प्रायः छोटाछोटा अजटिल संरचनाका कथा सर्जक कथाकार शान्ति थापाका कथामा विविध प्रकारका नारी समस्याको दिग्दर्शन पाइन्छ। नारीहरूको संवेदनालाई दुखद वातावरणमा मार्मिक रूपले सरल भाषाशैलीमा प्रस्तुत गर्ने कथाकार शान्ति थापा भारतीय नेपाली साहित्यमा उल्लेखनीय कथाकार हुन्।

                                                काठमाडौं, नेपाल

थापाज्यूको अत्याधुनिक कथाहरू सरसरी पढ्दा — डॉ. हरिमोहन पोखरेल

            विदुषी डॉ0 शान्ति थापा भारतेली नेपाली साहित्यको अति उज्यालो नाम। नामभन्दा पनि कर्म र साहित्यिक साधनाकी महारथीको रूपमा विश्वको धरातलमा मगमगाएकी छन्। नामघरे उपन्यासमार्फत साहित्य अकादेमी अनुवाद पुरस्कारले विभूषित थापाज्यू हाम्रो नेपालीको गौरव हुन साथै माता शारदेकी छोरीको रूपमा अवतरित ….। आज भोलिको समसामयिक गतिविधिबीच मानव संवेदनाका विविध पक्षहरू बेग्ला-बेग्लै रूपमा केलाउनु पर्ने बेला आएको छ। बढ्दो भौगोलिक उष्णता, प्रतिकूल वातावरण, बदलिंदो मानवीय र नीतिगत परिस्थिति, ह्रास बन्दै गरेको मानवता एवं भूमण्डलीकरणको दौरमा सकिंदै गएको सम्बन्धको कुरा आज प्रायः साहित्यको अंग बन्न पुगेको छ। प्रायः जसो कलमकारमा समसामयिक युग बोध आउनु स्वाभाविक लक्षणहरू पनि बन्दै आएको छ। उच्च वर्ग र निम्न वर्गको बीचको भेदभाव र गरीबहरूमाथि धनी र अमीर वर्गको गिद्धे हेराइले संसार नै चरमराएको छ। दौलतका पछाडि नारीको अस्मिता सकियो र युवतीहरू दौलतका लागी समय सीमा हेर्न छोडी रहेको कुरा चश्मदीद गवाह छन्। जहाँ आज एक वर्गका लागि साहित्य पाँच सितारा होटलमा नाच्ने कठपुतली भएको भने कुनै ठाउँ यथार्थ साहित्यिक कोराई विष पनि बन्न गएको छ। आज 21 औं शदीको झुल्के घाममा आएर पनि हाम्रो यथार्थ कोट्याउनु पर्दा तानाशाही र रावणहरूको प्रताडना कम छैन।

            विदुषी डॉ. शान्ति थापोको आवर्तन कथा सङ्ग्रह पनि यिनै विविध विषयहरू बीच उभिएको एउटा गहकिलो सङ्ग्रह हो। नारीवादी नारी चरित्रको प्रतिपादन गर्नमा थापाज्यू सफल भएको कुरा सङ्ग्रह आफै बोल्दैछ उनले उठाएका विषयहरू प्रायः दक्षिण एशिया मुलुकमा पनि घट्ने घटनासंग नजदीकको सरोकार राख्न सफल छन्। आवर्तन कथामा कथाकारले एउटा नारी पात्रको खुब गहिरो कुरा बुझाएकी छन्। नारी पुरुषको एउटा अमोघ शक्ति तर आज नारीको पहिचानमाथि प्रश्नचिन्ह बलात्कार, शोषण, प्रताडनाले कतै नारी क्षीण बन्दै गरेकोमा सर्वप्रथम कथा आर्वतनमा पुरुषलाई चुनौती दिएको कुरा र बुझाउने प्रयासमा छन् पात्रा कृष्ण लीलाबाट प्रभावित लेखिका राधाको त्यो एउटा कुरा उल्लेख गर्छिन् जसमा राधा स्वयं कृष्णलाई भन्छिन यसरी – ‘तिम्रो शक्तिमा म नै छु – तिम्रो योगमाया – तिम्रो सम्बल – विराट!’ वास्तविकता पनि आजको शताब्दीमा कतिपय पुरुषले नारीको शक्तिलाई बुझ्नु आवश्यक छ। यहाँ कता-कता श्रीकृष्ण पनि राधाको अपार अमोघ शक्तिबाट वंचित भएको भन्ने आशंका व्यक्त गर्नु स्वाभाविक लाग्छ। बधाई लेखिकालाई।

            समृद्धि पूराण समसामयिक पूराणको स्थिति र आज भोलि पश्चिमीकरणले व्याप्त संसारमा नेपाली माथि परेको एउटा बेग्लै प्रकारको प्रभाव हो। प्रायः जसो आजभोलि यस्तो खाल्को बिहेको वर्णन गरेको देख्न पाइन्छ जसमा मादक पदार्थको सेवन र सेवनयुक्त जन्तीको परिपाटी पनि देख्न पाइन्छ। आफूलाई सम्भ्रान्त परिवार मान्ने मानिसहरू यस्तो गर्ने गर्छन्। सन्तमान पनि यस्तै खाल्को हावाले छोएको गाउँको मानिस तर उसको रवाफ अलग्गै छ। अचम्म लाग्छ कथा पढ्दा जब राती दस बजे मात्र जन्ती पुग्छन्। वैदिक परम्परा अनुसार सम्पन्न बिहे हो कि पार्टी भन्ने कुराको अलमल पर्दछ। आखिर यो भन्न यहाँ कर लाग्छ कि दौलतवालाहरू नै केवल सुरा सुन्दरी र सेक्स युक्त बिहे मन पराउछन् अनि सम्पन्न पनि गराइरहेका छन्। आजभोलि असमतर्फ प्रायः यस्ता खाल्का बिहे हुन् थालेको कुरा थाहा पाउँछौं वास्तवमा यो राम्रो लक्षण चाहिं होइन। यसमा हाम्रा पुरेतहरूको भूमिका पनि उस्तै छ। धोती फेर्न जान्यो भने पण्डित अक्षरसम्म फुटाउन सक्तैन आखिर वैदिक परम्पराको बेइज्जत गरेको देख्न पाइन्छ। हाम्रो समाजको तीतो यथार्थ नै यस्तै नै छ हाम्रो आँखा खोलिएका छैनन् अझै यही कथाले बताउँछ कथाकारले भविष्यमा अझै यस्ता कथा लेख्न भन्ने आशामा।

            अन्तिम संस्कार प्रायः सबै वर्गमा आई पर्ने अन्तिम घडी। आजभोलिको कोस्मोपोलिटन सिटी बीचको एउटा मृत्यु वीभत्स मृत्यु। कता-कता कथा सम्राट प्रेमचन्दको कात्रोसँग मिल्न खोज्दछ। कात्रोमा कात्रो किन्न गएका बाबु-छोरा भट्टीपसल पस्नमा सफल भए भने उता सुजाताका दुई छोराहरू पनि आमाको लास लडिरहेको देखेर पनि भट्टीपसलमा रक्सी पिउनमा मस्त। एउटा ठूलो सामाजिक ट्रेजिडी उत्पन्न गर्दछ। आखिर अन्तिम संस्कार केवल शब्दमा रहेको बुझाउँछ साथै बाहुनको यथार्थ पनि बेग्लै। दौलतवाला सुजाता भएको भए बाहुनहरू स्वर्गको सीधा रिपोर्टिङ सुनाउन सफल हुन्थे तर सुजाता गरीब तन्नम्। कस्तो व्यवस्था अझै नौ दिनबाट क्रिया आरम्भ हुने … शायद यो कथा लेखिएका स्वयंले भोगेको जस्तो लाग्यो किनभने आजभोलि यस्तो घटनाको शिकार प्रत्यक्ष र परोक्ष रूपमा कलमकारहरू पर्ने गरेको जान्न र सुन्न पाइन्छ। कथाकारको कथाप्रति सोच र पात्रको स्थितिबीच तारतम्यता देखा परेको छ। एउटा राम्रो लक्षण हो।

            अन्ततः कथामा कथाकारले सुमित्रालाई आजको परिवेशसंग मिसाउँदै एउटी विदुषी साथै सम्भ्रान्त परिवारको चेलीको रूपमा उभ्याउन पुग्नु सकारात्मक पक्ष र स्वागतयोग्य पक्ष पनि हो। किनभने धेरैजसो नारीहरू आजभोलि यस्तो चाहन्छन् पनि … विद्वता र उनको चाल ढालले पक्का पनि उनको परिचय दिएको पाइन्छ। बोक्सी नेपाली परम्परामा परम्पागत एउटा ठूलो भड्खालो जसमा कतिपय निर्दोष नारीहरू बली चढे अनि अझै पनि चढी नै रहेका छन्। गाउँमा भने धामीका मुखबाट कमन रूपमा आउने शब्द जसको व्याख्या गर्छन् कोही बेला उनीहरू। एकप्रकारले डरलाग्दो विषयमाथि प्रतिपादन गर्न खोज्नु र आफ्नो बुद्धिले भ्याएअनुसार शोध पत्रको प्रस्तुति सुमित्राका लागि अर्को चुनौती थियो। तर पनि उनी सफल भइन आधुनिक ज्ञान र विज्ञानसँग सरोकार राख्तै तर सेमिनारको वाह! वाही!! उनको पत्रले भन्दा शारीरिक संरचना र वेश-भूषाले पाउनु नराम्रो लाग्छ। आजभोलि प्रायः नारीको सौन्दर्यलाई नै प्राथमिकता दिन्छन् मानिसहरू तर उनको शोधपत्रमाथि भएको गरमागरम बहस र जसमा सुमित्रा खरो उत्रिन सफल भएकी भए एउटा नयाँ कुराको सृष्टि अवश्य पनि हुने थियो। सोही कथाजस्तै आत्मजा कथा सुमनको मनभित्र साहित्यिक मित्रप्रतिको एक प्रकारको उत्साह र जोश अनि मित्रद्वारा केवल उनको रूपको बखान नारीको कमजोरी पक्षलाई इंगित गर्छ। प्रायः प्रकाशक शोधकर्ता र अन्य नारीप्रति एउटा अलग्गै रूप देखाउनमा सफल छन् भन्ने कुरा कथाकारले कमजोर पक्षको मर्मभेद गर्न सफल भएकी छन्। आखिर सुमित्रा र सुमनमा के अन्तर भयो जहाँ रूपको मात्र बखान हुन्छ। दौलत र रूपका अगाडि प्रतिभा ह्यास हुन्छ यो ध्रुवसत्य रहेछजस्तो लाग्यो मलाई।

            थापाज्यूको आवर्तन साँचै नै परिवर्तनका नयाँ जोशिला र समसामयिकी लिएर आएको नौलो सङ्ग्रह मान्नु पर्दछ। नवोदित कथाकारहरूका लागि यो एउटा कोसे ढुंगा अवश्य हुनेछ भन्ने आशा राखिन्छ तर कथाकारले कथाचाहिं एक पाने मात्र संरचना गरेको भए अझ राम्रो हुने थियो लामा कथा भएर पनि कथामा शिल्प, शैली, वर्णविन्यास र परिस्थितिको बयान राम्रो भएको छ। कथाकारले अझ भूमिका पनि नलेखाएको भए साह्यै राम्रो कथा आफैं बोली रहेका छन् सब कुछ। थापाज्यूलाई फेरि पनि बधाई … शुभकामना

                                                            मणिपुर, भारत

उपन्यास मोहनी डट् कम्-को इन्द्रजालभित्र — रोहित गौतम

            सबैखाले विमूर्त्तताले मानिसलाई पंगु पारेर थिचेको अवस्थामा मशिनको सहारा लिनु अहिलेको परिवेश हो। यो मानिसको आत्मिक सुरक्षाको पाथेय बन्न नसके पनि संकटापन्न मानिसको आत्मालाई भ्रमयुक्त र नान्दनिक पार्दै लगिरहेको छ, जसको जीवनमा महत्व छ र गरिमा पनि छ। र यही मायावी गतिपथमा डट् कम्-ले ओजस्वी सञ्जाल फिंजाइरहेको छ भने मानिस रणभुल्लमा छ, दोधारमा छ, सत्य र मिथ्याको किटान गर्न नसकेर आत्मघाती तत्वहरू सिर्जिएको छ स्वयंले। त्यसैले डा0 शान्ति थापाले आफ्नो नवीनतम् उपन्यासको नाम मोहनी डट् कम् राख्नुको यथार्थतापनि उपरोक्त तत्वमा निहित छ, जहाँ जीवन, समाज, समय मानौ यन्त्रवत् गुज्रिरहन्छन् नियन्त्रणहीन भएर।

मोहनी डट् कम्-को कथावस्तु

            आलोच्य उपन्यासको कथावस्तु सन 1978 देखि 2007 भित्रको काल-खण्डमा समाहित ऊपरी असमको दुलियाजान, डिगबोई, मार्घेरिटा र त्यस क्षेत्र वरिपरिको जनजीवनमा घुम्छ, ठोकिन्छ र टुक्राटुक्रा भएर अस्तित्वमा आउँछ स्वमहिमाले। उपन्यासमा सौरभ नामक सूत्रधार पात्रको जीवन, भोगाई, पीडा, द्वन्द, संघर्ष, प्रेम, उपलब्धि, जाति प्रेम, राष्ट्र प्रेमका अनुभवी चित्रहरू डायरीमा लिपिबद्ध भएसरि आउँछन्। जहाँ अन्य पात्र/चरित्रहरू बीच बीचमा आउँछन्, बिलाउँछन्, पुनः आउँछन् ताशका पत्तीहरू खेलमा फिटिएसरि। जसरी ताशको गड्डी फिटेपछि कुन ताश कहाँ छ थाहा हुँदैन, त्यसरी नै पात्रहरूको अवस्थान पनि विनिर्माण पद्धतिमा स्थापित भएको छ। पात्रहरू कहीं तुरूपका एक्का बनेर बाजी मार्छन् भने कहीं सत्ता बनेर पनि बाजी जितेको देखिन्छ। ठिक त्यसरी नै कथानक अघि बढ्छ। कथानकमा मुख्य नायक वा नायिका अथवा केन्द्रिय चरित्र सूत्रधारको भूमिकामा देखा पर्दछ, जो असम्बद्ध घटनाहरूसितै अघि बढ्दछ। उपन्यासको कथावस्तुको प्रारम्भ सौरभ नामक उपन्यासको सूत्रधारले कुनै साहित्यिक अधिवेशनमा भाग लिएको घटनाक्रमबाट हुन्छ, जहाँ उपन्यासको रोचकताले चरमोत्कर्ष प्राप्त गरेको छ। प्रथम अध्यायबाटै उपन्यासले ङ्याङ ओभर दिन थाल्छ अर्को अध्याय नपढी नहुने। हामी कति ढोंगी छौं अर्थात भन्छौं एक थोक, गर्छौं अर्को थोक, यही विषयलाई समकालीनतामा उभ्याएर निर्ममतापूर्वक प्रस्तुत गरिएको छ, जहाँ असमेली नेपाली साहित्यका कर्णधार, कार्यकर्ताहरूको यथार्थ स्वरूप मनोविनोदी पाराले प्रस्तुत भएको पाइन्छ। एकातिर साहित्यिक अधिवेशनको शोभायात्रा शुरू हुन्छ, ठिक त्यसै बीचमा केही साहित्यकार लेखकहरू ढाबामा गएर बियरका बोतलसित टाइम पास गर्दै साहित्यिक उन्नतिको गफमा लठ्ठिन्छन् र सभापति एक्लै असहाय हुन पुग्छन्। त्यसपछि सौरभको अतीत, वर्तमान हुँदै आमा-बाबु, दिदी-बहिनी, प्रेमिका, साथी संगाती, सहकर्मी, समाज, व्यवस्था, राष्ट्रवाद, साम्प्रदायिकता, जातीयतावाद, उग्रवाद आदि विभिन्न विषय र चारित्रिक विशेषताहरूसितै उपन्यास अघि बढ्छ। उपन्यासमा असम आन्दोलनको वीभत्सतम् उग्र जातीयतावादी चित्रण, हरिभक्त कटुवाल प्रसंग, शासन व्यवस्थाबाट सिर्जित विसंगतिहरू सशक्त रूपमा देखा परेका छन्। उपन्यासको अन्त प्रेमको व्याख्यात्मक चिन्तनमा गएर टुङिगन्छ जहाँ सूत्रधार पात्रले जितेको अनुभव पनि गर्न सक्दैन, हारेको ग्लानि पनि प्राप्त गर्न पनि सक्दैन। मात्र विचारको ङ्याङ ओवरमा छटपटिरहन्छ जुन उपन्यासको विशेषता र रोचकता बनेर देखापरेका छ। डायरीका पानाहरूमा लिपिबद्ध घटनाहरूलाई एकजना सूत्रधारले असम्बद्ध रूपमा भन्दै गइरहेको जस्तो लाग्ने उपन्यासको सार-मर्म समग्रतामा यति नै हो।

मोहनी डट् कम्-को वैचारिक शिल्प –

            उपन्यास लेखन शैलीको शिल्पकारिताले भन्दा पनि यसको वैचारिक शिल्पकारिताले गर्दा यो उपन्यास महत्वपूर्ण ठहर्छ। उपन्यासभित्र प्रोथित विचारको साहित्यिक घनत्व यस भेकबाट प्रकाशित अन्य उपन्यासहरूमा आउन सकेका थिएनन् जसले गर्दा यो उपन्यास महत्वपूर्ण कृतिको रूपमा देखिन्छ। विश्वकै उपन्यास साहित्यमा देखापरेका सैद्धान्तिक विचार र अवधारणाहरूबाट नेपाली उपन्यास कहिल्यै पनि अलग्गै रहेन। समकालीन समयमा चर्चित बनेको उत्तर आधुनिकता नेपाली साहित्यमा कतै विनिर्माण बनेर भित्रिको छ भने कतै लीला लेखन, त कतै सिर्जनशील अराजकता भएर वैभवको विकृति, भोगवाद, नयाँ पूँजीवाद, भूमण्डलीकरण, नेटवर्क सोसायटी। संकटग्रस्त मानिसको आत्मा यसको नान्दनिक अन्वेषणमा रमाइरहेको छ। जहाँ एकल सत्तावादी वैश्विकरणबाट विश्वमा अँटाउन खोजिएको सम्पूर्ण अवस्थितिलाई अमान्य गर्दै बहुभाषा, बहु संस्कृतिलाई मुखरित गरिरहेको अवस्था छ। मूल्य र मान्यताहरूको क्षण भंगुरताले अन्योलित पारेको समकालीन समयमा – मोहनी डट् कम्-ले यस भेकको नेपाली उपन्यासको फाँटमा निम्नलिखित विचारहरू शक्तिशाली रूपमा अन्ततः उपस्थापन गरेको छ, ती हुन् –

1) स्थानिक र सामाजिक परिप्रेक्ष्यमा स्व-पहिचानको आधार निर्माण,

2) जातीयताको परिचयसितै आत्म निर्णयको दावी,

3) समग्रतावादी वैश्विक एकाधिकार सार्वभौमिक सत्यको अस्वीकार,

4) सत्ताशक्तिद्वारा निर्मित इतिहासको अस्वीकार,

5) उत्तर आधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको खोजी।

अब उपरोक्त विचारहरू आलोच्य उपन्यासमा खोजी हेरौं –    

आत्म-निर्णय, स्वायत्त शासन र जातीयतावादी चेतनाको तीव्र विचारको प्रतिष्ठापन आलोच्य उपन्यासमा सौरभमार्फत उग्रवादी नेताहरूका अगाडि यसरी व्यक्तिन्छ – यो देश जति तिमीहरूको हो उति नै मेरो पनि हो। राष्ट्रको व्यवस्था नमान्ने समूहको अगाडि उजागर गरिएको यस कथनलाई उपन्यासको घटनाक्रमसित सम्पृक्त गरेर विचार्दा के निष्कर्ष निस्कँन्छ भने – समयले निरीह बनाइएका समग्रताका पक्षधरहरूमा युगले चेतना भर्दा समग्रतावादी एकाधिकार सार्वभौमिक सत्यबाट आफूलाई अलग पाउनु व्यावहारिक र चेतनाबोध दुवै हो। एकतर्फ राष्ट्रले गरेको उपेक्षा, अर्को तर्फ उग्रवादी तत्वले सताइएका असमेली नेपालीहरू जब दोहरो मारको पीडामा सल्बलाउँछन् तब प्रत्यक्ष व्यवहारगत चेतनाले स्वयं बोधको पक्ष उजागर गरेर आफैलाई स्वतंत्र ठम्याउँन स्वेच्छाले आत्म निर्णयको अधिकारका लागि स्थानीय एवं सामाजिक धरातलमा निर्भयतापूर्वक उभिएको ठहर लाग्छ जुन उग्रवादी नेताको कथनमार्फत सम्प्रेषित भएको छ। अझ लेखिकाले यस देशमा नेपालीभाषीहरूले राष्ट्रको पक्षमा रहेर देशभक्तिको परिचय दिनका साथसाथै एउटा तबका राष्ट्रको विपक्षमा क्रियाशील भएर व्यवस्था परिवर्तनमा लागेका छन् भन्ने ऐतिहासिक तथ्य उजागर गर्ने साहस देखाएकी छन्, जुन सत्ताशक्तिद्वारा निर्मित इतिहासको विपक्षमा चेतना मुखरित भएको देखिन्छ। उपन्यासमा वर्णित असम आन्दोलनले कसरी पूर्वाग्रहग्रसित तत्वहरूतहत पिरोलेको थियो असमेली नेपाली भाषीलाई र अन्यायको विरोधमा खुकुरी लिएर राजपथमा निस्केपछि बल्ल प्रशासनले सहयोग गरेको घटनाक्रमले असमभूमिमा नेपालीभाषीहरू बिना संग्राम बाँच्न सक्ने छैनन् भन्ने जातीयतावादी स्वर टड्कारो पारेको छ। जसबारे स्थानिक र सामाजिक परिवेशमा स्वपहिचानको आधार निर्माण गर्ने विचार पनि बहुलतामा व्याप्त छ।

            अब समग्रतावादी वैश्विक एकाधिकार अस्वीकार सन्दर्भ विषयमा हामी यसरी भन्न सक्छौं – पहिले हतियार र सेनाद्वारा सार्वभौमिक वैश्विक एकाधिकार र आधिपत्यको सत्य प्रतिष्ठा गर्ने गरिन्थ्यो। तर वर्तमानमा यसले सांस्कृतिक र भाषाई आधिपत्यले उक्त स्थान लिई बिना रक्तपात स्थानीय भाषा, समाज, संस्कृति र संस्कारलाई ध्वस्त पार्दै लगेको छ। आलोच्य उपन्यासमा यसको अस्वीकार सौरभले मनमनै प्रेम गर्ने नारी पात्रले यसरी गर्छे – संस्कृतिले मानवीय सम्पर्क सहज र अर्थपूर्ण पार्छ र यो मानिसको आत्मिक सुरक्षा हो। साथै उसले उसको प्रेमको बदलामा नेपाली भाषा साहित्यको वृहत पुस्तकालय, हजार मानिस बस्न सक्ने प्रेक्षागृह, चित्रकला र सांस्कृतिक परिचयका सामग्रीहरू संरक्षण, प्रदर्शन गर्ने भव्य ठाउँको दावी गर्छे। किनभने सौरभ तेल कम्पनीको जागीरबाट भएको आयले गर्दा सुस्त-सुस्त पश्चिमे जीवन-शैलीमा जक्डिंदै गएकामा उ मर्माहत छे। पश्चिमे संस्कृतिले हामीमा जीवनदायिनी शक्तिको साटो हलाहल मात्र घोलेको उ अनुभव गर्छे र आफ्नै संस्कृतिभित्रै उन्मुक्तिको मार्ग खोज्ने प्रयास गर्छे।

            नेपाली उत्तर आधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्धान्तिक खोजको सन्दर्भमा सर्वप्रथम लीलाको दावी छँदैछ। तर उक्त तथ्यलाई आत्मसात गर्दा हामी संस्कृत साहित्यका योगी ऋषि र भक्तिवादतिर उन्मुख हुन्छौं। कारण लीलामा आएको लेखन-धर्ममा प्रायः पुरातनकै विनिमार्णीकरण र नेपाली साहित्यको विनिर्माणी करण अवस्थामा देखिन्छ। यहाँ यथार्थ, मूर्त र सज्ञानका पक्षहरू जीवन जिउनका लागि अवलम्बन गरिन्छ। र ती सबै अति यथार्थमा भ्रममात्रै मान्ने हो भने मानवीय अस्तित्वको मूल्य र मान्यताको आवश्यकता किन? यो विचार दार्जीलिङमा मत्स्येन्द्र प्रधानले पनि उठाइसकेका छन् तर असम भूमिको कृतिहरूमा पहिलो पटक उत्थापित भएको देखिन्छ। उपन्यासमा सौरभका बाबुद्वारा संस्कृतिक परम्परामा निहित व्यावहारिकताले मानिसको जीवन र बँचाई सजिलो बनाएको र त्यो भ्रम मात्रै होइन, परम्परादेखि चलिआएको अमूर्त संस्कारिक भाव मात्रै होइन भन्ने सार यसरी व्यक्तिएको छ – मानवीय सत्ता, सभ्यता, संस्कृतिको इतिहास प्रत्येक भाषामा आफै निर्माणमा आउने क्रममा भत्किने र लोपहुने कारक तत्वहरू सँगसँगै आएका हुन्छन्। त्यसैले, त्यसको संरक्षण एवं परिपालनद्वारा स्व-अस्तित्वको मौलिक चिन्हारी उज्जीवित हुन्छन् र यो संस्कृतिको निहित गूढार्थ पनि हो। संस्कृतिको आधार हो प्रेम र प्रेमले सारा संसारलाई स्पन्दित गर्न सक्छ। जहाँ प्रेम हुँदैन त्यहाँ जीवन हुँदैन। मानिसको सामाजिक जीवनको आधार पनि प्रेम हो र यस्तै सामाजिक प्रेमको आधारमा नै राष्ट्र बनिन्छ। यसरी लेखिकाले उत्तर आधुनिक विचारमा पूर्वीय चिन्तनको सैद्धान्तिक पक्षलाई मिथकीय भ्रममात्र नठानेर जीवदायिनी, मानव कल्याणकारी पक्षका रूपमा परिभाषित गर्ने जमर्को गरेको देखिन्छ।

अन्त्यमा –

            भारतीय नेपाली उपन्यासको फाँटमा भ्रममार्फत निर्माण भएको बलियो जगमा आज रमिता छ, नीलकण्ठ र अथाहले उपन्यासको कलापक्ष र वैचारिक पक्ष दुवैमा क्रान्तिकारी रूप दिन सक्षम छन्। बसाइँ समग्र वन्दित भयो विश्वजनीन आवेदन भएको कथानकले गर्दा नकि कला र विचारको शिल्पकारिताले गर्दा। असम भूमिबाट लेखिएका उपन्यासहरूमध्ये बसाइँको विश्वजनीन आवेदन हुँदाहुँदै पनि असमेली नेपालीहरूको प्रसङ्गमा अँटाउन सक्दैन। ब्राह्मपुत्रको छेउछाउले असमेली ग्रामीण जनजीवन विशेष गरी छपडीहरूमा बसोबास गर्ने नेपालीहरूको सजीव चित्र कोरे पनि वर्तमानको परिवर्तित जनविन्यास र जनजीवनमा आउँने स्वरूपमा क्रमशः टाढा हुँदै गइरहेको भान हुन्छ। त्यसरी नै दोसाँध र अग्निस्नानले वर्गीय विभाजन र जातपातको पक्षमात्र उद्घाटन गर्न सकेका थिए। उपन्यास मोहनी डट् कम्-ले समग्रतामा आधुनिक असमका नेपालीहरूको जीवन सङ्ग्रामको गतिपथ र त्यसमा टुसाउँदै गरेका मूल्य र मान्यताहरूको नयाँ स्वरूप उद्भाषित गरेको छ, जुन ऐतिहासिक ठहर्छ। असमेली नेपाली उपन्यासको संसारमा भूगोलमा बसाइँले ओगटेको क्षेत्रभित्रै एउटा रेखा कोर्दै मोहनी डट् कमले यहाँबाट मेरो सिमाना हो भन्दै छ। लेखिकालाई बधाई।               गुवाहाटी

शान्ति थापाको – मोहनी डट् कम्-को मोहनीयताको पाठकीय महक  — लक्ष्मण अधिकारी

लेख आमुख

            अनुवाद साहित्य अकादमी पुरष्कार प्राप्त शान्ति थापाको उपन्यास ‘मोहनी डट् कम् ‘ नेपाली साहित्य परिषद्, असम र वी. पी. कोइराला फाउण्डेशनद्वारा संयुक्त रूपमा आयोजित कविता महोत्सवमा विमोचित उपन्यास हो। त्यसैदिन किताब हात पार्ने मौका परेन र पछि कार्यवश गुवाहाटी जाँदा प्रधान प्रेसका मालिक उत्तम प्रधानसँग लिएँ र घर फर्किंदा बसमै लगभग आधाजसो पढी सिद्ध्याएँ। वाक्य गठन सरल, मधुर एवम् कवितामय भाषाशैली र गहन भाव अनि उपन्यासको कहानी गुम्फनले स्वतस्फूर्त तन्मयता दिनसक्यो र नै एकै बसाइमा १५ वटा खण्ड पढें। पढ्दापढ्दै लेखिकालाई एसएमएस गरें लेखाइ- ‘पद्यमय छ’।

            सतहबाट क्रमश: गहिराइतिर उत्रदै जाने ‘मोहनी डट् कम्’ जम्मा एक्काइसवटा खण्डमा रचिएको छ। यसमा जीवनका प्रत्येक अंशको अध्ययन, जातीय गरिमा, पूर्वपुरुषहरू प्रति अढनुगत्यता, प्रारब्धता, उग्रवाद, अतिवाद, अस्तित्ववाद, नारी, पुरुष, तेरो-मेरो, हक-अधिकार आदि विषय सारै मार्मिक र ऐतिहासिक पृष्ठभूमिमा केही यसरी वर्णन गरिएको छ कि जोसुकैले पनि पढेपछि एकछिन् यसमाथि विचार गर्न बाध्य हुन्छ। उपन्यास ‘मोहनी डट् कम्’ पढेपछि पाठकले धेरै ऐतिहासिक तथ्यहरूसँग आत्मसात गर्दछन् जो जातीय अस्तित्व, हक र अधिकार आदि विषयका छन्। जातीय अस्मिता, साहित्य, संस्कृति र संस्था-संगठनका कुरासमेत समावेश गरी दुलियाजान र डिगबोई तेल क्षेत्रलाई मियो बनाएर मानव-जीवनका परिदृश्यमान एवम् परिघटित एकाइहरूमा परिभ्रमण गर्ने ‘मोहनी डट् कम्’ मा ढाँचा, शिल्प, चरित्र, जीवन-जगतको बाह्यिक-आभ्यन्तरीन पक्ष, भौतिक-आध्यात्मिकको भोगाइ र भाव, अवनति र उन्नतिको प्रभाव आदिमा अध्यावधि चलिआएका मानवीय परिभाषिक धारणाहरूमा नयाँ परिभाषाहरूसमेत गाभ्न गरिएको प्रचेष्टाले लेखिका शान्ति थापाको लेखकीयपक्ष परिपक्व, मर्मस्पर्शी र जीवन-अध्ययन औ विश्लेषण उच्च क्षमतासम्पन्न र कुशलव्याख्यानमा हृदयग्राही बनेका छन्। ‘मोहनी डट् कम्’ ले प्रेम-प्रसङ्गमा भन्दा ज्यादा जीवन-जगतको अध्ययन र नैतिक, सांविधानिक अधिकारसमेतको प्रसङ्ग उठाएर मर्यादा सम्पन्न जाति र जीवन-अस्तित्वको प्रसङ्ग निकाल्दै असमको नेपाली जाति भूमिसुद्धै भारतमा प्रवेश गरेको कुराको उठान गर्न पनि हिचकिचाएको छैन। जाति-अस्तित्वको कुरामा भारतलाई अङ्ग्रेजको शासनबाट मुक्तपार्न असमका नेपढलीहरूले ज्यान-माल गुमाएको प्रसङ्ग निकालेर इतिहास कोट्याउन पुगेको छ मोहनी डट् कम्। ‘मोहनी डट् कम्’ उपन्यास जीवन-जगत अध्ययनको परीक्षागार हो जहाँ वैचित्र्यमय जीवनभित्र मानवजीवनले भोगिरहेको वैचित्र्यको जोखमाप लगभग पूरा पूरा परीक्षात्मक अध्ययन गर्न खोज्दछ। यसले असमका नेपालीका अस्तित्व र अस्मिताको दैन्यता, समयसँगसँगै बग्ने र भौंतारिने लचीलोपन देखाउँदैन। बरञ्च शान र मर्यादासहित आफ्नो अस्तित्व र स्थिति प्रतिपन्न गरिरहेको पुरुषार्थीको रूपमा परिचय दिन्छ। सुगन्धा भन्छे— ‘केवल खानलाई कमाउनु … जिन्दगीको लक्ष्य हुन सक्तैन। …. मेरो मनमा जन्मियो मोहनी महलको सपना। … मेरो मोहनी महलमा एक पटक भित्रिएपछि जस्तै मै हुँ भन्ने पनि लट्ठिने छ – हाम्रो इतिहास, धरोहर अनि संस्कृतिको मोहनीमा।’  उपन्यासको उद्देश्य, लक्ष्य र नामकरणको प्रसङ्गमा यो उक्ति पर्याप्त छ। अर्को एक अलिखित दस्ताबेज हो भन्दै मोहनी डट् कम् भन्छ—’ब्रिटिसले हाम्रा पुर्खाहरूलाई एग्रीमेन्ट गरेर यहाँ  (असममा) ल्याएका थिए उनीहरूको काम फत्ते गराउन।’

            तर त्यही असममा नेपालीहरूले अस्तित्वको लडाइय् लड्नु परेको छ सत्तरको दशकदेखि यता। हामी पिसोल्टिएका छौं यस भुँवरीमा र हामी सबैको भएर सौरभको मुखबाट बोल्छ ‘मोहनी डट् कम्’ —”यो देश जति तिमीहरूको हो, उति मेरो पनि हो।”

            ‘मोहनी डट् कम्’ ढाँचा र सृजनाको पक्षबाट पनि अलि भिन्न लाग्ने उपन्यास हो। उपन्यास लेखिसकेपछि कुनै सुयोग्य साहित्यिकबाट भूमिका लेखाउने परम्परालाई पनि छिनालेको छ यसले। यसको पनि आफैंआफमा एक महत्व हुनसक्ने कुरा यस उपन्यासका माध्यमबाट— एक शिल्पशैली नै हो झैं अनुमान हुन्छ।

            ‘मोहनी डट् कम्’ को लेखकीय ढाँचालाई मन्थन गर्दा झण्डैझण्डै असमीया उपन्यासकार ”लीला गगैको ‘नै वै जाय’ नामक उपन्याससँग केही सादृश्यता रहेको पाइन्छ, जहाँ पात्र आफ्नो कथा सोच्तै जान्छन्-लेखक अनुपस्थित रहे झैं लाग्छ कहानीमा । उपन्यास वा कथाको यसखाले लेखनमा लेखकहरूले पात्रले लेखेको भन्ने भ्रम पाठकलाई दिन चाहेका हुन्छन्। शान्ति थापाले पनि यसै शिल्पलाई ‘मोहनी डट् कम्’ मा प्रयोग गरेको पाइन्छ।

उपन्यासभित्र

            उपन्यास भन्नु नै वृहद् आकारको एउटा कथा हो जहाँ जीवन-जगत्-को लगभग पूरापूरा अध्ययन गरिएको हुन्छ। सम्पूर्ण जीवन छर्लंग आँखाका अघि घुम्ने गर्दछ, उपन्यासमा। ‘मोहनी डट् कम्’ उपन्यासको कथा शुरु हुन्छ कथाबाटै र कथाको परिभाषा गर्ने जमर्कोबाट। कथा शुरु हुन्छ सौरभ श्रेष्ठको ‘तस्वीर’ कथा संग्रहको विमोचनबाट र विमोचकले कथाको परिभाषा गर्दै कथा उद्धृत गर्छन्— ”एक देशमा एउटा राजा थिए, उनकी एउटी रानी थिइन् …।”  हो पनि, कथा अनेक विधामा विभक्त एक महासागर हो जसमा अनेक नदीहरूझैं कथा विधाहरूको संगम हुने गर्दछ। कथाभित्र कथा लेख्न पर्दा त ‘एक देशमा राजा थिए …. ‘ भन्ने नै लेखिइनु पर्छ र नै शान्ति थापाको एउटा महाकथाभित्र कथाका अन्य विधाहरूको पनि आभाष दिन खोजेर लेखक धर्मको दक्षताको परिचय छर्लङ्गिन्छ। कथाले कथाको परिभाषा दिँदै कथा डोऱ्याउँछ- मोहनी डट् कम्-मा। कथामय जीवन जीउने कथाकारले यस खालको प्रयोगलाई सहजै प्रयोग गरेको हुनसक्छ तापनि यो प्रसङ्ग लरतरो होइन झैं लाग्यो, अर्थपूर्ण लाग्यो।

मोहनी डट् कम् बन्नुअघि

            ‘मोहनी डट् कम्’ उपन्यास कथाझैं उक्त उक्तिबाट कथाको परिभाषा खोज्न थाल्दछ र सौरभ श्रेष्ठसँग धेरै ह्याङ्ग ओवरहरू अतिक्रमण गर्दै जीवनका भोगाइ र जीवाइका क्रममा उत्रिन्छ। सौरभ बोल्छ  विमोचन अनुष्ठानमा— ‘मेरा पात्रहरूलाई साथ लिई जिन्दगीको यात्रा तय गरिरहेको थिएँ – आज मेरा सहयात्रीहरूलाई यहाँहरूमाझ छोड्दै छु …।’ यस कुराले के स्पष्ट पार्छ भने कथाको भाव विनिमय र जनजनमा कथा पुऱ्याउनका निम्ति जुन पात्रहरू जन्मन्छन् ती मात्र मनोरञ्जनका निम्ति सृष्टि गरिएका हुँदैनन्। ती पात्रहरू यथार्थताका प्रतिनिधि हुन्छन्। तिनीहरूको अवस्थिति कहीं न कहीं रहेको हुन्छ, यो प्रथा वि. सं. २०३० देखि कथाकार इन्द्रबहादुर राईले यस लीलालेखन कलालाई प्रचलनमा ल्याएर जनकका रूपमा चिनिएका छन्, जो भारतभूमिकै उपज हो र आजका कुनै पनि सचेत कथाकारहरूमा यस प्रथाको प्रभाव नपरेको छैन। ‘मोहनी डट् कम्’ पनि केही यस्तै सत्यतालाई लिएर अघिबढेको छ। कारण शान्ति थापाले भूमिका बन्धनमा स्वीकार गरेको पनि पाइन्छ —’उसले (सौरभ श्रेष्ठले) भोगेका सार्थक वा निरर्थक पलहरू जो डायरीमा लिपिबद्ध छन् – तिनैलाई सुसम्बद्ध गरिदिने प्रयास मात्रै गरेकी हुँ – सूत्रधारको भूमिकामा।’ अर्को एक ठाउँमा पाइन्छ—’यो त सौरभ श्रेष्ठले जिन्दगीको यात्रा तय गरिरहेको अर्धलिखित दस्तावेज हो। अर्धलिखित दस्तावेज यसकारणले कि उ अहिले पनि छ।’      

लेखिकाको भूमिका

            हो, सूत्रधारको भूमिका यस्तै हुन्छ, आभास दिन्छ सूत्रधारले अर्थात् उद्घाटन गर्दछ। उद्घाटकको उद्घाटनपछि निर्धारित सूची अघिबढ्छ। लेखिकाले आफूलाई सूत्रधारको भूमिकामा उतारेको कुरा स्वयं स्वीकृत छ उपर्युक्त वाक्यांशमा। घटनाका आदि, मध्य र अन्तमा सूत्रधारले आत्मप्रकाश गरी घटना अघि डोऱ्याउने गर्छन्। यस्तै छ मोहनी डट् कम्-मा  पनि। स्वयं लेखिकाले एघारौं खण्ड आफैं अङ्भरेको देखिन्छ। अन्यत्र भने कथा नायक सौरभ आफैं आफ्नो कथा बखान्दै जान्छ। कथाका पात्रहरू लेखकका मानस पुत्र हुन्, उपेक्षाका पात्र हैनन्। यसर्थ एघारौं खण्डमा लेखिका आफैंले अस्त्र हातमा लिनु यसैको समर्थन त हैन? याद आउँछ शरणार्थी उपन्यासको – जहाँ इन्द्रबहादुर राईलाई पनि प्रश्न गरिएको छ —’जयमायालाई लिखापानीमा कसको सहारामा छोडियो? को थियो जयमायाको त्यहाँ? ‘  ब्रह्मपुत्रको छेउछाउमा गुमाने सोध्छ क्षत्री सरलाई—’मेरी प्रेयसीलाई किन अकालमै मारियो? ‘ यसर्थ उपन्यासका पात्रहरू लेखकबाट उपेक्षित नहुन् उद्देश्य हुनसक्छ लेखिका शान्ति थापाको र नै कथा अघि बढाएको देखिन्छ एघारौं खण्डको आफैं। यसर्थ माथि भनिएकै छ- कथाको पात्र आफैंले कथा लेखेको भन्ने भ्रम पैदा गरे पनि वास्तवमा लेखक आफैं कथाका पात्रहरू बनेर लेख्ने गर्दछ सम्पूर्ण कथा।

मोहनी डट् कम्-मा प्रेम-प्रसङ्ग र नैतिकता

            उपन्यास अघिबढ्छ। अर्थात् सौरभले जिन्दगीको ह्याङ ओवरहरू अतिक्रमण गर्दै यात्रा तय गर्दैजान्छ—’सुगन्धा नामकी युवतीसँग उसको पुस्तक विमोचन सभामा भेटहुन्छ। ऊ प्रति सौरभ आकृष्ट हुन्छ र दसवर्ष अघिबाट बिछोड भएकी उसकी पढ्दाकी प्रेयसी सुधालाई सम्झनपुग्छ। जुन उसले निकै असह्य वेदनासहित भुल्न लागिसकेको थियो, तर सुगन्धासँग भेट भएपछिका घडीहरू अति कष्टकर लाग्छन्। सुधाप्रतिको मोह रिङिन्छ मानसपटमा’ मोहनी डट् कम्’ मा प्रेम छ – स्वार्थ छैन, अनुभूति छ आवेग छैन।

            —’ …… एक उदास शिशिरको साँझपख सुधा केही पलका निम्ति उसको डेरामा उपस्थित भइन् – सौरभलाई छक्क पार्दै। -‘सौरभ, घरदेखि प्रेशर आउँदै छ।’ -‘के का लागि? ‘ -‘बिहे ….।’ ‘……………।’ -‘हैन सुधा, हैन – त्यो सही फैसला हुने छैन। म कापुरुष हैन। सामाजिक व्यवस्था अनुसार म तिमीलाई मर्यादापूर्वक भित्र्याउँन चाहन्छु।’   नियतिको खेलमा मानिसले हार्न पर्ने अन्तिम बाध्यताको पनि यहाँ बिना द्विधा स्वीकार गरिएको छ। -‘त्यसो भए नियतिको सामु घुँडा टेक्नु सिवाय मेरो अर्को उपाय छैन।’ – यसरी सौरभको जीवनमा पहिले र उपन्यासमा दोस्रोपल्ट देखा परेकी नायिका सुधा बोल्छे नियतिसँग पराजय वरण गर्दै। समाज, रीति-रिवाज र मर्यादाको उल्लङ्घन गर्न यो उपन्यास चाहँदैन। उपन्यासको कथानायक स्वाभिमान र आत्मसम्मानसाथ जिउन चाहन्छ मात्र हैन, ऊ आदर्श र पाथेय पनि बनेर देखाउन चाहन्छ अरू दसलाई।

‘संसार दुखको मूल हो’ यो दर्शन उपन्यासले स्वीकार गरेको छ

            अर्को एक पक्ष पनि छ मोहनी डट् कम्-मा। तर प्रेमको नाममा उच्छृङ्खलता देखाएर प्रेमलाई अशुद्ध पार्नेहरूको कथा हैन यो। प्रपंच अलिकति पनि छैन, दगाबाजी पनि छैन। मात्र छ— जोशमा होश हराउनेहरूको कथा। क्षणिक यौन उत्तेजना शान्तिका लागि साधेको अनैतिक सम्बन्ध र सम्पर्कको कथा अनि संसार र संस्कारबाट मुख लुकाएर भागेको कथा। सरल बरूवाकी छोरी तनया र धीरू अनि लक्ष्मीको चरित्र यस दृष्टिकोण अन्तर्गत पर्दछन्। यी पात्रहरूले भविष्य जीवनसङ्गी बनाउने रोलमा यौन चरित्रलाई उजागर गरेका हैनन्। उत्तेजनाको शिकार बन्छन् धीरू, लक्ष्मी र तनया। धीरू र लक्ष्मीको यौन चरित्र समाजमा सार्वजनिक हुँदैन, लुकेरै बस्छ। यो लुकीप्रेम हैन, क्षणिक रोमान्स अथवा क्षणिक उत्तेजनाको सिकार हो। तर तनयाको चरित्रका कारण उसका पिता सरल बरुवाले त्यसबाट भोगेको पीडा, आत्मग्लानी र अन्तिममा आत्महत्याको प्रसङ्ग तान्दै संसार दुखको मूल हो भन्ने दर्शन व्यक्त गरिएको छ उपन्यासमा। संसार कसरी दुखको मूल हो त्यसको व्याख्या गर्दै सृष्टि रहस्यको उद्घाटन पनि छ जो दार्शनिक छ, सैद्धान्तिक छ र यावत् धर्मीय मतादर्शले वर्णन गरेको छ। ईश्वरले नाना प्रकारको सृष्टि गरेर पनि शान्ति पाएनन्, त्यसपछि पुरुषको सृष्टि गरे, तर पनि सुखी बनेनन्। अन्तमा नारीको सृष्टि गरे र मात्र शान्ति पाए। यस विषयमा ‘मोहनी डट् कम्’ बोल्छ यसरी—’नारीको सृष्टिपछि बल्ल उनको सृजनाले कोल्टे फेऱ्यो – गतिशील बन्यो – उनको सृष्टि। अनि यसरी बारबार स्वयं ईश्वरले सृजनाको पीडा खप्दै बनाएको वैचित्र्यमय संसारमा दु:ख किन नहुनु हकि।’  संसार दुखको मूल हो, यस उक्तिलाई चरितार्थ गर्न उपन्यासभित्रबाट यति नै।

उपन्यासले अग्रजहरूको कदर गरेको छ

            उपन्यासमा असमका वरेण्य पुरुष युगसाहित्यिक हरिभक्त कटुवालको आर्थिक विपन्न अवस्था र उनको उपचारका लागि सौरभ, रमा दिदी आदिले गरेको प्रचेष्टाले प्रष्ट हुन्छ अग्रज साहित्यिकप्रति एक साहित्यिकको कर्तव्य। हरिभक्त कटुवाल असममा नजन्मेका भए शायदै आज मानिसले पढ्ने थिए असमका कविता। जीवन यथार्थको धरातलमा कविता र गीत रच्ने कटुवाललाई मौकामा चिन्ने र उचित मर्यादा दिने थोरै थिए, चिनेर शोषण गर्ने धेरै थिए। अहिले पनि कटुवाल उचित रूपमा मर्यादित र सम्मानित छैनन्। सायद, यसैले ‘मोहनी डट् कम्’ आफ्नो कथा गर्भमा उनलाई समावेश गरी उऋण हुन चाहन्छ र भन्छ-‘आखिर कवि-कलाकारले कसका लागि आफ्ना प्रतिभा व्यक्त्याउने गर्छन् त – समाजकै लागि हैन? एउटा जातिको समुचित विकासको सबैभन्दा महत्वपूर्ण पाटो होइन र साहित्य र कला? …. कति खेदको कुरो – जुन समाजको सठवर्धनका निम्ति कवि-कलाकारले आफ्नो जीवन – दियोको तेल सुस्त सुस्त जलाउँदै एक दिन समाप्त पारिन्छिन् – उही समाजले उनीहरूको कदर गर्दैन – हाय यो कस्तो विडम्बना! ‘  मननयोग्य छन् साहित्यिक प्रति साहित्यिकले ‘मोहनी डट् कम्’ मार्फत व्यक्त गरेका यी पंक्तिहरू।

उपन्यासमा असम आन्दोलन र जातीय अस्तित्व

            १९७९, असम आन्दोलनको समयमा नेपालीहरूले पनि निकै कष्ट झेल्नु परेको थियो। छात्र संगठनले विदेशी वहिखकार र केन्द्र सरकार विरुद्ध गरेको एक पक्षीय युद्ध घोषणामा नेपालीहरू पिसोल्टिएका थिए। यसै समयमा विदेशी र प्रव्रजनकारीको आरोप लाएका थिए र आक्रमण पनि गरेका थिए ठाउँठाउँ। त्यस आन्दोलनको एक झलक ‘मोहनी डट् कम्’ मा उल्लेख गरेको पाइन्छ— ‘अस्तित्व-रक्षाको लडाइँ – छात्रहरूको अगुवाइमा। १० दिसम्बर १९७९ – बरपेटामा – एकजना छात्र खर्गेश्वर तालुकदारको अपमृत्यु – राज्यभरि प्रतिवादको दावानल आफ्आफैं दन्किन थाल्यो।’  यस आन्दोलनका ज्वालामा असमको समता, सम्पर्क, भ्रातृत्व, मित्रतापूर्ण सहावस्थान डढेर खरानी भयो। वर्गभेद, गोष्ठीभेद र जातिभेदमा एकता विभाजित भएको असममा स्वयं भूमिपुत्र हौं भन्नेहरूलाई अस्तित्व सङ्कटमा पऱ्यो भन्ने त्रास हुन थाल्यो। यस्तो कहालीलाग्दो परिस्थितिमा ‘मोहनी डट् कम्’ ज्योतिप्रसाद आगरवाला र विष्णुप्रसाद राभासँग गुहार माग्दै उनीहरूले गाएको समता गीतको स्मरण गर्दछ, जुन गीतहरूले विभेदबाट अलग्ग रहेर अनेकतालाई एकताको सूत्रमा बाँधिन आह्वान गर्दथे। वास्तवमै प्रयोजन छ र थियो असममा ती गीत गाउने व्यक्तिहरूको अथवा तिनका गीतहरूको मनन। ‘मोहनी डट् कम्’ तेल नगरीका वरिपरी अत्यन्त मार्मिक कथा लेख्तै जान्छ घटना-परिघटनाहरूको बिन्दूका खुड्किला टेक्तैटेक्तै। यसै पनि देश, जाति, भाषा, संस्कृति आदिको सुरक्षामा अध्यावधिको इतिहासअनुसार मध्यवर्गको भूमिका अधिक रूपमा देखा परेको छ। यस विषयमा ‘मोहनी डट् कम्’ प्रखर दक्षताका साथ व्याख्यान पस्कन्छ—’औद्योगिक क्रान्तिले विश्वमा शोषक र शोषितहरू माझ जुन अर्को एउटा नयाँ वर्ग जन्मायो – त्यो हो मध्यवर्ग।’ उपन्यासले मध्यवर्गलाई विकास, आन्दोलन, साहित्य-संस्कृति, जातीयताका सुरक्षाको कारक मानेको छ। अनुरूप घटनामार्फत यस वर्गको अघाउजी आलोचना गरेको छ, इतिहास उद्धृतिसहित। असम प्रान्त एउटा समस्याजर्जरित क्षेत्र हो। यहाँका जनताले प्रकृतिजन्य र मानवसृष्ट दुवैखालको सङ्कट झेल्नु परेको छ। त्यसमाथि पनि यहाँका मानिसहरू थोरै आयमा सन्तुष्ट हुने अर्थात् सामान्य बरबगैंचा र माछापोखरी अनि थोरै खेती किसानीमा नै सन्तुष्ट रहनुको साथै नशालु पदार्थको सेवन आदिको वर्णन पनि पाइन्छ जो यहाँको जातीय जीवनमा पाइन्छ। असमको अस्तित्व रक्षाको आन्दोलनमा नेपालीहरूले झेलेको दुर्दशाले सौरभ (सचेतवर्ग) लाई जगायो र आफ्नो जान-मालको सुरक्षाको लागि आन्दोलनमुखी बनायो। नेपालीहरू जागे, जुलुस निकाले अस्तित्व रक्षाका लागि विनिमयमा जेसुकै गर्न पनि प्रणबद्ध भए, डिग्बोई शहरभरि थियो मात्र नेपालीका खुकुरीको चमचमाहट। थकाइ र क्लान्ति लेश मात्र पनि थिएन, उनीहरूमार्फत मोहनी डट् कम् भन्छ—’अस्तित्वको लडाइँमा थकाइका निम्ति ठाउँ छैन-ठाउँ हुनु पनि भएन।’

            जुलुसकारीहरूले प्रशासनलाई बाध्य गराए व्यवस्था लिन। प्रशासनले दोषी पक्रियो, जुलुसकारी शान्त भए। शान्तिप्रिय नेपालीहरूले सम्पूर्ण गणतान्त्रिक प्रक्रियाले लडे अस्तित्व सुरक्षाको लडाइँ, अर्थात् जाई लढगेनन् – आई लागेकालाई प्रतिहत गरे। अघि भनिएकै छ— छात्रहरूको यो एक पक्षीय लडाइँ प्रव्रजनकारीका विरुद्ध थियो। प्रव्रजनका विषयमा ‘मोहनी डट् कम्’ यसरी बोल्छ—’जहाँ सहजलभ्य गाँस-वास-कपासको जोहो हुन्छ – त्यहाँ प्रव्रजन हुनु नौलो कुरो हैन – नपत्याए संसारको इतिहास पल्टाई हेर्न सकिन्छ। मानिस त के चराचुरुङ्गी – जीवजन्तुले पनि प्रव्रजन गर्दछन्।’  प्रव्रजनकारी भन्नेहरूलाई मुखबुझो लाउन पनि पछि हटेको छैन ‘मोहनी डट् कम्’। नेपालीलाई प्रव्रजनकारी भन्नेहरूले इतिहास पल्टाएर हेरे हुन्छ। तर ‘मोहनी डट् कम्’ इतिहास पनि गलत रूपमा लेखिने शंका व्यक्त गर्दछ- ‘इतिहास त बाठा र बलवानले चाहेको मात्र लेखिन्छ’ भन्दै। प्रसङ्ग अघि बढ्दै जान्छ। असमलाई नेपालीहरूले अंग्रेजको शासनबाट मुक्त गराउन गरेको त्याग र बलिदानले उचित मर्यादा प्राप्त गरेको छैन। न सरकार न जनता सबैले भुल्न लागेका छन् ती त्याग र तपस्याका कुराहरू। रगत दिएर साटेका थिए नेपालीले स्वाधीनता। त्यसैले ‘मोहनी डट् कम्’ सचेत छ ती अग्रज देशभक्तहरूप्रति पनि र सुगन्धा भन्छे सौरभसँग—’स्वाधीनता संग्रामी भक्त बहादुर प्रधानको डक्यूमेन्ट्री बनाउँछु।’  सौरभ थप्छ— दलवीर सिंह लोहार र हरिभक्त कटुवालको कुरा। हरिभक्त कटुवालप्रति भने केही सन्तुष्ट छ ‘मोहनी डट् कम्’ तर भारत स्वाधीन संग्रामका सेनानीहरूप्रति सबैको ध्यानाकर्षण गर्न चाहन्छ पुन: आफ्नो गर्भकथामार्फत।

मोहनी डट् कम्-मा देशभक्ति

            ‘मोहनी डट् कम्’मा निषिद्ध संगठनको गति लक्ष्य र गति-लक्ष्यबाट च्युत भएको चर्चा पनि खुलस्त रूपमा गरिएको छ। क्याडरहरूले सौरभलाई अपहरण गरेर एरिया कमाण्डरकहाँ पुऱ्याउँछन्, निर्धक्क बोल्छ ‘मोहनी डट् कम्’ सौरभको मुखबाट देशको मायाले—’हुन त भाइहरूको यो लडाइँ समाज, जाति औ स्वाधीन राष्ट्रका निम्ति नै हो भन्ने कुरामा कसैलाई कुनै शंका छैन। तर के यो लडाइँ सही बाटोदेखि गुज्रिंदै छ जस्तो लाग्छ कि भाइ? ‘  ‘मोहनी डट् कम्’ बिना द्विधा उसँग बोल्दै जान्छ र अन्तमा देशभक्ति र देशको माया यसरी व्यक्त हुन्छ सौरभको मुखबाट—’यो देश जति तिमीहरूको हो, उति मेरो पनि हो।’ अर्थात् देश अस्त्रधारीको मात्र हैन, देश कुनै निर्दिष्ट जातिको पनि हैन र देशभक्ति तथाकथित अस्त्रधारी र एक निर्दिष्टभाषीमा मात्र छैन। देशभक्तिको एक वृहत् निदर्शन व्यक्त गर्नुको साथै असममा नेपालीहरू पनि आफ्नो हक र अधिकारका लागि पछि हट्ने छैनन् भन्ने भाव व्यक्त गर्छ ‘मोहनी डट् कम्।’ अझ निषिद्ध बाटो अपनाउनेहरूलाई भन्छ ‘मोहनी डट् कम्’ – ‘परिवर्तन भएन वा गर्न सकिएन भनेर कसैले बडो रहर औ मायाले बनाएको घरको त्याग गरी बाहिरदेखि घरमा परिवर्तन ल्याउँने प्रयास गर्दैनन् – देश पनि एउटा घर हो .. ‘ इत्यादि। घर छोडेर जंगल पसेकाहरूलाई घरमै बसेर घरको व्यवस्था परिवर्तन गर्ने परामर्श दिन्छ। यसर्थ ‘मोहनी डट् कम्’ एक उच्चकोटीको बुद्धिजीवी क्षमतासम्पन्न देशभक्तिपूर्ण उपन्यास हो।

गृहस्थधर्ममा स्पष्टिएको छ नारीपक्ष

            नारीपक्षको पनि अति मार्मिक वर्णन पाइन्छ उपन्यासमा। उपन्यासको मुख्य पदमा रहेकी स्त्रीभूमिकाद्वारा पुरुषप्रति कुनै द्वेष देखाइएको छैन। तर कथानायककी दिदीका माध्यमबाट व्यक्त्याइएको छ नारीको सरल चरित्र र गृहस्थधर्म। भिनाजुको कुचरित्र, त्यसको प्रभावमा दिदीले भोग्न परेको पीडा, छोराछोरीले खाए नखाएको खबरसम्म नलिने र आफू मात्र मातेर हिँड्ने आदि व्यवहारको आलोचना गर्दै पुरुषले नारीप्रति गरिआएको दुरव्यवहार, पण्यसामग्रीझैं व्यवहार र मनमौजीपनको चरित्रचित्रण छ भिनाजुको। गृहस्थधर्ममा नारी र पुरुष एउटा गाडीका दुई चक्का हुन् र दुइटै चक्का समान गुड्न जरूरी छ गृहस्थ आश्रम सुचारु रूपले चल्न। तर समाजमा सर्वत्र यसो भइरहेको छैन। गृहस्थधर्म पालन नै पनि स्त्री र पुरुष दुवैका निम्ति एकै खालको छैन। जसरी स्त्रीका निम्ति बाधा-बन्धनहरू धेरै छन् त्यसै गरी पुरुष मुक्त छ। पुरुषको मृत्युपछि स्त्री आमृत्यु विधवा बनेर बस्नु पर्ने र स्त्रीको मृत्यु भए पुरुषले तत्कालै पनि अथवा लगत्तै केही कालपछि अर्की स्त्री ग्रहण गर्नसक्ने चलन देखिन्छ। यो एकतर्फा स्त्री दबाबको पक्ष मोहनी डट् कम्-ले एक विषयवस्तुका रूपमा आलोचना गरेको छ। यस उपन्यासमा कथानायकको भिनाजुलाई एक स्वच्छन्दवादी, चरित्रहीन र गृहस्थ दायित्वहीनको रूपमा देखाइएको छ भने दिदीलाई एक आदर्शवादी, गृहस्थधर्मपरायण, सहनशीलाको रूपमा—’पति भक्ति त मर्दैन पापी पति भए पनि’  बालकृष्ण समको उक्तिझैं स्त्रीपक्षका निम्ति देखाइएको छ। यसै शिलशिलामा हिन्दू नारीको मनोभाव पनि व्यक्त गर्छ मोहनी डट् कम्। सौरभ आक्रोशिन्छ भिनाजुको व्यवहारमा। दिदी भन्छे—’त्यसो नभन मेरो भाइ। जे भए पनि उनी मेरो लोग्ने हुन्। … उनको मंगलमा नै मेरो मंगल। … हिन्दू नारीले एक पटक कसैका हातको सिन्दूर लाएपछि उसको कुभलो चिताउन सक्दिन।’  समाजले तोकेको आदर्श र यतिञ्जेलको संस्कार बोल्छ दिदीका मुखबाट यसरी। विरोध-प्रतिरोध गर्छ मोहनी डट् कम् कारण, गृहस्थधर्म र आदर्श कुन पर्यायमा पुग्न लागेका छन्? भन्छ उपन्यास—’हाम्रो व्यवस्थामा तोकिएको-वैवाहिक आदर्श-गृहस्थधर्म-सतीत्वको आदर्श-पतिव्रत्यको आदर्श! अभिमानको लेउमुन्तिर पानी बहँदै छ वा जमेर त्यहीं सडिसकेको छ-अथवा दुर्गन्ध निस्किन थालेको छ-यसबारे कसले विचार गर्ने? ‘   गृहस्थधर्म र आदर्शप्रति किन पुरुष लेश मात्र पनि सचेत हुँदैनन्? स्त्री सरह पुरुषवर्गका निम्ति पनि कडा आदर्शको किन व्यवस्था छैन? यस विषयलाई पनि नजरअन्दाज गरेको छैन मोहनी डट् कम्-ले। भन्छ—’गृहस्थधर्म त स्त्री-पुरुष दुवैका निम्ति एकैखाले हुन पर्ने! तर पुरुष यसमा कहिल्यै बाँधिएको छैन। उ त फुक्का छ शिवजीलाई छोडेको साँडझैं।’  पुरुष बन्धनमुक्त रहेको कुरा व्यक्त गर्ने यी पंक्तिपछि अझ भनिएको छ—’नारी केवल पुरुषको भोग्य सामग्री – उहिले पनि अहिले पनि। … पुरुषले आफ्नो आत्मसन्तुष्टिको आगामा होमेको छ। तर, पनि नारी यसैबाटोबाट हिँड्दा खुशी देखिन्छे-आदर्श हो रे उसको यो! ‘ भन्दै मोहनी डट् कम् भन्छ—’यो आदर्श हैन-आदर्शहरूको समाधि हो-चिहान हो।’ क्षोभ प्रकट छ दुरादर्शप्रति।   

परिभाषा र जातीयता

            ‘मोहनी डट् कम्’ असम र असमको तेल नगरीका जनजीवनका वरिपरी घुम्दै तिनका भोगाइ चक्रलाई विभिन्न उपमा दिएर परिभाषित गर्न खोज्दछ। संसारका मानिस जात र भाषा विशेषले भिन्नाभिन्नै भए पनि तिनको भोगाइ र रोजमर्रा जीवन एकैनासको हुन्छ। भोगाइका हर पलको केही न केही अर्थ हुने गर्दछ भन्ने भावको पुष्टि गर्नु पनि ‘मोहनी डट् कम्’को विशेष लक्ष्य रहेको बुझिन्छ। यसर्थ जीवनका कुनै बिन्दू पनि ‘मोहनी डट् कम्’ले बेवास्ता गरेको छैन बरञ्च त्यसमा निहित अर्थ खोजी भरसक परिभाषित गर्न खोजेको छ। भोगाइ चक्र जसरी रहस्यमा जेलिएको छ त्यसै गरी रहस्यावृत बन्दै उपन्यास गभीरतम विश्लेषणमा उत्रेको छ। जीवन-जगतको यति सारो व्याख्यान सम्बलित उपन्यास यसअघि मैले पढेको थिइनँ। मोहनी डट् कम् उपन्यास बहिर्मुखी नभएर अत्यन्त अन्तर्मुखी हो र जीवन-जगतको सूक्ष्म अध्ययन हो, मेरो बुझाइमा।

            यस उपन्यासमा उपलब्ध पिताको परिभाषा, किशोरावस्था प्राप्तिपछि अङ्ग-प्रत्यङ्गका विषयमा किशोरका मनमा उब्जने नाना शंका र मनोवैज्ञानिक पक्ष, स्वप्नको परिभाषा, नदी र जीवनको सम्पर्क अनि त्यसको परिभाषा, चियाका बोटहरूको उपमाका माध्यमबाट बारबार शोषित भएका जीवनहरूको बाउन्नेपन अर्थात् आफ्नो स्थितिबाट उँभो उक्लन नसकेको उपमायुक्त वर्णन, सरल बरूवाका माध्यमबाट सिधा र सोझाहरूले यस लोकमा अधिक दुखको भागी बनिनु आदि अनेकौं जीवन सम्पर्कित घटना-परिघटनाहरूको व्याख्यान दिन गरिएको कोशिशमा उपन्यास अति सारगर्भित बनेको छ। उपन्यासको जुन पन्ना पढ्यो त्यसैमा एक लम्बाचौडा व्याख्यान छाँट्न सक्छन् विज्ञजनहरूले। उपन्यास सारवत् छ, सूत्रवत् छ, पद्यमय छ। हेरौं प्रकृति वर्णनका यी हरफहरू—’हाहाकार-भित्र पनि बाहिर पनि। उफ्! आँखा चिम्लिएर उ घाँसमाथि उत्तानोचित पर्छ। यतिञ्जेल घामले टाढा दिगन्तमा पुगी प्रियतमा संध्यासित अंकमाल गरिरहेको छ – सारा संसारलाई अनुरागमय पार्दै। दिहिंगपारिका हरिया खेतहरू – सेताम्मै काँसहरू – काँसहरूपछिका अग्ला-अग्ला रूखहरू – बाँसघारीहरू-स्वयं दिहिंगको छाती – घाम र साँझको अनुरागमा अनुरागमय बनी मक्ख परिबसेका छन्।’

            अन्तमा,  चर्विचर्वण रूपमा लेखिएको यस लेखमा मोहनी डट् कम्-को सम्पूर्ण भाव विस्तार गर्न नसकेको कुरा आफैं स्वीकार गर्दछु। कारण, मोहनी डट् कम् जस्तो उपन्यासलाई यो भाषा र यो अन्वय परिपूर्ण हैन। अवश्य विज्ञजनहरूबाट त्यो कार्य पूरा होला कुनै दिन। पुन: अन्तमा १९औं खण्डमा प्रकृतिको सर्वग्रासी रूप स्वीकार गरेर उपन्यासले नियतिको भूमिका सर्वोपरि ठान्दै मानिस उसैको कठपुतली हो भन्ने तर्क अघिसारेको छ। उपन्यास जातीय भावनाले ओतप्रोत छ र उपन्यासको कुनै एक ठाउँमा भनिएको पनि छ—’ संसारमा यस्तो कुनै जात छैन जो आफ्नो जातीय गौरवले गौरवान्वित हुँदैन।’  यसर्थ मोहनी डट् कम् जातीय अस्तित्व कायम गर्ने कार्यमा एक संस्थाको भूमिका खेल्न पुगेको छ।

‘मोहनी डट कम’ उपन्यास : एक सर्को अध्ययन — प्रा. नवीन पौड्याल

            असमको राजधानी गौहाटीकी एक विदुषी डा. शान्ति थापा नेपाली साहित्यमा एक उल्लेखनीय नाम हो। उनको जन्म सन् 1961 जनवरी, 9 तारिख गौहाटीको दुर्गासरोवर भन्ने ठाउँमा भएको हो। उनी एक जाँगरिली लेखक, एउटी साहित्य अध्येता र बहुभाषी व्यक्तित्व हुन्। उनी हिन्दी साहित्यमा विद्यावारिधि गरी गौहाटीको राधा गोविन्द बरूवा महाविद्यालयमा हिन्दी विषय पढाउँछिन्। उनको सेवाको लक्ष्यभाषा नेपाली हो। उनका प्रकाशित पुस्तकहरूमा ‘माया’ (गीतसङ्ग्रह 2004), ‘आवर्तन’ (कथा सङ्ग्रह, 2007), ‘असमेली नेपाली कथायात्रा’ (सम्पादित 2008), ‘मोहनी डट कम’ (उपन्यास 2009) आदि हुन्। उनी ‘हाम्रोध्वनि’ मासिक पत्रिकाको सम्पादकको रूपमा रहेकी छन्। गौहाटी विश्वविद्यालयद्वारा सञ्चालित दूरशिक्षा निर्देशनालयअन्तर्गत स्नातकोत्तर नेपाली विषयको पाठ्य-पुस्तक निर्माणको मूल संयोजक हुन्। उनले विभिन्न प्रान्तमा भारतीय नेपाली नारी लेखकको रूपमा धेरैवटा कार्यपत्र प्रस्तुत गरिसकेकी छन्। पुरस्कारको हकमा उनले ‘नामघरे’ उपन्यासका लागि 2002 मा ‘साहित्य अकादमी अनुवाद पुरस्कार’ प्राप्त गरेकी छन्। यसैगरी साहित्य सेवाका निम्ति ‘सञ्जयनारायण प्रधान स्मृति स्वर्णपदक’ (1998), ‘आवर्तन’ कथा सङ्ग्रहका निम्ति ‘टङ्कनाथ स्मृति पुरस्कार’ (2008), र ‘गुञ्जन प्रतिभा पुरस्कार’ (काठमाडौं) (2014) पाइसकेकी छन्, दियालो पुरस्कार (2012), मदन स्मारक सम्मान (2014)।

            ‘हाम्रोध्वनि’ नेपाली पत्रिकाबाहेक उनले हिन्दी पुस्तक र पत्रिकाहरूको पनि सम्पादन कार्य गरेकी छन्। ‘लोहित घाटी की कहानियाँ’ (पुस्तकको सम्पादन), ‘अन्तरङ्ग’ पत्रिकाको ‘नेपाली कथा विशेषाङ्क’-को अतिथि सम्पादक, ‘रङ्गघर’ पत्रिकाको नेपाली साहित्य संस्कृति विशेषाङ्क तथा ‘दस्तावेज’ पत्रिकाको असम विशेषाङ्कको सम्पादन गरेकी छन्। यसैगरी ‘मृण्मय’ बहुभाषी शोध पत्रिका र ‘पूर्वा’ को सम्पादन पनि गरेकी छन्। यसरी हेर्दा डा. शान्ति थापा एक कथाकार, गीतकार, उपन्यासकार, अनुवादक, सम्पादक, समालोचक र एक साहित्यिक अध्येताका रूपमा प्रस्तुत छिन्। ‘असमेली नेपाली कथा-यात्रा’को भूमिकामा डा. थापाले असममा नेपाली कथाको लेखन-परम्परा, कथाकारका कथागत प्रवृत्ति र नेपाली कथाको विशिष्टतामाथि गम्भीर चिन्तन-अध्ययन प्रस्तुत गरेकी छन्। उनी हरेक दिन नै नेपाली साहित्यमाथि केही न केही चिन्तन, लेखन, अध्यनमा डुबेकी हुन्छिन्।

            सन् 2009 -मा ‘अनुराग प्रकाशन’को प्रकाशकत्वमा प्रकाशित उनको ‘मोहनी डट् कम्’ एक विशिष्ट र प्रयोगशील उपन्यास हो। जम्मा बीसवटा अध्याय र 192 पृष्ठहरूमा आबद्ध प्रस्तुत उपन्यासले नेपाली साहित्यमा एक उल्लेखनीय स्थान ओगट्न सफल बनेको छ। यस उपन्यासको भूमिका खण्डदेखि नै कथावस्तुको थालनी भएको छ, औ यही भूमिका प्रसङ्गले गर्दा उपन्यास अधिख्यानात्मक बन्नपुगेको छ। भूमिकामा नै उपन्यासकारले एउटा सौरभ श्रेष्ठ नामका एक युवकले उपन्यासकारलाई एउटा डायरी सम्पादन-प्रकाशन गर्ने जिममेवारीसहित डाकद्वारा पठाइदिएको हुन्छ औ उपन्यासचाहिं यही डायरीभित्रको कथावस्तुलाई आधार बनाइ प्रस्तुत गरिएको छ।

            ‘मोहनी डट् कम्’ मूलतः एक यथार्थवादी उपन्यास हो। यसमा विशेषगरी एउटा युवकको दृष्टिकोणबाट असम राज्यको सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्यिक, राजनैतिक, भौगोलिक, ऐतिहासिक, शैक्षणिक आदि परिवेशको झलक पाइन्छ। अझ यसमा विशेषगरी अस्सीको दशकमा असममा चलेको अतिवादी ‘विदेशी बहिष्कार’ वा ‘भूमिपुत्र आन्दोलन’को पीरो धुवाँले पिरोलिएका नेपालीहरूको तीतो यथार्थलाई प्रखररूपमा दर्शाइएको छ। त्यहाँका केही भूमिगत उग्रवादी सङ्गठनहरूले कसरी रैथाने नेपालीहरूलाई असमबाट धपाउनु, गाउँ-घर जलाइदिनु, छोरी-चेलीको इज्जतको हुर्मत लिनु, अपहरण र हत्या गर्नु जस्ता कुत्सित कुकृत्य गरेको कहालीलाग्दो घटनाहरूलाई नजिकैबाट निरीक्षण गरी प्रस्तुत गरिएको छ। त्यस्तो अवस्थामा हाम्रा नवयुवक, विद्यार्थीवर्गलगायत अरू सबैले त्यसको प्रतिवाद र प्रतिरोधको कार्यक्रम सञ्चालन गरी जनतामा जागरणको आन्दोलन सम्पन्न गरेको कुरो तथ्यगत रूपमा प्रस्तुत छ।

असमको तेल उत्पादन क्षेत्र डिग्बोइ, दुलियाजान इत्यादि ठाउँहरूको स्थलगत सर्वेक्षण गरिएको छ। त्यहाँको तेल कप्पनीका इञ्जिनियरको हत्या, कर्मचारीको आत्महत्या, अपहरण काण्ड तथा तेलकुवाँमा लागेको आगलागी काण्ड, हरिभक्त कटुवालको बिरामी र मृत्यु प्रसङ्ग इत्यादि जस्ता पक्षहरूलाई नजिकैबाट यथार्थपरक चित्रण गरिएको छ।

            ‘मोहनी डट् कम्’ उपन्यासमा ऐतिहासिक तथ्यहरूलाई देखाइएको छ। यसमा जातीय सङ्कटको व्यापक सर्वेक्षण गरिएको छ। विशेषगरी सन् 1979 देखि सन् 1983-84 समम असममा चलेको विदेशी बहिष्कारको आन्दोलनले हाम्रो ठूलो नोक्सानी भएको थियो। सम्पूर्ण असमभरि यसको व्यापक प्रभाव परेको थियो। प्रस्तुत उपन्यासमा पनि दुलियाजान, डिगबोई, बापापुङ, दिहिङ आदि स्थानतिर उग्रवादी सङ्गठनहरूले आतङ्क फैलाएका कुरा देखाइएको छ। त्यसको प्रतिवादमा हाम्रा विभिन्न सङ्गठनहरूले पनि दुलियाजान र डिगबोइतिर खुकुरी जुलूस गरी केही मत्थर पारेको तथ्य प्रकाश हुन्छ। नवयुवकहरू साइकल र बाइकहरूमा जातीय जागरणको अभियान चलाएको, असमका उग्रवादी सङ्गठनमा हाम्रा केही युवाहरू पनि संलग्न भएको तथ्य प्रस्तुत छ। म पात्र सौरभलाई एक प्रकारले अपहरण गरी अनकण्टार जङ्गलको भूमिगत क्याम्पमा लगिएको र त्यहाँ कोही मेघबहादुर सुनार भन्ने नेपाली युवक पनि असम राष्ट्र मुक्ति आन्दोलनका नाममा चलेको एउटा सङ्गठनको एउटा छापामार कमाण्डरको रूपमा रहेको कुरो उल्लेख छ। त्यस्ता किसिमका आन्दोलनमा हाम्रा युवकहरू पनि सरिक थिए – थिएनन् अनुसन्धानको विषय बनेको छ।

            यस उपन्यासमा ताथ्यिक यथार्थवादका अतिरिक्त प्रेमपरक यथार्थलाई पनि झक्झकाइएको छ। प्रेमका नाममा वासना पनि छ; पागलपन पनि छ। उपन्यासको नायक सौरभको जीवनमा बिनु, माया, सुधा र सुगन्धाजस्ता युवतीहरू प्रेमिकाका रूपमा देखापर्छन् औ बिछोड भई ओझेल पनि हुन्छन्। ती प्रेमिकाहरूप्रति सौरभको स्वाभाविक यौनासक्ति र आकर्षण तथा विछोडको वेदनालाई यथार्थरूपमा अभिव्यक्त गरिएको छ। यसरी समग्रमा हेर्दा ‘मोहनी डट् कम्’ एउटा यथार्थवादी उपन्यास हो।

            ‘मोहनी डट् कम्’ उपन्यासमा साना-ठूला गरी धेरै घटनावली रहेका छन्। कथाहरू खापमाथि खाप रहेका छन्। सौरभको कथासङ्ग्रहको विमोचन कार्यक्रममा सुगन्धा नामकी युवती पुग्नु र त्यहाँ सौरभ ऊप्रति एकप्रकारले आसक्त हुनुबाट उपन्यास शुरू भई सुगन्धाकै समीप्यमा उपन्यास समाप्त भएको छ, यद्यपि बीचमा अरू धेरै कथाहरू जेलिएका छन्। सौरभ र सुधाको प्रेमप्रसङ्ग, सुधाले बिहे प्रस्ताव राख्दा सौरभले नमान्नु, त्यसपछि सुधा अल्पिनु, सन् 1978-मा एउटा दुर्घटनाका कारण असमभरि उग्रवादी आन्दोलनको शुरूवात, चारैतिर आतङ्क फैलिएको बेला हरिभक्त कटुवाल बिरामी भएको खबर हुनु र त्यसको इलाजका लागि केही स्वयम्सेवकहरूसँग सौरभ पनि चन्दा उठाउन जानु र कटुवालको निधन भइहाल्नु, त्यस चन्दा सङ्ग्रह टोलीलाई पनि असमेलीहरूले शङ्का गरी खेद्नु, डिगबोईतिर नेपाली परिवारका गाउँ नै जलाइदिनु र त्यसको विरोधमा नेपालीहरूले खुकुरी जुलूस गर्नु, सौरभका पिताप्रति श्रद्धाभाव, उसकी दिदीको प्रेम प्रसङ्ग र विवाह, बिहेपछि भेनाले अर्की ल्याएर विदेश पलायन हुनु, दिदीहरू बिल्लीबाठ हुनु तर एक दिन पति आउँदा दिदीले माफ गरी दिनु, बिनुसितको प्रेमप्रसङ्ग र बिछोड इत्यादि अनेकौं कथा-उपकथा उपन्यासभित्र समावेश छन्।

            प्रस्तुत उपन्यासमा नारीलाई महिमाशाली देखाइएको छ। सुधाको सौरभसित प्रेम हुँदा घरबाट सुधालाई अन्य युवकसँग बिहे गर्न चाप आउँछ। सुधा प्रेममै अडिग रही सौरभलाई बिहे गर्ने प्रस्ताव राख्छे तर सौरभले उसलाई बिहे गर्ने आँट गर्दैन। सुधा लाचार भई ठीक पारिएको केटासँग बिहे गर्छे। सौरभकी दिदीको भने दुःखलाग्दो स्थिति छ। लोग्नेले जतिवटा बिहे गरे पनि स्वास्नीचाहिं त्यही लोग्नेको सत्मा बस्नुपर्ने, आफूलाई बिल्लीबाठ पार्ने लोग्ने धेरै पछि घर आउँदा खुशी हुने, सबै क्षमा गर्ने, सौरभले भेनालाई कुटपिट गर्न खोज्दा दिदीले रूँदै भेनाको पक्षमा माफ माग्नु, यसैमा नारीको कमजोरी र शक्ति निहीत छ भनी निक्र्यौल गर्नु जस्ता कुरा उल्लेख छन्।

            उपन्यासमा जीवनमा जे जे कुरा आइपर्दछन्, प्रायः सबैको निरीक्षण गरिएको छ। सौरभको घर-परिवारको पृष्ठभूमि, बाबुसित सश्रद्धा सम्बन्ध, बाबुले पनि छोरालाई मित्रवत् व्यवहार गर्ने, स्कूले विद्यार्थी र कलेजियन विद्यार्थीका रूपमा सौरभको एक प्रकारको जीवन, त्यसपछि उसको अलमस्तीपन, दिनरात रक्सीको ह्राङओभरमा बित्नु, साथी-भाइको प्रिय हुनु, सहयोग गर्न हरदम तत्पर हुनु आदि उसका व्यक्तित्वका विविध पाटाहरू हुन्। उपन्यासमा कथावस्तुभन्दा चरित्रचित्रण पक्ष बढी प्रबल छ।। यहाँ पात्रबहुलता छ। सौरभले जीवनमा विद्यार्थीकाल-बालककालको आनन्द पायो। असममा चलेको अतिवादी आन्दोलन पनि भोग्यो त्यसको प्रतिवादी कार्यक्रम पनि गर्यो। प्रेमका मिलन र विछोड दुवैको अनुभव गर्यो र पछि पछिबाट आफ्नो अलमस्ती जीवन पनि भोग्यो। जीवन भन्नु नै अनुभवको सार हो। उसले देखेका – भोगेका, बुझेका, पाएका हरेक कुरा नै जीवनगत समष्टि रूप हो। उपन्यासको एउटा सरल बरूवा भन्ने व्यक्तिले छोरी तनयाको क्षणिक यौनावेशमा कमजोरीका कारण घरिघरि युवक प्रेमी बद्ली गर्ने बानीले गर्दा आत्महत्या गर्छ। त्यसैगरी सौरभको मित्र धीरूले पनि लक्ष्मीसित क्षणिक यौनभोग गर्छ। यही यौन पनि कहिलेकाहीं मानिसको दुःखको कारण बन्नुपुगेको हुन्छ। यसर्थ, यसमा संसार नै दुःखको मूल हो भन्ने दर्शन प्रस्तुत छ। यसमा ई·ार चिन्तन पनि छ। ईश्वरप्रति आस्था-अनास्था दुवै व्यक्त छन्। यो पनि मानिसको जीवनको परिस्थितिमाथि निर्भर हुने कुरा हो। ईश्वर आस्थाभन्दा नैतिकताको बढी भूमिकामय छ जीवनजगत्मा। सौरभले नैतिकता-अनैतिकता दुवै देख्यो। यसर्थ; प्रस्तुत उपन्यासको बुनोट र संरचना पक्षभन्दा वैचारिक र दार्शनिक पक्ष बढी प्रबल छ।

            ‘मोहनी डट् कम’ उपन्यासलाई प्रयोगवादी उपन्यासका रूपमा प्रस्तुत गर्न सकिन्छ। यसमा अधिख्यानका साथै स्वैरकल्पना, पूर्वद्वीप्ति : प्रकृतवाद जस्ता शैली र प्रवृत्तिहरू प्रयोग गरिएको छ। उपन्यासको भूमिकामा उपन्यासकार स्वयंले अर्काको डायरीभित्र वर्णित कुराहरूलाई लिएर यो उपन्यास तयार पारेको भन्ने जानकारी दिइएको छ। उपन्यासमा घरि प्रथम पुरुष र घरि तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग छ, जो दृष्टिबिन्दु परिवर्तनको प्रविधि अप्नाएको छ। प्रायः अध्यायमा प्रथम पुरुष दृष्टिकोण छ भने एघारौं अध्याय भने ‘उ’ पात्र पाइन्छ। अझ भनौं भने भूमिका खण्डदेखि नै उपन्यास शुरू भएको छ। यसमा वास्तविकता र काल्पनिकताको मिश्रित रूप दिइएको छ। औपन्यासिक कथालाई नै वास्तविक कथा र वास्तविक कथालाई नै औपन्यासिक काल्पनिक कथाको रूपमा प्रस्तुत छ। यसमा सौरभको डायरीभित्र वर्णित वास्तविकझैं लाग्ने कथा नै उपन्यासको रूपमा प्रस्तुत छ। यसैगरी यस उपन्यासमा अतीत पक्ष नियाल्दै भविष्यको पनि काल्पनिक तर्जुमा गरिएको छ। उपन्यासको अन्तमा सुगन्धा र सौरभले असममा नेपाली जातिको संग्रहालय खोल्ने परियोजना काल्पनिक रूपमा राखिएको छ अन्तको स्वैरकल्पनाले उपन्यासलाई अर्कैतर्फ मोडिदिएको छ।

            प्रस्तुत उपन्यासमा केही मत्रामा विसङ्गतिवादको पनि प्रयोग गरिएको छ अर्थात् विसङ्गतिवादी धारणाले पनि प्रस्तुत उपन्यासलाई छुट्टै रूपमा नियाल्न सकिन्छ। यसमा जीवन र जगत्लाई निस्सार र विसङ्गतको रूपमा झल्काइएको छ। सौरभले चार-चारवटी युवतीहरूसँग प्रेम गर्छ र सबै बिछोडिन्छन्। असमको उग्र जातीयवादी आन्दोलनले तहसनहस पारेको विसङ्गत स्थितिको वर्णन छ। जीवनमा मर्नु र बाँच्नुको कुनै निर्धारित कार्यक्रम हुँदैन। अनाहकमा निर्दोष मानिसहरू आतङ्ककारीको हातबाट मारिन्छन्। छोरीको चर्तिकलाकै पीरले बरूवाले आत्महत्या गर्छ। हरिभक्त कटुवालको इलाजको निम्ति उठाइएको चन्दाको राशि कटुवाल परिवारमा दिन नपाई कटुवाल मरेको खबर आउँछ। जीवनमा यसो गरूँला, उसो गरूँलो भन्ने चाहना सबै निस्सार छन्।

            यसरी हेर्दा डा. शान्ति थापाको प्रस्तुत उपन्यासमा जीवन-जगत्बारे विभिन्न दर्शन व्यक्त गरिएको छ। असमको प्राकृतिक सौन्दर्य, तेलखानी र त्यसको कारखानामा काम गर्ने कारीगरहरूको स्थिति, उनीहरूको आशा-निराशाका भावहरूलाई नजिकैबाट हेरिएको छ। सौरभ र राङली नदीबीचको भावात्मक सम्बन्धलाई मानव र प्रकृतिबीचको प्रत्यक्ष-परोक्ष तादात्म्यताका रूपमा हेर्न सक्छौं। यसरी नै यसमा जातीय जागरणको चेतना, असमको इतिहासको एउटा कलङ्कको रूपमा रहेको विदेशी हटाओ आन्दोलनको यथार्थ, जीवनप्रति नौलो चेतना र दर्शन, नारीवादी चिन्तन इत्यादि सबै पक्षबाट उपन्यास उत्कृष्ट बनेको छ। साभार बलेंसी

मेरो नजरमा शान्ति थापाका कथाहरू  — गुप्त प्रधान

(द्रष्टव्य : डा. शान्ति थापाको “यो शहर ढल्दैछ’ कथासङ्ग्रह 18 दिसम्बर 2016 मा प्रकाशनमा आएको केही महिनापछि डाकबाट मेरो हात लागेको थियो यो कथासङ्ग्रह। तर म थिएँ तिनताक निकै लामो समयदेखि अस्वस्थ। केहीपछि यस सङ्ग्रहका केही कथाहरू पढेपछि ती कथाहरूले मलाई प्रभाव पार्दा र पुस्तकमा कथाकारको मोबाइल नम्बर पनि दिइराखेकी पाउँदा मेरो आफ्नो छोटो मन्तव्य व्यक्त गरेर मोबाइलमार्फत लिखित रूपमा उनलाई पठाइदिएको थिएँ। उनले मेरो त्यस मन्तव्य मन परेको जाहेर गर्दै सके अरू कथाहरूमाथि पनि त्यस्तै आफ्नो प्रतिक्रिया जनाइदिने आग्रह पठाइन्। तर तत्काल म निकै अघिदेखि बिसञ्चो रहेको, पछि सञ्चो भएपछि निश्चय नै अरू पनि प्रतिक्रिया लेखेर पठाइदिने वचन दिएर मैले उनलाई लेखी पठाएँ। तर मलाई सञ्चो हुन निकै लामो समय लाग्यो।

            पछि डिसम्बर 2020 मा दार्जीलिङको ठण्डादेखि आफूलाई जोगाउन म मेरी बहिनीको घर कालेबुङतिर लागें शीतकालीन दिनहरू बिताउन। त्यसै समय एउटा पुस्तक विमोचन समारोहमा कवि विचन्द्र प्रधानसित भेट हुँदा डा. शान्ति थापाले उनका कथाहरूमाथिको मेरो प्रतिक्रिया पर्खिरहेको जानकारी उनले मलाई दिए। तर तिनताक त्यसरी बाहिरिएको समय मसित उनको त्यो कथासङ्ग्रह थिएन। अलिक दिनपछि जनवरी 2021 मा हठात् डा. शान्ति थापाको निधन भएको सुनें। म खूबै स्तम्भित हुन पुगें। मैले वचन दिए अनुसार मेरो प्रतिक्रियाको प्रतिक्षा गर्दागर्दै उनको मृत्यु भएको खबरले मलाई हुनसम्मको दुःख लाग्यो, खूबै मर्माहत भएँ म। पछि एप्रिल महिनामा पश्चिम बङ्गाल विधान सभाको चुनाव हुने भएपछि म दार्जीलिङ फर्केर आएँ अनि उनै दिवङ्गत शान्ति थापाको स्मृतिग्रन्थ कतै पछिबाट प्रकाशनमा आउँछ कि भन्ने निधो गर्न लागें। जून महिनाको अन्ततिर थाहा लाग्यो, कोरोनाकाल हटेर गएपछि उनको स्मृतिग्रन्थ निकालिने सम्भावना रहेको कुरा। तब उनकै कथासङ्ग्र “यो शहर ढल्दै छ’ हातमा लिएर यसभित्रका मलाई मन परेका जम्मा सातवटा कथाहरूमाथि मैले आफ्नो प्रतिक्रिया लेख्ने विचार लिए लेख्न शुरू गरें।

            हुन त म आलोचक होइन, मसित आलोचकको हृदय छैन। कथा लेख्ने चाहनामा अधिक कलम चलाउँदै आएको मान्छे म। आलोचकहरूले अरू कुराहरू टिप्दै लेख्ने गर्छन्, म कथाको गुदीको मीठो स्वाद मात्र कोट्यउँदै टिप्ने गर्छु। गुदीमात्र कोट्याउने भएपछि आलोचनालेखन प्रक्रियादेखि म छुट्टै हुन्छु। आलोचकले टिप्ने कुराहरू मैले छोडेको हुन्छु र आलोचकले छोड्ने गरेका कुराहरूलाई म टिप्ने गरेको हुन्छु। मेरो र आलोचक माझ यही भेद हुने गर्छ। यसरी प्रस्तुत छन् मैले “यो शहर ढल्दैछ’का कतिपय कथाहरू पढ़ेर लेखेका मेरा प्रतिक्रियाहरू। यसरी मेरा आफ्नै ढङ्गका प्रतिक्रिया लेखेर यसै प्रतिक्रियालाई श्रद्धाञ्जलिस्वरूप उनै कथाकार शान्ति थापाका दिवङ्गत आत्मामा चढ़ाउन लागिरहेको छु। – गुप्त प्रधान)

            शान्ति थापाको कथासङ्ग्रह “यो शहर ढल्दैछ’-का कथाहरू पढ्दै जाँदा थाहा लाग्छ, प्रायः प्रत्येक कथामा नै नौलो प्रयोग र प्रस्तुति लिएर उभिने गरेकी छिन् यी कथाकारले। आफ्नै ढङ्गकी, आफ्नै परिपाटीकी, विषयलाई हेर्ने दृष्टि बेग्लै राखेर उनले कथाहरू लेख्ने गरेकी छिन। भनुँ, समूहमा छुट्टै व्यक्तित्व कायम गर्दै उनले आफ्ना यी कथाहरू लेख्ने गरेकी छन्। प्रथमतः यही नै उनको ठूलो विशेषता हो।

            सङ्ग्रहको नाम बोकेको कथा “यो शहर ढल्दैछ’ – मा मनको सन्तुलन र असन्तुलनबाट देखा पर्ने दृष्टिलाई प्रस्तुत गरिएको पाइन्छ। कथाको पात्र महादेव एक दिन एकाएक एउटा अग्लो पानीको ट्याङ्कीमाथि उक्लिएर आफ्नो शहर दुलियाजानको अवलोकन गर्न लाग्छ। त्यस समय उसको शहर क्रमशः दिहिङ नामक स्थानतिर ढल्दै गइरहेको ऊ महसूस गर्न लाग्छ। पानीको त्यस ट्याङ्कीबाट ओर्लिएपछि सडकको छेवैमा एउटी बिहारिनीले पोल्दै गरेको मकै किनेर त्यसको वास्ना सुँघ्न लाग्दा अतीतमा उसका बाबुले प्रत्येक वर्ष घरको पछिल्तिरको बारीमा मकै रोप्ने गरेको सम्झना उसलाई आउने गर्छ। “मकै रोपी त्यसको फलको स्वाद चखाउने ती मानिस!’ मकै रोप्नुकै क्रममा उनी कुप्रो पर्दै गएर लौराको भर परी ढल्दै गइरहेको बूढा बाबुको उसलाई सम्झना आउने गर्छ। जति उसले मकै चपाउँदै जान्छ उति नै उसलाई आफ्नो शहरभित्र चलखेल गर्ने अन्याय, अत्याचार, प्राकृतिक आपद, बम विस्फोटहरूका सम्झना आउने गर्छ। अहिले छपटी छ महादेवलाई। साँझमा ऊ ड्रेसिङ्ग ऐनाको अघि उभिएर त्यहाँ उसले आफैलाई अश्लील गाली गर्न लाग्छ। यसै समय उसको साथी गुणबहादुर हातमा रङ्गीन बोतल लिएर त्यहाँ उपस्थित भइदिन्छ र ती दुईबीच पेगपछि पेग थपिंदै जान्छन्। पीड़ा छ उसलाई आफू पनि जति नै घोटिएर लेख्न बस्दा पनि कवि, कथाकार, समालोचक केही बन्न नसक्नुको। नशाले मग्नसित मातेर कराउँदै हिँड्नेहरूका कुरा, बेकामे जमातका कुरा, मरिरहेका दर्जनौं युवाहरूका कुरा, बाढ़ीले डुबाएका खेतहरूका कुरा, आफ्नै घरमा आफूलाई पराय बनाइएका कुरा उसले कवितामा लेख्न चाहेको हो। तर यस्तो कुरा लेख्न चाहने त्यस महादेव विष्ट त्यो बोतलले दिएको मातले क्रमशः आफै नै मानिसदेखि अमानिस बन्दै गइरहेको छ। अहिले ऊ आफैले आफैलाई हराइपठाएको छ। ढल्दै गरेको यही शहरमा उसले आफू स्वयमलाई नै निर्वासित अनुभव गर्छ। प्रथम प्रेयसीको प्रेममा आफू असफल भएपछि सहजै हात् परिरहने गरेको तामङनी भाउजूको प्रेमलाई पनि अहिले उसले सम्झना गर्ने गर्छ। उसले आफूलाई एकजना व्यर्थको मानिस, व्यर्थको कवि, छली प्रेमी, असत् मन लिएर सत् पथमा हिंड्न चाहने एकजना ठगाहा मानिस आफूलाई अनुभूत गर्न लाग्छ। यही बिलौनाको साथमा ऊ गुणबहादुरको साथमा छ अहिले रङ्गीन पानीका घुट्काहरू पिउँदै।

            सम्झाउँछ उसलाई गुणबहादुरले यसरी दर्शन छाँट्दै, “हेर महादेव, यो प्रेम एकदम बेकामे कुरा हो। मानिसको गिदीमा आरोपित एउटा गाह्रौं भारी। एउटा दायित्व-जसलाई पालन गर्नु नै दुःखलाई निम्त्याउनु हो। यसर्थ, यो प्रेमको चक्करबाट मुक्त भई बस।’

            सायद पश्चाताप बोकेको होला यति बेला महादेवले, भनिपठाउँछ, “केही भनिनन् उनले। मैले ऊसित छल गरें यार। अनि, तामाङ सिनी भाउज्यू? चाहुञ्जेल खेलें उसको जिउसित र छरिदिएँ केही चिल्ला नोट …’ उसको कुरा बुझेर गुणबहादुरले भनिपठाउँछ, “… यो तिम्रो मानसिक विकार हो। यससित जड़ित छ तिम्रो अतीतको प्राप्तिअप्राप्तिको हिसाबकिताब। हो, साँचो हो – शहर त्यति बेला कोल्टदै ढल्छ जब बासिन्दाहरूको अधःपतन हुँदछ। भोग लालसा अनि प्रतियोगिताले यस्ता खाले पतन गराउँदछ। यो कोल्टे पराइ अथवा पतन मानसिक हो, शारीरिक होइन, बुझ्यौ?’

            अझ महादेवलाई स्पष्ट पार्न गुणबहादुर दार्शनिक झैं बोल्न लाग्छ, “असलमा शारीरिक अस्तित्व भन्ने केही हुँदैन। शरीर त निमित्त मात्र हो। असल कुरो हो – मनोजगत्। चित्त वा आत्मा। त्यस आत्मालाई जब घुनले खान्छ, तब तिम्रो शरीर ढल्दै जान्छ। तिम्रो मायाको शहरको आत्मामा घुन लागेको छ अनि त कोल्टे पर्दै गइरहेको छ सुस्तसुस्त।’

            कथामा महादेवको वर्णित चरित्र यस्तो छ – “राति गुणबहादुरहरूसित मिलेर रक्सी पिउँछ। गुणबहादुरको जीवन र जगत्-बारे सिनिकल वक्तव्य, नरबहादुरको ब्लैक जोक सुन्छ। रम्छ। मादक बन्छ। तर पनि उसका दृष्टि र मनदेखि एकै पलका निम्ति पनि ढल्दै गरेको शहरको चित्र ओझेल छैन।’

            अझ सम्झाउँछ गुणबहादुर उसलाई, “तिमी अद्भूत काम गर्दै गइरहेका छौ। जहाँतहाँ मात्र शहर ढल्न आँटेको कोल्टे पर्दै गएको देख्दैछौ। बौलाहा झैं भन्दै हिंड्छौ – एक दिन यस शहरले तिमीलाई भन्ने छ। तिमीलाई याद छैन, तिमी एबनार्मल बन्दैछौ। …’

            सह्य हुँदैन महादेवलाई यो कुरा। तब त्यो साँझ ती दुई हात मिसामिस गरेर छुट्टिन्छन्। तर विस्तारै प्रतिक्रिया यस्तो बन्दै गयो – “अफिसमा, क्यान्टिनमा, बजारहाट जहींतहीं मानिसहरू महादेवलाई प्रश्न गर्न लागे – “शहर ढल्दैछ रे? एक दिन यस शहरले तिमीसित केही भन्नेछ रे, हो?’

            तब पहिलापहिला त उसले यस्तो प्रश्नलाई हाँसेर उड़ायो। तर पछिबाट ऊ झोंकिन थाल्यो, मानिसहरू देख्दा तर्किन थाल्यो। बिस्तारै सबैबाट ऊ एक्लो हुन गयो।

            तब उसले धेरै कुरा अनुभूत गऱ्यो र ऊ “पूर्ण अस्तित्वलाई बिर्सेर नयाँ अस्तित्वको खोजीमा लागिपऱ्यो।’ त्यही अनुभूति लिएर ऊ फेरि त्यही पानी ट्याङ्कीमा उपस्थित भयो। यति बेला उसले आफ्नो “जीवन, अतीत, वर्तमान, धुवाँमय भविष्यबारे पनि विचार गऱ्यो। गुणबहादुरका कुराहरू सम्झियो – साँच्चै त हो। एक्लो – निसङ्ग जराविहीन – अपराधबोधग्रस्त छ ऊ। फेरि एकपटक चारैतिर नजर डुलायो। … अकस्मात उसलाई महसूस भयो – जुन शहरलाई उसले दक्षिणतिर कोल्टिदैं ढल्दै गरेको देखेको थियो, त्यो त यथावत् छ। सबै थोक यथावत् छ। मानिस पनि। मात्र ऊ ढल्दैछ। सुस्त! सुस्त!!’

            कथा यहींनेर टुङ्गाइएको छ। लाटो कुरा गर्नु हो भने कथा केही छैन यसमा। प्रेम-प्रसङ्गलाई अनादर गरिहिंड्ने महादेव नामले परिचित पात्रले त्यसैको प्रतिक्रिया भोग्ने गरेको कथा छ। प्रेमसित खेलाँची गर्ने हुँदा उसले लगाएको प्रेमको नाता पछिबाट भताभुङ्ग भएर गइदिएपछि उसले देख्ने गरेका सपनाको महल सबै ध्वस्त भएर गइदिएको छ। उसको प्रेमको ध्वस्त संसारलाई कथामा “शहर’-को उपमा दिएर यस कथालाई कथाकारले लेख्ने गरेकी छिन् प्रतीकात्मक रूपमा। अचेल वेष्ट मेटिरियल (waste material) लाई जान्नेहरूले काममा लगाउँदै, त्यसमा आफ्नो शिल्प भर्दै त्यसलाई अर्कै एउटा राम्रो वस्तुको रूप दिएजस्तै गरेकी छिन् कथाकारले जताततै बगरल्तै घटिरहने प्रेमप्रसङ्गको एउटा साधारण कुरालाई। अतः यस कथामा घटना पढ्नु छैन, पढ्नु छ त कथाकारले कथामा भरेको शिल्पकारीतालाई र उसको यस्तो शिल्पकारिताले कथालाई नौलो रूप दिएको विशेषतालाई।

            अर्को मलाई मीठो लागेको कथा छ “फूलमाया बृतान्त’। जीवनका गतिविधिले फूलमाया नामकी एउटी स्वास्नीमान्छेलाई फ्रस्टेटेड् बनाएको विवृति छ यस कथामा।

            शिष्ट भाषामा भन्नु हो भने घरिघरि अपशब्दहरू बोल्ने गर्दै ऊ रीसको झोंकमा। कसैले सिकाएको होइन उसलाई यस्ता अपशब्दहरूको प्रयोग कसरी गर्नु! उसको जीवनको व्यवस्थाले नै कष्ट दिईदिई सिकाउने गरेको हो उसलाई यस्ता शब्दहरूको प्रयोग कसरी गर्नेगर्नु।

            बेशहाराकी छे ऊ। जीविकाको साधन जुटाउन उसलाई औध कठिन छ। उसले आफ्नो जीविकाको व्यवस्था कसरी जोगाड़ गर्ने गर्छे, निम्न विवरणले बताउँछ — “यो त बजारमा घट्ने दैनिक घटना हो।’ साँझ पसल थाप्नेबित्तिकै परिचित पसलेहरूबाट फूलमायाले नमागे पनि केही न केही भेटिहाल्छे। तरकारीका साथै कहिलेकाहीं मच्छिवालाले ससाना भुरा माछा पनि दिन्छ। कसैले दिन्छन्, कसैले दिंदैनन्। जसले दिंदैन ऊसित तँ तँ म म गरिहाल्छे। गोरूले झैं सिंग निकालेर निहुँ पर्खिरहन्छे …’

            उक्त वर्णित कुरा भए उसका जीवनका ढाँचा। उसको शरीरिक ढाँचा यस्तो छ – “हेर्दा फूलमाया फुकीढल्छे। जीउ भन्दा हड्डी र छाला मात्र छ। अघाडिपछाडि समतल छ। सारी लगाउँदा बाँसमा बेह्रेझैं देखिन्छ। सधैं चटारो परेकाले दगुरीदगुरी प्लास्टिकको चप्पल चुइँकाउँदै हिंड्छे। बिहे बटुलमा रङ्ग खुइलिएको साइहिल सेण्डल लाउँछे। शायद त्यसको रङ्ग रातो थियो होला तर अहिले खोइरो लागेर भुत्ला खुइलिएको कुकुरजस्तै देखिन्छ।’

            उसको माइती त्यति नराम्रो अवस्थाको होइन। जीवनलाई सत्यसित भोग्दै आउने गर्दा ऊ त्यसै नै खुइलिंदै गई र अहिले बदनाम हुन गई अनाहकमा।

            कथाकारको कलमले लेखिराखेको छ कथामा – “आमाबाबु बाँचुञ्जेल मात्र छोरीको माइत हुन्छ। त्यसपछि त … नातासाइनोको घर! एउटै आमाका कोखबाट जन्मेका दाज्यूभाइले शङ्काका दृष्टिले हेर्छन्। उनीहरूका स्वास्नीका आँखा पनि बिजाउने गर्छ बिहे दिएकी छोरी, किन बारम्बार माइत धाइरहनु पऱ्यो?… माइती नभएकी छोरी! के सुख! के दुःख! मनको कुरा बिसाउने ठाउँ नै रहेन। समयले मानिससित कस्तोकस्तो खेल खेल्दोरहेछ। … आज त्यही आँगन नाता पर्नेको आँगन हुन गयो। आमाबाउ मरेर गए पनि त्यो आँगनको माटो अलिकति छुन पाए कति हुन्थ्यो। तर … उज्यालो सपना देखीदेखी अँध्यारोमा बस्ने बानी परेको मान्छे भई फूलमाया। अनि अँध्यारामा बस्नेहरूलाई उज्यालोसित के वास्ता! हाँसकुखुराले पानीमा भिजेका प्वाँख टक्टकाएझैं फूलमायाले दुःख टक्टकाउँदै सोच्छे – आऽऽ बढी सोचेर किन दुःख मान्नु!’

            … म बुझ्दैछु, कथाको विस्तार आफ्नै ढङ्गमा सुलुलुलु अघि बढ्दै गइरहेको छ। तर कथासँगसँगै कथाकारको विषयअन्तर्गत भिजन (vision) प्रस्तुतिको मिठास् पनि पढ्दैछ। लाग्छ, पारङ्गत साहित्यकाहरूको भाषाको प्रयोगमा त्यस्तै उनीहरूका छुट्टै व्यक्तिगत भाषा हुने गर्छन्। म अहिले उनको कथा पढ्ने निहुँमा कथाकार शान्ति थापाको त्यस्तै छुट्टै भाषामा प्रस्तुत उनैका गहन अनुभूतिहरू पढ्दै तीबाट पनि छुट्टै स्वाद लिने गर्न लागिरहेको छु।

            हुन पनि छोरी बढेर उसलाई बैंसले छुन लागेपछि ऊ जन्मेको घरले उसलाई त्यस घरबाट पर गराउन कति हतार गर्छ, त्यस कुराको सम्झना गर्छु जब यस कथामा फूलमायालाई बैंस छुन लाग्दा नलाग्दै कसरी अब यसलाई घरबाट बाहिर पारूँ भन्ने सोचतिर उसका आमा र बाबु लागेको पाउँछु। झन् त्यस्ती “अघाडिपहाडि समतल स्वरूपकी, बाँसमा साड़ी बेह्रेझै देखिने फूलमायालाई’ कसको जिम्मा लगाएर त्यस घरबाट बाहिर पार्ने?

            गाउँमा वीरे थियो सानैदेखि अलिक लेढेप्रो। उमेरभन्दा सानो केटो झैं बानी बेहोरा भएको। ससाना केटाकेटीहरूसित गट्टा खेलिबस्थ्यो ऊ। ठेलागाड़ी चलाउने गऱ्थ्यो गाउँ बूढ़ाको। त्यस्तो लेठप्रोलाई उसले छोरी दिने? फूलमायाबाहेक अरू सम्भव थिएन। आमा र दाजु गए कन्यार्थी भएर। कानो खोरण्डो जो आए पनि केटी दिने मन भइरहेका बेला वीरेको प्रस्ताव आउँदा के खोज्छस् कानो, आँखो हुन गयो।

            फूलमायालाई घर भित्र्याएको रात वीरेलाई आमा चाहिंले धकेल्दै कोठामा पसाएर बाहिरबाट दैलो लगाइदिनु पऱ्यो। तब अत्तालिंदै बीरे ओछ्यानमुनि छिरेर बसेको थियो। भोलिपल्टदेखि उही खाले व्यवहार-ओछ्यान-मुनि वीरे, ओछ्यानमाथि फूलमाया। यसरी दिन बित्दै गयो। फूलमाया भने “वीरेको अँगालोमा बाँधिएर उन्मत्त बन्न चाहन्थी। उसको शरीर छ। आवेग छ। प्रेम छ। इच्छा छ। सपना छ। सबै नारीले झैं उसले पनि सयमध्ये वीरेलाई नै आफ्नो ठान्छे … ऊ सँग एकाकार हुन चाहन्छे। उसलाई छुन चाहन्छे।’ समग्रतामा उसलाई महसुस गर्न चाहन्छे। उसको छातीमा टाउको राखेर निर्ढुक्क बन्न चाहन्छे। र नै आज उसले आफूलाई रोक्न मन थाम्न सकिन …’

            “राति खाइवरी वीरे ओछ्यानमे उँघिरहेको थियो। बिरालाको चालमा फूलमाया मित्र पसी र वीरेलाई ध्वाप्प अँगालो हाली। बुर्कुसी मार्दै वीरे दैलोछेउ पुगेर बाघले लखेटेको हरिणझैं तर्सिएर फूलमायालाई हेरिरह्यो।’ पछिबाट वीरे पाशोमा परेको मूसाझैं छट्पटियो। ऊ अकस्मात चिच्यायो – गुहार! गुहार! त्यसपछि दैला खोली ऊ चिच्याउँदै अँध्यारोतिर दगुऱ्यो।

            “फूलमायाले मलाई कुट्न आई। म त्यो कोठामा सुत्न जान्न। तिमरले बलजफ्ती गऱ्यो भने म घरमै बिस्तनँ।’ वीरेले घरका सबैलाई भनिदियो।

            “यस्ती अलच्छिनीलाई घरमा राख्नु हुँदैन हौ।’ घरकाहरूले मतो मिलाए। छरछिमेकमा कानेखुसी चल्न थाल्यो।

            “त्यसपछि देखि … फूलमाया अँध्यारोसित सहवास गरिरहेकी छ। एकमुठी जाउलाको निम्ति गर्नु नगर्नु सबै तोक गरिरहेकी छ। ऊ अतृप्त छे। उसको जीवन प्यासै छ! प्यासै छ! छटपटी, मात्र छटपटी। यो सिन्दुर कसको नाममा लगाएको! कसको नाममा? लोग्नेको माया कस्तो हुन्छ! कस्तो हुन्छ? आह …’

            कति सुन्दर कथा! एउटी स्वास्नीमान्छेको कलमले अर्की बेहाल स्वास्नीभान्छेभित्र सञ्चित आँसुलाई कति राम्रो उतारेकी छिन् अक्षरहरूका लस्करहरूमा कथाकारले।

            अहिले मेरो मनले भन्दैछ – “यसो हो नि कथा त!’

            फेरि मलाई मन परेको अर्को कथा हो “म हारें!’

            कथाको शुरूवातमा कथाकार आफूलाई शिकारीको उपमा दिने गर्छिन् आफ्नो पेशा अनुसार र भन्न लाग्छिन् – “मलाई यस काममा प्रेरित गर्ने अरू कोही हैन, स्वयमभित्र चल्मलाइरहने अति संवेदनशील मन हो। यो मन जतिखेर पायो त्यतिखेर भोकाबुर भइ बस्छ – मलाई शिकार गर्न बाध्य बनाउँछ। अनि यसरी दिनरात बिहान बेलुकी दिउँसोसाँझ जहिले जहाँ सुविधा पर्छ म शिकार गरिहाल्छु।’

            कथामा कथाकारले आफूलाई स्थानीय अखबारको एक फोटोग्राफको रूपमा पेश गरेकी छिन् र आफूलाई त्यहाँ “जूना’ नाम दिएकी छिन्। अखबारमा छापिनको निम्ति यस्ता चित्रहरू खोजेर उनले आफ्नो डिजिटल क्यामेरामा कैद गरेर सम्पादककहाँ पुऱ्याउने गर्नु पर्छ जसमाथि जनसाधारणको आँखा पर्नेबित्तिकै तत्क्षण नै ठूलो असर पर्ने गरोस्, एकाएक मनभित्र विचित्रताले स्पर्श गरिहाल्ने गरोस्। बस्, उसले त्यस्ता चित्रहरूको शिकार गर्दै आफ्नो क्यामेरामा थुपार्नु छ आफ्नो पापी पेटको निम्ति। यसरी उनीसित सधैं साथमा रहने गरेको हुन्छ एउटा “लाखटके (लाख रूपियाँ पर्ने) डिजिटल क्यामेरा’, एक असंवेदनशील यन्त्र। तर त्यसलाई उपयोगमा ल्याउने व्यक्ति चाहिं एकजना संवेदनशील व्यक्ति, त्यही माथि पनि उनी भइन् एक नारी। नारीको हृदय त सधैं बेग्लै तत्वले गठित भएको हुने गर्छ। उसको हृदय पुरुषको जस्तो हुँदैन, क्रूर, भग्न, भयावह दृश्यहरूसित खेल्नै सक्दैन। नारीमा सधैं कोमलताले आर्द्र रहने हृदय हुन्छ र नै ऊसित सृजनाको बीउ बसेको हुन्छ, विकारको होइन। बस्, यही विभेद्को कथा छ यस “म हारें।’ शीर्षक बोकेको कथामा।

            नारीको स्वभाव प्रकृतिको जस्तो हुन्छ, आफै रूझेर भिजेर संसारलाई सधैं सुन्दरता दिइरहने। तसर्थ नै जूना नामले परिचित ती फोटोग्राफर पनि प्रकृतिलाई अधिक मोह गर्छिन् र तिनैका फोटोहरू खिच्ने गर्छिन्। तर जनसाधारणको मनमा देख्नेबित्तिकै एकाएक उद्वेग जागृत गराएर अखबार बिक्री गराउने स्वार्थसित लिप्त सम्पादकका निम्ति उनका त्यस्ता फोटोहरू नगन्य हुने गर्छन्। तब एक दिन ती जूनाले सय ठाउँमा फाटेको नाइटीजस्तो लुगा लगाएकी केटीले आफ्ना गुप्ताङ्गहरू ढाक्ने प्रयास गर्दागर्दै पनि तीहरू भने फाटेका ठाउँहरूबाट चियाइरहेको दृश्य फेला पारिन् र त्यसैको फोटो खिचिन्। स्थानीय अखबारको फिलरको रूपमा त्यो फोटो छापियो। सम्पादकले स्टाफ्लाई देखाएर प्रशंसा गर्दै भन्छन् – “जूनाको अभिरूचिमा परिवर्तन भएझैं देखिन्छ। रूखपात, झारजङ्गल र फूलहरू छोड़ेर अचेल मानिसको तस्वीर खिंच्नलागेकी छन्। गूड्। यो यथार्थवादी मनःस्थितिको परिचायक हो।’

            यति बेला जूनालाई भन्न मन लागेको थियो – “वाह! वाह! सम्पादक महोदय, तिम्रो ज्ञानको कसोगरी प्रशंसा गरूँ! सारा विश्वमा परिवेश र जैव वैचित्र्यलाई लिएर हाहाकार चलिरहेका बेला मानिसमात्रै कसरी विषय वस्तु बन्न सक्छ हँ?’ तर यसो भन्न सकिनन् उनले। उनलाई सधैं आफ्नो पापी पेटको सम्झना भइरहने गर्छ।

            सधैंजसो आफैसितको सहकर्मी ज्ञानेन्द्रको बाइमा पछिल्तिर चढ़ेर यस्तै शिकारको खोजमा निस्कनु छ जूनालाई। त्यसपछिको भेटमा उनलाई झपारेजस्तो गर्दै उसले भन्यो “तिमी किन यति संवेदनहीन बनेकी हँ? यदि फोटो खिंचेपछि त्यो केटीको आङमा एकसरो लुगा हालेर आउँथ्यौ भने म तिमीलाई साँचो अर्थमा जीवश्रेष्ठ कलाकार मान्ने थिएँ। तर तिमी त पेशेवर कलाकार बनिदियौ।’

            जूनाको मथिङ्गल खल्बलियो। उनी दोधारमा परिन्। “… पहिला पेटको कुरा साँचो कि शिल्पको कुरा? भोकै पेटको शिल्प कस्तो हुन्छ त्यो ज्ञानेन्द्रलाई पनि थाहा छ। र त उसको शैल्पिक सत्ताले उसलाई पनि बेलाबेलामा विवश बनाउँछ। हो, ज्ञानेन्द्रले अघि भनेको कुरो म स्वीकार गर्दछु।’

            … अनि त अपराधबोधले जूनाले भोलिपल्ट त्यो केटीलाई त्यो ठाउँमा भेट्न पुगी। तर त्यो केटी त्यहाँ थिइन्। उनको पहिलो प्रेम प्रकृति अनि नशा पनि प्रकृति नै हुने गर्दा तब फर्किन् उनी प्रकृति फुल्ने हाँगाबिंगाहरूमा, फूलहरू माथि उड्ने भवँराहरूमा, गुवाहाटी शहरका मनमोहक दृश्यहरूमा, त्यहाँका हरियालीहरूमा, त्यहाँबाट देखिने सूर्यास्तका दृश्यहरूमा।

            तर ती फोटोहरू हेरेर व्यङ्ग्य कस्यो उही सम्पादकले उनलाई, “यस्ता फोटोभन्दा बरू कविता लेख्नु नै असल हुन्छ हकि!’

            ज्ञानेन्द्रको झपाराराइले ब्युँझेर फूल र प्रकृति तर्फ फर्किसकेकी जूनालाई फेरि सम्पादकको यो व्यङ्ग्यले घात गऱ्यो। तब लागिन् उनी त्यस्ता “भावविलासको जिन्दगी हैन यथार्थको जिन्दगी! सड़कको पेटीमा डङ्ग लड़िरहेको जिन्दगी! रातिको अँध्यारोमा घट्ने रोमाञ्चक जिन्दगी! रूपियाँको रास झिल्मिलाउने जिन्दगी! जिन्दगी! त्यस्ता निष्ठुर जिन्दगी!’ खोज्न र आफ्नो महँगो डिजिटल क्यामेरामा कैद गर्न।

            एक दिन यसरी नै अत्यधिक गर्मीको दिनमा गाड़ीहरूका घुइँचोमा जूना पनि चढेको आफ्नो बाइकलाई ज्ञानेन्द्रले सड़कमा जिगजाग गर्दै अघि बढ़ाउँदै बढ़ाउँदै एक्कासि उसले बाइकलाई स्टयाण्ड गरायो र आफ्ना क्यामेरा र हेल्मेट बाइकको हेण्डलमा झुण्डाइ राखेर अघिल्तिर बढ्दै गयो अनि हजारौं गाड़ी, स्कूटर, बाइकहरू कुदिरहेको सड़कबीच चल्दै गरेको सिटीबसको अघिल्तिर पुगेर हातको इशाराले उसले त्यस सिटीबसलाई रोक्न लगायो। सिटीबसको अघिल्तिर चक्काका छेउमा पल्टिरहेको एक जीवित नरकङ्काललाई लगभग घिसार्दै ज्ञानेन्द्र सड़कको पेटीतिर अघि बढ्न लाग्यो। सड़कको पेटीमा सुताएपछि त्यो जीवन्त नरकङ्कालले एकपल्ट आँखा कोली हेऱ्यो। त्यसपछि त्यसको मुख “आँ’ परिबस्यो। … “मुखबाट अन्तिम सास गएछ क्यार। प्रथिवी त्यागी जाने बेलामा उसले आँखा खोली कसलाई खोज्यो – के कति सोच्यो सम्झियो, त्यो जान्ने उपाय भएन।’

            तर एउटा कुरा चाहिं प्रत्यक्ष देखिन् जूनाले। जिन्दगी धान्य भनी अन्तिम घड़ीमा पनि उसले कत्रो पुरूषार्थ गरेको रहेछ। छेवैको डस्टबनबाट उसले भातका सिता बटुली पोलिथिनमा पोको पारेर ल्याएको रहेछ। प्राणपखेरू उड़िसक्दा पनि उसले आफ्नो हातमा समाइराखेको भातको पोको छोडेको थिएन।

            यसै बेला ज्ञानेन्द्र छेउमा आएर जूनालाई सोध्यो, “फोटो खिच्यौ?’

            “अहँ!’ जूनाले यति मात्र भनिन्।

            फेरि ज्ञानेन्द्रले सोधिपठायो, “किन?’

            तब भनिदिइन् जूनाले, “जतिसुकै बेला जिन्दगीलाई क्यामेरामा कैद गर्न नसकिंदोरहेछ ज्ञानेन्द्र। आज मेरो शैल्पिक सत्ता कटु यथार्थका सामु पराजित भयो बन्धु! पराजित भयो! म हारें!’

            अन्तमा कथाकार लेख्छिन् – मलाई बेस्सरी ढाकेर मभित्र सक्रिय भइबसेको केरियरसचेत फोटोग्राम र मबाट विछिन्न भई कता लागी कता।

            (कथा यहीं नै अन्त छ। अब सोच्नु छ, “तिमी त पेशेवर कलाकार बनिदियौ’ भन्दै जूनालाई झपार्ने ज्ञानेन्द्रले कथाको अन्तमा गरेको प्रश्नको भित्र तात्पर्य साथै यसै प्रश्नको उत्तर जूनाले जे भनेर दिएकी छिन् त्यसको वास्तविक अर्थलाई। यस्ता थुप्रै प्रत्यक्ष-अप्रत्यक्ष प्रश्न साथै भनाइहरू खड़ा गर्दै कथाकारले जुन प्रकारले यस कथालाई अन्त दिएकी छिन्, यस कथाको उचाइ यसैमा छ।)

            फेरि निकै दिनपछि कवि श्री विचन्द्र प्रधानसित मेरो गफ हुनगयो यिनै कथाकार शान्ति थापालाई लिएर। असमको लामडिङबाट प्रकाशित हुने “बिन्दु’ पत्रिकाको जून 2017 को अङ्कबाट थाहा लागेको थियो मलाई अघि नै यो कथाकारको परिचय। गुवाहाटीमा जन्मेकी यिनी र एम.ए. गरिसकेपछि changing value of women’s live in Ajneys novel माथि पी.एच.डी. गरी गुवाहाटीकै राधागोबिन्द बरूवा कलेजका हिन्दी विभागकी सहयोग प्राध्यापक पदमा रहेर जीवन धान्न लागेकी। कृतिहरूमा दुईवटा गीतिसङ्ग्रहबाहेक नेपालीमा अनुदित उपन्यासहरू “नामघर’ (1997) र “अस्तराग’ (2002), असमियाबाट हिन्दीमा अनुदित कथासङ्ग्रह “लोहित घाटी की कहानिया’ (सम्पादन, 2008), मौलिक कृति कथासङ्ग्रह “आवर्तन’, 2007, कथासङ्ग्रह “यो शहर ढल्दैछ’ – 2016, उपन्यास – “मोहनी डट कम’ 2009, सम्पादन – हाम्रोध्वनि, मृण्मय, रंगघर, पूर्वा, अन्तरंग पत्रिकाहरू, पुरस्कार – समालोचनाको निम्ति स्वर्ण पदक, अनुवादको निम्ति साहित्य अकादेमी पुरस्कार, आवर्तन कथासङ्ग्रहको निम्ति टंकनाथ उपाध्याय पुरस्कार (असम) र गुञ्जन प्रतिभा पुरस्कार, (काठमाडौं), कविताको निम्ति “दियालो’ पुरस्कार (दार्जीलिङ) प्राप्त।

            त्यो भेटमा विचन्द्र प्रधान मलाई भन्छन्, “शान्ति थापालाई डायबिटिजमात्र होइन, अरू पनि थुप्रै रोगहरू थिए सताउने। 9 जनवरी 1961 मा जन्मेकी। त्यस सिहाबले मभन्दा 14 वर्षले सानी। तर विचारमा मभन्दा साह्यै उच्च। फेरि त्यतिकै नम्र र सरल मनकी। त्यसो हुँदा मलाई आमाले जस्तै माया गर्थी र अर्तिबुद्धि दिने गर्थी। केही दैविक शक्ति भएजस्ती, कति कुराहरू अघिबाटै जानेर भन्ने गर्थी। मलाई बेलाबेलामा भनिरहने गर्थी – “जबसम्म आयु, तबसम्म वायु। म त छिटै मर्छु। तर तिमीचाहिं धेरै लामो बाँच्छौ।’ नेपाली बाहेक असमेली साहित्यमा पनि धेरै काम गरेकी। त्यस्ता कामहरू गरी भनेर उसको जन्मदिन, 9 जनवरी 2021 को अवसर पारेर असमेली साहित्यको कुनै एउटा ठूलो संस्थाले उसको घरैमा आई उसलाई पुरस्कार दिएर सम्मान गर्ने भएको थियो र त्यस दिन बिहानै उठी नुहाइधुवाइ गरी पूजा पाठहरू पनि गरी तयारी भएर बसिरहेकी थिई ऊ ती असमेली साहित्यका पुरस्कारदाताहरूलाई पर्खेर। तर त्यसै बेला अचानक हार्टफेल भएर उसको निधन हुन गयो।’

            मैले हिसाब लगाएँ, साठ्ठी वर्ष पुरा हुन गएकै दिन उनको निधन हुन गएछ। उनको प्रथम कृति देखिन्छ, 1997 मा प्रकाशित “असमेली कवितामा केही गीत’ र यसै वर्ष प्रकाशित अनुदित “नामघरे’ नामक उपन्यास। यतिका उच्च प्रतिभाकी धनी शान्ति थापाको प्रथम मौलिक कृति “आवर्तन’ कथासङ्ग्रह त 2007 सालमा मात्र प्रकाशनमा आएको पाइन्छ जब उनको उमेर 46 वर्ष पुगिसकेको थियो। मैले धेरै नारी हस्ताक्षरहरूलाई औंलामा गन्ती गर्दै हिसाब लगाउने गरेको छु, धेरैका प्रथम कृतिहरू उनीहरूका अधेड़ उमेरमा मात्र देखा पर्ने गरेका छन्। किन यसो हुने गर्छ हाम्रो साहित्यमा? यो प्रश्नलाई सोच्न लाग्दा प्रत्युत्तर म आफैभित्रबाट निस्कन्छ, कतैबाट कुनै थाँक्रो नपाई आफै घस्रिएर, आफै तङ्ग्रिएर फुल्नु र फल्नुपर्दा धेरै समय लाग्ने गर्छ उनीहरूलाई। मुख्यतः चुह्लासित अधिक प्रेम गर्ने स्वभावको कारणले पनि उनीहरूले त्यस्तो चुह्लाबाट उम्केर केही फरक काम गर्ने मौका नै पाउँदैनन्। सायद यो कुरा शान्ति थापाको जीवनमा पनि अपवाद थिएन।

            यस्ता कुराहरू सोचिसकेपछि फेरि म उनको अर्को कथा “निरव साधना’ पढ्नतिर लाग्छु।

            कथामा दुईवटा पात्रहरू छन् – एक स्वयम् कथाकार अनि अर्की उसैकी साथी। दुवै छुट्टिएर फरकफरक मात्रामा छन्। कथाकार चेन्नाई जाँदैछे र उसकी साथी लद्दाख। एउटीलाई बङ्गोपसागरको विशालता हेर्ने रहर छ भने अर्कीलाई त्यही सागरको उद्गमस्थल हेर्ने उत्कट चाहना छ।

            यात्राबाट फर्केर आएपछि ती दुई आ-आफ्ना अनुभव अनुसार आपस्तमा नीरवता (Silence) माथिको बोध प्रकट गर्न लाग्छन्।

            कथाकारले त्यही “नीरवतालाई प्रेम गर्ने पाठ सिकेर आएकी छु र प्रकृतिसित प्रेमको बाह्रखरी पनि पढ्न लागिरहेकी छु’ भन्नलाग्दा उसकी साथी यसै नीरवतामाथि वहन उठाउन लाग्दछे।

            कथाकार तब त्यस नीरवताको व्याख्या गर्दै भन्न लाग्छे – ” Silence in oneness ‘ यो द्वैतदेखि माथि छ। अर्थात् सुखदुःख, हर्षविषादबाट जेजाति टाढ़िन सक्छ ऊ उति नै नीरवताको छेउमा पुग्न सक्छ।

            यो पढ़ेर मैले सम्झें, उसो भए कथाकारले के यो नीरवतालाई ईश्वरीय अस्तित्वको संज्ञा दिन खोजिरहेकी हो यो कथामा? यति बेला अचानक मलाई 3 डिसम्बर 2017 को दिन उनले लेखिराखेकी कविताको सम्झना आयो, जो यस्तो छ –

म कामरुपा बोल्दै छु

म जागें

शान्तनुकुलनन्दन

म जागे!

लुइत किम्बालोहित

ओ ब्रह्मपुत्र

म जागें।

तिमीलाई याद होला

शवलाई शिव

शिवत्वलाई शवसरि

तुल्याउनमा ममा शक्ति छ।

खाँचो पर्दा

शिवको उदाङ्गो छातीमा

नरमुण्डाको यस्ता पहिरी

नृत्यरत् बन्छु म

महाकाली कहन्छु म!

म तन्त्र साधनाकी सिद्धिदात्री

योगिनीतन्त्रकी योगिनी

मेरा रूप अनेक

तिमीलाई भेंड़ो बनाउने

क्षमता छन् ममा अनेक

सुनेका छौ होला

लालहीराको कथा।

सुन सुन सुन

जाग जाग जाग

ए अदुरदर्शी बाजेका अदुरदर्शी सन्तानहरू

लास्य त्याग

ताण्डव गर

मातृपूजाको भयो बेला

गर्दछु आह्वान

मन्त्रपुत समयमा

जगाऔं हरेक सन्तान

म कामरूप बोल्दैछु।

(संक्षिप्त रूपमा प्रस्तुत)

            हिन्दू मीथलाई कवितामा प्रयोग गर्दै नारीले नारीलाई जागृतिको निम्ति गरिएको आह्वानको कति सुन्दर प्रस्तुति! शव-शिव-शिवत्वजस्ता हिन्दू दर्शनलाई कवितामा प्रयोग गर्दै पोख्न उनी कति पोख्त! तब फेरि मैले त्यही वाक्यलाई दोहो­याउँदै पढें – ” Silence in oneness यो द्वैत देखि माति हुन्छ। … अर्थात् – सुखदुःख हर्षविषादबाट जो जति टाढिन सक्छ ऊ ठति नै नीरवताका छेउ पुग्न सक्छ।’ अर्थात् Silence = एकत्व, अर्थात् एउटैमात्र, अर्थात् अद्वैत। … हो रहेछ, हिन्दू दर्शनतर्फ उनको झुकाव रहेछ।

            वेदको अद्वैतवाद दर्शनले ब्रह्माण्डका विविधकरणमा कुनै अन्तर मान्दैन, त्यस्ता विविधताको जड़ नै अद्वैतवाद हो भन्ने गर्छ। जसरी माकुराले आफ्नै किसिमले जाल बुनेर फिजाउँछ र त्यसलाई फेरि आफ्नै हिसाबले आफूमा फिर्ता लिने गर्छ, ठीक उसरी नै ईश्वरले आफूबाट मानव आत्मा र उसको संसार सृष्टि गरेर कलान्तरमा फेरि आफैमा फिर्ता लिने गर्छन्। यस दर्शन अनुसार मनुष्य पनि ईश्वरकै अंश हो भन्ने बुझिन्छ। यही अद्वैतवादलाई भारतीय दर्शनमा “माया’ भन्ने गरिन्छ। तर द्वैतवादमा ईश्वर र मनुष्य बेग्लाबेग्लै हुन्। ईश्वर ईश्वर नै हुन् र मनुष्य मनुष्य नै।

            कथाकारले कथामा “प्रकृतिसित प्रेमको बाह्रखरी पढ्न लागिपरेकी’ कुरा गर्छिन्। वैदिक दर्शनमा प्रकृतिलाई स्त्री (Feminine) मान्ने गरिन्छ। विश्वका जीवहरू देख्नमा कोही पुलिङ भए तापनि ती सबै स्त्री नै हुन्। प्रकृति नै स्त्रीलिङको हो। प्रकृति परमेश्वर की अर्धाङ्गिनी, अर्धनारीश्वरी हो। ईश्वर अर्थात् परमात्मा मात्र पुरुष हुन् र जममै मानिसजाति स्त्रीलिङ्गीय हुन्। तसर्थ माकुराले बुनेको जालो जस्तै हुन् दुःख र सुख। केवल भ्रमहरू – भ्रमित सत्यहरू। यसैकारण जो जीवनका यस्ता दुःखसुख, हर्षविषादबाट जति टाढ़िन सक्छ उति नै ऊ नीरवता (मोक्ष?)-को छेउमा पुग्न सक्छ भन्ने वैदिक अवधारणालाई यहाँ कथामा प्रस्तुत गरिएको पाइन्छ।

            भन्छिन् एक ठाउँ कथामा कथाकार – “प्रेमबस्दा एक नयाँ रूपमा स्वयम्-लाई महसुस गरेझैं नीरतवतामा पनि हामी स्वयंलाई महसुस गर्न सक्छौं। अनि त्यो नै हुने गर्छ हाम्रो असल अस्तित्व।’ यसरी यहाँ नीरवता=Silence लाई निराकार ईश्वरको स्वरूप मानेर उनैमा एकाकार हुनुलाई नै मान्छेको वास्तविक अस्तित्व अनुभूत गर्नु हो भन्ने गरिएको पाइन्छ।

            फेरि अर्को ठाउँमा कथाकार भन्न लाग्छिन् – “जबसम्म दुईवटा मुटु अलग रहन्छन् त्यति खेर शब्दहरूको खाँचो रहन्छ। दुई मुटु एक भएपछि शब्दहरूको खाँचो पर्दैन। शब्दहरूले भिन्नता र दुरत्व ल्याउँछ। तर नीराकारले एकाकार बनाउँछ। यो एक यस्तो शक्ति हो जसले लक्ष्य प्राप्त गर्नमा पथ प्रदर्शक बनेर मदत पुऱ्याउँछ।’

            यहाँ फेरि वैदिक दर्शनको अर्कै गढ़ तथ्यलाई प्रस्तुत गरिएको पाइन्छ। अद्वैत ईश्वरबाट सृजित मनुष्य पर अथवा पृथक रहुञ्जेलसम्म मनुष्य फेरि उनै ईश्वरसित एकाकार हुन उनै ईश्वरलाई पुकार्न आराधना भजन, मन्त्रादि (शब्दहरू)-को खाँचो मान्छेलाई पर्ने गर्छ। तर जब दुवैको आत्मा जोड़िएर एकाकार हुने गर्छ तब ईश्वरलाई पुकार्न मान्छेलाई अक्षरहरूको आवश्यकता नै पर्दैन। वैदिक दर्शन अनुसार ईश्वरमालीन रहन अक्षरी साधनादेखि विस्तारै नीरक्षरी साधनामालीन रहने गर्नुपर्छ भन्ने गरिएको पाइन्छ। यस्ता नीरक्षरी साधनाहरू हुन् एकाग्र मौन ध्यान तथा तपस्या। यसर्थ माथि प्रयुक्त शब्द “लक्ष्य’ (अर्थात् मोक्ष) प्राप्त गर्न यस्ता ध्यानहरूले मदत पुऱ्याउँछ भन्ने गरिएको पाइन्छ यहाँ।

            यसै कुरालाई पुष्टि गर्न कथाकार अझै भन्छिन्, “लामाहरू भन्ने गर्छन् – मौन रहे आत्म अनुशासन मात्रै हुँदैन, आत्म नियन्त्रण पनि बढ्दै जान्छ।’

            यस्ता आध्यात्मिक सोचप्रति लहरिंदा लहरिंदै फेरि उनी आफ्नो वर्तमान जिवाइप्रति पनि सोच्न तर्फ लाग्छिन्, “आजको बढ्दो कोलाहलबीच मौन भइबस्यो भने अस्तित्व कायम रहिरहला?’

            राति निद्रा लाग्दैन उनलाई। तब फेरि उनी यसै विषयमाथि सोच्नतर्फ लाग्छिन्। तब अघिको आफ्नो विचारको खण्डन गर्दै फेरि उनी सोच्नतर्फ लाग्छिन्, “वाकृ अधिकारै होस् अथवा अन्य अधिकार बौलाहाले झैं व्यवहार गर्नु स्वाधीनता होइन्।’

            मान्छेसित एकातिर आत्मा छ भने ऊसँग अर्कोतिर देह पनि छ, जसद्वारा आफूलाई बोध गर्दा त्यसको पनि मर्यादा राख्नुपर्छ। मान्छेमा मन हुन्छ, मनमाथि बुद्धि र बुद्धिमाथि आत्मा। मनलाई बुद्धिले, बुद्धिलाई आत्माले नियन्त्रण गर्नु पर्छ भन्छ अध्यात्मवादले। तर मान्छेमा आत्मासित देह पनि हुन्छ। तब “म’ भनेर कसलाई सम्बोधन गर्नुपर्ने? “म’ भनिने आत्मा हो कि देह हो? “म’-लाई चोट पर्दा आत्मालाई दुख्छ कि शरीरलाई?

            कथाकार यी दुई तत्वमाथि मध्यनजर दिंदै घरि उनी आत्माको तुष्टिको पक्षमा तर्क उठाउने गर्छिन् ता घरि देहको तुष्टिको पक्षमा।

            भन्छिन् उनी एक ठाउँ, “यो निसँगता होइन। यो व्याख्यातीत अनुभूति हो। यसले अस्थिर मनलाई सन्तुष्टि दिन्छ – आत्मा-सन्तुष्टि। एक बुझाउन नसकिने प्रशान्ति।’

            आफ्नो रोगको कारण कथाकार रेडियोथेरापी लिने गर्छिन् प्रत्येक दिन। यसरी “बीस मिनटजति नीरवताले (उनको) शरीर र मन सजीव हुन्छ प्रत्येक दिन।’

            तब आफ्नो अनुभव अनुरूप अन्तमा निर्णायक रूपमा उनी भन्न लाग्छिन्, “एक दिन एकजना सन्तले भनेका थिए – नीरवता ऐश्वरिक अनुभूति हो। यो हाम्रो अस्तित्वको निर्मल स्वरूप हो। यस आवाजविहीन अनुभूतिले मनको अस्थिरता कम गर्छ। मनमा उदय हुने सहस्र प्रश्नको जवाफ दिन्छ। एकोहोरो बोलिरहनुभन्दा केही बेर चुप बस्नु बेस। अर्काको कुरा सुन्नु पनि कला हो। कुरा नगरी जीवनयात्रा गर्नु असम्भव हुन्छ तर सीमित परिमाणमा भए उत्तम हुन्छ। नीरवता अवलम्बन गरिरहेको बेला चराचुरूङ्गीको चिरबिर, बादलको गड्याङ-गुड़ुङ, झरीको रिमझिम, खोलाको कलकल सुन्न सके, फूलको सुवास सुँघ्न सके जीवनमा प्रशान्ति अनुभव गर्न सजिलो हुन्छ। तिमीले नीरवता सुन्न सक्छौ, देख्न सक्छौ अनि सुँघ्न सक्छौ। तिमीले नीरवता चाख्न सक्छौ अनि अनुभव गर्ने सक्छौ।’ यो मेरो भनाइ हैन। यस्तो भन्न त लामो अनुभव चाहिन्छ – म अहिलेघरी यस अनुभव पथबाट गुज्रिँदै छु – प्रत्येक दिन।

            अर्को कथा “हिसापकिताप’ पढिसकेर पाएको स्वादलाई मैले मनन गर्न लागें, घटनालाई नै मात्र कहाँ कथा भन्नु हुँदोरहेछ र! बजारका धागो दोकानतिर रहेका थरीथरीका रङ्का लच्छाहरू त रहेछन् नि घटनाहरू भनेका त! तीमध्ये एउटालाई मनले खाएर टिंपेर कलमले प्याटर्न भर्दै जति राम्ररी गुन्दै र बुन्दै लग्यो उति नै त्यो राम्रो देखिने गर्दोरहेछ। तब पो कथा कथा नै भएर निस्कने गर्दोरहेछ। मलाई उनको यो अर्को कथा “हिसाप किताप’ पढ्नलाग्दा यो कुरा थाहा लाग्न गयो।

            साह्रै सामान्य घटना छ यस कथामा। स्कूले शिक्षा सिध्याइ सकेर कलेज पुगेपछि पाइने खुला स्वतन्त्रता यस कथाको मटेरियल भएर उपस्थित छ कथामा र बुनाइको काँटाले जोखीजोखी त्यसमा कथाकारले आफ्नै ढङ्गका नयाँपनका प्याटर्न भर्दै एउटा छुट्टै स्वरूपको दर्शाउने गरेकी छिन् यस कथालाई।

            पढ्नमा कुशाग्र रहेकीले प्रवेशिका परिक्षा प्रथम दर्जामा पास गरेर कलेज पुग्नलाग्दा उपहारस्वरूप सरकारी कम्प्यूटर हात लागेपछि अनि उसका बाबुले पनि पढ्नमा सहायक हुन्छ भनेर उसको लागि त्यसमा इन्टरनेटको सुविधि जड़ान गराइदिएपछि कताकी पात्राले त्यसबाट फेसबूक र ह्वाट्सएपको रमाइलो दुनियाँ हात पार्दै जाने गर्छे। तब त्यही उमेरको कुखुरे बैंस कसरी मादकताको पोखरीमा मनपरी चुर्लुम्म डुब्ने गर्छ त्यसको छोटो कैरन कथामा यसरी प्रस्तुत छ – “मोबाइलका छोटाछोटा म्यासेज अनि लामालामा कुराकानी – जीवन कति रङ्गीन! कति अनुपम! मीठामीठा मनपर्ने शब्दहरू! जीवनमा पहिलोपटक सुखको अनुभूति हुँदैछ। भर्चुवल सुख। सुख र मजाको ताल्चा यतिखेर मेरो हातमा मात्रै छ … हो, हो मेरा हातमा मात्रै! यो दुनियाँ मेरो मुट्ठीमा कैदछ। जसरी मनलाग्छ नचाउन सक्छु।’

            त्यस्तो नौलो आनन्दको अनुभूतिमा मस्त रहिरहेको समयमा त्यस कलेजियन केटीलाई उसकी आमाले “मेघा… मेघा’ भन्दै बोलाउँदै उसको त्यो रमाइलो संसारमा एकाएक बाधा पुऱ्याइदिंदा उसको स्थितिको वर्णन यसरी प्रसुत पाइन्छ – “उसको दुनियाँ, हैन, हैन रङ्गीन दुनियाँलाई कसले रङ्गीन बनाउन चाहन्छ हँ? दैलामा आमालाई देख्ने बित्तिकै दिक्क लागेर आउँछ।’

            “किन नलाग्नु दिक्क? स्वाभाविक हो दिक्क लाग्नु। आमाले लाइक गर्न जान्तिनन्। तँ राम्री छस् भनेर प्रशंसा गर्न जान्दिनन्। जाने पनि के मूल्य छ र? … मूल्य त ती म्यासेजहरूको छ जो उसको सपनाको राजकुमारले पठाउने गर्छ। कति मादक हुन्छन् उसका म्यासेजहरू। पढ्नेबित्तिकै मनका साथै शरीर पनि उन्मत्त बनिदिने गर्छ।’

            अहँ, डरभर केही छैन अब त्यस पात्रालाई। उसले कतै कोटेशन पढ़ेकी छे – “डर के आगे जीत है।’ तब के छ त यत्रो ठूलो प्रेरणा हात लागेपछि।

            तब! त्यही प्रेरणाको फलको रूपमा एक दिन “काखमा नानी आयो। सपनाको राजकुमारले अर्कै राजकुमारीको खोजीमा सुइँ-कुच्चा ठोक्यो। अहिले उसका सबै एकाउन्ट्स् शट डाउन छन्। …’ 

            तब! “भोकको ज्वाला ओझाउन नगर्नु गरें! हिजोसम्मका मुखौटाधारी तथाकथित मित्रहरूले झूटो आश्वासन दिने आड़मा लुट्नसम्म लुटे। बेस्सरी पेलेर रस निकालेको उखुको सिट्ठी झैं भएको छ – शरीर र मन! मर्न पनि सक्तिनँ! जिउन पनि सक्तिनँ। बड़ो निष्ठुरी रहेछ यो दुनियाँ!’

            तब पछि परिणाम भोग्नलाग्दा त्यो स्थितिमा भोको पेटले न प्रेम गर्न सक्दोरहेछ न त रून नै सक्दोरहेछ। उपाय केही नलाग्दा पाशोमा झुण्डिन अघि बा’लाई म्यासेज गरी उसले। तर झुण्डिने प्रबन्ध मिलाउँदा मिलाउँदै बा’-को म्यासेज आयो, “फिर्ता आऊ नानी। फिर्ता आऊ। अझै पनि अबेर भएको छैन। जीवन फेरि शुरू गर्न सक्छौ। आऊ नानु आऊ। हामी पर्खिरहेका छौं। चाँड़ै आऊ।’

            तब – “बा’ले हाल्दिएको सुनको औंठी बेचबिखन गरे भेटेको रकमले यात्राको खर्च बेहोरेर पर्सिपल्ट’ ऊ आफ्नो परिचित जन्म ठाउँ आइपुगी। बा’आमा सधैंझैं आज पनि बाहिरै बसेका थिए। देख्ने बित्तिकै हुरिंदै गेटसम्म आइपुगे – रूनसम्म रोए। बा’ले एयरब्याग लिंदै भित्र लाग्न खोज्दा “च्याँ’ गरी पिठ्यूँको नानी रोयो।

            “एकछिनसम्म बा’आमा ट्वाँ परिबसे। त्यसपछि बौरिदै प्रश्न गरे – “को हो?’

            आँखाको आँसु पुस्दै उसले जवाब दिई – “मेरो वर्तमान।’

            कथा यतिमा नै अन्त हुनगएको छ। साँच्चै यो अन्त्य कति साङ्केतिक छ, केवल “मेरो भविष्य’ जस्ता दुईवटा शब्दहरूका प्रयुक्तिमा! कति सिद्धहस्त प्रमाणित हुन गएकी छिन् कथाकार कथाका अन्तका यी दुईटा शब्दहरूबाट। कतिबिघ्न प्रश्न र अर्थहरू समेटेर उपस्थित छन् यहाँ यी दुई शब्दहरू। यस कथाको सफलता यी दुई शब्दहरूले नै बोकेका छन् पाठकहरूको निम्ति!

            अर्को कथा “तर पनि केही रहिजानेछ’ पढ़िसकेर मैले मनमनै सम्झें यो कथा थोरै मात्र हो वर्तमानको। भनुँ, वर्तमानबाट शुरू गरेर भविष्यमा पुऱ्याई त्यहाँ टुङ्ग्याउने गरिएको कथा!

            मटेरियलिस्टिक भावनाले मान्छेलाई कहाँ पुऱ्यायो हँ, अचेल? के मान्छे म्याटरमात्र बन्दै जाँदैछ त? अङ्ग्रेजीमा पो Heart को अर्थ मुटु पनि हुन्छ र हृदय पनि हुन्छ। तर हाम्रो भाषामा त मुटु र हृदयको अर्थ अर्काअर्कै छन्। मुटु त जड़ वस्तु हो, मासुको शारीरिक अवयव। तर हृदय भनेको मानवमित्रमात्र सञ्चालन भइरहने एक ठोस् चेतनातत्त्व!

            यहाँ कथामा मान्छे अब त्यही Heart शब्दको दोहोरो अर्थ मध्ये केवल मासुको अवयवःसित मात्र सम्बन्धित रहने गरेको कुरालाई प्रस्तुत गरिएको पाइन्छ। सतरी वर्ष पुगिसकेकी बुढ़ी आमालाई अघि चालीस वर्ष पनि नपुगी उनलाई उनको लोग्नेले मरेर छोड़ेर गएपछि उनैको सतमा बसेर छोराछोरीलाई पढ़ाइलेखाइ गराउँदै हुर्काएर तिनीहरूको बिहेदानसमेत गरिदिएपछि र ती सबै आ-आफ्ना गुँड़हरू सम्हाल्नतिर लागिसकेपछि अहिले उनी छोरोको साथमा बस्न बाध्य छिन्। उनले लोग्नेको पेन्सन पनि पाउँछिन् र उनलाई पाल्नुको बोझ बोक्नु छैन उनको छोराले। तर बिहे गरेपछि छोरो जोइटिङ्ग्रे भइदियो। तब ती सत्तरी वर्ष पुगिसकेकी आमै निरन्तर आफ्नी बुहारीको ज्ङ्गाइमा परेर “पकाउने भाँड़ाहरू सिङ्कमा मस्काउँदै बड़बड़ाउन लाग्छिन् – “म पापिनीलाई काल पनि आउँदैन।’ फेरि के सम्झिन् कुन्नि, भान्साघरको एकछेउमा रहेको उनको ओछ्यानको सिरानमाथि झुण्डाइएको एक घूसर फोटोतिर धारे हात देखाउँदै बड़बड़ाइन् – “तिमीलाई के? मलाई यो भवसागरमा एक्लै पारेर आफूचैं माथि एक्लै मज्जा गरिरहेका छौं।’

            “म हिंड़े। ढोकामा ताल्चा लगाउनुहोस्।’ भन्ने बुहारीको चर्को स्वरले आमैको बड़बड़ाउने क्रम रोकियो। बुहारीले यसरी बड़बड़ाएको सुनी भने रातिको छाक भाग्यमा जुट्दैन। “हुन्छ। हुन्छ’ भन्दै आमैले बुहारीले दिएको आदेश पालन गर्न अगाड़िको बरण्डामा रहेको ग्रीलको गेटमा ताल्चा लगाउन लाग्छिन्।

            ताल्चा नमारे ढुकिबसेकाहरूले घाँटी अँठ्याउन बेर लाउँदैनन्। श्रीसम्पत्ति लुटेर साक्षीसमेत मेटाउन उनीहरू बूढाखाड़ाको जीवन तै समाप्त गर्न तम्तयार रहन्छन्। त्यही भनेर घरका चारैतिर अभेद्य किल्ला बनाएर रहनुपर्ने संस्कृतिको अनुशरणमा महानगरिक जीवनको अभिशाप भोग्दै बाँच्ने गरेकी आमै उनी!

            डर छ सधैं उनलाई – “उनको भागमा परेका काम राम्ररी गरिनन् भने परार साल पल्ला घरकी शर्मीनी बुढ़ी हराएझैं अकस्मात् उनी पनि हराउने छन्। कति सोधपूछ गर्दा पनि थाहा लागेन। …’

            त्यही घरमा कथाकार पेइङ-गेष्ट भएर बसेकी छिन् र एकदिन ती आमै बिसञ्चो रहेकी थाहा पाएर उनी उनलाई “चिसो-तातो’ सोध्न आएको समय उनैको कोठामा रहेको कुर्सीमा कथाकारले उनलाई बस्नोस् भन्दा उनी बस्न मान्दै मान्दिनन्। भन्छिन्, “भो बाबू, म यसै ठीक छु। भरे थाहा पाए भने घरै उचाल्ने छन्।’

            तब “किन आमै?’ भनेर सोद्धा उनी भन्छिन्, “बाबु, म अलि साफसुग्धर बस्न जान्दिनँ, त्यसउसले मनाही गरिएको छ।’

            फेरि “कसले?’ भनेर सोध्छिन् कथाकार। ती आमै भन्छिन्, “कसले हुने, त्यही जोइटिङ्ग्रेले। भनेको कुरा नमानेर जथाभावी गऱ्यौ भने बूढ़ाबुढ़ी बस्ने ठाउँमा छोड़िदिन्छु भनेको छ बाबै। डर त मान्नै पऱ्यो।’

            “हैन, किन डराउनु पऱ्यो र आमै, तपार्इंका नाममा पेन्सन छँदैछ नि।’ कथाकार भन्छिन्।

            कथाकारको भनाइ सुनेर आफू त्यस्ता हेला सहेर पनि आफ्नो छोरोसित बस्न बाध्य भएकी गूढ़ कारण यसरी बताउन लाग्छिन्, “मर्ने बेलामा मुखमा पानी कसले हालिदिन्छ बाबू! प्राण पो उड़िजान्छ, यो शरीरको सत्गति त गर्नै पऱ्यो नि। गर्ने उही हो। त्यसो हुँदा नै डराउने गर्छु। अब कति दिन छ र बाबू! लामो समय बितिहाल्यो।’

            एकदिन यति गरिराख्नू भनेर अह्राइराखेका कामहरू ती आमैले भुसुक्कै बिर्सिपठाइछिन्। त्यही विषयमलाई लिएर कचकच गर्न लागेकी बुहारीले दैलोजोरले बन्द गरेको आवाजले ती पेइङ गेष्ट कथाकारलाई समेत तर्सायो। केही बेरपछि बुहारीले ती पेइङ गेष्टको निम्ति खाना उनकै कोठामा नै दिएर गई। के चाल पऱ्यो र आज उनलाई खाना उनकै कोठमा ल्याइदिई भनेर कथाकार बुझ्न बाहिर आउँदा त्यो माघको कठ्याङ्ग्रिने जाडोमा ती आमै थरथर काम्दै बन्द दैलोअघि उभिरहेकी उनले देखिन्। उनले बुझिन् – “आज छोराबुहारीले दैलो खोल्दैनन्। अंशबण्डामा परेको काम नगरेको सजाय!’

            तब कथाकार स्वाट्ट कोठामा र आफ्नो एयरब्यागमा आफ्ना सरसामानहरू कोचारिन् र सुटुक्कै ती आमैलाई तान्दै भित्र लयाई उनलाई दिइएको खाना ती आमैलाई दिइन्। आमैले ती सबै खाइसकेपछि उनलाई सुताउन ओछ्यानमा ल्याइन्। बुढ़ी मान्छे, एकछिनपछि त्यहाँ मस्त भएर निदाइन्। भोलिपल्ट कागजको एक टुक्रामा घरमालिकलाई यसरी सूचना नदिई गएकोमा कथाकारले माफी माग्दै पत्र लेखी उनीहरूको दैलोअघि एउटा ढुङ्गाले अँठ्याइराखिन्। हिंड्ने बेलामा उनले एकपटक आमैतिर हेरिन र मनमनै सम्झना लागिन् – “मस्त निदाइरहेकी छन्। शायद वैतरणी तर्दैगरेको सपना देख्दै होलिन्।’

            कति सशक्त ढङ्गमा दर्शाइने काम गरेकी छिन् कथाकारले यस कथामा महानगरीमा बस्ने मान्छेले Heart शब्दका दुई पर्यायवाची शब्दहरू हृदय र मुटुमध्ये हृदयलाई हराएर केवल मुटु मात्र आफूमा सञ्चालन गराउँदै बाँच्ने गरेको एउटा उदाहरण। सम्भवतः मानिसहरू आज यति कठोर कतै भइहालेका छैनन् भने पनि आगामी निकट दिनहरूमा यस्तै हुनेछन् – कथाकार सायद यसो भन्न लागेकी छिन्।

            “मोक्ष’ कथामा विगत अन्धो परम्पराले हेपेर बेहाल बनाएको एउटी नब्बे वर्षकी महामाया नामकी बुढ़ियाको कथा प्रस्तुत छ। विवेकशून्य बनाइदिएको छ उनलाई त्यो परम्पराले। जीवनलाई सम्पूर्णरूपले हराइ पठाएकी छिन् उनले। हाँस्ने ठाउँ कतै पनि नराखिदिएर अनि वर्तमान भोग्ने ठाउँ पनि कतै नराखिदिएरखालि अतीतको मधूरो स्मरणमा लोलिएर बाँच्न बाध्य गराइएको वृद्धाको कथा छ यहाँ। आँखा खुलिएको समयमा समेत सधैं अचेत रहने गरेकी ती वृद्धा झन् तन्द्रा अवस्थामा त निर्धक यसो भन्दै बरबराउने गर्छिन् – “बुझ्यौ नानी, उनले मलाई गौरी दान थापेर ल्याएका थिए। म आठ वर्ष पनि पुगेकी थिइनँ। आठ वर्षकी कन्यालाई गौरी भनिन्छ। गौरी दान थाप्नु बड़ो पुण्यको काम हुन्छ रे। पुण्य कमाउन भनी उनले मलाई बिहे गरेर ल्याए …’

            सत्तरी वर्षको वृद्धले पुण्य कमाउने केवल आठ वर्ष पुगेकी ती कन्यालाई बिहे गरेको निहुँमा गरिएको कत्रो अपराध! तर बिहे गरेको दुई महिनामा नै मरेको त्यस बूढ़ाको काजकिरिया गर्न भनेर उनलाई उसैको घरमा लगेको दिन पुरोहितले “आफ्नो लोग्नेको अनुहार सम्झेर ढोग’ भनेर उनलाई भन्दा उनले ती पुरोहितलाई “मैले त उहाँको अनुहार देखेकै छैन – कसलाई सम्झेर ढोगूँ भन्दा “त्यसो भए ईश्वरलाई सम्झेर ढोग’ भनेका थिए ती पुरोहितले र उनले त्यसै गरेकी थिइन्। विगत परम्पराको कत्रो घृवित अट्टाहस् अभिव्यक्त छ यहाँनेर! कत्रो क्रूर विडम्बनाले घात गरिएको रहेछ ती वृद्धालाई उनी आठ वर्ष मात्र पुगेकी उमेरदेखि नै। उही राक्षसलाई ईश्वरकै प्रारूप सम्झेर तत्पश्चात् जीवनभरि कुमारी रहने गरेकी ती वृद्धा!’

            सोध्छिन् कथाकार उनलाई, “अनि तपार्इंले दोस्रो विवाह गर्नुभएन?’

            मथिङ्गल नै हल्लाउने कति घातकती वृद्धाको यो प्रत्युत्तर! भनिन्छन्, “शिव! शिव! किन मलाई रौरव नरकमा जाक्न चाहनुहुन्छ नानी! हाम्रो शास्त्रमा बाल विधवाले दोस्रो विवाह गर्ने नियमै छैन। म कसरी शास्त्रको नियम तोड्न सक्छु!’

            सोध्छिन् तब फेरि उनलाई, “त्यसो भए आठ वर्षबाट नब्बे वर्षसम्म के काम गरेर गुज्रान गर्नुभयो त?’

            भन्छिन् फेरि उही कुरा, “ईशोरको नाम जपेर नानी, ईशोरको नम जपेर। उनकै सतमा बसेर ईशोरको नाम जपिरहेकी छु। तार्लान् नि उनले!’

            यो प्रत्युत्तर सुनेर कथाकार एउटा ठूलो प्रश्न गर्छिन् मनमनै, “यो जीवनको भोगपछि निर्वाण नै लक्ष्य हो भने जीवन सफल तुल्याउन गरिने युद्धको के अर्थ?’

            अघिल्लो दिन एक अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा समाजमा नारीको स्थानबारे कार्यपत्र पढ़ेर वाहवाह पाएकी ती कथाकार। भन्न लाग्छिन् उनी फेरि मनमनै, “आज बुद्धको निर्वाण प्राप्तिमा यशोधराको त्याग र महामायाका श्रीमानले पुण्य कमाउन ग्रहण गरेको गौरीदानले हिजोको मेरो गौरव एकैपटकमा भुइँमा बजारिदियो – उहिले र अहिले।’

            ती वृद्धालाई यसरी वृद्धाश्रममा रहेकी ती वृद्धाको बन्की परेको अनुहारमा अझ पनि एक अचम्मको आकर्षण देखेर सोध्छिन् कथाकार ती वृद्धालाई – “अहिले पनि यति राम्ररी हुनुहुन्छ तपार्इं, बैंसमा झन् कति राम्री हुनुहुन्थ्यो होला?’

            “खै नानी, कस्ती थिएँ कुन्नि। मलाई त ऐना हेर्न पनि जुरेन।’

            “किन आमै?’ सोध्छिन् कथाकार।

            “उस बेला विधवालाई ऐना हेर्न कहाँ दिइन्थ्यो र बाबै!’

            त्यस वृद्धाश्रममा बसेकी पचास वर्ष पनि नाघिसकेकी ती विवाहित भन्ने उपमामात्र पाएकी वृद्धालाई भेट्न आफन्तहरू कोही आउँछन् कि भनेर कथाकारले सोध्धा भन्छिन् उनी, “खै अहिलेसम्म त आएका छैनन्। आउलान् नि।’

            यस्ता क्षीण आशामा रूमलिएको वृद्धाको प्रत्युत्तर सुन्दा लेख्छिन् कथाकार, “त्यस दिन मेरो नेट युगको घमण्ड चकनाचुर भएको थियो। महामायाले खपेको पीड़ाले मलाई गर्नुसम्म गरेको थियो! कसरी एकजना मानिस आठ वर्षदेखि नब्बे वर्षसम्म ईश्वरको नाम मात्र लिएर जीवन यापन गर्न सक्छ! आफ्नो सुखदुःख, आशाआकाङ्क्षा, भोकतिर्खालाई कसरी दबाउन सक्छ!’

            यस्तै कुराहरू कथाकारको मनमा खेल्नलागिरहेको समयमा ती महामायाको मधुरो स्वरले “पानी …’ भन्न लागेको सुनेर कथाकार अकस्मात् झस्किन्। उनको टाउको अलिकति उचालेर कथाकारले पानी खुवाइदिएपछि उनी केही बेरका निम्ति बौरिन् र भन्न लागिन्, “नानी, अलिकति गङ्गाजल मुखमा हालिदेऊ। अब मेरो जाने बेला आयो। वर्षौं यही गङ्गामा बिहानबेलुकी स्नान गरेर ईशोरसित प्रार्थना गरेकी थिएँ – बल्ल सुनेका छन्।’ यसो भन्दाभन्दै उनी बेसूर हुन थालिन् अनि विस्तारै सधैंको निम्ति शान्त भइन्।

            अनि कथाकार अन्तमा लेख्छिन् – “अर्ध शताब्दीभन्दा पनि बढ़ी समयबाट प्रतीक्षा गरिरहेकी मोक्ष उनले भेटिन् कि भेटिनन् त्यो जान्ने कुनै उपाय भएन – तर मोक्ष प्राप्तिका निम्ति उनले सहेको अकथ्य पीड़ाले मेरो मानसपटमा ठूलो भुइँचालो ल्याएको छ – सबै भताभुङ्ग हुने गरी।’

            यसरी टुङ्ग्याइएको यस कथालाई पढ़िसकेपछि मेरो मनले एकाएक मलाई प्रश्न गऱ्यो – “महामायाले पचास वर्षभन्दा अधिक समयदेखि प्रतीक्षा गरिरहेको मोक्ष के उनको आत्माकै मौक्ष ने हो र?’

            अहिले मलाई पनि शङ्का लाग्यो।

            मोठमा यस सङ्ग्रहमा जम्मा चौधवटा कथाहरू छन् शान्ति थापाका। तीमध्ये सातवटा कथाहरूलाई मैले यहाँ यसरी उतार्न जमर्को गरेको छु उनका कथालेखन शिल्पलाई उजागर गर्न। कथाका कथानकहरूमा उनको विशेषता देखिन्छ, मान्छे जिउने व्यवस्थाभित्रका कुटिलतामा रूमलिने गर्दा जीवनले भोगेका व्याथाहरू। मानव जीवनलाई बुझ्ने गर्नुपर्छ त्यसको दुःखबाट, तब जीवनलाई बुझ्ने गरिन्छ। तर जीवन भनेको यस्तो कुरा हो जसलाई व्यवस्थित गराउँदै लै जाने गर्दागर्दै पनि कुन्नि कसरी कहाँ के चुक्न जान्छ, अव्यवस्थित हुन गइसकेको हुन्छ धेरै ठाउँहरूमा। यस्तै जीवनका कथाहरू छन् अधिक यहाँ। त्यस्ता जीवनहरूलाई छिचोल्नतिर नै अधिक उन्मुख छन् उनका यी कथाहरू। त्यसै हुँदा नै उनका यी कथाहरू गहन विचार र भावहरूले युक्त छन्। कथाकार आफ्ना यस्ता ठोस् “भिजन’-हरू प्रस्तुत गर्दै अघि बढेको पाइन्छ प्रायः प्रत्येक कथा नै। व्यर्थका नचाहिंदा थाङ्नाहरू तुनिबस्नु छैन आफ्ना कथाहरूमा यी कथाकारलाई। भन्नुपर्न कुरा एकैचोटि ठोस् तौरले चट्ट भनिदिने गर्छिन् उनी र अर्को मोड़तर्फ लाग्ने गर्छिन् आफ्नो कथा विस्तारमा।

            मेरो हात परेन उनको प्रथम कथासङ्ग्रह “आवर्तन’। यद्यपि असम क्षेत्रमा जन्मेर अधेड़ उमेरसम्म त्यहीं रही थुप्रै कथासग्रहहरू प्रकाशनमा ल्याएका सिद्धहस्त कथाकार खड़गराज गिरीले यिनै “शान्ति थापा र उनको कथा सिर्जना’ अन्तर्गत शान्ति थापाले आफ्नो कथासङ्ग्रह “आवर्तन’-मा कहींनेर “मेरा लागि कथा त जिन्दगी नै हो।’ भनेर घोषणा गरिराखेकी कुरा जाहेर गरेका छन्। विसेष यसरी “कथा’लाई नै जिन्दगी भनेर घोषणा गर्नु कथाप्रति साधारण लगाव र झुकाव भएका कथाकारहरूले भन्न सक्ने कुरा होइन। कथाप्रतिको समर्पित भाव र लगनशीलता भएको कथाकारले मात्र यसो भन्ने आँट गर्न सक्छन्। उनका यी कथाहरू एकजुट भएर भन्ने गर्छन्, भारतका उत्तरपूर्वाञ्चलक्षेत्रका नेपाली साहित्यका एक सशक्त कथाकार हुन् यी शान्ति थापा। हुन पनि उनले कथाक्षेत्रमा आफ्नो छुट्टै व्यक्तित्व दर्शाउँदै कथाहरू लेख्ने गरेकी पाइन्छ। कथालाई बान्की पार्नमा आफ्नो अब्बलता दर्शाउन सक्षम यी शान्ति थापा कविता लेखनमा पनि कम देखिंदिनन्। प्रमाणको निम्ति यहाँ एउटा नेपालीमा र अर्को हिन्दीमा लेखिएका उनका दुई छोटाछोटा कविताहरू प्रस्तुत गर्दछु –

कविलाई

शुद्धत्वपछि बुद्धत्व प्राप्ति

तिम्रो कविताको सार

देखेनौ किन कवि तिमीले

गौतमबिनाको यशोधराको

जीवन कति निस्सार!

यशोधरा भन्छिन् –

सखी

भनेर जान्थे भने प्रियतमले

बाधा बन्ने थिइनँ म

दियोकलस सजाई

दिनेथिए बिदा

तर चुपचाप गए उनी

त्यसो र

मनमा हुन्छ हाहाकार!

गौतमकी उपेक्षिता म

काव्यमा पनि उपेक्षिता बनें

तर याद राख कवि

मबिना गौतमको

बुद्धत्व पनि असार!!!

दोस्रो हिन्दी कविता (बिना शीर्षक)

बैटरी खराब नहीं है

घड़ी भी खराब नहीं है

वह तो एक खास वक्त पर

खुद ही रूक गई है।

क्या इसे फिर से

चलाया नहीं जा सकता?

क्या बात करते हो भाई

वक्त खुद ही चलता है

घड़ी तो सिर्फ चलते-बदलते

वक्तको नापती है।

तो वक्त को ही बदल दो —

वक्तको बदलने की ताकत

मुझमे नहीं है

जिसमें है

वो बदलना नहीं चाहते

या फिर

खुद ही बदल जाते है।

            तर जीवनलामो भइदिएन यस्ती प्रतिभाशाली गीतकार, असल अनुवादक, उपन्यासकार, असल कथाकारको। यो एउटा ठूलो खेदको कुरा हुन गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *