Skip to content

हाम्रोध्वनि – भारत नेपाल र नेपाली संस्कृति

Hamro dhwani India Nepal Sanskriti final

यस अङ्कमा

ब्रह्मपुत्रको किनार गुवाहाटीमा पुगेर फर्किंदा

► बद्री पलिखे

            नेपाली साहित्य परिषद्, असम, गुवाहाटीको निमन्त्रणमा वाशुशशी स्मृति परिषद्, काठमाडौंबाट परिषद्का अध्यक्ष प्रसिद्ध कथाकार श्री परशु प्रधानको नेतृत्वमा नेपालबाट चौधजना साहित्यकारहरू 2052 साल असोज 27 गतेको दिन असमको राजधानी गुवाहाटीतर्फ प्रस्थान गर्यौं। यात्रा टोलीमा परशु प्रधान, डा. गणेश भण्डारी, वाशु रिमाल यात्री, भरत जंगम, कृष्ण जोशी, रमेश खकुरेल, चन्द्रकला नेवार, हरि अधिकारी, बद्री पालिखे, कृष्ण प्र. दाहाल, कैलाश भण्डारी, अनन्त वाग्ले र मुकुन्दराज दाहाल थियौं।

            त्यसैदिन सिलगुडीको प्रधान नगरमा कृष्णहरि शर्मा ढुङ्गानाको निवासमा ज्ञानेन्द्र खतिवडा, शिशिर गुरूङ, ज्ञानेन्द्र दाहाल आदि साहित्यकारहरूले हाम्रो स्वागत सम्मानमा जलपान, कविता वाचन, पुस्तकहरूको आदानप्रदानका साथै 7 बजे बसद्वारा 17 घण्टाको पट्टार लाग्दो यात्रापछि भोलिपल्ट दिउँसो 2 बजे ब्राहृपुत्रका किनारमा रहेको अत्यन्तै रमणीय शहर गुवाहाटीमा पुग्यौं।

            असोज 28 गते नेपाली साहित्य परिषद्का पदाधिकारीहरू नवसापकोटा, गोपालबहादुर नेपाली, तुलबहादुर मालेमा आदि साहित्यकारहरूले सुरदेवी होटल, पान बजारमा हाम्रो हार्दिक स्वगात गर्नुभयो। त्यसै दिन कामरूपा कामक्षामाईको दर्शन गर्यौं। कामरूपाकामक्षा माईको अग्लो डाँडोबाट गुवाहाटी शहर, ब्रह्मपुत्र नदीमा सूर्यास्तको दृश्य हेर्दा यात्रामा दिनभरिको थकान, अनिन्द्रा र दिक्दारीपन चुड्कीको भरमा वेपत्ता भई नवीन उत्साह र हँसिलो मुद्रा पलाएर आयो। त्यसपछि नेपाली मन्दिर, भानु सदन, मालीगाउँ र पल्टन बजारको अवलोकनपछि बेलुकी नवसापकोटाको निवास देवकोटानगरमा रात्री भोजमा सामेल भयौं।

            नेपालको लिच्छवी राजा नरेन्द्रदेवको पालामा कामरूपाकामक्षा माईबाट मच्छिन्द्रनाथ नेपालमा आएको कथासँग जोडिएको गुवाहाटी नगर विविध दृष्टिकोणबाट प्रसिद्ध र दर्शनीय छ। कामरूपाकामक्षा माईको मूल पूजारी नेपालबाट पठाउने चलन रहेछ। गुवा भनेको सुपाडी, हाटीको अर्थ ठाउँ भएकोले ‘गुवाहाटी’ नाम रहेको यो शहर अझै पनि सुपाडीका लागि प्रसिद्ध रहेछ। ‘सज्जनसंग संगत गरे गुवापान दुर्जनसंग संगत गरे नाक, कान’ भनेझैं यहाँको मुख्य आतिथ्य सत्कार गुवापानबाट हुँदोरहेछ। लगभग 200 वर्ष अघि नेपालीहरू नेपालको विभिन्न डाँडो, थुम्का, घर गाउँबाट त्यहाँ गई बसोवास गरेका रहेछन्। असमका नेपालीहरूले पाखुरीमा पौरख, छात्तीमा वीरता, शरीरमा सागरमाथाझैं उच्चतः स्वाभिमान र गौरवगाथा लिएर जातिय एकता, भाषा, साहित्य, कला, संस्कृति हिन्दुत्व, रीतितिथि एवं चाडपर्वलाई आफ्नो अस्तित्वको रूपमा जोगाएका छन्। त्यहा पनि अर्को नेपाल रहेछ। हामीले यही महसुस गर्यौं। हामीलाई विदेशी भूमि टेकेको अनुभव नै भएन।

            असोज 29 गतेका दिन सुरदेवी होटलको भव्य कन्फरेन्स हल खचाखच भरिएको थियो। प्रसिद्ध उपन्यासकार श्री लीलबहादुर क्षेत्रीको अध्यक्षतामा अभिनन्दन समारोह भव्यताका साथ सम्पन्न भयो। अभिनन्दन समारोहमा श्री तुलबहादुर मालेमद्वारा कार्यक्रममाथि प्रकाश, गोपालबहादुर नेपालीबाट हाम्रो परिचय प्रस्तुतीपछि हाम्रो टोली नेता परशु प्रधानलाई कलात्मक वास्तुकला उपहार, गम्छा, निधारमा टीका हातमा फूल गुच्छा र व्याज लगाई अभिनन्दन गरिएपछि मञ्चमा आसिन हामी 14 जना अतिथि साहित्यकारहरूलाई पनि सोहीअनुसार अभिनन्दन  गरियो।

            सोही दिनको दोस्रो सभा पीताम्बर गुरूङको अध्यक्षतामा परशु प्रधानको प्रमुख आतिथ्यमा नेपाली भाषामा एकरूपताको आवश्यकता विषयमा संगोष्ठी भयो। संगोष्ठीमा अभिनन्दन उपसमितिका सभापति पीताम्बर गुरूङद्वारा नेपाल र असम बीचमा ऐतिहासिक, धार्मिक, सामाजिक र साहित्यिक सम्बन्ध गाँसिएको छ भनि सम्भाषण पढेर सुनाएपछि त्यो लिखित सम्भाषणपत्र वितरण गरियो। गोपालबहादुर नेपालीद्वारा

नेपाली भाषामा एकरूपताको आवश्यकता विषयक कार्यपत्र प्रस्तुत भएपछि डा. गणेश भण्डारीले टीपाटिप्पणी गर्नुभयो। यस सभामा प्रत्युत्तर भाषण गर्नुहुँदै उहाँले हामीले नेपालका विभिन्न नदीको जल ब्रह्मपुत्रमा मिसाउन ल्याएका छौं। हृदयमा मैत्रीपूर्ण पुल बाध्न आएका छौं। भावनात्मक एकताको दूत भएर आएका छौं भनि अभिनन्दनका लागि धन्यवाद दिनुहुँदै साहित्यिक आदानप्रदानका लागि शुभकामना व्यक्त गर्नुभयो। भरत जंगमले अमेरिकामा भाषा र साहित्यको अभावमा अविसर्जन विनाको जीवन भोग्नु परेको मार्मिक व्यथा व्यक्त गर्नुभयो।

            दिउँसो 2 बजेको तेस्रो सभा नवसापकोटाको अध्यक्षतामा र के.बी. नेपालीको प्रमुख अतिथ्यमा सञ्चालन भएको बहुभाषा कविता गोष्ठीमा असमीया, बंगाली, उर्दू, हिन्दी, अंग्रेजी र नेपालीमा कविता पाठ भयो। नेपालबाट कृष्ण जोशी, चन्द्रकला नेवार, रमेश खकुरेल, लक्ष्मी उप्रेती, कैलाश भण्डारी, कृष्ण प्र. दाहाल, बद्री पालिखे र मुकुन्दराज दाहालले कविता पाठ गर्नुभयो। प्रस्तुत कविताहरूबारे समालोचक वाशु रिमाल यात्रीले नेपाली कवितामा अत्याधुनिक प्रविधि प्रवृत्ति र धाराको संक्षिप्त चर्चा गर्नुहुँदै मूल्यांकन गर्नुभयो। पद्मधर पौड्यालले धन्यवाद ज्ञापन गर्नुभयो। कविता गोष्ठीको रौनक र रमाइलो लक्षणको धीत नमरिकनै यसरी कार्यक्रम विसर्जन गर्नुभयो। त्यस कार्यक्रम स्थलमा विक्रीका लागि पुस्तक प्रदर्शनी गरिएको थियो। जसमा वाशु शाशी स्मृति परिषदद्वारा प्रकाशित पुस्तकहरू, सुनसरी साहित्य प्रतिष्ठानबाट प्रकाशित ‘सुनसरी’ लघुकथा अंक र नवप्रयास (साहित्यिक पत्रिका), परशु प्रधानकका कृतिहरू, भरत जंगमका ‘रातो सूर्य’ र ‘कालो सूर्य’ (उपन्यास), चन्द्रकला नेवराको कविता संग्रह, ‘छिन्नलता’को गीत गजल संग्रह, कृष्ण जोशीको कविता संग्रह, बद्री पालिखेका कालचक्र (मुक्तक संग्रह) र सुगन्ध प्रकाशनको पुस्तक तथा पत्रपत्रिकाहरू प्रदर्शनीमा सजाइएका थिए।

            नेपालबाट साहित्यिक तथा सांस्कृतिक सम्बन्धका लागि असम, गुवाहाटीको यात्रा कार्यक्रम लिएर जानेहरूमा सर्वप्रथम भैरवबहादुर थापा, डा. वाशुदेव त्रिपाठी, ठाकुरप्रसाद पराजुली, घनश्याम कण्डेल (सन् 1988)। सन् 1957 मा जन कवि केशरी धर्मराज थापा, त्यसपछि स्व. महानन्द सापकोटा, स्व भवानी भिक्षु, जनार्दन सम, तारा देवी, नातिकाजी, शिवशंकर, यदुनाथ खनाल, भवानी घिमिरे र वाशुशशी स्मृति परिषद् परशु प्रधानको नेतृत्वमा गएको (1995 अक्टुबर 14) को साहित्यिक टोलीको स्थान महत्वपूर्ण मानिन्छ। असमका प्रसिद्ध साहित्यकारहरू हरिप्रसाद गोर्खा राई, दिलबहादुर नेवार, घनबहादुर सुनार, गोविन्द पैरा, स्व. हरिभक्त कटुवाल, प्रा. गीता उपाध्याय, विष्णुलाल उपाध्याय, मनबहादुर क्षेत्री, अग्निबहादुर क्षेत्री, तारापति उपाध्याय, शेरमान थापा, लीलबहादुर क्षेत्री, हरि गजुरेल, अविनाश श्रेष्ठ, इन्द्रकान्त कार्की, चन्द्रकला नेवार, नवसापकोटा, गोपालबहादुर नेपाली, पीताम्बर गुरूङ, तुलबहादुर मालेमा आदिको साहित्यिक योगदान उल्लेखनीय ठानिन्छ। मोदनाथ प्रश्रितको गुवाहाटी यात्रा कार्यक्रम पनि विशेष चर्चित रहेछ।

            गोर्खापल्टनका शैक्षिक तुलचन आलेले सन् 1893 मा प्रकाशित गरेको मणिपुरको धावा (सवाई) बाट असमको साहित्यिक युगको श्रीगणेश भएको देखिन्छ, पछि शिलाङबाट स्व. मणिसिंह गुरूङले सन् 1936मा गोर्खा सेवकको प्रकाशन, 33, 25 वर्षदेखि के.बी. नेपालीको सम्पादन प्रकाशनमा बिन्दु (साहित्यिक पत्रिका) अनुराग प्रधानको हाम्रोध्वनिले असमको साहित्यिक धर्तीमा पत्रपत्रिका र पुस्तक प्रकाशनको शिलान्यास भएको छ। (श्रोत – श्री पीताम्बर गुरूङ-स्वागत सम्भाषण, नेपाली साहित्य परिषद् (1995 अक्टुबर 15)।

            सन् 1974 मा स्थापित नेपाली साहित्य परिषद्, असम, गवाहाटी साहित्य एकेडेमी दिल्लीबाट मान्यता प्राप्त भएको साहित्यिक संस्था हो। यस संस्थाको Regd. 888 dt. 1982-83 हो। यसको प्रधान कार्यालय भानुभवन (नेपाली मन्दिर) गुवाहाटीमा छ। नेपाली साहित्य परिषद्को स्थापनाले असममा संस्थागत साहित्यिक उत्तरोत्तर प्रगति हुँदै गएको थाहा हुन्छ।

            नेपाली साहित्य परिषद् द्वारा अविनाश श्रेष्ठको प्रधान सम्पादनमा परिषद्-पत्र (वार्षिक) भविलाल लामिछाने र नव सापकोटाको सम्पादनमा समकालिन नेपाली साहित्य (पत्रिका), सेक्सपियरको नाटक ‘वेनिसको सौदागर’ (नेपालीमा अनुवाद – टंकनाथ उपाध्याय), तुलबहादुर मालेमाको चेतना (खण्डकाव्य),

गोमा शर्माको ‘तिम्रो प्रेरणाले’ (कविता संग्रह), कमल वगालेको ‘मेरो युद्ध भोलिका लागि’ (कविता संग्रह), मोतीसिहं क्षेत्रीको ‘स्मृति-वेदना’ (कविता संग्रह) प्रकाशित भएका छन्।

            शंख प्रकाशनद्वारा गोपाल बहादुर नेपालीको सम्पादनमा पूर्वाचलीय नेपाली कविता (कविता संकलन) होमनाथ सुवेदीको सम्पादनमा ‘शंखनाद’ (साहित्यिक पत्रिका)को प्रकाशले महत्वपूर्ण स्थान ओगटेको छ। उक्त पुस्तक तथा पत्रपत्रिकाहरू स्तरिय पठनिय र उपयोगी छन्। असमीया नेपालीहरूको कृतिहरूमा नेपालीहरूको जनजीवन, करुण व्यथा, स्वाभिमान अस्तित्वका लागि लडाइँ एवं जीवनहरू छर्लङ्गिन्छ। असमको नेपाली भाषा र बोलीमा शुद्धता ठेट नेपालीपन र आत्मियताको बोध पाइन्छ। दार्जिलिङ्गका नेपाली भाषाको तुलनामा असमीया नेपालीहरूको भाषा धेरै परिमार्जन र परिस्कृत लाग्छ। असमका नेपालीहरूले आफूलाई गोर्खे र गोर्खा भाषा भन्न रुचाउदैनन्। त्यहाँका नेपालीहरूले नेपाललाई पुख्र्यौली थलो मात्र होइन पूण्यधामका रूपमा श्रद्धा गर्दा रहेछन्।

            भारतको पूर्वमा अवस्थित असम राज्य पौराणिक कालमा कामरूप नामले प्रख्यात थियो। यसको राजधानी प्रागज्योतिषपुर थियो। यसै प्रागज्योतिषपुरका राजा मिथिला नरेश जनकका पोष्यपुत्र नरकासुरका नाति भगदन्त कुरुक्षेत्रको धर्मयुद्धमा वीरहरूमध्ये एकजना पराक्रमी वीर थिए। अति महत्वपूर्ण तीर्थस्थल कामक्षा यसै नगरको 4 कि.मि. उचाईमा पर्ने नीलाचल पहाडमा अवस्थित छ। कामरुप नरेश हर्षदेवकी कन्या राजमतिको विवाह नेपालका मल्ल राजा जयदेवसित भएकोले छोरी ज्वाइँलाई जल विहार गराउन खनिएको गुवाहाटी नगरको मध्यभागमा दीघली पोखरी (लामो पोखरी)ले ऐतिहासिक प्रमाण दिएको छ।

            पौराणिक कालदेखि नै असम र नेपालीको धार्मिक, तान्त्रिक, यौगिक र ऐतिहासिक सम्बन्ध रहिआएको छ। लगभग महाभारतकालिन समयदेखि नै असमसंग नेपालको हृदयगत साइनो रहेको पाइन्छ। ब्रह्मपुत्रका दुवै काखमा गाईभैंसी गोठ, खेतिपाती, दुग्ध व्यवसाय, घरान बनाई काठ चिरानी गरी नेपालीहरूले असमको भूमिलाई महादेवभवको रूपमा बसोबास गर्दै आइरहेका छन्। असमीयाहरूसँग नेपालीहरूको धार्मिक सद्भावना छ। भाषागत रूपमा कहिलेकाहीं शीत लहर चल्दोरहेछ। नेपालीहरूकै लगन, शीप, परिश्रम र पसिनाबाट असमको उन्नति भएकोले असम प्रान्त नेपालीहरूको परिश्रमबाट निर्मित क्षेत्र भनि असमीयाहरू नेपालीहरूप्रति आभारी रहेछन्। नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचिमा, समावेश गरी मान्यता दिनु पर्दछ भनि लड्ने नेपाली साहित्य परिषद्को संघर्षशिल योगदानको परिणाम नेपालीहरूलाई आरक्षण दिन थालेका छन्।

            असोज 30 गतेका दिन दिसपुर पंजावाडीमा बशिष्ट आश्रम, खानापाडा, जोराबाट, बिरकुची, चिडीयाखाना, नेहरू पार्क- म्यूजिकल फाउण्टेन र ब्रह्मपुत्रको किनारको दृश्यावलोकनपछि पीताम्बर गुरूङको निवास, क्रिस्तान बस्तीमा काव्यमय साँझका साथ रात्रीभोजनमा सामेल भयौं।

            असोज 31 गते गुवाहाटी बजारको घुमफिर बजार, किनमेल र मालीगाउँमा रात्री भोज भयो।

            कार्तिक 1 गते रेल्वे प्लेटफर्ममा नेपाली साहित्य परिषद्का नवसापकोटा, गोपाल बं नेपाली, तुल बा. मालेमा, पीताम्बर गुरूङ आदि महानुभावहरूले हाम्रो हार्दिक विदाई गर्नु आउनुभयो। विदाईको नरमाइलो क्षणमा विछोडको बेला हामी बसेको रेलको डिब्बामा पीताम्बर गुरूङज्यूले भन्नु भएको वाक्यांशलाई सम्झिंदै टाढाटाढा धेरै टाढासम्म हात हल्लाउँदै हामी विदा भयौं। अब विदाईका लागि हल्लिएको हाम्रो हात र आँखाबाट उहाँहरू अदृश्य हुँदै गयो।

            ‘हामी जाति, भाषा, साहित्य, कला, संस्कृति, चाडपर्व र रीतिरिवाजले नै यहाँ बाँचेका छौं। हामी आफ्नो सभ्यतामा असमीयाहरूसँग घमण्ड गर्छौं। हामी पनि यहाँ दशैंमा जमरा, तिहारमा देउसी, भैली खेल्छौं। दिपावली मनाउछौं। भाइटिका लगाउँछौं। त्यहाँ र यहाँ के फरक छ? घरवासी र प्रवासी शब्दले मात्र न हो? अन्तर। यहाँ पनि नेपाल छ। अतः कृपया नेपालमा हामीलाई बसोबासका लागि प्रेरित नगरिदिनुहोस्। मेरो विन्ति छ।’

            पीताम्बर गुरूङको यो मार्मिक भनाई म घरिघरी सम्झिरहन्छु। हो! वास्तवमा जहाँ नेपालीहरू छन्

त्यहाँ नेपाल हुन्छ। भावना एउटै भएपछि हृदयगत साइनो हुँदोरहेछ। हृदयको साइनोलाई कुनै राजनीतिक र भौगोलिक सीमाको अर्थ रहँदैन रहेछ।

            कार्तिक 1 गते, रेलको 9 घण्टा रमाइलो यात्राको अमिट छाप लिएर सिलगढीमा 1 रात बास बस्यौं। एउटै हाँगाका चराहरूजस्तै थियौं। काकरभिट्टामा आईपुगेपछि हामी एकपछि अर्को पखेटा फट्फटाउँदै आआफ्नो गुँडतर्फ उड्यौं।

            एउटा ऐतिहासिक, गौरवमय र विविध दृष्टिकोणबाट उपयोगी तथा महत्वपूर्ण गुवाहाटीको यो साहित्यिक यात्राले असम र नेपालको बीचमा साहित्यिक सूर्योदय भएको छ। यो प्रारम्भ हो, यसमा निरन्तरता आवोस्, यही नै शुभकामना छ।

धरान, नेपाल

आसामी कविहरूको स्वागत-सम्मान

► कैलाश भण्डारी

            कुरा 2051 कार्तिक 3 गतेको हो। दसैं तिहारको समय थियो। चारैतिर सयपत्री, गोदावरी, मखमली फूलहरू फुलेका थिए। आकाश सफा थियो। चारैतिर शरद्ऋतुको रंगरूप झल्किएको थियो। यस्तो वातावरणमा वासु शशी स्मृति-परिषद्को निमन्त्रणामा नेपाली साहित्य परिषद् आसामबाट आउनुभएका साहित्यकारहरूको सम्मानमा परिषद्ले वासु शशीको निवास जयवागीश्वरीमा स्वागत समारोहको आयोजना गरेका थिए।

            परिषद् परिवारलगायत लगभग 40/50 जना जति साहित्यकारहरू उपस्थित भएको सो सभामा आसामी कवि नवसापकोटा, कमल बगाले, प्रा. भवानी शर्मा, होमनाथ उपाध्याय, तुलबहादुर मालेमा क्षेत्री, गोपालबहादुर नेपाली, कर्णबहादुर क्षेत्री, दिलिप शर्माको स्वागत र सम्मान गरियो।

            यस सभामा स्वागत भाषण गर्दै परिषद्का सचिव कवि तथा पत्रकार हरि अधिकारीले आजको कार्यक्रम भव्य हुन नसके पनि राम्रो शुरूवात भएको छ र यो राम्रो कार्यक्रमले अरू धेरै ठूलठूला कार्यक्रमहरूलाई अगाडि ल्याउन तथा राम्रो कार्यक्रमहरूको निश्चय पनि ढोका खोल्ने छ भन्नुभयो।

            यसरी कार्यक्रमको शुरूवात भएपछि आसामी कवि गोपालबहादुर नेपालीले आसामी कविहरूको परिचय दिंदै भन्नुभयो – ‘कवि नवसापकोटा जागीरे हुनु भए तापनि उहाँ पूर्वाञ्चलको सक्रिय कवि हुनुहुन्छ। नेपाली साहित्य परिषद् आसामको स्थापना गर्न र सञ्चालन गर्नमा उहाँले ठूलो योगदान गर्दै आउनुभएको छ। यसका साथै उहाँले साहित्यको विभिन्न विधामा कलम चलाउँदै कविता, गीत, एकांकी, निबन्ध आदि लेख्दै आउनु भएको छ।’

            यसरी नै उहाँले कवि कमल बगालेको परिचय दिंदै अगाडि भन्नुभयो – ‘कवि कमल बगाले जागिरे हुनुका साथै उहाँ कविता, कथा, एकांकी आदि लेख्नुहुन्छ।’

            उहाँले प्रा. भवानी शर्माको परिचय दिंदै भन्नुभयो कवि प्रा. भवानी शर्मा कलेजमा पढाउनुका साथै उहाँ नेपाली साहित्यमा रूचि राख्नुहुन्छ। पोल्टिकल साइन्समा एम.ए. गरेर उहाँले राजनीतिक लेखहरू र कविता लेख्नुभएको छ।’

            यसरी नै उहाँले होमनाथ उपाध्याय सुवेदी शिक्षक हुनुका साथै, नेपाली संस्थाहरूमा सक्रिय हुनुहुन्छ। अखिल भारतीय नेपाली भाषा समिति आसाम राज्य शाखाका अध्यक्ष पनि हुनुहुन्छ, भन्नुभयो।

            यसरी नै तुलबहादुर मालेमा क्षेत्रीको परिचय दिंदै नेपालीले तुलबहादुर मालेमा क्षेत्री नेपाली साहित्य परिषदमा सक्रिय हुनुहुन्छ। साथै उहाँ यस परिषद्को सचिव पनि हुनुहुन्छ। यसका साथै उहाँ कवि हुनुहुन्छ। उहाँको एउटा खण्डकाव्य प्रकाशित छ। कवितावाहेक उहाँ निबन्ध र समीक्षात्मक लेखहरू पनि लेख्नुहुन्छ

भन्नुभयो।

            यसरी नै उहाँले कर्णबहादुर क्षेत्रीको परिचय दिंदा भन्नुभयो – ‘कर्णबहादुर क्षेत्री शिक्षक हुनुहुन्छ। सानैदेखि साहित्यमा रूचि लिनुहुने क्षेत्री विशेष गरी कविता लेख्नुहुन्छ।’

            उहाँले यसरी नै दिलीप शर्मा सिटौला एउटा हाईस्कूलमा पढाउनु हुन्छ। उहाँ छन्दबद्ध कविता लेख्नुहुन्छ। उहाँको चाँडै नै एउटा काव्य कृति प्रकाशित हुँदैछ भन्नुभयो।

            यसरी आसामबाट आएका कविहरूको परिचयपछि त्यहाँ उपस्थित साहित्यकार र साहित्यप्रेमीहरूको परिचय दिने काम पनि भयो।

            यसरी परिचयको क्रम सकेपछि कवि गोष्ठी कार्यक्रमको शुरूवात भयो। कार्यक्रमको शुरूमा उद्घोषक गोविन्द गिरी प्रेरणाले हाम्रा नेपाली साहित्यका एक विशिष्ट कवि वासु शशीकै स्मृतिमा यो संस्था स्थापना भएको हो भन्दै आसामी कवि प्रा. भवानी शर्मालाई आफ्नो कविता पाठ गर्ने अनुरोध गर्नुभयो।

            त्यसपछि कवि भवानी शर्माले कविता पाठ गर्दै भन्नुभयो –

            ‘अनौठोझैं महसूस हुन्छ

            स्वाधिनताको पुनीत अवसरमा

            हर्षोल्लास मनाउँदै तिरंगा झण्डा

            फहराउन व्यर्थझैं लाग्छ’

            फेरि उहाँले आफ्नो मातृभूमिलाई सम्झदै भन्नुभयो –

            ‘निस्कलंकित मेरो मातृभूमिको

            चाहनामा धमिरो लाग्न थालेको छ।’

            यसरी विदेशमा बसेर आफ्नो मातृभूमिलाई सम्झेर दुःख मान्दै परदेशको राष्ट्रिय झण्डा फरराउन आफूलाई व्यर्थ लागेको कुरा कवि भवानी शर्माको अभिव्यक्ति पछि आसामी कवि तुलबहादुर मालेमा क्षेत्रीले आफ्नो अभिव्यक्ति यसरी राख्नुभयो –

            ‘दया र लोकोचारमा

            प्रशंसा र प्रलोभनमा

            कसैले भिडाई दिएको जरौरी होइन

            केवल मान्छे मात्रमा हुनुपर्ने

            स्वाभाविक र स्वाभिमान … ओढेर।’

            ‘ती ओहर दोहोर गर्नेहरूको माझ

            मैले धेरै पल्ट उसलाई देखेको छु।’

            यसरी कविता पाठको कार्यक्रम अगाडि बढ्दै गर्छ। शशीको निवास वरिपरि सयपत्रीलगायत विभिन्न फूलहरू फूलिरहेका छन्। हामी ती फूलहरूको बीच हरियो दुबोको चौरमा बसेर कविताहरू सुनिरहेका छौं। मन्द हावा चलिरहेको छ। घामको न्यानो स्पर्श भइरहेको छ। यस्तैमा आसामी कवि कमल बगालेले कविता पाठ गर्नुभयो –

            ‘हो, म उही हुँ

            के तिमी जान्दैनौ?

            अतीतमा मैले नै

            अहिंसापथ निर्माण गरें

            मनुष्यको निर्माण थालें

            त्यसदेखि अझ अतीतमा

            सतीको चरम बिन्दू जानकी सीता

            हो म उही हुँ।’

            यसरी आफ्नो राष्ट्रको परिचय दिने अभिव्यक्तिपछि अर्को आसामी कवि होमनाथ उपाध्याय सुवेदीले कविता सुनाउनुभयो –

            ‘सम्वत् 1966 कार्तिक 27 का दिनमा

            साहित्यकलाका नयाँ प्रणेता

            भारतीका, वरद् सन्तान

            लक्ष्मी देवकोटाज्यू आए

            भारतको लिई बरदान

            बन्जर माटो, मलिलो पारे

            ज्योति कलमको खालिले

            नव युगले नव स्रष्टा पायौं।’

            महाकवि लक्ष्मीप्रसाद देवकोटाको गरिमामय जीवनको उल्लेख गरेपछि आसामी कवि कर्णबहादुर क्षेत्रीले आफ्नो कविता पाठ गर्नुभयो –

            ‘अँध्यारोमा उज्यालो छर्ने

            मन मस्तिष्कका आँखा उघार्ने

            आतिसमा सचेत ल्याउने

            मलाई साहित्य चाहिन्छ।

            जातिय चरित्रलाई सुधार्ने

            विश्रृङ्खलामा ल्याउने

            आन्दोलन र गोली बारूदको

            भाषालाई सच्याउने

            मलाई साहित्य चाहिन्छ।’

                        कवि कर्णबहादुर क्षेत्रीलाई कस्तो प्रकारको साहित्यको चाहना छ, अगाडि पढौं –

            ‘हृदय हृदयमा नाता जोड्ने

            मानवता र सहनशीलताको

            फूल फुलाउने

            देश र समाजको हित गर्ने

            मलाई साहित्य चाहिन्छ

            जातिको इतिहास सुनाउने

            वर्तमानको परिस्थिति बुझाउने

            भविष्यको रूप रेखा देखाउने

            मलाई साहित्य चाहिन्छ।’

                        साहित्य भनेको यस्तो हुनुपर्छ देश र समाजको हित गर्ने खालको साहित्य चाहिन्छ। भन्ने अभिव्यक्तिपछि आसामी कवि दिलीप शर्मा सिटौलाले कविता पाठ गर्नुभयो –

            ‘त्यो विशाल नीलमा

            चम्कने आकाशमा

            कहाँबाट अकस्मात बादल

            भरिएर हुटिंदै आएको

            विश्वसुन्दरी जगत् कम्पमान पार्दै

            रूख पात उडाउँछ।’

                        हामी एकपछि अर्को कविता सुन्दै थियौं। वातावरण शान्त थियो। चराचुरूङ्गीहरूको चिरविर आवाजहरू र हावाको शिरशिर मात्रा सुनिन्थ्यो। त्यसपछि कविहरूले पाठ गरेका कविताहरूको शब्द सुनिन्थ्यो। सबै ध्यानमग्न मुद्रामा कविहरूतिर हेर्दै उनीहरूको अभिव्यक्ति सुनिरहेका थिए।

            आसामी कवि गोपालबहादुर नेपालीले कविता सुनाउन थाल्नुभयो –

            ‘मनुष्यताको धेरै खुटकिलो चढ्दै

            सभ्य भएका हामी

            आज बातबातमा

            जाति, भाषा र विवेक सृष्टि गर्दै

            आपसमा युद्ध गरिरहेछौं

            युद्ध यहाँ मनको मनसित भएको छ

            युद्ध यहाँ भावनाको

            भावनासित भएको छ

            युद्ध यहाँ अधिकारका निम्ति लडिएको छ

            …          …          …          …          …          …

            बुद्धको अहिंसा वाणी

            गान्धीको रामराज्य

            अब हाम्रो आदर्श भएको छैन।

            वसुदैव कुटुंवकम

            आज यहाँ निरर्थक सम्झेको छ।’

                        उहाँ अगाडि हिंसा र हत्याको बारेमा भन्नुहुन्छ –

            ‘पलपलमा अनेक हत्या भैरहेछ

            मनको, शरीरको,

            मनुष्यताको, समाजको, सभ्यताको

            यतिमात्र होइन,

            यहाँ जाति धर्म र भाषाको आधारमा

            मानिसको चिहान खनिंदैछ

            भावना, विचार, श्रद्धा सम्मान भुलिंदैछ

            यहाँ हर मोडमा,

            हर सडकमा,

            हर मनमा

            एउटा जंगल राजको

            सृष्टि भएको छ।’

                        यसरी कति गोपालबहादुर नेपालीले लडाइझगडा र आजभोलिको विषयलाई लिएर अभिव्यक्ति पोखेपछि आसामबाट आउनुभएका साहित्यकारहरूको टोली नेता अर्थात् नेपाली साहित्य परषद् आसामका उपाध्यक्ष कवि नवसापकोटाले कविता पाठ गर्नुभयो –

            ‘म जड थिएँ, तरल भएँ

            अहिले म बतास भएको छु

            खोजिहिंडे भावना

            खोला नाला काँडाहरूमा

            मागिहिंडे सम्वेदना

            नदी समुद्र र महासागरको

            तरङ्गसंगै यो यात्रा पनि मेरो

            तरलताको बीचमा

            वेदनाको बीचमा

            आज भएछु म बतास।’

            यसरी आसामबाट आउनु भएका साहित्यकारहरूबाट कविता श्रावण गरेपछि काठमाडौंका कविहरूबाट कविता पाठ गर्नेक्रम शुरूभयो।

            बासु शशी नभए पनि वासु शशीको निवासमा नेपाली साहित्यकारहरूको जमघट थियो। उहाँ भएको बेला यसरी नै विभिन्न प्रतिभाशाली व्यक्तित्वहरूको भेला भैरहन्थ्यो। उहाँले आफ्ना मित्रहरूलाई आफ्नो कविता सुनाउँनु हुन्थ्यो र उहाँले आफ्नो मित्र कविहरूको कविताहरू पनि सुन्नुहुन्थ्यो। प्रायः गरी उहाँको निवासमा साहित्यिक कार्यक्रमहरू र साहित्यकारहरूको भेला भइ नै रहन्थ्यो। आज पनि उहाँ भएको बेलामा जस्तै साहित्यिक कार्यक्रम र स्वागतसम्मान गर्ने कार्यक्रम भैरहेको छ। त्यसैले होला मलाई वासु शशी हामीसँगै बसेर कविता सुनिरहनु भएकोजस्तो लागिरहेछ। हावाले त्यहाँ फुलिरहेको सयपत्री फूलहरू हल्लाउँदा – कहिले माथि, कहिले तल, कहिले दायाँ, कहिले बायाँ हल्लाउँदा शशीले कविता श्रवण गर्दै टाउँको हल्लाइरहेको जस्तो लाग्यो। जबजब साहित्यिक कार्यक्रमहरू हुन्छ तब तब उहाँको सम्झनाले सताउन थाल्छ। आज पनि मलाई त्यस्तै भैरहेको छ।

            यसरी शशीलाई सम्झदैं थिएँ। नेपालका वरिष्ठ आधुनिक कवि कालीप्रसाद रिजालले कविता भन्नुभयो –

            ‘बाँचेकै छौं बाँच्नलाई त हामीहरू पनि

            आफन्तका आगमनमा, शरणार्थीको रूपमा

            उता खेद्यो उता झ्यो त्यत्ताबाट यता

            हाम्रो ठाउँ कतै छैन जाने होला कता?

            कमरमा पैसो छैन के गरेर खाने?

            रूवाउँदै लालाबाला कताकता लागे?

            टोपी थापी खान पर्ने के जिन्दगानी?

            आफ्न्तको आगमनमा शरणार्थी बनी

            बाँचेकै छौं बाँच्नलाई त हामीहरू पनि।’

            प्रवासीहरूले कति दुःख पाउँछन्, पाएका छन्, उनीहरूको विडम्बना, उनीहरूको जीवनगाथा, उनीहरूको दिनचर्या पीरमर्काहरू उल्लेख गरेको यो कविता सुनेर आसामी कविहरू ज्यादै खुशी भएर तालि बजाएका थिए।

            कवि कालीप्रसाद रिजालले अगाडि आफ्नो कविता पाठ गर्नुभयो –

            हाम्रो पनि घर थियो हाम्रो पनि बारी

            सबै लुट्यो, सबै छुट्यो सात डाँडाँपारी

            कोही किन बोल्दिनौं कस्तो अत्याचार?

            बाँच्ने हक छैन भने बरू छिटै मार?

            नशा-नशा खोलो बग्छ डाँडाकाँडाभित्र

            छातीभरि कोरेको छ त्यही गाउँको चित्र

            बाँबाँ गरी कराए हुन् गाइबस्तु हेर

            मुटु फुट्लाजस्तो हुन्छ, सम्झिल्याउँदा खेर

            दसैं बित्यो, तिहार बित्यो, हिउँद वर्षा अनि

            आफन्तको आगमनमा शरणार्थी बनी

            चरा पनि फर्किआए आफ्नोआफ्नो गुँडमा

            सबैजना भेला भए आफ्नो घरमा गुँडमा

            हाम्रो पनि घर थियो कतै परपर

            फर्किजाने हामीले चाहिं कहिले होला घर

            कति हेर्नु रितोबाटो आँखा तानीतानी

            आफन्तको आँगनमा शरणार्थी बनी

            बाँच्नलाई त बाँचेकै छौं …

            कवि कालीप्रसाद रिजालले प्रवासीको विषयमा मार्मिक हृदयस्पर्शी कविता सुनाउनु भएपछि उहाँले फेरि अर्को एउटा मार्मिक कविता सुनाउनु भयो –

            ‘म लडखडाउँदै लडें

            बेहोशीमा ढलें भने

            मलाई जगाउनु साथी हो,

            मलाई उठाउनु साथी हो,

            कराउँदै हिंडें भने

            कतै गई गिरे भने

            मलाई समाउनु साथी हो,

            मलाई समाल्नु साथी हो

            म लड्खडाउँदै लडें

            बेहोशीमा ढलें भने

            मलाई जगाउनु साथी हो

            मलाई उठाउनु साथी हो।’

            यसरी राम्राराम्रा कविताको श्रवण गर्दागर्दै नै साँझ पऱ्यो। विस्तारैविस्तारै अँध्यारो भयो। तर हाम्रो मन मन्दिर कवितारूपी प्रकाशले जाज्वल्यमान भैरहेको थियो। आनन्दको सुखसागरमा पौडिरहेका थियौं। शरद्ऋतुको मनमोहक शीतलशीतल हावाको स्पर्शले हामी हराइरहेका थियौं। यस्तैमा कवि एवं समालोचक कृष्ण प्रधानले कविता पाठ गर्नुभयो –

            ‘मनहरू कंक्रिट भएर

            ढलान हुँदै छन् काठमाडौं।

            काठमाडौं रूज्न सकेन कवितामा

            काठमाडौं फूल्न सकेन काठमाडौं

            काठमाडौंको जंगलमा

            डढेलो लाग्दैन अब

            मनहरू ढलान भएर नाश भएको छ

            कवितामा काठमाडौं

            अब बाँच्न सक्दैन।

            यसरी कविताहरू पाठ गर्दै एकपछि अर्को कविहरू रमाउन थाले। यस्तैमा कवयित्री तोया गुरूङले कविता पाठ गर्नुभयो –

            ‘…………..

            म स्वयं आफ्नो छातीमा

            हात राख्छु र भन्छु

            पृथ्वीभन्दा विशाल म हुन्छु,

            कि म भन्दा विशाल पृथ्वी

            मेरो उच्चारण मानौ मलाई

            यो सिङ्गै पृथ्वीले नै छातीमा थिचिरहेछ

            एकातिर हर्ष छ छातीमा आलिङ्कन लिनु

            अर्कोतिर विस्मात छ

            एउटा भुसुनाले बसुधाको भार नसक्नु

            क्या शब्दहरूको विचलनमा एउटा म

            मान्छे हुनुको फिलिङ्गो वितुलिरहेछ।’

            मध्यावधि चुनाव नजीक थियो। नेताजी र कार्यकर्ताहरू घरघरमा भोट माग्न हिंडिसकेको थिए। यस्तै सन्दर्भलाई टिपेर आधुनिक कवि डा. राममान तृषितले कविता पाठ गर्नुभयो –

            ‘मलाई थाहा छ,

            मैले चाहे पनि नचाहे पनि

            तपाई मेरो घर दैलोसम्म

            भोट माग्न आउनुहुनेछ, आउनुस्

            तर मेरो घरसम्म पुग्ने सडक गल्ली

            तपाईहरूले नै विगारेको हो,

            लड्नु होला अलि होश गरेर आउनुस्

            रोड बिग्रेको पनि भनेकै छैन

            हामीजस्तै खाली खुट्टा तरेर आउनुस्

            हामीलाई त अँध्यारोमा

            हिंड्ने बानी परिसक्यो

            तपाई रात पर्नु अगावै आउनुस्

            मृत्युशैय्यामा छन्

            तपार्इंका कयौं समर्थकहरू

            उनीहरू मर्नु अगावै आउनुस्

            यसैले यो गर्छु त्यो गर्छु भनेर होइन

            बरू के कति गर्नु भो

            बरू त्यसको हिसाब लिएर आउनुस्

            हामी पनि केही

            पढाउन सक्छौं तपार्इंलाई

            विद्यार्थी भई किताब लिएर आउनुस्

            हिजो पो त तपाईलाई फुर्सद थिएन

            हामी कहाँ आउनु पनि जरूरत थिएन

            आज तपार्इंलाई चाहिने

            भोट हामीसँग छ

            साँच्चै भन्ने हो भने

            भोटबाहेक दिनसक्ने

            हामीसँग अरू केही पनि छैन

            धारामा पानीसम्म नआएको

            धेरै भइसक्यो

            तिर्खा लाग्ला

            पानी पनि बोकेर आउनुस्

            धेरैले धेरै प्रश्न सोध्ने छन् तपाईलाई

            जवाफ दिनुपर्ने कुरा

            पहिले नै सोचेर आउँनुस्

            मैले चाहे पनि नचाहे पनि

            तपाईले मेरो घर दैलो

            भोट माग्न आउनु हुनेछ।

            यसरी कविता पाठ गर्ने क्रमहरू एकपछि अर्को शुरू हुँदै गयो।

            कविता पाठ गर्नेहरूमा आसामी कविहरू नवसापकोटा, कमल बगाले, प्रा. भवानी शर्मा, होमनाथ उपाध्याय, तुलबहादुर मालेमा क्षेत्री, गोपालबहादुर नेपाली, कर्णबहादुर क्षेत्री र दिलीप शर्मा हुनुहुन्थ्यो भने यस्तै गरी काठमाडौंका कविहरू कालीप्रसाद रिजाल, डा. राममान तृषित, कृष्ण जोशी, तोया गुरूङ, कैलाश भण्डारी, कृष्ण प्रधान, नरेन्द्रबहादुर श्रेष्ठ, ज्ञानुवाकर पौडेल, गोविन्द गिरी ‘प्रेरणा’, हिरण्यकुमारी पाठक, हरि अधिकारी, मञ्जु काँचुली, गोपाल पराजुली आदि हुनुहुन्थ्यो।

            यसरी कवि गोष्ठीका साथसाथै आसामी कवि तुलबहादुर मालेमा क्षेत्रीले नेपाली साहित्य परिषद् आसामको परिचय दिंदै आसाममा 21, 995 गाउँहरू, 80 वटा टाउन र गुवाहाटीजस्तो एउटा शहर छ भन्नुभयो। उहाँले अगाडि भन्नुभयो – ‘आसाममा लगभग 20 लाख नेपालीहरूको बसोबास छन्’ उहाँले पत्रपत्रिकाको मात्र आदानप्रदान नभएर वर्षमा दुई चार पटक हामीहरू उताबाट यता, यताबाट उता आउने जाने कार्यक्रमहरू गर्नुपर्छ भन्नु भयो।

            यसरी नै बोल्ने क्रममा नेपाली साहित्य परिषद् आसामबाट आउनु भएका साहित्यकारहरूको टोली नेता तथा परिषद्को उपाध्यक्ष एवं कवि नव सापकोटाले यसप्रकारको निमन्त्रणाको परम्परा खुब होस्, सुन्दर होस्, भन्नुभयो। उहाँले अगाडि भन्नुभयो – ‘नेपाली साहित्यकारहरू र आसामी साहित्यकारहरूबीच आपसी आदानप्रदानको ढोका सधैं खुल्ला गर्नुपर्छ।’

            यसरी नै वासु शशी स्मृति परिषद्का उपाध्यक्ष बेन्जु शर्माले सभापतिको आसनबाट बोल्दै भन्नुभयो – ‘यहाँहरूले आफ्नो भाषा, संस्कृतिको लागि आफ्नो अस्मिता जोगाउनको लागि जुन प्रकारको संघर्ष गर्नुभयो र गर्दै आउनु भएको छ त्यसमा हामी पनि सम्वेदनशील भएर समर्थन जनाइरहने नै छौ।’ उहाँले अगाडि “हामी बीचमा एउटा पर्खालजस्तो छ त्यो पर्खाल हामीले विस्तारै छोड्दै जानुपरेको छ र हामीबीच एउटा पुलको निर्माण गर्नुपरेको छ’ भन्नुभयो।

            यसभन्दा अघि परिषद्का उपसचिव प्रद्युम्न जोशीले कार्यक्रम भव्यरूपमा गर्ने योजना थियो तर समयको अभावले गर्दा चाहेजस्तो गर्न सकिएन भन्दै त्यहाँ उपस्थित सम्पूर्ण साहित्यकारहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कवि गोविन्द गिरी प्रेरणाले वासु शशी स्मृति परिषद्का साथै काठमाडौंका साहित्यकारहरूको परिचय दिनुभएको थियो।

            यसरी लगभग दुई घण्टासम्म सञ्चालन भएको कार्यक्रमपछि भोजनको कार्यक्रम भयो।

            यसरी एक ठाउँका साहित्यकार अर्को ठाउँमा आएर अर्थात् गएर अभिव्यक्तिहरूको आदानप्रदान गर्नु गराउनु कार्यमा वासु शशी स्मृति परिषद् 2050 सालदेखि सक्रिय हुँदै आएको छ। यसै सिलसिलामा आसामी कविहरूलाई परिषद्ले निमन्त्रणा गरेको थियो। उहाँहरू आउनुभयो, विचार अभिव्यक्तिको आदानप्रदान, सत्संग भयो। मित्रताको ज्यादै राम्रो वातावरण तयार भयो। मन मन्दिरमा फूलहरू फुले। प्रेम र श्रद्धाले भरेको मनमोह सुगन्ध चारैतिर फैलियो। गर्मीको याममा वर्षात भएजस्तो आनन्दको अनुभव भयो। यस्तै अनुभवहरूले मन भिजेको थियो। तब चरासरी उड्न लागेको थियो। अनि मेरो मुखबाट शब्दहरूको वर्षा हुन लाग्यो –

            – एक ठाउँबाट अर्को ठाउँमा

            गुड्दै उड्दै आएको म त

            तिमीसित भेट भएर

            तिमीसित अभिव्यक्ति पोखेर

            मेरो मन पवित्र भयो

            मेरो मन आनन्दित भयो

            मलाई पनि खुशी लाग्यो

            तिम्रो विचार भावना

            बुझ्ने अवसर पाएर

            मलाई त देउतै भेटेजस्तो भयो

            तनमन नै हलुङ्गो भयो

            उडौंउडौंजस्तो लाग्यो

            फुलौंफुलौंजस्तो लाग्यो।

साभार सुगन्ध

आसाम तेजपुरबाट विराटनगरसम्म

► लावण्य सापकोटा

                        मेरा पूज्य पिताजी महानन्द सापकोटाको जन्म मेची अञ्चलको इलाम जिल्लामा पर्ने इरौंटार गा.वि.स. अन्तर्गतको देवान छाप नाम गरेको दुर्गम गाउँमा वि.सं. 1953 साल बैसाख 30 गते भएको हो। पिता रामचन्द्र र माता सरस्वतीको तेस्रो सन्तानको रूपमा जन्म लिने बालकको न्वारनको नाम हो – यज्ञनिधि सापकोटा। यिनै यज्ञनिधि नाम गरेका बालक पछि गएर कवि, भाषा-साहित्यसेवी, समाजसेवी, शिक्षासेवी एवम् देश सेवी भई महान् रुाष्टाका रूपमा महानन्द सापकोटाको नामले प्रसिद्ध भए।

            देवान छापमा जीवनवृत्तिको कुनै मेलो नभएको हुँदा काम र मामको खोजीमा रामचन्द्र देवान छापबाट भारतीय भूमि तेजपुर जिल्ला बसाइँसरे सपरिवार। भासिएका नेपालीहरूको जीवनयापनको साधन थियो गोठपालन। रामचन्द्रले पनि त्यही साधन अवलम्बन गरे र आफ्नो जीवनयात्रा आरम्भ गरे।

            बाबुसँग तेजपुर, बिहालीमा भूगाउँ पुगेर कठोर दुःख खेप्नु परेको महानन्दले मामा खडानन्द अधिकारीबाट द्रोणपर्व, सातकाण्डी रामायण एवम् ज्योतिष विद्या पढ्ने मौका पाए। तर दुर्भाग्य! यता महानन्दले 9 वर्षको उमेरमा प्रवेश गरे उता पिता रामचन्द्र पृथ्वी छोडेर स्वर्गबासी भए। 15 वर्षको उमेरसम्म उनको शिक्षादीक्षा सबै ठप्प भयो।

            बाबुको बिंडो थाम्न र जीवनयापनको स्रोत बटुल्न उनले शिवसागर जिल्लामा पर्ने गोरूमाराको छपरी गाउँमा गएर गाईवस्तु हेर्न र डुङ्गा खियाउन थाले। साढे पाँच वर्षसम्म उनी गोठालो भए, माझी भए। 16 वर्षको उमेरमा उनले स्थानीय पाठशालामा ए.बी.सी.डी. सिके र साथै आसामे भाषा पनि सँगसँगै सिके। 18 वर्षको अल्लारे उमेरमा तेजपुरको मिडिल स्कुलमा तेस्रो कक्षामा भर्ना भए र त्यहाँ आठौं कक्षासम्म पढे।

            तेजपुरमा गोविन्दप्रसाद पोखरेलको घरको एउटा सानो कोठामा बसी दही, दूध, फलफूल र तरकारीको सानो व्यापार गरी जीवन गुजारा चलाउँदै आमा सरस्वतीले छोरालाई आठौं कक्षासम्म त पढाइन् तर अब पढाइ खर्च जुटाउन धौधौ पर्न थाल्यो। व्यापारकै सन्दर्भमा तेजपुरमा उनको एकजना अङ्ग्रेज हाकिमसँग चिनजान भयो। आफ्ना छोराको भविष्य खोज्दै, भौंतारिंदै उनी उनै अङ्ग्रेजको ढोका ढक्ढक्याउन पुगिन् र छोराको पढाइको कुरा कोट्याइन्। अङ्ग्रेज हाकिमले दयालु स्वरमा भनेछन् – ‘भोलि छोरालाई लिएर आऊ, म छोरासँग कुरा गर्छु।’ भोलिपल्ट अङ्ग्रेज महाशयले महानन्दसँग सोधेछन् – ‘तिमीलाई पढ्ने इच्छा छ कि धन कमाउने इच्छा छ?’ महानन्दले दृढ स्वरमा जवाफ दिए- ‘मलाई धन कमाउने होइन, विद्या कमाउने इच्छा छ।’ महानन्दको जवाफ सुनेर ती हाकिमले आमालाई भने – ‘तिमी दुःख गरेर भए पनि छोरालाई पढाऊ। छोरो तेज छ, जेहेन्दाह छ, इमान्दार पनि छ। तिम्रो छोराका लागि म पनि केही गरौंला।’ अङ्ग्रेज साहेबको यस्तो दयालु वचन सुनेपछि महानन्दकी आमा सरस्वतीदेवी पनि ढुक्क भै आफ्नो छोराको उज्यालो भविष्यको सपना सङ्गालेर त्यहाँबाट फर्किइन्। तर दुर्भाग्य! ती अन्नदाताको अन्तै सरूवा भयो। अझ ठूलो दुर्भाग्य के भो भने जहाज कम्पनीका ती हाकिमको आफ्नै गोली लागेर मृत्यु भयो।

            अब केही उपाय नलागी महानन्दले तेजपुरको अदालतमा कारिन्दा भै काम गरे। अदालतमा तीन वर्षसम्म कारिन्दा जीवन बिताए। उनी यो कारिन्दा जीवनबाट वाक्क भए र स्वतन्त्र जीवन बाँच्ने इच्छा भयो। जागिरबाट राजीनामा दिएर नेपाली गाउँमा गएर केटाकेटी बढाउन थाले। असामका नाम चलेका कवि पुष्पलाल उपाध्यायका छोरा महानन्द उनका चेला थिए।

            यसपछि उनी किलवर्न कम्पनीमा काम गर्न थाले। कम्पनीमा उनको काम थियो – ग्वालपाडादेखि डिब्रुगढसम्म चल्ने स्टीमरको हेरविचार गर्ने।

            आसामको सबैभन्दा ठूलो नदी ब्रह्मपुत्रलाई महानदी पनि भनिन्छ। यही महानदीमा यज्ञनीधि सापकोटा आनन्दले पौडी खेलेका हुनाले यज्ञनिधि सापकोटाको नाम महानन्द सापकोटा भनेर मैले नै राखेको हो भन्ने भनाइ तेजपुर निवासी गोविन्द पोखरेलको रहेको छ।

            यसरी वनमा गोठालो गर्दै, नदीमा डुङ्गा हेल्दै, नेपाली गाउँहरूमा शिक्षाको ज्योति बाल्दै र साहित्यको महानदीमा पौरी खेल्दै, नदीमा स्टीमर चलाउँदै, दुःखले जीवन यापन गर्दै जीवनका 40 वर्ष बिताएर महानन्द अर्थात् मेरा बा आसामबाट नेपाल फर्किनुभयो वि.सं. 1993 साल फागु पूर्णिमाका दिन।

            यी माथिका कुरा मैले बा, आमा र दाजुबाट सुनेका हुन्।

साभार सङ्गम अभियान

असम, आरम्भ, आगमन र अनुभूति

► मधु पोखरेल

            असम। हजारौं नेपालीको रगत र पसिनाले सिञ्चित आधुनिक असम। काम र मामको खोजीमा, शोषण र उत्पीडनबाट पार पाउन परापूर्व कालदेखि नै आसाम पस्नुपर्ने विवशता र बाध्यतालाई आत्मसात गर्दै कतिले कुहियार (उखु) खेती र कतिले पशुपालन गर्दै आफ्नो सीप र जाँगरले हराभरा पारेको असम। त्यसै असम भासिएका वा उनका पुर्खा भासिएका लीलबहादुर क्षेत्रीले लेख्ने थिएनन् – ‘बसाइँ’।

            ‘बसाइँ’ जो नेपालको विश्वविद्यालयमा पढाइ हुन्छ, जो विश्वका धेरै भाषामा अनुवाद भएको छ। त्यस्ता कालजयी कृतिका लेखक अहिले पनि असममै हुनुहुन्छ, असमलाई कर्मक्षेत्र बनाएर जीवनको उत्तरार्द्धमा पनि नेपाली भाषासाहित्यको सेवामा समर्पित लीलबहादुर क्षेत्रीलाई असममा उपन्यास सम्राट भन्दा रहेछन्। उनका उपन्यासलाई हेर्दा पनि यो उपाधि अनुपयुक्त लाग्दैन।

            असमसँग परिचित हुने सौभाग्य मैले 2064 मा पाएँ। असम साहित्य परिषद्को आमन्त्रणामा 2064 मा पहिलो पटक असम पुग्ने मौकालाई अझै बिर्सन सकेको छैन। परिषद्का मूल सचिवको आमन्त्रणमा विराट साहित्य सङ्गमको तर्फबाट असम पुग्दा मलाई नेपालकै कुनै शहरमा पुगेझैं अनुभूति भयो। जक्सनबाट उत्रनासाथ राधाकृष्ण मन्दिर सहितको नेपाली मन्दिरको दर्शन, भानु अतिथि भवनको बास र नेपाली अनुहारको सामीप्यताले मलाई आफ्नै शहर पुगेझैं भयो।

            नेपाली भाषा साहित्यको विकासमा हामी मेची वारिका  श्रष्टा जति चिन्तित छौं, त्यति नै चिन्तित र प्रयत्नशील असमी श्रष्टाहरू पनि रहेछन् भन्ने दिव्यज्ञान प्राप्त भयो पहिलो असम भ्रमणमा।

            दोस्रो भ्रमण – विशुद्ध धार्मिक भ्रमण थियो। असमको कामाक्षा माईलगायत त्यहाँका सम्पूर्ण तीर्थस्थलको भ्रमण पश्चात् त्यहाँको पर्यटकीय स्थलको अवलोकनले हामीलाई मन्त्रमुग्ध पारेको थियो।

            तेस्रो भ्रमण असम साहित्य सभाको आमन्त्रणमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसहितको दस जनाको टोलीमा जाने सौभाग्य प्राप्त भयो 2068 माघमा। पूर्वका केही श्रष्टा सहितको दसजनाको टोली तीनसुकिया दक्षिण मार्घेरिटास्थित लिडू भन्ने स्थानमा आयोजित तीन दिने कार्यक्रमको झलकले असमका विभिन्न जातजातिको सांस्कृतिक, साहित्यिक एवम् ऐतिसाहिक वस्तुहरू कसरी आजसम्म संरक्षण, सम्बर्धन गरेका रहेछन् भन्ने बोध गर्ने अपूर्व मौका मिल्यो। साथै सरकारी स्तरबाट पनि साहित्य, संस्कृति र कलालाई कसरी हेरिंदो रहेछ भन्ने कुरा असमका राज्यपाल, मन्त्रीहरूको उपस्थितिले जान्ने बुझ्ने मौका मिल्यो। त्यसबेला नेपाली प्रतिनिधि मण्डलको जीवनवृत्तसहितको पुस्तिका आदि र नेपाली प्रतिनिधि मण्डललाई गरेको सम्मानले हामी हर्षविभोर भयौं।

            यसै बीचमा हामीले अर्थात् विराट साहित्य सङ्गमले नेपाली साहित्य परिषद्लगायत असमका रुाष्टाहरूलाई आमन्त्रण गर्यौं। 2067 पौष 9 र 10 गते दुई दिने कार्यक्रममा असम साहित्य परिषद्का अध्यक्ष नव सापकोटाको नेतृत्वमा 18 जना असमेली र पश्चिम बङ्गालका नेपाली रुाष्टाहरूको उपस्थितिमा पनि ती पूर्व परिचित अनुहारहरूसित नवीकरण गर्ने मौका प्राप्त भएको थियो।

            यसरी साहित्यिक सद्भाव यात्राको क्रममा दुई पटक र धार्मिक एवम् पारिवारिक यात्राको क्रममा एकपटक गरी तीन पटक असम पुग्ने अवसरले मलाई मेरो सिर्जनामा नयाँ आयाम थपेको अनुभूत भएको छ।

            किन असम प्यारो लाग्छ मलाई भन्ने गम्भीर चिन्तन र मनन गर्दछु – म कहिलेकाहीं। साहित्यिक यात्राकै क्रममा देहरादून पुगेको छु, सिलीगुडी पुगेको छु र बिहारका केही क्षेत्र पुगेको छु। तर … असमले के मोहनी लगायो कुन्नि, त्यहाँको नेपाली मन्दिर, त्यहाँका नेपालीका बोलीवचन र नेपाल र नेपालीप्रति त्यहाँका भारतीय नेपालीका भावना र शुभेच्छा त्यहाँका गाउँटोलका नेपाली समुदायको रहनसहन, नेपाली संस्कृतिप्रतिको माया र यता र मेची वारिको तुलनात्मक अध्ययन गर्दा एउटा नेपाली जो भाषा, साहित्य, कला र संस्कृतिप्रति चिन्तित छ, पक्कै पनि असमप्रति नतमस्तक हुनुपर्दछ। कमसेकम मेची पारि हामी परिचित छौं, नेपाली भाषा, साहित्य, संस्कृतिले स्थानपाएको छ भनेर गौरव गर्ने ठाउँ छ।

            2071 साल मङ्सिर महिना। तत्कालीन असम साहित्य परिषद्का सचिव, हाल असमकै लङका आञ्चलिक नेपाली साहित्य कलाकृष्टि मञ्चका अध्यक्ष कबीर सिंह क्षेत्रीको निमन्त्रणाले विराट साहित्य सङ्गम गौरवान्वित बन्यो। तय गऱ्यो 2071 मङ्सिर 19 गते असम प्र्स्थान गर्ने। एक महिनाअघि नै रेलको टिकट बुकिङ गरी 19 गते हामी संस्थाका 8 जना र पर्यवेक्षक 5 जना गरी 13 जनाको टोली काकडभिट्टा हुँदै न्यू जलपाइगुडी साँझ 5 बजे पुग्यौं किनकि हाम्रो यात्रारम्भ 6.30 को थियो।

            भारतीय रेल सेवा र नेपालका मन्त्रीहरूबीच अन्योन्याश्रित सम्बन्ध रहेछ कि जस्तो अनुभूत त्यतिखेर भयो जब रेल भोलिपल्ट बिहानको 4.30 मा मात्र आइपुग्यो। रातभरिको विश्रामालयको चिसो खाँदै बिहान आँखा मिच्दै रेलको डिब्बामा चढ्दाको हालत कसैलाई नपरोस् भन्ने कामना गर्दछु।

            रेल यात्राको दस घण्टा पश्चात् अर्थात् दिउँसो 2.30 बजे गुवाहाटी जक्सन पुगियो। त्यहींसम्मको

टिकट थियो हाम्रो तर रेल भने तीनसुकियासम्म जाने रहेछ। हामीले टी.टी. मार्फत सोही रेलबाट होजाइसम्म जाने तारतम्य मिलाएपछि रेल बदल्नु नपर्ने भयो। साँझ चार बजेतिर हामी होजाइ पुग्यौं भने त्यहाँबाट टेक्सी लिएर लङ्काको ‘नगाउँ’ भन्ने स्थानमा उत्रियौं। उत्रनासाथ भानुभक्त पथ लेखिएको देख्ता हामी अचम्भित भयौं। यता नेपालमा भानुभक्त, देवकोटाका सालिकमाथि उछृङ्खल तत्वहरूबाट यदाकदा प्रहार हुन्छ भने उता विदेशमा भानुभक्तको नाममा सडकको नामकरण भएको छ।

            त्यही भानुभक्त पथ हुँदै हामी लङ्का आञ्चलिक नेपाली साहित्य कलाकृष्टि मञ्चका अध्यक्ष कबीर सिंह क्षेत्रीको घर पुग्यौं। त्यहाँ त हाम्रो स्वागतमा बस्ने खाने सम्पूर्ण सुविधाको उपलब्धतामा स्वागतार्थ असमका वरिष्ठ साहित्यकार नवसापकोटा, बाल साहित्यकार मुन्नी सापकोटालगायतको उपस्थिति थियो।

            लङ्का एउटा सानो शहर थियो। शहरका प्रमुख चोकहरूमा विराट साहित्य सङ्गम विराटनगर नेपालका साहित्यकारहरूको सम्मानमा आयोजित कार्यक्रममा सहभागी हौं भन्ने पोस्टरहरू टाँगिएको र कार्यक्रम स्थल पी.के.भवनको व्यानरले पनि हामीलाई आकर्षित गऱ्यो। अतिथि देवो भवःको हाम्रो धार्मिक एवम् सांस्कृतिक महत्वलाई असमेली नेपालीले कसरी हृदयमा सजाएर राखेका रहेछन् भन्ने सुखद अनुभूति भयो।

            2071 मङ्सिर 21 गते (7 डिसेम्बर 2014) का दिन दिनको 1 बजेबाट प्रारम्भ भएको साहित्यिक, सांस्कृतिक कार्यक्रममा भाग लिन आठ दशक नाघिसकेको उपन्यासकार लीलबहादुर क्षेत्री, तेजपुर असमका श्रष्टा मित्रदेव शर्मा, के.वी. नेपाली, युवा श्रष्टा रण काफ्ले, बाल साहित्यकार मुन्नी सापकोटा, नतुन साहित्य परिषद्- लङ्काका अध्यक्ष जयगोविन्द शैकियालगायत सयौं नरनारीको उपस्थितिमा कार्यक्रम सञ्चालन भयो। वरिष्ठ साहित्यकार नवसापकोटाको अध्यक्षता र उपन्यासकार सम्राट लीलबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपालका तेह्रजना श्रष्टाहरूलाई नेपाली टोपी, असमको फूलबुट्टे गम्छा (फुलाम) र सम्मानपत्र प्रदान गरियो। स्थानीय र नेपालका श्रष्टाहरूका कविता, गीत र गजलले सभास्थल रोमाञ्चित बनिरहेको थियो भने बीचबीचमा बालिकाहरूको नृत्यले पनि आकर्षित पारिरहेको थियो। मञ्चका अध्यक्ष कबीर सिंह क्षेत्रीले मञ्चको प्रगति सुनाउँदै दुई देश बीचको भाषा साहित्य आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको बताउनु भयो। त्यसैगरी विराट साहित्य सङ्गमको क्रियाकलापबारे सङ्गमका अध्यक्ष ऋतु आसीकले जानकारी गराउनु भएको थियो।

            झण्डै पाँच घण्टा चलेको उक्त कार्यक्रमले निश्चय पनि भाषा, संस्कृति र कलासाहित्यलाई भूगोलले छेक्न सक्तैन भन्ने गहिरो छाप मन र मस्तिष्कमा सजिएको अनुभूत भयो।

            लङ्कामा सम्पन्न कार्यक्रमबारे असमको प्रसिद्ध हिन्दी दैनिक पत्रिकाको 10 डिसेम्बर 2014 मा ‘लङ्का में नेपाली साहित्य समारोह सम्पन्न’ भनी विस्तृत रूपमा समाचार प्रकाशित गरेको छ भने गुवाहाटीबाट प्रकाशित नेपाली पत्रिकामा पनि महत्वका साथ समाचार दिएको पाइयो।

            अर्को मीठो अनुभूति के रह्यो भने नेपाली भाषा साहित्यको श्रीवृद्धिमा गैर नेपाली भाषीले पनि उत्तिकै सहयोग र सद्भाव प्रकट गरेको पाइयो।

            भोलिपल्ट बिहान 8 बजेको रेल यात्राबाट साँझमा मात्र गुवाहाटी आइपुग्यौं र नेपाली मन्दिरको भानु अतिथि भवनको बासले पनि हामीलाई परदेशको अनुभूति हुन पाएन।

            यसरी पूर्व परिचित गुवाहाटी आइपुगेपछि हामीमा एउटा आत्मीयता, एउटा रमाइलोपनले ढुक्क भएझैं भयो। त्यसमा पनि लङ्कामै नवसापकोटाजीले हामी गुवाहाटीमा पनि तपार्इंहरूको सम्मानमा कार्यक्रम गर्दैछौं भन्ने आश्वासनले हामी अझ प्रफुल्लित हुन पुगेका थियौं। गुवाहाटीस्थित नेपाली मन्दिर व्यवस्थापन समितिबाट 2014-12-9 तारिखका दिन हाम्रो स्वागत एवम् कवि गोष्ठी आयोजना भयो। हामीलाई असमको जापी (टोपी) र फूलबुट्टे गम्छाले गरेको आतिथ्यप्रति हामी नतमस्तक हुँदै कविता, गीत र गजलले नेपाली मन्दिर पनि रोमाञ्चित हुन पुग्यो। समितिका अध्यक्ष श्रीमती लक्ष्मी सुवेदीको अध्यक्षता र ऋतु आसीकको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रम साँझ 6 बजेसम्म रोमाञ्चित भइरह्यो।

            कार्यक्रम भव्य एवम् सभ्य त छँदै थियो, यसैबीच नवसापकोटाले भोलि बिहानको भोजन उहाँकै निवास देवकोटानगरमा व्यवस्था गर्नु भएको रहेछ। हामीलाई त पशुपतिको जात्रा सिद्राको व्यापारझैं भयो। गुवाहाटीको प्रसिद्ध कामाक्षामाई, उमानन्द आदिको दर्शनका साथै साहित्यिक माहौल एवम् गुवाहाटीको मालीगाउँस्थित देवकोटानगरमा अवस्थित नव, मुन्नीजीको निवास छेउकै नेपाली पाठशाला एवम् देवकोटास्मारक अवलोकनले पनि हामीलाई हर्षविभोर तुल्यायो। साँझ प्रसिद्ध श्रष्टा दुर्गा खतिवडासँगको भेटले त हाम्रो हर्हर भएको आँतले पनि निकास पाएझैं अनुभूति भयो।

            यसरी यसपल्टको असम यात्राले एउटा विचार, भावना र आत्मीयताको कसिलो डोरी बोकेर हामी 24 गते साँझ अर्थात् 10 डिसेम्बर 2014 गते राति 10 बजेको रेल यात्राबाट न्यू जलपाईगुडी बिहान 7 बजे उत्रियौं।

            साँच्चै नेपाल र नेपाली संस्कृतिप्रति जति असमका नेपाली प्रतिबद्ध छन, त्यति मेचीवारि छ जस्तो नलाग्ने अनुभूति र तीतो यथार्थ बोकेर यसपल्टको यात्रा समापन भएझैं लाग्यो।

साभार – संगम अभियान

मेरो अनुभूति चिन्तनको सेरोफेरोभित्र असम यात्राको वृत्तचित्र

► गोकुल ‘व्याकुल’

            विगत तीन वर्ष पहिले नै विराट साहित्य सङ्गमका तत्कालीन सचिव ऋतु आसीकद्वारा घोषित ‘असम यात्रा’ सर्दैसर्दै टर्दैटर्दै जाने हो कि भन्ने आशङ्का बढ्दै गर्दा यसपालि भने पक्कापक्की भयो र मङ्सिरको तेस्रो हप्ता अर्थात् 19 गते त्यसतर्फ प्रस्थान गर्ने भयौं। रेल्वे आवतजावतका लागि प्रतिव्यक्ति ने.रू. 1000/- दरले सङ्कलन गरी एक महिना अगाडि नै रेलको टिकट पनि काटियो। असम यात्रामा जाने उत्कट रहरले गर्दा मैले मङ्सिर 20 गते निश्चित प्रायः भइसकेको छोराको बिहे मङ्सिर 11 गते सार्नुपऱ्यो।

            घरायसी व्यवहारमा व्यस्त रहँदा पनि निकट भविष्यमा हुन लागेको असम यात्राको परिकल्पनाले मनको कुनाबाट च्याउँथ्यो र सर्वाङ्गमा रोमाञ्च ल्याउँथ्यो। केही दिनकै लागि भए पनि विदेश घुम्न जानुको मज्जा नसानसामा तरङ्गित भएर म त्यो क्षणलाई अठ्याउन तुल्बुलाउँदैछु क्यारे! कुनै बेला मेरो मनमा हीन भावनाको धुवाँ रूमल्लिन्थ्यो – ‘म कुन टाढाको विदेश यात्रा गर्दै छु र? यहाँबाट 24 घण्टामा पुगिने ठाउँ त्यहीं परको गुवाहाटी र अलि परको लङ्का …. खै! समुद्र पारिको श्रीलङ्का नभएर ब्रह्मपुत्र पारिको लङ्का … खैं …!’ फेरि अर्को क्षणमा म सह्मालिइसकेको हुन्थें – ‘मेरो विदेश यात्राको श्री गणेश नै भारतको लङ्काबाट हुँदैछ भने मैले समुद्री टापु श्रीलङ्का किन खोज्ने? मेरो यात्राका लागि त्यही असमको लङ्का नै ऐश्वर्य श्री हुनेछ र असमबासी नेपालीहरूका मैत्री र आतिथ्य भावले उठेका हातले नै मेरो वामपुड्के उचाइलाई छुनेछ। अतः त्यो नाउँ र ठाउँको लघुताभासमा किन रूमल्लिने?’

            यात्रा छोटो दुरीको नै किन नहोस् तर उपलब्धिमूलक हुनुपर्छ। यात्रा खालि यात्राका लागि मात्र भयो भने अथवा यात्रामा नयाँ प्राप्ति र नयाँ संसारको खोजी नभएर मनमौजी लहडको यात्रा भयो भने त्यसको के अर्थ रहन्छ र? हामीले गर्न लागेको यात्रा के सम्मानको भोक मेटाउनका लागि मात्र हो र? होइन भने अरू पनि धेरै कुराहरूको अध्ययन गर्न सकिन्छ। त्यसैले मैले हाम्रो असम यात्रालाई आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्नुजत्तिकै उचाइको ठानें र कोलम्बसले अमेरिका नजरअन्दाज गर्नुजस्तै गहिराइको माने।

            समयको गति अति छरितोसँग लम्किने क्रममा 2071 को मङ्सिर 19 गतेको दिन पनि टुप्लुक्क आइपुग्यो। आज हामी भारतीय नेपाली साहित्यिक संस्थाको निमन्त्रणामा असमतर्फ प्रस्थान गर्दैछौं। बिहान 10.30 बजे भित्र विराटनगर बस पार्कमा भेला हुनुपर्ने सल्लाहअनुसार ठीक समयमा त्यहाँ पुगियो। मलाई त्यहाँसम्म स्कुटीमा हाँकेर पुऱ्याउने मेरो नवविवाहित छोरा उत्तमको साथी सतीश चौधरी हाम्रो कुटीतर्फ फर्किसकेको थियो। साथी भाइहरू एकएक गर्दै जम्मा हुँदै थिए। म पाँच मिनेटका लागि भनी अलि पर गएँ। लघुशङ्का निवारण गरी तुरून्त फर्केर आउँदा अघि जम्मा भएका ठाउँमा कोही साथी थिएनन्। बस पार्कको टहरामा मेरो झोला मात्र मलाई पर्खेर बसिरहेझैं देखियो। म फटाफट झोला भएतिर लम्किएँ। त्यहाँबाट पश्चिमपट्टि दृष्टि दिएँ। अलिपर ऋतु आसीकलगायत टोली सदस्यहरू यात्रु बसमा चढ्दै गरेका देखिए अनि भर्खरै आइपरेको आकस्मिकतालाई मैले सहज रूपमा लिएँ र झोला झुण्ड्याउँदै त्यतैतिर लम्किएँ।

            बसपार्कबाट हामी ऋतु आसीक, खेम नेपाली, लोचन रिजाल, गण्डकीपुत्र, मधु पोखरेल, हरि कट्टेल, बद्री बिशाल पोखरेल, शिवनारायण पण्डित र गोकुल ‘व्याकुल'(म) आआफ्ना सीटहरूमा फिट भइसकेका छौं। मसँगैको सीटमा एक दारीवाल बुद्ध विराजमान भए। पछि थाहा लाग्यो – तिनी पनि हाम्रो टोलीका सदस्य रहेछन् – पत्रकारको रूपमा वीरगञ्जका सुदर्शनराज पाण्डे। बस त्यहाँबाट अगाडि बढ्ने क्रममा महेन्द्र चोकबाट अच्युत खतिवडा, बरगाछीबाट गायत्री कुमार चापागा र खनारबाट राजेश कोइराला चढेपछि हाम्रो टोलीको संख्या तेह्र पुग्यो। अघिसम्म एक्लाएक्लै रहेका म, महरू अहिले हामी भयौं र गाडी रफ्तारमा काँकडभिट्टातर्फ लम्किरह्रौं।

            सुदर्शनजी र मेरो बिचमा परिचयको आदान प्रदान भइसकेको छ। दुवै जनाको बीचमा एकैतिरको गन्तव्य र एउटै लक्ष्यतर्फ उन्मुख सहयात्रीको नाता जोडिएपछि आफैंआफ दङ्ग परेका छौं। बेलाबेलाको मौनतालाई भङ्ग गर्दै तत्कालीन विषयप्रसङ्गका कुरा गऱ्थ्यौं। उता अन्य सहयात्री साथीहरू पनि बोल्दैहाँस्तै गरेको सुनिन्थ्यो। हाम्रो गाडी नाममा नन्स्टप भनिए पनि काममा विपरीतझैं देखियो। त्यो त जुन्सुकै ठाउँमा स्टप गर्ने र यात्रुहरू कोचाकोच भर्ने कलामा अरू गाडी भन्दा झन् टप रहेछजस्तो लाग्यो। यात्रुलाई दिसापिसाब लाग्दा नरोक्नेचाहिं साँच्ची नै नन्स्टप रहेछ। साथीहरूबीच हँस्यौलीठट्यौली पनि सुरु भइसकेको थियो। यस्तैमा हाम्रो टोली मध्येका कसैले एउटा ब्यङ्ग्यवाणी प्रकट गरेको मेरो कानमा पऱ्यो। ‘बुझ्नु भो? आज कोहीकोही मान्छे झण्डै छुटेका थिए।’ तर कसैबाट त्यसबारे प्रतिक्रिया सुनिएन। सायद इसारा नै काफी भइदियो। मलाई थाहा थियो – त्यो व्यङ्ग्य कोतर्फ लक्षित थियो तर म मौन रहिदिएँ।

            3 बजेतिर काँकडभिट्टा बस स्टपमा उत्रिनासाथ दुई थान ट्याक्सी रिजर्भ गरेर नन्स्टप गतिमा हामी न्यूजलपाइगुढी (NGP) तर्फ हुइँकियौं। जलपाइगुडीभन्दा 5/7 किलोमिटर यताको बागडुगुरा बजारमा अन्तर्राष्ट्रिय विमानस्थल बनेको रहेछ र त्यहाँबाट काठमाण्डौंको उडान चल्दोरहेछ भन्ने पनि थाहा पाइयो। जलपाइगुडी शहरमा थरीथरीका सैकडौं सवारीहरू गुडिरहेका थिए। मान्छेहरू छिचिमिराझैं फिरफिर गरेझैं देखिन्थे। त्यहाँ दृष्टिगोचर हुन थालेको भारतीय वातावरणलाई सहज रूपमा वरण गर्दै हामी स्टेशनतर्फ लक्ष्योन्मुख थियौं। पराया धर्तीमा टेक्ता तत्काल मनमा केही बिझेझैं चस्का त लाग्यो तर मानवीय सौहार्द्रता र सभ्यतासंस्कृतिको समानताले आत्मीयताको भाव पलाउन थालेपछि त्यो सबै भाग्यो अनि तनमनमा फुर्ति र उत्साह जाग्यो। काँकडभिट्टाबाट करिब डेढ घण्टामा न्यूजलपाइगुडी स्टेशन परिसरमा उत्रिएलगत्तै त्यहीं नेरको गुरूङ होटलमा पसेर दालरोटी खायौं, भोकको ज्वाला निभायौं र आआफ्ना खल्तीबाट त्यहाँको चलनचल्तीको भा.रु. बुझायौं। गुरूङ होटलको नाउँमा त्यहाँ केहीबेर बसेर जलपान गर्दा मेरा आँखा र मनले नेपालीपन र नेपालीजन भेट्टाइन्छ कि भनी खोजी गरे दुवै पाइएन तर नेपाली बोलीका केही टुटेफुटेका शब्दहरू भने सुन्न पाइयो।

            भारतीय टायम पाँच बज्न लागेको थियो – 6 बजेको रेल चढ्न हामी आआफ्ना झिटिझ्याम्टा च्यापेर प्लेटफर्मतिर लाग्यौं। लामो भर्याङ उÏक्लदै रेल्वे प्रतीक्षालयमा पस्यौं। कुर्सीहरू खाली थिएनन् तल माझमा भुइँमा बस्यौं। हामीलाई विश्वास छ – अवध एक्सप्रेस भनिएको त्यो रेलगाडी तोकिएकै समयमा यहाँ आइपुग्छ र त्यसमा चढेर भोलि 12, 1 बजे दिउँसोतिर लङ्का पुग्छौं, रत्तिभर शङ्का छैन। प्लेटफर्ममा टाँगिएको समयसारिणीले त्यहाँबाट प्रस्थान गर्ने एक्सप्रेस गाडीहरूका समय तालिका पेस गरिरहेको थियो तर हाम्रा लागि भने त्यो समय सारिणीले आफ्नो नाउँको सार्थकता देखाउन थाल्यो। पहिले साँझमा 6 बजे देखाइएको समय क्षणभरमै 7.00 मा सार्यो। फेरि 8,9,10 गर्दै सार्दै गयो र 11.00 बजेपछि त्यो पनि अलप भयो। त्यो पीडादायी क्षणलाई हामीले प्रतीक्षाका प्रत्येक घडीमा घुटुकघुटुक निल्दै धैर्यवान् बनेर सह्रौं र छट्पटाउँदै, रन्थनाउँदै, यता र उता घुम्दैफिर्दै अनिकालका भकारीझैं त्यही प्रतीक्षालयको चीसो भुइँमा लडिरह्यौं। समयको पावन्दीले बन्दी बनाइएका हामी मानौं जेलखानामा छौं। मेरो दिमाग चक्कराइ रह्यो। नियमितता अनियमितता नेपाल, भारत खै! कता? हात्ती र हात्ती छाप चप्पल उस्तैउस्तै भएजस्तै नियमितता महङ्गो र अनियमितता यहाँ पनि सस्तै रहेछ। नाम भने अवध एक्सप्रेस र त्यसले हाम्रो मूल्यवान् समयलाई बिरालोले मूसालाई खेलाएझै गरी वध गरिदियो। यो भन्दा अगाडि तीर्थयात्रा गर्ने क्रममा धेरै चोटि रेल चढियो तर कहिल्यै यस्तो भएको थिएन।

            बिहानको 4 बजेतिर बल्ल अवध एक्सप्रेसले सिट्टी बजाएको सुनेपछि हामी घ्याङफर्याङ गर्दै रेलवे स्टेशनमा झर्यौं। रेलको गति स्थिर हुनसाथ आफ्नो डिब्बा पत्ता लगाई चढ्यौं र टिकट नं. अनुसारका एक एक सीटमा लम्पसार पऱ्यौं। तर निन्द्रा कचपचिइ सकेको हुँदा सुत्ने चेष्टा व्यर्थको भयो। झिसमिसैदेखि खाने कुरा बेच्नेहरूको ओहोरदोहोरो सुरु भइसकेको थाहा पाइँदै थियो। बाहिरको छ्याङ्ग उज्यालो झ्यालबाट देखिंदैछ। साथीहरू एकएक गर्दै उठेर बस्तैछन्। कोही कोही शौचालयतिर पनि पस्तैछन्। कसैले घुम्ती व्यापारीको खानेकुरा किनेर चपाउन थालिसकेका छन्। रेल तेज रफ्तारमा हुइँकिरहेको छ। समय पनि विस्तारै सुइँकिरहेको छ। भोक लाग्नुको स्वाभाविकता सबैमा महसुस हुँदैछ। खानेकुराहरू छिनछिनमा घुम्दैछन्। कतिपय साथीहरूले आफ्ना अगाडि देखा परेका खानेकुरा झालमुडी, रोटी तर्कारी, समोसा, बदाम आदि कुनै पनि उम्किन नदिई मौकामौकामा स्वाद लिइरहेका छन्। मिनरल जलका बोतल किनेर पिइरहेका छन्। म लगायत कतिपयले स्वास्थ्यस्थितिका कारण आफैंले बोकेका कट्याककुटुक चपाइरहेका छौं। थरीथरीका मुसाफिरहरूको घुमफिर चलिरहेको छ। बेलाबेलामा समलिङ्गी (हिंजडा)हरूका जोडी हात पड्काउँदै हुरी जस्तै पसेर यात्रुबाट पैसा असुल्ने चेष्टा गरिरहेका छन्। कतिपय यात्रुहरूचाहिं ती सिंगारु आएको सुइँको पाएपछि निदाएको अभिनय गर्दा रहेछन्। खै! कसरी कसरी हामीहरूचाहिं त्यो आतङ्कबाट बच्यौं क्यारे। रेलवे मुसाफिरहरूको यस्तैत्यस्तै चर्तिकला हेर्दै 2 बजेतिर हामी गुवाहाटी स्टेशन पुग्न लागेका छौं। त्यहाँनेरका खेतका पटाङिगनीहरू जलामय भएका र धानका हरिया व्याडहरूलगायत भर्खरै धान रोपेका गराहरू देखेर सुदर्शनजी र म छक्क पऱ्यौं। अनुकूल र प्रतिकूल मौसमका बारेमा कुराकानी पनि गऱ्यौं।

            हाम्रो यात्राको लक्ष्य हो – असमको लङ्का पहिले पुग्ने तर रेलको टिकट अनुसार गुवाहाटीमा उत्तिरनु पर्ने रहेछ। त्यसैले हामीले इमान्दारिता देखाउने भयौं र झिटीगुण्टा गुवाहाटी स्टेशनमा झाऱ्यौं। फेरि क्षणभरमै हामीलाई गाइड गर्ने राजुका दाजुभाइले कुरा मिलाए क्यारे हतारहतार उही डिब्बामा चढ्यौं। सबैले मिलेर टी.टी महासयलाई केही थमाइदिएपछि हामी निर्ढुक्कसँग अवध एक्सप्रेसमै अगाडि बढ्यौं।

            होजाइ स्टेशनमा उत्रिंदा घडीको सुई 4.30 मा पुगिसकेको थियो। तुरुन्तै एउटा ट्याक्सी रिजर्भेसनमा लिएर तेह्रौ जना त्यसैमा अटेसमटेस हुँदै नौगाउँको लङ्कातिर दगुऱ्यौं। करिब सवा घण्टा दगुरेपछि हामी बल्ल टुङ्गोमा अर्थात् लङ्कावासी कबीर सिंह क्षेत्रीले व्यवस्था मिलाउनु भएको अतिथिगृह (रङ्गमहल)मा विश्राम लिन पुग्यौं। तत्पश्चात् तुरुन्तै हामीलाई केही पर भोजनको आयोजना स्थलमा पुर्याइयो। त्यहाँ हाम्रो स्वागततार्थ प्रोफेसर लक्ष्मी मण्डल, साहित्यकार नवसापकोटा, उहाँकी धर्मपत्नी मुन्नी सापकोटा र अन्य केही गन्यमान्य, असमीहरू पनि प्रतीक्षामा रहनु भएको पाइयो। केहीबेरको भलाकुसारीपछि हामीलाई भान्सामा बोलाइयो। भोकले अतालिएका थियौं – मांसादि सहितको स्वादिष्ट परिकारहरूका साथ क्षुधा मेटाइदियौं। त्यस रात्रि भोजनको माहौलमा ‘अतिथि देवो भव’को सौहार्द्र भाव झल्किएको थियो।

            त्यसपछि हामी आफ्नो विश्रामस्थलमा गएर साझा शयनागारमा बिग्रिएको निन्द्रा सुधार्ने चेष्टा गर्दै लम्पसार भयौं। विराटनगरभन्दा त्यहाँ धेरै न्यानो भए पनि बाक्ला ब्लाङ्केटहरू प्रतिव्यक्ति तयार थिए। त्यो रात पनि निदाउनुको चेष्टा व्यर्थ सावित भयो – हाम्रा एक सहयात्री मित्रको विचित्रको बाघ घुराइले रात्रिको सन्नाटालाई चिर्दै सबैजसोको निन्द्रा पाताल पुऱ्याइदियो।

            भोलिपल्ट बिहान शौचादि स्नान पश्चात् चियापान चल्यो। हाम्रो कोठामा नवसापकोटा पनि सामेल हुनुभो र यस्तैमा तेजपुर (असम)बाट आउनु हुने मित्रदेव शर्मा भित्र पस्नु भयो। परिचयको आदानप्रदान सिद्धिनासाथ उहाँले आफ्ना साहित्य सिर्जनामध्येका दुईवटा साहित्य सिर्जना सुनाउनु भयो। त्यसपछि कबीर सिंह क्षेत्रीज्यूको सौजन्यमा उहाँको आफ्नै घरमा तयार पारिएको मांसादि परिकारहरू युक्त ओजनदार भोजनले पेट पूजा गऱ्यौं। त्यहाँ आठ, नौ वर्षे नानीहरू पनि परिकारपानी बाँडेर आतिथ्य भाव प्रदर्शन गरिरहेका थिए। यस्तो स्वाबलम्बनलाई हाम्रो तिरका नानीहरूले पनि अवलम्बन गरे कस्तो हुन्थ्यो? मनमा तर्कना उठिरह्यो।

            21 गते मङ्सिर (2071) 7 डिसेम्बर 2014 का दिनको 1 बजे तिर हामीलाई ट्याक्सीमा सवार गराई सिलाङ रोडको पी.के. भवनमा पुऱ्याइयो। त्यता जाँदै गर्दा हामीले टाउँठाउँमा ‘नेपालबाट आउनु भएको साहित्यकारहरूको स्वागत गरौं’ इत्यादि लेखिएका पर्चा र ब्यानरहरू पनि देखेका थियौं। जहाँ लङ्का आञ्चलिक नेपाली कलाकृष्टि मञ्च (असम)ले वृहत साहित्य संगोष्ठी तथा सम्मान समारोहको आयोजना गरेको थियो। विधिवत् ढङ्गले कार्यक्रम अगाडि बढ्ने क्रममा हामीहरू सम्मानित भयौं, अर्थात् हामीलाई सम्बर्द्धना गरियो। हाम्रो शिरमा पहिऱ्याइएको ढाका टोपीमा सगरमाथाको शोभा मुस्कुराएझैं देखिन्थ्यो। हाम्रो गलामा गुताइएको फुलाम गम्छामा नेपालीप्रति असमीयाहरूको मैत्रीभाव फक्रिरहेझैं लाग्दथ्यो। हामी सँगसँगै असमका केही गन्यमान्य व्यक्तित्वहरू जस्तै विशिष्ट अतिथिको रूपमा मञ्चमा आसीन प्रसिद्ध उपन्यासकार लीलबहादुर क्षेत्री, कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार नवसापकोटा, प्राध्यापक लक्ष्मी मण्डल, बाल साहित्यकार मुन्नी सापकोटा, अर्का साहित्यकार के.बी. नेपाली, वयोवृद्ध जयगोविन्द आदि सम्मानित हुनुभयो।

            बाहिर घाम लागिरहे पनि भित्र बिजुलीको उज्यालो थियो। त्यसमा पनि सम्मानित व्यक्तिहरूको व्यक्तित्वले सभाहालभरि एउटा छुट्टै ज्योतिर्मय आभा झल्झलाकार भएको देखिन्थ्यो। हामी पनि आत्मगौरवको भावनाले भावविभोर भएका थियौं।

            कार्यक्रम चलिरहेकै अवसरमा हामीले आआफ्ना कृतिहरूसँगै ‘सङ्गम अभियान’ का भानुभक्त विशेषाङ्क, सङ्गम अभियान मूल्याङ्कन विशेषाङ्क र देवकोटा विशेषाङ्कका केही प्रतिहरू वितरण गर्न बिर्सिएनौं।

            स्वागत सम्मानको कार्यक्रम सिद्धिएलगत्तै उद्घोषक भाष्कर सुवेदीले साहित्य संगोष्ठी सञ्चालन गर्ने अविभारा सभापतिलाई नै सुम्पिए। सभापतिद्वारा कुशलतापूर्वक सञ्चालन गरिएको कार्यक्रममा अझ बढी रौनक थपिएको भान हुन्थ्यो। घरको र अतिथिको भन्दै पालैसँग कविताहरूलाई मञ्चमा निम्त्याउने र प्रस्तुत गरिएका रचनाबारे टिप्पणी गर्ने शैली तारिफ गर्न लायक मात्र होइन अनुकरणीय पनि लाग्यो। हामीले पनि आआफ्ना रचना (कविता, गजल आदि) कार्यपत्र, समीक्षा लेख आदि आआफ्ना ढह्गले प्रस्तुत गऱ्यौं। असमी नेपाली साहित्य, श्रष्टाहरूमध्ये के.बी. नेपालीले व्यङ्ग्य कविता वाचन गरे। उनी ‘बिन्दु’ नामक नेपाली भाषाको पत्रिकाका सम्पादक रहेछन्। अर्का ‘पानस’ साहित्यिक पत्रिकाका सम्पादक श्रष्टा मित्रदेव शर्मा एवम् लङ्का आञ्चलिक नेपाली कलाकृष्टि मञ्च (असम)का अध्यक्ष कबीर सिंह क्षेत्र, नवसापकोटा र मुन्नी सापकोटालगायत हाम्रो टोलीका सदस्यहरूले आआफ्ना रचना बाचन गरिरहेका क्षणमा त्यस बृहत् साहित्य संगोष्ठीको सार्थकता शान राम्ररी छाएको थियो। त्यहाँ प्रदर्शन गरिएका नेपाली शैलीका नाचगानले हाम्रो स्वाभिमानलाई अझ उचाँइमा पुऱ्याइदिएझैं अनुभूति हुन्थ्यो। लोकभाकाका गीत र सङ्गीतले हाम्रो रोमरोमलाई तरङ्गित बनाइरहेका थिए।

            भावहरू त्यहाँ कति पोखिए कति तर तौलन को तयार थियो र? भावाभिव्यञ्जनको क्षणिक प्रलोभनमा आत्मवञ्चना सिवाय त्यो क्षणले अरू के दियो र? जे होस् हाम्रो यात्राले खोजेको रहस्य मैले त त्यहींबाट उद्घाटित भइरहेको देखें। जहाँ नेपाली कला र संस्कृतिको जीवन्त चित्रण भइरहेको भेटियो। जहाँ नेपाली साहित्यको उत्थानका निम्ति भगीरथ प्रयत्न भइरहेको पाउँदा भोकतिर्खा नै मेटियो। मन्तव्यको क्रममा एकजना असमी विद्वानले असमवासी नेपालीहरूलाई Dioseporic (डायस्पोरिक) अलग्गिएको समूह भन्ने संज्ञा दिंदा सभामा केही तर्कवितर्क पनि उठेको थियो।

            उता कार्यक्रम चलिरहेको छ, यता म केही वर्ष अगाडि पुगें। चार पाँच वर्ष पहिले डिसेम्बर 2014 हुनुपर्छ नेपाली साहित्य परिषद् असमका अध्यक्ष नव सापकोटाज्यूको नेतृत्वमा गएको टोलीलाई विराटनगरमा स्वागत सम्मान गरिएको क्षणलाई सम्झिरहेछु। त्यसैगरी वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रसँग डेढ दशक अगाडि सुनसरीको तरहरामा साक्षात्कार हुँदा उहाँको ‘बसाइँ’ उपन्यासको लोकप्रियताबारे चर्चा भएको पनि पूर्वस्मृति भइरहेछ।

            साँझ 6 बजेतिर कार्यक्रम सिद्धिए लगत्तै हामीलाई ससम्मान कारमा सवार गराई विश्रामगृहमा पुऱ्यइयो। त्यहाँ कबीर सिंहजीकै सौजन्यमा बिहानकै सरी तयार गरी पस्किएको स्वादिष्ट भोजनले भोक मेटाउन पाइयो। रात्रि भोजपछि खेम, मधु, लोचन, नव, कबीरादि को असमी मित्रसहित हल्का पेयसँगै रङ्ग-रोमान्स र डान्स पनि चल्यो। हामी कतिपय साथीहरूले पल्लो कोठाको रमाइलोतिर केहीबेर मात्र ध्यान दियौं र चाँडै निद्रादेवीको काखमा लुटपुटियौं।

            भोलिपल्ट बिहान आआफ्नो किसिमको नित्य कर्म सिद्धाई ग्रुपग्रुपमा विभाजित भई यत्रतत्र छरियौं। हरि कट्टेल र म पनि प्रातः भ्रमणको सिलसिलामा तेजपुरबासी मित्रदेव शर्मालाई विदाइ गर्दै सिलाङ रोड पूर्व निकै परसम्म पुगेर फर्कियौं। हामी दुई बीच वर्तमान जीवनका रोगाइ र भोगाइबारे सहृदयी भावमा गुन्गुनाइ पनि भए। फर्किने क्रममा चिया पनि पियौं। कोठामा पुग्नासाथ आजै बिहानै गुवाहाटी जाने सहमति गरियो। हामी तुरून्तै तयार पऱ्यौं र कबीरजी र उहाँको परिवारले देखाएको आतिथ्य सत्कारप्रति आभार प्रकट गर्दै उहाँकै गाडीमा विदाइको हात हल्लाउँदै सोझै होजाइ रेल्वे स्टेशनतिर हान्नियौं। टोली प्रमुख ऋतु आसीक र राजु भाइ विरामी आफन्तलाई भेट्न त्यसदिन लङ्कामै बस्ने भएकाले हाम्रो टोलीमा एघारजना मात्र थियौं।

            होजाइ स्टेशनमा भारतीय समय 10.15 को रेल चढ्ने भ्याइयो। रेल भित्रको चलखेल, उही रूप रङ्ग र ढङ्गमा देखा पर्न थाल्यो। हाम्रो पनि सालाखाला उस्तै चाला खाने, पिउने शैली उही पहिलेकै जस्तो क्षण क्षणमा थरीथरीका भिखारी, घुमन्ते व्यापारी र समलिङ्गी सिंगारुहरू यावत् आआफ्नै पाराले ओहोर दोहोर गरिरहेका थिए। एकपल्ट र हुरीझैं हुँइकिएर आएको एउटा सिंगारुले एक जना असमीया यात्रुलाई काटूँमारू गरेको पनि देखियो। हामी मध्येका कतिपय यात्रु भागा र भाग पनि भयौं।

            हामी ओल्लो डिब्बा, पल्लो डिब्बा गर्दै, यता र उताको सीटमा सर्दै परस्परमा ख्यालठट्टा र कुनै बखत यथोचित बातचित पनि गरिरहेका हुन्थ्यौं। रेल गाडी आफ्नै रफ्तारमा लगातार अगाडि बढिरहेको थियो। बाहिर हेर्दा समतलभूतलका खेतवारी, घर, रुख, बगैंचा आदि दगुरिरेका देखिन्थे। ती दृश्यहरूले मनमा कस्तोकस्तो कौतूहल उब्जाइदिन्थे र असीम आनन्दमा मग्न गराइदिन्थे।

            यस्तैमा गुवाहाटी नजिकको ब्रह्मपुत्र नदीनेर आइपुगेको थाहा पाएर म झ्यालको छेउमा सरें र बाहिर नजर घुमाउन थालें। ब्रह्मपुत्रको अपार जलराशिमा दृष्टि पर्नासाथ मेरो मन भावनाको तरङ्गमा पौडिन थाल्यो। मैले अनायासै लख काटें-ब्रह्मपुत्रको गहिरो गर्भमा असंख्य माछाहरू होलान्। स-साना भुराहरू र ठूल्ठूला माउहरू, बाउहरू। ठूल्ठूला ह्वेलहरू हेलिंदा सानाहरू पेलिंदा हुन्। ठूल्ठूला मिल्दा हुन् अनि सानालाई सुलुकसुलक निल्दा हुन्। ब्रह्मपुत्र किनारका पटाङ्गिनीहरूमा र टापुहरूमा पनि के त्यस्तै मत्स्य सभ्यताले मान्छेलाई ऐंठन गरिरहेको होला त? मैले तत्कालै लीलबहादुर क्षेत्रीको ‘ब्रह्मपुत्रको छेउछाउ’ सम्झें र त्यही छेउछाउमा कतै बसाइँका धने र मोटे कार्कीजस्ता नेपालीहरू बसेका होलान् कल्पना गरें।

            मानिसको सभ्यता र संस्कृतिमा नदीको ठूलो प्रभाव छ तर आज सभ्यता भौंतारिदै गएर शहरको जङ्गलमा पसेका मान्छेको उही जङ्गली स्वभाव छ। नदीले मान्छेभित्रको फोहोर मैला बगाउन सकेको छैन। यस्तै केके तर्कनाहरूमा घोंत्लदाघोंत्लदै गुवाहाटी स्टेशनमा रेल अडिइसकेछ।

            दिउँसो 2.00 बजेतिर हामी रेलबाट उत्रिएर गुवाहाटीको पल्टन बजार स्थित नेपाली मन्दिरको भानु अतिथि आश्रममा झोला बिसाउन पुग्यौं। त्यहाँका प्रबन्धकसँग निकै बेरको आनाकानीपछि बल्ल सात सीट वाला कोठा प्रतिव्यक्ति 100/- भा.रु. दिने कबोलमा रिजर्भ गर्न सफल भयौं। बाँकी चारमध्ये एकजना सातसँगै अटेर बस्ने भएपछि त्रिमूर्ति मित्र – मधु, गण्डकीपुत्र र खेमले त्यतै लजमा बन्दोबस्त मिलाए।

            बेलुकीपख अच्युत, शिवनारायण, बद्री विशाल, गायत्री, हरि, सुदर्शन र म कामाख्या देवीको दर्शन गर्न गयौं। बेलामौकैमा भगवतीप्रति भक्तिभाव प्रकट गर्न पाएर ढुक्क भयौं।

            बेलुकाको खानापिना पश्चात् सात सीटवाला कोठामा म र सुदर्शनजी सँगै सुत्ने सल्लाह मिलेपछि आठौ जना अटायौं। राति बाह्र बजेतिर बिउँझिंदा उनी उठेर बाहिर निस्केको पत्ता लाग्यो। दिशापिशाबको लागि गएका होलान् भनी प्रतीक्षाको घडी गन्दै चाल बुझिरहें तर उनी घण्टौं बित्दा पनि फर्किएनन्। लोचनका आँखाले राति 10.00 बजेतिर वरण्डामा ओहोरदोहोर गरेको देखेको थियो रे! मलाई हिजो अस्तिदेखि नै उनको मन चोर्न मन लागेको थियो तर मुख फोर्न सकेको थिइँन। ‘सुदर्शनजी! के तपार्इंले दुनियादारी देखी दिक्दारी भएर दारी पाल्नु भएको हो?’ राति अचानक उनी लापत्ता हुँदा तिनको दारीभित्र लुकेको रहस्य उद्घाटित नभई ब्रह्मपुत्रमा विलीन हुन पुग्यो त? अनिष्ट शङ्काले लङ्कासम्म हान्यो। हरि, लोचन, गायत्री, शिवनारायण र म बिहानसम्म छट्पटाइ रह्रौं। आखिर उनी कोठा नं.3 मा सुतेका छन् भन्ने थाहा लागेपछि ढुक्क भयौं। नभन्दै बिहान 7 बजेतिर सुदर्शनजीले हामीलाई दर्शन दिए। किन यस्तो गरेको? सबैले एकैचोटि प्रश्नको झटारो हान्दा डिस्कडिस्क गरेर मौन भइदिए। मैले पत्ता लगाउन खोजेको दारीको रहस्य उनको दारीभित्र लुकिरह्यो।

            बिहानको शौचादि स्नान, ध्यान, प्राणायमव्यायाम आदि नित्यकर्म सिद्धाई, चियापान समेत भ्याई सात भाइ साथीहरू उमानन्द शिव-स्वरूपको दर्शन गर्ने ताकमा नौका विहारको मज्जा लिन ब्रह्मपुत्रको किनारतर्फ दौडिए। तर बाक्लो हुस्सुले बाधा पुऱ्याएकोले एक घण्टा नबित्दै हिस्स परेर फर्किए। म आफू अस्वस्थ महसुस भएका कारण कोठैमा सुतिरहेको थिएँ।

            दिउँसो 1 बजेतिर हामी तेह्रै जनाको ग्रुप नेपाली मन्दिरमा झुरूप्प भइसकेको थियो। आज मङ्सिर 23 गते/डिसेम्बर 9, 2014 को दिन हाम्रो सम्मानका खातिर नेपाली मन्दिर परिसरभित्रको पहाडसिंह गुरूङ कक्षमा नेपाली मन्दिर प्रबन्धक समितिद्वारा सम्मान समारोहको आयोजना गरिएको हुँदा निम्ता स्वीकार्दै हामी 2 बजे सभाहलमा पस्यौं। नेपाली मन्दिर प्रबन्धक समितिकी अध्यक्षा लक्ष्मी सुवेदीको सभापतित्वमा स्वयंले सञ्चालन गरेको कार्यक्रममा विधिवत् ढङ्गले हामीलाई असमी छत्रे टोपी(जापी) र गम्छाद्वारा सम्मान प्रदान गरियो। हामी फेरि आत्म गौरवले गद्ग्द भयौं। आज त हाम्रो शिर र गला दुवैमा असामीहरूको हातको सुन्दर कलाले चुम्बा दिएझैं लाग्यो। मानौं हामी उर्ध्वगामी स्वाभिमानको विमानमा उडिरहेछौं।

            त्यो दिन त्यहाँ भएको साहित्य गोष्ठीमा हामी सबैले आआफ्नो शैली र परिपाठ प्रदर्शन गर्दै कविता पाठ र गजल गायन गर्यौं। मलाई लाग्छ-त्यहाँ हामीले दर्शक दीर्घाबाट वाह! वाह! पायौं।

            असमी साहित्यकारहरू नवसापकोटा, मुन्नी सापकोटा, डा. इन्दुप्रभादेवी र डा. गोमा अधिकारी लगायत विविध रस, गुण र अलङ्कार भावले लबालब भएका रचनाहरू सुनेर हामी पनि आह्लादित भयौं।

            त्यहाँ धेरै विशिष्ट विद्वान, विचारक र नेताहरूको समेत जमघट भएको हुँदा कार्यक्रमको भव्यता अझ चुलिएझैं लाग्थ्यो। त्यहाँ कसैले नेपालको राजनैतिक गतिविधि र भावी संविधानबारे टीकाटिप्पणी पनि गरे। नेपाली भाषासंस्कृति र भारतीय (असमी) नेपालीको जीवन र जगत्का बारेमा चर्चा पनि चल्यो। यसरी त्यहाँ नेपाली मनका ढुकढुकीहरू साटासाट गरियो। आपसी सौहार्द्र सद्भावले अतिथि र घरपति दुवैको छाती टन्न भरियो।

            त्यसदिन बेलुकाको भोजन र रातिको शयन आतिथ्य सत्कारको रूपमा ग्रहण गर्न पाइयो। भोलि रातिको रेल चढी स्वदेश फर्किने मानसिकतामा हामी निकै तुल्बुलाउन थालिसकेका थियौं।

            भोलिपल्ट बिहान 10 बजेसम्म हामी पल्टन बजारका कुनाकुनामा घर लैजाने सामान किन्न दुई, तीन, चारको जोडी विजोडी समूहमा छरियौं। 11 बजेतिर हामी नवसापकोटा दम्पतिको मैत्रीभोजको निम्तो मान्न देवकोटा नगर (मालीगाउँ) पुगेका थियौं।

            नवसापकोटाको घर परिसरभित्र हरियाली सौन्दर्य सर्वस्वले झकिझकाउ बारीबगैंचा देख्ता आदिकवि भानुभक्तको ‘बालाज्यू वर्णन’ कविताका पङ्तिहरू ‘यति दिन पछि मैले … पृथिवितल भरिमा स्वर्ग … को याद आयो।’

            सापकोटाज्यूको भव्य-भवनभित्र आगन्तुक कक्षमा केहीबेर विविध विषयमा चिन्तनमन्थन भएपश्चात् हामीलाई विभिन्न परिकार (गुन्द्रुकको अचार, माछा आदि) सहितको स्वच्छस्वादिष्ट र नरमगरम खाना ख्वाएर उहाँहरूले आतिथ्य सत्कार गर्नुभयो।

            पेट पूजा भएपछि दोस्रो चरणको बसाइँमा रमाइला गफ, हाँसोको मज्जा पनि लुटियो। सापकोटा दम्पतिले हामीलाई देवकोटा पुस्तकालय देखाउनु भयो। आदिकवि भानुभक्त र महाकवि देवकोटाप्रतिको आस्था भाव त्यहाँका नेपाली मुटुमा जीवन्त भएको थाहा पाउँदा म आफैंआफ भावविह्वल भइरहें।

            महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक अगाडि सामूहिक तस्वीर खिचाएपछि सापकोटा दम्पतिबाट हामीले हार्दिक विदाइ पायौं।

            त्यहाँबाट हामी सरासर आफ्नो मुकाममा फर्कियौं। फेरि पनि घरमा लैजाने नयानीला चीजहरूको खोजीमा धूमधामसँग पल्टन बजार घूमघाम गर्न थाल्यौं। लोचन रिजाल, हरि कट्टेल र म साँझ सात बजेसम्म पनि बजारको भीडमा खै! कुन्नि के खोज्न ठेलमठेल गरिरहेका थियौं। त्यहाँका साँगुरा सडकमा बाटो काट्नु पर्दा हिजोको कार्यक्रममा बाचन गरिएको आफ्नै कविता ‘बचेर हिंड्न मुस्किल’को याद आइरहन्थ्यो।

            तिम्रा जस्ता सवल करले गर्न के थाति राख्लान?

            बज्रै थाम्ने शिर छ बलियो कार्य को रोक्न सक्लान्?

            गर्दा मिल्छन् सुख सयल नै स्वर्ग जस्तै छ धर्ती।

            द्यौता जस्तै मनुज छ यहीं मान्नु चैं पर्छ अर्ती।।

विराटनगर-4 दूधफारम

साभार – सङ्गम अभियान

लोहित पारी : साहित्य यात्रा एक अनुभूति

► शिवनारायण पण्डित ‘सिङ्गल’

            लोहित पारिको भूमि-असम। लोहित अर्थात् ब्रह्मपुत्र नदी। ब्रह्मपुत्र नदीलाई लोहित नामले पनि चिनिन्छ। भनिन्छ – विष्णुको अवतारहरूमध्ये परशुराम अवतारमा भगवान परशुरामले आफ्नै आमाको टाउको काटेर रक्तरञ्चित कुठारले धर्तीमा प्रहार गर्दा विशाल खाल्डो बन्यो। जो तालको रूपमा परिणत हुन गयो। त्यस तालबाट बगेको पानीमा कुठार पखाल्दा सारा पानी नै रक्त ‘लहु’को रङ्गझैं रङ्गिदै बग्यो। कुठार प्रहारबाट बनेको कुण्ड अद्यापि परशुराम कुण्डले विख्यात र तीर्थको रूपमा पूजित छ भने ‘लहु’ बगेको ब्रह्मपुत्र नदी लोहित नामले पनि चिनियो। अझै पनि असमीयाहरूले ब्रह्मपुत्रलाई लोहित भनेर नै भन्दछन्।

            तिनै लोहित (ब्रह्मपुत्र) नदीको पारिको भूभाग, भारतको पूर्वोत्तर क्षेत्रको एउटा राज्य असम राज्यको नामले चिनिन्छ। त्यस असम राज्यको सदरमुकाम गुवाहाटी जो ब्रह्मपुत्र नदीको किनारैमा अवस्थित छ। गुवाहाटी शहर प्राचीन शहर पनि हो। भगवान शिवकी अर्धाङ्गिनी सतीदेवीको एउटा अङ्ग पतन भएको स्थान कामरूप जहाँ शक्ति पीठ स्थापित हुन गयो। त्यस शक्तिपीठलाई ‘कामरूप कामाक्षा माता’ भनेर पूजा गरिन्छ। जसको महात्म्य प्रबल र साक्षात् भगवतीको दर्शन हुन जान्छ। अर्थात् गुवाहाटी शहरभित्रै माता कामाक्षाको अति प्राचीन पाषाण मन्दिर रहेको छ भने त्यही नजिकै ब्रह्मपुत्र नदीको मध्य भागमा त्यति नै प्राचीन ‘उमानन्द’को आपरूपी मन्दिर पनि छ। जसको दर्शन गर्न नजिकैको कचहरी घाटबाट बोट (मोटरयुक्त डुङ्गा) चढेर जान सकिन्छ। असम पुग्ने जो कोही पनि माता कामाक्षा भगवती र उमानन्दको दर्शन नगरी आत्मशान्ति नै पाउँदैन। आध्यात्मिक लाभ मात्र होइन दर्शननीय र पर्यटकीय स्थान पनि रहेको हुनाले, त्यहाँ पुग्ने बित्तिकै मन हर्षित र आनन्द विभोर हुन पुग्छ। यस्को साथै बालाजी, हुनुमान मन्दिर, राधाकृष्ण रहेको नेपाली मन्दिरले जो कोहीको पनि मन लोभ्याउँछ।

            भर्खरै मात्र (दिसम्बर 5-10, 2014, वि.सं. 2071/8/19-24) नेपाल विराटनगरको साहित्यिक टोलीले असम यात्रा गर्ने अवसर पायो। असम लङ्काको एउटा साहित्यिक संस्था ‘लङ्का आञ्चलिक नेपाली साहित्यक कलाकृष्टि विकास मञ्च’ले विराटनगरको साहित्यिक संस्था ‘विराट साहित्य सङ्गम’लाई आमन्त्रण गऱ्यो। त्यस आमन्त्रणमा विराट साहित्य सङ्गम (विसास) परिवारबाट आठजना र पर्यवेक्षकको रूपमा पाँचजना गरी जम्मा तेह्र जना 2071 साल मङ्सिर 19 गते (दिसम्बर 5-10) 6 दिने भ्रमणमा असम प्रस्थान गऱ्यो। लङ्काका मित्र कवि कबीरसिंह क्षेत्रीज्यूको विशेष अग्रसरतामा पाएको मैत्रीपूर्ण निम्तोलाई साक्षात्कार गर्न हामी तेह्रजना साहित्यकारहरू नेपालको पूर्वी नाका काकडभिट्टा हुँदै न्यू जलपाइगुडीदखि गुवाहाटीसम्मको रेल यात्रा हिंड्यौं। त्यस तेह्र जनाको टोलीमा म (शिवनारायण पण्डित ‘सिङ्गल’ सहित ऋतु आसीक, प्राज्ञ खेम नेपाली, मधु पोखरेल, गण्डकीपुत्र, गोकुल व्याकुल (भण्डारी), लोचन रिजाल, गायत्रीकुमार चापागार्इं, हरि कट्टेल, प्रा.डा. बद्रीविशाल पोखरेल, सुदर्शनराज पाण्डे, राजेश कोइराला र अच्युत खतिवडा थियौं।

            बेलुका 6.30 को टिकट थियो। हामी एनजेपी को बेटिङ रूममा पुग्नुअघि बाहिरको गुरूङ होटलमा मनवाञ्चित खाना खायौं र आकाशे पुल हुँदै वेटिङ रुममा पुग्यौं। ठाउँ खाली छैन। भुइँमै आ-आफ्नो झोला बिसाएर बस्यौं। नयाँ ठाउँ, नयाँ यात्रा। केही कसिंदै, केही फर्किंदै रेल प्रतीक्षा गर्दै समय व्यतीत गर्न थाल्यौं। कवि गजलकारहरूको यस टोलीमा गजल र कविताको पङ्क्तिहरू त्यसै बुर्किन थाले। रेल आएन। कोही त भुइँमै निदाए। आखिर निन्द्रा न हो, निदाउन पलङ नै पर्खिनु पर्दैन। मैथिलीमा भनाई पनि छ – भुख नइँ मान्य बासी भात, प्रित नइँ मानय ओछीक जात, प्यास नइँ मान्य धोबीघाट आ निन्द नइँ मान्य टुटल खाट।

            कवि साहित्यकारहरू जो दुनियाँलाई उज्यालो बाँड्दै हिंड्छ, आज उनै कविहरूको दुर्दशा एनजेपी को रेल्वे वेटिङ रूममा हेरियो। कस्तो विजोक? ओफ्! रेल आएन। 10.30 बजे पनि आएन। न राम्ररी सुत्नै पाइयो न राम्ररी जाग्नै पाइयो। तड्पिंदै, छट्पटिंदै समयभन्दा पनि भारतीय रेल ढिलो हुँदोरहेछ। साँच्चै अवध असम एक्सप्रेस त ढिलोको पराकाष्ठा नाघ्ने रेल सेवा रहेछ। जे होस् हामी रेल चढेर गुवाहाटीतिर लाग्यौं।

            20 गते शनिवार करिब 2.00 बजे गुवाहाटी पुऱ्याइदियो। हाम्रो टिकट त्यहींसम्मको थियो र जानुपर्ने अझै उता लङ्का भन्ने ठाउँ थियो। जो गुवाहाटी भन्दा करिब 125 कि.मि. टाढा रहेछ। टि.टि.लाई भनसुन गरी बिना टिकटको महसुल तिरी ‘होजाई’सम्म लगिदिने कुरा भयो। करिब 7 बजे होजाई पुग्यो र त्यहाँबाट टेम्पोमा खाँदिएर लङ्काको रङ्गमहल जहाँ कबीरसिंह दाइको घर रहेछ 9 बजे पुग्यौं। हाम्रो स्वागतको लागि तयार त्यहाँका साहित्यकार मित्रहरू देख्ने वित्तिकै खुसीले गदगद भए। युवा मित्र लक्ष्मीनारायण मण्डल, वापन दे आदिको सहआयोजनमामा रात्रि भोजमा सहभागी भई पुनः रङ्गमहल आई विश्राम गर्यौं।

            कार्यक्रम दिसम्बर 7 तारिख दिनको 1 बजेदेखि रहेछ। कबीरसिंह दाइको घर चिया नास्तादेखि खानासम्म भयो। त्यसपछि लङ्का बजारस्थित एउटा पि.के. सामुदायिक हलमा कविता गोष्ठी आरम्भ भयो। हामी नेपाली टोली सहित विशिष्ट व्यक्तिहरूलाई नेपाली टोपी तथा असमीया फुलाम गामोछा ओढाएर सम्मान (सम्बर्द्धना) गरियो। त्यस कार्यक्रमको प्रमुख अतिथि उपन्यास सम्राट ‘बसाइँ’ उपन्यासकार लेखक लीलबहादुर क्षेत्री हुनुहुन्थ्यो भने सभाको सभापति नवसापकोटा (साहित्यकार) रहनु भएको थियो। कार्यक्रमको सुरु सञ्चालन भाष्कर उपाध्यायज्यूले गर्नुभएको थियो। त्यसपछि कविता गोष्ठीको सञ्चालन स्वयं सभापतिज्यूले नै गर्नुभएको सो कार्यक्रम नेपाली टोलीका वरिष्ठ गजलकार कवि मधु पोखरेलको गजलबाट आरम्भ भएको थियो। जसमा विराटनगरका 12 जना कविहरूले रचना वाचन गरे भने त्यहाँका स्थानीय कविहरू नवसापकोटा, कबीरसिंह क्षेत्री, के.बी. नेपाली, मुन्नी सापकोटा, मित्रदेव शर्मा, गरी 3 दर्जन कविताहरू वाचन गरिएका थिए। अझ बीचबीचमा स्थानीय कलाकार बहिनीहरूबाट नेपाली नृत्यले उक्त कार्यक्रमलाई मोहकता प्रदान गरेको थियो।

            करिब 8 बजे समापन भयो। हामी बासस्थान फर्क्यौं। यहाँ त झन् नेपाली लोकगीतहरूले त मानौं सिङ्गो नेपाल नै उभ्याइदिएको थियो। खेम नेपाली, गण्डकी, शिव, मधु, नव तथा लक्ष्मी, वापन र अरू थुप्रै युवाहरूको नृत्यले सुरमयी बनाइदिएको थियो त्यो साँझ।

            नौ तारिखको दिन गुवाहाटीमै कार्यक्रम भएकोले आज 8 तारिखकै दिन गुवाहाटी फर्किनु पर्ने। कबीर दाइको सुपुत्र राजले आफ्नै गाडीमा स्टेशन (लङ्का स्टेशन) सम्म ल्याइदिए। ऋतु दाइ र राजेश दाइ त्यहीं बसेकोले हामी 11 जना गुवाहाटीतिर लाग्यौं। करिब 1 बजे आइपुग्यौं। गुवाहाटीको पल्टन बजारस्थित नेपाली मन्दिर हाम्रो गन्तव्य रहेको थियो। झोला बिसायौं। भोक लागेकोले त्यहीं होटलमा खाना खायौं र अब माता कामाक्षाको दर्शन गर्ने इच्छा जाग्यो। हामी सात जना म, हरि कट्टेल, गायत्री दाइ, सुदर्शनजी, गोकुल भण्डारी, बद्री विशाल पोखरेल र अच्युत कामाक्षा दर्शन गर्न हिंड्यौं। साँझपख लाम थोरै थियो। कामाक्षा माताको पूजा दर्शन गरी नेपाली मन्दिर सँगैको भानु लज आइपुग्यौं। रात बित्यो।

            आज नौ तारिख। मधु दाइ, खेम नेपाली र गण्डकीपुत्र यस लजमा स्थानाभावको कारण अन्तै बस्नुभएकोले बिहान हामी सबै एकै ठाउँ भयौं। आजको कार्यक्रम आयोजक नेपाली मन्दिर सञ्चालक समिति भएकोले आजको लजिङ फुटिङ उतै थियो। दिउँसो 2 बजे सँगैको हलमा कविता गोष्ठी तथा सम्मान कार्यक्रम आरम्भ भयो। त्यहाँ आयोजकको तर्फबाट नेपाली टोलीलाई स्थानीय कलात्मक टोपी (जापी) र असमीया गामोसा (गमछा) पहिर्याएर भव्य सम्बर्द्धना गरियो। त्यस कार्यक्रमको प्रमुख अतिथि ऋतु आसीक तथा सभापति नेपाली मन्दिर सञ्चालक समितिका अध्यक्षा श्रीमती लक्ष्मी सुवेदी हुनुहुन्थ्यो भने अतिथिहरू खेम नेपाली, डा. वद्रीविशाल पोखरेल, मुन्नी सापकोटा, नवसापकोटा रहनु भएको थियो। कार्यक्रम शिष्ट र मर्यादित रूपमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा ऋतु आसीक, खेम नेपाली, मधु पोखरेल, गण्डकीपुत्र, शिवनारायण पण्डित ‘सिङ्गल’ लगायत तीन दर्जन जति कविज्यूहरूले आआफ्नो रचना पाठ गरेका थिए। कवि शिवनारायण पण्डित ‘सिङ्गल’ले नेपालका अतिथि श्रष्टाको तर्फबाट आयोजक पक्षलाई मैत्रीपूर्ण आभार धन्यवाद ज्ञापन मन्तव्यसहित रचना सुनाएका थिए। पाँच घण्टाको लामो कार्यक्रममा अनुशासित रूपमा सम्पन्न भएको थियो।

            ‘कसैलाई केको धन्धा केको धन्धा, घर ज्वाइँलाई खानेको धन्धा’ भनेझैं कार्यक्रमको समापन पश्चात थकित मन आराम चाहन्थ्यो। तर आराम गर्न पाइएन। कुनै पापात्माले रङ्गमा भङ्ग भर्न तम्से। आखिर सन्त कबीर साहेबले भनेकै छ – ‘सब दिन होत न एक समान सन्तो, … सब नर होत न एक समान।’ जे होस् अमला अमिलो भए पनि रसमा मिठास हुन्छ। कुनै एक्लो विग्रहले वातावरण सदा दुषित रहन्न।

            असम यात्राको मिठासले मन प्रफुल्लित र ताजापन दिइरहेको थियो। त्यसमा पनि असमीया नेपालीको आफ्ननोपन मैत्रीभाव भन्ने हो भने कबीरसिंह क्षेत्री, नवसापकोटा, मुन्नी सापकोटा, के.वी. नेपाली, रण काफ्ले, लक्ष्मी मण्डल, वापन दे, लक्ष्मी सुवेदी, बादल सुवेदी, दुर्गाजी, मित्रदेव शर्मालगायत तमाम असमको धर्तीमा बस्ने नेपाली, असमीया, बङ्गाली, बिहारी, मैथिली आदि बीचको आपसी भाइचारा र मेलमिलाप तथा आपसी सहयोग सद्भावले एक नयाँ ताजगी दिइरहने छ। सुन्दर चित्रहरू विस्तारमा यहाँ उतार्न सकिन्न, जसरी कि कुनै सुन्दरतम दृश्यलाई शब्दमा उतार्न गाह्यो हुन्छ।

            मलाई लाग्छ-नेपालीहरू जो जहाँ रहे पनि नेपाल त्यहीं उभ्याइरहेको हुन्छ। असम भारतीय भूभाग भए पनि त्यहाँ पुगेपछि त्यहाँको कणकण नेपालीपनले सुवासित रहेको प्रतीत हुन्छ। मानौं त्यो नेपाल नै हो। तर रहनसहन, धर्म, संस्कृति, भाषाभेष आदि हेर्दा जो जे माने पनि व्यक्तिहरू नेपाली भावका, कोमल, इमान्दार र शान्तिप्रिय लाग्छ। हुन सक्छ पूर्वकालमा नेपालीको सिमाना टिष्टासम्म पुग्दा केही नेपाली समाज हो, जो आज आफ्नो अधिकारको लागि आफ्नो पहिचानको लागि आफूलाई गोर्खा भन्न रूचउँछन्। आखिर सूर्यलाई जे भनेर बोलाए पनि त्यसले प्रकाश नै दिन्छ, ठीक त्यसरी नेपाली जो जहाँ रहे पनि भावना एउटै हुन्छ भन्ने म बुझ्दछु। नेपालप्रति सद्विचार राख्ने महान् मनहरूलाई मेरो सलाम। आजलाई यत्ति।

साभार सङ्गम अभियान

पूर्वोत्तर भारतको साहित्यिक सद्भाव यात्रा

► बाबुराम पाण्डे

            नयाँनयाँ ठाउँ घुम्न पाउँदा मन अत्यन्त रमाउँछ। धेरै समयसम्म एकै ठाउँमा बस्नुपर्दा त्यसै निस्सासिएको मन नवीनतम यात्राले पुनः ताजा भई नयाँ फुर्ती दिन्छ। घुम्न पाउने आनन्दले मनमस्तिष्कमा एउटा नयाँ उत्साह र उमङ्गको लहर पैदा गराइदिन्छ। प्रत्येक भ्रमणबाट प्राकृतिक सुन्दरताको रसास्वादन गराई केही न केही ज्ञानार्जनको अवसर पनि प्राप्त हुन्छ। नयाँ मानिसहरूसँगको भेट, सम्बन्ध र सम्पर्कले आफ्नो दायरा पनि फराकिलो भई सिर्जनशीलताको बहार पैदा हुन्छ। जीवन र जगत्बारे बुझ्न र सुन्न सकिन्छ। यसैले यात्रा मानिसका लागि फलदायक नै हुन्छ।

            यसपटक ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिवारीजीले पूर्वोत्तर भारत आसाम क्षेत्रको भ्रमणको सुअवसर मिलाइदिनुभयो। आसामबारे मैले सानै उमेरदेखि नाना थरीका कुराहरू सुन्दै आएको थिएँ। नेपालबाट आसाम जानेहरू धेरैजसो फर्केर आउँदैनथे। खास गरेर खसिया, जयन्तिया र गारो हिल्समा पुग्ने नेपालीहरू त्यहीं बिहे गरी घरजम गर्दथे। त्यहाँ मातृप्रधान समाज थियो, एउटी स्त्रीले बहुपति राख्न सक्दथी। स्वास्नीजातिको विशेष हैकम चल्ने हुनाले तिनका लोग्नेहरू दासजस्ता हुन्थे र तिनकै खटनपटनमा चल्नुपर्दथ्यो। स्वास्नीको चङ्गुलमा परेपछि फर्केर घर आउन सक्दैनथे भन्ने पनि सुनेको थिएँ। अर्को कुरा आसामकै मायङ भन्ने ठाउँमा एक थरी आदिवासीहरूको समुदायमा जादु, टुना, तन्त्रमन्त्र तथा मायावी छलद्वारा मानिसहरूलाई लोभ्याउने, वशमा पार्ने र आफ्नो निहित स्वार्थपूर्ति गर्ने सैतानी हर्कत पनि गर्दथे भन्ने पनि सुन्नमा आएको थियो। यस्ता कुरारूले मलाई आसामका बारेमा बढी जिज्ञासा भइरहेको थियो। त्यो कस्तो ठाउँ होला, त्यहाँका आदिवासीहरू कस्ता होलान् आदि जान्नेबुझ्ने रुचि जागृत भइरहेको थियो। पहिलेपहिले आसाममा गएर नेपालीहरूले गौपालन व्यवसाय गर्दथे। गाई पाल्नमा नेपालीहरू एक नम्बरमा पर्थे। गौहाटी, शिलाङ, खसिया हिल्स, गारो हिल्स, तेजपुर, जयन्तिया, मिरी र कङ्कक्षेत्रमा गाईपालन गरी त्यहींको बजार लगी दूध बिक्री गर्दथे। यसरी उनीहरूको दुग्ध व्यवसाय चलिरहन्थ्यो र कतिको त अद्यावधि त्यही व्यवसायबाट जीवन चलिरहेकै पनि छ। कतिपयले त आजभोलि समय परिस्थिति हेरी अन्य रोजगारीको अवसर पनि खोजिरहेका छन्।

            आसाम राज्यको प्राग्-इतिहास खोज, अध्ययन गर्दा कालिका पुराण, रामायण, महाभारत आदि ग्रन्थहरूमा असम राज्यलाई प्राग्ज्योतिषपुर’, ‘कामरूप’ तथा ‘सौमार’ नामले सम्बोधन गरिएको पाइन्छ। आहोम जातिका मानिसहरूले सानासाना खण्डमा विभाजित भएको राज्य-चुतिया, मरान-बराही, भुइयाँ, कछारी आदि कबिला राज्यहरूलाई जितेर एक अविच्छिन्न विशाल राज्यको जग बसाएका थिए। अठारौं शताब्दीसम्म भारतवर्षमा मुगल, मुस्लिम र पठानहरूको बर्बर आक्रमणबाट समेत एकजुट भएर सामना गरी स्वाधीनताको रक्षा गरेर करिब 6 सय वर्षसम्म एकछत्र यस भूमिमा आहोम जातिको शासन चल्यो। उनीहरूको भाषामा ‘आ-चाम’ शब्द अजय अर्थात् स्वाधीनताको सम्मानार्थक सूचक हो। कालान्तरमा आचाम शब्द अप्रभ्रंश भई आसाम शब्दको उद्भव भयो र त्यही शब्दबाट आसाम, असमको नामाङ्कन हुन गएको भन्ने विद्वानहरूको कथन छ। ब्रिटिस साम्म्राज्यको बेलापछि भारत स्वतन्त्र भएको अवधिका केही वर्ष यता असम प्रान्तअन्तर्गत अरुणाचल, मेघालय, नागाल्याण्ड, मिजोराम, मणिपुर, त्रिपुरा र कुचबिहार समेत पर्दथ्यो। तर वर्तमान समयमा यो प्रदेश खुम्चिएर केवल ब्रह्मपुत्र र बराक घाटीसम्म मात्र सीमित भएको छ। राजनीतिक तथा भौगोलिक रूपले सङ्कुचित भएर पनि असमको सामाजिक एवं सांस्कृतिक इतिहास अहिले पनि अन्य राज्यहरूसँग त्यत्तिकै घनिष्ठतापूर्वक जोडिएको छ। तेह्रौं शताब्दीको प्रारम्भमा नै ती टाई-आहोम जातिका मानिसहरू कामरूपमा (आसाम) प्रवेश गरेका थिए। यी टाई-अहोम जाति मङ्गोलियन समुदायका हुन्। मङ्गोलियनहरूलाई नै किराँत भनिन्छ। प्राचीन कालदेखि नै यी किराँत जातिका मानिसहरू आसाममा बस्दै आएका हुन्। मङ्गोलिया जनसमुदायअन्तर्गत बोडो, राभा, लालुङ, मिकिर, देउरी, मेस, तिवा, हानोग र खामती आदि समुदाय पर्दछन् र यिनीहरू वर्तमान समयमा पनि आसाम वरिपरि फैलिएका छन्। अन्य प्रान्तबाट आएका ब्राह्मण, क्षत्री, वैश्य र शूद्र जातिहरूको पनि बाक्लै उपस्थिति देखिन्छ। यहाँ आ-आफ्नै परम्परागत संस्कृति समन्वयात्मक प्रकारको छ भन्न सकिन्छ। अर्थात् पूर्वोत्तर भारत अनेक जनसमूहहरूको एक म्युजियम जस्तै लाग्दछ। आसामका बासिन्दाहरूमा पाहुनाहरूको ठूलो कदर गरिंदो रहेछ। यहाँ ‘अतिथिदेवो भवः’ अतिथि अर्थात् पाहुनाहरू देवता समान हुन् भन्ने भावना अत्यन्त चरितार्थ भएको पाइयो। के नेपाली, के बङ्गाली, के आसामी सबै समुदायका मानिसहरू पाहुनाको स्वागत गर्न पाउँदा अत्यन्त हर्षित भएको अनुभव गरियो। सेवासत्कार, खानपान, रहनसहन, कुराकानी, आचारविचार तथा वेशभूषा सबै क्षेत्रमा यहाँका बासिन्दाहरू निश्चय नै अगाडि छन् र पनि आत्मीय कुटुम्ब बन्धुबान्धवप्रतिको सद्भाव, सेवाधर्मलाई सर्वोपरि मान्दछन्। सेवा गर्न पाउनुमा आनन्दित र उत्साहित भएको पनि हामीले पायौं। नेपालबाट आसाम पुग्दा हामीलाई आफू नेपालमै छुजस्तो लाग्थ्यो। यहाँको प्राकृतिक भूबनोट, हावापानी पनि नेपालसँग मिल्दोजुल्दो पाइयो। त्यहाँका नेपाली जाति मात्र नभई प्रायः सबैले नेपाली राम्रै बोल्दा रहेछन्। प्रायः असमीया, नेपाली, बङ्गाली, हिन्दी र अङ्ग्रेजी भाषाको प्रयोग हुँदो रहेछ।

            वि.सं. 2074 वैशाख 14 गते 4 बजे हामी यात्राटोलीका सदस्यहरू नारायणगढ पुल्चोकमा भेला भयौं र मुनाल बसबाट यात्रा तय गऱ्यौं। हाम्रो यात्रा टोलीमा नौजना सहभागी थियौं। यात्रा टोलीका संयोजक ज्योष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका सदस्य अनररी क्याप्टेन लीलाधर उपाध्याय हुनुहुन्थ्यो। उहाँ असम क्षेत्रका जानकार हुनुहुन्थ्यो। गुवाहाटीमा धेरै वर्ष बसिसक्नुभएका अनुभवी क्याप्टेन साहेबको निर्देशनमा हामीहरू उहाँकै अथक प्रयासबाट असम नेपाली साहित्य सभा कामरूप जिल्ला समितिको निमन्त्रणमा सहभागी हुन गइरहेका थियौं। यस साहित्यिक सद्भावना भ्रमणमा लब्धप्रतिष्ठित कवि, कलाकार, गीतकार, त्रिप्रतिभाका सङ्गम सरस्वतीका वरद पुत्र गोविन्दराज विनोदी र उहाँकी सहधर्मिणी श्रीमती गीता गिरी त्यस्तै अर्का वरिष्ठ कवि एवं नियात्रा सिद्धान्तका विज्ञ निर्मोही व्यास (वेदव्यास उपाध्याय न्यौपाने) र उहाँकी श्रीमती वीणाकुमारी पोखरेल। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ समालोचक, अनुसन्धाता, संस्कृतविद् डी. आर. पोखरेल, साहित्यकार एवं सहप्राध्यापक डा. मतिप्रसाद ढकाल, त्यस्तै हाम्रा यात्राका मुख्य केन्द्रविन्दु ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका अध्यक्ष एवं विपश्यना ध्यान केन्द्रका गुरू नारायणप्रसाद तिवारी र म बाबुराम पाण्डेसमेत सहभागी थियौं। यस भ्रमण टोलीमा विशेष कारणले सहभागी हुन नसक्नु भएका कलाकार, चित्रकार र सामाजिक अभियन्ता भीमप्रसाद शर्माको अनुपस्थितिले हाम्रो यात्रामा केही खल्लो र अधुरो महसुस जरूर भएकै हो। यसपटकको यात्रामा सहभागी हुने वरिष्ठतम व्यक्तित्वहरूको उपस्थितिका कारणले पनि यात्राको गौरव र सान बडे जस्तो लाग्यो। यस्तो अनुपम यात्रामा सहभागी हुन पाउनु मेरो पनि सौभाग्य नै हो। रात्रीको यात्रा भएको हुनाले वरपरका दृश्य हेर्न पाइएन। 15 गते बिहान अन्दाजी 6 बजे हामीहरू धुलाबारी झापा पुग्यौं। धुलाबारी राष्ट्रिय पुस्तकालय मेचीनगर 1 को त्रिफला राष्ट्रिय पुस्तकालयले अतिथिहरूको सम्मानमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा सहभागी भयौं। त्रिफला राष्ट्रिय पुस्तकालयको करिब 3 कट्ठा जतिको आफ्नै जमिन रहेछ। उदार मनकारी दाताबाट सो जमिन प्राप्त भएको र अन्य झापावासी साहित्यकार, समाजसेवीहरूको आर्थिक सहयोग लिएर पुस्तकालय भवन निर्माण भइरहेको रहेछ। सुनसरीदेखि मोरङतर्फका साहित्यकार र काठमाडौंका केही साहित्यकार र समाजसेवीहरूले पनि सो पुस्तकालय निर्माणार्थ मनग्य सहयोग गरिरहेको देख्यौं। पुस्तकालय परिसरमा युवाकवि मोतीराम भट्टको र विशिष्ट समाजसेवी छत्रबहादुर बस्नेतको पूर्णकदको सालिक निर्माण गरिएको छ। यस पुस्तकालयको सम्पूर्ण अभिभारा पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी बाबाको जिम्मामा रहेछ। उनले आफ्नो घर, परिवारजनबाट अलग्ग भई सम्पूर्ण जीवन यसै पुस्तकालयमा समर्पित गरेका रहेछन्। उनैको निःस्वार्थ सेवाभावले र लगनशलीताका कारण यत्ति ठूलो कार्यको शुभारम्भ भएको बुझियो।

            प्रेमप्रकाश फलाहारी मेचीनगर धुलाबारी,

            खाली पाउ लामा दाह्री पीत वस्त्र सदाचारी।।

            मोतीजयन्ती होस् या भानुजयन्ती सबै साहित्यकारहरूको साहित्यिक भेला तथा भव्य साहित्यिक कार्यक्रमहरू बेलाबखतमा यहाँ हुने गर्दछ। झापा काँकडभिट्टा मेचीनगर नगरपालिकामा पनि भानु साहित्यिक प्रतिष्ठान छ जसका संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेती हुनुहुन्छ। नेपाल भारत पूर्वी सीमा मेची नदीपारि पानीटङ्की हुँदै अपराह्नको चार बजे सिलगुडी स्थित ज्येष्ठ नागरिकहरूको संस्था दार्जिलिङ सिक्स्टी प्लस एसोसियसनको आग्रहमा हामीहरू त्यहाँ सहभागी हुन पुग्यौं। त्यस संस्थाका संरक्षक के.बी. लामालगायत अध्यक्ष एवं अन्य उपस्थित तमाम सदस्यहरूसँगै अत्यन्त आत्मीयता हार्दिकतापूर्ण सद्भाव बैठक बस्यो। ज्येष्ठ नागरिकका विविध समस्याहरूका विषयमा विचारविमर्श भयो। साहित्यिक पुस्तकहरू, ज्येष्ठ नागरिक स्मारिका, बुलेटिन आदि आदानप्रदान भयो। तत्पश्चात् बडो भावुक हुँदै गह्रुँगो मन लिएर बिदाबादी भयौं। हाम्रो ट्रेनको टिकट राती 10 बजेको थियो। त्यसैले हामीहरू हतारिंदै 8.30 बजे न्यु जलपाइगुढी रेल्वे स्टेशनमा पुग्यौं। एकछिनपछि थाहा भयो ट्रेन अवध-असम एक्सप्रेस एक घण्टा ढिलो गरी आउँदै छ। हामीहरूलाई भोजन गर्ने अनुकूल पनि परेको थिएन। जे छ त्यही हल्काफुल्का जलपान गऱ्यौं। प्रतीक्षाको घडी बडो लामो हुँदो रहेछ। पट्यार पनि लाग्यो। रेलवे स्टेसनका लामखुट्टेको टोकाइ र मानिसहरूको हल्लागुल्लाको कर्कश आवाजले कान भर्दै यताउता रल्लिंदै समय बितायौं। आज पनि रातीकै यात्रा भएकाले बाहिरको कुनै दृश्य हेर्न पाइएन। तैपनि रेलको छुकछुक आवाजसँगै हल्लिंदै झुल्दै निदायौं। बिहान सबेरै गुवाहाटी रेलवे स्टेशनमा उत्रिएका मात्र के थियौं हामीहरूलाई लिन भनी एउटा म्याजिक गाडी पठाइएको रहेछ। क्याप्टेन लीलाधरजीको सम्बन्धसूत्र निकै बलियो र भरपर्दो लाग्यो। बिहानीपखको गुवाहाटी शहरको विहङ्गम दृश्य अवलोकन गर्दै एकै छिनमा हामीहरू असम गोर्खा सम्मेलन श्री मणिकुमार सुब्बा भवन नामाङ्कित भएको भव्य विल्डिङ अगाडि आइपुग्यौं। फेरि पनि लीलाधरजीको मोबाइलको वार्ताले हाम्रो निवासस्थानको टुङ्गो लाग्यो। पल्टन बजार गुवाहाटी सहरमा निकै नाम चलेको ठाउँ रहेछ। यहाँ नेपाली मन्दिर (श्री राधाकृष्ण मन्दिर) प्रसिद्ध हुनुको साथै गोर्खा स्कुल र अरू पनि थुप्रै संस्थाहरू रहेछन्। पहाड सिंहजस्ता होनहार समाजसेवीहरूको ठूलै योगदान रहेछ यस भूमिमा। पल्टन बजारको नजिकै पर्ने EFI नर्थ इस्ट सेन्टर के.बी. रोड पल्टन बजारमा हाम्रो आवासको व्यवस्था भयो। यो अरुणाचल क्रिस्चियन फेलोसिप गुवाहाटी (ACFG)को कार्यसम्पादन एवं सञ्चालनको केन्द्रीय भवन रहेछ। त्यस दिन बस र ट्रेनको लामो यात्राले बेस्सरी थाकेको हुँदा केही समय आनन्दले विश्राम गऱ्यौं। शरीर थाके तापनि मन तुलबुलतुलबुल भैरहेको थियो। अनि हामीहरू ब्रह्मपुत्र नदी हेर्न गयौं। विशाल ब्रह्मपुत्र शान्त एवं धीर रूपमा बिस्तारै बगिरहेको थियो। किनारामा सानाठूला स्टीमरहरू देखिन्थे। ब्रह्मपुत्रको चौडाइ निकै फराकिलो देखिन्थ्यो। बिचबिचमा टापुका थुम्काथुम्की थिए। हामीले उमानन्द दर्शन गऱ्यौं। उमानन्द ब्रह्मपुत्र नदीको टापुमा रहेको प्रसिद्ध मन्दिर रहेछ। ब्रह्मपुत्र नदी तिब्बतको मानसरोबरबाट निस्किएर पामिरको पठार हुँदै पूर्वतर्फबाट बग्दै अरूणाचल दक्षिण हिमशृङ्कला चिर्दै असमको भूमिलाई उर्वर र सिञ्चित पार्दै निरन्तर बगिरहेको छ। ब्रह्मपुत्र आसामकै सबैभन्दा ठूलो र लामो नदी हो भने दोस्रो ठूलो नदी बराक हो। अपराह्न 4/5 बजेतिर आसामका वरिष्ठ साहित्यकार श्री नवसापकोटाज्यू हामीहरूसँग भेट गर्न आइपुग्नुभयो। एक छिनपछि वरिष्ठ अधिवक्ता एवं ‘हाम्रोध्वनि’का मुख्य सम्पादक पद्मधर पौडेलज्यू पनि आउनुभयो। उहाँहरूसँगको भेट निकै रमाइलो लाग्यो र भोलि हुने कार्यक्रमका बारेमा सङ्क्षिप्त कुराकानी भयो। हामीहरू 30 अप्रिल अर्थात् 17 गते बिहान सबेरै उठ्यौ र नुहाइधुवाइ गरी कामांक्षादेवीको दर्शन गर्न गयौं। कामरूप कामाक्षादेवीको महिमा विद्यार्थीकालमै सुनेको थिएँ। नेपालमा ठूलो अनिकाल पर्दा बाबा गोरखनाथले आफ्ना गुरु मच्छिन्द्रनाथलाई नेपालमा ल्याएपछि मच्छिन्द्रनाथको आगमनले भारी वर्षा भई सहकाल आएको थियो भन्ने कथन लिच्छविकालीन इतिहासमा उल्लेख गरिएको पाइन्छ।

            वि.सं. 2074 वैशाख 17 गते तदनुसार 30 अप्रिल 2017 का दिन ठिक 1 बजे हामीहरूलाई लिएर एउटा जिप विष्णुनिर्मला शिशु पुस्तकालय प्रेक्षालय गृह लताशिल गुवाहाटी-1 को भव्य सजावट भएको सुन्दर भवनमा पुग्यो। त्यहाँ असम नेपाली साहित्य सभाका विशिष्ट व्यक्तित्वहरू, साहित्यकार, समाजसेवी, प्राध्यापक, विदुषी, महिला एवं सज्जन बुद्धिजीवीहरू तमामको उपस्थिति भइसकेको र हुँदै थियौं। त्यस अवसरमा असम नेपाली साहित्य सभा कामरूप जिल्ला समितिका तर्फबाट साहित्य, सङ्गीत, कला र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउनुभएका 9 जना महिला विदुषीहरूलाई अभिनन्दन गर्ने कार्यक्रम रहेछ। नेपालबाट निमन्त्रणा गरिएका 10 जना साहित्यकार एवं समाजसेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउनुभएका व्यक्तित्वहरूलाई पनि अभिनन्दन गर्ने कार्यक्रम भएकाले सोहीअनुरूप हामीहरू त्यहाँ उपस्थित नौ जनाको असमीया जन-जीवनको परम्परागत शैली अपनाई भव्य समारोहका बिच अभिनन्दन भयो। त्यस समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार लीलबहादुर क्षत्री हुनुहुन्थ्यो। मैले उहाँले लेखेका बसाइँ उपन्यासलगायत अन्य पुस्तकहरू विद्यार्थीकालमा नै पढेको थिएँ। तर प्रत्यक्ष रूपमा उहाँलाई देखेको भने थिइनँ। आज यस समारोहमा प्रत्यक्ष देख्न पाउँदा मन खुसीले गद्ग्द् भयो। हामीहरूले सँगै बसेर फोटो खिच्यौं। आफ्नो हस्ताक्षर गरिएको पुस्तक बडो स्नेहका साथ दिनुभयो। त्यस समारोहकी सभापति डा. इन्दुप्रभा देवी पनि उच्च कोटीकी प्रखर वक्ता रहिछन्। उनको सभा सञ्चालन गर्ने कमान्डिङ तरिका पनि आफ्नै पाराको रहेछ। सभा सञ्चालन उद्घोषण गर्ने नयाँ र नौलो शैली देखेर हामीहरू अति प्रभावित भयौं र नयाँ कुरा सिक्न पाएजस्तो पनि लाग्यो स्वागत मन्तव्य दिने ढाकाराम काफ्ले र धन्यवाद मन्तव्य दिनुहुने कवि नवसापकोटाको वक्तव्य पनि अनुकरणीय लाग्यो। त्यस समारोहमा असमका मूर्धन्य साहित्यकारहरू शान्ति थापा, मुन्नी सापकोटा, डा. खगेन शर्मा, पद्मधर पौडेल, दुर्गा  खतिवडा, टङ्क क्षत्री, मिलन सुब्बा, तारादेवी क्षत्रीहरूको उपस्थितिले पनि सभाको गरिमा दोब्बर बढाएको थियो। उक्त समारोहको दोस्रो सत्रमा बहुभाषिक कविता वाचनको आयोजन पनि गरिएको थियो।

            नेपालबाट आमन्त्रण गरिएका साहित्य र समाजसेवाका प्रतिनिधि, ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीको मन्तव्य पनि सारगर्भित थियो। उहाँको प्रतिभा, कार्यशैली, तुरन्त निर्णय गर्न सक्ने क्षमता प्रशंसा गर्न लायक नै देखियो। तिवारीजी हिन्दीमा धाराप्रवाह भाषण गर्न सक्ने, आफ्ना विचारधारा स्पष्ट राख्न सक्ने क्षमतावान् तार्किक व्यक्तित्व हुनुहुँदो रहेछ भन्ने कुरा असमको सहयात्राबाट मात्र थाहा पाएँ। ज्येष्ठ नागरिक कल्याणकारी प्रतिष्ठानले असमका प्रबुद्ध व्यक्तित्वहरू लीलबहादुर क्षत्री, कवि एवं समाजसेवी नवसापकोटा, समाजसेवी पत्रकार तथा वरिष्ठ अधिवक्ता पद्मधर पौडेल, बालसाहित्यकार मुन्नी सापकोटाज्यूको 2074 वैसाख 19 गतेका दिन पल्टननगर स्थित श्री राधाकृष्ण मन्दिर तथा गोर्खा स्कुलको बिच प्राङ्गणमा भव्य समारोहको आयोजना गरी सम्मान गरियो। उक्त अवसरमा तेजपुर निवासी वरिष्ठ साहित्यकार गीता उपाध्यायको पनि सम्मान गर्ने कार्यक्रम थियो। हाम्रो यात्राटोलीको शिलाङमा रहेका नेपाली साहित्यकारहरूसँग भेट्ने र तेजपुर जहाँ नेपालीहरूको विशेष बाहुल्य रहेको छ त्यहाँ पुगेर नेपाली साहित्यकार एवं समाजसेवीहरूसँग सम्पर्क गर्ने मनसुवा थियो परन्तु त्यो सन्जोग समयाभावका कारणले विफल भयो। हामीहरू शिलाङ त पुग्यौं केवल क्षणिक पर्यटकजस्तो मात्र भएर। शिलाङमा हेर्न लायकका धेरै महत्वपूर्ण ठाउँहरू छन्। त्यसमध्ये एउटा डन बोस्को म्युजियम (Don Bosco Museum) मात्र हेर्ने अवसर पाइयो। यो म्युजियम खास गरेर आदिवासीहरूको विशेष सङ्ग्राहलय रहेछ। शिलाङ मेघालय राज्यको राजधानी पहाडी नगरी अत्यन्त सुन्दर ठाउँ लाग्यो। गुवाहाटीबाट शिलाङतर्फ लाग्दा नै नेपालको जस्तै हरियो जङ्गल पाखापखेरा, खोलानाला, तालतलैया सारै मनमोहक यात्राको अनुभूति भयो। फरक यत्तिमात्र थियो कि यहाँका सडक चार लाइनको फराकिलो सफा र सुन्दर थियो भने नेपालका सडक साँगुरो डर लाग्दा छन्। बाटामा देखिने गाउँ, घरहरू पनि झण्डै नेपाली शैलीकै दुईपाखे छानो भएका घरहरू आँगनमा तुलसीको मठ, फूल फुलिरहेका बोटबिरुवा, गोठ नजिकै परालको टौवा, दुई चारवटा फलफूलका बोट ठ्याक्कै नेपालकै परिवेशको झ-झल्को लाग्दोथ्यो। अनि मानिसहरूको वेशभूषा, रङ्गरोगन, रहनसहन पनि हाम्रै नेपाली जातजाति, आदिवासीहरूसँग मिल्दोजुल्दो लाग्दथ्यो। हामीहरू शिलाङ पुगेर पनि त्यहीं नजिकै रहेको चेरापुन्जी पुग्न सकेनौं। शिलाङ सहरकै वरिपरि घुमी हामीहरू साँझ 9 बजे आफ्नो निवासस्थान आइपुग्यौं। नेपाल फर्कनुभन्दा पहिले हामीहरूलाई सापकोटाजीले एकपटक उहाँको घर देवकोटानगरमा आउनु आमन्त्रण गर्नुभएको थियो। हामीहरू बिहानै पद्मधरजीलाई भेट्न उहाँको घर शान्तिपुर पुग्यौं। त्यहाँ चियानास्ता गरी देवकोटानगर गयौं। देवकोटानगरको पुरानो नाम बडागाउँ रहेछ। नवसापकोटाजीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा यस ठाउँको नाम देवकोटानगर राख्नुभएको थाहा पायौं। यो देवकोटानगर त्यहाँको सरकारी प्रशासनिक निकायमा समेत दर्ज गराई वैध भैसकेको रहेछ। नवसापकोटाजी त्यस क्षेत्रका बहुचर्चित सामाजिक व्यक्ति हुनुहुँदो रहेछ। सामाजिक उत्थानका कार्यमा उहाँको उल्लेखनीय योगदान रहेछ भन्ने कुरा त्यहीं पुगेपछि प्रत्यक्ष देख्न र सुन्न पायौं। नवसापकोटाजीको घर अगाडि एउटा पहाडको थुम्कोमा भव्य वैष्णवी देवीको मन्दिर रहेछ। हामीहरू वैष्णवी देवीको मन्दिरमा गयौं। सारै सफा र सुन्दर रहेछ मन्दिरको परिसर। नवसापकोटाज्यूको घर वरिपरि नानाथरीका फूल फुलिरहेका, फूलका बोटबिरुवा र साना फलफूलका बोट, सरिफा, लिची, आँप र केराका बोटबुट्यनले सुशोभित यो घर नभई एउटा ऋषिको आश्रम हो वा कविकुञ्च हो यस्तो आभास हुन्थ्यो। नवजीकोमा खाना खायौं। उहाँको निजी पुस्तकालय हेर्यौं। हामीहरूलाई धेरै राम्रा र उपयोगी पुस्तकहरू दिनुभयो। मुन्नी मेडमले बालसाहित्यका पुस्तक उपहार दिनुभयो। नव सापकोटाजीकै सत्प्रयासले स्थापना भएको देवकोटानगरमा एउटा स्कुल रहेछ। त्यहीं नजिकै महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा देवकोटा प्रतिष्ठान बनाई बाहिर पार्कमा अर्घ कदको सालिक समेत निर्माण भएको देख्यौं। हामीहरू सबैले मिलेर फूलमाला अर्पण गऱ्यौ र एउटा सानो परिचयात्मक साहित्यिक कार्यक्रम गरियो। निर्मोही व्यासजीले एउटा कविता वाचन गर्नुभयो। जुन कविता सुनेर सबैका आँखा रसिला भएर भावविभोर भयौं। निर्मोही आफै कविता वाचन गर्दागर्दै हृदय थाम्न नसकी भित्रभित्रै कल्पिएर रुन थाल्नुभयो।

            नवसापकोटाज्यूको निवासमा त्यस दिन भारतीय जनता पार्टीका एकजना सांसद पनि आइपुगे। नेपाल र भारतको मैत्री सम्बन्धका कुरा, नेपालमा भएको नाकाबन्दीका कुरा छलफलमा आयो। नवसापकोटाजीले आफ्ना कुरा बडो स्पष्ट रूपमा राख्नु भएपछि हाम्रो ज्येष्ठ नागरिकका अध्यक्ष नारायणप्रसाद तिवारीजीले पनि बडो तार्किक ढङ्गले आफ्ना विचार राख्नु भयो। त्यसपछि करिब तीन बजेतिर हामी बडागाउँ स्थित ज्येष्ठ नागरिक सङ्घको कार्यालयतिर गयौं। त्यस संस्थाको अध्यक्ष नवसापकोटाजी हुनुहुँदो रहेछ। त्यहाँ थुप्रै ज्येष्ठ नागरिकहरू भेला भैसक्नुभएको रहेछ। त्यहाँ पनि ज्येष्ठ नागरिकका आ-आफ्ना समस्याहरूउपर छलफल गरियो। लगभग 2 घण्टामा सो कार्यक्रम सकी हामीहरू आफ्नो निवासस्थानतर्फ फर्कियौं। मलाई 2/4 वटा किताबहरू किन्न मन लागेकाले पुस्तकको पसल खोज्दै पानबजारसम्म पुगें। खोजेको पुस्तक भेटिएन र निराश हुँदै डेरातर्फ फर्किएँ। नेपाल फर्किनुभन्दा पहिले एकपटक साहित्यकार लीलबहादुर क्षेत्रीजीलाई भेट्न उहाँको निवास डा. बी. बरुवा रोड, मराखली गयौं। साँझ उहाँसँग बिदाबादी भई फर्क्यौं। हामीहरूलाई भेट गर्न नवसापकोटाजी र अर्का मित्र पनि हाम्रो डेरामा आइपुग्नुभयो। यात्रा राम्रो होस् भनी हामीहरूलाई ढाढस दिनुभयो। फर्कंदा पनि रातीकै टिकट थियो। राती 10.30 बजे गुवाहाटी रेलवे स्टेसन  आई ट्रेन पक्ड्यौं र गुवाहाटीमा गाँसिएको मित्रता सबैलाई गुवाहाटी सहर र असमलाई अलबिदा भन्दै हामी नेपाल फिर्तीयात्रामा लाग्यौं।

2074 भाद्र 1, भरतपुर-12, नेपाल

साभार हाम्रो सिर्जना

गुवाहाटीमा नेपाली श्रष्टाहरूको जमघट

► ऋतु आसीक

            नेपाली साहित्य परिषद् असमका सचिव कबीरसिंह क्षेत्रीको आतिथ्यपूर्ण निमन्त्रणमा विराट साहित्य सङ्गम परिवारका बलराम पोखरेल, केशव आचार्य, ऋतु आसीक, मधु पोखरेल, विन्ध्या न्यौपाने, लोचन रिजाल, नारायण तिवारी, विजय कट्टेल ‘छहरा’, गण्डकीपुत्र एवं नेपाली भाषा व्याकरण संरक्षण प्रतिष्ठानका नारायणप्रसाद आचार्यसमेतको टोलीले 20 अप्रिल मध्यान्हमा आफ्ना कुम्लो कुटुरो लिएर जोगवनीतर्फ प्रस्थान गर्छन्। 21 अप्रिलको लागि एक्सप्रेसमा टिकट आरक्षण भैसकेको थियो। अर्कोतिर मधेसी जनअधिकार फोरमले बन्दको आह्वान गरेकोले नै हामी एक दिन अगाडि नै कटिहार बास बस्ने गरी त्यसतर्फ प्रस्थान गरेका थियौं।

            विराट साहित्य सङ्गमको एक परिचयमा अध्यक्ष बलराम पोखरेलले लेख्नु भएको छ – ‘विराट साहित्य सङ्गम अन्ततोगत्वा समाजलाई असभ्यतातर्फ उन्मुख गराउने छाडावादी साहित्यको अनुयायी नहुने अठोटमा छ भन्ने यथार्थ अवगत गराउँछौं। यसले समाजको रूपान्तरणमा सहयोग गर्ने हुनाले विराट साहित्य सङ्गम प्रगतिशील पक्षको साहित्यलाई अघि बढाउने संस्था हो। विज्ञान र प्रविधिको विकास विस्तारलाई अङ्गिकार गर्छ। रुढीवाद विपरीत सोचमा दृढ रहने यस सङ्गमको अठोट छ।’

            काम र मामको खोजीमा भौंतारिंदै हिंडेका हाम्रा पुर्खाहरू भारतको असम राज्यमा त्यसताका आफू र आफ्ना परिवार पालिने सम्भावना देखेर त्यहाँ गाई वस्तु पालनका लागि जङ्गल चरनको व्यवस्था देखेर नै लालयित भएको हुनुपर्छ। गुवाहाटी उपत्यकाका वासिन्दाले ब्रिटिसकालीनताका दूध तथा अन्य खेतीपाती गरेर कुत तिर्दथे त्यसबेला कर तिरिनु ब्रिटिशका आँखामा इमान्दार नागरिकका हुने गुण हो। यसरी ब्रिटिश साम्राज्यमा कर तिर्नेलाई उनीहरू इज्जत दिन्थे।

            जहाँजहाँ बसे पनि, आफू अशिक्षित भए पनि आफ्ना सन्तानको उज्यालो भविष्यका लागि उनीहरूले गरेको प्रयत्न गुवाहाटीको पल्टन बजारस्थित गोर्खा स्कूलको स्थापनालाई लिन सकिन्छ। गुवाहाटीको मुटुमा समेत पल्टन बजारको नामाकरण गरेर त्यहाँ नेपाली मन्दिर र धर्मशाला निर्माण गरेर आफ्नो जातीय पहिचान, आफ्नो संस्कृति र धरोहरलाई कसरी नेपालीहरूले निरन्तरता दिएका छन् भन्ने स्पष्ट छ।

            22 अप्रिल 2007 बेलुकी 3.30 बजेतिर नेपाली साहित्य परिषद् असमको तत्वावधानमा मणिकुमार सुब्बा भवन पल्टन बजारमा भारतीय नेपाली साहित्यका अग्रणी तथा लब्धप्रतिष्ठित व्यक्तिहरूको आवागमन भए पश्चात कार्यक्रमको सुरुवात हुन्छ। हामी नेपालबाट आएका साहित्यकारहरूलाई असमी फूलाम गम्छा ओढाएर सत्कार र सम्मान गरिन्छ। यस किसिमको असमी फूलाम गम्छा ओढिने मौका पाउनु हाम्रालागि एकदमै अनौठो कुरा थियो। त्यति मात्र होइन विराट साहित्य सङ्गम परिवारका सदस्यहरूलाई हार्दिक अभिवादन गरिएको व्यानर नै सभाहलको पृष्ठ भागमा टाँसिएको थियो।

            स्वागत अभिनन्दन समारोहमा नेपाली साहित्य परिषद्का तर्फबाट नव सापकोटाको भनाई यस्तो थियो – ‘नेपाल यथावत रहोस्। नेपालको सुरक्षा होस्, नेपाली जाति र नेपालसित जुन सम्बन्ध छ त्यो निरन्तर रहोस्। नेपाली जाति बाहिर निस्किएका हामी सबै नेपाली यहाँ एउटा महाजातिको रूप लिन्छौं। गोरखा भन्न सजिलो तथा अलिक राजनीतिक कुरा भयो। समग्रमा नेपालीचैं आदर हो। कुनै ठाउँमा गोर्खाली भन्दा सजिलो पर्छ भने राजनीति नगरेको हो भने त्यसमा कुनै आपत्ति छैन।’

            गोपालबहादुर नेपालीले त्यस ऐतिहासिक भेलालाई सम्बोधन गर्दै भन्नु भयो – ‘यसरी साहित्यिक सम्पर्क हुँदा हामीलाई पनि प्रेरणा हुने, उताको गतिविधि कस्तो रहेछ? यताको पनि कस्तो, के हुँदैछ? यस्तै प्रकारले कार्यक्रम अघि बढ्दै गएको खण्डमा यो भन्दा पनि अझ राम्रो कार्यक्रम भविष्यमा हुनेछ। हामी नेपालीहरू भारतबाहिर विभिन्न क्षेत्रमा छौं सम्पर्क गरेर अन्तर्राष्ट्रिय सङ्गठन गर्नसके हाम्रा विभिन्न समस्याहरूजस्तै अनुवाद सम्बन्धी कुराहरूको सबैलाई सजिलो हुने थियो।

            म यो सबैलाई अनुरोध गर्न चाहान्छु हामीले कमसेकम अन्तर्रष्ट्रिय स्तरको साहित्यिक सङ्गठन चाहे नेपालको काठमाडौंमा नै होस् या बाहिर होस् आवश्यक छ। जसले अन्तर्राष्ट्रिय स्तरमा छरिएका नेपालीलाई जोड्ने काम गरोस्, त्यसले हामीलाई प्रेरणा दिन सकोस्। 7 वटा जिल्लामा 20 लाख नेपाली छौं। मेघालय, मणिपुर मिजोराम गरेर 40 लाख नेपाली संख्यामा छौं।

            सो अवसरमा नेपाली तथा भारतीय नेपाली साहित्यकारहरूले यस्ता विचार प्रकट गरेका थिए।

            सबैले वर्तमान नेपाली समाजलाई तीव्र नजरले हेरिरहनु भएको छ। आफ्ना साहित्य रचनामा आफ्ना चिन्तनमा प्रभावहरू पारिरहेका छन्। नेपालमा घटेका घटनाहरूमा अहिले देश परिवर्तनको सङ्घारमा छ। हुन त यो परिवर्तनले आमूल परिवर्तनमा राजनीतिक परिवर्तन भन्ने चिन्तनहरू होलान्। अभूतपूर्व आन्दोलनको समयमा छ। त्यसैले आर्थिक रूपान्तरणको प्रश्न उठिरहेको छ।

            अहिले राजनीतिक प्रणालीमा परिवर्तन आइरहेको छ। राज्यको पुनसंरचनाका कुराहरू उठिरहेका छन्। नयाँ ढङ्गले नेपाललाई निर्माण गरौं, पुनसंरचना गरौं भन्ने प्रश्न उठिरहेको छ। पुनसंरचना कसरी गर्ने भन्ने समाधान अहिलेसम्म भएको छैन। भौगोलिक तथा जातीय आधारमा हुनुपर्छजस्ता आवाजहरू उठिरहेका छन्। भौगोलिक एकीकरण ठीक थियो तर मानसिक रूपमा एकीकरण भएन। अन्ध पीडाका गाँठो बाँध्ने काम भए।

            नेपाली भाषा साझा बन्न सक्दैन भन्ने चिन्तन आइरहेको छ। यसलाई अरू सरह भाषा हो भनेर पनि भनिरहेका छन्।

            कहिलेकाहीं नेपाल खोज्न यता आउनुपर्छजस्तो लाग्छ। नेपाली यता पनि हुनुहुन्छ। यहाँका विभिन्न नेपाली जातिले हण्डर खेपेका छन्। कतिपय चिन्तनका कोणहरू यहाँ आएर सिक्नुपर्छजस्तो पनि लाग्छ। त्यताबाट नेपाल छोडेर आउँदा त्यताको आत्माभूत यतै लिएर आउनु भएको रहेछ।

            पीताम्बर गुरूङ, अखिल भारतीय गोर्खा परिसङ्घ असम राज्य शाखा सभापति घरभित्र नातिनातिनीले समेत नेपाली मात्र बोल्नु पर्ने नियम बनाउनु भएको छ। परिवारका सबै सदस्यहरूलाई वरिपरि राखेर वर्षमा एकपटक गुन्द्रुक खाँद्ने तरिका देखाउने गरेको छु।’

            डा. शान्ति थापा, सह सम्पादक ‘हाम्रोध्वनि’ एवं अध्यापन राधागोविन्द बरूवा कलेज, गुवाहाटी भन्नुहुन्छ यसरी घच्घचाइ नरहने हो भने त असमी र अंग्रेजी भाषाले हाम्रो घरमा जरा गाडिहाल्छ नि।

            निरु शर्मा पराजुली अधिवक्ता तथा साहित्यकारले भन्नु भयो ‘तपाईहरूले यस्ता पुस्तक उपलब्ध गराएर सेतुको काम गरिदिए हामी गौरवान्वित हुने थियौं।’

            नेपाली साहित्य परिषद् असम महासचिव दुर्गा खतिवडाले भन्नु भयो ‘संसारको जुनसुकै कुनामा बसे पनि, मातृभाषी नेपाली साहित्यकारको एउटै छाता सङ्गठन भए, नेपाली भाषाको विकासमा टेवा पुग्नुका साथै नेपाली भाषाको साहित्यिक श्रष्टाहरूले नै सबैलाई समेट्न पहल गर्नुपर्छ। हामीहरूको सुझाव र उहाँहरूको सक्रियतामा विराटनगरमा जन्मिन सम्भव छ।’

            विराट साहित्य सङ्गमका सदस्य मधु पोखरेल भन्नुहुन्छ – वाणी प्रकाशनले 1974 देखि यात्रा सुरु गरेको र आजसम्म वाणी प्रकाशनले 120 पुस्तक सङ्ख्या प्रकाशन गरेको उल्लेख गर्दै तथा वाणी प्रकाशनको इतिवृतान्तको व्याख्या गर्नुभएको थियो, सङ्गमतर्फबाट रचना पाठ गर्नेहरूमा केशव आचार्य, मधु पोखरेल, नारायण तिवारी, विजय कटेल ‘छहरा’, हरू हुनुहुन्छ। सन् 1893 मा ब्रिाटिशकालीन युद्धमा लेखिएको मणिपुर लडाईको सवाईलाई लिपिबद्ध गरिएको थाहा भएको छ। अग्रज साहित्यकार लीलबहादुर क्षेत्री जो आसामेली नेपाली हुनुहुन्छ। भरखरै हाम्रोध्वनि मासिकले उहाँको 75 औं जन्मोत्सव विशेषाङ्क प्रकाशित गरेको छ। आसामको भूमिबाटै विद्यार्थी अवस्थामा नै रचिएको बसाइँ उपन्यासले लाखौं नेपालीको मन छोएको छ। बसाइँ उपन्यासले नेपाली साहित्य विशेष ग्रामीण परिवेशमा एउटा कोसेढुङ्गाको दर्जा पाएको छ। बसाइँ उपन्यास नेपाली समाज र परिवेशका लागि एउटा अमर कृति हो। लीलबहादुरकै संरक्षण र सम्बर्द्धनमा हुर्किएको नेपाली साहित्य परिषद् असमले नेपाली साहित्यको श्रीवृद्धि तथा नेपाली संस्कृतिमा होस्टेमा हैंसे गरिरहेको छ।

            नेपाली भाषाको पहिचानलाई झन् मजबुत बनाउने आधार तथा यसका लागि असमका नेपालीहरू अझै निरन्तर लागिरहनु पर्छ। नेपाली साहित्यको विकास भनेको नेपाली साहित्यकर्मीहरूको लागि युद्ध नै हो। यो साहित्यिक युद्धमा प्रत्येक नेपाली भाषी सामेल हुनैपर्छ। त्यसो गरिएको खण्डमा मात्र हाम्रो भावी पीढीले यसलाई निरन्तरता दिनेछ। बेवास्ता गरिको खण्डमा भाषा र संस्कृति बिनाका नेपालीहरूको पहिचान हराउने छ। भाषा र संस्कृति हराएमा नेपाली पनि हराउने छन्। हामी नेपालीले मूलतः पहिचान, भाषा, संस्कृति जगेर्नामा सधैं सक्रियतापूर्वक लागि परिरहनुपर्छ।

            अन्तमा नेपाली साहित्यकार टोलीलाई सम्मान गर्ने कार्यक्रममा भाग लिने संस्थाहरूमा नेपाली साहित्य परिषद् असम, नेपाली साहित्य कला निकेतन गुवाहाटी तथा अखिल भारतीय गोर्खा परिसङ्घ असम राज्य शाखा रहेका थिए।

            सो कार्यक्रमको सभापतित्व भारतीय गोरखा परिसङ्घ, असम राज्य शाखाका सभापति पीताम्बर गुरूङले गर्नु भएको थियो। प्रमुख अतिथिमा विराट साहित्य सङ्गमका सचिव ऋतु आसीकलाई आसन ग्रहण गराइएको थियो। नेपाली साहित्य परिषद्को पदाधिकारीहरू, अखिल भारतीय गोरखा परिसङ्घ, असम राज्य शाखाका सचिव नित्यानन्द उपाध्याय, सङ्गठनका पदाधिकारीहरू, कवियत्री गोमा शर्मा, प्रा. डा. इन्दुप्रभा देवी एवं नेपाली छात्र सङ्घका सभापति किशोर उपाध्याय तथा गुवाहाटी विश्वविद्यालयका अध्ययनरत छात्रछात्राहरूको उपस्थिति, स्थानीय बासिन्दाहरू साहित्य प्रेमीहरूको जमघटले नयाँ रौनक ल्याएको आभाष हुन्थ्यो। कार्यक्रम साँझ 7.30 बजेसम्म चलेको थियो।

साभार शब्द सङ्ग्राम

नेपाली एम.ए. उद्घाटनमा गुवाहाटी जाँदा

► डा. खगेन्द्रप्रसाद लुइँटेल

            गुवाहाटी विश्वविद्यालयमा नेपाली एम.ए. कार्यक्रमको उद्घाटनका लागि त्यहाँका निर्देशक डा. कन्दर्प दासको आग्रहअनुसार एक महिनाअघि नै समय मिलाइएको थियो। त्यसका लागि 2067 पुस 17 गते काठमाडौंबाट गौहाटीतर्फ प्रस्थान गरियो। बुद्ध एयरबाट चन्द्रगढी विमानस्थलमा उत्रँदा त्यहाँका पुराना साहित्यकार चूडामणि रेग्मी मलाई नै कुरिरहेका थिए। उनले मलाई त्यहाँबाट बिदा गरेपछि म दुई बजेतिर पानीट्याङ्की पुगें। त्यहाँ मलाई लिन उताबाट साहित्यकार लोकनाथ उपाध्याय चापागार्इं आउने कुरा भएको थियो। पूर्वपरिचित नभएको हुँदा हामीले आपसी परिचयका लागि जिउडाल र लुगाको रङ् बताएका थियौं। मैले आफू अग्लो भएको बताएको थिएँ भने उनले आफू पुड्को भएको बताएका थिए। देख्नेबित्तिकै हामीले एकअर्कालाई चिनिहाल्यौं। पहिलो पटक प्रत्यक्ष भेटघाट र परिचय भएका लोकनाथ सेवानिवृत्त सिपाही, उमेरले पाकै भए पनि गठिलो जिउडालका खाइलाग्दा रहेछन् तर भनेजति पुड्कैचाहिं होइन। हामीले दाजुभाइको साइनो लगायौं। गफगाफ गर्दै हाम्रो यात्रा अघि बढ्यो। उनले मलाई सोझै आफ्नै घरमा पुऱ्याए। उनको घर सिलिगुडी नपुग्दै सुश्रुत नगर कदमतला भन्ने ठाउँमा रहेछ। सबै सन्तान वरिपरि नै रहेछन्। उनकी श्रीमती लुइँटेलकी छोरी रहिछन् – दिदीभाइको साइनो लगाइहालियो। उनका छोरा जगन्नाथ तथा छोरीहरू शारदा र भारतीले मामा भन्न थालिहाले। उनका ज्वाइँ केदार घिमिरे मेरा पुराना विद्यार्थी रहेछन्। यसरी हाम्रो साइनो सहजतापूर्वक नजिकिंदै गयो। बेलुका निकै बेर गफगाफ भयो अनेक विषयमा।

            अर्को दिन मौसम निकै चिसो थियो। हामी उत्तरबङ्ग विश्वविद्यालय परिसर गाडीबाटै घुम्यौं। गाडी केदारले चलाएका थिए भने नारदप्रसाद शर्माले गाइड गरेका थिए। त्यहाँ घनश्याम नेपाल र भीमकान्त उपाध्यायसँग पनि भेटघाट भयो। हामी नामबाट पूर्वपरिचित भए पनि अनुहारबाट नवपरिचित थियौं। नेपाली साहित्य र भारतीय नेपाली साहित्यबारे केही क्षण कुराकानी भयो। गुवाहाटीमा एम.ए. नेपाली कार्यक्रमको प्रारम्भबारे उनीहरूका दृष्टिकोण बुझ्न मलाई त के लोकनाथ दाइलाई पनि खासै अप्ठ्यारो परेन। त्यस दिन बेलुकाको खाना केदारकहाँ खाइयो। निकै भलाद्मी पाराका केदार र अलि नेता खालकी श्रीमती शारदाका दुईटी छोरी रहेछन्। जेठी छोरी स्वेता निकै फर्साइली रहिछन्। त्यहींबाट लोकनाथ दाइले मलाई अनेकतिर फोन सम्पर्क गराए। समय बित्न खासै समय लागेन।

            अर्को दिन लोकनाथ र केदारले मलाई बागडुग्रा एअरपोर्ट पुऱ्याएर बिदाइ गरे। म स्पाइस जेटबाट तीन बजेतिर गुवाहाटी एअरपोर्ट उत्रिएँ। डा. शान्ति थापा निकै बेरदेखि मेरो प्रतीक्षामा रहिछन्। उनले मलाई सोझैं जियु गेस्ट हाउसमा पुऱ्याइन्। केही क्षणमै नवसापकोटा र गीता उपाध्यायहरू पनि आइपुगे। निकै बेर गफगाफ भयो। उनीहरूबाट छुट्टिएपछि म केही क्षण त्यत्तिकै टहलिएँ र खानपिन गरी नेपाल टेलिभिजन हेर्दै सुतें।

            अर्को दिन गुवाहाटी दर्शनको कार्यक्रम राखिएको रहेछ। गेस्ट हाउसबाट कामाख्यातिर लागियो। यसअघि बाहिरैबाट दर्शन गरिएको कामाख्या यसपटकचाहिं भित्रै गएर शान्तिसँग दर्शन गरियो। त्यहाँ निर्धारित रकम तिरेपछि सोझै दर्शन गर्न पाइने व्यवस्था रहेछ भारतका अन्य मन्दिरमा पनि यस्तो चलन छ। भित्र निकै अँध्यारो कामाख्या मन्दिरको दर्शन गरी बाहिर आएर उज्यालोमा बत्ती बालियो। त्यसै दिन भुवनेश्वरी, तिरूपति, वशिष्ठ गुफा, पल्टन बजारलगायत गुवाहाटीका सबैजसो दर्शनीय स्थल रमाइलो गरी शान्तिसँग घुमियो र खाना पनि शान्तिसँगै खाइयो। गुवाहाटी भ्रमणबाट फर्किनेबित्तिकै भारतीय गोर्खा परिसङ्घबाट सम्बर्धना कार्यक्रम आयोजना गरिएको रहेछ। परिसङ्घका सभापति पुष्पधर शर्मा, कार्यकारी सभापति कृष्ण भुजेल, नवसापकोटालगायत थुप्रै प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा मलाई सम्मान गरियो। सबैले जियुमा नेपाली एम.ए. सञ्चालनमा विशिष्ट योगदान पुऱ्याएको आदि भन्दै खुब प्रशंसा गरे भने मलाई दिइएको सम्मान पत्रमा पनि यस्तै कुरा लेखिएको थियो।

            पुस 21 गते अर्थात् जनवरी 5। नेपाली एम.ए. कार्यक्रमको उद्घाटन हुने दिन। पूर्व निर्धारत समय साढे दस बजे नै कार्यक्रम सुरु भयो। कार्यक्रमको सञ्चालन निर्देशक डा. कन्दर्प दास स्वयले गर्दै यहाँ नेपाली एम.ए. कार्यक्रमको व्यवस्थापन र सञ्चालनमा डा. खगेन्द्र लुइँटेललाई नै दिनुपर्छ आदि भन्दै असमी र हिन्दी दुई भाषामा मेरो खुब प्रशंसा गरे। प्रमुख अतिथिको आसनबाट उद्घाटन भाषण गर्ने बेला म नेपाली, हिन्दी, अङ्ग्रेजीमध्ये कुन भाषामा बोलौं भन्ने कुरा गर्दा एकजना विद्यार्थीले ‘नेपालीमा बोल्नुहोस्, हामी काठमाडौंको नेपाली सुन्न चाहान्छौ’ भनिन्। मैले भनें – ‘म काठमाडौंको होइन नेपालको नेपाली बोल्छु!’ उद्घाटन भाषणका क्रममा मैले ‘मलाई जियुले स्पेसल कोर्स एडभाइजर बनाएर सम्पूर्ण कामको जिम्मेवारी दिएकाले यहाँको पाठ्यक्रम र पाठ्यसामग्रीमा भएका राम्रा पक्षजाति सबै तपार्इंहरूका अनि नराम्रा जति मेरा’ भन्दा सबै छक्क परे। पाठ्यक्रम र पाठ्यसामग्री बनाउँदाका असजिला, अप्ठ्यारा र त्यसमा डा. दास र डा. थापाको विशेष सहयोग आदि विभिन्न सन्दर्भको चर्चा गर्दै नेपाली हुनाको नाताले मैले आफ्नो कर्तव्य पूरा गरेको भन्दै उद्घाटन भाषण टुङ्ग्याएँ। मेरो उद्घाटन भाषण सकिनेबित्तिकै कार्यक्रम समापनको घोषणा गरियो। हरेक कार्यक्रममा राजनीतिक दलका ठुटे नेताहरूलाई जम्मा गरेर बकम्फुसे भाषण नगराई नहुने परिपाटी भएका ठाउँको मान्छे म तर त्यहाँ मञ्चमा एकजना पनि राजनीतिक व्यक्ति थिएनन्, बौद्धिक, प्राज्ञिक व्यक्तित्व मात्र थिए। हामीले तिनलाई गाली गर्न मात्र सिकेको तर तिनका राम्रा कामको अनुकरण गर्न नसकिनेकोमा मलाई आत्मग्लानि भयो र मनमा कस्तोकस्तो लागिरह्रो तर त्यहाँ त्यस्ता कुरा गरेर आफ्नो आङ क्न्याएर छारो उजाउनु उचित थिएन।

            कार्यक्रमको औपचारिक उद्घाटनको समाप्तिपश्चात् कक्षाको पनि उद्घाटन गरियो। त्यहाँ विभिन्न उमेर समूहका थुप्रै विद्यार्थीको उपस्थिति थियो र तिनीहरू धेरै कुरा जान्न उत्सुक देखिन्थे। तिनीहरूका उत्सुकताले मलाई पनि अलि बढी नै पढाउन उत्प्रेरित गऱ्यो। अमस साहित्य सभाका सभापति 72 वर्षीय के.बी. छेत्री, असम साहित्य परिषद्का सभापति नवसापकोटा, भारतीय गोर्खा परिसङ्घका सभापति पुष्पधर शर्मा सब विद्यार्थी थिए। विभिन्न विषयमा एम.ए., एम.फिल गरिसकेकाहरू पनि भर्ना भएका थिए। मैले सुरुमा एकदुईवटा मात्र क्लास लिने सोचेको थिएँ तर विद्यार्थीहरूको उत्सुकता र विश्वविद्यालयको विशेष आग्रहमा एक हप्ता क्लास लिएँ। डाइरेक्टर दासले पनि सुरुमा केही क्लास लिइदिन आग्रह गरेका थिए तरपछि भने – ‘खै विद्यार्थीहरू तपाईलाई छोड्नै मान्दैनन्, आफै सोचेर निर्णय गर्नुस्।’ उनको काम गर्ने-गराउने शैली पनि अनुकरणीय नै थियो। कुरा कम र काम धेरै गर्ने, बिहानदेखि बेलुकासम्म अफिसमै बसी सिसी टिभीबाट सबैथोक निरीक्षण गर्ने, आफू पङ्चुअल हुने र कर्मचारीलाई पनि अनुशासनमा राख्ने, वाम झुकाउका भए पनि विश्वविद्यालयको विकासमा दत्तचित्त भएर लाग्ने कुशल प्रशासक थिए दासजी। अर्कै देशको विश्वविद्यालयमा आफ्नो भाषासाहित्य पढाउँदा मलाई छुट्टै खाले रमाइलो अनुभूति भयो। दिनभर कक्षा लिने अनि कक्षा सकिएपछि सम्मान कार्यक्रम र भेटघाटमै व्यस्त हुने दिनचर्या नै बन्यो।

            पुस 24 गते असम साहित्य सभाद्वारा त्यहाँका सम्पूर्ण विद्यार्थीसमेतको उपस्थितिमा मलाई सम्मान गरियो। सभापति के.बी. छेत्री, मूल सचिव मदन थापालगायत थुप्रैको उपस्थिति रहेको त्यस सम्मान कार्यक्रममा पनि ‘जियुमा नेपाली एम.ए सञ्चालनमा विशिष्ट योगदान पुऱ्याएको’ भन्दै प्रशंसाको वर्षा नै गरिएको थियो भने मलाई दिइएको अभिनन्दन पत्रमा पनि यस्तै कुरा लेखिएको थियो। त्यस कार्यक्रममा मैले पनि अनेक विषयमा लामै भाषण ठोकें।

            पुस 25 गते मेरो जन्मदिन भएको कुरा बिहानै छोरी ऋभुले फोन गरेपछि मलाई सम्झना भयो। म कक्षामा पस्दा बोर्डमा ‘डा. खगेन्द्रप्रसाद लुइँटेललाई जन्मदिनको हार्दिक शुभकामना’ भन्ने लेखिएको थियो। खै उनीहरूलाई यो कुरा कसरी थाहा भयो, मलाई थाहा भएन। संयोग नै भनौ डा. शान्ति थापाको जन्मदिन पनि त्यसै दिन रहेछ। हामी दुवैका लागि त्यो जीवनको पहिलो संयोग थियो। हामीले एकअर्कामा शुभकामना र उपहार आदानप्रदान गऱ्यौं। यस्तो अनौठो संयोग हाम्रा लागि मात्र होइन सबैका लागि अनौठै थियो। तमाम विद्यार्थी र अन्यले समेत हामीलाई मिठाइ र विभिन्न उपहारसहित शुभकामना दिएर जन्मदिन मनाए। त्यसदिनको लन्च असम साहित्य परिषद्का सभापति तथा मेरा वृद्ध विद्यार्थी नवसापकोटाले राम्रै होटलमा लगेर गराए। त्यसै दिन बेलुका अखिल असम गोर्खा छात्र सङ्घले मेरो सम्मान अभिनन्दन गऱ्यो। त्यस कार्यक्रममा विद्यार्थी सङ्गठनका सभापति जगदीश खनाल, डा. शान्ति, डा. खगेनलगायत थुप्रैको उपस्थिति थियो। विद्यार्थी नेताहरूले पनि जियुको नेपाली एम.ए. कार्यक्रमसँगै जोडेर मेरो अभ्यर्थना गरे। दिनदिनै गेस्ट हाउसमा हुने कार्यक्रम र मानिसहरूको आवतजावत देख्दा त्यहाँका कर्मचारी र अरू आगन्तुकहरू पनि छक्क पर्थे …।

            पूर्व निर्धारित समयअनुसार नै पुस 26 गते कार्यक्रमको समापन गर्नु थियो। विद्यार्थीहरूले त्यहाँ पनि विशेष सम्मान कार्यक्रम राखेका रहेछन्। त्यहाँ मेरा सम्मानमा व्यक्त गरेका शब्द र मलाई दिएको अभिनन्दन पत्रमा लेखिएका शब्दबाट म निकै भावविभोर भएँ। मैले समग्र कार्यक्रमबारे लामै भाषण गर्दै कार्यक्रम सफल पार्न सहयोग पुऱ्याउने सबैलाई धन्यवाद दिएँ। सबैले यस कार्यक्रमको सफलताको श्रेय मलाई मात्र दिइरहेका बेला मैले ‘त्यसको श्रेय कखगमा रहेको’ भन्दा सबै छक्क परे। क अर्थात्, कन्दर्प, ख अर्थात् खगेन्द्र, गीतार्थको सकृयताबाट यो कार्यक्रम सफल भएको र यस कार्यक्रमलाई सफल तुल्याउन डा. शान्ति थापाको विशिष्ट भूमिका रहेको भन्दै उनको नाम बेठीक भएकाले अब क्रान्ति राख्नु उपयुक्त हुन्छ भन्दा तालीको गड्गडाहट र हाँसोको फोहरा छुट्यो। डाइरेक्टर डा. कन्दर्प दासले पनि मेरो योगदानको प्रशंसामा निकै समय खर्च गरे। कार्यक्रम संयोजक डा. शान्ति थापाले ‘जियुमा नेपाली एम.ए. स्थापना डा. लुइँटेलको योगदानबाट मात्र सफल भएको र उहाँको सहयोग नभएको भए यो कार्यक्रम सञ्चालन हुँदैनथ्यो’ भन्नेजस्ता कुरा गरी मेरो निकै प्रशंसा गरिन्। तीन दिने शिलाङ कार्यक्रमका लागि लाई लिन आइपुगेका टेकनारायण उपाध्याय पनि कार्यक्रममा सरिक थिए।

            विदेशी विश्वविद्यालयमा नेपाली भाषासाहित्यको सप्ताहव्यापी कक्षा मेरा लागि नौलो अनुभव थियो। पूरै दिन शान्ति कक्षामा बस्थिन्, मैले भनेका कुरा बेलाबेला बोर्डमा लेख्थिन्। उनी मलाई गेस्टहाउसबाट जियु पुऱ्याउने, दुई बजेतिर लन्च खान लाने मात्र होइन मेरा लागि कक्षामै खाने पानी समेत ल्याइदिन्थिन्।

बीचबीचमा कार्यालयीय कामसमेत भ्याउँथिन्। खिरिलो ज्यानकी शान्ति साँच्चिकै फुर्तिली र कामप्रति लगनशील रहिछन्। कतिपय जिद्दी स्वभाव भए पनि उनको संयोजन कार्यकौशल र खटाइका लागि जिद्दीपन फिक्का देखापर्छ। जे होस् त्यहाँ एक हप्ता निकै रमाइलोसँग बित्यो र मैले त्यसलाई जीवनको अविस्मरणीय घटनाका रूपमा लिएको छु।

            शिलाङको कार्यक्रम सकी पुस 30 गते बिहान दस बजे टेकनारायणले मलाई गुवाहाटी ल्याइपुऱ्याए। हाम्रो पूर्वयोजनामुताबिक दरङ कलेजको कार्यक्रम उद्घाटनमा जानु थियो। मलाई त्यहाँ लाने जिम्मा जियुका पूर्व ट्रेजरर तथा व्यवस्थापन विभागका प्रा. डा. हेमचन्द्र गौतमले लिएका थिए। त्यही कार्यक्रमकै लागि उनले मेरो प्लेन टिकट पनि सारिदिएका थिए। उनका क्वार्टरमा चाम्रे खाई 12 बजेतिर उनकी श्रीमती र भाइकी छोरी लोहितासहित हामी बाटो लाग्यौं। उनले सुस्तरी गाडी चलाउँदै विभिन्न ठाउँ देखाउँदै लगे। बीच बाटोमा टायर पङ्चर भएर केही क्षण रोकिनु परे पनि यात्रा निकै रमाइलो थियो। उनको पुरानो घर सिङ्री भए पनि यतिखेर ढेकियाजुलीमा बस्दा रहेछन्। 5 बजेतिर उनका घरमा पुगियो। उनका 84 वर्षीय पिता प्रजापति शास्त्री त्यस क्षेत्रका निकै प्रतिष्ठित व्यक्ति रहेछन्। समाज सेवामा विशेष रुचि राख्ने शास्त्रीले विद्यालय, मन्दिर, पाटी, पौवा, धारा आदि बनाउन निकै ठूलो सहयोग पुऱ्याएका रहेछन्। लेखनमा पनि रुचि भएका शास्त्रीका दुईवटा किताब पनि प्रकाशित रहेछन्। उनकी आमा भने गौप्राणी। शास्त्री दम्पतीका चार भाइ छोरा। जेठो हेमसागर गुवाहाटीतिरै कुनै ठूलो कागज उद्योगमा काम गर्दा रहेछन्। उनका दुई सन्तान सचिता र वासुदेव। माहिलो हेमचन्द्र व्यवस्थापनका प्राध्यापक, विषयगत थुप्रै पुस्तकका लेखक अनि जियुका ट्रेजररसमेत भइसकेकाले यिनको त्यस क्षेत्रमा पहुँच र प्रतिष्ठा दुवै उच्च रहेछ। जियुमा नेपालीमा एम.ए. ल्याउनमा पनि उनको निकै ठूलो योगदान रहेको बुझियो। कसैलाई थाहा नदिई भित्रभित्रै काम फत्ते गर्ने स्वभावका हेमचन्द्र निकै मिलनसार र भद्र व्यक्तित्वका धनी रहेछन्। उनकी श्रीमती पनि जोडी मिल्ने नै रहिछन्। पूनामा पढ्ने छोरी निवेदिता बिहुमा घर आउन नपाएर चिन्तित भई छिनछिनमा फोन गरिरहन्थिन्। साहिलो घनश्याम स्थानीय विद्यालयमा पढाउँदा रहेछन्। उनका लोहिता र गिरिराज नामक दुई सन्तान। छोरी लोहिता निकै हँसिली। तिनी कलेज पढ्ने भए पनि सवा, पौने र अढाईको भेद अलि बुझ्दिरहिनछिन्। बेलाबेला त्यो हाँसोको विषय बन्थ्यो। अलि टाढाको कलेजमा पढाउने कान्छो अमर निकै ज्यानदार र दिलदार पनि। उनका दुई सन्तान दीक्षिता र मिथिलेश। बिहुमा भेला भएको निकै ठूलो गौतम परिवारका साथ खुब रमाइलो गरी बिहु मनाइयो।

            प्रसङ्ग बिहुको। बिहु असम क्षेत्रको ठूलो पर्व रहेछ, सार्वजनिक छुट्टी नै दिने खालको। बिहु वर्षमा तीनपटक पर्दो रहेछ – भोगाली बिहु (माघे सङ्क्रान्ति), रङ्गाली बिहु (बैसाखे सङ्क्रान्ति) र कङ्गाली बिहु (कात्तिके सङ्क्रान्ति)। खाने पर्वका रूपमा रहेका यी बिहुमध्ये सबभन्दा बढी खाने बिहु भोगाली बिहु रहेछ आफू त्यसैमा परियो। जता गयो तिल र नरिवलका लड्डु, पिठा, माछामासु आदि अनेक परिकार खानुपर्ने। म यस्तामा उति बानी नपरेको मान्छे केही दिन त हैरानै भएँ तैपनि अलिअलि खाँदै हिंडे। हेमचन्द्रजीले मलाई थुप्रै ठाउँ डुलाए। उनले जहाँजहाँ पुऱ्याए ती सबै आफन्तजस्तै लाग्थे। नेपाली जाति भनेपछि मेरा लागि सबै आफन्त। त्यसमा पनि यतातिरका विभिन्न साथीभाइका आफन्त त्यसै आफन्त हुने नै भइहाले। दिनभर घुमघाम गरी बेलुका निकै बेर घरायसी वातावरणमा आगो तापेर बसियो।

            अर्को दिन बिहानै हामी सिङ्रीतर्फ लाग्यौं गुप्तेश्वर महादेवको दर्शन गर्न। त्यो त्यस ठाउँको अनेक किंवदन्ती जडित प्रसिद्ध मन्दिर रहेछ। मेरा पुराना चेला रञ्जना अधिकारी र मित्र डा. हृदय कोइरालाका घरमा पनि पुगियो, बोलाएजति सबै ठाउँमा पुग्न सकिएन। त्यस दिन मेरै प्रमुख आतिथ्यमा त्यस क्षेत्रकै निकै प्रतिष्ठित र सम्पन्न व्यक्ति गणेश नेवारकहाँ विशेष मिटिङ राखिएको थियो। एस.एल.सी.को एउटै ब्याचका साथीहरू रत्न नेवार, हिमसागर उपाध्याय, तेजराज छेत्री, टेकबहादुर छेत्री, रोहिणी कुमार सुतार, सुचन्द्र दास आदि मिलेर सेवानिवृत्त शिक्षकलाई सम्बर्धना गर्ने योजना बनाई त्यो मिटिङ आयोजना गरिएको रहेछ। मैले पनि विभिन्न रायसल्लाह दिएँ। सब एक से एक महत्त्वपूर्ण पदमा

पुगेका व्यक्तिहरूको एकअर्कालाई तँ भन्ने स्तरको मित्रता साँच्चै लोभलाग्दो थियो। त्यस कार्यक्रममा पनि मलाई विशेष सम्मान गरियो। मिटिङ सकिएपछि हामीले खाना त्यहीं खायौं। गणेश नेवारका असमी र नेपाली गरी दुईवटी श्रीमती भएको कुरा उनले सहजतापूर्वक बताए। खानपिन पश्चात् हामी गौतमजीकहाँ पुगेर तेजपुरतर्फ प्रस्थान गऱ्यौं। बीच बाटोतिर कतै दुर्घटनाका कारण बाटो बन्द भएको थाहा पाएपछि हामी फर्कियौं। बेलुका थुप्रैतिर निम्ता थियो तर कतै गइएन …।

            अर्को दिन बिहानै हामी तेजपुरतर्फ लाग्यौं। गौतमजी त्यस ठाउँमा पनि पूरै परिचित रहेछन्। उनले मलाई तिनीहरूकै आग्रहमा तेजपुरका वयोवृद्ध समाजसेवी अमरनाथ भट्टराई, साहित्यकार ज्ञानबहादुर छेत्री र गीता उपाध्यायकहाँ पनि पुऱ्याए। त्यहाँ पनि फुलाम गामोछा ओढाउन बाँकी राखेनन्। त्यस राज्यको विधान सभाध्यक्ष टङ्कबहादुर राईकहाँ भने जान भ्याइएन। यी विभिन्न ठाउँ घुमाउँदै गौतमजीले मलाई नेपालीपट्टी भन्ने ठाउँमा अवस्थित जयनारायण लुइँटेलकहाँ पुऱ्याए। उनी हाम्रै प्रतीक्षामा रहेछन्। भव्याकर्षक ज्यान र अग्लो कदका जयनारायणको व्यक्तित्व कुनै गोरा मुलुकका गहुँगोरा विदेशीजस्तै…। राजनीति शास्त्रका सेवानिवृत्त प्राध्यापक लुइँटेल दरङ कलेजको नेपाली विभागका संस्थापक प्राध्यापक रहेछन्। उनकी श्रीमती नयाँदेवी पनि सेवानिवृत्त शिक्षक। दुवैजना त्यस क्षेत्रका प्रतिष्ठित साहित्यकार पनि। छोराबुहारी, छोरीज्वाई सबै विदेशतिरै। ठूलो घरमा ती दुई र नातिनी यशोधरा बस्दा रहेछन्। खानपिन गरेर नाता केलाउन थालियो। उनका र मेरा हजुरबा दाजुभाइ रहेछन्। हामी पनि दाजुभाइ भइहाल्यौं। ‘उता बस्न कठिन भए यतै आएर अंश लिनु पर्ला, घर पनि पुग्ने खालको ठूलै रहेछ’ भनी ठट्टा गरियो। उनले पनि ठट्टैठट्टामा ‘आधा घर दिने’ बताए। आखिर ती सबै गफै त थिए नि। देश खाई शेष भएका लुइँटेलकहाँचाहिं नेट पनि चलाइँदो रहेछ। मैले निकै दिनपछि बल्ल मेल चेक गर्ने मौका पाएँ।

            त्यस दिन पुष्पलाल स्मृति अध्ययन गोष्ठी नामक संस्थाबाट मलाई सम्बर्धना गर्ने योजना बनाइएको रहेछ। जयनारायण दम्पती, मित्रलाल शर्मा, देवीप्रसाद उपाध्याय, जगन्नाथ उपाध्याय, कमलादेवी, लावण्यदेवी, मुकुन्द चापागाई, मुक्ति लुइँटेल, खेमानन्द मिश्र आदिको उपस्थितिमा अत्यन्त सौहार्द्रपूर्ण वातावरणमा सम्बर्धना कार्यक्रम सम्पन्न भयो। पानी परेर बतर (मौसम) चिसिएको भए पनि मलाई त्यसले खासै असर गरेन। बेलुका एकछिन गफगाफ गर्ने सोचाइ थियो तर चारैतिरबाट फोन आइरहेकाले धेरै गफ गर्न भ्याइएन। त्यताको मोबाइल सारै सस्तो अनि कुरा गरिरहेकै बेलामा पनि मिस्ड कल आउने भएकाले ल्यान्डलाइनको प्रयोग उति हुँदो रहेनछ। विश्वनाथ चाराली, कार्बिआङलाङ, डिगबोईलगायत अपर असमको निकै टाढाटाढासम्म मलाई लान लालायित थिए, मलाई पनि जाने मन नलागेको होइन तर यसपटक व्यस्त कार्यक्रमले गर्दा भ्याइएन। हेरौं अर्को पटक केकस्तो हुन्छ?

            अर्को दिन दरङ कलेजमा उद्घाटन कार्यक्रम थियो। 22 वटा विभाग र 4500 जति विद्यार्थी भएको त्यो भारतकै निकै पुरानो कलेज रहेछ, सन् 1945 मा स्थापित। त्यहाँका प्रिन्सिपल डा. जयशङ्कर हाजारिका, आइडोल संयोजक विधान बरा, जयनारायण लुइँटेललगायतले मलाई क्याम्पसका महत्वपूर्ण ठाउँहरू देखाए। निकै व्यवस्थित रूपमा सञ्चालित त्यस कलेजमा फुटबल र क्रिकेट खेल्ने निकै ठूलो मैदान पनि…। त्यस कलेजको स्थापनामा शोणितपुरको एक अशिक्षित नेपाली प्रभुराम कार्कीको ठूलो योगदान रहेको कुरा मैले धेरैका मुखबाट पहिले नै सुनिसकेको थिएँ। कलेज स्थापनार्थ केही चन्दा माग्न उनका घरमा पुगेका मान्छेलाई उनले सिङ्गो कलेज बनाउनै पुग्नेगरी पाँच हजार दिने वचन दिएछन्। केही दिनपछि बोराभरि चाँदीका मोहर साइकलमा हालेर त्यहीं ल्याइदिएछन्। पछि थप सहयोग पनि गरेछन्। यो कल्पनाभन्दा बाहिरको घटनाका रूपमा सबका मुखमुखमा झुन्डिएको रहेछ।

            अँ, प्रसङ्ग उद्घाटन कार्यक्रमको। नेपाली विभाका प्रमुख खेमानन्द मिश्रको उद्घोषण र प्रिन्सिपल जयशङ्कर हजारिकाको सभापतित्वमा उद्घाटन कार्यक्रम सुरु भयो। त्यहाँ पनि सर्वप्रथम सम्बर्धना नै गरियो। उद्घाटन भाषणका क्रममा मैले अन्य कुराका साथै प्रभुराम कार्कीको योगदानको कुरा पनि उठाएँ। ‘यति पुरानो कलेजको संस्थापकको कतै सालिक होला र अरू जीवित सालिकहरूसँगझै उनको पनि सालिक छेउमा बसेर फोटो खिच्न पाइएला, उनका नाममा कुनै भवन होला भन्ठानेको तर आफूले यस्तो केही नदेखेको अनि अर्कोपटक आउँदा यस्तो अवसर पक्कै पाउने अपेक्षा गरेको’ भन्ने कुरा मैले बताउँदा सभामा निकै बेर तालीको गडगडाहट मच्चियो। पछि प्रिन्सिपलले पनि ‘यो सारै राम्रो कुरा हो, यतातिर हाम्रो ध्यान गएको रहेनछ, म यो काम पक्कै गर्छु’ भन्ने प्रतिबद्धता व्यक्त गरे। म प्रतिबद्धता पुराण सुनीलेखी सकेको मान्छे। यताका हाम्रा प्रतिबद्धताबारे भन्नै पर्दैन तर त्यताको प्रतिबद्धता यताको जस्तो हुँदैन रे, पुरा हुन्छ रे भन्ने सुनेर म प्रसन्न भएँ। त्यहाँ प्रभुरामको सालिक बन्नु भनेको नेपाली जातिको योगदान निरूपित हुनु थियो र त्यो तमाम नेपाली जातिका लागि गौरवको विषय पनि थियो। उद्घाटन कार्यक्रम सकिएपछि प्रिन्सिपलले हामीलाई असमी खानेकुरा खुवाउने भनी लिफ्ट चढेर जानुपर्ने अग्लो होटलमा लगे। त्यहाँबाट तेजपुर बजार पूरै देखिंदो रहेछ। खाना खाएर फर्किएपछि कक्षा उद्घाटन भयो। त्यहाँ पनि विद्यार्थी त्यत्तिकै उत्साहित थिएँ …।

            त्यस दिन बेलुका असम साहित्य सभा शोणितपुरले चाँदमारी भन्ने ठाउँमा विशेष सम्मान कार्यक्रम राखेको रहेछ। चन्द्रमणि उपाध्याय, खडगबहादुर कौशिक, दीननाथ निरौला, मोहन सुवेदी, घनश्याम तिमसिना, देवकीदेवी, दुर्गादेवी, झरनादेवी, सविता अर्जेल, गणेश पौडेल, सन्तोष दाहाल आदि थुप्रैको उपस्थितिमा सम्पन्न त्यस कार्यक्रमको सञ्चालन खेमानन्द मिश्रले गरेका थिए। उनीलगायत सबैले ‘नेपाली एम.ए. कार्यक्रमको स्थापनामा डा. लुइँटेलको अतुलनीय योगदान रहेको र उहाँकै  कारण आज यो कार्यक्रम सञ्चालन भएको अनि प्रभुराम कार्कीको कुरा उठाइदिएर हामीलाई थप गुन लगाएको’ आदि भन्दै मेरो प्रशंसामा शब्दवृष्टि नै गरे। मैले पनि नेपाली जाति र भाषाका लागि केही सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरें भने नेपाली जातिका गौरव प्रभुरामको सम्झनामा नेपाली जातिले केही नगरेकोमा चिन्ता व्यक्त गरें। बेलुका घनश्यामकहाँ खाना खाई जयनारायणकहाँ पुगेर सुतियो।

            अर्को दिन बिहान खेमानन्दकहाँ खाना खाई कलेज गइयो र क्लास लिइयो। दिउँसो मित्रदेव शर्मा र ज्ञानबहादुर छेत्रीले मलाई त्यहाँका पार्क, मन्दिर आदि सबै रमणीय ठाउँ घुमाए। बेलुका असम साहित्य परिषद् तेजपुरले हरिहरधाम चाँदमारीमा सम्मान कार्यक्रम आयोजना गरेको रहेछ। दुर्गाप्रसाद उपाध्यायको सभापतित्वमा सञ्चालित त्यस कार्यक्रममा त्यस परिषद्का पूर्वसभापतिहरू प्रा. दुर्गाप्रसाद घिमिरे, प्रा. टीकाराम उपाध्याय निर्भीक, प्रा. गीता उपाध्यायका साथै प्रा. मुक्तादेवी (अर्थशास्त्रकी भएर पनि केही समय नेपाली विभागमा पढाएकी) मित्रदेव शर्मा, वसुन्धरा शर्मा, छविलाल उपाध्याय, बलराम उपाध्याय, डिल्लीराम खनाल, कुसुमेश्वरी देवी, जयनारायण लुइटेल, घनश्यामलगायतका व्यक्तिहरू उपस्थित थिए। त्यहाँ मलाई छन्दोबद्ध कवितामा स्वागत र सम्बर्धना गरियो अनि मेरा बारेमा लेखिएको कविता नै सम्बर्धना पत्रका रूपमा दिइयो। त्यहाँ पनि सबैले ‘जियुको एम.ए. नेपाली कार्यक्रमका लागि ढुङ्गो खोज्दा देउता मिलेको, यो कार्यक्रम तपार्इंकै योगदानबाट सफल भएको, हामी ऋणी छौं’ आदि भन्दै सम्बर्धना गरे। दुर्गाप्रसाद घिमिरे त्रि.वि. स्थापनाकालकै नेपालीका विद्यार्थी रहेछन्। उनले त्रि.वि.मा आफू पढ्दाको प्रसङ्ग कोट्ट्याउँदै ‘जियुमा नेपाली एम.ए. स्थापनामा डा. लुइँटेलको योगदान अद्वितीय रहेको र यसलाई असमवासीले कहिल्यै नभुल्ने’ आदि भन्दै मेरो खुब प्रशंसा गरे। टीकारामजीले ‘काठमाडौंमा भेट्ने प्रयास गर्दा पनि सम्भव नभएको तर यहीं भेट्न पाएकोमा गौरव लागेको’ कुरा बताए। त्यहाँकी प्रतिष्ठित अग्रज साहित्यकार गीता उपाध्यायले जियुकै प्रसङ्ग निकालेर मेरो प्रशंसा गर्दै यस क्षेत्रमा एउटा नेपाली पुस्तकालयको स्थापना गर्नु आवश्यक रहेको बताइन्। वसुन्धरा शर्माले निकै भावुक भएर ‘आफूले यति ठूलो विद्वान देवर पाएको’ भन्दै अभिनन्दन गर्दा म पनि भाउजु पाएकोमा निकै भावुक बनेको थिएँ। त्यहाँ उपस्थित सबैले उद्घाटन कार्यक्रममा प्रभुराम कार्कीको प्रसङ्ग कोट्ट्याइदिएकामा प्रसन्नता व्यक्त गर्दै असम साहित्य परिषद् र सभा दुवैका अध्यक्ष तपार्इंकै विद्यार्थी भएकाले यी दुवै संस्थालाई एक बनाउन मध्यस्थता गरिदिनसमेत आग्रह गरे। ‘चुक्र्याइँ गर्नु र फुट्नु हामी नेपाली जातिको पैतृक सम्पत्ति भएको र अनि आफू मिनेटमिनेटमा फुट्ने र फुटाउने देशको बासिन्दा भएकाले यहाँ दुईवटा सङ्गठन हुनु खासै अनौठो नलागेको तर मनौवैज्ञानिक रूपमा अरूको हेपाइबाट जोगिन यहाँचाहिं मिल्नु नै राम्रो हो, यसका लागि म अर्को पटक आउँदा प्रयत्न गर्छु’ भन्दा सबैले ताली बजाएर प्रसन्नता व्यक्त गरे। मैले ‘टियु नेपाली केन्द्रीय विभाग नेपाली विषयका लागि अक्सफोर्ड, क्याम्ब्रिाज सब भएको र आफू त्यहींबाट आई जियुमा नेपाली एम.ए. कार्यक्रम सञ्चालनका लागि सहयोग गर्न पाएकोमा खुसी लागेको’ कुरा दोहोऱ्याएँ। कार्यक्रम सकिएपछि एकछिन घुमघाट गरियो र मित्रदेवकहाँ खाना खाई जयनारायणकहाँ फर्केर सुतियो।

            अर्को दिन बिहान त्यहाँबाट ज्ञानपीठ डिग्री कलेज निकासीको कार्यक्रमका लागि प्रस्थान गर्नु थियो। मानिस मात्र होइन मौसम पनि बिदाइमा विरक्तिएझैं लाग्थ्यो। सिमसिमे पानी परिरहेको थियो। मेरो विदाइका लागि बाइहाटा चारालीसम्म घनश्याम आएका थिए। निकासीबाट आइडोलका संयोजक तपनचन्द्र कलिता नेपाली विभागका प्रमुख चन्द्र घिमिरे, नेपाली शिक्षक रवि अधिकारी र अभि पाठक गाडी लिएर मलाई लिन आएका थिए। त्यहाँबटा निकासी अलि टाढै रहेछ। बेलुका भुटानकै छेउमा रहेको रवि अधिकारीका घरमा बसियो। त्यहाँ बेलाबेला बत्ती जाँदो रहेछ। म धेरजसो बत्ती जाने राष्ट्रको पनि राजधानीको बासिन्दा। त्यसले मलाई उति असर पार्ने कुरै भएन। निकै थकित भएकाले बेलुका अलि छिटै निदाइयो।

            अर्को दिन बिहान खाना खाई ज्ञानपीठ डिग्री कलेज पुगियो। म त्यहाँ पुग्दा कलेजका सबै पदाधिकारीहरू मेरै स्वागतमा प्रतीक्षारत थिए। तिनीहरूले मेरो भव्य स्वागत गरे र कलेजका सबैजसो ठाउँ देखाए। त्यहाँ मेरो सम्मानमा तुलब्यानरसहित भव्य कार्यक्रम आयोजना गरिएको रहेछ। त्यसपछि सम्मान कार्यक्रम प्रारम्भ भयो। कलेजका प्रेसिडेन्ट दयानन्द भण्डारी, भाइस प्रिन्सिपल अमति शर्मा, आइडोल कोअर्डिनेटर तपनचन्द्र कलिता, जुनियरका प्रिन्सिपल प्रेमप्रसाद उपाध्याय, गभर्निङ बडीका सदस्य तरुण शर्मा, बोडोका विभागीय प्रमुख मन्टु रामासियारी, अङ्ग्रेजीका प्रमुख रमेन कलिता, अर्थशास्त्रका उत्पल डेका, असमीयाका हिमानी हालोई, परमेश्वरी दासलगायत शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थितिमा निकै भव्य सम्मान कार्यक्रम गरियो। मलाई त्यहाँ सबै विभागीय प्रमुखहरूबाट जातीय संस्कृतिअनुरूपका अनेक उपहार प्रदान गरियो। मलाई कलेजको लाइब्रोरीबाट भारतीय नेपाली साहित्य नामक पुस्तकसमेत उपहार दिइयो। मलाई त्यहाँ दिइएका खराइ, जापीलगायतका उपहार मैले ल्याउन सकिन, पछि उनीहरूले काठमाडौंमै पठाइदिए। सिङ्गो कलेजकै तर्फबाट गरिएको त्यो सम्मान कार्यक्रममा पनि ‘नेपाली एम.ए. कार्यक्रमको स्थापनामा डा. लुइँटेलको विशिष्ट योगदान रहेको’ भन्ने कुरा सबैले बताए। नेपाली भाषीइतर समुदायबाट समेत हार्दिकतापूर्वक सम्मान गरिंदा मलाई निकै भावुक तुल्यायो। मैले तिनीहरूको सद्भावपूर्ण क्रियाकलापको मुक्तकण्ठले प्रशंसा गरें। सम्मान कार्यक्रमको लगत्तैपछि मैले शिक्षक, विद्यार्थी र स्थानीय बुद्धिजीवीलगायतका ठूलो समूहका बीच लामै भाषण ठोकें। उनीहरूले राखेका जिज्ञासाबारे पनि निकै बेर बोलें। कार्यक्रम सकिएपछि बेलुकातिर स्थानीय विभिन्न ठाउँको अवलोकन भ्रमण गरियो।

            अर्को दिन असम साहित्य परिषद् निकासीद्वारा सम्मान कार्यक्रम राखिएको रहेछ। त्यहाँ त्यस्ता कार्यक्रमलाई ‘परिचय पर्व’ पनि भन्दा रहेछन्। शान्तिराम पोखरेलको सभापतित्वमा सम्पन्न त्यस कार्यक्रममा कलेजका प्रेसिडेन्ट दयानन्द भण्डारी, बद्री गुरागार्इं, चन्द्र घिमिरे, रवि अधिकारी, युवा नेता पीताम्बर पाठक, गणेश छेत्री, गुरुप्रसाद कोइराला, दिल गौतम, टीकाराम घिमिरे, अभि पाठकलगायत थुप्रै नेपाली महिलापुरुषहरूको उपस्थिति थियो। खुकुरीसहितको कालो टोपी, फूलबुट्टे गाम्चा, अभिनन्दनपत्रसहित गरिएको त्यस सम्मान कार्यक्रममा पनि नेपाली एम.ए. कार्यक्रसमसँग जोडेर मेरो प्रशंसा गर्न बाँकी राखेनन्।

            क्रार्यक्रम सकिएपछि मलाई भुटान घुमाउन लैजाने योजना बनाइएको रहेछ। शान्तिराम पोखरेल, पीताम्बर पाठक, एवनारायण पाठक, गणेश छेत्री, चन्द्र घिमिरे र रवि अधिकारीसहित हामी भुटानतर्फ लाग्यौं। खैरेनी नामक निकै फराकिलो बगर पार गरेर जानुपर्ने रहेछ। बर्खा याममा पागलझैं बाढी आउने हुँदा त्यसलाई ‘पागला खोला’ पनि भनिंदो रहेछ। हामी दुई बजेतिर भुटान गेट पुग्यौं। त्यस दिन भुटानमा स्थानीय चुनावका कारण गेट बन्द गरिएको रहेछ। हामीले टाढैबाट भुटान हेऱ्यौं। मलाई भुटान घुमाउन नपाएकोमा तिनीहरू सबै खिन्न भए। मैले ‘जेजति घुमियो मेरा लागि ती सब नयाँ ठाउँ हुन्, मौका परे फेरि घुमौंला’ भनेपछि तिनीहरूको खिन्नतामा न्यूनता आयो। हामी त्यहाँबाट फर्केर चन्द्र घिमिरेको घरमा आइपुग्दा रात परिसकेको थियो। त्यहीं छेउमा एउटा नेपालीको बिहेमा पड्काएको पटाकाले त्यस क्षेत्रकै शान्ति भङ्ग गरेजस्तो लाग्थ्यो। बिहेमा निम्ता थियो तर थकित भएकाले गइएन।

            हाम्रो झापा, मोरङजस्तै लाग्ने निकासी अधिकांश नेपालीको बसोबास क्षेत्र रहेछ। त्यस ठाउँमा नेपाली संस्कृति पूरै जीवित राखिएको रहेछ। सहरबाट अलि टाढा भएकाले तिनीहरू आफूलाई गाउँले नै ठान्दा रहेछन्। त्यहाँ असम क्षेत्रको प्रसिद्ध नाट्य समूह लालीगुराँसलगायत विभिन्न नाट्य मण्डलीहरू पनि रहेछन्।

            असमतिर मान्छेलाई पहिलो स्वागत तामुल (काँचो सुपारी), पान र त्यसपछि चियाबाट गरिंदो रहेछ। त्यहाँ तामुलपान सबैको प्रिय रहेछ। कहिल्यै नखाएकाले खाँदा मातिन्छ भन्थे। मैले एकपटक जयनारायणकहाँ अलिकति खाएँ। कान तात्यो भने भन्नु हामी औषधी गर्छौं भन्थे। मेरो कान पनि तातेन र मलाई मिठो पनि लागेन। त्यसबाहेक अन्त मैले कतै पनि तामुलपान खाइनँ।

            अर्को दिन सबेरै गुवाहाटी फर्कनु थियो। मेरो बिदाइका लागि वरपरका थुप्रै मानिस जम्मा भएका थिए। रवि र अवि मलाई पुऱ्याउन गुवाहाटीसम्मै आएका थिए। बीच बाटोको कुनै ठाउँमा कुनै राजनीतिक सङ्गठनले मेरो अभिनन्दन कार्यक्रम राखेको रहेछ तर समयका कारण त्यहाँ उपस्थित हुन सकिएन। साढे दस बजे जियु गेस्ट हाउस पुग्नेबित्तिकै शान्ति पनि आइपुगिन्। त्यस दिन जियुमा थुप्रै कार्यक्रम र मिटिङहरू थिए। हतारहतार खानपिन गरेर जियु गइयो। जियु आइडोलद्वारा सञ्चालनमा प्रारम्भ गरिएको रेडियो ज्योति तरङ्गको उद्घाटन गरियो। सो अवसरमा डाइरेक्टर कन्दर्फ दासले मसँग विशेष अन्तर्वार्ता लिएका थिए। मेरो अन्तर्वार्ता लिन निकै पहिलेदेखि नै प्रयास गरिरहेका भाष्करलाई बल्ल समय दिन सकें। त्यो अन्तर्वार्ता नेपाली विषयसँग सम्बद्ध थियो। उनले नेपाली कविताको इतिहासलगायतका विषयमा लामै अन्तर्वार्ता लिए। त्यो विद्यार्थीका लागि प्रसारण र वितरण गर्ने सामग्री हो रे। मेरो अन्तर्वार्ता नसकिउन्जेल खगेन शर्मा साना दुई छोरीसहित बाहिर मलाई नै कुरिरहेका रहेछन्। अन्तर्वार्ता सकिएपछि हामी गेस्ट हाउस फर्कियौं। खगेन आइडोलबाट पुस्तक लिएर आए। यस पटक खगेनको सहयोग पनि उल्लेख्य रह्रो। नवसापकोटा, एडिटर इन्चार्ज प्रसेनजित दासहरू पनि बिदाइ भेटघाटका लागि आएका थिए। केही क्षण गफगाफ गरी र त्यहीं खाना खाएँ। यति धेरै दिन बस्दा पनि डाइरेक्टरको निम्तोचाहिं यसपटक त्यत्तिकै थाती रह्रो। अर्को दिन फर्किनु पर्ने भएकाले बेलुका पोकापन्तुरा मिलाएर बेलैमा सुतियो।

            अर्को दिन बिहानै शान्ति आइन र मलाई बाटामा खाना खुवाएर 11 बजे एयरपोर्ट पुऱ्याइन्। मैले एयरपोर्ट भित्रिने बेलामा मलाई त्यहाँका लागि दिइएको मोबाइल शान्तिलाई हस्तान्तरण गरिदिएँ। त्यतिखेर उनी निकै शान्त देखिन्थिन्। यसपटकको गुवाहाटी यात्रा लामै भए पनि व्यस्तताका कारण त्यहाँ बसुन्जेल सोच्ने फुर्सदै भएन तर हिंडेपछि अनुभूति भयो गुवाहाटी मलाई थुप्रै चिज दिइसकेको रहेछ। थुप्रै सम्मान र उपहारहरू अनि मुटुभरि थुप्रैथुप्रै माया, सद्भाव, स्नेह, आत्मीयता …। कतिपय त कहिल्यै भुल्न नसकिने सन्दर्भहरू पनि …।

            यस्तैयस्ता कुरा सम्झँदासम्झँदै प्लेन बागडुग्रा ल्यान्ड गर्दा पो म झसङ्ग भएँ। एयर्पोर्टबाट बाहिर निस्की प्रिपेड ट्याक्सी लिएर खुर्र काकडभित्ता आइपुगें। मेरो मोबाइल चीर निन्द्रामा परिसकेको रहेछ, बिउँझने तरखरै गरेन। त्यहीं द्रोण उपाध्याय, होम सुवेदी आदिसँग पनि भेटघाट भयो। बेलुका निकैबेरसम्म यताउताका गफगाफ भए …।

            अर्को दिन बिहान मेची क्याम्पस गइयो। क्याम्पसमा थुप्रै साथीभाइसँग चिनजान र गफगाफ भयो। त्यो पनि नेपालको पुरानै क्याम्पस हो। यताको मेची क्याम्पस र उताका कलेज सम्झँदा मलाई दिक्क लाग्यो। माल पाएर मात्र हुँदोरहेनछ चाल पनि पाउनु पर्दो रहेछ भन्ने अनुभूति मेची क्याम्पसले दिइरहेथ्यो। त्यत्रो फराकिलो एरिया त्यत्तिकै खेर गएको …। हुन त हामीलाई त्यस्तो हेर्ने बनाउने फुर्सद भए पो। त्यस दिन दिउँसो कञ्चनजङ्गा एफ.एम.मा विशेष अन्तर्वार्ताका लागि बोलाइयो। वर्तमान राजनीतिक गतिविधिलगायत मेरो असम यात्रा तथा गुवाहाटीमा नेपाली एम.ए. कार्यक्रमका बारेमा रेडियोका प्रबन्धक निर्देशक चन्द्र भण्डारीले लामै अन्तर्वार्ता लिए। राजनीति छोडेर पत्रकारितातिर लागेका जल्दाबल्दा पूर्व विद्यार्थी नेता भण्डारी अन्तर्वार्ता लिन खप्पिस रहेछन्। हामीकहाँ राजनीति योग्यता नचाहिने कमाउदार पेसा भएकाले उच्चशिक्षित र बौद्धिकहरूजति प्रायः त्यसको संसर्गबाट टाढिने प्रमाण चन्द्र भण्डारीले नै दिइरहेका थिए।

            अर्को दिन काठमाडौं फर्कनु थियो। घोषित एक घन्टा र अघोषित दुई घन्टा प्लेन ढिलो भयो। यो घटना पहिलो नभएको र नेपालको राष्ट्रिय रोग नै भएकाले त्यतातिर ध्यान दिनुको अर्थै थिएन। एयरपोर्टमा थुप्रै परिचितहरू भेटिए। गफ गरेरै समय काटियो। ढिलै गरेर भए पनि धन्न प्लेन उड्यो र म रात नपर्दै घरमा भित्रिएँ। रातभर मेरो तन यता अनि मनचाहिं उतै कताकता दौडिरह्रो …।

            यसपटकको निकै लामो र अति व्यस्त गुवाहाटी यात्रा अविस्मरणीय रह्रो। यता र उताका नेपालीमा थुप्रै समानता पाइए पनि कतिपय कुरामा निकै भिन्नता देखिन्थ्यो। उताका नेपालीले राम्रो कामको दिल खोलेर प्रशंसा गर्न सिकिसकेका रहेछन्। त्यताकाले नेपाली संस्कृति र भाषालाई राम्रैसँग जीवन्त राखेका रहेछन्। नेपाललाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएकोमा भने त्यताका नेपाली सन्तुष्ट रहेनछन्। त्यतातिर बसोबास गर्ने अधिकांश नेपाली भौतिक रूपले सम्पन्न भए पनि ठाउँठाउँमा मनोवैज्ञानिक त्रास भने रहेछ। उनीहरूका अभिव्यक्तिबाट यस्तैयस्तै झल्कन्थ्यो। असम क्षेत्रमा अधिकांशतः पूर्वेली भाषिका बोलिंदो रहेछ। अरू जेसुकै भए पनि तिनीहरू जाति र भाषाका लागि चाहिं हुरुक्कै हुँदारहेछन्। तिनीहरूका क्रियाकलाप र अभिव्यक्तिमा मैले त्यस्तै छनक पाएँ।

            पहिले यताबाट गएका कतिपयले आफ्नो हैसियतभन्दा माथिका अनावश्यक आश्वासन बाँडेका पनि रहेछन्। विभिन्न कार्यक्रममा यसप्रति गुनासो पनि सुनियो तर मलाई त्यहाँ कुनै आश्वासन बाँड्नु थिएन र बाँडिन पनि। अरूले पनि आफूले गर्न नसक्ने कुरा गरिदिन्छु र नजानेको कुरा जान्दछु भनेर गुड्डी हाँकी नेपालीहरूको बदनाम नगरेकै भए राम्रो हुन्थ्यो। मलाई त्यहाँ बसुन्जेल हरेक दिनजसो सम्बर्द्धना, अभ्यर्थना, सम्मान, अभिनन्दन गरियो तर अनौठो के थियो भने कुन दिन कहाँ कतिखेर सम्मान गरिन्छ भन्ने पत्तै नदिई मलाई अचानक त्यस ठाउँमा पुऱ्याउँथे। सबैतिरका कार्यक्रममा ‘गुवाहाटी विश्वविद्यालयमा नेपाली एम.ए.कार्यक्रम सञ्चालनमा तपार्इंको विशिष्ट योगदान रहेको छ, तपार्इं नआइदिएको भए यो कार्यक्रम नै सफल हुने थिएन, तपार्इंको योगदान यस क्षेत्रका सबै नेपालीले कहिल्यै भुल्ने छैनन्, तपार्इंको नाम स्वर्णाक्षरले लेखिनेछ’ आदि भन्थे र दिइएका सम्मान-अभिनन्दन पत्रमा पनि यस्तै कुरा लेखिएको हुन्थ्यो। यसरी सम्मान गर्दा सबैलाई खुसी नै लाग्छ, मलाई पनि लाग्यो नै तर यस पटक दिनदिनैजसो अप्रत्याशित रूपमा एक्कासि गरिने सम्मान कार्यक्रमचाहिं अलि अनौठै लाग्यो। मलाई त्यस क्षेत्रमा लगेर सम्मान गरिन्छ भन्ने सोचेर मैले यो काम गरेको थिइन्, मैले यो काम नेपाली हुनाको कर्तव्यबोधबाट गरेको थिएँ अनि यो काम यति ठूलो हो भन्ने पनि सोचेको थिइन तर त्यस ठाउँका लागि त यो अद्भुतै काम भएछ, यो कुरा काम सकिएपछि मात्र थाहा भयो। असम क्षेत्रबाट मलाई अनेक खालका भौतिक उपहार दिइए पनि मानसिक उपहार नै बढी पाएजस्तो मैले महसुस गरें। त्यहाँबाट मलाई प्रदान गरिएका भौतिक वस्तुलाई घरको कोठामा र मानसिक वस्तुलाई दिलमा सजाएर राखेको छु र सदैव राखिरहनेछु। जय होस् असमवासी नेपाली जातिको …।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं

साभार रचना

असमका ती अविस्मरणीय क्षणहरू!

► रोचक घिमिरे

            भारतको उत्तरपूर्वी राज्य असम पुगेर त्यहाँका नेपालीहरूको स्थिति बुझ्ने धोको दशकौं अघिदेखि

थियो। बहिनी लक्ष्मीको घर असमको शोणितपुर जिल्लामा भएर पनि त्यहाँ जाने तारतम्य कहिल्यै मिल्न सकेको थिएन। यसपटक बल्ल साइत जुऱ्यो र भाइटीका निम्ति बहिनीकहाँ पुग्नेगरी कार्तिक 19 गते 2067 (5 नोभेम्बर 2010)का दिन काकरभिट्टाबाट सिलगढी हुँदै पूजा ट्राभल्सको आरामदायी बस चढेर तेजपुर तर्फ लागियो। सहधर्मिणी सुस्मिता र छोरा प्रतीकसित तीनजनाको टोली थियो हाम्रो। दिउँसो 3 बजे सिलगढीबाट कुदेको बस पश्चिम बङ्गालका विभिन्न सहरबजार गाउँ हुँदै असमतर्फ हुइँकिदै थियो। लक्ष्मीपूजाको दिन भएकोले बाटोमा जताततै लक्ष्मीका मूर्ति ठङ्याइएका ठूलासाना पण्डालमा निकै भीडभाड देखिन्थ्यो। साँझ छिप्पिदै गएपछि बिजुलीका झलमल्ल प्रकाश, फुलझडी, भैंचम्पा र रकेटका रङ्बिरङी चहक अनि आतिसबाजका मनमोहक छटाले सम्पूर्ण यात्रा मार्गलाई आलोकित र उज्ज्वल पारिरहेका थिए। दीपावली र महालक्ष्मीको आराधनामा गाइएका भजन-कीर्तन र वाद्यवादनका अविराम चर्का ध्वनिले हाम्रा कान गुन्जायमान भैरहेका थिए। हाम्रो बसका सबैजसो यात्री नेपाली नै थिए। पश्चिम बङ्गाल छोडेर असम राज्य प्रवेश गर्दा पनि सडकका दृश्यमा कुनै परिवर्तन थिएन। दीपावलीको अत्यधिक उल्लास र उमङ्ग रातभिर नै यात्रा मार्गको सम्पूर्ण वातावरणमा व्याप्त थियो।

            सत्र घण्टा लामो बसयात्रा पछि भोलिपल्ट 2067 कार्तिक 20 गते (6 नोभेम्बर) बिहान 7 बजे हामी शोणितपुरको सदरमुकाम तेजपुर सहर पुग्यौं। तेजपुरबाट अर्को सानो बाहन टाटा म्याजिकमा सवार भएर 1 घण्टामा लोकरा लाबरघारी बहिनीकहाँ पुगेपछि हाम्रो तत्कालिक गन्तव्य टुङ्गियो। सानो बजार लोकरा र त्यहाँ वरपरका सबैजसो गाउँमा नेपालीहरूकै बसोबास रहेछ। त्यसो त तेजपुर नपुग्दै सडकमा नेपालीहरूकै चहलपहल देखिएको थियो। सिलगढीदेखि असमसम्म नै नेपाली परिवेशको व्याप्ति अनुभव गऱ्यौं हामीले। लोकराको लाबरघारी पुग्दा कन्डक्टरले ‘भानुचोक’ भनेको सुन्दा मेरा कान ठाडा भए। यसो बाहिर हेरेको त चौबाटोको माझमा हाम्रा आदिकवि भानुभक्तको भव्य शालिक ठडिएको रहेछ। ठूला अक्षरले त्यहाँ लेखिएको थियो – हाम्रा गौरव, आदिकवि! नेपालबाट यति टाढा विदेशी भूमिमा त्यहाँका वासिन्दाले आदिकविलाई ‘हाम्रा गौरव’ भनेर यत्रो आदर दिएको देख्ता हाम्रो छाती गर्वले ढक्क फुलेको थियो। हाम्रा आदिकवि त्यहाँका पनि गौरव रहेछन्!

            असम गोर्खा राइफल्सको ब्यारेक रहेछ लोकरामा। सबैजसो गोर्खाली अनुहारका फौजीहरू! गोर्खाली फौजको बहादुरीका प्रतीक खुकुरी भिरेका गोर्खा सैनिकका शालिक पनि देखिए त्यहाँ। गोर्खालीहरूले नै स्थापना गरेको निकै फराकिलो सुन्दर लक्ष्मीनारायण मन्दिर परिसर पनि रहेछ। दर्शनार्थीमा नेपालीहरूकै चहलपहल बढी थियो।

            भाइटीकाको अघिल्लो दिन हामी असम पुगेका हौं। त्यस दिन साँझदेखि राति अबेरसम्म हरेक घरका आँगनमा देउसे र भैलिनीहरूको चहलपहल देखियो। गुन्यूचोलो पटुकी मजेत्रोमा सजिएका बालिका, युवती अनि दौरा सुरुवाल पटुका इस्टकोट र टोपी लगाएका बालक र युवाहरू सबै सयपत्रीको माला भिरेर मादल र खैंजडीको तालमा देउसी भैलो खेल्दै नेपाली संस्कृतिलाई जीवन्तता दिइरहेका थिए। त्यताको देउसी भैलोमा विदेशी बाजाका कान छेड्ने ध्वनि सुन्न परेन। आफ्नै नेपाली मौलिक भाका र मौलिक बाजाले वातावरण गुञ्जायमान भैरहेको थियो।

            भाइटीकाको दिन संडकमा टीका थाप्न र टीका लगाइदिन ओहोरदोहोर गरिरहेकाहरूको लर्को देखिन्थ्यो। निधारमा सप्तरङ्गी इन्द्रेनी झल्काएर सयपत्री र गोदावरीका मालाले सजिएका दाजुभाइहरूको बेग्लै उमङ्गले तिहारको रमणीयतालाई उत्कर्षमा पुऱ्याएझै लाग्दथ्यो। असममा बसेकी बहिनीबाट दसकौं पछि तिहारको टीको लगाउन पाउँदा हर्षले अभिभूत भएँ म। बहिनीको हर्षातिरेक पनि अवर्णनीय थियो।

            तिहार बिदा भएपछि असमका विभिन्न स्थल घुमाउने योजना बनाए भाञ्जी सावित्री र भानिज माधवले। सोठियाबाट असमका प्रसिद्ध नेपाली साहित्यकार पद्म ढकाल भेट गर्न आउनु भो। असममा नेपाली जाति र नेपाली साहित्यको स्थितिबारे उहाँबाट निकै जानकारी पाइयो। परशुराम कुण्ड र कामाख्या माई असमका प्रसिद्ध तीर्थस्थल रहेछन्। परापूर्वकालदेखि नै नेपालबाट नेपालीहरू ती तीर्थस्थलको यात्रा निम्ति आउने गर्दथे। त्यस भेकको हरियो वन र उर्वर भूमिले कृषि र गोपालनमा रमाउने नेपालीलाई आकर्षित गर्नु स्वाभाविक नै थियो। तिनै तीर्थयात्री नेपालीमध्ये धेरैजसो असमकै वन जङ्गलतिर कतै गाइगोठ राखेर त कतै खेती किसानी गरेर बस्न थाले। नेपालीहरूको असममा बसोवासको इतिहास यसरी शुरु भएको मानिएको रहेछ। आहोम राजाको शासनकालमा नेपालीहरूले असममा बसोवास गरेको तथ्य असमका महापुरुष शङ्करदेवका कृतिबाट पनि पुष्टि हुने कुरा त्यहाँका विद्वानहरूबाट अवगत भयो। ई. सन् 1816 को सुगौली सन्धिपछि तत्कालीन बृटिश भारतीय आर्मीमा नेपालीहरूको भर्ती सुरु भएपछि नेपालीहरूको असम वास थपियो। सन् 1824 मा गोर्खा राइफल्सको गठनपछि विभिन्न लडाइँमा बहादुरी देखाउने गोर्खा सैनिकका परिवारलाई स्थायी रूपमा नै असमका विभिन्न ठाउँमा बसाउने क्रम तीव्र भयो। तिनै सैनिकका नातागोता इष्टमित्रहरू असम भूमिप्रति आकर्षित भए र नेपालबाट असम बसाइँ सराई व्यापक मात्रामा हुनथाल्यो। बर्मा, भूटान, सिक्किम तर्फबाट समेत नेपालीहरूको असम प्रवेश झाङ्गिएको स्वीकार्छन् त्यहाँका नेपाली जानकारहरू। असम राज्यका सबैजसो जिल्लाहरूमा नेपाली जातिको बसोवास रहेछ। शोणितपुर, तीनसुकिया, कार्बिआङलोङ, दरङ, कामरूप, नलबारी, गोलाघाट, कोक्राझार, लखिमपुर, धेमाजी, डिब्रुगढ, नगाउँ, नर्थ कछार हिल्स नेपालीहरूका बाक्लै बसोवास भएका जिल्ला रहेछन्। असमे, बङ्गाली, बोडो, हिन्दी, नेपाली भाषी जातिहरूको सम्मिश्रण रहेछ-असम राज्य। असमको विकासमा नेपाली जातिको योगदान त्यहाँका अन्य वासिन्दाको भन्दा कम रहेनछ। अझ कृषि र दुग्धका क्षेत्रमा त नेपालीले बगाएको पसिनाले समृद्ध बनाएको रहेछ असमलाई। धानको बाला  झुलेका पहेंलपुरे खेत, कलिला मुनाले झपक्क भएका चिया बगानका विस्तृत हरिया फाँट, ब्रह्मपुत्र किनारका उर्वर भूमिमा देखिने गाइ भैंसीका बाक्ला गोठ! यी सबै समृद्धि का पूर्वाधारहरूमा नेपाली जातिको पौरख र पसिना अलि बढी नै छरिएको प्रत्यक्ष अनुभव गऱ्यौं हामीले त्यहाँ।

            राजनीतिमा, शिक्षामा, प्रशासनिक क्षेत्रमा पनि नेपालीहरूले आफ्नो उपस्थिति टड्कारै देखाएका छन् असममा। राज्य विधान सभामा, केन्द्रको लोक सभामा चुनाव जितेर जनताको प्रतिनिधित्व गरिरहेका छन् कतिपय नेपाली। विद्यालय, विश्वविद्यालयहरूमा प्राध्यापक, विभागीय प्रमुखजस्ता महत्वपूर्ण पदमा रहेर आफ्नो दक्षता प्रमाणित गरिरहेका छन् नेपालीहरू। प्रशासनका उच्च पदमा पुगेर राष्ट्र, राज्य र जनताको कल्याणमा योगादन दिइरहेका नेपालीहरूले त्यहाँ आफ्नो जातिको शिर ठाडो पारिरहेका छन्। सेना र सुरक्षा निकायहरूमा कार्यरत नेपालीहरू त ती सङ्गठनका अभिन्न अङ्ग नै भए! यसरी असमको जनजीवनका प्रत्येक पक्षसँग समाहित भएर त्यहाँका मूल आदिवासीहरूसँग हार्दिक सम्बन्ध राखेर, आफ्नो जातीय गौरव उच्च राखेर त्यही भूमिलाई आफ्नो सर्वस्व ठानेर असमका सुयोग्य सन्तान भएर बसेका रहेछन् नेपालीहरू असम भूमिमा।

            हामी घुम्न गएका कति गाउँ ठाउँ त पूरा नेपालीमय नै थिए। चाँदमारी, नेपाली पट्टी, सरलपाडा, मार्घेरिटा, सिपोरिया, मारपाचे, लाबरघारी, बुडागाउँ, चारदुवार, गमिरी, लोकरा आदि घुम्दा हामी नेपालबाहिर छौ जस्तो पटक्कै लाग्दैन। यी त केही उदाहरण मात्र हुन्। असमका भित्री भागमा राई, लिम्बू, मगर, नेवार, बाहुन, क्षत्रीहरूको बसोवास भएका गाउँ प्रशस्त रहेछन्।

            असमको एउटा प्रमुख शहर शोणितपुर जिल्लाको केन्द्र तेजपुर घुम्न ज्वाइँ अनन्त भट्टराई, बहिनी लक्ष्मी, भानिज माधवसँगै 13 नोभेम्बरमा हामी पतिपत्नी र छोरा प्रतीक गयौं। महाभैरव मन्दिर, गणेशघाटजस्ता देवस्थलको दर्शन र ब्रह्मपुत्र महानदलाई नजिकबाट हेऱ्यौं हामीले। तेजपुरको कोलपार्क, चोकबजार, पुबेरन बजार आदिलाई पनि केहीबेर नियाल्यौं। शहर बजारका घर यहाँ ठूलाठूला बनाउने चलन रहेन छ। धेरजसो दुई तले घर नै देखिए। फाट्टफुट्ट मात्र बढी तला भएका घर देखिए। ती सरकारी भवन, अस्पताल अथवा व्यापारिक-शैक्षिक प्रतिष्ठान थिए।

            असम पुगेपछि त्यहाँको राजधानी गुवाहाटी र प्रसिद्ध शक्तिपीठ कामरूप कामाख्या जानै पर्थ्यो। अन्यथा हाम्रो यात्राले पूर्णता पाउँदैनथ्यो। त्यसैले गुवाहाटीको बाटो लाग्यौं 14 नोभेम्बर 2010 को दिन बिहान सबेरै। लोकराबाट गुवाहाटी करीब 5 घण्टाको बाटो रहेछ गाडीमा। बहिनी लक्ष्मी र भाञ्जी सावित्रीसँग गयौं हामी। भान्जी फरासिली, असमे भाषा बोल्न दक्ष, स्थानीय विद्यालयकी शिक्षिका भएकीले हामीलाई पथ प्रदर्शन गराउन सक्षम थिइन्। प्रायः उनकै कारमा घुम्यौं हामी। गुवाहाटी पुगेर त्यस दिन वशिष्ट आश्रम र बालाजी मन्दिर दर्शन गऱ्यौं। तिरुपति बालाजीकै प्रतिकृतिमा बनाइएको रहेछ यो मन्दिर। तिरुपतिचाहिं पहाड माथि छ भने यहाँको बालाजी मन्दिर समथर मैदानमा बनाइएको रहेछ। मूर्ति र मन्दिर उही तिरुपतिकै शैलीका। उतैको जस्तो विशाल गोपुरम् (मन्दिरद्वार) पनि।

            दिउँसो तीन बजे हामी कामाक्षा मन्दिर पुग्यौं। हाम्रो स्वयम्भू जस्तै तर अलि ठूलो फराकिलो पहाडको थुम्कोमा रहेछ कामाक्षा मन्दिर। बिहानको पूजापछि दिउँसो 3 बजे मन्दिरको ढोका खुल्दो रहेछ। हामी ठीक समयमा पुगेछौं। सामान्य दर्शनार्थीकै पंक्तिमा मिसियौं र आधा घण्टापछि नै दर्शन गर्न पायौं। हाम्रो गुह्येश्वरीजस्तै; तर अलि गहिरो खाल्डोमा-केही सिंढी तल झरेपछि देवीको प्रस्तर पीठको दर्शन पाइँदोरहेछ। पीठको बाहिरी भागमा बिजुलीको उज्यालो थियो। तर भित्र मुख्य ठाउँचाहिं अँध्यारो, केवल दियाका बत्तीहरू मात्र बलेको थियो। देवीको पीठ मुन्तिरबाट कलकल जल बगिरहँदो रहेछ। त्यो जललाई हातले स्पर्श गर्दै शिरमा शेचन गर्नुपर्ने परम्परा रहेछ। हामीले त्यसै गऱ्यौं। मन्दिरभित्र, मुख्य पीठमा पुग्नुभन्दा पहिले देवीदेवताका मूर्तिहरूका अगाडि बिस्कुन फिंजाएजस्तै सय-पाँचसय, हजारका नोटहरू फिंजाएर बसेका हुँदारहेछन् पण्डाहरू। दर्शनार्थीलाई देवीको मुख्य मूर्ति यही हो र भेटी यहीं चढाउनुपर्छ भन्ने भ्रम पार्दारहेछन् ती पण्डाहरू। विशेष पाठ, पूजा लगाउनुपर्छ भन्दै पण्डाहरू हाम्रा कान फुक्तै थिए। बहिनी र भान्जीबाट यस्ता कुरामा ध्यान नदिन पहिल्यै सतर्क गराइएकाले हामी ती पण्डाको प्रभावमा परेनौं र तल गुफामा रहेको देवीको मुख्य पीठमा नै दर्शनपूजा गऱ्यौं। त्यसदिन बिहानैदेखि हामी भोकै थियों। तर भोकको अनुभव कत्ति पनि भएन। हिन्दू मात्रको एउटा मुख्य शक्तिपीठ जसको सम्बन्ध आफ्नो राष्ट्र नेपालसँग पनि गाँसिएको छ; त्यहाँ पुगेर शान्तिपूर्वक पूजाआराधना गर्न पाउँदा अपार आध्यात्मिक आनन्द अनुभूति भइरहेथ्यो।

            दर्शन सकेर बाहिर निस्क्यौं हामी। पीठको दर्शन नगरी केही नखाने चाहानाले बिहानैदेखि भोकै थियौं। अबचाहिं केही खानुपर्छ भन्ने मनमा लाग्दै थियो। यत्तिकैमा देख्यौं-मन्दिरको पेटीमा बसेका दुईतीनजना ठूलाठूला पेडाले भरिएका टोकरी अगाडि राखेर; दर्शन गरेर फर्कने प्रत्येक व्यक्तिलाई पेडा बाँडिरहेका थिए। हामी सबैले पनि दुई दुई ओटा पेडा पायौं। मन्दिरकै पेटीमा बसेर खायौं। शुद्ध खुवाका ज्यादै स्वादिष्ट पेडा थिए ती। दुइटै पेडाले डम्म अघाइयो। पानी पियौं; अब केही खाने आवश्यकता परेन!

            गुवाहाटी पुगेर त्यहाँका नेपाली साहित्यकारहरूसँग भेट गर्नु मेरो अर्को उद्देश्य थियो। असम पुग्ने बित्तिकै नेपाली साहित्य परिषद्का अध्यक्ष नवसापकोटालाई फोन गरेर आफू गुवाहाटी आउँन र उहाँहरूसँग भेट गर्न इच्छुक रहेको भनेको थिएँ। सापकोटाजीले सहर्ष आमन्त्रण दिनुभएको थियो। कामाक्षा मन्दिरबाट निस्कँदा साँझको 5 बजिसकेको थियो। मैले नवसापकोटाजीलाई फोन गरें र आफू गुवाहाटी आइपुगेको सूचित गरें। हाम्रा सवारी चालकलाई उहाँले हामी पुग्नुपर्ने ठाउँको जानकारी दिंदै त्यहाँ लिन मान्छे पठाउने कुरा भन्नुभयो। उहाँले भनेको ठाउँमा पुग्दा झमक्क साँझ परिसकेको थियो। हामीलाई लिन एकजना भाइ मोटर साइकलमा आएका रहेछन्। उनकै पछिपछि हाम्रो वाहन गुड्यो। उकालोउकालो पहाडी पथतिर जाँदै थियौं हामी। केही पर देख्यौं झलमल्ल ट्यूबलाइट बलेको उज्यालो छ। रङ्गी बिरङ्गी बल्ब धिपधिप गरेर जग्मगाइ रहेका छन्। पण्डाल बनाइएको छ। तूल टाँगिएको स्वागत द्वार छ। नजिकै पुगेपछि देख्यौं एउटा स्मारकमा ठडिएको शालिक छ, धेरै व्यक्तिहरूको जमघट छ। हाम्रो अगाडि कुदिरहेको मोटर साइकल टक्क अडियो। हाम्रो वाहन पनि रोकियो। हामी गाडीबाट ओर्लियौं। मृदु मुस्कान छर्दै अगाडि बड्नुभएका श्रष्टा नवसापकोटाको अनुहार देखें। उहाँले डोऱ्याउँदै सभास्थलमा लगेर बसाउनुभयो। हाम्रा सहयात्री सबैलाई त्यहीं ल्याएर राखियो। हामी नवसापकोटासहितका श्रष्टाहरूसँग भेटेर होटलमा बस्न जाने तारतम्य मिलाएर आएका थियौं। भान्जी सावित्रीले होटल बन्दोबस्त पनि गरिसकेकी थिइन्। सापकोटाजीले भान्जीलाई बोलएर हाम्रा सामान गाडीबाट झिक्न लगाएर कतै पठाउन लाग्नुभएको देखें। भान्जी आएपछि यसबारे सोधें। सापकोटाजीले आफ्नै घरमा हाम्रा सामान पठाउनुभएको रहेछ। हामी होटल बस्न जाने कुरा खारेज गराएर आफ्नै पाहुना बनाउने हुनुभएछ सापकोटा दम्पतीले!

            उद्घोषकले माइकमा घोषणा गरेको सुनियो – हाम्रा प्रमुख अतिथिको आगमन भैसकेको छ र अब सभा शुरु हुन्छ! सभाध्यक्षता युवराज गडतौलाजीले गरेपछि उद्घोषकले भने ‘हाम्रो सौभाग्यले नेपालबाट यस अवसरलाई स्मरणीय गराउन आइपुग्नु भएको छ प्रसिद्ध साहित्यिक पत्रिका ‘रचना’का प्रधान सम्पादक, नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष रोचक घिमिरे; उहाँलाई प्रमुख अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु।’ मेरा निम्ति यो अप्रत्यासित कुरा थियो। यस्तो अकल्पनीय अवसर यस सुदूर क्षेत्रमा कसरी जुट्न गएको हो! रनभुल्ल परे म। यो कात्तिक 27 गतेको दिन रहेछ। गतेका हिसावले महाकवि देवकोटाको जन्मदिन। देवकोटा जयन्ती आयोजन गरिएको रहेछ त्यहाँ त्यस ठाउँको नाउँ नै देवकोटानगर रहेछ। महाकविको भव्य अर्धकदको प्रस्तर मूर्ति स्थापित रहेछ त्यहाँ। नव सापकोटाजीले म पुगेको सूचना पाएपछि आयोजकहरूसँग सल्लाह गरी निर्धारित कार्यक्रमलाई केही तन्काएर मेरो आगमनसम्म सहभागीहरूलाई पर्खाउनुभएको रहेछ। त्यहाँका श्रष्टाहरूले यसरी प्रमुख आतिथ्यको अवसर दिएर वास्तवमा म प्रति स्नेहसिक्त उदारता देखाउनु भएको बुझें मैले। महाकविको जन्मभूमिबाट निकै टाढा यस सुदूर प्रान्तमा महाकविकै जन्म दिनमा आइपुगेछु। आफूले अत्यधिक श्रद्धा गरेका, नेपाली वाङ्मयका शिखर श्रष्टा, आफ्ना पिताका परम मित्र अनि पारम्स्परिक पारिवारिक निकटता भएका ती श्रद्धेय व्यक्तित्वको जन्म जयन्तीलाई प्रमुख आतिथ्यको यस्तो अप्रत्यासित सुखद संयोग जुर्नुलाई आफूप्रति महाकविकै ठूलो अनुकम्पा ठानें मैले। प्रमुख आतिथिको परिचय उद्घोषक दुर्गा खतिवडाले दिनुभयो। महाकविको प्रतिमा अगाडि दीप प्रज्वलन पुष्पधर शर्मा (उदालगुडी) ले गर्नुभयो। महाकविको प्रतिमामा माल्यर्पण गर्न मलाई लगाइयो। प्रत्येक वर्ष देवकोटा जयन्तीका कार्यक्रम छुटाएको थिएन। यस पटक विदेश आइएकोले छुट्यो भन्ने न्यास्रो मनमा थियो। तर यहाँ यसरी ती महान श्रष्टालाई श्रद्धा अर्चन गर्ने अकल्पनीय संयोग जुरेकोमा मनभित्रको खुशी थामिनसक्नु भएको थियो। महाकविको प्रतिमामा माल्यार्पणपछि प्रमुख अतिथिलाई सम्बर्धना गरिने उद्घोष भयो। हाम्रोतिर गरिने अभिनन्दनलाई त्यहाँ सम्बर्धना भनिंदो रहेछ। माला लगाएर असमीया गम्छा ओढाउँदै पुस्तकलगायतका विभिन्न वस्तुहरू उपहार दिंदै प्रमुख अतिथिलाई अभ्यर्थना गरियो। त्यसपछि विभिन्न वक्तव्य र तथा मन्तव्य र कविता पाठ भए। आफूले मन्तव्य दिंदा अवसर अनुकूल आफूले देखेका महाकवि प्रतिका आफ्ना संस्मरण, महाकविको जीवनशैली, आफ्ना पिता सोमनाथ घिमिरे व्यास र महाकविको मित्रता, नेपाली भाषा साहित्यको उन्नतिमा महाकविले दिनुभएको अपूर्व अद्भुत योगादन आदिबारे चर्चा गरें। अन्त्यमा मैले भनें-आज यसरी नेपालबाट यति टाढा, सम्पूर्ण नेपाली जातिका गौरव महाकविको जन्मजयन्ती समारोहमा प्रमुख आतिथ्य गर्ने अवसर पाउनु मेरो ठूलो सौभाग्य हो। यसनिम्ति म श्री नवसापकोटासहित सम्पूर्ण आयोजक वर्गप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु!

            मेरो मन्तव्यपछि बोल्ने सबै जसो वक्ताले यो घिमिरेजीको सौभाग्य होइन; हाम्रो सौभाग्य हो। महाकविलाई नजीकबाट देख्ने, चिन्ने, महाकवि परिवारसँग हार्दिक निकटता भएका व्यक्तिलाई यस अवसरमा हामीले आफूसँग पाउनु हाम्रो पो सौभाग्य हो। महाकविले नै आज अप्रत्याशित रूपले तपाईलाई यहाँ उपस्थित गराइदिनुभएको हो भन्ने खालका मन्तव्य दिनुभयो। नवसापकोटा, दुर्गा खतिवडा, कालिदास थपलिया, पुष्पधर शर्मालगायतका व्यक्तिहरूले बोल्नुभएको थियो। मैले नेपाली साहित्य परिषद् असमका निम्ति अध्यक्ष नव सापकोटाजीलाई केही पुस्तक-पत्रिका उपहार दिएँ। ‘रचना’को महाकवि देवकोटा विशेषाङ्क, जगदीश घिमिरेको चर्चित पुस्तक ‘अन्तर्मनको यात्रा’ आफ्नो पुस्तक ‘सम्झनामा फक्रिएका थुँगा’ जस्ता प्रकाशन थिए ती। महाकविको स्मारकलाई अझ सम्पूर्णता दिन देवकोटा पुस्तकालय खोल्ने र त्यसमा उहाँ सम्बन्धित र उहाँका समग्र पुस्तकहरू राख्ने आफूहरूले योजना बनाएको तर नेपालका प्रकाशन पाउन नसकेको, नेपालबाट आउने अतिथिहरूले आश्वासन मात्र दिने तर त्यस्ता आश्वासन यथार्थमा परिणत हुन नसकेका आदि कटु यथार्थ केही वक्ताले व्यक्त गर्नुभयो। उहाँहरूलाई आश्वस्त पार्दै संस्थाको तर्फबाट नेपालका केही प्रमुख प्रकाशन संस्थालाई पुस्तक सहयोग निम्ति आधिकारिक पत्र लेखेर मलाई दिनुभए आफूले प्रयास गर्ने तर ती पुस्तक काठमाडौंमा जिम्मा लिने; यता ल्याउने व्यवस्था आफैले मिलाउनुपर्ने कुरा भनें। पहिलेदेखि बिच्केकोले होला तर मेरो प्रस्तावलाई गम्भीरतासँग लिनुभएन उहाँहरूले।

            कार्यक्रम सम्पन्न भएपछि नवसापकोटाले हामीलाई त्यहीं नजिकै रहेको आफ्नो निवास कविता निकेतन लैजानुभयो। अरु सहभागीको लर्को पनि त्यतै लाग्यो। सापकोटाजीको सुन्दर घरको ठूलो बैठक कोठामा खाजा गोष्ठी चल्यो। नेपाल र असमको वर्तमान नेपाली साहित्यको स्वरूपप्रवृत्ति र विकासबारे पारस्परिक विचार आदानप्रदान गर्यौं हामीले। नेपालबाट प्रकाशित नेपाली पुस्तक पत्रिका यता नआउने र यता भारतबाट प्रकाशित नेपाली पुस्तकपत्रिका नेपालमा सुलभ नहुने समस्या गम्भीर रूपमा उठ्यो। दुवै तर्फका साहित्यकार र साहित्यिक पाठक एकअर्काका सृजनाबारे यसरी अनभिज्ञ रहनु पर्ने स्थितिलाई निराकरण गर्नेतर्फ सशक्त प्रयत्न गरिनु पर्ने कुरा चल्यो। भारत र नेपाल दुइ देशका सरकारले यतातिर गम्भीर चासो नलिएबाट यो समस्या यथावत् रहेको धारणा मैले राखें। भारतबाट हिन्दी र अङ्ग्रेजी भाषाका पुस्तक पत्रिका नेपालमा निर्बाध रूपले जान्छन्। तर भारतका नेपाली भाषाका पुस्तक पत्रपत्रिका नेपालमा पढ्न पाइँदैन्। यस्तै नेपालमा छापिएका पुस्तक पत्र-पत्रिकाले भारततर्फ प्रवेश पाउँदैनन्। बी.पी.कोइराला भारत नेपाल प्रतिष्ठानद्वारा आयोजित प्रत्येक पटकका भारतनेपालनेपाली लेखक सम्मेलनका अवसरमा दुवै राष्ट्रका सहभागीले यो समस्या निराकरण गर्नुपर्ने माग सशक्त रूपले उठाउँद आएका छन्। दुवै राष्ट्रका राजदूत र उच्च पद्धाधिकारीले आफ्आफ्ना सरकारसमक्ष यो कुरा पुऱ्याएर समस्या निराकरण गर्ने आश्वासन पनि प्रत्येक सम्मेलनमा दिएका छन्। तर पाँचौं सम्मेलन भैसक्दा पनि समस्यायथावत् छ। असमबाट नेपाल फर्केपछि भारतीय नेपाली लेखकपाठकहरूबाट उठाइएका यी विचारबारे विभिन्न मञ्चमा मैले चर्चा गरें। साझा प्रकाशन, नेपाल प्रज्ञा प्रतिष्ठान, रत्न पुस्तक भण्डार, भृकुटी प्रकाशन आदि संस्थाका पदाधिकारीहरूसमक्ष पनि कुरा उठाएँ। विभिन्न कार्यक्रममा एउटै मञ्चमा बस्ने अवसर पाएका बेला प्रधानमन्त्री र सञ्चारमन्त्रीजीहरूलाई पनि यो समस्या निराकरण गरिदिन अनुरोध गरें। तर अहिलेसम्म यी प्रयत्नहरू निष्फल नै भैरहेछन्। नेपालका केही प्रमुख प्रकाशन संस्थाहरूले चाहिं यसमा राम्रै चासो देखाएका छन् र सम्बन्धित क्षेत्रलाई घचघच्याउन थालेका छन्। हेरौं तिनका प्रयत्नले केही परिणाम ल्याउला कि?

            गुवाहाटीको देवकोटा जयन्ती र नवसापकोटाजीको घरको कोठे गोष्ठीमा उठेका उपर्युक्त समस्यालाई आफूले गम्भीरतापूर्वक लिएको र यसबारे नेपाल पुगेर निराकरण निम्ति सक्दो प्रयत्न गर्ने धारणा त्यहाँ व्यक्त गरेको थिएँ। त्यस सन्दर्भबारे भएका पछिल्ला गतिविधि अवगत गराउनु सान्दर्भिक लागेर केही शब्द यहाँ खर्चिएको हुँ। गुवाहाटीमा नवसापकोटाजीको हार्दिकतापूर्ण अतिथ्यका दुइ दिन हाम्रा निम्ति अविस्मरणीय रहे। नवसापकोटा-मुन्नी सापकोटा दम्पदी र उहाँका छोरा-बुहारीका सद्भावयुक्त व्यवहारबाट यस परिवारको भद्रता र शिष्टताको सुखद आकलन गर्न पायौं हामीले।

            गुवाहाटीको दोस्रो दिन बिहान सबेरै देवकोटा नगर, बडागाउँको पहाडी थुम्कोमा रहेको वैष्णोदेवी मन्दिर दर्शनार्थ उकालो लाग्यौं हामी। जम्मूमा रहेको प्रसिद्ध वैष्णो देवी मन्दिरकै यथार्थ झल्को दिने गरी बनेको रहेछ यो प्रतिकृति! वैष्णो देवीको दर्शन सकेर ओर्लदै थियौं। बाटो छेउमै उभिएकी करीब सत्तरी वर्ष जतिकी बुढी आमैले हामीतिर फर्केर भनिन् – आफ्नै मान्छेजस्ता लागेर भेट्न पर्खिएकी तपाईहरूलाई! ती आमै शुद्ध नेपाली वेश भूषामा थिइन्। गुन्यू चोलो, खास्टो, रातो धागोले बाटेको चुल्ठो, सिउँदोमा सिन्दूर, निधारमा खोटाले टाँसेको रातो टीका लगाएर उभिएकी थिइन् उनी। नेपालतिरकै कुनै पहाडी गाउँबाट कामाक्षा दर्शन गर्न भर्खरै आएकी होलिन यी आमै! भन्ने लाग्यो र सोधें-आमै! तपार्इंको घर कहाँ, माइती कहाँ? उनले भनिन् – मेरो घर यहीं हो! माइती पनि असम नै हो! म जन्मिएकी पनि यहीं! अब मर्ने पनि यहीं! नेपालै नदेखेकी यहीं जन्मेकी यहीं हुर्केकी यी मामैले नेपाली संस्कृतिलाई यस थलोमा कसरी आत्मसात् गरेकी छन्! असममा नेपालीहरूले आफ्नोपन, आफ्नो पहिचानलाई कसरी जोगाएर राखेका छन् यो एउटा जीवन्त उदाहरण देख्यौं हामीले! ठाउँठाउँमा यस्ता खालका दृश्य अरु पनि देख्यौं। अचेल सिनेमा र टेलिभिजनले भित्र्याएको उत्ताउलोपनको दुष्प्रभावले युवा पुस्ता आफ्नो पनबाट विस्तार विमुख हुँदै जाँदैछ भन्ने चिन्ता पाका असमे नेपाली अभिभावकहरूमा पाइन्थ्यो।

            वैष्णोदेवीको दर्शनपछि बिहानको चिया खाजा खाएर नवसापकोटा परिवारबाट बिदा भयौं हामी। अघिल्लो दिन बेलुका मनाइएको देवकोटा जयन्ती स्थल र महाकविको प्रतिमालाई धीत मारेर हेर्यौं। बडागाउँ नेपाली विद्यालय पनि त्यहीं रहेछ। मुन्नीसापकोटा त्यहीं प्रधानाध्यापिका हुनुहुँदो रहेछ। देवकोटा नगर पोष्ट अफिस हेर्यौं। यस भारतीय माटोमा हाम्रा महाकवि त्यहींका गौरव बनेर त्यहाँका नेपालीहरूका आस्थाका आधार भएर आफ्नै नामको नगरमा यसरी पूजित भएर रहेका छन्। यी कुरा मनमा खेल्दा नेपाली हुनुको गर्वले छाती फराकिलो भएको अनुभूतिमा रमाए म! महाकविको प्रतिमालाई प्रमाण गर्दै देवकोटा नगरबाट बिदा भयौं हामी। अबको हाम्रो गन्तव्य थियो – उमानन्द मन्दिर। गुवाहाटी नजिकै महानद ब्रह्मपुत्रको बीचमा रहेको एउटा सानो टापूमाथि रहेको महादेवको मन्दिर रहेछ उमानन्द। ठूलै आकारको एउटा स्टीमर रिजर्भ गरेर ब्रह्मपुत्रको अनन्त गहिरो जलको छातीलाई छचल्काउँदै उमानन्दतिर कुद्यो हाम्रो स्टीमर! ब्रह्मपुत्रलाई नजीकबाट चिन्ने, छुने र जल सेचन गर्ने मौका त्यही बेला छोप्यौं हामीले। शहरी कोलाहलबाट टाढा उमानन्दको त्यो टापू मनोरम, आनन्ददायी र शान्तियुक्त स्थल रहेछ। उमानन्दसहित अरु केही मन्दिरको दर्शन-अवलोकन गऱ्यौ। उमानन्दमा भेटी चढाएका नेपाली नोट देखाउँदै हामीलाई नेपाली ठानेर पुजारीले साटिदिन आग्रह गरे। भारतीय रुपियाँमा केही नेपाली नोट साटिदिएँ मैले। प्रसन्न भए वृद्ध पुजारी! यसपछि फेरि स्टीमरमा सवार भएर किनारातर्फ आयौं। अब पल्टनबजार तर्फ गुड्यो हाम्रो गाडी, त्यहाँ गोर्खा सैनिकहरूले भारत स्वतन्त्र हुनुभन्दा अघि बनाएको मन्दिर गुवाहाटीको बीच बजारको महत्वपूर्ण व्यस्त ठाउँमा रहेछ। नेपाली मन्दिर नाउँले प्रख्यात रहेछ राधाकृष्णको त्यो मन्दिर। त्यहाँ वरिपरि नेपालीहरूका ठूलाठूला व्यापारिक भवन पनि रहेछन्। राधाकृष्ण मन्दिरकै हातामा नेपाली पुस्तक पत्रिकाको पसल र सोल्टी स्वीट्स नामको मिठाइ पसल पनि देख्यौं। त्यहीं गोर्खा हाइस्कूल पनि रहेछ। नेपाली पुर्खाहरूद्वारा स्थापित गौरवपूर्ण स्मारक रहेछ गुवाहाटीका पल्टन बजार, नेपाली मन्दिर र गोर्खा हाइस्कूलहरू! नजिकैको फेन्सी बजारमा केही किनमेल गरेपछि हाम्रो गुवाहाटी यात्रा टुङ्गियो। गुवाहाटीबाट विदा भएर हामी मङ्गलदोई, मिशन चारआली, बालीपाडा हुँदै साँझ छिप्पिएपछि लोकरा पुग्यौं र फेरि बहिनी लक्ष्मीकहाँ नै बस्यौं।

            असममा सबभन्दा बढी नेपाली जनसङ्ख्या भएको जिल्ला शोणितपुर रहेछ। त्यस जिल्लाका विभिन्न शहर, गाउँ जताततै नेपालीहरूको निकै बाक्लो बसोवास रहेछ। भारतीय स्वाधीनता सङ्ग्राममा अग्रणी भूमिका खेल्ने, समाज सेवा र विकासका काममा अग्र पंक्तिमा उभिने, राजनीतिमा लागेर सांसद, विधायक, मन्त्री बन्न सफल हुने, नेपाली भाषा र साहित्यलाई समृद्ध पार्न समर्पित हुने, शिक्षा क्षेत्रमा गहकिलो योगदान दिने, सैनिक सेवामा लागेर शौर्य र पराक्रममा आफ्नो जातिको ख्याति चम्काउने नेपालीहरूको बाहुल्य पनि यसै शोणितपुर जिल्लामा रहेछ। जिल्लाको सदरमुकाम तेजपुर सहरका दुई प्रमुख बस्ती चाँदमारी र नेपाली पट्टी त पूरा नेपालीमय नै रहेछन्। त्यहाँका आदि वासिन्दा नै रहेछन् नेपालीहरू! वर्तमान तेजपुरलाई विकास समृद्धिको स्वरूप दिन नेपाली जातिको योगदान अरुको भन्दा बढी नै रहेछ। यस्तो महत्वपूर्ण स्थल तेजपुरका नेपाली श्रष्टाहरू र बौद्धिकहरूसँग अन्तरकृया गर्ने मेरो चाहना पूरा गराउन अघि सर्नुभो-प्रसाद सिंह सुब्बा चिन्तन मञ्च, चाँदमारीका सचिव दीननाथ निरौलाजी। उहाँले आफ्नै निवास चाँदमारीमा 15 नोभेम्बरका दिन भेटघाट र अन्तरकृया कार्यक्रम आयोजना गरिएको सूचना दिनुभएको थियो। त्यस दिन निर्धारित समयमा हामी निरौलाजीको निवास पुग्यौं।

            असमे नेपाली साहित्य र समाजका सुविख्यात व्यक्तित्वहरूको उपस्थिति रहेछ त्यहाँ। दुर्गाप्रसाद घिमिरे, जयनारायण लुइँटेल, अमरनाथ उपाध्याय, ज्ञानबहादुर क्षत्री, माधव भट्टराई, खड्ग बहादुर कौशिक, खेमानन्द मिश्रलगायतका व्यक्तिहरू हुनुहुन्थ्यो। दीननाथ निरौलाजीले आयोजनको उद्देश्य अवगत गराउँदै गोष्ठीलाई औपचारिकता दिन स्थानीय वयोवृद्ध बौद्धिक व्यक्तित्व अमरनाथ उपाध्याय भट्टराईज्यूलाई समाध्यक्षको आसन ग्रहण गराउनु भयो। मेरो परिचयमा केही शब्द खर्चिएपछि उही गुवाहाटीमा गरिएजस्तै सम्बर्धनाको क्रम यहाँ पनि भयो। श्रीमती सुस्मिता, छोरा प्रतीक र भानिज माधवसहित त्यहाँ पुगेको थिएँ म। नेपालबाट पाहुना हामी सबैले हार्दिक सम्वर्धना उहाँहरूबाट पायौं।

            मन्तव्यका क्रममा काठमाडौंले दार्जीलिङ, शिलाङ र गुवाहाटीका एक दुई नेपाली साहित्यकारलाई मात्र माया गरेझैं लाग्छ, असमको नेपाली बहुल यस विस्तृत भूभागका श्रष्टाहरू काठमाडौंका दृष्टिमा सधैं ओझेल परेका छन्। यता आउने नेपालका अतिथिहरूलाई हामीले बारम्बार यो कुरा अवगत गराएका हौं। यस्तो विभेद हटाउन प्रयत्न गरिने आश्वासन हामीले पाएका पनि हौं, तर परिणाम शून्य नै रह्रो … आदि कुरा भन्नुभयो वक्ताहरूले। गुवाहाटीकै जस्तो दुवैतिरका पुस्तक पत्रिका आदानप्रदान नहुने र पढ्न नपाइने पीडा यहाँ पनि दोहोरियो। मैले उहाँहरूसमक्ष प्रस्ताव राख्तै भने-तपाईहरू सहयोग गर्नुहुन्छ भने म ‘रचना’को एउटा अङ्क ‘असमे नेपाली साहित्य विशेष अङ्क’का रूपमा निकाल्न चाहन्छु। सामग्री चयन-सम्पादनलगायतका काम तपाईहरूले नै जिम्मा लिनुपर्दछ। यी कुरा स्वीकार्य भए यही उपस्थितिबाट त्यस कार्यका निम्ति कोही योग्य श्रष्टालाई संपादक संयोजकको जिम्मेदारी तोक्ने काम गरेर आजैदेखि यो काम आरम्भ गरौं। म आफ्नो वचन पूरा गर्नेछु। यो काम हुनसके असमको यस विस्तृत भूभागका नेपाली श्रष्टा, साहित्य र समाजसँग परिचयको सार्थक अवसर हामी दुवैतर्फकाले पाउने छौं।

            उहाँहरूलाई मेरो प्रस्ताव सकारात्मक लागेछ र तत्कालै ‘रचना’को त्यस विशेषाङ्कका निम्ति प्राध्यापक दुर्गाप्रसाद घिमिरेलाई संयोजक-अतिथि सम्पादकका निम्ति त्यस भेलाले चयन गऱ्यो। यो काम नेपाल र असमका नेपाली भाषीहरूका निम्ति उपलब्धिमूलक ठहरिने विश्वास मैले व्यक्त गरें। पारस्परिक विचार सम्प्रेषण पछि उपहारका रूपमा हामीले पुस्तक पत्रपत्रिका आदि आदानप्रदान पनि गऱ्यौं। सौहार्द्धतापूर्ण हार्दिक न्यानोपन मनभरि लिएर तेजपुरचाँदमारीको त्यस भेलाबाट विदा भयौं हामी।

            अर्कोदिन भान्जी सावित्रीले उनको घर सोठिया लगिन्। भान्जीका ससुरा आदरणीय साहित्यकार पद्म ढकालजी हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो। ज्वाइँ साहेब राजु ढकाल र उहाँका दिदीहरूको पनि उपस्थिति थियो त्यहाँ। चियाखाजा खाँदै केहीवेर बसेर ज्वाइँ अनन्त, भाञ्जी सावित्री, हामी दम्पती र छोरा प्रतीक विश्वनाथ चारालीतर्फ प्रस्तान गऱ्यौं। सवारी चलाउने स्थानीय असमे युवा पापू थिए। ब्रह्मपुत्रको किनारमा अहोम राज्यका शासकले स्थापना गरेको विश्वनाथ मन्दिरमा दर्शनार्थीहरूको घुइँचो थियो। तीर्थस्थल मात्र नभएर रमणीय पर्यटन स्थलका रूपमा पनि विकास गरिंदै रहेछ विश्वनाथ चारआलीलाई। त्यस भेकको एउटा प्रमुख बजार पनि रहेछ विश्वनाथ चारआली। त्यहाँ स्थापित लक्ष्मीनारायण मन्दिर पनि दर्शन गऱ्यौं। स्थानीय नेपाली वैष्णव पुजारी थिए मन्दिरमा। दुई घण्टा जति विश्वनाथ चारआली र वरपर बिताएर लोकरातिर फर्कियौं हामी। लाबरघारी भट्टराई राइस मिल (बहिनीज्वाइँको निवास) आइपुग्दा झमक्क साँझ परिसकेको थियो।

            हामी आफ्नो प्रथम असम यात्राको अन्तिम क्षणतर्फ आइसकेका थियौं। तेजपुरमा पहिल्यै 18 नोभेम्बरका निम्ति पूजा ट्राभल्सको रात्रि बसको टिकट बुक गरिसकेका थियौं। असममा केहीदिन बहिनीको परिवारसँगको रमाइलो सान्निध्य अविस्मरणीय रह्रो। ज्वाइँ अनन्त, बहिनी लक्ष्मी, भाञ्जी सावित्री, भानिस माधव, भाञ्जे बुहारी मेनुकाहरू हामीलाई सजिलै विदा दिने पक्षमा थिएनन्। उता नेपालमा कति काम थाती राखेर आइएको थियो। अब फर्कनै पर्थ्यो हामीले। फेरि अर्को पटक आउने भन्दै विदा भयौं।

            असमका नेपाली श्रष्टाहरूसँगको परिचय र अन्तरकृया निकै उपलब्धिमूलक भयो। असममा आफ्नो भाषा र संस्कृति जोगाउन निकै कठिन सङ्घर्ष गर्नुपरेको; बहिरागतको अत्तो थापी नेपाली जातिलाई विभेदका दृष्टिले हेर्ने मात्र होइन, विस्थापित नै गर्ने अनर्थकारी अभियान चलाउन थालिएको जस्तो सकस बेहोर्ने वाध्यतामा छटपटाइरहेको छ त्यहाँको नेपाली समाज। एउटै जाति र एउटै भाषालाई कसैले नेपाली भन्ने कसैले गोर्खाली भनाउन बाध्य पार्नेजस्ता कचिङ्गल चलेको देखियो। अझ कतिपय नेपाली अगुवाहरू त आफ्नो मातृभाषा नै असमी लेखाउने अस्वस्थ अभियानमा लागेका कुरासमेत स्थानीय नेपाली पत्रपत्रिकामा पढ्न पाइयो। विद्वेष, घृणा र आतङ्कको कहालीमा निसासिंदै, बम र बन्दुकका छर्राबाट ज्यान जोगाउँदै आफ्नो भाषा, संस्कृति, साहित्य जोगाउने जिम्मेदारी कठिनतापूर्वक निर्वाह गरिरहेका छन् असमका नेपाली श्रष्टा, बौद्धिक र समाजका अगुवाहरू। असमे आदिवासी स्थानीयहरूसँग हार्दिक सम्बन्ध राख्तै, पारस्परिक निकटता कायम गर्दै, आफू जन्मे हुर्के बढेको राष्ट्र र राज्यको सेवामा समर्पित हुँदै जातित्वको गौरव बढाउन दत्तचित्त असम राज्यका नेपालीहरूको कर्तव्य निष्ठालाई हार्दिक अभिवादन गर्नैपर्छ हामीले। असमबाट सिलगढीतर्फ फर्कंदै गर्दा बसको झ्यालबाट देखिएका नेपाली अनुहार र नेपाली वस्तीहरूतर्फ हेर्दा यिनै भावना रुमल्लिएका थिए मेरो मनमा। पारस्परिक भाषिक-साहित्यक सद्भाव कायम गर्न यस यात्राले सानो सिन्कोसम्म भाँच्ने काम गर्न सक्यो भने आफूलाई सफल ठान्नेछु म! जय कामाक्षा! जय असमे नेपाली समाज र साहित्य!

            15 वैशाख 2068

गहनापोखरी, टङ्गाल, काठमाडौं

साभार रचना

असामको कथा

► गायत्रीकुमार चापागाईं

            गुवाहाटीस्थित नेपाली मन्दिर रहेको पल्टनबजारबाट दुईटा सवारी साधन बदल्दै पुगिएको छ – मालीगाउँ। यहाँ आइपुगेपछि मात्र मेरो मानस-पटमा रहेको असामको भू-आकृतिसँग मेल खाने भूमिचित्र देखेदेखेजस्तो लाग्छ। बचेबचेको जङ्गल, ढुङ्गे चट्टान, उबडखावट पहाडजस्तै। सब्जीमन्डीमा सागपात देखिने-करेसाबारी हरियो। मेरो कल्पनाको असाम यस्तै थियो। अन्यत्र त खोजी मर्दा पनि कहाँ देखियो र? यस्तो चित्र। एकोहोरो तराईझैं फैलिएको बेंसी फाँट मात्र जताततै। ब्रह्मपुत्र र त्यसका सहायक नदीहरूले बनाएको उर्वर फाँट, त्यही फाँटमा मङ्सिर महिनामा आधा धान काटेर खेतमै पराल छाडिएको, कतै-कतै रोपाइँ गरिंदै गरिएका दृश्यहरू। पहाड त दायाँबायाँ टाढा, क्षितिजमै टाँस्सिएजस्ता हाम्रो चुरेजस्तै होचा। यही भूमिभित्र लाखौं नेपालीहरूले बजारेका पाखुरा, बगाएका रगत र पसिनाले बनेको भूमि-पहिले जङ्गल हुँदो हो। पानीको श्रोत धेरै छ क्यारे, बस्ती छेउमै ठूल्ठूला पोखरी। बरसातमा पानी जमेको हरियो दाग भएका घरहरू। यी भन्दा भिन्न रहेछ-भिरालो परेको मालीगाउँ। नयाँ नाम पाएको रहेछ- देवकोटानगर। देवकोटाको सालिकले नजिकैको पुस्तकालयमा आफ्ना कीर्तिहरू भरिने आशा राखेर पर्खिरहेको रहेछ।

            बाटामा आगन्तुक आफ्ना पाहुनाहरूलाई पर्खदै बसिरहेका रहेछन् सापकोटाजी। काव्यकुञ्जको भव्य महल दुई तल्ले। बिहानको खाना खुवाउने दुवै साहित्यिक दम्पतिकै इच्छाले यहाँ आइपुगियो। बिहानको 10 नबज्दै खाना खाइसक्ने हामीहरू आधा दिन घर्सिसकेकाले रन्थनिएका थियौं। दर्जनभन्दा बढी व्यक्तिहरूलाई खुवाउनु, भान्साको सुसेधन्धा गर्नु कम गाह्रो थिएन। धन्न सापकोटाजीकी जेठी छोरी नजिकै रहिछिन्। उनी र अर्की एउटी सुसारेको भरमा आमाचाहिंले नै बनाएको स्वादिष्ट भोजन। नेपालकै याद आउने गरी बनाइएको परिकार। सिन्कीगुन्द्रुकको बेग्लाबेग्लै अचार, मांसहारीलाई माछाको भोजन। वफे सिष्टममा जाँदा उही गोर्खे ताल। मासुमाछा देखेपछि अरूथोक छाडेर त्यसैले मात्र भुँडी भर्ने खोज्ने जात-हन्तकाली। बाठी नै रहिछिन्। भाँडो हेरेर भाग रोज्न नजान्ने हामीहरूलाई उनले नै सिकाउँदै भाग लगाइन्। म त बल्ल साग खान पाएर मख्ख। बेग्लै बसेर खाँदै गर्दा मेरै एक्लो टेवलछेउ आइपुगे आसामेजस्तै लाग्ने दुब्ला, पातला भान्जा अमरजी। माइज्यूले पाहुनाहरूसँगै बसेर भोजन गर्न दुई तीनपटकसम्म अनुरोध गरिन्। अहँ आफूले खाइसकेर आएको भन्दै टारे। माइज्यूको मर्म बुझ्ने बुझक्की रहेछन्। भेटेजति सबैथोक खाने भए जिउ लाग्थ्यो होला-स्वास्थ्यको ख्याल गर्ने भएकैले होला-खिनाउटे। भातको गाँस मुखमा हाल्दै मैले भनें – ‘अतिथि देवो भव, भन्ने मूल मन्त्रको आदर्शता त आसाममै रहेछ। यहाँ पाइएको आतिथ्य सत्कार र आत्मीयतालाई प्रशंसा गर्ने हामीसँग शब्द नै छैन।’ मीठो र मसिनो स्वरमा उनले भने – ‘यो थलोलाई यो संस्कृतिले भरिपूर्ण पार्ने कला हामीले असमीया मित्रहरूबाटै सिकेका हौं। हाम्रो सनातन संस्कृतिलाई यहाँका मित्रहरूले झन् मलजल गरे।’

            ‘हो र?’ मेरो जिज्ञासालाई अझ शान्त पार्दै उनले भने – ‘नेपालबाट आउने हामी परदेशीलाई उनीहरूले देवताझैं ठाने। सम्मान गरे। हामी पनि श्रममा विश्वास गर्ने थियौं। गाउँमा बसेर गाईगोठ पाल्यौं। शहरमा दूधको आपूर्ति गऱ्यौं। गाईगोठको मलले जमिन झन् उर्वरा भयो। धान धेरै फलेपछि जीवनस्तर उक्सियो। कुय्येंर खेती गऱ्यौं। यसरी मिलजुलबाट दुवै जातिको उन्नति भयो। हामीलाई स्थापित गराउने उनीहरू नै हुन्।’

            असामको भूमिमा हाम्रा पुर्खाहरू लोभिनुको रहस्य बल्ल थाहा पाइयो। यता साहुको ऋण तिर्न नसकेर घरखेत सुम्पिएर गरी खाने ठाउँ खोज्दै हिंडेका अथवा कर्तव्य-ज्यानजस्ता अपराधिक मुद्दा लागेर भागेका वा जातभात खोसिएर मर्माहत भै मुग्लान पसेकाहरूको आधारभूमि यही नै रहेछ। हुन सक्छ – हिजो दिउँसो भेटिएका होचा, पुड्का सुवेदीझैं आफन्तहरू यतै आए भनेर बसाइँ सरेर आएका किन नहुन्। सुवेदी त यहाँ बसोबास गर्नेले सिफारिस गरिदिए हामीले पनि यहाँको जमिन खरिद गर्न सक्छौं भन्दै थिए।

            अमरजी देवकोटा पुस्तकालयका सचिव रहेछन्। यहाँ देवकोटालाई वर्षको तीन पटक सम्झना गरिदो रहेछ। गाई तिहार औंसीमा नगरभरि दीपावली गरेर उनको जन्म जयन्ती मनाइन्छ भने दोस्रो कवि गोष्ठीमार्फत अनि तेस्रो भारत तथा नेपालका विशिष्ठ विद्वान्द्वारा देवकोटा सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै वृहत् साहित्यिक सम्मेलन गरेर। असम डाउन टाउन युनिभर्सिटीमा हुने सम्मेलनको निम्तापत्र हामीलाई थमाए। देवकोटाको जन्मभूमिले सिक्नुपर्ने कुराहरू हामीले असम-भूमिबाट सिक्यौं। कत्रो इज्जत! कत्रो सम्मान! साहित्यप्रतिको कत्रो अनुराग र प्रेम। हामी लाजले भुतुक्क भयौं। खुम्चियौं।

            ‘के असममा नेपालीहरू सुरक्षित छन् त?’ मैले वार्तालाई अर्कैतिर मोडें।

            ‘मणिपुरको जङ्गलछेउ बस्ने नेपालीहरू बिचरा सुरक्षित छैनन्। उनीहरूको खोरैबाट खसी र कुखुरा लुटेर लान्छन् रे!’ भावुक हुँदै माइज्यूले आफ्नो नारीसुलभ कोमल हृदय खोलिन्। अनि फेरि थपिन् – ‘अन्यत्र त्यस्तो छैन, हामी भूटान शरणार्थीजस्तो हुने छैनौं तर खोंचखोंच र जङ्गल छेउछाउ बस्ने नेपालीहरू अझै सुरक्षित छैनन्।’ दुःख मान्दै उनी फेरि चुकचुकाइन्। उनको मसिनो र खिरिलो स्वर अझैं रोकिएको थिएन। ‘हामी यहीं पनि कसैलाई गोर्खाली भनिनु छ- कसैलाई नेपाली। यो विखण्डित मनको नारा किन? अहिलेसम्म एकै ढिक्का रहेको नेपाली मन्दिरमा पनि यो नारा पस्न थाल्यो। त्यो पुड्के प्रेम, हिजो भाषण गर्दै थियो नि! नेपालको परिस्थितिमाथि व्यङ्ग्य कस्तै-त्यसले त नेपाली भन्यौ भने खुकुरी हान्छुसम्म भन्यो। मैले प्रतिवाद गर्दै भनें – लौ हान, म नेपाली नै हूँ।’ उनको स्वर रिसको आवेगले होला, कामेको झैं भयो। उनी रोकिइन्।

            यतिबेलासम्म चुप रहेका शालीन मामा सापकोटाजीले मुख खोले। ‘यो क्षणिक आवेग हो। गलत स्कुलिङमा परेका केही युवकहरूको आलो रगत उम्लेको मात्र हो। यसले क्यै बिगार्दैन।’ लामो अवधिसम्म प्राध्यापन पेशामा लागेर अवकाशप्राप्त मामाले आफ्नो प्रौढ अभिव्यक्तिलाई निखारे। परिस्थितिलाई नियाल्न सक्ने उनले खेलकूद सम्बन्धी प्रश्नहरूको जिज्ञासाको पोको खोल्दै कुरालाई अन्यत्र मोड्न खोजे। हुनसक्छ-उनलाई यो सम्बन्धमा लेख्नु थियो।

            एउटै पुर्खाको रगत संसारभर छरिए पनि गौरवशाली इतिहास बोकेको नेपाली जाति। शब्दाडम्बरको कस्तो घिनलाग्दो खेल। पृथ्वीनारायण शाहले त गोर्खा छाडेर नेपाली भन्न मन पराए। हामी भने गोर्खालाई र नेपालीको कुतर्कमा खाडल खन्न तयार। कस्तो बुझ्न नसकेको – यो अङ्ग्रेजको ‘फुटाउन र शासन गर’ भन्ने मूलमन्त्र हो। यही मन्त्रले उनीहरूले संसारभर शासन गरे। भारतलाई टुक्र्याए। गोर्खे भन्नेहरू उनै हुन्। थाहा नपाउने हामी पटमूर्ख। गुवाहाटीको नेपालीहरूको चिनारी नै हो – नेपाली मन्दिर र भानु अतिथि कक्ष। नेपालीहरूको आश्रयस्थल र एकताको चिनारी दिने स्थल। पुर्खाहरूको दीर्घ चिन्तनमा तुषारापात नहोस्। हामीले मनमनै यही कामना गऱ्यौं। पाहुनाले अरू के गर्न सक्छ र?

            प्रेम, त्यो पुड्के, मोटे मान्छे। हिजै पनि हाम्रै कोठामा दुई तीन पटक विदा हुँदै आउँदै/जाँदै गर्दै थियो। हाम्रो प्रशंसा गर्न पनि ऊ चुकेन। उसको उद्देश्य हाम्रा पियक्कड मित्रहरूको बोतल रित्याउने बहाना हुनसक्छ भन्ने मात्र हामीले ठानेका थियौं तर ऊ त यहाँका बुद्धिजीवीहरूप्रति पनि खनिएको थियो – ऊ बेरोजगार र आवारा प्रवृत्तिको देखिएको थियो। उसले रातको 10 बजे पनि रेल्वे स्टेशनसम्म शिवनारायणको झोला बोक्तै आउँछ भन्ने थाहा थिएन। शिवनारायण त डराएर झन् कालो भए।

            साँझ 5 बजेको थियो। रातको 9 बजे हिंड्ने तरखरमा थियौं। हामी हाम्रा झोलातुम्बा एउटा कोठामा थन्क्याएर यत्रतत्र छरिएका थियौं। डा. कालिदासजीलाई लिएर दुर्गाजी हामीलाई खोज्दै नेपाली मन्दिरमै आइपुग्नु भयो। अग्लो हट्टाकट्टा मिलनसार दुर्गाजी त आउनासाथ हाम्रो खानपिन खाजाको कुरातर्फ पो मोडिनु भयो। यो भेटघाटको तारतम्य मिलाइदिने पनि उनै सापकोटा थिए। कालीदासजी र मन्दिरका सहयोगी भाइ त्यसको प्रबन्धतिर हिंड्नुभयो। उहाँले हिजैदेखि भेट्न खोज्नुभएको रहेछ। ‘के गर्नु सरकारी, जिम्मेवारी, परीक्षा चल्दैछ, छोडेर हिंड्न मिल्दैन।’ उहाँको गुनासो सुन्ने हामी तीनजना मात्र थियौं। ‘हाम्रा हजुरबुबा असाम आउनुभएको कुरा वंशावलीमै लेखिएको रहेछ। हजुरबुबाको नाम देख्ता म त छक्क परें।’

            ‘तपाई कति नम्बरमा पर्नुहुन्छ?’ दुर्गाजी अलमलिनुभयो। अच्युतजीले उता भएकाहरूको जानकारीबाट दुर्गाजी 25 नम्बरमा परेको बताउँदै काकाको साइनु जोड्नुभयो। अच्युतजी 26 नं. पर्नुहुनेछ रे! खतिवडा वंशको।

            क्षणभरमै अन्य केही साथीहरू थपिनुभयो। दुर्गाजीको एउटा समस्याले हामी विचलित भयौं। उहाँले भन्नुभयो – ‘मेरा काका सुस्तश्रवण भएका लाटा थिए। हजुरबुबाले उहाँलाई झापामै बसेर खानू भनी 5/6 विगाहा जमिन अंशवण्डामा दिनुभएको थियो रे! तर काका हामीलाई खोज्दै यहीं आउनु भयो। यतै बस्नुभयो।’

            ‘अनि के भयो त?’

            ‘एकपटक उतैका दाजुभाइ काकालाई लिन आए। पछि बुझ्दा त काकालाई फकाएर जग्गा जमिन त पास पो गरेछन्। अहिले त त्यो जग्गा घडेरीमा जाने बहुमूल्यको भएको छ रे!’

            ‘काकाले केही भनेनन् त?’

            ‘लाटाले के भन्ने सक्थे र? क्यै पनि सङ्केत नै गरेनन्।’

            ‘उनी अहिले छन् त?’

            ‘छैनन्, मरिसके।’

            ‘ज्याहै! उसो भए अन्य कानुनी उपाय त क्यै छैन। समयमै क्यै गर्नु पर्थ्यो नि!’

            ‘आफूलाई फुर्सद नाई, यता दौडियो, उता दौडियो, विदा पनि मिल्दैन।’

            ‘बरू द्वन्द्वकालमा भए जङ्गली कार्वाही चलाउन सकिन्थ्यो कि? त्यसबखत नराम्रै भए पनि ज्यान जाने डरले धेरैले न्याय पाएका थिए तर भागबण्डा उनीहरूलाई छुट्याएर।’

            ‘एकपटक विदा मिलाएर आउनूस्, दाजुभाइ राखेर सामाजिक कार्वाहीको आन्दोलन चलाउनुपर्छ।’ अच्युतजीसहित हामीले साथ दिने कुरो गऱ्यौं।

            भन्न त भनियो तर पार लाग्छ, लाग्दैन। यो समयकै कुरा हो। यसले पनि हाम्रो समाजमा लाटा-सुधाहरू कसरी ठगिएर असमतिर जागिएका रहेछन् – त्यो थाहा पाएर हाम्रो मन झन खल्लो भयो। त्यसमाथि दुर्गाजी आफूमाथि भएको अन्याय खपेर कसरी बाँच्नु भएको रहेछ? त्यस कथाले हामीलाई समेत चिन्तित तुल्यायो। यहाँ बाँच्न संघर्षै गर्नुपर्ने रातदिन। उता आफ्ना बाबुहरू ठगिएको कुरालाई उठाउन पनि समय छैन। पीर बिर्सन होला – उहाँ त आफ्ना अन्य पियक्कड मित्रहरूको इच्छा पूरा गर्न बाहिरै जाउँ भन्न थाल्नुभयो। हामी हेरेको हेर्यै भयाँ। हामी बसेको ठाउँमा पिउन बन्देज थियो।

साभार सङ्गम अभियान।

पूर्वोत्तर भारतको यात्रा र सँगालिएका अनुभूतिहरू

► गङ्गा सुवेदी

            जाडो आउने तरखर गर्दै थियो। गर्मी मानिरहेको थिएन। जाडो र गर्मीको कुरा मिल्नु अगावै साहित्यसर्जकहरू गत भाद्र 28 गते पूर्वी नेपालको विराटनगरबाट पूर्वोत्तर भारतको भ्रमणमा निस्किंदा परदेशभूमिमा टेक्दैछौं जस्तो कसैलाई भएन। अझै आफ्नै संस्कार र संस्कृतिको फूलको सुगन्धको स्पर्श कोमल शिशुको अबोध अनुभव भइरहेथ्यो। तथापि भारतीय नोटले भने यथार्थ ऐना देखाउन बिर्सिएन। यो आवश्यक पनि थियो।

            भारतभूमि अनि पहिलो प्रवेश सिलिगुडीमा हुनु नै थियो, भयो। सिलगुडी-निकासी-गुवाहाटी हुँदै तेजपुर (असम) सम्मको हाम्रो यात्राले शिलाङसम्म पनि भ्याउन पायो। आफ्नोपनको न्यानो स्नेह रसद्भाव प्राप्तिका एकएक क्षणहरूले स्वदेश र प्रवास बीचको सीमा भत्काइदिएको अनुभूति हृदयमा छापिएको छ। सत्यको अनुभव जीवनको अनमोल सौगात हो भन्ने लाग्छ, विवेकशील प्राणीका निमित्त। यस क्रममा सुमधुर काव्यात्मक गुञ्जन प्रेमील स्वरमा लयसिक्त भइदिएका थिए, जब कवि ज्ञानेन्द्र खतिवडाको संयोजनले जुटाएको साहित्यिक माहौल ‘मङ्गल-माइती’मा जन्म सफल भइदिएको थियो। त्यहाँ माया, प्रेम, विश्वास त अनुभूत छँदै थियो। त्यसमा पनि सबै भन्दा महत्वपूर्ण थियो एकता। नेपाली मनको नेपालीपन जोगाउने अभियानमा दृढ त्यो साहित्यिक समूह स्वाभिमानी नेपालीको प्रतीक सावित छ। यो मनमा नेपाली स्वाभिमानयुक्त छविहरूप्रति सम्मान उर्लियो र आकाशिन खोज्यो। मलाई विश्वास छ मेरा साथका यात्रीहरूसमेतको अवस्था सोही थियो। हामी देख्दै थियौं हाम्रा प्रवासी साहित्यिक तपस्वीहरू हर्षोन्मादमा हुनुहुन्थ्यो।

            सिलगुडी मङ्गलमाइती (संस्कारको वर्चस्व र स्थायित्वका निमित्त नेपालीहरूबाट नेपालीहरूकै निमित्त) श्रष्टाहरूलाई स्थान दिएर काव्यिक विचार विमर्श र कविताहरूको रसास्वादन गराउन रमाउँछ भने निकासी पानताम्बुलले स्वागत गर्दछ। प्रवासी बन्नु पर्दाको वेदनाभित्रबाट पनि काव्यिक सौन्दर्य पस्किन तम्सिन्छन् त्यहाँका नेपालीहरू। जनजनमा काव्यिक मिठास छचल्किएको पायौं नेपाली हुँ भन्दा गाँस, वास र कपास खोसिने त्रास भएता पनि भन्न साहस गर्ने शक्ति पायौं। तथापि मन्द स्वर भित्र जुर्मुराउन खोज्ने उत्साह गजबको लाग्यो। हामी वर्तमान नेपालका नागरिक त्यहाँका नेपाली आफन्तलाई भाग्यमानी भन्ने सोचमा थियौं भने उनीहरूभित्र देश दुःखेको पीडा छताछुल्ल थियो। एकप्रकारको मानसिक स्थिति अजश्र छट्पटाइले विस्कुन फिंजाउँदै गयो। हामी द्रष्टा र श्रोताका रूपमा प्रस्तुत थियौं।

            नारी आवाजले उरालेको काव्यिक शक्ति, राष्ट्रप्रेम र गायन प्रस्तुति विकल्पहीन महसुस गर्दै बद्री गुरागार्इंको आतिथ्यताप्रति अनुगृहित हुँदै गयौं हामी। भदौ 30 गतेका दिनदेखि दुई दिनसम्म विशुद्ध रूपमा ग्रामीण परिवेशले सुम्पिएको मीठो सुगन्धमा नशालुझैं लट्ठिएका थियौं।

            ‘गौहाटीमा साहित्यको फूल जब मुस्कुराउन लाग्यो, आफ्नैआफ्ना अनुभूति दिएको थियो त्यहाँ हूल जुरेली, मैनाचरी, कोइलीसरी स्वरको ध्वनि गुञ्जियो, सङ्गीनी बाल नृत्य र नेपाली सानस्वरूप भो प्रस्तुत।’

            ‘जुरूक्क उठ्यो स्वदेशप्रेम मनमा आँखा रसाएका थिए। प्रस्तुतिको लहडमा झनै सब भयो झिल्मिल आज यहाँ त भोलि हो कहाँ जीवनको डेरा, किन संवेदना घरिघरी उक्साउँछ पग्लिनलाई तिलतिल?’

            दक्षिणा गजुरेल शान्त, सौम्य, सक्रिय व्यक्तित्व की धनी साहित्य र संस्कृतिको आफन्त नारी प्रतिभा गुवाहाटीमा आयोजना गरिने देउराली साहित्य सामाजिक मञ्च अन्तर्गत सोही दिनको कार्यक्रमको संयोजक। उनले प्रस्तुत गरेको कार्यकुशलता सह्रानीय प्रतीत हुन्थ्यो। जसलाई साथ दिएकी थिइन् गोमा अधिकारीले। साहित्य शिखर पुरुष लीलबहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रम भव्य नहुने त कुरै भएन। जहाँ शिलाङ, निकासी, सिक्किमदेखि श्रष्टाहरूको आगमनको रौनक थियो भने साहित्य सिर्जनाका शिखर नक्षत्रहरूको भद्र उपस्थिति रहेको थियो।

            टोपी (जापी आसामे सम्मानस्वरूप प्रदान गरिने), गम्छा आदिले पाहुनाहरू गीतका साथ स्वागत, संगिनी र बाल कलाकारका नृत्यजस्ता सांस्कृतिक पुष्पवर्षाले पाहुनाहरूलाई सम्मान गरेको देख्दा नेपाल यतै पो छ कि! भन्ने भान दिएको मैले अनुभूत गरे। ‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौं’ राष्ट्रकवि माधव घिमिरेको आत्मस्वरलहरी अक्षराङ्कन भएर नेपाल मनमनमा छापिएको त्यसै त रहेनछ। सम्झिएँ छातीलाई अचानो बनाएर राष्ट्रशत्रुमाथि जाइलाग्नेका तत्कालीन राष्ट्र नायकहरूलाई। अनि त नेपाल सग्लिएको छ, विश्वसामु अग्लिएको छ भन्न पाएका हुन् नेपालीले अनि सबै चटक्क बिर्सिएर स्वदेश भूमि भारतीय सीमा विस्तार गर्न छाडिदिए घातीहरूले? यस्तो लाग्छ जीवन भोग्नेहरूले सत्तासाथ हुँदा जीवन र मृत्युजस्तो शाश्वत्सत्यलाई बिर्सिदिन्छन्।

            जातले जन्म दिएको ठूलो सानोको भाव निमिट्यान्न पारेर एक भएका छन् त्यहाँ हाम्रा आफन्तहरू। भित्री तापको राप आफूभित्रै समन गरेर मुस्कानले स्वागत गर्नसक्नु सानो हिम्मत हुनै सक्दैन। त्यो हिम्मत त्यहाँ स्पष्ट देखिन्थ्यो। यो आभासमा सँगेल्ने यथार्थ हो। कार्यक्रमहरू गर्दा माग्नुपरेको अनुभव हो। कलापारखी मोनिका देवीको न्यानो मित्रप्रेमले मभित्रको कलाकार (चित्रकार)लाई ब्यूँझाइदिएकाले मैले आफ्ना ती सबै चित्रकलाहरूलाई सम्झिन पुगें र मनमनै मलाई त्यो शक्ति दिने ईश्वरलाई नमन गरें। नीरु शर्मा पुराजुली र जयन्त पराजुलीको आत्मीय साथले सुनमा सुगन्धको काम गरेको हुनाले मैले उहाँहरूप्रति आभार व्यक्त गर्नैपर्छ। गुवाहाटीको सम्झनामा मिठासयुक्त साथ त हृदयमा छापियो नै कार्यक्रम स्थलको माथिल्लो दुई तलामा पूर्वोत्तर भारतको संस्कृति र पुरातन ऐतिहासिक कलाकृतिको संरक्षण र सजावट आत्मस्पर्शी हुनुको आनन्द अर्कै थियो।

            गुवाहाटीबाट साँझमा हामीलाई लिएर गाडी तेजपुरतिर हिंड्दा विदाई गर्न उठेका श्रष्टा र द्रष्टामय हातहरू पुनः स्वागत गर्न आतुर भएको हामीले महसुस गऱ्यौं। अनि फेरि फर्किने क्रममा मित्रलाल शर्माको संयोजनामा तेजपुर चाँदमारी स्थित हरिहरधाम संस्था अन्तर्गत वरिष्ठ प्राध्यापक दुर्गाप्रसाद घिमिरेद्वारा आयोजित स्वागत एवं भेटघाट कार्यक्रम र आतिथ्यता साधना सत्सङ्ग पूर्णता दिनेजस्तो लागेको छ। यसका साथै भारतीय साहित्य अकादमी पुरस्कारबाट विभूषित प्रा. साहित्यकार गीता उपाध्यायसँग भेट्न पाउँदा मन आल्हादित हुन पुग्यो। अन्त्यमा, यस यात्राले जुराएको आफ्नोपन सधैंका निमित्त कायम रहन सक्नेछ भन्ने विश्वास गर्दछु।

विराटनगर

पूर्वोत्तर भारतको साहित्यिक सद्भाव यात्रा

► दधिराज सुवेदी

            यात्रा भनेपछि त्यसैपनि रमाइलो हुन्छ। त्यसमा पनि मन मिल्ने साथी, रमाइलो ठाउँ, सुविधाजनक सवारी साधन, पूर्वनिर्धारित कार्यक्रम र आवास तथा भोजनको सुव्यवस्था भएको यात्रा झनै रमाइलो हुँदोरहेछ। हामीले 2073 भदौ 28 गतेदेखि असोज 4 गतेसम्म गरेको भारतको बङ्गाल, असम र मेगालय राज्यहरूको साहित्यिक सद्भाव यात्रा ऐतिहासिक र उपलब्धिमूलक रह्यो।

            विराटनगरका राजेन्द्र गुरागार्इंको आवजतजावत पूर्वोत्तर भारतमा चलिरहने, उनका आफन्तहरू सबैतिर भएकाले र उनी बङ्गाली, असमीया भाषा लेख्न र बोल्न जान्ने भएकाले पनि यो यात्रा सुखदायी र उपलब्धिमूलक भएको हो। परिणामतः हाम्रा पूर्वनिर्धारित साहित्यिक कार्यक्रमहरू सिलीगुडी, भुटानखुटी, गुवाहाटी, तेजपुर र शिलाङ आदि स्थानहरूमा भव्यतापूर्वक सम्पन्न भए। यस यात्रामा दधिराज सुवेदी, गङ्गा सुवेदी, राजेन्द्र गुरागार्इं, राधिका गुरागार्इं, गोकुल अधिकारी र दिङ्लाली कान्छो थिए। साथमा मकालुको ठूलो क्यामरा र टेलिभिजन पत्रकार रोहित खनाल रहेकाले सबै यात्रावृत्तान्तको छायाङ्कन गरिएको र मकालु टेलिभिजनद्वारा ‘चेतनाप्रवाह’ कार्यक्रमबाट क्रमशः प्रसारण गर्ने लक्ष्य पनि पूरा भइसकेको छ। मलाई लाग्छ- मकालु टेलिभिजनका नेपाललभरीका दर्शकहरू पनि भारतीय नेपाली (आजभोलि गोर्खा भनेर आफूलाई चिनाउन थालेका छन्)हरूका भाषा, साहित्य, संस्कृति र सांस्कृतिक मूल्य र मान्यतालाई भारतका गोर्खाहरूले जोगाएर राखेको देखेर हामी आत्मविभोर बन्न पुग्यौं।

सिलीगुडी

            हाम्रो पहिलो दिनको विश्राम सिलीगुडीको ट्रकबिसौनीका छेउमा नेपाली जातिको गौरवका रूपमा रहेको ‘मङ्गल माइती’ भन्ने चारतले भव्य भवनमा भयो। गोर्खा जातिले आफ्नो वर्चस्व कायम राख्न अर्थात् पुर्खाहरूले नेपालबाट ल्याएको वेशभूषा, भाषा,संस्कृति, संस्कार र जातीय पहिचानलाई जोगाइराख्ने उद्देश्यले यस मङ्गल माइतीको संरचना करिब 15 वर्ष पहिले गरेको रहेछ। जसले गोर्खा जातिको सान, मान र गौरव बढाएको अनुभव गरियो। नेपालका नेपाली र भारतका गोर्खालीलाई जोड्ने पूलको काम गरेको पाइयो। जसमा तत्कालीन राज्यसभा सांसद दावा लामा, रत्न क्षेत्री, हरि पराजुली, डा. मणिकुमार शर्मा, टी.आर. गिरी, नरेन्द्र परियार, रेणुका सुब्बा, आर.बी. क्षेत्री, युवराज काफ्ले, जीवन अधिकारी आदि नेपालीभाषी गोर्खाहरूको सहयोग र सद्भाव प्राप्त भएको छ। यसका निर्माता कर्मवीर गोर्खाहरूले आफ्नो जातीय पहिचान जोगाउने उद्देश्यले खडा गरेको ‘मङ्गल-माइती’को इतिबृत्त ज्ञानबृद्ध साहित्यकार लोकनाथ चापागार्इंबाट पाएपछि त्यस ऐतिहासिक भवनलाई हामीले पनि सलाम गऱ्यौं। नेपालीभाषी गोर्खाका छोराछोरीले अन्य जाति र भाषाभाषीसँग विवाह गर्दै गए भोलि गोर्खा भन्ने पहिचान नै नरहने डरले स्थापित ‘मङ्गल-माइती’का सामाजिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य आदि विविध विधाका 21 सूत्रीय कार्यक्रमहरू नियमित र व्यवस्थित चल्दा रहेछन्। जसको केन्द्रबिन्दु मङ्गल माइती रहेछ। यो रचनात्मक संरचना देखेर हामी भावविभोर बन्न पुगेका थियौं। मङ्गल माइतीमा हामीले पहिलो स्वागत लोकनाथ, युवराज र ज्ञानेन्द्रहरूबाट पाएका थियौं।

            मङ्गल-माइतीको प्रथम सन्ध्या मङ्गलमय रह्यो। साहित्यकार ज्ञानेन्द्र खतिवडाको संयोजनमा सम्पन्न नेपालभारत साहित्य सन्ध्या अत्यन्तै अर्थपूर्ण रह्यो। मङ्गलमाइतीका उपाध्यक्ष शरद क्षेत्रीले शब्दाहार पहिऱ्याउँदै सबैको स्वागत गरेपछि सन्ध्याको वातावरण साहित्यमय बन्यो। चम्पासरी साहित्य प्रतिष्ठानका अध्यक्ष लक्ष्मण श्रीमल नाटककार भएकाले आज नाटकका पाठक पाइँदैन भन्ने गुनासो गरे। साथै उनले ‘किताब लेख्यो, छाप्यो, वितरण गऱ्यो र रमायो’ भन्दै साहित्यकारको नियति बताए। साहित्यले मान्छेको बौद्धिकतालाई उठाउने कुरामा जोड दिए। भौगोलिक एवं राजनैतिक हिसाबले नेपाल र भारतका नेपालीहरू अलगअलग देखिए पनि हामी सबैको रगत नेपाली नै हो भन्ने मार्मिक सन्दर्भ पनि कोट्याए।

            आठ दशकको यात्रा पूरा गरेका आख्यानकार लोकनाथ चापागार्इंले भुजङ्गप्रयास छन्दको अत्यन्तै मार्मिक समसामयिक कविता कलात्मक ढङ्गले प्रस्तुत गरेर सभालाई मन्त्रमुग्ध तुल्याएका थिए। नेपाली साहित्यकारहरूको तर्फबाट कार्यक्रमका सूत्रधार ज्ञानेन्द्र खतिवडालाई साहित्यकार गङ्गा सुवेदीले ढाकाटोपी लगाइदिएपछि नेपाली मन र मुटुका रक्तसञ्चार भएको थियो।

            कालूसिंह रणपहेलीले –     ‘टोपी खोल म तिम्रो उचाँइ नाप्न चाहान्छु’

‘मेरो उचाइ त हजुर टोपीमै छ।’

            भन्ने दुई लाइनका कविता (युग्मक) लेख्ने नौलो प्रयासको थालनी गरेको कुरा बताए भने हाम्रा राजेन्द्र गुरागार्इंले बङ्गाली र असमीया भाषाका कविता सुनाएर सभासद्हरूलाई चकित तुल्याए।

            सभामा नेपाली टोली प्रमुख दधिराज सुवेदीबाट नेपाल र भारतका नेपाली भाषाभाषीबीचको पारिवारिक, व्यवहारिक, साहित्यिक, सांस्कृतिक एवं मन र मुटुको सम्बन्धमाथि प्रकाश पारेपछि त्यस जमघटले पूर्णता पाएको थियो।

            कार्यक्रममा नेपालका गङ्गा सुवेदी, गोकुल अधिकारी, दिङ्लाली कान्छो, राधिका गुरागार्इंले आआफ्ना सिर्जना बाचन गरेका थिए भने भारतका गणेशकुमार प्रधान, स्वर्णभूमिका सम्पादक अशोक क्षेत्री, खेम सापकोटा, ज्ञानेन्द्र खतिवडा, युवराज काफ्ले, सुषमा गुरूङ, लतिका जोशी, राजेन्द्र ढकाल, प्रदीपकुमार मुखिया, लीला क्षेत्री, शुकराज दियाली, रूवेन गुरूङ, शरद क्षेत्री आदि आआफ्ना विचारका साथ सिर्जना बाचन गरेका थिए। नयाँ पुस्ताका चर्चित कवि राजा पुनियानीले कविता सुने, सुनाएनन्। यसरी हामीले मङ्गलमाइतीको स्वागत, सम्मान र आतिथ्यसत्कार स्वीकार्दै रात बिताएर 29 गते बिहानै टाटासुमो गाडी रिजर्वमा लिएर नलवारी जिल्लाको निकासीतर्फ प्रस्तान गऱ्यौं।

            दोस्रो दिन बिहान बाटामा पर्ने टिष्टानदीको पूर्वी किनारामा उभिएर वि.सं. 1831 लाई सम्झदै वीर गोर्खालीहरूको स्मरण गर्दै एक/एक अञ्जुली पानी उठाएर नेपालको सीमा टिष्टसम्म पुऱ्याउने पूर्वजहरूलाई तर्पन दियौं। मेचीदेखि टिस्टासम्मको विशाल भूभागलाई खोस्ने ‘सुगौलीसन्धि’लाई मनमनै धिक्कारें। सो सन्धिले हामीमाथि अन्याय नगरेको भए दार्जीलिङ, सिलीगुडी, जलपाइगुडी, कुचबिहार, सिक्किम आदिको वैभवशाली भूभागका हामी नेपाली भन्ने गर्वगर्दै धिराउँलाजत्रो नाक पार्दै गौरव गर्थ्यौं होला। त्यसक्षण टिष्टाको जल सवैले आफ्ना शिरमा छर्कियौं, एकमुठी बालुवा मुठ्याएर सानो पार्दै त्यो ऐतिहासिक सीमानालाई क्यामरामा सीमित पार्दै अगाडि बढ्यौं।

            हामी सडक र शहर विस्तारको क्रममा भताभुङ्ग पारिदएको अनि हिलो, धूलो र फोहरले अस्तव्यस्त भएको शहर विराटनगरबाट यात्राक्रममा निक्लिएका साहित्यकारहरूलाई पूर्वोत्तर भारतका राम्रा, चौडा, सफा, मनमोहक, चिल्ला सडकहरूमाथि दिनभरी गुड्न पाउँदा सारै नै आनन्द लाग्यो। बीचबीचमा ढावाका तन्दुरी, आसामे चिया र रसिला अनि स्वादिला रसभरी खाँदै राति 8 बजे नलवारी जिल्लाको निकासी भन्ने ठाउँमा मित्र राजेन्द्र गुरागार्इंका काका बद्री गुरागार्इंका घरमा आतिथ्य स्वीकार्न पुग्यौं।

            असमको संस्कार, संस्कृति, रहनसहन र आतिथ्य सत्कार अत्यन्तै रमाइलो र गुणात्मक हुँदारहेछ। करिब 30 वर्ष पहिले म मेरी दिदीको घर बोगेनदीको हलक्वारी भन्ने अत्यन्त पिछडिएको दुर्गम गाउँमा पाहुना भएर गएको थिएँ। मेरो सम्मानका निमित्त एककित्ली चियारङ्ग हालेर उमालेको पानी, पातमा सक्खरको डल्लो र ठूलो मणिपुरे बोटुको ल्याएर अगाडि राखिदिए। जाडो र भोकदुवैले सताएको मलाई त्यो पेय पदार्थ लाभदायक लाग्यो र सक्खरको डल्लो कुटुकुटु टोक्दै त्यो चिया दुई बोटुको खाएँ। जसले धेरै खान्छ अथवा थपीथपी खान्छ त्यो असल पाहुना मानिन्छ भन्ने कुरा दिदी पुण्यदेवी खतिवडाले त्यो बेला सुनाउनु भएको थियो।

            बद्री गुरागार्इंको घर भने सुसंस्कृत, सभ्य र सुशिक्षित थियो। हामीलाई सेवा गर्न घरका ठूलासाना सबै परिवारका सदस्य आआफ्ना स्थानमा तम्तयार थिए। कसलाई तातो पानी, कसलाई कालो, सेतो र खल्लो चिया चाहिन्छ, कसलाई काँचो खोर्सानी,काँचो नुन, काँचो पियाज चाहिन्छ सबै सोधीसोधी, आसामे परिकारहरूको नाम र स्वाद चखाइचखाई भोजन गराए, सेवा सत्कार गरे। त्यो होटल र लज थिएन तर पाँचतारे होटलको भन्दा राम्रो खानपीन र व्यवहार थियो। अरू साथीहरूले केकस्तो अनुभव गरें, मैले त नयाँ दुलही साथमा लिएर पहिलो पटक ससुराली गएको अनुभव गरें। सम्पूर्णमा भन्नुपर्दा असम ‘अतिथि देवो भवः’ संस्कृतिले आज पनि अति नै मर्यादित छ र यस मामलामा आसामका नागरिकहरू सभ्य र सुसंस्कृत देखिन्छन्। उनीहरूको संस्कार र सम्मानले हामीलाई लोभ्याउँछ। त्यहाँका गोर्खालीमा मात्र होइन असमीया जातिको समाजमा पनि यो संस्कार र संस्कृति पाइन्छ। केही वर्ष पहिलेको द्वन्द्वात्मक स्थितिको अन्त्य भएकाले त्यहाँका मानिसहरूको बसोवासमा शान्ति, सद्भाव र सहिष्णुता मौलाएको अनुभव गरियो। नेपाली समाज र असमीया जातिको समाज भिन्नभिन्न देखिए पनि एकअर्को जाति र समाजप्रति सहकार्य र सद्भाव विकसित भएको पाइयो। राजनीतिले स्थायी र भरपर्दो बाटो समातेपछि समाज स्वतः सभ्य बन्दै विकासको बाटोमा अग्रसर हुँदोरहेछ भन्ने अनुभव निकासीको दुईदिनको बसाइले अनुभव गरायो। बद्री गुरागार्इंका परिवारका सबै सदस्यप्रति हामी भ्रमण टोलीका सदस्य मात्र नभएर गाडीका ड्राइभर खलासी पनि आभारी भयौं। विद्या र विनयले नुहेका बद्री गुरागार्इंले बरो भाषामा उनीहरूको व्याकरण लेखिदिएर बौद्धिक गुन लगाएका कारण उनी त्यस गाउँठाउँका आदर्श गुरू मानिएका रहेछन्। असमीयाहरूले पनि आफ्ना व्यवहारिक जीवनका गुरू मानेर उनको मर्यादा उठाएको रहेछ। त्यो ठाउँमा पुग्ने जुनसुकै पाहुनाको पनि त्यो घर आश्रयस्थल रहेछ तापनि कसैले सेवाको कमी अनुभव गर्दा रहेनछन्।

नलबारी

            तेस्रो दिन 2073 भदौ 30 गतेका दिन भारत र भूटान सीमामा रहेको नलवारी जिल्लाको भूटानखुटीमा हाम्रो साहित्यिक मिलन समारोह भयो। देवनाथ गुरागार्इंको अध्यक्षतामा सम्पन्न सो सभामा टांगिएको ब्यानरमा आयोजक हिमाली साहित्य सभा, भूटानखुटी शिवमन्दिर प्राङ्गण निकासी असम र असम नेपाली साहित्य अन्तर्क्रिया एवं कविगोष्ठी लेखिएको थियो। बद्री गुरागार्इंले व्यवस्थित रूपले सञ्चालन गरेको सो सभाको प्रारम्भमा सहभागीहरूको परिचयात्मक कार्यक्रम चलाइएको थियो।

            कला र गला दुवैले साथ दिइएकी मनु भट्टराईले गाएको स्वागत गीतबाट प्रारम्भ भएको सो कार्यक्रममा गोकुल अधिकारीको कविता वाचनबाट कविताक्रम सुरू भएको थियो। सो क्रममा भीष्म भट्टराई, श्रृजना कार्की, केशव उप्रेती, धनमाया सुवेदी, जयन्तीकाल देवी, भारती भण्डारी, गीता दाहाल, दिनेशराज सुवेदी, राधिका गुरागार्इं, गङ्गा सुवेदी, धर्मा भट्टराई, लक्ष्मण खरेल आदिले कविता वाचन र नेपाली भाषा साहित्यका विषयमा नेपालबाट जानेहरूलाई विविध प्रश्नहरू सोधेका थिए। नेपाली साहित्यमा देखापरेका विनिर्माणवाद, डायस्पोरा, अमूर्त चिन्तन, भयवाद, बुटपालिस, आयामेली आन्दोलनका साथै नेपालभित्र र बाहिरको नेपाली भाषाका भिन्नताका कारणहरूबारे त्यसै ठाउँमा सञ्चालित ज्ञानपीठ स्नातकोत्तर कलेजको स्नातकोत्तर नेपाली विषयमा अध्ययनरत् छात्रछात्राहरूले जिज्ञासा राखेका थिए। गीतकार राजेन्द्र गुरागार्इंले नेपाली कविता वाचनपछि बङ्गाली र असमीया भाषामा छुट्टाछुट्टै गीत गाएपछि सभाभवन तातेको थियो। सो अवसरमा प्रधानाध्यापक सोमनाथ पराजुली (एम.इ.स्कूल), प्रीति भट्टराई (भारतीय गोर्खा), राजेन्द्र पराजुली (बौद्धिक व्यक्तित्व), चन्द्र घिमिरे (प्राध्यापक नेपाली विभाग), रवि अधिकारी र टेकनाथ पराजुली (हिमाली साहित्य समाज शाखाका अध्यक्ष र सचिव)हरूले अत्यन्त बौद्धिक र व्यवहारिक तर्कवितर्कका साथ मन्तव्य राख्नु भएको थियो।

            अन्त्यमा स्नातकोत्तर तहमा अध्ययनरत् विद्यार्थीका प्रश्न र अभिभावकहरूका तर्कवितर्कहरूको उत्तर दिंदै मैले भनें – हामी सन्सारको जुनसुकै मुलुकमा बसे पनि गोर्खाली पहिचान भएका नेपाली हौं। हाम्रो मूलभाषा नेपाली हो र हाम्रो नेपाली संस्कार र संस्कृतिलाई कुनै पनि भौगोलिक सीमाले छेक्तो रहेनछ। हाम्रा वीर पुर्खाहरूले विदेशी भूमिमा आएर नेपालीपन जोगाउँदै हामीलाई बाँच्न सिकाउनुभयो। त्यसका निमित्त उहाँहरूलाई हामीले नमन गर्नुपर्दछ। यस्तो अविकसित गाउँको ठाउँलाई शिक्षाको केन्द्र बनाएर सबै सन्ततिलाई आफ्नो संस्कार, संस्कृति, भाषा, साहित्य र समाजप्रति सचेत तुल्याउनुभयो। त्यसका लागि सबैलाई साधुवाद छ भन्दै विद्यार्थीका जिज्ञासाहरूको पनि समाधान गरिदिएको थिएँ। कार्यक्रम अत्यन्त शालीन ढङ्गले चलेको थियो। सोही अवसरमा मैले आफ्ना पुस्तकहरू उपहार प्रदान गरें भने टोली व्यवस्थापक गङ्गा सुवेदीले बद्री गुरागार्इंलाई नेपाली टोपीद्वारा सम्मान गर्नु भएको थियो।

            सोही दिन बिहान हामीले गुवाहाटी विश्वविद्यालयद्वारा स्वीकृत स्थानीय ज्ञानपीठ डिग्री कलेजको अवलोकन गऱ्यौं। जसमा धेरै विषयका स्नातकोत्तर विषयको पठनपाठन हुँदैगरेको पाइयो। जसमा नेपालीमा एम.ए. पढ्दै गरेका विद्यार्थीहरूसँग हामीले पुस्तकालयको अवस्था र प्राध्यापकहरूका विषयमा जिज्ञासा राखेका थियौं। उनीहरूले भने – ‘यहाँ एम.ए. पास गरेका सवै विषयका प्राध्यापक छैनन् तर पनि हामीलाई स्नातक शिक्षकहरूले मार्ग निर्देशन गर्नुहुन्छ र रहरले मिहिनेत गरेर पढ्छौं, पास हुन्छौं। विगत दश वर्षदेखि यस कलेजले नेपाली एम.ए. को पठनपाठन गराउँदै आएको छ। दुईसय साठी विद्यार्थीले नेपालीमा एम.ए. पास गरिसके। आजसम्म कोही फेल भएको छैन।’ भनेको सुन्दा हामी दङ्ग पऱ्यौं। निकासीमा यसरी शिक्षाको विकास भएकाले त्यहाँका नागरिकहरू धेरै शिक्षित र सभ्य भएको अनुभव गरियो। मैले बोकेका केही पुस्तकहरू कलेजको पुस्तकालयलाई प्रदान गरें। युवा एवं कर्मठ क्याम्पस चीफ डा. गुन्जित पाठकले धन्यवाद ज्ञापन गर्नुभएको थियो। त्यसपछि हामी चौथो दिन गुवाहाटी गएर कवि दक्षिणा गजुरेलले व्यवस्था मिलाइदिएको नेपाली मन्दिर अगाडिको होटल सागरमा आनन्दपूर्वक बस्यौं।

शिलोङ

            पाँचौ दिन अर्थात् 2073 असोज 1 गते जयन्त पराजुली र निरू शर्मा पराजुलीको सौजन्यबाट प्राप्त

गाडीमा चढेर मेघालयको राजधानी शिलाङ भ्रमणका निमित्त निस्कियौं। गाडी चालकलाई शिलाङबजार, झर्ना, हिमाली दृश्य हात्तीसेण्टर, सङ्ग्रहालय आदि स्थान घुमाएर ल्याउनु भन्ने पराजुली दम्पतिको निर्देशन भएकाले हामीलाई कहाँ जाने, के गर्ने भन्ने चिन्ता भएन। भोजपुरको दिङ्लामा मेरो किशोरावस्था बितेकाले मैले धेरै उकालीओराली, छाँगाछहरा, लेकबेंसी, नदीनाला, झरीबादल देखेर भोगेको हुनाले मेरा लागि ती दृश्यहरू नौला भएनन्। तर प्रकृतिमा भौतिक सजावट थपिएको हुनाले मनोरम थिए र अरुसँगै म पनि रमाए। प्रकृतिको मनोरम दृश्य हेरेर प्रायः यात्रुहरू शिलोङ गएर रमाउँदा रहेछन्। शिलोङको वेशभूषा र नारी प्रधान समाज देखेर हामीलाई अनौठो अनुभव भयो।

            शिलोङका प्रख्यात साहित्यकार विक्रमवीर थापा र डा. टेकनारायण उपाध्यायसँग रमाइला र मीठा चियागफ भए। नेपाली र भारत बीचका पुराना कुरा, नेपालबाट हाम्रा अग्रजहरू शिलोङ गएर गाईगोठ सञ्चालन गरेको कुरा र दुई देशबीचका भाषासाहित्यका बारेमा कुरा गरेर केही समय आनन्दको अनुभूति गऱ्यौं। शिलाङ यात्राको उद्देश्य पनि पूर्ण र सफल रह्यो। साँझमा हामी गुवाहाटी फर्केर विश्राम गऱ्यौं। गुवाहाटीमा हामीले सर्वप्रथम जगत्जननी, शक्तिरूपिणी कामाख्या माईको दर्शन गऱ्यौं। विश्वप्रशिद्ध त्यस शक्तिपीठको गर्भगृह सुरुङजस्तो गहिरो ठाउँमा रहेछ। बिजुलीको सहयोग र बाहिरबाट पठाएको कृत्रिम अक्सिजन नहुने हो भने देवीको दर्शन संभव रहेन छ। विश्वका हिन्दुहरूको आस्थाकेन्द्र भएकाले तीर्थयात्रुहरूको चाप हुने नै भयो। मन्दिरभित्रै विभिन्न ठाउँमा बसेर आफ्ना गोजीका ठूलाठूला नोटहरू फिंजाएर तेरा पितापुर्खाको उद्धारका निमित्त यसरी नै पैसा चढा भनेर ठगी खाने दुष्टहरूलाई सरकारले संरक्षण दिएको कुराले शक्तिपीठको गरिमा र महिमामाथि आँच पुऱ्याएको अनुभव गरियो। शहरको बीचमा नेपालीहरूले नेपाली मन्दिरभित्र पसेर सर्वेश्वर राधाकृष्णका पाउमा शिर झुकायौं र त्यस मन्दिरमा खीर पकाएर भगवानलाई भोग लगाउने प्रचलन भएकाले एक दिनको भोगेको निमित्त गङ्गाजीले केही रकम पुजारीका हातमा प्रदान गरेपछि हामी बाहिरियौं। त्यहाँ भारतमा छरिएर रहेका नेपालीको आस्था र विश्वास समेटिएको देखेर हामीलाई विशेष आनन्दको अनुभूति भयो। छैंटौ दिन अर्थात् असोज दुई गते असमको राजधानी गुवाहाटीमा रहेको विश्वप्रसिद्ध श्रीमन्तशङ्करदेव कलाक्षेत्र सङ्ग्रहालयको प्रेक्षालयमा असम नेपाली साहित्य सभा, कामरूपकी अध्यक्षा डा. इन्दुप्रभा देवीको विशेष सक्रियतामा देउराली साहित्य समाजिक मञ्च गुवाहाटीले आयोजन गरेको भारतनेपाल साहित्यिकसाँस्कृतिक भेटघाट कार्यक्रममा सम्मानित भयौं। त्यस औपचारिक सभाको सभापतित्व वरेण्य आख्यानकार प्रा. लीलबहादुर क्षत्रीले गर्नुभएको थियो। सभाको प्रारम्भमा वैदिक मन्त्रोच्चारण सँगसँगै दीपप्रज्ज्वलन गरिएको थियो। तत्पश्चात् हामी पाहुनाहरूलाई दक्षिणा गजुरेलको नेतृत्वमा उभिएको कलाकार समूहले स्वागतगानद्वारा स्वागत गरिसकेपछि रातो अक्षता, रातो फुलबुटे गम्छा र रातो जापी लाइदिएर सम्वर्द्धना (अभिनन्दन) गरियो। सो समयमा त्यहाँ कलासंस्कृति र वाद्यवानका झलकहरू पनि प्रस्तुत गरिएका थिए। हामी जीवनमा पहिलोपटक विदेशमा, ठूलो सभामा, समूहगत रूपमा, नेपाली मनहरूद्वारा वाद्यवादनसहित अभिनन्दित हुने पुगेकोमा भावविभोर भएका थियौं। वरेण्य साहित्यकारहरूको उपस्थितिमा भएको त्यो सन्दर्भले हामीमा कताकता असजिलो अनुभव पनि भइरहेको थियो।

            साहित्यकारहरू गोमा शर्मा, छविलाल उपाध्याय, विक्रमवीर थापा, डा. टेकनारायण उपाध्याय, मित्रदेव शर्मा, दक्षिणादेवी गजुरेल, नीरु पराजुली, डा. सीताराम अधिकारी, बलराम शर्मा, कृष्णलाल शर्मा, राधिका गुरागाई, कुलप्रसाद शर्मा, कमल क्षेत्री, नारायण प्रधान, सागर ढुङ्गेल, बलराम पोखरेल, जयन्त पराजुली, नवसापकोटा, बद्री गुरागाई, भारती भण्डारी, भक्ति बराल, जगनधि दाहाल, गोपालचन्द्र शर्मा, राजेन्द्र गुरागाई, गोकुल अधिकारी, गङ्गा सुवेदी, मोनिका देवी, दिनेशराज सुवेदी आदि आआफ्ना कविता, गीत, गजल, सुनाएर वातावरणलाई आनन्दित र रसमय बनाएको थियो। कार्यक्रम बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म चलेको थियो। कार्यक्रम लामो भएपनि पट्यार लाग्दो थिएन। बीचबीचमा नेपाली लोकसंस्कृतिका परिष्कृत, सुन्दर र मनमोहक कार्यक्रमहरू प्रस्तुत हुन्थे। नृत्याङ्गना शीतल शर्माको एकल नृत्यले दर्शनदीर्घाका सबैको मन नचाएको थियो। चन्द्रा विश्वकर्माको नेपाली र असमीया भाषाका गीतहरूले सबैलाई मन्त्रमुग्ध तुल्याएको थियो। प्रियंका प्रधान, सन्तोषी मगर, पुनम मगर र बबिता क्षेत्रीको सशक्त बैंसालु लोकनृत्यले सबैलाई जुरुक्कजुरुक्क उठाएको थियो। एक हातमा थाल, थालमाथि चामल, चामलमाथि बलेको दियो र फूलमाला अनि अर्को हातमा सिंगारिएको सुन्दर कलश बोकेका सीता क्षेत्री, पद्मादेवी, अन्जु उपाध्याय, नीरुदेवी, आशा कोइराला, पूजा देवी, रोमा क्षेत्री, हिरण्यमयी देवीसमेत नौ जनाको समूहले प्रस्तुत गरेको संगिनी नृत्यले म अत्यन्त भावुक बन्न पुगे। उनीहरूले लाएको गुन्यूचोलो, तलसम्म छोप्ने गरी कम्मरमा बाँधेको सेतो पटुका, ढुङ्ग्रीमुन्द्री, कर्णफूल, पोतेको झुप्पो र त्यसमा जोडिएको ठूलो तिलहरी र चुल्ठोमा सिउरिएको मनमोहक फूलको थुङ्गो र चुल्ठो बान्ने रातो फुर्के धागोले सजिएका ती बैंस बिताएका आमाहरूलाई देख्दा मैले आफ्नी आमालाई सम्झें, नेपालको चोखो वेशभूषा र लोकसंस्कृति भारतमा बाँचिरहेका पाएँ। आख्यानकार विक्रमवीर थापाले आफ्नो उमेरसँग नमिल्ने तन्नेरी गीत गाएर वातावरणलाई रोमाञ्चित तुल्याएका थिए। कार्यक्रमकी सञ्चालिका दक्षिणादेवी गजुरेलको वेशभूषा, बोलीचाली प्रस्तुति र फूर्तिफार्ति सबै नै मनमोहक थियो। उनी ठेट सुन्दर नेपालीका रूपमा प्रस्तुत थिइन्। तिनका जीवनको मौलिक नेपालीपन देखेर र नेपालभित्रका नारीहरूले नेपालीपन छोड्दै गएको सम्झेर भित्रैदेखि रुन मन लाग्यो। धन्य भारतवासी गोर्खाली नारीहरू तिमीहरूले हाम्रा पुर्खाको नाक जोगाइदिएका छौं।

            कार्यक्रमको मध्यभागमा मलाई आफ्ना बिचारहरू राख्न अनुरोध गरियो। मैले भने – ‘हामीहरू भौगोलिक हिसाबले जहाँजहाँ रहेपनि वीर गोर्खालीका सन्तती हौं। हामी सबैको रगतमा नेपालीपन छ, हृदयमा गोर्खाली भावना छ। हाम्रा पूर्खाहरूले प्रारम्भ गरेको मौलिक लोकसंस्कृतिको जीवन्त परम्परा र अतिथिसत्कारका कुराहरूलाई भारतभूमिमा पनि भौगोलिकतामा आँच आउँन नदिईकन बचाइराख्नु भएकोमा म सिङ्गो नेपाल देशका तर्फबाट आभार प्रकट गर्दै यहाँहरूका पवित्र र मौलिक नेपाली भावनाको अभिनन्दन गर्दछु।’ यसपछि टोली नेता गङ्गा सुवेदीले नृत्याङ्गना शीतल शर्मा र दक्षिणा देवी गजुरेललाई नेपालबाट लगेको वस्तुहरूद्वारा सम्मान गर्नुभयो। आयोजक संस्थाका अध्यक्ष पुरुषोत्तम भण्डारीलाई नेपाली ढाकाटोपीद्वारा सुशोभित तुल्याउनुभयो। मैले 85 वर्षीय प्रसिद्ध आख्यानकार लीलबहादुर क्षत्रीलाई टोपी लगाइदिएर सम्मान गरें। संस्थाका दृष्टिले हामी सबैलाई अनमोल पुस्तकहरू उपहार प्रदान गर्नुभयो। सोही अवसरमा मोनिका देवीले साहित्यकार गङ्गा सुवेदीलाई न्यानो खास्टो ओढाएर आत्मियता प्रकट गरिन्। त्यसपछि सुवेदीले ‘नेपालबाट चोखो माया लिएर आएका थियौं, यहाँहरूबाट प्राप्त न्यानो माया लिएर फर्कदैछैं’ भन्ने अभिव्यक्ति दिनुभएको थियो। सोही अवसरमा गङ्गाजीले आकर्षक नृत्य प्रस्तुत गर्ने 3 वर्षे बालिका कृपा शर्मालाई प्रोत्साहनका निमित्त नगद पुरस्कार पनि प्रदान गर्नुभएको थियो। अन्त्यमा सभानायकको तर्फबाट लीलबहादुर क्षत्रीले सर्वप्रथम पाहुनाहरूलाई अभिवादन गर्नुभयो। तेजपुर, शोणितपुर, शिलाङ, निकासी आदि टाढाटाढाबाट उपस्थित भएर कार्यक्रमको गरिमा बढाइदिने सहभागिहरूलाई धन्यवाद दिंदै – ‘आफूहरूले नेपाली भाषासाहित्यको पनि सेवा गरेको छौं’ भन्नुभयो। छन्द जोगाउन लाग्नुभएकोमा छविलाल उपाध्यायलाई धन्यवाद दिनु भयो। अन्त्यमा ‘नेपाली भाषा र संस्कृतिको मौलिक स्वरूप बचाऔं र साहित्यमा नेत्रोस्कोपी विश्लेषण गर्न थाल्यौं’ भन्दै विदा हुनुभयो। सोही समारोहमा ढेकियाजुली शोणितपुर असमबाट आउनु भएका छन्दवादी अग्रज कवि छविलाल उपाध्यायले असमीयाहरूको हातले बुनेको कलात्मक फूलबुट्टे रुमाल ओढाएर मलाई आभारी तुल्याउनु भएको थियो। अन्त्यमा आयोजकका तर्फबाट पुरुषोत्तम भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए भने नेपाली टोलीका तर्फबाट दिनेशराज सुवेदी (दिङ्लाली कान्छो)ले कृतज्ञता व्यक्त गरेका थिए। सो सभामा विशेषतः असम नेपाली साहित्यसभा, गोर्खा उन्नयन परिषद् असम, नेपाली साहित्य परिषद् असम र हरिभक्त साहित्य सांस्कृतिक समिति नलवारी असमका साहित्यप्रेमी महानुभावहरूको उपस्थिति थियो। कार्यक्रमको समाप्तिपछि त्यसै प्रेक्षालयको माथिल्लो तलामा राखिएका असमीया, नेपाली, बङ्गाली, बोडो आदि जातजातिका ऐतिहासिक एवं मनमोहक वास्तुकला, चित्रकला र मूर्तिकलाका अनुपम दृश्य हेरेर आफूहरूलाई भाग्यमानी ठानेका थियौं। तत्पश्चात एउटा सुविधायुक्त गाडीको बन्दोवस्त मिलाएर तेजपुरतर्फ लाग्यौं र सोलङ भन्ने ठाउँमा राजेन्द्र गुरागाईकै दिदी भिनाजु टीकाराम तिमसिना र धनप्रभा तिमसिनाका घरमा बास बस्यौं। त्यहाँको आतिथ्य सत्कार पनि असमीया प्रभाव र प्रेरणाले अभिप्रेरित थियो।

तेजपुर

            सातौं दिन अर्थात् असोज 3 गते हामी तेजपुरको चाँदमारीस्थित सातसय नेपाली घर परिवारको कीर्तिस्तभका रूपमा रहेको हरिहरधाममा पुग्यौं। जहाँ मित्रदेव शर्माको नेतृत्वमा रहेका दुर्गाप्रसाद उपाध्याय, डा. महेश क्षेत्री, वसुन्धरा शर्मा, नवप्रभा अधिकारी, कमलादेवी भट्टराई, लावण्यदेवी, चन्द्रमणि प्रसाई, छत्र अधिकारी, मधु क्षेत्री, गीता उपाध्याय आदि हाम्रो आगमनको प्रतीक्षामा सभा भवनमा बस्नु भएको रहेछ। हामी त्यहाँ पुग्नासाथ परस्परमा अभिवादन आदान प्रदान गऱ्यौं। तत्पश्चात् त्यहाँ बस्ने नेपालीहरूले त्यस धामभित्र निर्माण गरेको हरिहरको मन्दिर, पुस्तकालय, सभाभवन र अन्य निर्माणधीन भौतिक वस्तुहरूको अवलोकन गराउनु भयो। त्यो गुरुयोजना तयार भएपछि त्यहाँ रहेका नेपालीहरूको सम्पूर्ण आवश्यकता पूराहुने कुरा सविस्तार बताइयो।

            तेजपुरमा हाम्रो अघिल्लो पुस्तासँग मात्र भेटघाट र संसर्ग भयो। त्यसैले त्यहाँ औपचारिक सभा हुन सकेन। तथापि हरिहर आश्रमको सभाहलमा बसेर परस्परमा चिनजान गऱ्यौं। कृतिहरू आदानप्रदान गऱ्यौं। नेपाली साहित्यको लेखन र पठनपाठनमा नेपालमा जति सुविधाजनक वातावरण छ त्यति नेपाल बाहिर नरहेको कुरा शिक्षा, संस्कृति र सदाचारका गुरु दुर्गाप्रसाद उपाध्यायले बताउनु भयो। मैले हिजो नेपाली भाषा र साहित्यको उन्नयनमा कलकत्ता, दार्जिलिङ, बनारस र असमले पुऱ्याएको योगदानलाई बिर्सिन नमिल्ने कुरा बताएँ। साथसाथै मैले आफूसँग जेजति पुस्तकहरू थिए ती सबै नै त्यहाँको पुस्तकालयलाई प्रदान गरे। हरिहर धामको पञ्चामृत ग्रहण गरेपछि अर्थात् त्यहाँको मौलिक चिनारी दिने हातले बुनेका फूलबुट्टे रुमालले हाम्रो स्वागत गरेपछि हामी त्यहाँबाट विदा भयौं र नजिकै रहेको मित्रदेव शर्माका घरमा गएर चियापान गऱ्यौं। त्यसैदिन त्यहाँबाट सीधै नेपाल फर्कने कार्यक्रम भएकाले हामी हतारिएको थाहा पाएर मित्रदेव शर्माले आफ्न कुराकानीलाई छोट्याउँदै बिदा दिनुभयो। हामी बसबिसौनीमा गएर आफ्नो गाडी पत्ता लगाएर दिउँसो 3 बजे सिलगुडिको लागि प्रस्थान गऱ्यौं। हाम्रा आधा सुत्ने र आधा बस्ने सिटका रिजर्वेशन थिए। आलोपालो सुत्दै र बस्दै 4 गते बिहान 5 बजे सिलिगुडी आइपुग्यौं। त्यसतर्फका हाइवेहरू राम्रा, चिल्ला र फराकिला भएकाले यात्रामा कुनै असजिलो अनुभव भएन।       

            सिलिगुडीमा पहिले प्रयोग गरेकै गाडीलाई फोन गरेर बोलायौं। उसले हामीलाई काकडभिट्टाको भन्सारमा ल्याएर बिसायो। अर्को नेपाली गाडीको व्यवस्था मिलाएर विराटनगर फर्कियौं र पूर्ववत् दिनचर्यामा संलग्न बन्यौं।

            यात्राक्रममा सबैको विचार सबैसँग मिल्यो भने, तत्तत् स्थानमा सहयोगी मित्रहरूको अभाव भएन भने जहाँ जस्तो परिस्थिति आउँछ त्यसैसँग आत्मसात् गर्न सक्यो भने निश्चय नै त्यो यात्रा सुखद र उपलब्धिमूलक हुँदोरहेछ भन्ने कुरा हामीले अनुभव गऱ्यौं। यस्ता सद्भावयात्राहरू शरीर स्वस्थ रहँदै र उमेर नढल्कँदै गर्न सक्यो भने सुनमा सुगन्ध थपिएको अनुभव गर्न सकिने रहेछजस्तो मेरो व्यक्तिगत अनुभव रहेको छ। किनभने भ्रमणटोलीमा सातदशक पार गरेको व्यक्ति म मात्र थिएँ।

साभार चेतना सन्देश

विराटराजाको भूभागबाट वाणासुरको राज्यसम्म

► राजेन्द्र गुरागाई

            साहित्यकार दधिराज सुवेदीज्यूले मलाई धेरैपटक ‘असम भ्रमणको चाँजो मिलाउनु न है’ भन्दै घच्घच्याइसक्नुभएको थियो। उहाँसँगै बैनी गंगा सुवेदी र अन्य साहित्यिक मित्रहरूले पनि मलाई यही कुरा भेटघाटका बेला व्यक्त गरिरहनुहुन्थ्यो। लामो समयदेखि मेरो वसोवास बिराटनगरमा भए पनि आफू जन्मी हुर्की गरेको असमको माटोले मलाई तानिरहन्छ। त्यसतर्फ म जानेआउने गरिरहन्छु। आफ्नो जन्मस्थलमा आफै वसोवास गर्ने विराटनगरका साहित्यकारहरूलाई साथमा लिएर पुग्न पाउनु मेरालागि पनि गर्वको कुरा थियो। त्यसैले म आफै पनि यस्तो मौका गुमाउने पक्षमा थिइनँ।

            2073 भाद्र 28 गते भ्रमणको मुहूर्त तय भयो। माता कामक्षाको पवित्र तीर्थस्थल भनेर चिनिने असमस्थित गुवाहाटीको देउराली साहित्य सामाजिक मञ्चको निम्तो मान्न भनी हामी त्यसतर्फ हिंडेका थियौं। असमकी प्रसिद्ध कलाकार दक्षिणा गजुरेलको विशेष आग्रहमै हामीले गुवाहाटीलाई मूल गन्तव्य बनाएर यात्रारम्भ गरेका थियौं। त्यो हाम्रो विशुद्ध साहित्यिक यात्रा थियो। पूर्वको सीमा तर्दै पुग्नुपर्ने यो यात्राको आरम्भ विराटनगरको पोकरियास्थित दधिराज सुवेदीज्यूको निवासस्थानबाट बिहान 9 बजे भयो। बिराटनगरलाई असमसँग जोड्ने सहजकर्ताको भूमिकामा मेरो संलग्नता देखिए पनि यात्रादलमा रहेको सात सदस्यीय साहित्यकारको नेतृत्व भने अग्रज साहित्यकार दधिराज सुवेदीले गर्नुभएको थियो। यस टोलीमा दधिराज सर र मबाहेक गोकुल अधिकारी, दिङ्लाली कान्छो, राधिका गुरागार्इं, गङ्गा सुवेदी र टेलिभिजन पत्रकार रोहित खनाल रहेका थियौं।

            विराटनगरमा बसेर यात्राको तानावाना बुन्दाबुन्दै सिलीगुडीका साहित्यकार ज्ञानेन्द्र खतिवडालगायतका केही व्यक्तिहरूले हाम्रो यात्राबारे थाहा पाइहालेछन्। यति भएपछि असमका लागि हिंडेका हाम्रा पाइलाको पहिलो विसौनी सिलीगुडीस्थित साहित्यकारको विशेष आग्रहमा सिलीगुडीमै हुने नै भयो। हामी बिराटनगरबाट हिंडेकै दिन अपरान्ह सिलीगुडीमा एक साहित्यिक सभाको आयोजना उनीहरूले गरेका रहेछन्। सिलीगुडी स्थित दार्जिलिङ मोडको ‘मङ्गल माइती’ भन्ने सामुदायिक भवनमा विराटनगर र सिलीगुडीका साहित्यकारहरू बीचको परिचय, साहित्यिक सम्वाद र कवि गोष्ठी सम्पन्न भयो। छोटो समयमै धेरै साहित्यकारहरूको जमघटले मङ्गल माइतीको वातावरण साहित्यमय भयो। ज्ञानेन्द्र खतिवडा र लोकनाथ चापागाईजस्ता वरिष्ठ सर्जकहरूको स्वागत सत्कारले हामी हर्षविभोर बनिरहेका थियौं। त्यसदिनको बसाई र खुवाइको व्यवस्था त्यहाँका साहित्यिक मित्रहरूले मङ्गलमाइतीमै गर्नुभएको हुनाले हामी त्यहीं बस्यौं।

            सिलीगुडीबाट असमका लागि जान हामीले एउटा जीप रिजर्व गर्न उपर्युक्त ठान्यौ। दृश्यावलोकनको मोहले हामीलाई जकडेको हुनाले कुनै पनि गाडीको अग्रीम टिकट हामीले गरेका थिएनौं। ज्ञानेन्द्र खतिवडाकै सहयोगमा असमको नलवाडी जिल्लामा पर्ने निकासी भन्ने स्थानसम्मका लागि रिजर्व गाडीको व्यवस्था मिलाइयो। बिहान हतार-हतार चिया पिएर हामी मङ्गलमाइतीबाट बिदा भयौं। यसरी सिलीगुडीको न्यानो आतिथ्यलाई मनमा जतनले राख्दै सिलगुडी शहरबाट बाहिरियौं।

            असमको निकासीमा बस्नुहुने मेरा हजुरबुवा तथा प्रसिद्धसाहित्यकार बद्रीप्रसाद गुरागार्इंसँग हामी गुवाहाटी आउँदैछौं भनेर मैले फोनबाट जानकारी गराएका बेला उहाँले ‘उसोभए निकासीमा मेरा घरमा टेकेर मात्र गुवाहाटी जानु होला। हामी पनि एक दिन साहित्यिक सभाको आयोजना गर्नेछौं’ भन्नुभएको थियो। हजुरबुवाको आदेश नातिले नमान्ने कुरै भएन। त्यहाँ पनि उहाँकै इच्छाअनुसार नेपाली भाषासाहित्य सम्बन्धी एक सभा आयोजना हुनेभयो नेपालीहरूको प्रशस्त वसोवास रहेको निकासी भन्ने स्थानमा गरिने साहित्यिक सभालाई लक्ष्य गरेर हामी सिलीगुडीबाट सोझै निकासीतर्फ लागेका थियौं।

            भगवान श्रीकृष्णका भान्जा वा भनौ श्रेष्ठ धनुर्धर अर्जुनका सुपुत्र अभिमन्यूका ससुराली अर्थात् उत्तराको माइतीघर विराटराजाको राज्यबाट भारतको उत्तरपूर्वमा रहेको पवित्र तीर्थस्थल नरकासुरको राज्य असमतर्फ एउटा सुमो गोल्ड नामको रथ हुइँकिन्छ। हाम्रो यात्रा मूलतः त्यस भेगमा रहेका नेपाली भाषाभाषी बन्धुहरूसँग भेटघाट गर्दै त्यहाँको नेपाली भाषासाहित्यको अवस्थाका बारेमा जानकारी बटुल्ने र साहित्यिक बन्धुहरूसँग साक्षात्कार गर्ने भन्ने रहेको थियो। यसबाहेक केही धार्मिक र ऐतिहासिक स्थानहरूको अवलोकन पनि यसमा जोडिएको थियो।

            तनक्क तन्केर सुतेको कालोपत्रे सडकको छातीमाथि सललल गुड्दै द्रुत गतिमा सिलीगुडीको बजारलाई पछाडि पार्दै अघि बढ्यो हाम्रो टाटासुमो रथ। अझ त्योभन्दा तीव्र गतिमा दौडेको थियो हाम्रो मन। बाटाघाटमा रहेका अनगिन्ति बोटबुट्यान र प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै लगभग दुई घन्टाको यात्रापछि यौटा लामो पुल पारी गएर हाम्रो गाडी टक्क रोकियो। सायद ऊ पनि भावुक भएछ क्यार। पुलपारी एउटा ढुङ्गामा रङ्गीन अक्षरले टिष्टानदी लेखिएको देखियो। दधिराज सर नदीको जल स्पर्श गर्न किनारमै पुग्नुभयो। हामी पनि उहाँको पछिपछि लाग्यौं। इतिहास नामको मालअड्डाको श्रेस्तामा कुनै दिन हाम्रा नाममा दर्ता कायम रहेको त्यो भूभागमा केहीक्षण अडिएर हामी अगाडि बढ्यौं। टिष्टाको पानी स्पर्श गरी सुमोमा चढ्दै गर्दा सवैका आँखा रसाएका जस्ता देखिन्थे गाडीमा चढेपछि कुराकानीका विषय त्यही नुनिलो इतिहास, उनी मन बिझाउने सुगौलीसन्धी र आजसम्म पनि हामीले लय हालेर गाउने गरेका टिष्टा र काँगडा सम्झाउने राष्ट्रिय गीत लगायतका विषयमा रुमल्लिइरह्यौं। त्यो बेलाका शासकले इस्ट इण्डिया कम्पनीसँग सम्झौता गरी उसैको नाममा यति पवित्र स्थान नाम नामजारी गरिदिनुपर्ने अवस्था किन आयो होला? मैले इतिहाससँग मनको असन्तोष प्रकट गरिरहें। नेपालको रहलपहल बाँकी भूभागचै वर्तमान शासकहरूले जोगाएर राखून्। यही निष्कर्षसहित लामो समयसम्म गाडीभित्र चलेको हाम्रो विचार विमर्शको यो एजेण्डाले विसौनी प्राप्त गऱ्यो।

            इतिहासमा खोसिएको आफ्नो भूभागलाई टाढाटाढासम्म हेर्दै हामी आफ्नो यात्राक्रममा थियौं। गन्तव्यको क्रममा गाडीभित्रै केही साहित्यिक माहौल सृजना भइरहन्थ्यो। कोही कविता वाचन गर्थे। कोही गीत गाउँथे। कोही गजल सुनाउँथे। हामीबीच समालोचकको समेत उपस्थिति आफैसँग भएपछि त झन सजिलो भैगयो। अन्त्यमा दधिराज सरले रोचक तरिकाले समालोचना गरिहाल्नुहुन्थ्यो। साहित्यका विभिन्न रसमा चोवलिंदै यात्रा गर्दा पत्तै नपाई समयले डाँडो काटेछ। सबै भोकले आतुर भैसकेका थियौं। अब त पेटपूजा गर्नैपर्ने भो। राजमार्गमा टाढैबाट एउटा देखा परेको ढावामा क्षुधाशान्ति गरेर दिनको दुई बजे हामी त्यहाँबाट पनि अगाडि बढ्यौं।

            हामी असमको कदमतला भन्ने ठाउँमा पुग्दा अपरान्हको चार बजेको थियो। त्यहाँनेर हाम्रै प्रतीक्षामा बसेका बद्री हजूरवाका भाइले स्वागत गर्दै हामीलाई केही खाजा र चिया खुवाउनुभयो। चालकलाई गन्तव्यको दिशानिर्देश गर्नुभयो। हामी निकासीलाई लक्ष्य बनाएर उहाँले औंल्याउनुभएको दिशातर्फ लाग्यौं। कदमतलाबाट हामीले आसामको राजधानी गुवाहाटी पुऱ्याउने त्यो राजमार्गलाई त्यहीं छाडेर भित्री भागमा रहेको निकासीसम्मपुग्न शाखासडक समाउनुपर्ने रहेछ। त्यही ग्रामीण सडकमा गुड्दै बेलुकाको आठ बजे हामी बल्ल निकासी पुग्यौं। साहित्यकार गुरागार्इंको सिंगै परिवार हाम्रो प्रतीक्षामा व्यग्र भएर बसेका रहेछन्। हामी पुगेपछि सबै खुशी भए। केहीबेर भलाकुसारी पछि भोजन ग्रहण गरियो। त्यसपछि असमको आतिथ्यानुरूप पानतामुल चपाउँदै उहाँहरूले व्यवस्था गरेको आआफ्ना विश्रामगृहमा राति एघार बजे सुत्न गयौं। म पनि त्यस घरको एउटा सानो कोठामा रहेको ठूलो ओछ्यानमा विश्रामको लागि पल्टिएँ।

            भोलिपल्ट बिहान सबै उठेर स्नानकर्म सकेर आँगनमा गोलाकार भएर कुर्सीमा बस्यौं। चिया, नरिवलका लड्डु, तील पीठा (असममा प्रचलित विशेष प्रकारको मिष्ठान्न) आदि जस्ता परिकारहरू चियाका साथमा आइपुगे त्यसलाई हाम्रो अगाडि मेरी फुपू अर्थात् साहित्यकार बद्री गुरागाईको छोरी अस्मिताले ल्याइपुऱ्याएकी थिइन्।

            दधिराज सर मेरा हजूरबुवा बद्री गुरागार्इंसँगको भलाकुसारीमा व्यस्त हुन थाल्नुभो। यसैगरी बिहानको भोजनको समय पनि भएछ। भोजन पश्चात् कार्यक्रमस्थलतर्फ लागियो। भुटानखुटी भन्ने ठाउँमा कार्यक्रम आयोजना गरिएको रहेछ। त्यहाँ त हाम्रै पुर्खाका सन्तान नेपालीबाहेक अरु थिएनन्। सबै समुन्नत, सबै शिक्षित र सभ्य अनि सबै आफ्नाजस्ता लाग्दथे। यस्तो वातावरण देख्दा यो ठाउँ एक टुक्रा छुट्टै नेपालजस्तो लाग्थ्यो। यो भुटानखुटी भन्ने ठाउँबाट भुटानको सीमा नजिकै रहेछ। निर्धारित समयमै कार्यक्रम शुरु भयो। दधिराज सरले आतिथ्यता ग्रहण गरेपछि कार्यक्रमले औपचारिक स्वरूप प्राप्त गरेको थियो। बद्री गुरागार्इं स्वयंले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साँझ 5 बजे कार्यक्रम सकेर आनन्दमय वातावरणमा सबैसँग बिदावारी भई हामी गुरागार्इं निवासमै फर्कियौं। राति फेरि रमाइलो वातावरणमा हार्दिकतापूर्वक हामीलाई खानपिन गराइयो। साहित्यकार बद्री गुरागार्इंको त्यस घरमा दुई रात रहेपछि पर्सीपल्ट अर्थात् भाद्र 31 गते बिहानै हामीले गुरागार्इं निवासबाट गुवाहाटीका लागि प्रस्थान गऱ्यौं। गौहाटी पुग्न हामीले निकासीबाट नजिक पर्ने रेल स्टेशन टीहूसम्म पुगेर रेल चढ्नु पर्नेथियो। टीहूसम्मका लागि एउटा छुट्टै गाडीको बन्दोवस्त मिलाइदिनुभएको थियो बद्रीपुत्र अनुप गुरागाईले। हामी टीहू पुगेपछि निर्धारित समयमै रेल आइपुग्यो र हामी त्यसमा चढ्यौ। रेल छुकछुक गर्दै हामीलाई लिएर गुवाहाटीतर्फ लम्किन थाल्यो।

            गुवाहाटी पुगेर पल्टनबजारको एउटा होटलमा बस्ने व्यवस्था मिलाइयो। बेलुका आयोजकका तर्फबाट गुवाहाटी निवासी जयन्त पराजुली र निरुशर्मा पराजुली हाम्रो स्वागतमा तम्तयार थिए। पर्सीको कार्यक्रमबारे केही छलफल गरेपछि जयन्तजीको सल्लाह वमोजिम उहाँले आफ्नै तर्फबाट शिलङसम्म पुगेर फर्कन हाम्रालागि एउटा सुमो गाडीको व्यवस्था मिलाइदिनुभयो। देउराली साहित्य सामाजिक मञ्च गुवाहाटीको निमन्त्रणामा राजधानी गुवाहाटी पुगेपछि पराजुली दम्पतिबाट हामीलाई प्राप्त त्यो विशेष आतिथ्यता हाम्रा लागि भ्रमणोपहारजस्तै बनेको थियो। पराजुली दम्पतिले मिलाइदिएको त्यो चाँजोपाँजोका कारण कार्यक्रमको अघिल्लो दिन बाँकी रहेको हाम्रो समय भरपूर सदुपयोग हुन पुगेको थियो। यसरी उहाँकै सल्लाह र सहयोगबाट हामीले शिलाङ नगरलाई हेर्न र छाम्न पाएका थियौं। हामी गुवाहाटी पुगेकै दिन अपरान्ह समय खेर नफालीकन माता कामाक्षाको दर्शनका लागि पल्टन बजारबाट गाडी रिजर्व गरी त्यसतर्फ हिंड्यौं। दर्शनार्थीको चाप धेरै थियो, तर हामीले धेरै प्रतीक्षा गर्नुपरेन। माताले तुरुन्तै दर्शनको व्यवस्था मिलाइहाल्नु भयो। सायद हामी पाथीभरा वा पशुपतिक्षेत्रका वासिन्दा भनेर हो। दर्शन सम्पन्न गरिरहँदा मन आनन्दले विभोर भएको थियो।

            असोज 1 गते बिहानै रिजर्व गाडीमा चढेर शिलङका लागि हामी प्रस्थान गऱ्यौं। घुमाउरा र चिल्ला सडक अत्यन्त मनोरम र अत्याधुनिक देखिन्थे। मेघालय सरकारले साह्रै मेहनतसाथ यी भौतिक संरचना तयार गरेको देख्दा आफूलाई भने सङ्कोच लागिरहेथ्यो। हामी उपमहानगर र महानगर भनिएका आफ्ना शहरका सडक र गल्लीहरू सम्झेर लज्जित भएको अनुभूत गरिरहेंथ्यौं। त्यहाँका सडकले महानगरका सडक त यस्तो पो हुन्छ भनी अव महानगर बन्ने सपना बुन्दैगरेका हामी विराटनगर उपमहानगरपालिकाका बासिन्दालाई गिज्याइरहेझैं लाग्थ्यो। त्यहाँका शासक प्रशासकहरू घूस पटक्कै खाँदा रहेनछन् की क्या हो? त्यहाँ भ्रष्टाचारको खेती नै नहुनेभन्दा अचम्मलागेको थियो। सुनेको थिएँ कि त्यो भूभागलाई त नागाल्याण्ड भनिन्छ। त्यहाँ त मान्छेले मान्छेलाई नै खान्छन् रे! त्यहाँका मान्छे लुगा पनि लाउदैनन् रे! त्यसैले यो प्रान्तको नाम नागाल्याण्ड रहेको रे! यहाँ त बाटाघाटा र शिक्षादीक्षालगायतको विकास निकै अगाडि बढिरहेको रहेछ। ‘मोरा नागाहरूको भूभाग’ भन्दै बस्ने हामी सभ्य भनाउँदा मान्छे पो जहींका त्यहीं रहेछौं। यसरी रमाइलोसँग शिलाङ भ्रमण सम्पन्न गरी सामूहिक रूपमा पराजुली दम्पतिलाई यो अवसरका लागि स्मरण गर्दै हाँस्दै रमाउँदै राती 8 बजे गुवाहाटीको पल्टनबजार आइपुगी नेपाली मन्दिर छेउमै रहेको होटल सागरमा गई बास बस्यौं।

            हामी गुवाहाटी पुगेको पर्सीपल्ट अर्थात् 2073 भाद्र 2 गते दिउँसोदेखि मात्र कार्यक्रम हुने भएकाले बिहानको समय घुमघाममै बित्यो। गोकुल भने त्यस दिन बिहान मिर्मिरेमै सुटुक्क हराएछन्। कुरो बुझ्दा सोह्रश्राद्धको दोस्रो दिन बुवाको तिथि परेकाले आफ्ना पिताले 12 वर्ष सम्म टेकेको ब्रह्मपुत्रको किनार नियाल्दै प्रसिद्ध उमानन्द मन्दिर घाटमा पितृस्मरणका लागि पो गएका रहेछन्। हामी जुन कार्यक्रममा सहभागी हुन मूल रूपमा त्यहाँ पुगेका थियौं त्यो कार्यक्रम केही ढिलो हुने भन्ने जानकारी पाइयो। त्यसका लागि कलाक्षेत्र भन्ने प्रसिद्ध सांस्कृतिक कुञ्जको निर्धारित सभाकक्षमा आइपुग्नुपर्ने भनी निमन्त्रणा गरिसकिएको थियो। कार्यक्रमको दिन कार्यक्रमस्थल कलाक्षेत्रको प्रस्थान अघि दुईवटा गाडीको प्रबन्ध भइसकेको थियो। हाम्रो होटल अगाडि हामीलाई नै पर्खी बसेका ती गाडीमा चढेर कलाक्षेत्रतर्फ लाग्यौं। कलाक्षेत्रको प्रवेशद्वारमा पुग्नेबित्तिकै त्यहाँ कुँदिएका कलात्मक चित्रहरूको प्रस्तुति देखेर यो स्थान कला संस्कृतिको जीवन्त बगैंचा रहेछ भन्ने भान भयो। विशाल भूभागमा फैलिएको त्यस स्थानले हामीलाई ज्यादै लोभ्यायो। त्यहाँका कलासाधक महान व्यक्तित्वहरूको जीवन्त इतिहास लेखिएको संरक्षित संग्रहालयको बाहिरपट्टि छुट्टै घरमा महान गायक भूपेन हजारिकाको स्मृतिमा निर्माण गरिएको अर्को छुट्टै संग्रहालय रहेछ। हाम्रा देशमा पनि यसरी नै कला संस्कृतिको संरक्षण गर्ने परिपाटी भएको भए हाम्रा पुर्खाहरूको र विभिन्न जातजाति एवं धर्मसंस्कृतिको सिंगो चित्र एउटै फूलको मालाझैं उनेर यसैगरी प्रस्तुत गर्न सकिने थियो भन्ने मलाई लागिरह्यो। हाम्रो देशको अस्थिर राजनैतिक वातावरणले गर्दा रहेका ऐतिहासिक धरोहरहरू पनि मासिदै गएको अवस्था छ। त्यो सम्झेर मन केही क्षणका लागि एकोहोरिरह्यो। कार्यक्रमको समय भैसकेको थियो। त्यहाँको वातावरण गरिमामय थियो। ठूलो मञ्चमा सुन्दर तरिकाले सजाइएको देउराली साहित्य सामाजिक मञ्चका सङ्गमको ब्यानर अगाडिपट्टि दर्शकदीर्घामा खचाखच साहित्यानुरागी मनहरू प्रतीक्षारत देखिन्थे। हाम्रो प्रवेश सँगसँगै सबैले उठेर स्वागत अभिवादन गरे। यो भव्यता देखेर हामी दङ्ग थियौं।

            उपन्यासकार लीलबहादुर क्षेत्रीज्यूको उपस्थितिले सो कार्यक्रम अझ गरिमामय बनेको थियो। उहाँकै अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम आरम्भ भएपछि हामी सबैलाई एकएक गरी मञ्चमा निम्त्याइयो। हामीलाई असमको प्रतीकचिन्ह जापी र फूलबुट्टे गम्छाद्वारा विशेष स्वागत अभिवादन गरियो। हामी बीचमा नेपालबाट आमन्त्रित प्रमुख अतिथिका रूपमा दधिराज सुवेदीज्यू हुनुहुन्थ्यो। कार्यक्रमस्थलमा साहित्यकार दश्रिणा गजुरेलका साथै प्राध्यापक पुरुषोत्तम भण्डारी, कवयित्री गोमा अधिकारीलगायतका केही साहित्यकारहरू हाम्रो आतिथ्य सत्कारका लागि खटिरहेका देखिन्थे।

            बेलुकी सात बजे कार्यक्रम सकिएपछि कलाक्षेत्र मात्र होइन सिङ्गै गुवाहाटीलाई छाडेर हिंड्नु थियो। साहित्यकार एवं कलाकर्मी दक्षिणा गजुरेलको विशेष सक्रियतामा गुवाहाटीस्थित नेपाली भाषाभाषीसँग बसेर नेपाली भाषासाहित्यका विषयमा अन्तरक्रिया गर्दै काव्यवाचनको आनन्द लिन पाएका थियौं हामीले। अघिल्लो दिन हामीलाई आफ्नै तर्फबाट शिलाङ घुम्ने अवसर मिलाइदिने सरकारी एड्भोकेट जयन्त पराजुलीको सहृदयी आफ्नोपन आत्मस्पर्शी लाग्दथ्यो। पराजुली दम्पति अर्थात् जयन्त र निरु हामी सबैलाई हिंड्नेबेलामा एकएक वटा कोसेलीको पोको हाम्रा हातमा राखिदिएर मात्र बिदा भए। त्यो सद्भावको उपहार च्याप्दै सोलुङसम्मका लागि रिजर्व गरिएको सुमो गाडीमा हामी चढ्यौ।

            हामी चढेको गाडी आसामको नैगाउँ जिल्लाको कलियावरमा पर्ने सोलुङ भन्ने गाउँमा रहेको मेरी दिदी धनप्रभाको घरमा पुग्दा रातको 11 बजिसकेको थियो। भिनाजु टीकाराम सुतिसक्नुभएकाले उहाँलाई उठाइएन। दिदी तथा भान्जा खेम र बुहारी भूमिका हाम्रो प्रतीक्षामा त्यसबेलासम्म बसिरहेका थिए। खाना खाइसिध्याएर ओछ्यानमा पल्टँदा झण्डै मध्यरात भइसकेको थियो। असमको आतिथ्य सत्कारले राति र दिउँसो छुट्याउदैन। असमको मनले आफ्ना र अर्काका बीच हत्तपत्त भेदभाव गर्दैन। जसरी म एक्लै दिदीका घरमा अघिपछि पुग्दा जुन हर्ष र सत्कार पाउने गर्थें त्यही सत्कार सात जनाको समूह लिएर त्यति राति पुग्दा पनि यथावत् थियो। हामी यताका मान्छेका लागि असमका वासिन्दामा रहेको आतिथ्य संस्कारको हार्दिकता अनौठो लाग्न सक्छ। हुनतः असमको जहाँजहाँ नेपाली भाषाभाषीको वसोवास छ त्यहाँ सबै सगौरव शिर ठाडो पारेरै बस्ने गरेका छन्। आफ्नो जातीय संस्कृतिलाई जगेर्ना गरेरै बसेका छन्। विद्यालय र महाविद्यालयमा असमीया र नेपाली मूलका बासिन्दाहरू बराबर रूपमै रहेका देखिन्छन्। धेरैवटा हाइस्कूलमा प्रधानध्यापकलगायत बहुसंख्यक शिक्षक त नेपाली भाषाभाषी नै रहेछन्। त्यहाँका शिक्षित महिलाहरूमा यहाँको जस्तो रवाफ वा देखावटी गर्ने प्रवृत्ति छैन। नब्बे प्रतिशत महिला शिक्षित र साक्षर छन्। अत्यन्तै सादा जीवन बाँच्छन् र शालीन व्यवहार उनीहरूमा रहेको देख्न सकिन्छ। चाडपर्वहरू नेपालको जस्तो विकृत छैन। उनीहरू चाडपर्वलाई यी पर्वको मौलिक स्वरूपमा कुनै खल्वल नपुऱ्याइकनै मनाउँछन्। यहाँको जस्तो धार्मिक र पूजाआजा गरी मनाइने चाडपर्वमा पनि कुनै होटल वा पार्टीप्यालेसमा आदिमा पुगी भड्किलो रूपमा मनाउने गर्दैनन्। मादक पदार्थको गन्दबाट उनीहरू कोसौं टाढा छन्। आभूषण अलङ्कार पनि जेथा अनुसार र मितव्ययी हिसावले लगाउँछन्। यो चै उनीहरू शिक्षित हुनुको आदर्श परिचय हो जस्तो लाग्छ। भोलिपल्ट अलि ढिलै निद्रा खुल्यो। उज्यालो भएपछि हामी वरपर सल्बलाउन थाल्यौं। दिदीले घरबाट खाना खाएरै मात्र अतिथिहरूलाई जान दिने भनी ढिपी गर्नुभएपछि हामी दिदी भिनाजुको आग्रहलाई मान्ने भयौं। हामी सोलुङमा दिदीका घरमा खाना खाएर 10 बजे त्यहाँबाट तेजपुरका लागि प्रस्थान गऱ्यौं। तेजपुर पनि ऐतिहासिक सहर हो। तेज भनेको स्थानीय भाषामा रगत र पुर भनेको राजधानी हो। दुवै मिलेर रगतको राजधानी भनिएको रहेछ। यसको पुरानो नामचैं शोणितपुर हो। शोणितपुर अहिले जिल्ला बनेको छ।

            ऐतिहासिक कथन अनुसार सत्ययुगमा वाणासुर राजकी अति सुन्दर कन्या उषाले एकरात सपनामा एकजना अत्यन्त सुन्दर राजकुमारलाई देखिछन्। भोलिपल्ट ब्युँझेपछि ती राजकुमारलाई नै समझेर खानपिन समेत त्यागेर पागलजस्तै भएर बसिछन्। उनकी प्रिय सखी चित्रलेखाले यो देखेपछि त्यसको कारण सोधिछन्। चित्रलेखा त्यसबेलाकी अत्यन्तै प्रतिभाशाली चित्रकार मानिन्छन्। उनमा मायावी शक्ति पनि रहेछ। उनले उषालाई सम्झाउँदै भनिछन्। ‘किन यस्तो चिन्ताले थलिएकी? म तिम्रो समस्या समाधान गरिदिन्छु।’ चित्रलेखाले यसो भनेपछि ती राजकुमारीले सबै कुरा बेलिविस्तार लगाइछन्। पछि चित्रलेखाले उषाले उल्लेख गरे बमोजिमकै एक राजकुमारको सुन्दर चित्र कोरेर ल्याइछन्। यो चित्र देखेर उषाले खुशी हुँदै भनिछन् – ‘मेरो सपनामा यिनै राजकुमार आएका थिए त्यसैले म यिनलाई पाउन चाहन्छु।’ पछि पत्ता लगाउँदा ती चित्रमा कोरिएका राजकुमार त श्रीकृष्णका नाति अनिरुद्ध पो रहेछन्। वचन दिइसकेकाले चित्रलेखाले भनिछन् – ‘तिम्रा राजकुमारलाई म आजै अपहरण गरेर तिम्रासामू ल्याइदिन्छु।’ त्यसपछि चित्रलेखा द्वारकातर्फ हवाइमार्ग हुँदै पुगिछन् र आफ्नो मायावी शक्तिले राजकुमार अनुरुद्ध सुतेको खटियासमेत उडाएर लगिछन् र उषाको अगाडि उपस्थित गराइछन्। अनिरुद्धले पनि राजकुमारीलाई देखेपछि मोहित भई दुवैले गन्धर्वविवाह गरेछन्। त्यसपछि क्रुद्ध भएका राजा वाणासुरले छोरी अपहरण गरेको आरोपमा अनिरुद्धलाई बन्दी बनाएछन्। ‘युद्ध गरी जितेर आफ्नो नाति लैजा’ भनी श्रीकृष्णसमक्ष दूत पठाएछन्। यसै क्रममा कृष्ण र वाणासुरको भयानक युद्ध भयो। वाणासुर शिवका भक्त थिए। आफ्ना भक्त वाणासुर अफ्टेरोमा परेको देखेर भगवान शिव आफै श्रीकृष्णसँग लडाइँ गर्न त्यस स्थानमा आएछन्। स्वयं कृष्णरूपी नारायण र शिवको बीचमा ठूलो युद्ध भयो। हजारौं सैन्यहरूको मृत्यु भयो। सबैतिर रगतैरगत देखियो। अनिरुद्ध र उषाको विधिवत् विवाह भयो। त्यस स्थानको नाम त्यसैवेलादेखि शोणितपुर रहन गयो। यही पौराणिक इतिहासलाई जीवित राख्दै महाभैरवको मन्दिर तेजपुरमा रहेको छ। यसैगरी युद्धकालीन समयलाई बुझाउने स्थानको रूपमा अग्निगढ पहाड, उषापार्क, उषाको ढिकी, कोलपार्क आदि त्यहाँ देख्न पाइन्छ। हामी त्यही पौराणिक कथनहरूको सेरोफेरोमा रहँदै विराटराजाको राजधानी विराटनगरबाट वाणासुरको राजधानी रहेको स्थान शोणितपुर (हाल तेजपुर) आइपुग्यौं।

            सोलुङबाट तेजपुरतर्फ आउँदा पाँच किलोमिटरको ब्रह्मपुत्र नदीको पुल तरेपछि चानमारी आइनपुग्दै साहित्यकार बहिनी रीता सिंहको आग्रहमा उहाँको निवासमा रोकियौं। त्यहाँको वनविभागमा कार्यरत रीताले सरकारी घरमा रहेको आफ्नो वासस्थानमा हामीलाई स्वागत गरिन्। त्यहाँबाट हामी कवि साहित्यकार मित्रदेव शर्माको निमन्त्रणामा चान्दमारीस्थित नेपाली समुदायले बनाएको मन्दिर र मन्दिर परिसरमै रहेको पुस्तकालयमा पुग्यौं। चान्दमारीस्थित त्यो मन्दिर एवं पुस्तकालय रहेको स्थानमा स्थानीय साहित्यकारको एउटा समूह हाम्रो स्वागतका लागि प्रतीक्षारत् थियो। हामी त्यहाँ पुगेपछि पुस्तकालयको हलमा हामीलाई स्वागत गरियो। संक्षिप्त त्यो सभाको अध्यक्षता साहित्यकार दुर्गा घिमिरेले गर्नुभएको थियो। आछामे फूलबुट्टे गाम्छाद्वारा हामीलाई स्वागत गरेपछि असम र नेपालको नेपाली साहित्यका विविध पक्षमा केही औपचारिक र अनौपचारिक छलफल गरियो। पुस्तकालयको निरीक्षण गरी त्यहाँबाट साहित्यकार मित्रदेव शर्मा दम्पतिकै विशेष आग्रहमा चान्दमारीमा रहेको उहाँको घरमा गई केही क्षण बसियो। चियापान पश्चात मित्र दाइले दिनुभएका केही पुस्तकका उपहारहरू प्रेमपूर्वक ग्रहण गर्दै हामी चान्दमारीबाट तेजपुरको बसपार्कमा आइपुग्यौं जहाँ हामीलाई सिलीगुडीसम्म पुऱ्याउन पूजा डिलक्स नाम गरेको रेलमाझै आरामपूर्वक सुत्ने सीट भएको बस पर्खिरहेको थियो।    

साभार – चेतना सन्देश

अविस्मरणीय गौहाटी दर्शन

► प्रो. गोविन्दराज भट्टराई

19 कार्तिक मंगलबार (5 नोवेम्बर 2013)

            म चाडैं ब्युँझें। निद्राको घनत्वमा शरीरको थकान भर पर्दछ। यस्तो गाढा निद्राले छिटै थकाइ हरण गर्दछ। आज मलाई त्यस्तै भयो। धेरै माथिबाट पर्दा खोल्छु- पूर्वमा अद्भुत सुन्दर कलाले स्पर्श गर्दैछ। त्यता हेऱ्यौं, गाढा हरिया लाग्ने होचा पर्वत माला देखिन्छन्। त्यता पातलो कुहिरोजस्तो तुवाँलो रूखका टुप्पातिर घरका अट्टालिकातिर त्यतै अलमलिएर पिङ खेल्नेजस्तो गर्दै छ यो बिहान। पूर्वबिहान भनौं केवल अरूणिमा बढ्दैछ। यान साधनहरू भर्खर एकदुई ब्युँझे शायद हिजोको रामरउसले होला; हिजो शहर सारा रङको समुद्रस्तो देख्यौं; रङहरूमा शहर उम्लेका वा नाचेका देख्यौं अनि तरङ्गमा नाचेको सुन्यौं। आज कस्तो सुनसान र यो विरानोजस्तो नीरवता।

            आमा छोरी निद्रामै थिए। त्यसैबेला म लेख्न बसेको हुँ। कस्तो हुन्छ भने अनेक वस्तु र कर्मका तरङ्गले छिनछिनमा मेमोरी चिप्स भरिन खोज्छ। स्मृतिमा सबै कुरा नबिराई टिपौं भन्छु तर दिनभरिमै चिप्स भरिएजस्तो हुन्छ। त्यसै कारण यस्ता यात्रामा म बिहान बेलुका, समय चोरेर निद्रा मारेर पनि लेख्ने गर्छु – यो कुराको मैले अन्यत्र पनि उल्लेख गरेको छु। त्यसरी मलाई कथार्सिस अर्थात् विरेचन चाहिन्छ। नलेखेर, लेख्न नसकेर उत्पन्न भएको ग्लानि र पश्चात्तापले नित्य मुटु खाइरहन्छ; त्यो म धेरै खप्न सक्तिनँ। मेरा केही यात्रा त्यसरी लेख्न नसकेर व्यर्थ र अनर्थ भएका छन्। तर प्रायः सधैं म सचेत हुन्छु। मेरो टिकट, केही फोन नम्बर र कलम डायरीमै हुन्छ प्रत्येक यात्रामा यसपालि त लेखौंला भन्ने चिन्ताले।

            पूर्वको लालिमा र तलका हुस्सु-पर्दाको मिलन बडो रहस्यमय भयो। हेऱ्यौं – शहर अझै सुतेको छ। यतिबेला त्यो रात्रिको जादूरहित, तमासारहित आवरण फुकालेको रंगहीन यथार्थ जस्तो छ्याङ्ग देखिएको यो शहर त्यति राम्रो छैन। यसमा त्यो रातको मादकता छैन। यसरी प्रत्येकपल्ट रातभरिको मादकताले हामी दिनभरि जीवन्तजस्ता रहन्छौं। अग्लाअग्ला होडिङबोर्डका कङ्काल, होचाअग्ला घरमहल र तलतल सुतेका झुपडीहरू कहाँ यतिबेला रात्रीको सुन्दरता हुन्छ! यथार्थता यस्तै नग्नझैं हुन्छ।

            ब्यूँझँदा काठमाडौंभन्दा अलि भिनन तर भारतको कुनै शहरको यान्त्रिक बिहानजस्तो लाग्यो। यन्त्रबेगरको कुनै शहरको परिकल्पना हुँदैन। दन्त्यकथाका शहर मात्र त्यस्ता बाँकी होलान्। यता बिछ्यौनामै सुनिन्छ अलिक ठूला भाले गाडीहरू अत्यन्तै चर्को स्वर र तीव्र गतिले हावा हल्लाउँदै उड्छन्। पोथी गाडीहरू त्यो आफ्नो मार्गमा कुनै विजित पथिकझैं मधुरगीत गाउँदै बत्तिन्छन्। अलिक पर्तिर पल्टनबजार छेउमा रेलको गति मात्र अनुमान हुन्छ – गर्भगृहमा हुँकारसाथ केही बगेको हुनुपर्छ, धर्ती कम्पितजस्तो लाग्छ तर आवाज बेगर भित्रभित्रै बगेको महाप्रलयजस्तो छ। काठमाडौंमा आवाज र गतिका यति स्वरूप छैनन्। गाडीका कर्कशताहरू मात्रै छन्, समरूपीय सबै। फेरि पर्दा उघारी हेरें – पूर्वको फिलिङ्गो अब पहेंलिएको छ, नजिकैका रहस्यलाग्ने पर्वतहरू, हरिया झाडी भै शहरको अंगरक्षकजस्ता उभिएका छन्। कस्तो रहस्य लाग्छ गौहाटी आज।

            आजको दिन गौहाटीलाई अर्पित छ। अघि नै डा. खगेनसँग परिभ्रमण सूची (आइटिनरेरी) तयार छ। तर यो भाइटीकाको दिन नेपाली समुदाय सम्पूर्णरूपले त्यता लागेको दिन परेछ। तथापि उनले सबै रूपरेखा टिपेका थिए। पहिलो कार्यक्रमस्वरूप कामाख्या देवीको मन्दिर दर्शन थियो। त्यसो त अञ्जनाले आशौच बारेकीले पूजाआजा वर्जित थियो तथापि बाहिरी परिक्रमा गरौं भन्ने भावले, यहाँका नेपाली जनमा पनि यस पवित्र स्थानप्रति हाम्रो गम्भीर आस्था रहेको छ भन्ने भएकाले हामी कामाख्या दर्शनको निमित्त प्रस्थान गऱ्यौं।

            हाम्रो प्रस्थान त के थियो र साहेब खान एउटा सेतो कारसँग तल तत्पर थियो। फुलुमुनि शर्मा पथप्रदर्शिका तयार थिइन्। दुवै डा. खगेनका स्वजनहरू। कति राम्रो कुरा, आसामी युवती उच्च शिक्षापश्चात् हालै मात्र दश महिने नेपाली भाषा तालिम (डिप्लोमा) गरेकी; आसामी, अङ्ग्रेजी, नेपाली त्रैभाषिक कोशविज्ञानमा सहायक भै कार्य गर्न थालेकी। नेपाली बोल्नसक्ने पथप्रदर्शिका।

            शहर राम्ररी ब्युँझनुपूर्वै चिसो, नरम बतासको स्पर्श अनुभव गर्दै हामी साहेब खानसित उड्यौं। साहेब खान आफैं पनि पथप्रदर्शकजस्तो गर्दै यताउताका अवस्थितिहरूको बयान गर्दछ। उसको हिन्दी विचित्रको छ। निकैबेर पश्चात् सफा मार्गले हामीलाई एउटा डाँडाको फेदमा पुऱ्यायो। डाँडो, पहाड र पर्वतका बीच आकारगत सूक्ष्म भेद छैन। यो डाँडा भन्नाले स्वयम्भू जस्तै उठेको तर धेरै अग्लो थुम्को, बोटवृक्ष, वनस्पतिले झ्याम्म ढाकेको कालोजस्तै थियो। मानव बस्ती बेगरको नागबेली पर्दैपर्दै बाटो माथिमाथि चढेको। यो पुष्पित पाखामा कतिपय वृक्षवनस्पति सुपरिचित थिए। यद्यपि यो उकालो चढ्दा मैले ग्रिस शहरको मध्यबिन्दु ओलम्पिया पर्वत सम्झें। उता हङकङको भिक्टोरिया सम्झें। ठिक यस्तैयस्तै थिए ती। यस्तै घुम्ती र वृक्ष वनस्पतिले सुशोभित थिए ती। ओलम्पियाचाहिं अर्धहरित थियो।

            धेरै घुम्ती पश्चात् माथि शिरमा ल्याण्ड गऱ्यौं। एउटा ससानो सुगन्धित बजारबाट मन्दिरहरूको संसारले तिनका आकृतिले ढाकिएको ठाउँ। डाँडाको टुप्पैमा बनेको पार्कमा अनेक साधन प्रतीक्षामा थिए। त्यहाँबाट गौहाटी र परिवेश अनेक घुम्की र डाँडाले भरिएको वन्यक्षेत्रझैं देखियो। कति ठाउँमा बाँस, वनकेरा ज्यादाजसो सुपारी, नरिवल तथा काला पहेंला फूल फुल्ने वृक्ष बिहानको बतासमा बयेली खेलजस्ता लाग्दथे।

            अन्यत्रका मन्दिर दर्शनतिर जाँदा कति ठाउँमा पण्डा-पुजारीले छेकेरघेरेर यात्रीलाई हैरान गरेको देखेको सुनेको थिएँ। त्यस कारण पनि ठूलाठूला मन्दिर जान मलाई कहिल्यै इच्छा हुँदैन। तर यहाँ पहेंला, सिंदुरे गेरु वस्त्रमा सजिएका असङ्ख्य पण्डापुजारी थिए, त्यति नै सङ्ख्यामा स्वतन्त्रतापूर्वक घुमिरहेका बोका पाठा परेवा र बाँदर थिए – तर कसैले छेकेन, खेदेन। हामी स्वतन्त्र भएर यो प्राचीन मन्दिरको सफा र स्वच्छ परिसरको परिक्रमा गऱ्यौं। त्यसो त फूल, प्रसादी, डोरा, धागा, बिक्रेताको संख्या सर्वाधिक थियो तर ती पनि आवेगहीन अनाक्रमक जस्ता थिए।

कामाख्यामा दर्शनार्थीको पालो

            कामाख्यामा दर्शनार्थीको पङ्क्ति देखेर आश्चर्य लाग्यो। तिनीहरू नरनारी एकै हारमा बालबच्चा समेत उभिएका छन्, चारैतिर फलामका कडा बार, बीचमा प्यासेज, त्यही प्यासेजमा; कारागृहमा झैं उभिएका छन्, पङ्क्ति कहिल्यै नसर्नेजस्तो लाग्छ किनभने कति थाकेर चिसो भुइँमा थचक्क बसेका छन्। उता पर्तिर अर्को समानान्तर हार छ – ‘त्यो मात्र किन सर्दै छ फुलुमुनि?’ हामीले सोध्यौं। ‘त्यसले चन्दा ज्यादा तिर्छ’, उनले भनिन्। फेरि सोध्यौं – ‘यता सर्न नसकेको हार कहिले मन्दिरमा पुग्छ – यो; ‘यो त दोपहरको बाद पुग्छ; कहिले शामको पुग्छ।’ उनले प्रष्ट पारिन्।

            धर्मप्रति मान्छेको आस्था र अन्ध आस्था, निष्ठा सबै छ। पण्डापुजारी मध्यस्थकर्ता छन्। घरबाट हिंड्ने बेलामा आमाले सम्झेर सुनाएको कामाख्या दुरूस्त छ – 2009 सालमा 22 जनाको हूल पुगेका थियौं, तेरा बाले रेलमा चढाएर लानुभएको, तेरी हजुरआमा पनि हुनुहुन्थ्यो तर त्यसरी मन्दिरसम्मै पुग्ने गाडी थिएनन्। जंगलैजंगल माथि जाँदाजाँदा डाँडाकै टुप्पोमा पुग्न एक बिहान लाग्यो। पण्डापुजारीले देखाए, पूजा गराए राम्रो भयो। त्यसपछि हामी ब्रह्मपुत्रको बीचमा रहेको उमानन्द मन्दिरको दर्शन गर्न ठूलो पानीजहाज चढेर गयौं इत्यादि।

            बिस्तारै परिसरको परिक्रमा गऱ्यौ। भक्तहरूको छेउमा उभिएर पेडाप्रसाद माग्ने अति नै अग्ला बोकाहरूले परिसरको आधी जनसंख्या भरिएको छ। तर ती पनि साधु छन्। दर्शनार्थीलाई हान्ने, झम्टिने वा पशुपतिका बाँदरले झैं लुट्ने भए कस्तो हुन्थ्यो होला।

परिसरका अग्ला बोका

            त्यो मन्दिरको संरचना ज्यादै अनौठो छ। एक सर्को परिक्रमापश्चात्, हामी बिस्तारै ढुंगे सिंढी ओर्लियौं। एक प्रसिद्ध शक्तिपीठ पुगेको आनन्दसँग झऱ्यौं। साहेब खानले अघिको मार्ग फेरि तल झाऱ्यो। हाम्रो दोस्रो गन्तव्य उमानन्द थियो। मैले त धेरै बेरसम्म ‘मानन्द’ ‘मानन्द’ भनेको सुनें। अभ्यस्त उनीहरूको ‘उमा’ उच्चारण लोप हुँदो रहेछ, हाम्रो वराहक्षेत्र घटेर ‘बाराछेत्र’भएजस्तै। ‘मानन्द’ कुनै द्वीप होला ठानेको थिएँ। नजिक पुगेपछि देखियो – यो त गौहाटी शहरको एक किनारा भएर बग्ने ब्रह्मपुत्रको बीचमा अवस्थित एउटा ससानो टापु रहेछ। त्यो प्राचीन टापु सम्पूर्ण रूपले कठोर पत्थरमाथि बसेको तर वृक्षवनस्पतिले ढाकेर झ्याम्मै कतै नदेखिने थियो। वारिबाट हेर्दा भित्र लुकेका केही मन्दिर भवनजस्ता संरचना देखिए। मेनरोडका छेउमा गाडी बिसाएर अलिकति निकासजस्तो ठाउँबाट हामी ब्रह्मपुत्रतिर झऱ्यौं। बालुवा र लेदोले सबै बगर ढाकिएको थियो। तर वर्षायाम सकिएकाले पाँगो माटो बालुवा जमेर सिमेन्टी भएको थियो। ब्रह्मपुत्रको जलराशिले धोएर उताको छेउ चिसो थियो, अरू चट्टानको आँगनजस्तै। नदीको तटमा विभिन्न आकृति र स्वरूपका कालीका मूर्तिहरू थिए, कालीपूजा भर्खरै सकिएको थियो। सयौं मूर्ति – कुनै पछ्यौरा ओढेकी, कालो कपाल भएकी, नीलो शरीर, मानवकल्पित पूजनीय नारीस्वरूपका परम आदिमाता बनिएका सारा मूर्तिहरू नदीमा विसर्जन गर्न निषिद्ध भएर पर्यावरण जोगाउन नदीतटमै बिस्तारै बिलाइरहेका कालाकृति थोरै थिएनन्।

ब्रह्मपुत्र किनारका कालीका मूर्तिहरू वर्षायामपछिको ब्रह्मपुत्रको जल सङ्लिन थालेको थियो। लहरै साना ठूला बोट र फेरी (नाउका प्रकार) थिए। गभर्मेन्ट र प्राइभेटहरू थिए। हामी 15-20 को समूहले एउटा सानो ढुंगा रोजेर चढ्यौं, जनी 40 तिरेर पस्यौं र उमानन्द टापुको यात्रापथमा जलाशयमा तैरिन थाल्यौं। धेर समय लाग्ने होइन, दस मिनेट। पारि पुगेर हेऱ्यौं – विशाल पत्थरमाथि माटो जमेर त्यसमाथि उभिएका वनस्पति; प्राचीन कालदेखिका रूखवृक्ष बटारिएर ढल्केका। एउटा तित्रीको रूखले ता आकाशै छोएको थियो। पत्थरिला सुन्दर सिंढी चढ्दै गऱ्यौं, सिरानमा प्राचीन मन्दिरहरू थिए। दक्षिणी भारतीय शैलीका, एउटा गर्भगृहमा शिवलिङ्ग उत्पत्ति भएको स्थल छ भन्थे, हनुमानहरूदेखि अनेक देवीदेवता थिए। केही पुजारी, केही पुष्प व्यापारी त्यस्तै दसआठ घर थिए हुनन्। बस त्यत्ति। कुनै हलचलबिनाको शान्ति थियो। सङ्लिन लागेका ब्रह्मपुत्र बेलाबेला छ्याप्लाङ्ग आवाज गरेर कतै ठोकिन्थ्यो, फेरि उचालिएर लहरसँग बगिरहन्थ्यो। पक्षीले ढाकेको त्यस टापुको प्रशंसा गर्दै फुलुमुनिले भनिन् – ‘यो संसारमै सानो टापु।’

            कसरी त्यो हुन सक्छ? अनेक टापुका कोरिया वा जापान भए। ग्रिसमा मात्रै 500 भन्दा बढी थिए – अरू लाखौं टापु पत्ता लागेका हजारौं नलागेका, तीमध्ये कसले मापन गरेर भन्न सक्छ उमानन्द टापु सबैभन्दा सानु हो? यसरी भावनाका कुरा भावुकताका कुरा गर्दै लाँदा मिथकमा परिणत हुँदा रहेछन्। त्यसमा तर्क गरी सत्यापनको खोजी आवश्यक थिएन, जिज्ञासा मात्रै।

            एउटा दर्शनीय स्थल हेरेर फर्कियौं – ससानो विषयवस्तुलाई पनि प्रबन्ध गरेर दर्शनीय बनाउँदा, संरक्षण गर्दा सयौं हजारौंको यात्राकेन्द्र हुने रहेछ। हाम्रो देशमा यस्ता अमूल्य, दर्शनीय, विचित्रतायुक्त स्थलहरू कति हो कति छन् तर त्यसताप्रति हाम्रो ध्यान जान बाँकी छ पाँच सय यात्रीअट्ने जहाज उमानन्द वारिपट्टि पर्खिबसेको देख्ता मेरो मनमा त्यस्तो भरियो। अरूको आँगनमा केही नौलो नयाँ देख्यो कि आफ्नै घरको सम्झनाले त्यस्तो हुँदो रहेछ।

            त्यसपछि हामी गौहाटीको एक अति महत्त्वपूर्ण र अवलोकनीय स्थल श्रीमन्त शङ्करदेव कलाक्षेत्र पुग्यौं पञ्जावारी भन्ने शान्त ठाउँमा विशाल क्षेत्र ओगटेर बनिएको यो कलासंस्कृतिका सङ्ग्रहालयमा तीन घण्टा बितायौं यसको प्रवेशद्वारदेखि नै आँगन र चौरीदेखि नै आसामको विशिष्टताजनाउने कलाकृति स्थापत्य, मूर्ति र चित्रहरू, केही मिथक र विश्वासका बिम्ब र प्रतीकहरू, जनजीवनका झाँकीहरू हेर्दै गयौं। त्यस्तै सुन्दर बाग अनि लन र जलाशयहरू, घाँस, बुट्यान र वृक्षहरू -धेरै पर पुगेछि आसामको जनजीवन संस्कृति झल्काउने सङ्ग्रहालय भवनमा पुग्यौं।

            महापुरुष श्रीमन्त शंकरदेव पन्ध्रौं शताब्दीका एक बहुश्रुत व्यक्तित्व थिए। आसामी समाजका पूजनीय व्यक्तित्व शंकरदेव एक सन्त, विद्वान, कवि, नाटककार, समाजसुधारक थिए। अतीतको कला संस्कृतिलाई नवीन रूपमा प्रस्तुत गर्ने महापुरुषले संगीत, नाट्य वा कला-साहित्यका प्रत्येक क्षेत्रमा अतुलनीय योगदान दिएका थिए। उनले अनुसिर्जना गरेको शंकरदेव भागवत अत्यन्तै लोकप्रिय छ। भारतीय उपमहाद्वीपमा गुरु नानक, कबीर, चैतन्य महाप्रभुको जुन स्थान छ श्रीमन्त शंकरदेवको त्यही छ।

            मैले गरेका प्रायः सबै यात्रामा सङ्ग्रहालय पहिलो प्राथमिकतामा पर्दछन्। आफ्ना आँखाले देखेका वस्तुहरू, पुस्तकमा पढेका विषयभन्दा स्पष्ट र जीवन्त लाग्छन्। कलाकृतिको माध्यमले देखाउने दृश्यहरू जीवनको यथार्थतासँग अकृत्रिम र अति यथार्थ हुन्छ। संग्रहालयमा वाद्य साधन, नृत्यमुद्रा, जीविकाका परम्परित शैली, वर्तन, लोकतत्त्वका अनेक पक्ष अनेक झाँकी कत्रो परिश्रमपूर्वक यथावत् राखिएका सुरक्षित छन्। यहाँका अनेक जातजातिका साधन, वस्त्र, आभूषण र झाँकी छन्, चियाबगानमा दैनिक जीवन छ, कृषक, पशुपालक, नृत्यझाँकी, तीमध्ये एक नेपाली दम्पत्तिसमेत देखेर हामीलाई अपार हर्ष भयो। यद्यपि ती चित्र त्यति उपयुक्त थिएनन्। नेपाली पुरुषले सेतो भ्याङ्ले दौरासुरूवालमा लामो खुकुरी भिरेको छ; शिरमा ढाकाटोपी छ तर अरू जातिका चित्रझैं ती एक्सनसहितका सजीव छैनन्। तिनी जीवन्त परिवेशरहित छन्। केवल पुतला जस्ता छन्। नेपाली नारीको पनि चित्र अङ्कित मात्र छ। सजीवता छैन। आशा छ, आसामी नेपाली जातिले सम्बन्धित निकायसमक्ष अनुरोध गरी यी निर्जीव हास्य चित्रलाई जीवन्त पात्रमा परिणत गर्न मद्दत गर्नुहुनेछ।

            त्यहाँबाट निस्केर हामी डा. भूपेन हाजरिकाको नाममा सरकारले उहाँको जीवनकालमै स्थापना गरिदिएको सङ्ग्रहालयमा प्रवेश गऱ्यौं। त्यो भवन कलाक्षेत्रको आमनेसामने थियो। एउटा अत्यन्तै कलात्मक, शान्त, सुन्दर भवनमा बाहिरै जुत्ता खोलेर सिकुवालाई अभिवादन गर्दै दर्शनार्थीले प्रवेश गरे। प्रवेशद्वार नकट्तै उहाँको मधुर स्वरमा भावनापूर्ण संगीत बजेको सुन्यौं। हेर्दै गयौं – एउटा कक्षमा उहाँका अमूल्य चयनका पुस्तक, अन्य संकलन, सि.डी., पाण्डुलिपि; अर्कामा उहाँका कृतिहरू, अर्कामा अनेक भेटघाट मिलनका स्मृति सोभनिर, अर्कामा उहाँले प्रयोग गरेका यावत् वस्तुहरू – लामा किमती वस्त्र, जुत्ता, चश्मा, कलम, कापी, वाद्यसामग्री, भादगाउँले ढाका टोपी, अरू प्रिय वस्तु; अन्य कोठामा अत्यन्तै निजी र प्राइभेट सामग्रीहरू – पुराना ग्रामोफोनदेखि नयाँका सि.डी. र अन्य उपकरण, तस्बिर र पत्रले सजिएको उज्यालो कोठा। त्यसो त मैले बेलायतमा शेक्सपियरको आवासदेखि रूसमा टाल्सटय आवासको संग्राहालय हेरें, थाइल्याण्ड र कोरियामा राजप्रसाद र अवशेष स्मारकहरू हेरें – पछिल्लोचाहिं कोरियाली विदुषी लेखिका म्योङ्ग ही (1946-1998) को निजी संग्रहालय स्मारक हेरेको सम्झना छ। त्योभन्दा जीवन्त भूपेन हाजरिकाको देखें। देख्यैपिच्छे आफ्नो देशको सम्झना आउँछ – आखिर हाम्रोमा कसैको पनि स्मृति अवशेष छैन भन्दा हुन्छ। विद्यापतिको छैन, महाकविको छैन, विपीको छैन, इमानसिंहको छैन, सिद्धिदासको छैन; नारायणगोपालको छैन; पछिका पनि कसैको छैन। सम्पन्न स्थितिका लेखक स्वयम्ले कतै बल गरेका छन् तर त्यो पनि होलाजस्तो लाग्दैन। सर्वप्रथम सरकार सचेत हुनुपर्छ; सरकारको लक्ष्यअनुसार पछि विज्ञ जनता। जनताको अर्थ भीड होइन; मर्मज्ञको समुदाय। नेपालमा श्रष्टाको जीवनकालमै खोलिएका फाउन्डेसन र प्रतिष्ठानको संख्या हजार पुग्नै लाग्यो होला। तर अधिकांश त सीमित स्वार्थले अमर हुने इच्छाले गरिएका/गराइएका छन्। त्यसका संस्थापक सिदधिएपछि ती मुढेबलहरू धमिराका ढिस्का हुन्छन्। समयले नै गर्नु गराउनु पऱ्यो; जनस्तरले नै उठ्नु उठाउनु पऱ्यो। कला साहित्य संस्कृतिको उत्थानमा संगठित भएर वौद्धिक वर्ग उठेको छैन भने अरू जस्तोसुकै होस् प्रयत्नको कुनै अर्थ रहने छैन।

            नेपालमा एउटा नमुना संग्रहालयको स्थापना हुनु परेको छ। महाकविको स्थापना नगरी अरूको हुनु र गर्नु भनेको पनि देशप्रति उपहास गर्नु हो। तर गर्दै छन्, महाकविको सालिक राख्ने ठाउँमा आफ्नाको राख्तै छन्। बलात् ठड्याइएको सालिकले को अमर हुन्छ?

            सङ्ग्रहालयबाट निस्केर फेरि परिवेश घुम्यौं। थुम्कामा डाँडा, घना जंगल भित्रभित्रै बाटा छन् र धेरै पर र भित्र एउटा ओपन थिएटर छ। मलाई यो ग्रिसमा देखेको एम्फिथिएटरझैं लाग्यो। हजारौं मानिस एकैचोटि बसाएर प्रस्तुति/कलाकर्म गर्न सकिने त्यो खुला ठाउँ थियो। अरू घुम्नु थियो तर समय धेरै छैन। फुलुमनीको पथप्रदर्शनमा बेलाबेला खगेन भाइको दूरभाषिक निर्देशनमा चलिरहेका थियौं।

            त्यहाँबाट फर्कियौं र साहेब खानको सल्लाहमा बजारको अर्को अन्त्यतिर लाग्यौं। मध्याह्न भइसकेको थियो, ‘निरामिष भोजनालय पुऱ्याऊ भाइ,’ हामीले भन्यौं। उसले शहरको पल्लो छेउ कतै पुऱ्यायो। बाहिर सूचनापाटीमा ‘आसामिज थाली’ लेखेको थियो; नक्सामा थालीभरि पस्केका भोज्य पदार्थ पनि थिए तर भित्र पसेपछि मात्र थाहा भयो त्यस्तो थालीका लागि निकै अघि अर्डर गर्नुपर्ने रहेछ। समयको अभावमा त्यो निर्माण हुन सकेन, तयारी खाना टिपेर हामी फेरि उड्यौं। गौहाटी विश्वविद्यालयको परिसर पुग्नु थियो; त्यहाँ पुग्यौं; पुग्दा त्यहाँ पनि हाम्रैमा जसरी गाईवस्तु चरिरहेको देख्न पाउँदा अलिकति आनन्द लाग्यो। हामी त्यसैगरी गुज्रिरहेका छौं भन्ने लाग्यो।

            त्यहाँ जानुको एउटा प्रमुख उद्देश्य ता डा. भूपेन हाजरिकाको दोस्रो वार्षिक पुण्यतिथिमा आफ्नो उपस्थिति जनाउनु थियो। यद्यपि हामी अनामन्त्रित अतिथि थियौं। विश्वविद्यालयकै जमीनमा डा. भूपेनको समाधि निर्माणस्थल अनेक पुष्पमालाले सुसज्जित, ठूलो दीप जलिरहेको, नजिक सेतो पण्डालमा सयौं नरनारी र विद्यार्थी तत्पर थिए। केही प्रवचन, स्मृति कविता, संगीत र अन्य कार्यक्रमको तयारी हुँदै थियो। मलाई फुलुमनिले नजिक पुऱ्याइन्; समाधिस्थलमा फूलले छोपिएर सुतेको आकृति थियो। छेउमा ठूलो लाइफसाइज फ्लेक्समा हाजरिकाका गम्भीर मुद्राको तस्विर, चिरपरिचित भादगाउँले टोपी, सानो खुकुरी पनि टोपीबाट टल्केको, एउटा एथ्निक सुन्दरता बोकेको इस्टकोट र पहिरन यस्तो मुद्राको दर्शन गऱ्यौं।

            भारतीय संगीतकलाका म्याष्ट्रो डा. भूपेन हाजरिकासँग नेपाली बौद्धिक जीवन पनि नजिकसँग जोडिएको छ। हाजरिकाप्रति श्रद्धाले भरिएकी फुलुमनीले मलाई लगेर स्मारकस्थल पुऱ्याइन्; पुष्पादि धूपले हाजरिकाको ठूलो तस्विर ढाकेको थियो; सहयोगीहरू छेउमा बसेर अतिथिलाई पुष्प थुँगा/माला प्रदान गर्थे। त्यहाँका प्रबन्धकसमक्ष फुलुमनीले मेरो परिचय गराइन्, त्यसका अधिकारी ‘शोक पुस्तिका’ लिएर म समक्ष आइपुगे। मैले लेखें : ‘म मेरो देश नेपाल तथा सम्पूर्ण नेपाली जातिका तर्फबाट महान श्रष्टा डा. भूपेन हाजरिकाप्रति हार्दिक सम्मान एवम् श्रद्धाञ्जली अर्पण गर्दछु। डा. भूपेन हाजरिका जसलाई संसारले चिन्दछ; उनले मानव हृदयका अनि मानवताका गीत गाए। उनी त्यसैले हाम्रा महादेशका एक अमर नक्षत्र हुन्। म आज तिनै महान् साधक श्रष्टाको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा ती अमर आत्माकै (प्रस्तावित) समाधिस्थलमा शिर निहुराएर भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु। एउटा कलाकारको देश हुँदैन, ऊ जातीय, भाषिक/धार्मिक बन्धनामा हुँदैन। डा. हाजरिका सदा हामीसित रहनेछन्; त्यो अमर आत्मालाई सदा शान्ति मिलोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *