अनुराग प्रधान : व्यक्तित्व र कृतित्व
हाम्रोध्वानिले असमको नेपाली समुदायको आवाजलाई सशक्त ढंगले अगाडि ल्याई पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाएको छ । सम्पादक अनुराग प्रधानको समर्पण, दूरदृष्टि र निरन्तर परिश्रम यस पत्रिकाको गुणस्तर र विश्वसनीयताको मुख्य आधार बनेको छ । असमको पत्रकारिताको इतिहासमा उनको योगदानलाई अतुलनीय र प्रेरणादायी मानिन्छ, जसले नयाँ पुस्तालाई लेखन र जागरुकतातर्फ प्रेरित गरेको छ। उनको नेतृत्व क्षमता र सम्पादकीय दृष्टिकोणले हाम्रोध्वानीलाई पत्रिका मात्र नभई सामुदायिक चेतनाको मञ्च बनाएको छ।
◙
अविभक्त असमको नेपाली पत्रकारिता जगत र अनुराग प्रधानको अवदान
◙ शान्ति थापा
गणतन्त्रको चौथो स्तम्भका रूपमा पत्रकारितालाई मान्यता प्राप्त छ। जुन सुकै जाति, समाज औ राष्ट्रको संरक्षण र विकासमा पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। पत्र-पत्रिकाकै आधारमा नै ठूलाठूला क्रान्तिहरू घटित भएको कुरा सर्वविदित छ। सारा संसारमै घटाइएका क्रान्तिहरू सफलमण्डित पार्नमा पत्र-पत्रिकाले महत्वपूर्ण भूमिका खेलेका छन्। देशको जनमत व्यक्त गर्ने महत्वपूर्ण माध्यम हो – पत्रकारिता। यस घरी पत्रकारिताको पनि दुइ रूप फेला पर्छन् – मुद्रित पत्रकारिता औ श्रव्य/दृश्यमान पत्रकारिता। अनि मुद्रित पत्रकारिताको पनि दुइ भिन्नाभिन्नै रूप हुन्छन् – समाचार प्रधान पत्रकारिताको औ साहित्यिक पत्रकारिता। साहित्यिक पत्रकारिताको पनि दुइ भिन्न रूप देखा पर्छन् – लघु साहित्यिक पत्रकारिता अनि जन साहित्यिक पत्रकारिता। लघु साहित्यिक पत्रकारिता खास वर्गका निम्ति औ खास उद्देश्यका निम्ति हुँदछ भने जन साहित्यिक पत्रकारितामा सबै वर्गका साहित्यिक लेखन प्रकाशित गरिन्छ।
पत्रकारिता भन्नाले यहाँ चर्चाको विषय असममा प्रकाशित सम-सामयिक पत्र-पत्रिकालाई उल्लेख गर्नु हो अनि असमेली नेपाली सम-सामयिक साहित्यिक पत्रकारितामा स्व0 अनुराग प्रधानको अवदानमाथि चर्चा यस लेखको विशेष उद्देश्य रहेको छ।
यसै त पत्रकारिताको इतिहासमा पत्थरमाथि खोपिएका घोषणाहरूलाई पनि समाचारको प्राचीन रूप मानिन्छ र यो प्रथा प्राचीन बेबीलोनमा प्रारम्भ भएको थियो भन्ने विद्वानहरूको भनाइ रहेको पाइन्छ। तर कागजमाथि समाचार लेख्ने तथा पत्र-पत्रिकाको वास्तविक युग 69 खृष्ट पूर्वमा एक्टस् डिउर्ना (Acts Dyrana) अथवा एक पन्ने संवादपत्र बाटाघाटामा टाँसेर जनमानसलाई प्रतिदिनको घटना तथा खासगरी युद्धबारे सूचना दिने चलन जुलियस सिजरको पालामा बसेको थियो अनि यसै कालमा एक्ट पब्लिका र एक्ट सिनेट नामका पत्रहरू पनि रोममा निस्कन्थे। सन् 618 पनि चीनमा मासिक रूपमा पेकिंग पत्र औ “पेकिंग न्यूज’ भन्ने कागत् पत्र निस्कन्थे। मूद्रण कलाको जग पनि चीनमै बसेको भनिन्छ। 1476मा वेलायतको न्यूजाइटिङ (Newseitting) हल्याण्डमा निस्केपछि, 1541 मा मेक्सिकोमा समाचार शीटहरूको प्रकाशनका साथै ज्यूरिच, स्वीजरल्याण्ड, भेनिसमा पत्रिकाहरू छापिन थालिए। भेनिसमा ग्याजेटा (भेनिसको पैसा) तिरेर मानिसहरूले “नोतिजीस्कृते’ नामक पत्रिका पढ्न थाले। कालान्तरमा यही ग्याजेटा शब्द “ग्याजेट’ भएर, समाचारपत्रको पर्याय बन्न पुग्यो। सन् 1656 को 8 जनवरीदेखि “कराण्ट’ नामक पहिलो व्यावसायिक समाचार पत्र हल्याण्डदेखि प्रकाशित भएको थियो। प्रथम दैनिक अखबार भने 11 मार्च सन् 1702मा “लण्डन डेली करेण्ट’ नामले लण्डनबाट प्रकाशित भएको थियो।
भारतमा समाचार लेखनको जन्म मुगल साम्राज्यमा भए तापनि यसको गतिशीलता इष्ट इण्डिया कम्पनीको शासन कालमा भएको हो। भारतको प्रथम समाचार पत्र सन् 1780 मा प्रकाशित “बंगाल गजेट’लाई मानिन्छ। 1818मा बंगाली भाषामा “समाचार दर्पण’, सन् 1826मा हिन्दी भाषामा “उदन्त मार्तण्ड’, अनि नेपालीमा वि0 स0 1955मा (नेपालमा) “सुधा सागर’ नामक साप्ताहिकद्वारा पत्रकारिताको थालनी भएको पाइन्छ जो मोतीराम भट्ट, पण्डित नरदेव मोतीकृष्ण अनि कपिलमणि देवले पशुपति प्रेसबाट काठमाडौंमा निकालेका थिए। यसरी नै वि0 स0 1958मा साप्ताहिक “गोरखापत्र’ देखा परेको थियो जो धेरै पछि अर्ध-साप्ताहिक, सप्ताहमा तीनवटा छापिने हुँदै दैनिक बनेको हो।
भारतेली नेपाली मात्र नभएर सम्पूर्ण नेपाली पत्र-पत्रिकाको आधारशिला सन् 1887मा प्रकाशित “गोरखा भारत जीवन’लाई मानिन्छ। यसको जन्मले एक शताब्दी आयु नाघिसकेको छ जसको सम्पादन मोतीरामले गरेका थिए भन्ने विद्वानहरूको भनाई छ तर यस पत्रिकाका प्रतिहरू उपलब्ध छैनन्, मात्र हिन्दी पत्रिका “भारत जीवन’मा गरिएको विज्ञापनकै भरमा यो पत्रिका प्रकाशित भएको थियो भन्ने कुराको उल्लेख विद्वानहरूद्वारा भएको पाइन्छ। त्यसर्थ उनीहरूबीच धेरजना पाद्री गंगाप्रसाद प्रधानद्वारा सम्पादित औ सन् 1901मा दार्जीलिङदेखि प्रकाशित “गोर्खे खबर कागत्’लाई प्रथम नेपाली पत्रिका मान्नका पक्षधर छन्। यो खोजीको विषय हो। जहिल्यै पनि “प्रथम’लाई लिएर विद्वानहरूमा मतभेद नै रहेको पाइन्छ।
भारतेली नेपाली पत्रकारिताको विकासक्रमलाई भारतको स्वतन्त्रता प्राप्ति वर्षलाई आधार मानी दुइ चरणमा विभक्त गरी हेर्ने चलन विद्वानहरूले चलाएका छन्। स्वतन्त्रतापूर्व र स्वतन्त्रता उत्तर। स्वतन्त्रता-पूर्वको काललाई पूर्वार्द्ध औ उत्तरार्द्ध भनि पहिलो काललाई सन् 1887 देखि 1916 सम्मलाई पूर्वार्द्ध अथवा उत्थान काल मानिएको छ औ 1917 देखि 1946 सम्मलाई उत्तरार्द्धकाल मानिएको छ। पूर्वार्द्ध कालमा जम्मा आठवटा पत्रिकाहरू प्रकाशित भएका पाइन्छन् –
| पत्र/पत्रिकाको नाउँ | प्रकाशन सन् | प्रकाशन स्थान | सम्पादन |
|---|---|---|---|
| गोरखा भारत जीवन | 1887 | बनारस | मोतीराम भट्ट |
| गोर्खे खबर कागत् | 1901 | दार्जीलिङ | पाद्री गंगा प्रसाद प्रधान |
| उपन्यास तरंगिनी | 1902 | बनारस | पण्डित सदाशिव शर्मा |
| सुन्दरी | 1906 | बनारस | पं0 देवीदत्त पराजुली र सोमनाथ सिग्द्याल पछि चक्रपाणि चालिसे |
| माधवी | 1908 | बनारस | राममणि दीक्षित (छदम नाम मातृका प्रसाद शर्मा नाउँले सम्पा0 गरेका थिए।) |
| गोर्खा साथी | 1912 | कलकत्ता | हरिसिंह थापा |
| चन्द्र | 1914 | बनारस | माधो प्रसाद |
| गोर्खाली | 1916 | बनारस | सूर्य विक्रम ज्ञवाली |
सन् 1887 देखि 1916सम्म असमेली नेपाली जगतमा पत्र/पत्रिका प्रकाशित भएको उल्लेख पाइँदैन। भारतेली नेपाली पत्रकारिताको स्वतन्त्रतापूर्वको दोरुाो चरणको कालावधि 1917 देखि 1946 सम्म मानिएको छ, जसमा सन् 1918मा कालिम्पोङबाट प्रकाशित “चन्द्रिका’लाई स्वतन्त्रता पूर्व कालको उत्तराद्र्धको माइलखुँटी मानिएको पाइन्छ। त्यस पछि भारतेली नेपाली पत्रकारिता जगतमा बग्रेल्ती पत्र-पत्रिकाहरू प्रकाशित हुन थालेका पाइन्छन् –
| पत्र/पत्रिकाको नाउँ | प्रकाशन सन् | प्रकाशन स्थान | सम्पादन |
|---|---|---|---|
| चन्द्रिका | 1818 | खरसाङ | पारसमणि प्रधान |
| जन्मभूमि (मासिक) | 1922 | बनारस | सूर्य विक्रम ज्ञवाली |
| गोर्खा मित्र | 1924 | कलकत्ता | — |
| राजभक्ति (साप्ताहिक) | 1926 | बनारस | शंभु प्रसाद ढुंग्याल |
| गोर्खा संसार (मासिक) | 1926 | देहरादून | ठाकुर चन्दन सिंह |
| तरूण गोर्खा (पहिले साप्ताहिकपछि मासिक) | 1928 | देहरादून | ठाकुर चन्दन सिंह |
| आदर्श (मासिक) | 1930 | कालिम्पोङ | शेषमणि प्रधान |
| ने0 सा0 सम्मेलन पत्रिका | 1932 | दार्जीलिङ | पद्म प्रसाद प्रधान |
| गोर्खाली रवि | 1933 | दार्जीलिङ | अगमसिंह गिरी |
| गोर्खा सेवक (साप्ताहिक) | 1936 | शिलाङ | मणिसिंह गुरूङ |
| नेबुला (मासिक) पछि परिवर्तन नाउँले प्रकाशित | 1935 | दार्जीलिङ | के0 डी0 प्रधान, मदन कुमार प्रधान |
| उदय (मासिक सचित्र) | 1937 | बनारस | काशी बहादुर श्रेष्ठ |
| गाउँ सुधार पत्रिका (द्विभाषिक) | 1939 | कालिम्पोङ | शेषमणि प्रधान |
| सर्वहितैषी पत्रिका (मासिक) | 1940 | बनारस | तेजबहादुर गुमाजु |
| खोजी (मासिक) | 1940 | दार्जीलिङ | रूपनारायण सिन्हा |
| तरूण (हस्तलिखित) | 1942 | खरसाङ | दलबहादुर लामा, शिव कुमार राई |
| गोर्खा समाचार (साप्ताहिक, द्विभाषिक) | 1944 | दिल्ली | — |
| गोर्खा (गोर्खा लीगको मुखपत्र) | 1945 | कालिम्पोङ पछि दार्जीलिङ | प्रथम सम्पादक रणबीर सुब्बा |
| कमल (हस्तलिखित) | 1946 | दार्जीलिङ | अच्छा राई रसिक |
| कमल वार्षिक अंकको रूपमा मुद्रित | 1953 | दार्जीलिङ | सम्पादकद्वय अमृता देवी छेत्री र अगमसिंह गिरी। |
भारतीय नेपाली पत्रकारिताको इतिहासमा अविभक्त असमबाट सन् 1936 मा “गोर्खा सेवक’ प्रकाशित गरेर बाबू मणिसिंह गुरूङले अविभक्त असममा नेपाली पत्रकारिताको जग बसालेर योगदान पुऱ्याएका छन्। स्वतन्त्रता पूर्व कालमा अविभक्त असमबाट अहिलेसम्मको अनुसन्धान अनुसार यही गोर्खा सेवक मात्र प्रकाशित भएको पाइन्छ।
स्वतंत्रता – उत्तर कालमा अविभक्त असमका सेरोफेरोमा पत्रकारिताको विकास हेर्ने हो भने लगभग डेढसय जति पत्रिका प्रकाशित भएका पाइन्छन्। हाम्रोध्वनिको प्रकाशन काललाई आधार मानी स्वतन्त्रता उत्तर कालको काल विभाजन यस प्रकार गर्न सकिन्छ। (यसबारे विद्वानहरूमा मतानैक्य हुन सक्छ, कारण, हाम्रोध्वनि अद्यावधि प्रकाशित भइरहेको पाइन्छ र नै अनुराग प्रधानको सम्पादन-काललाई मात्रै यहाँ आधार मानिएको छ।) यथा –
| पत्रिका | काल | सन् |
|---|---|---|
| हाम्रोध्वनि | पूर्व काल (उत्थान काल) | सन् 1948-1969 |
| हाम्रोध्वनि | काल (विकास काल) | सन् 1970-2001को जनवरीसम्म, |
| हाम्रोध्वनि | उत्तर काल | सन् 2001 को फरवरी – आजसम्म। |
हाम्रोध्वनि पूर्व काल
हाम्रोध्वनि पूर्व कालमा असमेली नेपाली पत्रकारिताको जगतमा सन् 1936मै गोर्खा सेवक (साप्ताहित) पत्रिका प्रकाशित गरेर बाबू मणिसिंह गुरूङले जुन उर्वर बीउ रोपेका थिए, त्यो बीउ अंकुरित भई स्वतंत्रता उत्तर कालको प्रथम चरण अर्थात 1948 देखि 1969 सम्मको कालखण्डमा निकै झ्याँङ्गिएको परिलक्षित हुँदछ। र नै यस काल खण्डलाई उत्थान काल अथवा हाम्रोध्वनि प्रकाशित हुन अघिको गतिविधि भएकाले हाम्रोध्वनि पूर्वकाल पनि मान्न सकिन्छ। सन् 1948मा गुवाहाटीदेखि नरसिंह थापाका सम्पादनमा हिमाद्रीको प्रकाशनदेखि स्वतंत्रता उत्तर कालको प्रथमचरण अर्थात उत्थानकालको प्रारम्भ हुन्छ र यसकालावधिमा हस्तलिखित, लिथो, मुद्रित गरी लभगभग 20/25वटा जति पत्रिका/मुखपत्र आदि प्रकाशित भएको थाह लाग्छ जसमा हिमाद्रीलगायत, प्रभात, फिलिङ्गो, ब्राहृपुत्र, मुक्ति, कोपिलो, उषा, हिमालय, बिन्दु, आशा, हाम्रो आशा, स्मृति, सुमन, सम्मेलन बुलेटिन आदि महत्वपूर्ण नाम हुन्।
स्वतन्त्रता उत्तर काल अर्थात सन् 1948 देखि 1969 सम्म कालावधिमा प्रकाशित पत्रपत्रिकाहरूको सूची यस प्रकार रहेको छ।
| पत्र/पत्रिकाको नाउँ | प्रकाशन सन् | प्रकाशन स्थान | सम्पादन |
|---|---|---|---|
| हिमाद्री (मासिक) | 1948 | गुवाहाटी | नरसिंह थापा |
| प्रभात (मुद्रित) | 1955 | दरंग | सम्पादक मण्डली |
| फिलिङ्गो (त्रैमासिक) | 1956 | शिलाङ | ध्रुवनाथ जोशी |
| आसाम गोर्खा (साप्ताहिक, समाचार प्रधान) | 1957 | शिलाङ | — |
| ब्राहृपुत्र (त्रैमासिक) | 1957 | तेजपुर | सम्पादक मण्डली |
| मुक्ति (अद्र्धवार्षिक) | 1959 | डिगबोई | हरिभक्त कटुवाल, अग्निबहादुर छेत्री |
| उषा (वार्षिक) | 1959 | शिलाङ | हर्क बहादुर सुब्बा र मणिसिंह थापा |
| कोपिलो (वार्षिक) | 1960 | डिगबोई | भीमप्रसाद जोशी र गौरा देवी |
| हिमालय (मासिक) | 1961 | लखिमपुर | जे0 जे0 रोका |
| बिन्दु (त्रैमासिक) | 1962 | लामडिङ | के0 बी0 नेपाली |
| आशा (त्रैमासिक) | 1964 | शिलाङ | गोपीनारायण प्रधान |
| हाम्रो आशा (त्रैमासिक) | 1965 | शिलाङ | गोपीनारायण प्रधान |
| कामरूपा (द्विभाषिक/पाक्षिक) | 1965 | गुवाहाटी | पद्म ढकाल र डमरू दास |
| स्मृति (वार्षिक) | 1965 | गुवाहाटी | अनुराग प्रधान र ओम प्रकाश सुवेदी |
| सुमन (मासिक) | 1964-65 | शिलाङ | कृष्ण प्रसाद ज्ञवाली |
| सिस्नु | 1967 | शिलाङ | कपिल गुरूङ |
| अभियान (समाचार प्रधान) | 1968 | शिलाङ | दिल साहनी |
| कथा मञ्च | 1969 | शिलाङ | दिल साहनी |
| तरूण त्रैमासिक/लिथो पछि मुद्रित | 1969 | शिलाङ | कुल प्रसाद उपाध्याय तथा अन्य |
| हाम्रो सयपत्री (हस्तलिखित) | 1969 | गुवाहाटी | एस. के. गुरूङ तथा अन्य |
| सम्मेलन (बुलेटिन) | 1969 | शिलाङ पछि गुवाहाटी | विष्णुलाल उपाध्याय |
हाम्रोध्वनि पत्रिकाको प्रकाशन यस भेकको पत्रकारिताका साथै भारतेली नेपाली पत्रकारिता औ साहित्यको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ। यसको प्रथम अंक समाचार-पत्रिकाका ढाँचामा प्रकाशित भए तापनि पछिका अंकहरूमा साहित्यिक गतिविधिहरूको प्राधान्य पाइन्छ। प्रारम्भिक अवस्थामा यो पाक्षिक रूपमा प्रकाशित भएको थियो तर पछि यो मासिक रूपमा प्रकाशित हुन थाल्यो औ अद्यावधि प्रकाशित भई नै रहेको छ। यसका कतिपय अङ्क संयुक्त रूपमा पनि प्रकाशित भएका छन् औ कतिपय विशेषाङ्कका रूपमा प्रकाशित छन्, जसमध्ये दसैं-तिहार (प्रथम-1975 अङ्क 15/16), बिहु र डुवर्स (दोरुाो-1977, 6/7) बिहु विशेषाङ्क (तरुाो- 1978-8), सिक्किम (चौथो 1979-6/7 दसैं (पाँचौ, 1980-10), बृहत (छठौं, 1988-2), भाषा-सम्मेलन (सातौं, 1990-2), बिहु र नववर्ष (आठौं, 1992-3/4), नारी (नवौं, 1996-9) आदि (2001 पछि पनि हाम्रोध्वनिले धेरै विशेषाङ्क निकासिसकेको छ)।
सन् 1965 मै स्मृति पत्रिका मार्फत पत्रकारिता प्रारम्भ गर्ने अनुराग प्रधानले सन् 1969मा त्रैमासिक औ त्रैभासिक (नेपाली/हिन्दी/असमीया) पत्रिका “नवध्वनि’को (नेपाली विभागको) सम्पादन औ प्रकाशन पनि गरेका पाइन्छन्। अनि सन् 2000 मा पाक्षिक पत्रिका “जनाधार’को प्रवेशाङ्क प्रकाशित गरी उक्त पत्रिकालाई निरन्तरता दिन पञ्जिकरणको औपचारिकताका निम्ति प्रयास गरिरहेकै बेला उनको इहलीलाको समाप्ति घट्यो।
अनुराग प्रधानको पत्रकार व्यक्तित्वको परिचय हाम्रोध्वनिको प्रवेशाङ्कबाटै स्पष्ट हुन्छ। उनी यसरी भन्छन्-
“आजको युगमा स्वस्थ जनमत गठन गर्न समाचार पत्रको जुन महत्व र आवश्यकता छ त्यो यहाँ भनिरहनु पर्दैन। तैपनि आज देशभरिमा एउटा पनि समाचार पत्र नहुँदा अचम्म मान्नु पर्दछ। हुन त दार्जीलिङबाट “आवाज” पाक्षिक समाचार पत्र अनियमित रूपले भए पनि बेलाबेलामा फट्याक-फुटुक निस्किरहेछ। शिलाङबाट पनि यस दिशामा “अभियान’ निकाल्ने प्रयास गरेकै हो। तर, हाम्रो समाचारपत्रको यस्तो अनिश्चित भविष्यको कारण केलाउँन जाँदा हाम्रा पाठक समाजलाई नियमित रूपले समाचारपत्र पढ्ने अभ्यास नभएर हाम्रा समाचारपत्र अनियमित भएको हो वा उनीहरूप्रति आफ्नो उत्तरदायित्वलाई नबुझेर हेला गरेजस्तो लाग्छ। यथार्थमा हाम्रो साचारपत्रको ठूलो उत्तरदायित्व छ र त्यो हो अखण्ड राष्ट्रियताको निर्माणमा स्वस्थ जनमत गठन गरेर समाजलाई नयाँ उज्यालो दिई भविष्य तर्फ डोऱ्याउनु। यही उत्तरदायित्वलाई हृदयङ्गम गरेर, आजसम्ममा प्राप्त उपलब्धि, अनुभूति र अनुभवहरू सँगालेर हाल पत्रिकाका रूपमा भए पनि यो समाचारपत्र “हाम्रोध्वनि’को थालनी भएको छ। निकट भविष्यमा पनि यो नियमित रूपमा प्रकाशित हुनेछ, देश निर्माणमा देशवासीको आह्वान लिएर जुन हाम्रो आफ्नै आवाज हो आफ्नै ध्वनि हो।
उपर्युक्त भनाइबाट के स्पष्ट हुँदछ भने सामाजिक दायवद्धताप्रति सचेत हुनका साथै अखण्ड भारतप्रति उनी खूबै सचेत रहेका छन् औ यसको निर्वाह उनले मृत्युपर्यन्त गरिरहे। समाचार प्रधान भएर पाक्षिक रूपमा हाम्रोध्वनि निस्किए तापनि पछि यसले समाचारका साथ साहित्यलाई पनि बढी महत्व दिएको कुरा यस पत्रिकाका पाठक/लेखक समाजले अनुभव गरेका छन्।
यसै गरी पूर्वोत्तर भारतमा नेपालीको अस्तित्वको सन्दर्भमा उनले एक युगान्तकारी सम्पादकीय लेख्दै यहाँका जनगणलाई जगाउँदै यसरी भनेका छन् – “चेतेनौ भने मेटिने छौ, इतिहासमा तिमी परिहास बनिरहने छौ।’ उनले असल सम्पादकको दायित्व पालन गर्दै पूर्वोत्तरका प्रायः जसो क्षेत्रको भ्रमण गरेका हुन्। उनको सम्पादकीय व्यक्तितत्वको अर्को उल्लेखनीय पक्ष हो नवीन प्रतिभाहरूलाई प्रोत्साहन दिनु। उनले यस भेकका धेरै नवीन लेखकहरूलाई प्रोत्साहन दिएर प्रतिष्ठित हुन् आँट दिएका हुन्।
भारतीय नेपाली पत्रकारिता जगतमा पत्र पत्रिकालाई नियमित प्रकाशित गर्नु लर्तरो कुरो हैन, कारण पत्र-पत्रिका किनेर पढ्ने औ पढेर त्यस पत्रिकाको संरक्षण गर्ने काममा हाम्रा जनगणले साह्रै महत्व दिएको देखिंदैन र पत्र-पत्रिकालाई निरन्तरता दिन प्रकाशन गोष्ठीलाई हम्मे हम्मे पर्छ। अनुराग प्रधान पनि यस कुराको व्यक्तिक्रम थिएनन् – उनले आफ्नो सर्वस्व अर्पित गरी “हाम्रोध्वनि’लाई दिगो राख्न भगीरथ प्रयास गरिरहे। उनी अल्प भाषी, शिष्ट, सौम्य व्यक्तित्वका अधिकारी थिए तर उनको सम्पादकीयमा आगाको फिलिङ्गाहरू उड्ने गर्थे। उनी कहिल्यै कुनै प्रलोभनमा परेनन्, कुनै डरले वा कुनै छल, बल किम्बा कौशलदेखि प्रभावित भएनन् अनि निर्भीक भई आफ्नो सम्पादकीय दायवद्धता पालन गरिरहे।
“हाम्रोध्वनि’को प्रकाशनका साथसाथै हाम्रोध्वनि कालमा प्रकाशित पत्रपत्रिकाहरूको सूची यस प्रकार रहेको छ –
| पत्र/पत्रिकाको नाउँ | प्रकाशन सन् | प्रकाशन स्थान | सम्पादन |
|---|---|---|---|
| 1. हाम्रोध्वनि | 1970 | गुवाहाटी | अनुराग प्रधान |
| 2. नयाँ चेतना | 1970 | शिलाङ | दिल साहनी |
| 3. उपहार (हस्तलिखित) | 1970 | शिलाङ | परशु शाही |
| 4. सन्देश (हस्तलिखित 1967-70) | 1971 | मणिपुर | आलोक गौतम |
| 5. तरूण | 1971 | शिलाङ | पीताम्बर पोखरेल |
| 6. मादल | 1971 | शिलाङ | गोपीनारायण प्रधान |
| 7. युगरेखा | 1971 | तीनसुकिया | श्याम लिवाङ/धर्म विनय आँसु |
| 8. युवक (स्मृतिग्रंथ) | 1971 | दरङ | — |
| 9. आँखा | 1972 | दरङ | लक्ष्मी उपाध्याय/दुर्गा घिमिरे |
| 10. साथी | 1972 | डिब्रुगढ | घनश्याम खाती/अजबमान गजमेर |
| 11. उषा | 1972 | ग्वालपाडा | श्याम बस्नेत |
| 12. युवक | 1972 | डिमापुर | परशु साही/दिलु सुवेदी |
| 13. सहारा | 1972 | शिमलुगुडी | छविलाल दाहाल शास्त्री |
| 14. विद्यार्थी | 1972 | शिलाङ | धर्मलाल भूषाल |
| 15. रेखाचित्र | 1972 | शिलाङ | भूपेन्द्र अधिकारी |
| 16. गोरेटो | 1972 | शिलाङ | तुलबहादुर मालेमा |
| 17. व्यूँझ (त्रैमासिक) | 1973 | डिमापुर | लालवीन छेत्री |
| 18. परेली (द्विमासिक) | 1973 | लामडिङ | के0 बी0 नेपाली |
| 19. मेघमाला (द्विभाषिक समाचार प्रधान) | 1973 | नयाँ बंगला, शिलाङ | खेमलाल पोखरेल |
| 20. जूनकीरी (गोजिका) | 1973 | दुलियाजान | होम बहादुर छेत्री |
| 21. रेखाचित्र | 1973 | शिलाङ | भूपेन्द्र अधिकारी |
| 22. सलेदो (गोजिका) | 1974 | गुवाहाटी | अविनाश श्रेष्ठ |
| 23. बाटो (द्विमासिक) | 1974 | डिमापुर | दिलु सुवेदी |
| 24. च्याँखे | 1974 | रौता, दरङ | सम्पादक मण्डली |
| 25. लहर (द्विभाषिक) | 1974 | शिलाङ | तुलबहादुर मालेमा |
| 26. विदाइ (मुखपत्र गौ0 वि0 छात्रसंघ | 1974 | गुवाहाटी | हरिप्रसाद शर्मा |
| 27. प्रशान्ति | 1975 | शिलाङ | जगतबहादुर प्रधान |
| 28. पूर्वालोक | 1975 | शिलाङ | भूपेन्द्र अधिकारी |
| 29. नौलो सृजना | 1976 | नङ्पो, शिलाङ | रणबहादुर छेत्री |
| 30. विरूवा (समाचार प्रधान, मासिक) | 1976 | मणिपुर | कमल थापा |
| 31. पसिना | 1977 | शिलाङ | दिल साहनी |
| 32. हुरी | 1977 | शिलाङ | राधा ज्ञवाली (प्रथम अंक) टी0 कार्की (पछिका अंक) |
| 33. युगसाथी | 1978 | माजबाट | इन्द्रकान्त कार्की/नारायण अधिकारी |
| 34. अगुल्टो (अखिल असम नेपाली छात्र संघको मुखपत्र | 1978 | — | प्रथम सम्पा0 माधव भट्टराई |
| 35. पूर्व सन्देश | 1979 | शिलाङ | भूपेन्द्र अधिकारी |
| 36. हाम्रो स्वर (मासिक) | 1979 | डिफु | दिल्ली शर्मा |
| 37. खुकुरी | 1980 | नलबारी | सोम पराजुली, |
| 38. आमा (असमीया भाषामा) | 1980 | — | हर्कबहादुर छेत्री (ज्येष्ठ) |
| 39. तरंग | 1980 | तेजपुर | खड्गबहादुर छेत्री |
| 40. नयाँ दिगन्त | 1980 | बालीजान | सम्पादक मण्डली |
| 41. शिखा | 1980 | छदुवार, शोणितपुर | रोहिणी शर्मा |
| 42. भानु उदय (वार्षिक) | 1980 | मध्य वास्का | भगीरथ खडका पछिका अंक नेत्र भूषण खडका |
| 43. स्पन्दन (अद्र्ध वार्षिक) | 1981 | नौदुवार | पद्म ढकाल |
| 44. ज्वाला | 1981 | गुवाहाटी | कमलसिंह बगाले |
| 45. पूर्वोदय (अद्र्ध वार्षिक) | 1982 | बिहाली | लक्ष्मीकान्त शर्मा |
| 46. सहकारी समीक्षा (मासिक) | 1982 | शिलाङ | दिलबहादुर नेवार |
| 47. अछेता | 1982 | शिलाङ | मोतीलाल सुवेदी |
| 48. नेती (त्रैमासिक) | 1982 | मणिपुर | खेमानन्द मिश्र र अन्य |
| 49. विश्व जन आवाज (पाक्षिक) | 1982 | गुवाहाटी | इन्द्र चम्लागार्इं |
| 50. कोलाज (बुलेटिन, लिथो) | 1982 | गुवाहाटी | अविनाश श्रेष्ठ |
| 51. शोणितपुर | 1982 | तेजपुर | दुर्गा घिमिरे/कृष्ण छेत्री |
| 52. पूर्वाञ्चल भाषा संवाद (केही अंक/पछिका दुई अंक नवसापकोटाद्वारा सम्पादित) | 1982 | कोक्राझार | डम्बरमणि प्रधान |
| 53. सामयिकी (समसामयिक) | 1983 | — | पद्म ढकाल/युवराज शर्मा |
| 54. प्रवास | 1983 | शिलाङ | रूधिर छेत्री |
| 55. समीधा (सामयिक) | 1983 | मणिपुर | मुक्ति गौतम |
| 56. सिम्-साङ | 1984 | तुरा | पदम छेत्री |
| 57. हाम्रो आँट (सामयिक) | 1984 | कार्बी आङलङ | डम्बर दाहाल |
| 58. प्रकाशन पत्रिका (सामयिक) | 1984 | डिगबोई | भविलाल लामिछाने/युद्धवीर राणा |
| 59. स्मृति (हस्तलिखित) | 1984 | डिगबोई | खड्कराज गिरी |
| 60. संगत (त्रैमासिक) | 1985 | बगाइगाउँ | बुद्धिमान प्रधान |
| 61. साहित्य प्रवाह | 1986 | डिगबोई | भविलाल लामिछाने |
| 62. छिमेकी (द्विमासिक) | 1986 | निकासी | खड्कराज रावत |
| 63. पूर्वी चेतना (मासिक, समाचार प्रधान) | 1987 | बडापानी, शिलाङ | बी0 आर0 पौडेल |
| 64. अब जाग (समाचार प्रधान) | 1987 | शिलाङ | नर राई |
| 65. टिपन टापन (मासिक, समाचार प्रधान) | 1987 | लामडिङ | के0 बी0 |
| 66. संस्कृति | 1988 | कोक्राझार | तुंगनाथ नेपाल |
| 67. युगदृष्टि | 1989 | शिलाङ | विक्रमवीर थापा |
| 68. प्रहर | 1989 | नगाउँ | मोहन सुवेदी |
| 69. मधानी | 1990 | लखिमपुर | धर्मेन्द्र उपाध्याय |
| 70. चिनारी (मासिक) | 1990 | मणिपुर | पम्फा बस्नेत |
| 71. भित्तो बोल्छ (भित्ते पातो) | 1991 | गुवाहाटी | लीलबहादुर क्षत्री |
| 72. मज्जा (हास्य व्यङ्ग्य) | 1991 | निकासी | खडगराज रावत |
| 73. देशवार्ता (साप्ताहिक) | 1991 | तेजपुर | कुष्माखर उपाध्याय |
| 74. विश्वनाथ | 1991 | विश्वनाथ चाराली | खेमराज नेपाल |
| 75. सयपत्री | 1991 | शिङ्री | लक्ष्मीप्रसाद पराजुली |
| 76. पौरख (सामयिक) | 1992 | जयन्तिया पहाड (शिलाङ) | प्रकाश शर्मा |
| 77. कल्याणी (अद्र्ध वार्षिक) | 1992 | नागाल्याण्ड | हरिप्रसाद गोर्खा राई |
| 78. युवा-दर्पण (त्रैमासिक) | 1992 | गुवाहाटी | पूर्ण छेत्री |
| 79. कावा (त्रैमासिक) | 1992 | गुवाहाटी | बालकृष्ण पौडेल |
| 80. मन्थन (बुलेटिन) | 1992 | गुवाहाटी | प्रेमसिंह सुवेदी |
| 81. नौलो कोसेली | 1993 | उदालगुडी | वैद्यनाथ उपाध्याय/गायत्री भट्टराई |
| 82. सपना (अद्र्ध वार्षिक) | 1993 | मार्घेरिटा | प्रदीप लिम्बू |
| 83. सृजना (हस्तलिखित पछि मुद्रित) | 1993 | उदालगुडी | रेवतीरमण सापकोटा |
| 84. जुनेली | — | जागुन | महाप्रसाद थपलिया |
| 85. पृथ्वी | 1993 | जागीरोड | पुरूषोत्तम भण्डारी/नारायण प्रधान |
| 86. कोसेली | — | पेङ्ग्री | दिगन्त कटुवाल |
| 87. नारद गंगा(समाचार प्रधान/मासिक) | 1993 | मणिपुर | मुक्ति गौतम |
| 88. समकालीन नेपाली साहित्य (अद्र्ध वार्षिक) | 1994 | डिगबोई | भविलाल लामिछाने/नवसापकोटा |
| 89. युगान्तर (त्रैमासिक) | 1994 | शिलाङ | विक्रमवीर थापा |
| 90. चौतारी | 1994 | कार्बीआङलङ | हरि अधिकारी |
| 91. तरूण मञ्च | 1994 | निकासी | खडगराज रावत |
| 92. समाचार दर्पण(समाचार प्रधान पाक्षिक) | 1995 | कोक्राझार | कमलनाथ शर्मा |
| 93. लोहितपुत्र | 1995 | गौ. विश्वविद्यालय | सागर सुवेदी |
| 94. चौतारी (भित्ते पातो) | 1995 | गुवाहाटी | नेपाली साहित्यकला निकेतन |
| 95. कोसेली(साप्ताहिक, समाचार प्रधान) | 1996 | शिलाङ | सम्पादक मण्डली |
| 96. चौबाटो | 1996 | शिलाङ | वीरेन्द्र तुम्बापो |
| 97. जन जागरण (साप्ताहिक) | 1996 | गुवाहाटी | शालिग्राम छेत्री |
| 98. हाम्रो गोरेटो | 1997 | सिलचर | प्रदीप राई/दीपक कुमार सुब्बा |
| 99. संकल्प (सामयिक) | 1999 | मणिपुर | घनश्याम कोइराला |
| 100. सम्झना (समसामयिक) | 1999 | रौता | सीता देवी |
| 101. प्रयास (त्रैमासिक) | 1999 | अरूणाचल प्रदेश | वंशी भट्टराई |
| 102. नेपाली डाइजेस्ट (पाक्षिक) | 2000 | धेमाजी | चिन्तामणि चम्लागार्इं |
| 103. जनाधार (पाक्षिक) | 2000 | गुवाहाटी | अनुराग प्रधान |
माथि उल्लेखित “हाम्रोध्वनि’का समकालीन पत्रपत्रिका लगायत औ हाम्रोध्वनि उत्तर कालमा पनि पुराना पत्रिकाहरूमध्ये हाम्रोध्वनि निरन्तर प्रकाशित भइरहेको छ भने हाम्रोध्वनि भन्दा आठ वर्ष जेठो बिन्दु पनि बिसाइ बिसाइ प्रकाशित भएको पाइन्छ। हाम्रोध्वनि उत्तर कालमा प्रकाशित पत्रपत्रिकाहरूको सूची यस प्रकार छ –
| पत्र/पत्रिकाको नाउँ | प्रकाशन सन् | प्रकाशन स्थान | सम्पादन |
|---|---|---|---|
| 1. चौतारी | 2000 | कार्बी आङलङ् | सीताराम अधिकारी |
| 2. प्रियतमा (द्विमासिक) | 2002 | समारदलनी | पूर्ण कुमार शर्मा |
| 3. नेपाली प्रतिबिम्ब (अद्र्ध वार्षिक) | 2003 | उदालगुडी | लक्ष्मण अधिकारी |
| 4. गहना | 2004 | आइजल | लक्ष्मी मिनु |
| 5. उद्गम | 2004 | तीनसुकिया | युद्धवीर राणा |
| 6. हाम्रो चौतारी अद्र्ध वार्षिक | 2005 | धेमाजी | इन्द्र उपाध्याय नेपाल |
| 7. फूलवारी (सामयिक) | 2005 | गुवाहाटी | मुन्नी सापकोटा |
| 8. नवयात्रा (त्रैमासिक) | 2006 | जागुन | खिलानाथ अधिकारी |
| 9. गोर्खा प्रहरी (साप्ताहिक) | 2007 | गुवाहाटी | इन्द्र शर्मा |
| 10. सपरिवार (व्यवसायिक प्रधान मासिक) | 2007 | गुवाहाटी | हेमन्त कु0 शइकीया |
| 11. गोर्खाज्योति (द्विभाषिक/मासिक) | 2007 | मणिपुर | ड0 सीताराम अधिकारी |
| 12. सयपत्री (त्रैमासिक) | 2009 | तीनसुकिया | जगत शर्मा/रूद्र खड्का |
| 13. मातृभाषा (मासिक) | 2009 | बगाइगाउँ | डा0 हर्कबहादुर छेत्री |
| 14. हाम्रो प्रजाशक्ति दैनिक | 2009 | तेजपुर | अंजन शर्मा |
| 15. सपरिवार टाइम्स साप्ताहिक | 2009 | गुवाहाटी | हेमन्त कुमार शइकीया |
भारतीय नेपाली पत्रकारिता जगतमा अविभक्त असमको अवदान महत्वपूर्ण रहिआएको प्रमाण उपर्युक्त पत्रपत्रिकाका सूचीले प्रमाणित गर्दछ। निवत्र्तमानमा भारतीय नेपाली पत्रकारितालाई निरन्तर टेवा दिन गत 2006 देखि दार्जीलिङबाट सम्मेलन पत्रिकाको पुनप्रकाशन हुन थालेको छ। यसरी सिलगढीदेखि आकार, मध्यमार्ग, सिक्किमदेखि विचार, रुाष्टा औ बनारसदेखि उदय आदि प्रकाशित भइरहेका पाइन्छन्।
- वि0 द्र0 –
- (यस लेखमा नेसाप, नेसास, आन्सु, आग्सु, गोर्खा सम्मेलन आदि संस्थाहरूका विभिन्न अवसरमा प्रकाशित मुख पत्रहरू, स्मारिकाहरू, स्मृति ग्रन्थहरूलाई सामेल गरिएको छैन।)
- यस लेखमा उल्लेखित अविभक्त असमबाट प्रकाशित पत्रपत्रिकाहरूको सूचीलाई सम्पूर्ण भन्न मिल्दैन, धेरै छुटेका छन् र नै जुन जुन क्षेत्रका पत्रपत्रिकाहरू छुट्न गएका छन्, त्यस क्षेत्रका विद्वानवर्गले ती पत्रिकाहरू हात लगाईदिए (सम्भव भएमा) अथवा कभर पृष्ठ र घोषणा पत्र लगायत उक्त पत्रिकामा सङ्ग्रहीत रचनाहरूको विश्लेषण गरी थप जानकारी दिनु हुन अनुरोध गरिन्छ औ त्यस सम्बन्धी सहयोगको अपेक्षा गरिन्छ। -लेखिका
माधवदेव पथ, दुर्गासरोवर, गुवाहाटी-9
▬
श्रद्धेय अनुराग प्रधान प्रति सम्झनाका दुइ हरफहरू
◙ विष्णु सुनार
मिरमिरे बिहानीमा क्षितिजका ताराहरूलाई साक्षी राखेर प्रकृतिले उज्यालोको गीत गाउने तर्खर गर्छ। त्यसरीनै ब्रह्मपुत्रलाई साक्षी राखेर सरस्वती पुत्रले मानवताको गीत गाएको नाउँ हो “हाम्रोध्वनि’। समाजका अवहेलित आवाजहरू हाम्रोध्वनिमा ध्वनित भएका कुरा के मानवता होइन र? गेब्रिायल मार्खेजको लेखनीमा दमित शोषित आवाजले शब्दरूप लिए जस्तै हाम्रा दुख-सुखले यस पत्रिकामा शब्द-रूप लिएका छन्। त्यसर्थ यो एउटा पत्रिका मात्र नभएर मियो हो भन्दा अझै राम्रो हुन्छ। परिआएको बेलामा यसले आम जनताको पक्षमा बोलेको भनिरहने कुरा होइन।
मुटुमा सम्वेदना भएकाहरूलाई साहित्यिक, सांस्कृतिक र चेतनाको दाँइहाल्न हाम्रोध्वनिको मियो गाडेको अब चौथो दशक पूर्ण हुन थाल्यो। भारतको नेपाली पत्रकारिताको इतिहासमा अभूतपूर्व अभिलेख स्थापित गर्ने श्रद्धेय गुरू अनुराग प्रधानज्यूले आफ्नो बिंडो हामीलाई दिएर स्वर्ग गएको पनि पाँच वर्ष भयो।
सूर्यको तापले वसुन्धराको पानी वाष्पिभूत हुन्छ। लामो प्रक्रिया पछि यो बादल बन्द छ र झरी बनी पुनः धरतीलाई हरियो-परियो बनाउछ। प्रधानज्यूले आफ्नो जीवनको लामो-प्रायः तीन दशक नेपाली पत्रकारितामा लगाउनु भयो। यो समय उहाँको जीवनको सबैभन्दा जाँगरिलो समय थियो। भगवानले उहाँलाई शतल ऊर्जावान मस्तिष्क, पहाडजस्तै दृढ अटल आँट दिएका थिए। यस कालावधिमा उहाँले अन्य कुनै पनि व्यवसाय गरेको भए धेरै अर्थोपार्जन गर्न सक्षम हुनुहुन्थ्यो, तर उहाँले त्यसो नगरेर नेपाली भाषा साहित्यका लागि आफ्नो सर्वस्व होमेर पत्रिका प्रकाशन गर्नु भयो। हामीले भानु जयन्ती अथवा कुनै अवसरमा स्मृतिग्रन्थ आदि प्रकाशित गर्छौं। त्यस बेलाको अनुभव भुक्तभोगीले मात्र बुझ्न सक्छ। यो प्रकाशित गर्दा कति ठाउँ सम्पर्क गर्नु पर्छ, लेखकलाई घच्घच्याउनु पर्छ, समयले साङलो लाउँछ, समयमा रचना आउँदैन, आर्थिक जगजगीले तर्साउँछ, प्रेसको प्रेतले पछार्छ। कति थोक बेहोरेर अन्तमा स्मारिका प्रकाशित भए पछि कतिले कुरा काट्छन्। राम्रो नराम्रो कति सुन्न पर्छ। दिक्क लाग्छ र दुइ चार दिन विश्राम गरिन्छ। कल्पना गरौं प्रधानज्यूको ठाउँमा आफू स्वयंलाई राखेर। यत्रो थोक भ्याउने परिश्रमी पारस प्रधानज्यूले आफ्नो दुनो कहिलै सोझ्याउनु भएन, आफ्नो कृति पुस्तककाकारमा दिनु भएन। अरूलाई ठाउँ उपलब्ध गराउँदा-गराउँदै आफ्नो ठाउँ राख्नु भएन। तर नेपाली पत्रकारिताको इतिहासमा उहाँको नाउँ स्वर्णाक्षरले अंकित छ। हाम्रो हृदयमा श्रद्धाका थुँगाले सजिएको छ।
21 अगस्त 1997 को बिहान देशवार्ताका तत्कालीन सम्पादक प्रसिद्ध कृषि वैज्ञानिक डा. लालुप्रसाद उपाध्याय, म र प्रधानज्यूले गुवाहाटीको जज फिल्डको छेउको चिया पसलमा बसेर लामो गफ गरेका थियौं। हाम्रोध्वनि, देशवार्ता र जुनकिरीबारे हामीले लामो विचार-विमर्श गरेका थियौं। हाम्रो सामाजिक, राजनैतिक चेतना, परिस्थिति र भविष्यबारे प्रधानज्यूले गहिरो विचार पोख्नु भएको थियो। मीतभाषी प्रधानज्यूका सठीक शब्दहरूले गुरू गम्भीर कुराहरू सजिलै व्याख्या गरेका थिए। भाषा, साहित्य, संस्कृति र समाजबारे उहाँको ज्ञानले हामी अचम्भ परेका थियौं। यसै मौकामा मैले हाम्रा पत्रिकामा छापिने फित्ला कथा-कविताबारे चर्चा गर्छु। उहाँले भन्नु हुन्छ कि हामीले सबैलाई ठाउँ दिनु पर्छ। लामो यात्रामा माता पिताले बिरामी अथवा अपंग सन्तानलाई बाटैमा फालेर अघाडि बढ्दैनन्। बरू विस्तारै हिंड्छन सबैलाई लिएर हिंड्छन्। पत्रिकामा सबैलाई स्थान दिएर उत्साह दिदैं उनलाई परिमार्जित र परिपक्क हुने अवसर दिनु पर्छ। तब बल्ल प्रतिभा उकासिंदै खुड्किला टेक्दै अगाडि बढ्छन। कसलाई थाह यिनै माझबाट भविष्यका लीलबहादुर सर जन्मिएलान्। डा. उपाध्याय र म उहाँका कुरामा सहमत भएका थियौं। बरू उहाँको यस्तो न्यानो भावनाले हामी अभिभूत भएका थियौं।
तनहुँका एकजना युवालाई साहित्याकाशमा भानु बनाउने घासीको नाउँ हामीलाई थाह छैन। तर धेरै सिकारूहरूलाई आश्रय दिएर हुर्काउने अनुराग प्रधानज्यूलाई बिर्सेभने नैतिकता शब्दकोशमा लुक्न पुग्नेछ। उहाँका सपनाहरू थातीमा नरहोस्, हाम्रा आँटभरी पलाओस्। संस्थाहरूले व्याख्यानमाला चर्चा परिचर्चा आयोजन गरेर वर्षेनी उहाँलाई सम्झन सक्छन्। जाति र समाजलाई चेतनशील बनाउने दिशामा यो पनि महत्वपूर्ण पाइला हुनेछ।
दुलियाजान, असम
▬
हाम्रोध्वनिका अन्य पोष्टहरू :
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
