लीलबहादुर क्षत्री : व्यक्तित्व र कृतित्व
लीलबहादुर क्षत्रिय नेपाली साहित्यका एक शक्तिशाली र संवेदनशील लेखक थिए, जसको व्यक्तित्व सरलता, अनुशासन र मानवीय मूल्यमान्यताले ओतप्रोत थियो। उनका कृतिहरूमा सामान्य मानिसको जीवन, सामाजिक वास्तविकता र मानवीय संघर्षहरूको गहन चित्रण प्रस्तुत गरिएको छ। क्षेत्रीको कृति उपन्यास, लघुकथा, निबन्ध र कविता जस्ता विभिन्न विधाहरूमा फैलिएको छ जसको माध्यमबाट उनले नेपाली साहित्यलाई आकार दिए। उनको भाषा, सरल, धाराप्रवाह र शक्तिशाली, पाठकको हृदयमा सिधै पुग्छ। लोकजीवनका भावनाहरूलाई साहित्यिक सौन्दर्यका साथ प्रस्तुत गर्ने उनको क्षमताले उनलाई नेपाली साहित्यको एक अग्रणी स्तम्भको रूपमा स्थापित गरेको छ। उनको योगदानले साहित्यलाई समृद्ध मात्र बनाएन तर समाजलाई नयाँ दृष्टिकोण पनि प्रदान गर्यो।
◙
उपन्यास – अतृप्त
◙ लोकनाथ उपाध्याय चापागाईं
मानव जीवन बहुआयामी समस्याहरूले जेलिएको हुन्छ तापनि संयोग, मौका, अवसर अथवा लहनालाई भाग्य भन्नु हो भने धेरैलाई यस्ता भाग्यले साथ दिएको पनि देखिन्छ। “बसाइँ’, यो उपन्यास एक्काइसौं शताब्दको थालनीमा आज लेखिन्थ्यो भने वा कमलमणि दीक्षितजस्ता व्यक्तिका हातमा यसको पाण्डुलिपि पुग्दैनथ्यो भने प्रा. लीलबहादुर क्षेत्रीज्यूलाई लहनाले यति राम्रो अवदान दिन्थ्यो कि दिंदैनथ्यो, भन्न गाह्रो छ। बसाइँले उनलाई साहित्यका क्षेत्रमा स्थापित हुन र गति दिन धेरै सघायो। सुन्दा तीतोलाग्छ, उनी भारतबाट होइन, नेपालबाट चम्किए। यस उपन्यासको पहिलो संस्करण सन् 1957 मा निस्किएको हो।
शिल्प र कथ्यका दृष्टिले हेर्नु हो भने परम्परागत विषयवस्तुलाई मुखर भाषागत सहजतामा ल्याएर अभिव्यक्तिको चोखो झलक दिनसक्ने शक्ति उनका कलममा स्पष्ट भेटिन्छ। अर्थ विस्तारको दृष्टिले हेर्नु हो भने पनि विस्मृतिको गर्भमा दबिएका सामाजिक सन्दर्भहरूलाई थाहै नदिई उनका कलमले सजिलै टिपेको देख्न पाइन्छ। सुखान्त परिणति सबैलाई स्वीकार्य हुन्छ तर उनको कलम कहीं कहीं दुखान्त परिणतिमा पुगेर थुर्रिएको पनि देखिन्छ। सम्पूर्ण काल्पनिक भएपनि “बसाइँ’ तथ्यात्मक विवरण मात्र होइन, विगत जीवनको यथार्थको स्वच्छ दर्पण पनि हो। सृजनात्मक प्रतिभाका धनी यी लेखकलाई यसै उपन्यासले शिखर पुरुषको श्रेणीमा पुऱ्यायो।
“बसाइँ’ सरेर उनी “दोबाटो’ मा आए तर यो किताबले उनलाई त्यति जमाएन। “अतृप्त’ले उनी तृप्त भएनन् र “ब्रह्मपुत्रका छेउछाउ’ आए। ब्रह्मपुत्रका छेउछाउमा बसेर उनले साहित्य एकाडमी पुरस्कार थापे। त्यसपछि उनले “झ्याउरे पार्टीमा लागेर’ हामीलाई घच्घच्याए। उनी फेरि पनि बिसाएनन्। स्मृति र विस्मृतिमा डुबेर उनले फेरि एउटा भारी उपन्यास लेखे।
“साहित्य एकाडमी पुरस्कार’ मात्र होइन, भानु पुरस्कारलगायत अरू पनि धेरै साना-ठूला पुरस्कारहरू उनका झोलीमा परे। यस्तो सौभाग्य आसामका अरू कुनै लेखक-कविहरूले भेटेनन्। उनका आजसम्म तेह्रवटा कृतिहरू प्रकाशित भैसकेका छन्।
“बसाइँ’ पाठ्यपुस्तकको तालिकामा नगाभिएको भए यसका पाठकको संख्याको परिधि केही कमै हुनेथ्यो होला।
उनीसँग मेरो सम्पर्क डिगबोई छाडेर म गुवाहाटी आउने बित्तिकै सन् 1962 मा भएको हो। आकाशवाणी गुवाहाटीबाट “उत्तराञ्चल अनुष्ठान’ नामको नेपाली कार्यक्रम प्रसारित हुन्थ्यो (अहिले पनि हुन्छ)। त्यतिखेर त्यसको सञ्चालक प्राध्यापक क्षेत्री नै थिए। आधा घण्टाको त्यस नेपाली कार्यक्रममा समाचार, गीत, लेख, वार्ता, नाटक, कविता, यी सबै विधालाई पालैसित ठाउँ दिइएको थियो। उनका संसर्गमा आएपछि म पनि त्यस अनुष्ठानमा गाँसिन पुगें। प्रा. क्षत्रीले त्यहाँ जे जे सहयोग माग्थे, म दिन्थें। गुवाहाटीमा यसरीनै प्रा. क्षेत्रीज्यूसंग मेरा दिनहरू बिते।
सन् 1965 तिर गुवाहाटी शहरबाट म बडबिल भन्ने गाउँमा गएँ। फेरिपनि म गुवाहाटी आई रहन्थें र प्रा. लीलबहादुर क्षेत्रीज्यूसँग सम्पर्क उत्तिकै थियो।
एकजना प्रतिष्ठित व्यक्ति थिए डी. आर. सुब्बा, उनीसँग पनि मेरो राम्रो सम्पर्क थियो। शिलाङ निवासी सुब्बाका धेरै आधुनिक गीतहरू उत्तराञ्चल अनुष्ठान गुवाहाटीबाट प्रसारित भएका थिए र यसै सन्दर्भमा उनी गुवाहाटी आइरहन्थे।
एकचोटि म गुवाहाटी गएका बेला प्राध्यापक क्षेत्रीज्यूले त्यो रात उनकै डेरामा बस्ने मलाई आग्रह गरे।
त्यतिखेर अथवा यो भनुँ, त्यसताक डी.आर. सुब्बा आसाम गोर्खा सम्मेलनका सक्रिय सदस्य थिए र सम्मेलनको “बुलेटिन’का सम्पादक पनि थिए। यसै सिलसिलामा त्यसदिन पनि उनी शिलाङबाट गुवाहाटी आएका थिए। क्षेत्रीज्यूले सुब्बालाई पनि बस्ने आग्रह गरेका रहेछन्।
“आज तपाईंहरूलाई म एक-ढेढ घण्टा ओगटेर राख्छु’ म डेरामा पुग्नेबित्तिकै क्षेत्रीज्यूले भने। एकछिन पछि चिया आयो। चिया खाइसकेपछि उनले हामीलाई बैठक कोठामा लिएर गए र एउटा फाइल निकालेर टेबुलमा फिंजाए।
“मैले एउटा उपन्यास लेखेको छु। हुन ता यो आत्मकथाजस्तो छ तर मैले यसलाई उपन्यास नै भनेको छु’ भन्दै फाइलबाट उनले पाण्डुलिपिको ठेली निकाले। “जहाँसम्म मेरो ख्याल छ, यो एउटा अनौठो कृति हुनेछ’ उनले भने। “यसको शीर्षक के राख्नु भएको छ?’ डी.आर. सुब्बाले सोद्धा उनले “अतृप्त आत्मा’ भने।
“यो उपन्यास म तपाईंहरूलाई पूरै पढेर सुनाउँछु, ध्यान दिएर सुन्नु होला र सुनिसकेपछि मलाई आ-आफ्नो मत दिनुहोला। भएन, बीचमा कतै त्रुटि भेट्नु भयो भने मलाई भनिहाल्नु होला है’ भन्दै उनी फरर्र उपन्यास पढ्न थाले। उनले पढ्दैजाँदा बीचबीचमा डी.आर.सुब्बा र म टिप्पणी गर्थ्यौं र “यस विषयलाई, यस अनुच्छेदलाई वा यस वाक्यलाई यसरी लेख्दा अझ राम्रो हुनेथ्यो’ भन्ने मन्तव्य दिन्थ्यौं। यसरी मत-अभिमतको आदान-प्रदान र छलफल गरी गरी प्रा. क्षेत्रीज्यूले त्यो पाण्डुलिपि पढेर सिध्याउँदा रातिको झण्डै एक बजिसकेको थियो। उपन्यास रोचक, मनोग्राही त थियो नै, त्यसको थीम पनि हामीलाई राम्रो लाग्यो।
फेरिपनि मैले त्यस उपन्यासका सन्दर्भमा कतिपय ठाउँमा “यो यस्तो हुनुपर्थ्यो, यो भएन, यसलाई यसरी लेख्नु पर्थ्यो’ भन्ने मन्तव्य पोख्दा “त्यसैका लागि त मैले तपाईंलाई यति कष्टदिएर यो उपन्यास सुनाएँ’ भनेर उनले भने। “साफीगर्दा सुधार्दै लानु होला’ उनले यो कुरो पनि जोडे।
“तपाईंका अक्षर त किरिङ मिरिङ छन्, यी अक्षरहरू बाबूले फोर्न सक्नुहुन्छ के?’ डी.आर. सुब्बाले अलिकति शङ्का व्यक्त गरे। उनी मलाई “बाबू’ भनेर सम्बोधन गर्थे। “यहाँले सक्नु हुन्छ, नसक्ने कुरै छैन’ भनेर क्षेत्रीज्यूले भन्दा लामो सास फेरेर “लौ बाबू, तपार्इंका थाप्लामा आइलाग्यो एउटा निकै ठूलो भार’ भन्दै डी.आर.सुब्बा जुरुक्क उठे। क्षेत्रीज्यूले त्यो पाण्डुलिपि मेरा हातमा थपक्क राखिदिए। राति खाइ-पिई गरेर सुत्न जाँदा झण्डै दुइ बजिसकेको थियो।
भोलिपल्ट मैले त्यो पाण्डुलिपि लिएर गएँ।
त्यतिखेर मेरो जीवन अति व्यस्त थियो। मैले त्यो पाण्डुलिपि तीन चार दिन लगाएर पूरै पढें। लीलबहादुरज्यूका अक्षर छुट्याएर पढ्नै पनि पहिले त निकै धौ धौ पऱ्यो। तर पढिसकेपछि भने मलाई एकप्रकार ढुक्क लाग्यो। “अब भने साफी गर्न सक्छु’ भन्ने विश्वास भयो। अलिदिन अति व्यस्त रहेकाले पाण्डुलिपिको काम शुरूगर्न भ्याइनँ। एकहप्तापछि मैले त्यसको श्री गणेश त गरें तर काम अलि मन्थर गतिमै चल्यो।
यस्तै गतिमा भएपनि चार-पाँच परिच्छेदको काम भइसकेको थियो, लीलबहादुर क्षत्रीज्यूले “काम कहाँसम्म अघिबड़ो?’ भनेर एकदिन एकजना मानिसलाई सन्देश पठाए। त्यतिखेर फोनको व्यवस्था न मेरा घरमा थियो, न त गाउँमा नै कसैका घरमा फोन थियो न क्षेत्रीज्यूको घरमा।
यसै समस्याले गर्दा क्षत्रीज्यूलाई मैले सूचना दिन सकेको थिइनँ, म पनि शहरतिर जान भ्याएको थिइनँ। फेरि पनि गाउँबाट गुवाहाटी जाने एक दुइ जना व्यक्तिलाई मैले “कामको मेलो सर्दैछ’ भन्ने सूचना त पठाएँ तर मैले पठाएको सूचना त्यहाँ पुग्यो – पुगेन त्यो पनि जान्ने मेसो परेन। किनभने सन्देश लिएर जाने मानिसहरूसँग धेरै दिनसम्म मेरो भेटघाटै भएन। काम बिस्तारो बिस्तारो अघि बड्दै थियो। एक त क्षत्रीज्यूका अक्षरहरू नै खुट्याउन अलि अप्ठ्यारो पर्ने, भएन कतिपय असम्बद्ध भएका शब्द र वाक्यहरूलाई मिलाउनुपर्ने, भौगोलिक पृष्ठभूमिलाई पनि सतर्कभएर हेर्नुपर्ने र सँच्याउनुपर्ने, यसरी अरू धेरै धेरै कुराहरूलाई समेटेर, सिनिक्क पारेर प्रेसकपि बनाउनुपर्दा समय त लाग्ने नै भयो। असलमा यो काम हातमा लिएपछि त्यतिखेर म खमारीमा बाँधेको हात्तीझैं भएँ।
यसरी काम अघि बढ्दै थियो। तर यसैबीच एकदिन अचानक प्रा. लीलबहादुर क्षत्री र डी.आर. सुब्बा टुप्लुक्क मेरामा आए। आधा उधी काम भइसकेको थियो भन्दा हुन्छ। मैले “आधा भयो’ भनें।
“यही गतिमा हो भने त म आर्यविद्यापीठ कलेजबाट रिटायर्ड हुँदासम्म पनि यो पाण्डुलिपिको काम पूरा हुन्छजस्तो लागेन’ लीलबहादुरज्यूले भने। “टिप्न जाँदा चुत्राका काँडाले त घोच्छ नै’ यो सोचेर म चुपलागें।
मैले साफीगरेको पाण्डुलिपि झिकेर देखाएँ। पाण्डुलिपि देखेपछि “यस्तो राम्रो गरेर, यति राम्रा अक्षरमा यस्तो सुन्दर प्रेसकपि बनाउनु भएछ, यसमा त समय लाग्छ नै’ डी.आर. सुब्बाले भने। “बरु अरू छ महिना लागोस् बाबू, कामचैं यसरी नै सक्नु होला, यसमा क्षत्रीज्यूले मुटु चस्काउनु पर्दैन’ उनले फेरि भने।
मैले त्यो पाण्डुलिपि डिमाई आकारकै एउटा ठूलो नोटबुकमा सारेको थिएँ। पाण्डुलिपिको ढाँचा देखेर लीलबहादुर क्षत्रीज्यूलाई पनि ढुक्क लागेछ। “यो पाण्डुलिपि काट छाँट गर्ने, घटाउने-बडाउने अधिकार पनि तपाईंको छ है’ खाइपिई गरेर बेलुका ओछ्यानमा ढल्किदै क्षत्रीज्यूले मलाई फेरि यो कुरो याद दिलाए। त्यो रात मेरैमा बिताएर “भरसक छिटै नै सक्नुहोला’ भन्दै भोलिपल्ट बिहानै उनीहरू हिंडे।
झण्डै दुइमहिना लगाएर मैले त्यो पाण्डुलिपिको काम पूरा गरें। बल्ल कामले नेटो नाघ्यो। समयसापेक्ष पारेर उपन्यासको बारेमा एउटा गहकिलो भूमिका पनि लेखिदिएँ।
अब अलिकति यस उपन्यासको बारेमा सानो समीक्षात्मक टिप्पणी। प्रकाशित भएपचि यसका बारेमा धेरैले धेरै किसिमले लेखे हुनन् तर यसमा भोगवादी प्रवृतिलाई प्रश्रय दिइएको छ भन्नचाहिं अलि मिल्दैन। यसलाई क्रान्तिद्रष्टा लेखकको कालजयी कृति हो भनेर सोझै किटान गर्न नमिलेपनि विभिन्न रूप र अर्थछवि सँगसँगै मानिसका कतिपय गोरखधन्धाहरूको नाङ्गो तस्वीर भने यस उपन्यासमा देख्न पाइन्छ। प्रपञ्च र सद्व्यवहारको बीचमा रहेको परित्यक्ता र अङ्गीकृत नारी-जीवनको मार्मिक आरोह-अवरोह पनि यसमा छ। यसमा सुधा पनि छे, जुनेली पनि छे र अर्कातिर ईश्वरी जस्तो उदार व्यक्तित्व पनि छ।
पाँच दशकभन्दा बढीको विभिन्न आयामिक साहित्य-सृजन-यात्रामा अनुभवको व्यापक छाप अहिले क्षत्रीज्यूको कलममा पयो होला तर त्यतिखेर पनि उनका लेखनीमा वस्तुनिष्ठ सौन्दर्य र कलात्मक अभिव्यक्तिको अभाव देखिदैनथ्यो। नेपाली साहित्य-वाङमयमा आज उनी प्रखर लेखकका श्रेणीमा पर्छन् भन्दा यस धारिलो टिप्पणीलाई धेरैले सोझै पचाउन नसक्लान तर यथार्थको यस्तो टिप्पणी कसैलाई पच्दैन भने त्यो उसको वैयक्तिक कुरो हो।
पाण्डुलिपि मैले प्रा. क्षत्रीज्यूलाई जिम्मा लाएँ। तर दुर्भाग्य, यसपछि निकै वर्षसम्म उनीसँग मेरो भेट भएन। “अतृप्त आत्मा’ भनेर जुन उपन्यासलाई ठाउँठाउँमा सँच्याएर चिटिक्क पारेर, साफी गरेर, भएभरको ऊर्जा खर्चिएर, प्रेसकपि बनाएर मैले क्षत्रीज्यूलाई जिम्मालाएको थिएँ त्यो पछि नेपालबाट “अतृप्त’ नाउँले छापियो अरे भन्ने सुन्न पाएँ। यो उपन्यास 1968 मा छापियो।
उपन्यास छापिएका तीन या चार वर्षपछि मात्र मेरो हात पऱ्यो। तर मेरो भूमिका त परै जावस्, धेरै कष्टगरेर मैले परिमार्जन गरेको त्यस उपन्यासको उनको आफ्नो भूमिकाको पुछारमा प्रोत्साहित गर्ने सामान्य प्रक्रिया पालन गरेर सम्झनास्वरूप औपचारिकरूपमा कसैको नाम उल्लेख गरेझैं वाध्यतावश मप्रति सामान्य कृतज्ञता ज्ञापनगर्दै आधैवाक्यमा मेरो नाउँ समेटिएको देख्दा भने म साह्रै खिन्न भएँ।
▬
एक झलकमा लीलबहादुर क्षत्रीको कृतित्व
◙ ज्ञानबहादुर छेत्री
लीलबहादुर क्षत्री नेपाली साहित्यकाशको पूर्व दिशातिर देखा परेका उज्वल नक्षत्र हुन्, हजारौं ताराहरूमा सहजै चिनिने। सातौं/आठौं कक्षामा पढ्दादेखिनै लीलबहादुर क्षत्रीको साहित्यमा रूचि थियो। त्यस समयमै उनले एउटा उपन्यासै लेखेको जान्न पाइन्छ तर त्यो उपन्यास प्रकाशित हुन सकेन। क्षत्रीको शिवस्तुति शीर्षकको कविता सन 1948मा शिलाङ्गको वाणी प्रिन्टिङ प्रेसमा छपाएर आफैले प्रकाशित गरेको उल्लेख पाइन्छ। शिवस्तुति कविताको प्रकाशन 1948बाट क्षत्रीको साहित्य यात्रा शुरू भएको मान्दा आजको मितिसम्म उनले एकसठ्ठी वर्षको (2009-1948-61) साहित्य-यात्रा गरिसकेका छन्।
लीलबहादुर क्षत्रीको जन्म अंग्रेजी 1933 को 1 मार्चका दिन गुवाहाटीको पुलिस रिजर्भ लाइनमा भएको हो। उनका पिताको नाम प्रेमबहादुर क्षत्री र आमाको नाम पवित्रा देवी हो। उनको पुर्ख्यौली थलो पूर्व नेपालको सुदाप नामको गाउँ थियो भन्ने जानकारी पाइन्छ। क्षत्रीका पिता प्रेमबहादुर भाग्यान्वेषणमा असम पसेका, आफ्नै अध्यवसायका भरमा असम पुलिसमा डी एस पी को पदसम्म जागीर खाएर सेवानिवृत्त भए। उनले पुलिस विभागमा निष्ठापूर्वक सेवा प्रदान गरे बापत् राष्ट्रपतिको स्वर्ण पदक पनि पाएका हुन्।
पुलिस अफिसरका छोरा लीलबहादुरको स्कूलको पढाई विभिन्न ठाउँमा बेग्लाबेग्लै माध्यममा भएको थियो भने उनको बी ए र एम ए (अर्थशास्त्र)को पढाइ कटन कलेज र गुवाहाटी विश्वविद्यालयमा पूरा भएको हो। त्यसपछि केही वर्ष उनले गुवाहाटी रेडिओमा काम गरे। सन् 1962 देखि 1994 सम्म उनी गुवाहाटीको आर्यविद्यापीठ कलेजमा प्रवक्ताको रूपमा शिक्षादान गरेर विभाग प्रमुख, (अर्थशास्त्र) पदबाट सेवा निवृत्त भए। लीलबहादुर क्षत्रीका पुस्तकाकारमा प्रकाशित कृतिहरू यस प्रकार छन् :
उपन्यास- बसाइँ (प्रथम प्रकाशन-मदन पुरस्कार पुस्तकालय, काठमाडौं, 1957 सन)
- अतृप्त (साझा प्रकाशन, काठमाडौं, 1968)
- ब्रह्मपुत्रको छेउछाउ (प्रथम प्रकाशन – श्याम प्रकाशन, दार्जीलिङ, 1988)
- प्रतिध्वनि विस्मृतिका (अनुराग प्रकाशन, गुवाहाटी, 2004)
- तीन दशक : बीस अभिव्यक्ति – पंकज पल्लव प्रकाशन, गुवाहाटी, 1983
- लीलबहादुर क्षत्रीका कथाहरू – राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौं, 1997
- दोबाटो – साझा प्रकाशन, काठमाडौं, 1967
- शुरूको शुरू – भानु (पूर्णांक 65)मा प्रकाशित – सं भवानी प्रसाद घिमिरे
- माग – एकांकी – 1978
- असममा नेपाली भाषा र त्यसको साह्रो गाह्रो – प्रकाशक मण्डल, 1961
- पूर्वाञ्चल भारतीय कथा साहित्य र पत्रकारिताको इतिवृत्त – पंकज पल्लव प्रकाशन, गुवाहाटी – 1997
- झ्याउरे पार्टीमा लाग्दा – पंकज पल्लव प्रकाशन, गुवाहाटी – 1999
- पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन – पंकज पल्लव प्रकाशन, गुवाहाटी-2000
हेर्दा, लीलबहादुर क्षत्रीका चारवटा उपन्यास, दुइवोटा कथा संकलन, तीनवटा नाटक/एकांकी र चारवटा निबन्ध संकलन-सर्वमोठ तेह्यवटा कृतिहरू प्रकाशमा आएका दखिन्छन्। संख्यात्मक दृष्टिमा सड्चालीस वर्षको अवधिमा (बसाइँ 1957 देखि प्रतिध्वनिहरू विस्मृतिका 2004) एकजना लेखकका तेह्यवटा पुस्तक प्रकाशित हुनु कुनै महत्वपूर्ण उपलब्धि भन्न नमिल्ला किनभने अझ छोटो अवधिमा लीलबहादुर क्षत्रीका भन्दा बडी संख्यामा पुस्तक प्रकाशित गराउने लेखक असममै (दार्जीलिङ-सिक्किमको कुरा छाडौं) पनि निस्किसकेका छन्। लीलबहादुर छेत्री साहित्य-क्षेत्रमा स्थापित हुनु, जनप्रिय अनि सफलताको शिखरमा पुग्नुको कारण उनका कृतिको संख्या होइन गुणवत्ता हो। लीलबहादुरले कति लेखे भन्नेभन्दा के लेखे महत्वपूर्ण भएको छ अनि यो के लेखे भन्ने कुरा सबै लेखकमा उत्तिकै महत्वपूर्ण छ।
जीवित भारतीय नेपाली साहित्यकारहरूमा इन्द्रबहादुर राई पछिनै लिनु पर्ने नाम लीलबहादुर क्षत्री हो। इन्द्रबहादुर राईले थरि थरिका फूलहरूबाट रस बटुलेर महामृत दिएका छन् भने लीलबहादुर क्षत्रीले आफ्नै कोठे बारी, कान्ला र भीर पखेराहरूमा केरा-इस्कुस-काँक्रा-कोदो-मकै-फापर-तरूल-भ्यागुर उब्जाएका छन्। यी दुवै हस्तीहरू नेपाली जनसमूदायमा अति आदरणीय व्यक्तिबाट एक एक अनुष्ठानका रूपमा समादृत भएका छन्।
यस निबन्धमा लीलबहादुर क्षत्रीको समग्र कृतित्वलाई अँटाउन नसकिने हुनाले उनका प्रमुख कृतिहरूको संक्षिप्त परिचय मात्र दिने प्रयास गरिएको छ।
उपन्यास- बसाइँ
- अतृप्त
- ब्रह्मपुत्रको छेउछाउ
- प्रतिध्वनिहरू विस्मृतिका
सन 1957मा प्रकाशित बसाइँ लीलबहादुर क्षत्रीको पहिलो कृतिले नै लेखकका रूपमा क्षत्रीलाई स्थापित मात्र गराएन अपितु जनप्रियताको शिखरसम्म पुऱ्ययो। सामाजिक यथार्थवादमा आधारित यस उपन्यासको संरचना सपक्क मिलेको, वर्णन बाहुल्यबाट मुक्त छ। मान्छे बसाइँ सर्छ किन? केले बाध्य गराउँछ मान्छेलाई आफू हुर्केबढेको जन्म भूमिलाई छोडेर अन्यत्र बसाइँ सर्न? आफ्नो माऊथलो गुमाउन बाध्य भएकाहरू नेपालमा मात्र नभएर पृथ्वीका अन्य देशहरूमा पनि पाइन्छन्। यस कारण लीलबहादुरको उपन्यास “बसाइँ’मा साम्प्रतिक युगको ठूलो समस्या, गाँस-बासको समस्यालाई देखाइएको छ। कृष्ण धरावासीको उपन्यास “शरणार्थी’ लैनसिं बाङ्गदेलको उपन्यास “मुलुक बाहिर’ आदिमा पनि यस्तै कुरा पाइन्छन्।
धने “बसाइँ’ उपन्यासको प्रमुख पात्र हो। प्रचलित समाज व्यवस्थाको उल्टो न्यायमा धनेले आफ्नो घडेरी र भएभरको जेथो गुमाएर साथमा पत्नीलाई लिएर उद्देश्यविहीन यात्रामा निस्कन्छ। रिकुटेको प्रवञ्चनामा दोजिया भएकी झुमाको कथा अझ मर्मस्पर्शी छ। उपन्यासमा रिकुटे खलनायक बनेको छ। त्यसै गरी धनेका साथ उसकी स्वास्नी मैना र बैनी झुमाले सोझा निमुखा नेपाली जनतालाई प्रतिनिधित्व गरेका छन् भने रिकुटे, नन्दे ढकाल, बैदार बाजेजस्ता पात्रमा शोषके प्रवृत्ति पाइन्छ। समाजका पञ्च भलाउँदाहरूको कोल्टे निसाफलाई पनि उपन्यासमा प्रष्ट्याइएको छ। समालोचक ताना शर्माले “बसाइँ’लाई प्रगतिवादी उपन्यास भनेका छन् तर अरू केही लेखकका अनुसार यसले मार्क्रसीय दार्शनिक धरातललाई ग्रहण गर्न सकेको छैन। सामन्ती शोषण र सामाजिक अन्यायको चित्रण गरिए पनि तिनका विरूद्धमा कुनै प्रतिवादसम्म नहुनु, कसैले पनि संग्राम गर्न नखोज्नु उपन्यासका कमजोर पक्ष हुन् – सायद यही कमजोरीले “बसाइँ’लाई प्रगतिवादी उपन्यास बन्नमा बाधा पुऱ्याएको छ। मूल पात्र, उपन्यासको नायक धनेलाई साह्रै निम्सरो र पलायनवादी पात्रका रूपमा राखिएको छ। यसको विपरीत हेमिंवेको बूढो शान्तियागो संघर्ष गर्छ। धनेका जसरी सहजै हार मान्न तयार छैन ऊ। शान्तियागो पात्रका मार्फत हेमिंवेले मान्छेलाई गरिमामय रूपमा देखाएका छन् अनि उनको कृति (The old man and the sea) कालजयी कृतिमा गनियो।
केही कमजोर पक्ष हुँदाहुँदै पनि बसाइँ नेपाली भाषामा रचिएको उच्चकोटिको उपन्यास हो – यसमा शंका छैन। मदन पुरस्कार पुस्तकालय, साझा प्रकाशन जस्ता संस्थाहरूबाट अनेकौं संस्करण छापिनु, अंग्रेजी, हिन्दी, चिनियाँ, असमीया आदि भाषामा अनूदित हुनु अनि सिनेमा बनिएर ओस्करका लागि मनोनीत हुनुले “बसाइँ’कै श्रेष्ठता दर्शाउँछ।
लीलबहादुर क्षत्रीको दोरुाो उपन्यास “अतृप्त’ मनोविज्ञानमा आधारित देखिन्छ। मोठ दश परिच्छेदमा विभाजित प्रस्तुत उपन्यास मेघराजले विद्यार्थी जीवन समाप्त गरेर कार्य क्षेत्रमा प्रवेश गरेदेखि शुरू भएको पाइन्छ। सामाजिक नीति नियमको अनुशासनमा हुर्किएको मेघराजको रीतासँगको प्रेमले विवाहको लक्ष्य प्राप्त गर्न सकेको छैन। रीताको अन्य पुरूषसँग विवाह हुनु अनि उसले आत्महत्या गर्नु, मेघराजको सुधासँग सामाजिक संस्कारअनुसार विवाह भए पनि सुधाको घमण्डी स्वभावले गर्दा वैवाहिक जीवन सुखी नहुनु, मेघराज पढ्ने बहानामा गुवाहाटी जानुजस्ता कुराले जीवनका विसंगति दर्शाएको छ। नायक मेघराजको चरित्रबाट मनभित्रको स्वच्छन्द कामना र सामाजिक अनुशासनका बीचमा द्वन्द्व सधैं रहेको अनि यसैलाई अतृप्तिको कारण मानिएको बुझिन्छ। मेघराजभित्रको कामवासना कहिल्यै तृप्त हुन सकेन। रीता, सुधा, जुनेली, दिव्या, ईश्वरी आदि नारी उसका जीवनमा आए तर मेघराज भने अतृप्तनै रह्यो। प्रेममा झैं जीवनका अरू कार्यहरूमा पनि मेघराज सफल भएको देखिंदैन। यौन अतृप्तिले गर्दा जीवन कसरी विसंगतिपूर्ण हुन जान्छ भन्ने वास्तविकतालाई दर्शाउनु उपन्यासकारको उद्देश्य हुन सक्छ।
“बसाइँ’ उपन्यास रचना गर्दा लेखक युवा अवस्थामा थिए भने “अतृप्त’ का रचयिता उमेर, अनुभव, अध्ययन सबैमा परिपक्क भएका देखिन्छन्। जीव जगतमा यौनता एक प्रकारको भोक (biological need) हो। सामाजिक बाधा निषेधले मान्छेको स्वाभाविक यौन-प्रक्रिया विसंगत भएको छ। मेघराज र जुनेलीको रतिरागात्मक गतिविधि सामाजिक दृष्टिमा गर्हित र वर्जित भए पनि आन्तरिक मनोजगतका इच्छाहरू अदम्य हुने गर्छन् अनि तिनलाई निषेध गरेर सन्तुलित जीवनको अपेक्षा गर्न सकिंदैन भन्ने संकेत पनि उपन्यासमा पाइन्छ। वास्तवमा, अन्तर्मनका इच्छा आकांक्षाले मान्छेलाई डोऱ्याएको हुन्छ र यिनै कुराहरूलाई चित्रण गर्नु मनोवैज्ञानिक सिद्धान्त मानिन्छ। “अतृप्त’ उपन्यासमा क्षत्रीले व्यक्ति मानसिकताका सत्य कुरालाई उजागर पारेका छन्। “बसाइँ’ र “ब्रह्मपुत्रको छेउछाउ’ मा ग्रामीण जीवनको चित्रण रहेको विपरीत “अतृप्त’ सहरिया जीवनको झलक देखाउने उपन्यास हो।
ब्रह्मपुत्रको छेउछाउ लीलबहादुर क्षत्रीको तेस्रो उपन्यास आसामका लाखौं नेपालीहरूको वास्तविक जीवनसँग सम्बन्धित छ। क्षत्रीको पहिलो उपन्यास नेपालको पृष्ठभूमिमा आधारित छ जसमा सामाजिक शोषणको फलस्वरूप धनेको परिवार देशबाट लखेटिनु परेको करूण गाथा छ। देशबाट लखेटिएको धने कहाँ गयो उसले बाँकी जीवन कसरी कटायो भन्ने कुराको उत्तर “ब्रह्मपुत्रको छेउछाउ’ मा पाइन्छ। “ब्रह्मपुत्रको छेउछाउ’ लाई “बसाइँ’ को उत्तर खण्ड मान्न सकिन्छ। नेपालीहरू विदेशिनुका कारण बसाइँ मा पाइन्छ भने विदेशिएका नेपालीहरू के गर्छन् कसरी बसेका छन् भन्ने प्रश्नका उत्तर “ब्रह्मपुत्रको छेउछाउ’ मा पाइन्छन्।
“ब्रह्मपुत्रको छेउछाउ’ सामाजिक यथार्थवादी उपन्यास हो। उपन्यासको मुख्य पात्र गुमानसिंहको जीवनको संघर्ष यसको मुख्य कथ्य हो। ब्रह्मपुत्र असमको छाती चिरेर बगेको छन् अनि यसै नदीका दुवै किनारमा नेपालीहरू खेती गरेर या गोठ पालेर बसेको पाइन्छ। असमको राजनैतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक आदि कुराले उपन्यासलाई समृद्ध तुल्याएको छ। रैथाने असमीया जनगोष्ठीहरूसँग नेपालीहरूको आत्मीय सम्पर्क रहेको कुरा केशव काकतिको प्रसङ्गबाट थाह हुन्छ। 1950 सनको भूइँचालो, भारत-पाकिस्तानको युद्ध, स्वाधीनता संग्राममा बाबू छविलाल, विष्णुलालहरूको नेतृत्व आदिले पनि उपन्यासको गरिमा बढाएको छ। असमको अन्न-जल-हावाका साथसाथै असमका नेपालीहरूले कतिपय स्थानीय शब्दहरू पनि पचाएका छन्। त्यस्ता शब्दहरूको प्रयोग उपन्यासको अर्को विशेषता हो।
गुमाने, हेडमास्टर सूर्यप्रसाद उपाध्याय, केशव काकति मालती आदि “ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासका प्रमुख पात्र-पात्रा हुन्। गुमाने र मालतीको प्रेम बिहेको परिणतिसम्म पुग्न सकेको भए असमीया र नेपाली जनगोष्ठीहरू बीचको आत्मिक सम्बन्ध अझ स्पष्ट रूपमा देखिने थियो।
“प्रतिध्वनिहरू विस्मृतिका’ क्षत्रीको नवीनतम उपन्यास हो। लेखकका पिता सेवा निवृत्त पुलिस अफिसर प्रेमबहादुर क्षत्रीको जीवनी उपन्यासको विषयवस्तु बनेको छ। उनी कसरी धन कमाउने रूखमा फलेका रूपियाँ टिप्ने सपना बोकेर असम पसे, गोठालो भएर काम गरेको अनि शेषमा असम पुलिसमा भर्ना भएर निष्ठापूर्वक जागीर खाएर, राष्ट्रपतिबाट पदक पाएर डी.एस.पी. को पदबाट सेवा निवृत्त भए ती सबै वृतान्त उपन्यासमा वर्णन गरिएको छ। एकजना पत्रकारले प्रेमबहादुरको संस्मरणबाट घटनाहरू टिप्तै जान्छन् अनि त्यसैको आधारमा बनिन्छ प्रस्तुत उपन्यास। वास्तवमा, उपन्यासका काल्पनिक पत्रकार लेखकनै हुन्।
डी.एच. लॉरेन्सको उपन्यास “दय रेइन्बो’मा दुइ देशमा रहेका दुइ पुर्खाको झलक पाइन्छ भने लीलबहादुर क्षत्रीको “प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यासमा पनि तीन पुस्ताको झलक प्रस्तुत गरिएको छ। असीत राईको “नयाँ क्षितिजको खोजमा’ पुर्खाको इतिहास अझ व्यापक छ। क्षत्रीको प्रस्तुत उपन्यासमा असम तथा मेघालयका गोठ पाल्ने, खेती गर्ने, संगठन गर्ने, राजनीति गर्ने, भाषा-संस्कृतिका लागि मरिमेट्ने नेपालीहरूको कुरा पाइन्छ। हालको गुवाहाटी महानगरीमा एक समयमा 80 प्रतिशत जनसंख्या नेपाली थिए, पुलिस विभागमा धेरैजसो नेपालीनै थिए भन्ने सुन्दा अनि आजको स्थिति देख्ता पिरोलिनु पर्छ।
सत्ताइस अध्याय (पृ. 248)मा तुरिएको यस उपन्यासमा नेपाली बिहे, दोहोरी गीत, जुवारी गीत आदि प्रसङ्गले उपन्यासलाई गरिमा प्रदान गरेका छन्। ऐतिहासिक घटनाहरूको अत्यधिक वर्णनले रसभंग भएको (निबन्ध जस्तो) अनुभव हुन्छ। कसै कसैले यसलाई उपन्यास नभनेर इतिहास भनेका छन्। जसले जेसुकै नभनुन् किन क्षत्रीको “प्रतिध्वनिहरू विस्मृतिका’ एउटा ऐतिहासिक उपन्यास हो – वीरेन्द्रकुमार भट्टाचार्यको मृत्युञ्जय जस्तै, डिकेन्सको “ए टेल अफ टू सिटिज’ जस्तै।
लीलबहादुर क्षत्री मूलतः आख्यानकार हुन्। उनका चारवटा उपन्यास र दुइवटा कथा संकलन प्रकाशित भएका छन्।
तीन दशक बीस अभिव्यक्ति- “तीन दशक बीस अभिव्यक्ति’मा बीसवटा कथा समावेश गरिएका छन्। कथाकार इन्द्रबहादुर राईको भूमिका (अकबरी सुनलाई कसी लाउनु पर्दैन)ले संकलनको सौष्ठव बढाएको छ। कथाहरू यस प्रकार छन् – कर्त्तव्य, आशाको दियो निभ्यो, मुगाको चोलो, वास्तविकता, किपट, पुरस्कार, बेसाहा, चिट्ठा, सुहाउँदो जोडी, धूप-चश्मा, तह नमिलिको साँझ, मेरो गोपवाल, त्यो ढाक्रेको कुदाइ, भाग्यमानी म, यहींसम्म, सस्तो रगत।
- संकलनका सबै कथाहरू घटना प्रधान छन्। कथाका पात्रहरू प्रायः निम्नवर्गका खटिखानेहरूलाई लिइएको छ। कथाकार राईका अनुसार भावनात्मक कथाहरू – मुगाको चोलो, वास्तविकता, पुरस्कार।
- सामाजिक यर्थाथवादी कथाहरू – बेसाहा, किपट, तह नमिलेको साँझ।
- चिन्तन प्रधान कथाहरू – यहींसम्म, त्यो ढाक्रेको कुदाइ।
- साना कुराहरूका कथाहरू – धूप चश्मा, चिट्ठा, सुहाउँदो जोडी, भाग्यमानी म।
- दिन चर्या : एक दिनको
- स्वच्छन्द मन : घेराभित्रको जीवन
- दश वर्षको प्रायश्चित्त
- मुख ढाकिएन
- मृग मरीचिका
- ऊ फेरि फर्कन्छ
- मेरो आत्मीय भूत
- स्थायीबास
- शङ्काको साँढे
- प्रतिशोध
- सुनको पिञ्जडा
- त्यसरी अन्त्य हुन्छ एउटा विसंगतिको
- अविस्मरणीय मैतीदेवी
- पुराण एक गन्तव्य अनेक
- कुनै त सत्य होला
- अंश बन्डा
- अस्तित्वका कल्याङ मल्याङहरू
- दश स्टेसनभरिको मोह
यस संकलनका धेरजसो कथाको पृष्ठभूमि असम रहेको “पाइन्छ मुख ढाकिएन’, “ऊ फेरि फर्कन्छ’, “दश स्टेसनभरिको मोह’ कथाहरू नेपालको धरान, विराटनगर, तेह्रथुम र बिहारको रस्सौल, दरभंगा पृष्ठभूमिमा रचिएका पाइन्छन्। संकलनको पहिलो कथा दिन चर्याको शैलीमा प्रस्तुत गरिएको छ। “स्थायीबास’ कथामा जीवनको समाप्तिनै स्थायीबास रहेछ भन्ने देखाइएको छ। गुरूप्रसाद मैनालीको “छिमेकी’ शीर्षकको कथा याद दिलाउने “शंङ्काको साँढे’ कथामा असमेली नेपाली गाउँले जीवनको यथार्थ चित्रण गरिएको छ। “त्यो ढाक्रेको कुदाइ’, “गाडी चल्यो-यात्री बढ्यो-पोको रह्यो’, “यहींसम्म’, “कुनै त सत्य’ होला आदि कथाहरूमा कथाकार आध्यात्मिकतातिर आकर्षित भएका पाइन्छन भने “मृग मरीचिका’, “अविस्मरणीय मैती देवी’, “मुख ढाकिएन’ कथाहरूमा भावुकता प्रखर रूपमा पाइन्छ।
क्षत्रीका सबै कथाहरूमा मानवीय संवेदनाको प्रकर्षता पाइन्छ। चरित्र चित्रण तथा पृष्ठभूमिमा आञ्चलिकताको छाप रहे पनि समग्रमा क्षत्रीका कथाहरूले नेपाली जाति र संस्कृतिलाई प्रतिनिधित्व गरेका छन्।
नाटक (दोबाटो)प्रख्यात अंग्रेजी नाटककार जर्ज बर्नर्ड श भन्छन् द्वन्द (conflict) नाटकमा हुनै पर्छ। Unity, however desirable in political agitations, is fatal to drama; for every drama must present a conflict. The end may be recociliation or destruction; or, as in life itself, there may be no end; but the conflict is indispensable : no conflict, no drama. (Preface to Plays Pleasant; 1898 ARMS AND THE MAN by George Bernard Shaw)
लीलबहादुर क्षत्रीले उनको दोबाटो शीर्षकको नाटकमा यस्तै देखाएर त्यसको समाधानतर्फ दर्शकको ध्यानाकर्षण गराएका छन्। गीताको लोग्ने मदन सेनामा जागीरे थियो। युद्धमा मदनको मृत्यु भएको तार गीताले पाउँछे। पतिको आकस्मिक मृत्युमा मानसिक पीडाले छट्पटाएकी गीताका जीवनमा ठूलो समस्या तेर्सिन्छ। पतिको संझनामा सारा जीवन बिताउने कि पुनर्विवाह गरेर नयाँ जीवनको शुरूवात गर्ने। धार्मिक सामाजिक नीति अनुशासनमा हुर्केकी गीताको यो समस्या जसैतसै सुल्झिएको मात्रै थियो, उसले धनवीरसँग बिहे गरेर जीवन बिताउनु उचित ठानी। कुरा यतिमै सकिएको भए केही थिएन। तर गीताका जीवनमा पहिलेको भन्दा झन् ठूलो समस्या खडा भयो। सैनिक कार्यालयले मऱ्यो भन्ने ठानेर तार पठाएको मदन मरेको रहेन रहेछ। ऊ थुनुवा भएको रहेछ।
अब गीताले के गर्ने? पहिलो पति मदनसित जाने कि धनवीरसित बस्ने? मदन र धनवीरलाई एकसाथ पति कसरी मान्ने?
लेखकले गीताको प्रथमप्रति मदनप्रतिको प्रेमलाई आत्मिक रूप र द्वितीय पति धनवीर प्रतिको प्रेमलाई शारीरिक रूपमा देखाएर आत्मा र शरीर – यी दुइ पक्षको मानसिक द्वन्द्व गीतामा देखाउने प्रयास गरेका छन्।
लेखक विचारक (Judge) होइन। समस्यालाई उसले देखाउँछ तर त्यसमाथि विचार विमर्श गरी समाधान खोज्ने काम श्रोता-दर्शकलाई छाडिदिन्छ। नाटककार लीलबहादुर क्षत्रीको “दोबाटो’ मा समाधान दिने प्रयास पाइन्छ। नाटककारलाई पनि यहाँ सामाजिक मान्यता र नैतिक मूल्यबोधले थिचेकै पाइन्छ अनि यहीं नाटकको दुर्बल पक्ष फेला पर्छ।
निबन्धसाधारणतः सृजनमूलक लेखकले आफ्नो समय सिर्जनात्मक लेखनमा बिताउँछ। एकाधिक विधाहरूमा लेख्नेहरूको पनि आफ्नो मुख्य रूचिको विधा हुने गर्छ। तर नेपाली लेखकलाई विशेष गरी आसामका नेपाली लेखकलाई त्यस प्रकारको छुट छैन। एक पल्ट लेखकको स्टाम्प लागेपछि प्रयोजन अनुसार उसले लेख्नु पर्छ। यसको छुट छैन लीलबहादुर क्षत्रीलाई पनि। हुन सक्छ, उनका धेरजसो निबन्ध प्रयोजन हुनाले लेखिए। लीलबहादुर क्षत्रीका निबन्धहरू जुनसुकै कारणमा नलेखिउन किन तिनले नेपाली साहित्यका छात्र-छात्रा र शोधकर्ताहरूको ठूलो खाँचो टारेका छन्।
असममा नेपाली भाषा र त्यसको साह्योगाह्यो-एउटा निबन्ध भन्न सुहाउने 16 पृष्ठको यो पुस्तिकमामा क्षत्रीले असमका विभिन्न ठाउँहरूमा विभिन्न जनगोष्ठीहरूसँग मिलेर बसोबास गरेको अनि आफ्नो भाषालाई जोगाएर राखेको कुरा पाइन्छ। छरपट्ट भएर बसोबास गरेका नेपालीहरूले आफ्नो मातृभाषामा शिक्षा पाउनबाट वञ्चित हुन परेको र स्थानीय असमीया माध्यममा पठन-पाठन गर्नु परेका कुरा पुस्तिकामा उल्लेख गरिएको छ। संविधानले मातृभाषामा पढ्न पाउने अधिकार दिएको छ तर असममा नेपाली भाषीहरूका क्षेत्रमा सम्भव हुन सकेको छैन। क्षत्रीले यस पुस्तिकामा नेपाली भाषामा पठन-पाठनका समस्याहरूलाई पर्गेल्दै समाधानको बाटो खोज्ने प्रयास गरेका छन्।
पूर्वाञ्चल भारतीय कथा साहित्य र पत्रकारिताको इतिवृत्त
पूर्वाञ्चलमा नेपाली साहित्यको थालनी तुलचन आलेबाट भएको हो। सन 1936मा बाबू मणिसिंह गुरूङ्गले साप्ताहिक गोर्खा सेवकको प्रकाशन गराएर पूर्वाञ्चलमा नेपाली पत्रकारिताको जग बसालेका हुन्। गोर्खा सेवकमा प्रकाशित रामप्रसाद ज्ञवालीको कलंक शीर्षकको कथा प्रकाशित भएको हो। टंकनाथ उपाध्यायको पुड्के हवल्दार कथा काठमाडौंको शारदा पत्रिकामा सन 1940 मा छापिएको तथ्य पाइन्छ। अर्जुन निरौला, लीलबहादुर क्षत्री, विक्रमवीर थापा आदि – पूर्वाञ्चलका प्रतिनिधि कथाकार हुन्। हिमाद्री, प्रभातः बिन्दु, स्पन्दन, हाम्रोध्वनि आदि सयौं पत्रपत्रिका प्रकाशित भएका छन्।
झ्याउरे पार्टीमा लाग्दाझ्याउरे पार्टीमा लाग्दा क्षत्रीको महत्वपूर्ण निबन्ध संकलन हो। यसमा समावेश भएका निबन्धहरू हुन् –
झ्याउरे पार्टीमा लाग्दा, विस्मृतिको खाल्डोभित्र नियाल्दा आफ्नो घुर्मैलो नाट्ययात्रा, बसाइँदेखि ब्राहृपुत्रको छेउछाउसम्म, गोर्खा पाठशालाको सेरोफेरो, खेलकूद, भानु शालिग अनावरण समारोह, चाडबाड-तीज, नेपाली संस्कृतिमा मादलको स्थान, आसामको नेपाली जनजीवन र भानुभक्त, भानुभक्तको नारी भावना, कवि पद्मप्रसाद ढुङ्गाना, कवीन्द्र रवीन्द्रनाथ ठाकुर, डा. सर्वपल्ली राधाकृष्णन, सांगठनिक एकरूपता, आसामको शिक्षा व्यवस्थामा नेपाली भाषा, असमका नेपाली लेखकहरूमा असमीया साहित्यको प्रभाव, नेपाली लोक-धुन तथा धर्मराज थापा-एक परिचर्चा।
संकलनको पहिलो निबन्धको शीर्षक अनुसार संकलनको शीर्षक झ्याउरे पार्टीमा लाग्दा राखिएको छ। पुलिस अफिसर बाबुको इच्छाको विपरीत लेखक कसरी रेडिओ गुवाहाटीसंग संलग्न हुन पुगे त्यसको वर्णन पहिलो निबन्धमा पाइन्छ। दोरुाो निबन्धमा लेखकको नाटक लेखन तथा त्यस विषयमा उनको अनुभव अभिव्यक्त गरिएको छ। तेरुाो निबन्धमा लेखकका पहिले प्रकाशित तीनवटा उपन्यासबारेमा थप जानकारी दिएका छन्। हाम्रो चाडबाड-तीज शीर्षक निबन्धमा तीजको माहात्म्य वर्णन गर्दै हरितालिका व्रत सर्वप्रथम पार्वतीले पालन गरकी थिइन् भन्ने उल्लेख गरिएकोक छ। नेपाली संस्कृतिमा मादलको स्थान शीर्षक निबन्धमा मादलका विभिन्न प्रकारहरू दर्शाउँदै नेपाली संस्कृतिमा मादलको उच्च स्थान रहेको कुरा उल्लेख गरिएको छ। कवि पद्म प्रसाद ढुङ्गाना-खोज/अनुसन्धानमूलक निबन्धमा कवि ढुङ्गानाको कृतित्वबारे महत्वपूर्ण कुराहरू पाइन्छन्। गोर्खा पाठशालाको सेरोफेरोमा निबन्धकारले उनको स्कूलमा पढेको स्मृति रोमन्थन गर्दै त्यस समयको शिलाङको जनजीवनमाथि पनि प्रकाश पारेका छन्। भानुभक्तको नारी भावना, सांगठनिक एकरूपतालगायत अरू निबन्धहरू पनि रोचक एवं पठनीय छन्।
पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शनप्रस्तुत ग्रन्थमा असममा नेपालीहरूको बसोबास आठौं शताब्दीदेखि शुरू भएर सुगौली सन्धिपछि पर्याप्त मात्रामा नेपालीहरू बसोबास गर्न थालेको उल्लेख अनि तुलचन आलेको मणिपुरको लडाइँको सवाई (1893) देखि नेपाली लेख्य साहित्यको शुरू भएको कुरा पाइन्छ। तुलचन आलेको सवाई पूर्वाञ्चल भारतमा मात्र नभएर भारतीय नेपाली साहित्यकै प्रथम लिखित रूप मानिएको देखिन्छ। क्षत्रीले प्रस्तुत पुस्तिकामा देखाए बमोजिम भारतीय नेपाली साहित्यको शुरूवात संस्कृतका विद्वान कविहरूबाट नभएर ग्राम्य जीवनको भाषा बोल्ने गाउँले-पल्टनेबाट लोकछन्दमा भएको छ। त्यसरीनै भक्तिरस होइन, युद्ध-लडाइँको वीर रसबाट थालनी भएको छ हाम्रो साहित्यको।
उत्तर पूर्वाञ्चलमा कुनै पनि पत्र-पत्रिका नभएको समयमा पनि यस भेकका केही लेखकहरूका रचना दार्जीलिङ, देहरादून, वाराणसी अथवा काठमाडौंका पत्र-पत्रिकाहरूमा प्रकाशित भएको तथ्य दिग्दर्शनमा पाइन्छ। 1936मा गोर्खा सेवक प्रकाशित हुन थालेपछि यसले निकै साहित्यकार जन्माएको कुरा पनि क्षत्रीले उल्लेख गरेका छन्। एउटा कुरामा भने क्षत्रीले आफैंले गाँठो नखोलेर त्यो दायित्व अरूलाई सौंपेका छन्। पूर्वाञ्चलको उपन्यास विधामा सबैभन्दा जेठो को हो भन्ने कुरा स्पष्ट पारिएको छैन। नाटक लेखन तथा मञ्चनको प्रसङ्गमा उनी माझगाउँ देखि लाली गुराँस सम्मको कैरन सुनाउँछन्। त्यसै गरी आजका पिंढीले बिर्सिसकेका धेरै प्रतिभाहरूलाई प्रकाशमा ल्याएर क्षत्रीले आजका शोधकत्र्ताहरूलाई अरू व्यापक खोज अनुसन्धान गर्नु पर्ने आवश्यकतातिर संकेत गरेका छन्।
क्षत्रीको प्रस्तुत पुस्तिका दिग्दर्शन मात्र हो, सम्पूर्ण इतिहास होइन। यसमा धेरै कुराहरू छुटेका छन्, छुट्न स्वाभाविक पनि हो। तर यो दिग्दर्शनले छरेको उज्यालोमा रहेका/छुटेका सबै कुरालाई समेटेर प्रकाशमा ल्याउने काम हाम्रो हो। हामीलाई सही बाटो देखाउने क्षत्रीको गुण बिर्सन सकिंदैन।
कुनै पनि महत् कार्यलाई स्वीकृति दिइन्छ, सराहना गरिन्छ। लेखकका रूपमा लीलबहादुर क्षत्रीले जुन अवदान दिएका छन्। त्यसका लागि उनले उचित स्वीकृति र सम्मान पनि पाएका छन्। उनले पाएका पुरस्कार यस प्रकार छन् –
उपन्यास- दियालो पुरस्कार – दार्जीलिङ नेपाली साहित्य सम्मेलन-1983
- भानु पुरस्कार – दार्जीलिङ (प. ब.)-1985
- साहित्य अकादेमी पुरस्कार – नयाँ दिल्ली-1987
- मदन स्मारक व्याख्यान माला सम्मान – वाराणसी-2001
- वेदनिधि पुरस्कार – काठमाण्डु-2003
- अगम स्मृति पुरस्कार – नेसाप, सिक्किम-2005
- असम नेपाली साहित्य सभा पुरस्कार – 3006
- अभिजमान स्मृति पुरस्कार – कुवैत-2008
- साहित्यिक पेन्सन – असम सरकार-1994
- साहित्यिक पेन्सन – सिक्किम सरकार-2004
यी पुरस्कार सम्मानबाहेक भारत तथा भारत बाहिरका विभिन्न संस्था/संगठनहरूले समय समयमा विभिन्न उपलक्ष्यहरूमा सम्मान/सम्बर्धना गरेका छन्। क्षत्रीको “बसाइँ’ उपन्यासको आधारमा सिनेमा बनिनु अनि त्यो सिनेमा ओस्करका निम्ति मनोनित हुनु उहाँको मात्रै न भएर हामी सबैका निम्ति ठूलो सम्मान हो। उनी शताब्दी पुरूष को रूपमा चुनिनु पनि ठूलै सम्मान हो। धेरै सम्मान पाए पनि क्षत्रीमा कुनै अहंकार छैन, पहिलेका जस्तै सबैसंग उनी सहजरूपमा कुराकानी गर्छन। क्षत्रीका अनुसार – एउटा लेखकलाई पाठकको जनप्रियताले जति आनन्द दिन्छ त्यति कुनै पुरस्कारले दिंदैन।
(देवेन्द्र भट्टाराईसंगको भेटवार्ता – हाम्रोध्वनि, लीलबहादुर क्षत्री समीक्षा अंक, जुलाई 2008, पृ.11)
लीलबहादुर क्षत्रीका फुटकर रचनाहरू भारत-नेपालका पत्र-पत्रिकाहरूमा कति प्रकाशित भए त्यसको लेखाजोखा भएको छैन। कति लेखकका पुस्तकको उनले भूमिका लेखिदिए, तिनलाई समेटनु हो भने छुट्टै पुस्तक हुन सक्छ। क्षत्रीका कविताहरूको पनि एउटा संकलन हुन सक्छ। अवश्य गुवाहाटीबाट प्रकाशित हाम्रोध्वनिले लीलबहादुर क्षत्रीका कविताहरूको विशेषांकनै प्रकाशित गरेको छ (जनवरी 2001 अंक)। त्यसरीनै हाम्रोध्वनिले लीलबहादुर क्षत्री – समीक्षा अंक (जुलाई 2004) प्रकाशित गरेर क्षत्रीलाई सम्मान गर्नुका साथै एउटा अनुकरणीय आदर्श पनि देखाएको छ।
अरू उन्नत भाषा-साहित्यमा लेखकका समग्र कृतिहरू र फुटकर रचनाहरूलाई समेटेर एउटा वा एकाधिक खण्डमा छपाउने परम्परा छ। असमीया भाषामा ज्योति रचनावली, बेजबरूवा रचना आदिका साथै अरू लेखकका पनि रचनावली प्रकाशित भएका छन्। नेपालीमा पनि इन्द्रबहादुर राई, पारिजात आदि केही लेखकहरूका रचना त्यसरी समेटिएको शुभ लक्षण हो। अब लीलबहादुर क्षत्रीका पनि प्रकाशित पुस्तक, फुटकर रचना र उनको अनुमति सापेक्ष उनीसँग सुरक्षित रहेको त्यो सातौं/आठौं कक्षामा छँदा लेखिएको अप्रकाशित उपन्यास पनि समेटेर लीलबहादुर क्षत्री रचनावली प्रकाशित गराउने प्रयास हुनु पर्छ। सरकारको पृष्ठपोषकता पाएको निर्माण (सिक्किम) ले नै यो कामलाई साकार पार्ने अपेक्षा गर्न सकिन्छ। असम गोर्खा सम्मेलन जो हाम्रो जातीय माऊ संस्था हो, उसले पनि यो मौका लिन सके संस्थाको गरिमा अरू बढ्ने छ। त्यसरीनै नेपाली साहित्य परिषद, असमले पनि लीलबहादुर क्षत्री रचनावली प्रकाशित गराउने योजना लिनु समयोपयोगी हुनेछ।
लीलबहादुर क्षत्रीको उमेर यो निबन्ध लेखेको दिन (12-08-09) 76 वर्ष 5 महिना 11 दिन पुगेको छ। अझसम्म उनी जाँगरिला, कर्मठ छन् – लेखिरहेका छन् मिटिंगपनि भ्याएकै छन्। उनको स्वास्थ्य अटुट रहोस्। पश्येतु शरदः शतम्।
तेजपुर, असम
▬
“प्रतिध्वनिहरू-विस्मृतिका’ : लेखकीय गुणधर्म र भारतीय परिवेशको उच्च उपलब्धि
◙ विष्णु कुमार भट्टराई
आरम्भ
आफू अहिले सात दशकको वय पार गरिसकेको अवस्थामा भए पनि लीलबहादुर क्षत्रीको कलम बूढो भएको छैन। उसो त शारीरिक तन्दुरुस्ती पनि ठिकै देखिन्छ। पूर्वोत्तर भारतको असम प्रान्तको गुवाहाटी शहरमा एउटा लब्ध प्रतिष्ठित, समाजसेवी, साहित्यसेवी, शिक्षासेवीको रूपमा सुपरिचित नाम भएको छ लीलबहादुर क्षत्री। भारतीय नेपाली भाषा-भाषीको जमातमा उहाँको अझ अर्कै महत्वको विशिष्ट स्थान छ। नेपाली साहित्य रुाष्टाको समूहमा अग्रपङ्कितमा उहाँको स्थान सुरक्षित छ। उहाँले नेपाली साहित्यमा पुयाएको योगदानको कदर साहित्य अकादमी दिल्लीले गरिसकेको छ। भारतमा नेपाली भाषा-भाषीको सङ्ख्या यति नै छ भनेर किटान गर्न त सकिंदैन तर असम लगायत भारतका अन्य विभिन्न ठाउँहरूमा सन् 1947 ताका नै तीसलाख भारतीय गोर्खा भएको कुरा लीलबहादुर क्षत्री कै आफ्नो कृति “प्रतिध्वनिहरू-विस्मृतिका’मा यसरी उल्लेख भएको छ – “नेपालीहरू जोसिएर एउटै स्वरमा नारा लगाइरहेका थिए – यदि असमलाई पाकिस्तानमा गाभ्ने षडयन्त्र रचियो भने तीस लाख भारतीय गोर्खाहरूको खुकुरी दापबाट बाहिर निस्कने छन्।’ यो भनाइ त्यस बखतको हो जुन बखत भारत र पाकिस्तानको भूभाग छुट्टयाउने काम भइरहेको थियो। यसरी तीसलाख नेपालीको समूह आजसम्ममा कति भयो होला भन्ने अन्दाज गर्न सकिन्छ। र यति धेरै भारतीय गोर्खा माझ लीलबहादुर क्षत्री एक हुनुहुन्छ। जसलाई भारतमा बसेर नेपाली भाषा-भाषी र संस्कार संस्कृतिको हुनुमा गर्व छ, नेपाली सुख दुःखमा सहभागी हुन पाउनुसँग सौभाग्य अनुभव हुन्छ र नेपालीको एकता र साहसपूर्ण गाथा गायनमा गौरव छ। उनै भारतीय नेपालीहरूको कथालाई आधार मानेर अझ भनौं आफ्नै बाबु कमाण्डिङ बा, प्रेमबहादुर क्षत्रीको जीवन गाथालाई अघिसारेर, उनैको नायकत्वमा आफ्नो समेत जीवन कथालाई परोक्ष रूपमा पेश हुने गरी लेखिएको – “प्रतिध्वनिहरू विस्मृतिका’ नामको कृति जो यसै 2061 साल लाग्दाको शुभ साइतमा प्रकाशित भएको छ, लील बहादुर क्षत्रीको र यस उपन्यासको बारेमा संक्षिप्तमा केही प्रकाश पार्नु यस लेखको आशय रहेको छ।
पृष्ठभूमि
नेपाली साहित्यले भारत भूमिबाट प्राप्त गरेको सहयोग, सद्भाव र सेवाले एउटा भाइलाई दाजुले गरेको भातृत्वपूर्ण र स्नेहासिक्त व्यवहारसँग समतुल्यता राख्तछ। र त्यो दाजु भाइको नाताको गाँठो तब झन् कसिलो र बलियो भयो जब मोतीराम भट्ट (1923-53) ले भानुभक्तको रामायणलाई रामकृष्ण बर्मा र भारतेन्दु हरिश्चन्द्र जस्ता भारतीय प्रतिष्ठित व्यक्तिसँग मिलेर छपाउने काम गरे। रामायण छपाउने काममा मद्दत गर्नु एउटा व्यापारीले व्यापारिक दृष्टिकोणले नै गरेको थियो भने पनि त्यसले नेपाली साहित्यको इतिहासमा भने महत्वपूर्ण एउटा युगान्तकारी कार्यको शुभारम्भ गरेको सावित भयो। प्रथमतः नेपाली भाषा साहित्यले मुद्रणालयमा पेलिएर निस्कने र सर्वसुलभ हुने मौका पायो। गुणात्मक हिसाबले र परिमाणात्मक हिसाबले पनि सुध्रने मौका पायो। नेपाली भाषा साहित्यले मुद्रण युगमा आइपुगेको गौरब प्राप्त गयो। अग्रजहरूको लिखितको नक्कल गर्दै पढ्दै गरिने गरेको भाषाले, अझ अग्रजहरूले भनेको सुनेका भरमा उच्चारित हुँदै अत्यन्त कठिनतापूर्वक वामे सर्दै गरेको रचना र प्रचारको परिवेश र परिधि पनि अत्यन्त संकीर्ण रहेको भाषाले विहोर्नु परिरहेका अरू अनेकौ कठिनाइहरूबाट एकाएक मुक्ति पाउने अवसर पायो। (र यो अवसर प्रदान गर्नमा भारत भूमिको प्रसिद्ध नगरी काशी र त्यहाँका सह्मदयी व्यापारीले नै ठूलो उदारता देखाएका हुन्। मोतीराम भट्ट स्वयंले पनि यो कुरा स्वीकारेका छन्) तर जतिबेला नेपाली भाषालाई यस्तो अवसर प्राप्त हुँदै थियो त्यतिबेला विश्वका अरू भाषाहरूले भने विकासका , प्रयोगका, अनुसन्धानका विभिन्न अप्ठारा चरणहरू पार गरिसकेका थिए र नयाँ सम्भावनाको खोजमा रमाउने अवसर पाइसकेका थिए। नेपाली भाषाले भने भर्खरै मात्र एकीकृत भएका विभिन्न जातजाति र भाषाभाषीको सानो समूहमा समेत पूरा स्थापित हुने मौका पाइरहेको थिएन, तर लोकतात्विक मूल्य संग्रहणको गुणले गर्दा पाइरहेको लोकप्रियताको कारणले भने यस भाषाले एउटा निश्चित, दरगामी र सुन्दर भविष्य सिर्जनाको संकेत दिइरहेको कुरालाई मोतीराम भट्ट जस्ता कुशाग्र बुद्धि र क्रान्तदर्शी क्षमता भएका व्यक्तिले बुझिसकेको थियो भन्न अन्कनाउनु पर्दैन। यो मूल्य र मान्यताको बिन्दुबाट हेर्दा मोतीराम भट्टले भारतीय भूमिबाट प्राप्त सुविधाको उपयोग गरी नेपाली भाषालाई जसरी उठाए त्यसको श्रेय भारतभूमिलाई, भारतीय नेपालीहरूलाई र नेपालेतर भारतीयहरू सबैलाई बाँडिन पुग्दछ। यसरी नेपाली साहित्य भक्तिधारामा प्रवेश गरेको प्रमाणस्वरूप रामायण प्रकाशन भयो र एउटा महत्वपूर्ण चरणमा नेपाली साहित्यले प्रवेश गरेको र त्यस चरणको यात्रा समाप्त गरेको समेत घोषणा गयो अनि त्यसै समयदेखि श्रृङ्गारकालको चरणमा स्वयं प्रवेश पनि गयो। भक्तिधाराका चरणमा प्रवेश गर्दाको परिवेश पनि विशाल भारतभित्र चलेका विभिन्न धार्मिक मत-मतान्तर मध्ये राम्ररी फस्टाएर निस्केको आर्य मर्यादा र परम्पराको एउटा शाखाबाट नै उठेर आएको थियो। भगवान रामचन्द्रका आदर्श चरित्र र शासनको गुणगान भारतमा धेरै अघि गोस्वामी तुलसी दासले आफ्नै भाषामा बडो मौलिक ढङ्गले गरिसकेका थिए। यद्यपि भानुभक्तीय रामायण अध्यात्म रामायणको अनुवादस्वरूप मानिन्छ संस्कृत भाषाको आदि स्थल पनि भारतवर्ष नै थियो र अहिले पनि भारतका कति वैष्णव परिवारको मातृभाषा संस्कृत नै छ र संस्कृतलाई साझा भाषा थियो भन्ने हो भने पनि तुलसीदासको “रामचरितमानस’ मा प्रयुक्त भाषा चाहिं तत्कालीन भारतको एउटा स्थानीय क्षेत्रमा प्रचलित भाषा नै थियो। यसरी भारतमा सोह्यौं शताब्दीमा नै तुलसीदासद्वारा गाइएको रामचन्द्रको आदर्श पनि आफ्नै भाषामा गाउँदा हुने रहेछ भन्ने प्रेरणा समेत आयातीत नै थियो र यो भारतबाट नै आयात गरिएको थियो भन्ने कुरामा दुइमत छैन। यसबाट पनि हामी हाम्रो भाषाले पाएको भारतीय धार्मिक भावना, सेवा र सहयोगलाई नै सम्झन पुग्दछौं।
यसरी बनारसबाट शुरू भएको नेपाली साहित्य प्रचार प्रसारको यात्रामा भारतीय नेपाली रुाष्टाहरूको श्रृजनाको यात्रा पनि आरम्भ हुन्छ र नेपाली साहित्यको इतिहासमा बडो महत्वपूर्ण स्थान ती कृतिहरूले ओगटेको पाइन्छ। सुब्बा होमनाथ, केदारनाथको “कृष्ण चरित्र’ र महाभारतका कथाको गायन भानुभक्तीय रामायणसँगै अन्यन्त लोकप्रियताका साथ गुञ्जने गरेको कुरा सर्व विदित छ। अहिले पनि भारतका नेपाली भाषा-भाषीको अधिकता भएका विभिन्न गाउँ जिल्ला र प्रान्तहरू मध्ये नेपाली साहित्यको नियमित र संस्थागत प्रकाशन शुरू गर्ने काममा दार्जीलिङ, सिक्किम, असम, देहरादून, बनारस आदि ठाउँहरूको नाम पहिला नै आउँछ। यसको निरन्तरताले र भारतीय नेपालीहरूको स्वाभिमान पूर्ण लडाइँले नेपाली भाषाले भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त हुने सौभाग्यसमेत प्राप्त गरेको तथ्यले भारत भूमिबाट नेपाली साहित्यले पाएको सेवा अझ छर्लङ्ग हुन पुग्दछ।
श्रृङ्गार कालको चरणमा नेपाली साहित्यको इतिहासले प्रवेश पाउने कामको थालनी पनि वि.सं. 1936 मा मोतीमण्डलको गठन गरेर बनारसबाट नै भएको थियो। रसिक समाज बनारस (1963) गठनदेखि “सुक्ति सिन्धु’ को प्रकाशन (1974) सम्मले यसलाई चरमोत्कर्षमा चाडै पुऱ्याएको र गजल तथा अन्य फुटकर श्रृङ्गारिक कविता रचनासँगै यसले निरन्तरता पाउँदै आउदा नेपाली साहित्यको इतिहासले अनायासै आधुनिक कालमा प्रवेश पाइसकेको थियो। 1981 सालमा दार्जीलिङमा नेपाली साहित्य सम्मेलनको स्थापना गरी नेपाली साहित्यलाई आधुनिककालमा प्रवेश गराउने श्रेय दार्जीलिङका (भारतीय) नेपालीहरूले पनि पाएका छन् तर यसो भन्दा नेपालका श्रष्टाहरूलाई अवमूल्यन गरेको ठहरिनुहुन्न। नेपालमा “शारदा’ (1991) प्रकाशित भएदेखि यता नेपाली साहित्यले आधुनिक चेतनाको प्रवाह गर्ने सामथ्र्य प्राप्त गरेको र साथसाथै परिष्कारवादी धारातर्फ अघि बड्न प्रशस्त अभ्यास गरिरहेको थियो। तर परिष्कारवादको सीमा उल्लंघन गर्दै महाकवि र युगकवि जस्ता श्रष्टाहरूले स्वच्छन्दतावाद र मौलिकतामा विशेषरूपमा खडा हुने काम नेपालबाट नै गरिरहँदा बनारसबाट नै पुनः अर्को नेपाली साहित्यको परिष्कारवादी धारालाई कुड्याँउने गरी झर्रोवादी आन्दोलन (2013 साल) शुरू भएको थियो। यद्यपि यसका अगुवाहरू भारतीय नेपाली थिएनन् तथापि भारतीय भूमिको उपयोग गरी झर्रोवादी आन्दोलन शुरू भएको हुनाले यस परिवर्तनकारी मोडलाई नेपाली साहित्यको इतिहासमा अङ्कित गराउने श्रेयसमेत पनि भारतभूमिलाई नै दिन सकिने अवस्था छ।
यसपछि भारतभूमिबाट नै अर्को एउटा अत्यन्त गहन, चिन्तनपरक आन्दोलन भारतीय नेपालीहरूबाट नै शुरू भयो र त्यसले नेपालमा नेपाली कवितामा व्यापकरूपमा प्रभाव, दवाव र सिर्जनात्मक विविधता देखाएरै छोड्यो । यद्यपि गद्य कविता रचनाको प्रारम्भ नेपालीभित्रैबाट भइसकेको थियो। तथापि भारतको दार्जीलिङमा पनि नेपाली साहित्य परिषद्को स्थापना भएको र आयामिक आन्दोलन (2020) ले गद्य कविताको सवलता र व्यापकतामा ठूलो सघाउ पुयाउने काम नयाँ विश्व दृष्टिकोण, विज्ञान, वस्तुता आदिको व्यापक प्रयोग कवितामा भित्र्याउने काम गयो। यो काममा भारतीय नेपाली इन्द्रबहादुर राईको हात छ। यहाँ इतिहासमा भारतसँग सम्बद्ध भएर र भारतीय नेपालीको सहयोग पाएर नेपाली भाषाले पाएको उपलब्धिको छोटकरीमा चर्चा गर्नु प्रासाङ्गिक भएको हुनाले अझ अघि बडेर भन्नै पर्छ “सुधपा’ जस्ता प्रमुख नेपाली वाङमय सेवीहरूको प्रमुख कार्य थलो दार्जीलिङ थियो। जीवनको उत्तरार्ध वय नेपालतिरै खर्च गरेका भए पनि त्यस प्रकारको परिस्थितिजन्य अनुकूलता हात नपरेको भए सूर्य विक्रम र धरणीधर पनि पारसमणि जस्तै भारतीय नेपाली नै रहनु हुने कुरामा तर्क गरिरहनु पर्दैन र यसरी नै तेरुाो आयामका त्रिमूर्तीहरू मध्ये दुइ वैरागी काइँला र ईश्वर बल्लभ पनि विशेष परिस्थिति नआएको भए इन्द्रबहादुर राईजस्तै त्यतै कार्यरत रहनुहुने थियो भन्ने कुरामा पनि मतभिन्नता दर्शाइरहनु व्यर्थ सावित हुन्छ। नेपाली साहित्यलाई अन्तराष्ट्रिय स्तरमा उचालेर नवीनतम लेखन शैलीले र शिल्पले आधुनिकतम् विश्व मान्यता र उत्तर आधुनिक चेतनाको सम्वाहकको रूपमा प्रस्तुत गर्ने क्षमता हासिल गरिसकेको, मौलिक नेपाली लेखन “लीला लेखन’को नाममा 2031 देखि जुन काम भइरहेको छ, इन्द्र बहादुर राई यसको शुरू गर्ने र नामाकरण गर्ने साहित्यकार भारतीय नेपाली हुनुहुन्छ। लीलालेखन विगत तीस वर्षदेखि चर्चामा छ र यसले छोएको ऊँचाइमा अहिले विश्वका अरू केही उन्नत भाषाहरू मात्र पुगेका छन्।
यसरी नेपाली भाषा साहित्यले गौरव गर्नु पर्ने प्रत्येक मोड र चरणहरूमा भारत भूमिको र भारतीय नेपालीको उत्तिकै योगदान रहेको छ। नेपाली साहित्यको इतिहास निर्माणमा यसले प्राप्त गर्ने सफलतामा, यसले पाउने चर्चा र सामथ्र्यमा, यसको उन्नति र विकासमा, यसलाई उठाउने र द्रुतगतिमा प्रतिस्पर्धात्मक ढङ्गले अघि बढाउने काममा भारतीय नेपालीले गरेको प्रयास स्तुत्य छ। हामीले नेपालभित्र बसेर नेपाली साहित्यका लागि जति दिन सकेका छौं त्यसकै हाराहारीमा अझ महत्वपूर्ण पक्षहरूमा केही बढी हुने गरी भारतीय नेपालीहरूले दिएका छन् भन्नु अत्युक्ति हुने छैन। प्रकारान्तरले यसरी हेर्दा पनि यो कुरा प्रमाणित हुन्छ – भारतको सिक्किम राज्यले नेपाली भाषालाई राज्य भाषाको मान्यता दिएको छ। आसाम, पश्चिम बङ्गाल, उत्तर प्रदेश, उत्तराञ्चल आदि राज्यहरूमा नेपाली भाषा विद्यालयको पाठ¬ विषय बनेको छ। पत्रिका प्रकाशन गर्ने काम संस्थागत रूपमा चलेको छ। भारत सरकारको उच्च निजामति सेवा, सैनिक सेवा र राजनीतिमा समेत नेपाली भाषाभाषीको प्रतिनिधित्व रहेको छ। अझ भारतेत्तर, भुटान, बर्मा आदि स्वतन्त्र राष्ट्रहरूमा समेत नेपाली भाषाभाषीको वर्चश्व कायम छ। यसबाट सिद्ध हुने कुरा नै नेपाली भाषा साहित्यले भारत भूमि र भारतीय नेपालीहरूबाट यथेष्ट सहयोग, सेवा, स्नेह,सिर्जना, भ्रातृत्व आदि पाएको छ भन्ने हो। दार्जीलिङबाट इन्द्रबहादुर राई, आसामबाट लीलबहादुर क्षत्री र सिक्किमबाट पवन चाम्लिङ (हाल मुख्य मन्त्री)ले हाल नेपाली लेखकहरूको प्रतिनिधित्व गरिरहेका छन् भन्दा अतिशयोक्ति हुने छैन। सिक्किम राज्यका अघिल्ला मुख्य मन्त्री नरबहादुर भण्डारी र उहाँकी श्रीमतीले पनि नेपाली भाषा आन्दोलनमा निर्णायक नेतृत्व प्रदान गरेका थिए। नेपाली साहित्यका आदि कविका, महाकविका र पारिजातका प्रतिमाहरू स्थापना गरेर, उनीहरूका नाममा पुरस्कार राखेर, उनीहरूको जन्मजयन्ती मनाएर नेपाली भाषाप्रति देखाएको श्रद्धाभाव र गरेको सेवा कर्मले भारतीय नेपालीहरूलाई हामीले नेपालवासीहरूले गरेको नेपाली भाषा सेवाको काममा हामीभन्दा अघाडि पुयाइसकेको छ भन्दा पनि अत्युक्ति हुँदैन। यसै ऐतिहासिक पृष्ठभूमिको एउटा व्यापक क्षेत्रबाट खासगरी नेपाली गद्य विधामा आख्यान लेखनमा विशिष्ट स्थान हासिल गर्नु भएका आसाम गौहाटीका लीलबहादुर क्षत्रीको “प्रतिध्वनिहरू विस्मृतिका’ नामक कृति 2061 सालको बैसाखमा प्रकाशित भएको छ। यस कृतिभित्र प्रवेश गर्नुभन्दा पहिला लीलबहादुर क्षत्रीको साहित्यिक र अन्य कृतिहरूको बारेमा छोटकरीमा प्रकाश पार्नु प्रासाङ्गिक हुनेछ।
अन्यकृतिहरू र लीलबहादुर क्षत्री
बसाइँ – यो एउटा उपन्यास हो। मदन पुरस्कार पुस्तकालयबाट प्रथम पटक 2014 सालमा प्रकाशित। तत्कालीन आख्यान शैलीमा नेपाली पहाडी जनजीवनको, जीवीकोपार्जनको समस्या र साहूमहाजनहरूको थिचो-मिचो, आर्थिक कठिनाइ र शोषण तथा सामन्ती संस्कारको पराकाष्टा र सामाजिक न्याय व्यवस्था प्रतिको तत्कालीन राजनीतिको उदासीनता आदि विषयको परिधिमा लेखिएको एउटा करुण कहानीले भरिएको उपन्यास हो, बसाइँ। यसको कारुणिकताका बारेमा यो समीक्ष कृति “प्रतिध्वनिहरू-विस्मृतिका’ मा पनि यसरी उल्लेख गरिएको छ। कमाण्डिङ बा यस कृतिका नायकको भनाइमा – “म दुइचोटि रोएको छु छोराको उपलब्धिमा। पहिलो चोटि उसले लेखेको एउटा किताब जो मलाई समर्पण गरेर पठाएको थियो, त्यो पढेर मेरा आँसु खसे। अवश्य यी आँसु उपलब्दिको हर्षमा होइनन् किताबको कथामा फेला परेको मर्म पीडाले खसेका थिए। नेपाली जीवनको छवि, सत्य वेदना थियो त्यस कथामा। वास्तवमा बसाइँको कथाले कमाण्डिङबा मात्र होइन सारा नेपालीका आँखामा आँसु आएका थिए किनभने सबै नेपाली बसाइँ सर्नु पर्ने पीडाले आक्रान्त थिए।’ कृष्ण धरावासी बसाइँले झारेका आँसुबारे भन्छन् “म भन्दा तीन वर्ष जेठो त्यो उपन्यासले सारैनै प्रभाव पाऱ्यो मलाई। मैले यो सिङगै उपन्यास 2032 सालमा आमालाई पढेर सुनाएँ र प्रत्येक पानासँग आमाका आँखा रसाउँथे। पहाडबाट बसाइँ हिंड्नु पर्दाको यो पीडाले आमालाई सारै नराम्रो गरी छोएको थियो। त्यस्तै बसाइँको कथा थियो हाम्रो पनि जसलाई मैले “आधाबाटो’ उपन्यासमा लेखेको छु। बसाइँ उपन्यासले म र मेरी आमा मात्र होइन प्रत्येक नेपाली आँखा रसाउँछन् र तिनले झल्झली आफ्नो विगत देख्तछन्।’ यस्तो कारुणिकताले भरिएको बसाइँ उपन्यास नेपाली साहित्यको गद्य विधाको सीमान्त उपलब्धि मानिएको थियो। यसको सरल शैली र मसिनो कुराहरूलाई पनि यथोचित र मनमोहक भाषामा पेश गर्ने क्षमताको कदर गर्नु पर्दछ। लीलबहादुर क्षत्रीको लोकप्रियतालाई यसले निकै उचालेको छ र नेपाली पाठकका प्रिय रुाष्टाको स्थानमा उहाँलाई सुरक्षित राखेको छ।
लीलबहादुर क्षत्री बसाइँ उपन्यास दिएपछि जति लोकप्रिय हुँदै जानु भयो त्यति नै उहाँको नेपाली समाज र जातिको सुखदुःख चित्रण गर्ने र उनीहरू प्रति सौहाद्र्रता र समवेदना प्रकट गर्ने क्रममा निरन्तर ऊर्जा थपिंदै गयो। विभिन्न कथा, नाटक निबन्धहरूमा उहाँ कुनैमा यसतर्फका कुनैमा उसतर्फको नेपाली जनजीवनको अन्तर्वेदना उधिन्ने काममा व्यस्त रहने गर्नु भयो। आफ्नो विश्वविद्यालयीय अध्ययन अवधिमा समेत विभिन्न साहित्यिक तथा सामाजिक गतिविधिमा व्यस्त रहने गरेको कुरा “प्रतिध्वनिहरू-विस्मृतिका’ मा कमाण्डिङ बाका मुखबाट यसरी भनाइएका छ “छोराको पडाइ चलिरहेको थियो। उसले बी.ए. पास गरेर एम.ए. मा नाउँ पनि लगाएको थियो तर सारै स्थिरता थिएन मनमा …. ऊ अलि बढी सामाजिक थियो। कहिले स्कूलको काम लाग्दथ्यो त कहिले पञ्चायतको काममा कहिले गोर्खालीग, कहिले साहित्यसंघ। अनेकौ साहित्य संघ संस्थामा अल्झेको थियो ऊ। यता बेला बेला नाटक लेख्ने खेल्ने खेलाउने काम पनि गर्थ्यो ऊ। यहाँका (गौहाटी) नेपालीहरूले सन् 1955 तिर हो क्यार नेपालीमा रामायण लेख्ने कवि भानुभक्तको जन्म जयन्ती पनि मनाए। मनाउँदै आएका पनि छन्। त्यसमा पनि अहम् भूमिका मेरो छोराकै थियो।’ नेपाली भाषाभाषी प्रतिको अनुरुक्ततामात्र होइन यो भनाइबाट लीलबहादुर क्षत्रीको जीवनको प्रमुख ऊर्जाशील समय, युवास्था कस्ता गतिविधिहरू गर्नमा बितेको रहेछ भन्ने कुरा पनि प्रष्ट हुन्छ। कमाण्डिङ बा अझ अघाडि भन्दै जाँदा यसो भन्न पुग्छन् “उसको सामाजिक कार्यकलापले कहिलेकहीं म हैरान पनि हुन्थे बाबू। यिनै सामाजिक गतिविधि, नाटकमा रुचि लेखक बन्ने धुन आदिले गर्दा उ आफ्नो पढाइमा औसत हारदेखि माथि उठ्न सकेन …. एउटा कुरामा भने म निश्चित थिएँ बाबू। उसको चरित्रमा कतै खोट छैन। त्यसैले उसलाई मैले स्वतन्त्र छोडिदिएको थिएँ। म जान्दथें आफू, आफ्नो वंश, सबैभन्दा मूलकुरो मनुष्यत्वलाई कलङ्कित पार्ने काम ऊ बाट हुँदैन।’ आफूले लेखेको पुस्तकमा आफ्नै बारेमा यी शब्दहरू बोलाएर लेखक लीलबहादुर क्षत्री आत्मश्लाघी भएका छन् भनेर कति समीक्षक समालोचकहरूले भन्न सक्लान् तर उहाँहरूले यी शब्दहरूले लीलबहादुर क्षत्री जस्तो व्यक्ति र व्यक्तित्व हो त्यो भन्दा बढी भनिएको पाउनु हुने छैन। लीलबहादुर क्षत्रीमा कुनै चारित्रिक दोष देखाउन सकेमा कुनै अव्यावहारिक गुण औल्याउन सकेमा कुनै मनुष्यत्व कलङ्कित हुने दुर्व्यवहार गरेको देखाउन सकेमा आफ्नो भाषा-जाति संस्कृति र परम्परामाथि उपेक्षा अनास्था प्रकट गर्ने जस्ता अवगुण औल्याउन सकेमा उपरोक्त शब्दहरूले आफ्ना बुवाका मुखबाट भनाएर लीलबहादुर क्षत्रीले आत्मश्लाघा नै गरेका हुन् भन्दा हुन्थ्यो तर त्यसो नभएकोले उहाँले आफ्नो कर्तव्य र सोचाइको सार अंश मात्र उल्लेख गर्नु भएको भन्ने बुझ्नु पर्दछ। बसाइँ लेखन समयका अघिपछिका कुराहरू हुन् यी। बसाइँले प्राप्त गरेको आख्यानात्मक ऊँचाइका लागि पनि यति भनिनु कुनै बढ्ता कुरा हुँदैन भन्ने मेरो अठोट छ।
अतृप्त –
2025 सालमा “अतृप्त’ उपन्यास प्रकाशित हुनुअघि लीलबहादुर क्षत्रीका खोजमूलक निबन्धहरू र नाटक प्रकाशित भइसकेका थिए। निबन्धहरूमा असम वा अन्य प्रवासका नेपालीका बारेमा अनुसन्धान गरी लेखिएका धेरै जानकारीहरू पाउन सकिने हुनाले शोध स्रोतको रूपमा यी उपयोगी साबित भएका छन्। यी निबन्धहरूले लीलबहादुर क्षत्रीलाई जहाँ कहींको नेपाली भाषाभाषी समाजको बारेमा निरन्तर खोजी गर्ने र लेख्ने व्यक्तिको रूपमा चिनाएको छ। नाटक सामयिक आवश्यकतालाई पूरा गर्न र मञ्चन गर्नकै लागि लेखिएका हुनाले र नेपालीमा लेखिएका नाटकहरू नेपाली समाजकै उपयोगिताका लागि हुने हुनाले नाटकहरूबाट पनि लीलबहादुर क्षत्री नेपाली समाजको साझा सम्पत्तिको रूपमा परिचित हुनु भएको छ। साथै नाटक लेख्नेको रूपमा मात्र नभई निर्देशक र पात्रको भूमिका निर्वाह गर्ने पनि स्वयं हुने गरेकोले त्यो परिश्रमले उहाँलाई अत्यन्त लोकप्रिय बनायो जुन लोकप्रियता विस्तारित हुँदै भारत र नेपालका नेपाली समाजमा मात्र होइन नेपालेत्तर समाजमा समेत व्याप्ति लिन पुग्यो।
हामी आख्यानको प्रसङ्गमा छौं। “अतृप्त’मा लीलबहादुर क्षत्री पृथक ढङ्गले पेश हुन चाहनु भएको छ। उहाँले युवा-युवतीको मन छाम्ने कोसिस गर्नु भएको छ। यौन जिज्ञासा र समाधानमा अगि बढ्नखोज्नु भएको छ। शायद यस विषयले उहाँलाई पत्याएन, उहाँका कलम माथि यो विषयले शंका गऱ्यो र कति प्रश्न चिन्हहरू खडा गऱ्यो र ती प्रश्न चिन्हहरू मेटाउनु आख्यानकार लीलबहादुर क्षत्रीको बसमा थिएन। तर यसो भनेर अतृप्तले युवा-युवती वर्गमा लोकप्रियता पाएन भन्न खोजिएको होइन। भन्न के मात्र उपयुक्त हुन्छ भने “बसाइँ’ मा प्राप्त भएको आख्यानात्मक क्षमता शायद विषयेतर भएको कारणले “अतृप्त’मा प्राप्त भएको मान्न सकिएन। तर उहाँको सरल र पठनीय शैलीले उहाँलाई स्थापित गरिसकेको हुनाले “अतृप्त’ पछि पढ्न पाइएका कथा “तीन दशक र बीस अभिव्यक्ति’ (2040) र “ब्रह्मपुत्रको छेउछाउ’ (2043) उपन्यासले उहाँलाई पुन नेपाली आख्यानको विषयतर्फ डोऱ्याएको पाइन्छ र उहाँको आख्यात्मक क्षमतामा उत्तिकै प्रवलता रहेको साबित गर्दछ।
“ब्रह्मपुत्रको छेउछाउ’ उपन्यासको परिवेश भारतीय नेपाली समाजको बसोबास भएको क्षेत्र, ससाना झुपडी र ग्रामीणता हो भने परिस्थितिचाहिं नेपाली पहाडी समाजको समेत र ब्रह्मपुत्रकै छेउछाउका बासिन्दा भएर बसेका गरिब, सर्वहारा, मजदुर, ससाना किसान र विभिन्न पेशागरी जीवन गुजारा गर्नेहरूको आर्थिक सामाजिक र शैक्षिक चेतनाले ओगट्न भ्याएको अवस्थाको चित्रण हो। गाउँका कुनाकाप्चाका सुख दुःखको हुबहु चित्रण गर्नु लीलबहादुर क्षत्रीको औपन्यासिक कला नै हो र यो उपन्यासमा पनि यही कलाले अझ दर्दनाक र पीडाबोधक भएर सजिन पाएको छ, अझ संवेदनशील र भावुक बनेर पाठकलाई द्रविभूत पार्ने सामर्थ्य यसले पाएको छ। “अतृप्त’ले तृप्ति दिन नसकेको उपन्यासकारको औपन्यासिक कलालाई यसले परितृप्त पारेको अनुभव लेखक र पाठक दुवैले गरेका छन्। यसै कारणले यो उपन्यासले दिल्ली साहित्य अकादमीबाट पुरस्कृत हुने अवसर पायो। विभिन्न भाषामा अनुवाद हुने अवसर पायो। दिल्ली, दूरदर्शन राष्ट्रिय प्रसारणद्वारा छविकृत भई क्रमिक रूपमा प्रसारित हुने मौका पाइरहेको छ। रेडियोको साहित्यिक कार्यक्रममा पनि निरन्तर पाठ हुने अवसर पाइरहेको छ। यसरी परम्परात्मक शैली शिल्प र दृष्टिकोणले अनि वर्णनात्मक चातुर्य र मिहिनतले उत्कृष्ट सफलता हासिल गरेर लेखक र पाठक दुवैलाई सन्तुष्टि प्रदान गर्न सफल भएको उपन्यास “ब्रह्मपुत्रका छेउछाउ’ दिएर मात्र आख्यानकार लीलबहादुर क्षत्री कलमबन्द गरेर बस्न सक्नु भएन। परम्पराभन्दा केही पृथक ढङ्गले पाठक माझ आउन उहाँलाई नयाँ साहित्यिक दृष्टिकोण र चेतनाले घच्घच्याइरह्रो। धेरै जसो कथाहरू विभिन्न प्रान्तीय भाषामा अनुवाद भई अंग्रेजी हिन्दी, मलयालम, असमीया, गुजराती, बङ्गाली आदि भाषाभाषीका पाठकहरूको समेत मन जितिसकेका आख्यानकार लीलबहादुर क्षत्री फेरि अर्को एउटा वृहदाकार ऐतिहासिक (पुर्खेउली) उपन्यास लिएर नेपाली भाषाका पाठक माझ आइपुग्नु भएको छ। “प्रतिध्वनिहरू-विस्मृतिका’ नामक उपन्यासमा यस एक्काइसौं शताब्दीको साहित्यिक आग्रह अनुसारको प्रयोग लेखकीय दृष्टिकोण लिएर 2061 सालको शुभारम्भको शुभ साइतमा उहाँ पुनः हामीमा आइपुग्नु भएको हो। आख्यानकार लीलबहादुर क्षत्रीमाथि भनिएझैं निबन्ध र नाटकमा मात्र होइन कविता र गीत रचनामा पनि उत्तिकै पोख्त हुनुहुन्छ। “हाम्रोध्वनि’ नामक पत्रिकाको जनवरी 2001 को पूर्णाङ्क 191 ले लीलबहादुर क्षत्रीका गीत र कविताहरूको विशेषाङ्क प्रकाशित गरेको छ। यी सब सिर्जनाहरूले एउटै कुरा के प्रष्ट गरिरहेका छन् भने लीलबहादुर क्षत्री एउटा अथक साहित्यसाधक र असल नेपाली साहित्य श्रष्टा हुनुहुन्छ। उहाँको यथोचित सम्मान र कदर नेपालका नेपाली समाजले पनि गर्नु पर्दछ र भारतीय नेपालीहरूले अझ सम्मान र मर्यादा गर्नु पर्दछ। नेपालमा बसाइँलाई फिल्मीकरण गरिदै छ तर यतिले मात्र त्यस्तो महान व्यक्तित्वको सम्मान र कदर पूरा भएको ठहर्दैन।
समीक्षकृतिको कथासार तथा समीक्षा
आफ्ना पिता प्रेमबहादुर (1963-2032) नेपालको धनकुटाबाट असम गई पुलिस विभागमा असिस्टेण्ट कमाण्डेडसम्म हुँदाको र सेवा निवृत्त भई आफ्नै घर दलानमा बसेर स्मृत-विस्मृत आफ्नै जीवन भोगाइका कति बारम्बार प्रतिध्वनि भइरहने अनुभूतिहरूको प्रकाशन गरिरहेको अवस्थालाई यो कृति “प्रतिध्वनिहरू-विस्मृतिका’मा लेखक लीलबहादुर क्षत्रीले कथात्मकता दिई उल्लेख गर्नु भएको छ। कथा प्रेमबहादुर क्षत्री तेह्य, चौध वर्षको हुँदादेखि शुरू हुन्छ र सत्तरी वर्ष पुगेपछि टुङ्गिन्छ। पैतिस वर्षसम्म अविच्छिन्न रूपमा असम रिजर्व पुलिसमा काम गर्दा गौहाटी र शिलाङ कार्यक्षेत्र रहेको हुनाले यी दुवै ठाउँको सामाजिक परिवेश ऐतिहासिक पृष्ठभूमिसहित उल्लेख भएको यो पुस्तकमा यी दुवै ठाउँका स्थानीय वासिन्दा, जात-जाति तिनीहरूका चालचलन, संस्कार-संस्कृतिबारे विषद चर्चा छ। भारतीय पुलिस विभागको स्थानीय व्यवस्थापन पक्षको पनि हल्का जानकारी स्वाभाविक रूपमा उल्लेख भएको छ। आफ्ना जीवनका उतार-चढावहरूका पनि सकेसम्म सबै पाटाहरू नियाल्न खोजिएको छ। प्रेम, उदासीनता, गौरव, सुख-दुःख, घर-घरायसी बन्दोबस्त, कमजोरी र सबल पक्षहरू सबै तर्फबाट सत्तरी वर्षसम्मको आयुलाई नियाल्न खोजिएको यस कृतिमा शैली आख्यानात्मक छ र विषय ऐतिहासिक। ऐतिहासिक आख्यान भन्न मिल्ने तर व्यक्तिकेन्द्रित भएको हुनाले न इतिहास न आत्मवृत्तान्त न कथा न उपन्यास यस्तो एउटा खिचडीको स्वादमा पस्किएको प्रेमबहादुर क्षत्रीको कथा (परोक्षमा भन्नुपर्दा लीलबहादुर क्षत्रीको कथा) यस कृतिमा समाविष्ट छ। कथा प्रेमबहादुर क्षत्रीको नाममा कति रचिएका छन् र कति स्वयं लेखकले साँच्चै सुनेका र स्वयं भोगेका समेत। कथा नायकको 2032 सालमा भएको साँच्चैको मृत्युपछि पनि एक दशकको भारत भूमिको राष्ट्रिय स्तरमा भएको उथल पुथल र त्यसबाट स्थानीय क्षेत्रमा पर्न गएका प्रमुख प्रभावहरूको समेत संक्षेपमा केही संकेत दिएर यो कृतिले ऐतिहासिक उपन्यास बन्ने आधारहरूलाई अँगालेक कुरा स्पष्ट छ।
कृतिको बारेमा कृतिकारको स्पष्ट कथन छ – “उपन्यास भनेरै थाले यो कृति तर विस्मृतिभित्र विलुप्त हुँदै गएका चित्रहरू समेट्ने क्रममा मैले मेरो कलमलाई फुका छोडिदिएँ यहाँ। मन र मस्तिष्कले जे जे विचायो त्यही त्यही टिप्दै गयो यो कलमले र सिलसिला सजाएर राखिएन कुनै कुरा यहाँ। त्यसैले यो उपन्यास बन्यो वा जीवनी, संस्मरण बन्यो वा इतिहास अथवा कुनै बकम्फुसे गफ म आफै छुट्टयाउन सकिरहेको छैन। भनौ यसमा सबै कुरा समेट्ने प्रयत्न भयो क्यार तर हो उपन्यास नै। औपन्यासिक तत्व कति छ त्यो पाठक आफै खुट्याउलान्’। औपन्यासिकता कति छ गुणवत्ता कति छ, समयको चेतना र आह्वान कति छ। त्यो खुट्याउने पाठकको जिम्मा हुँदै हो। त्यस अनुसार खोजी गर्दा यसमा अरू पात्रहरू आद्योपान्त उपस्थित छैनन्। उनीहरूको उपस्थिति कथानायकको स्मृतिमा जो जहाँबाट जस्तो रूपमा आइपुगेको छ उसको पूर्वापर कथासँग कुनै कुनै मात्र आवद्ध गरिएका छन्। पात्रहरू भेटिंदै जान्छन्। बिछोडिंदै जान्छन्। सबैसँग कथाको एकोहोरो लगाव छैन। बनिबनाउ भेटिन्छन् त्यस्तै बिछोडिन्छन्। औपन्यासिक कलाको उपस्थिति सबै कथामा र सबै पात्रमा यथोचित मात्रामा गराइएको छ। कलाको आकर्षण नभए साहित्य पठनीय बन्दैन। “प्रतिध्वनिहरू-विस्मृतिका’ कृतिमा प्रयुक्त साहित्यिक-औपन्यासिक कला संयोजन केही पृथक ढङ्गले गरिएको छ। परम्परालाई मात्र मान्ने र नयाँ प्रयोगलाई अवज्ञा गर्न चाहने परम्परावादीहरूको दृष्टिमा यो कृति यसरी अन्तर्वार्तात्मक शैलीमा शुरू गरिनु, घोषित रूपमा आफ्ना बाबुलाई (आफन्तजनलाई) कथानायक बनाउनु, न सम्पूर्ण तथ्यमा आधारित, न कल्पनामा प्रतिबद्ध बनाइनु अत्यन्त ठूलो आपत्तिको विषय हुन सक्छ। तर कलाको मूर्तामूर्त स्वरूपको पारख गर्न र आफ्नै पनि कतिपय अर्थहरूमा रमाउन पाउनु पर्ने यो उत्तर आधुनिक युगको चेतना र बोधमा लुटपुटिएका पाठकहरूको अनुरोध अनुसार यो कृति अत्यन्त सुन्दर औपन्यासिक कलामा सुसज्जित छ। अचेल रुढ परम्परा केही भत्केको र नयाँ कुनै मूल्यको विजारोपण हुँदै गरेको हेर्न र चाख्न चाहने पाठकहरूका लागि यो कृतिले औपन्यासिक संरचना परम्पराको पर्खाल भत्काएर अन्तर्वार्तात्मक आरम्भको क्रमलाई अघि सारेको छ। पात्रका यथार्थ जीवनका कटुसत्य अनुभव र अनुभूतिलाई समाजका निश्चित तत्तत् पात्रहरूमाथि आरोपित गरी तिनीहरूलाई उनीहरूको भूमिकामा प्रस्तुत गरिएको छ। आख्यानले अब एकादेशका राजकुमार र राजकुमारीको उहिलेको कुरा गर्दैन यही देशको र यसै समयको कथालाई कलात्मक प्रस्तुतिले उपन्यास बनाइदिन्छ। उपन्यासको जीर्ण महललाई टालटुल गरेर केही दिनमा नै उक्किएर जाने खालको मर्मत सम्भार गर्नु भन्दा त्यसलाई एक एक चोटा-खोटाहरू भित्रको बनावट र सजावटलाई पुनर्निर्माण गर्नु र आकर्षक बनाउनु आजका आख्यानकारको पहिलो आवश्यकता हो। लीलबहादुर क्षत्रीले यो उपन्यासमा त्यो आवश्यकताको बोध गरेर नै “बसाइँ’, “अतृप्त’ र “ब्रह्मपुत्रका छेउछाउ’ भन्दा धेरै टाडिएर यसको रचना गर्नु भएको छ। उपन्यासको नवीन संरचनात्मक शैलीको आरम्भ गरेर उत्तर आधुनिकतामा पाइला हाल्न र पाठकहरूको मन जित्न सफल हुनु भएको छ।
उपन्यासमा प्रेमबहादुर क्षत्री सत्तरी वर्षका आयुमा छप्पन्न वर्षहरू असममा बिताउँदाका महत्वपूर्ण घटनाहरूको परिदृश्य झल्किएको छ। जसरी एउटा चलचित्रमा थोरै समयमा एउटा पूर्ण जीवनको कथासार प्रस्तुत भएको छ। एउटा पहाडे नेपाली ठिटो असम पुगेर कसरी दिन बिताउने कमाउने वा समय व्यर्थ खेर फाल्ने, कस्ता कस्ता दुःख संकटहरू झेल्ने वा सुखानुभूति पनि गर्ने, त्यहाँको समाजमा, प्रकृतिमा वातावरणमा कसरी घुलमिल हुने, समस्याहरूसँग कसरी जुध्ने वा भाग्ने यस्ता सबै समस्याको सामाधान यो कृतिमा पाइन्छ। एउटा नेपाली मूलको व्यक्ति असमको समाजमा गएर जीवन यापन गर्ने क्रममा भोग्नु पर्ने दुःख सुखका श्रृङ्खलाबद्ध क्षणहरूको अध्ययन त यसमा गर्न पाइन्छ नै यसबाहेक थारू, असमीया, बोडो खेन्द्रेङ आदि जातिका जातिगत अवस्था संस्कार, संस्कृति, सोचाइ सामाजिकता आदिबारे पनि यस कृतिमा प्रशस्त अध्ययन गर्न पाइन्छ। लेखकको लेखकीय गौरव नै यसैमा आधारित छ। समाजलाई सही बाटो देखाउने लेखकले सबै प्रकारका कमजोरीहरूबाट बच्नका लागि सबैलाई सही सुझाव दिइरहेको हुन्छ। उदाहरण र प्रमाणका साथ, ममत्वपूर्ण भावना राखेर, निष्पक्षतापूर्वक मार्ग निर्देश गर्नु र एउटा ठूलो समूहलाई समन्वयवादी-सम्झौतावादी, साझा धारणमा लक्षोन्मुखी बनाई अघिबड्न मद्दत गर्नु लेखकको गुरूत्तर दायित्व हो। यो दायित्वको निर्वाह गरेर लीलबहादुर क्षत्रीले अल्पसंख्यक जात-जातिलाई सुधारको लागि तयार गरेका छन् यो कृतिको महत्वपूर्ण पक्ष यो छ।
राष्ट्रको एउटा सचेत नागरिकले राष्ट्रप्रति आफूले निर्वाह गर्नु पर्ने दायित्व बोध गरी लेखिएको यो कृतिमा भारतवर्षको स्वतन्त्रता संग्राम र त्यस अघि अंग्रेजहरूको शासन र पछिको स्वतन्त्र भारतको समेत एउटा गौरवपूर्ण इतिहास पनि प्रस्तुत भएको छ। एउटा उच्च बौद्धिक स्तरको लेखकले राष्ट्रको छवि जस्ताको तस्तै उतार्नु तर सर्वसाधारण पाठकको राष्ट्रिय भावनालाई कुण्ठित हुन नपाउने गरी त्यस छविलाई अझ सुन्दर र प्रभावशाली बनाउनु र गौरव गर्नुपर्ने विषयमा साँच्चै गौरवान्वित हुनपाउने अवस्थाको सिर्जना गरिदिनु लेखक लीलबहादुर क्षत्रीको राष्ट्रप्रतिको आस्था वृद्धि गर्ने, विभिन्न जात-जातिका रीति-स्थिति र कमजोरीहरूलाई औल्याइदिने र त्यस्ता कमजोरीबाट टाडा रहन सल्लाहदिने जस्ता एउटा बौद्धिक उपदेष्टाका उपदेशको मनन गर्दा पाइने सार तत्व यो कृतिमा पाइन्छ। देशका विभूतिहरू महात्मा गान्धी, जवाहरलाल नेहरू, लालबहादुर शास्त्री, सुभासचन्द्र बोस जस्ताको नामोल्लेख यथा स्थानमा गरी उनीहरूका योगदान प्रतिको अनुगृहितता प्रकट गर्न लेखक सचेष्ट देखिन्छन् एकातिर भने अर्कातिर लम्बू महाजनको जस्ता अनेकौं व्यक्तिहरूको सुख-दुःखका अवस्थाको चित्र प्रस्तुत गरेर र ठाकुरवाडीमा पञ्चभेलामा आउने गरेका उजुर आपत्तिहरूको विविध स्वरूपलाई, विषयलाई र औचित्यलाई विश्लेषण गरेर जीवनको महत्व र भौतिक तथा आध्यात्मिक दृष्टि विन्दुको बीचमा पर्ने गरेको भ्रमलाई स्पष्ट पार्ने काममा पनि लेखक उत्तिकै सतर्कतासाथ प्रस्तुत भएको पाइन्छ। भनिएकै छ “चक्रवत् परिवर्तन्ते सुखानी च दुखानी च।’ महात्मा गान्धीको योगदान र जीवनलीला समाप्त हुँदाको प्रकरण, जवाहरलालको गौहाटी आगमनको प्रकरण, लालबहादुर शास्त्रीका आदर्शहरूको यथोचित मूल्याङ्कन र जीवनलीला अन्त्यहुँदाको प्रकरण आदिबाट लेखकले प्रष्ट्याउन खोजेका विषयलाई चिन्न सकिन्छ। राष्ट्रभक्ति, महामानवीय गुण, सेवा र समर्पण जस्ता कुराहरूको मूल्य के हो र कसरी यस्ता कुराहरू ग्रहणीय हुनजान्छन् भन्ने कुराको औचित्य साबित गर्नु लेखकको सर्वदाको चेष्टा अत्यन्त प्रशंसनीय छ।
लेखक लीलबहादुर क्षत्री लेखकीय गुणधर्मको पालन गर्नमा कटिबद्ध लेखकको रूपमा प्रस्तुत भएको यो कृति “प्रतिध्वनिहरू-विस्मृतिका’ मा प्रेमबहादुर क्षत्रीको जीवन लीलासँगै भारतवर्षको इतिहासको वास्तविकता पनि स्पष्ट भएको छ। वि·ायुद्धको भयानकता होस् कि स्वतन्त्रता सङ्ग्रामको अभियान होस्, भारतको चीन, रुस र पाकिस्तानसँगका युद्धको परिणाम होस् कि हिन्दू मुस्लिम दङ्गाको लोमहर्षक बयान होस् लेखकको कलम बडो सतर्कतासाथ युद्ध र द्वन्द्वको विध्वंसात्मक परिणामप्रति समाजलाई जागरुक गराउन प्रयत्नशील रहेको छ। सम्प्रदायिक दङ्गाको यो बयान “अब भारतमा फेरि एउटा कुरुक्षेत्र दोहोरियो 16 अगस्त 1946 को दिन मुस्लिम लीगले पाकिस्तान सृजनाको प्रत्यक्ष आन्दोलन शुरूवातको दिन घोषणा गऱ्यो। यहींदेखि आरम्भ हुन्छ कलकत्ताको निर्मम हत्याकाण्ड मुसलमानहरूले अप्रस्तुत हिन्दूहरूमाथि चलाएको व्यापक हत्या। हत्या-बन्दुकले, भालाले, चुपीले, तरवारले, छुराले, लाठीले, कुन्दाले। हत्या-घरघरमा आगो लगाएर, टोल टोल डढाएर, मन्दिर धर्मशालाहरू भत्काएर, जसरी होस् – जे होस् हत्या गर्नु। यो हत्याकाण्ड कलकत्ताबाट फैलिएर कानपुर इलाहावाद, दिल्ली, लखनउ, पटना, सबैतिर पुग्यो। पूर्वी बङ्गालको नवाखलीमा हिन्दूहरू अल्पसंङ्ख्यामा थिए। हिन्दू होस् या मुसलमान, आखिर एउटै जातको मानिस। एकै भाषा। बङ्गाली उनीहरू दुवैको भाषा तर धर्मको झिनो साँधले गर्दा आफ्नै बङ्गालीलाई अर्को बङ्गालीले मारिरहेको थियो।’ले पाठकलाई दङ्गा विरोधी भावनाको विकास गर्न मद्दत गरेको छ नकि जातीय पक्ष-विपक्षमा उभिन। आखिर धर्मको झिनो साँधले सारा मानवीय गुण र मानव सभ्यताको विशाल धरोहरलाई चकनाचुर पारिदिंदो रहेछ। यस्तै असम आन्दोलनको बोडो, नागा, असमीया आदि जातिहरूले चर्काएको एकत्रित आन्तरिक अनुशासनहीनताको उग्र प्रदर्शन र जातीय, धार्मिक साँस्कृतिक आन्दोलनको स्वरूपको सपाट चित्रणले यो कृतिलाई युद्ध र द्वन्द्वको विरोधमा खडा गराएको छ। मानिस विवेकशील प्राणी भएको नाताले उसको चिन्तनमा, व्यवहारमा र चरित्रमा जहाँ पनि मानवीयता झल्कनु पर्ने र विवेकको आदर्श स्वरूप देखिनु पर्ने आग्रह कृतिमा जुनसुकै प्रसङ्गमा पनि उठाइएको छ। असमका सुदर ग्रामीण क्षेत्रमा वर्षौंदेखि नङ-मासुझै भई मिलेर बसिरहेका र गरिखाइरहेका विभिन्न जात जातिका मानिसहरूका माझमा एकाएक सल्केको आन्तरिक र जातीय दङ्गामा कसरी घर-गोठ र जाय जेथाहरू जलाइए र पछि कसरी ती पुनर्स्थापित गरिए भन्ने कुराको यो कृतिमा अत्यन्त राम्रो चित्रण छ। कुरै नबुझिकन कसरी राजनीतिक स्वरूप पाएर कुनै विषयले समाजलाई तहस नहस पार्दोरहेछ भन्ने कुरा बुझ्न असम आन्दोलनलाई उदाहरणको रूपमा लिएर पढ्न सकिन्छ। आखिर सर्वसाधारण जनताका हातमा यस्ता आन्दोलनहरूले केही पारिदिंदैनन् बरू धेरै गुमाइ नै दिन्छन् र सभ्यता र विकासका चरणहरू पार गर्दै जाने क्रममा अवरोध खडा गरिदिन्छन् भन्ने कुराको स्पष्ट व्याख्या यहाँ पाइन्छ।
समग्रमा लेखक लीलबहादुर क्षत्रीको बौद्धिक उत्कर्षताको र व्यापक सामाजिक चिन्तनको वकालत यो कृतिले गरेको छ। तर लेखकको पण्डित्याँइको प्रदर्शन यसमा भएको छैन। उपदेशको मात्र एकोहोरो विस्कुन यसमा हालिएको छैन। भइरहेकै घटनालाई जीवन्त बयान गरेपछि पाठक स्वयंले आफ्नो विवेक र बुद्धिको प्रयोग गरी ती घटनाहरूको उपादेयता र आवश्यकता ती घटनाहरूमा हुनु पर्ने प्रत्यक्ष लाभ हानीका अवस्था र आफ्नो संलग्नताका बारेमा आफ्नो धारणा विकसित गर्न सक्छ। पाठक पाठककै जिम्मामा र लेखक लेखककै जिम्मामा रहने यो लेखाइमा नवीनताभास हुन्छ। परम्परादेखि भिन्न तर परम्पराकै आधारमा। राष्ट्रिय इतिहासलाई लिएर तर व्यक्तिगत चरित्रको आधारमा, सबैको कथा आफ्नै बाबुसँग जोडिएर आएको आधारमा। यसरी निजी आधारलाई उपयोग गरी खडा गरिएको राष्ट्रप्रेमी भावनाको भवन र राष्ट्रिय इतिहासको इयत्ता अनि सार्वजनिकीकृत गरिएको पारिवारिक परिवेश र आफ्नो स्थितिले लीलबहादुर क्षत्रीलाई भारत भूमिका नेपाली माझ मात्र होइन र नेपालका नेपाली माझ मात्र होइन विश्वका लेखकहरूका माझ एउटा लेखकको पुर्खौली इतिहास सहति परिचित गराएको छ।
एउटा भारतवासी नेपाली, एउटा दुर्दान्त पीडा र दुःखले जन्माएको नेपाली, एउटा संघर्ष र द्वन्द्वको उपज नेपाली, एउटा आत्मसंघर्षको गौरवमय इतिहास बोकेको नेपाली तर उसको अभिव्यक्तिमा कहीं पनि परदोषात्मक भावना झल्किंदैन, कहीं पनि दुत्कार-चित्कार, पीडा र व्यथाको मात्र प्रकाशन छैन, कहीं पनि अकर्मण्यताको आभास छैन तर सर्वत्र सौहाद्रता छ, सर्वत्र सत्कार छ, सर्वत्र अग्रगामी जीवन मार्गको खोजी छ, सर्वत्र कर्मनिष्ठा र कर्मण्यताको गुञ्जन छ। यही हो लीलबहादुर क्षत्रीको लेखनधर्मिता। यसैले एउटा महत्वपूर्ण जिम्मेवारीको बोध गरेर लेख्ने लेखकको हैसियतमा लीलबहादुर क्षत्रीलाई उभ्याएको छ।
भारतवर्ष एउटा वृहदाकार राष्ट्र, यसमा अनेकौं जात-जाति र भौगोलिक विविधता पत्तालाएर लगाइनसक्नु गरी छन्। एउटा नेपाली साहित्य श्रष्टाको नाताले लीलबहादुर क्षत्रीले लेखेको यो पुस्तकमा राष्ट्र भक्तिको सम्पूर्णता झल्कन्छ भन्ने अथवा राष्ट्रको यशोगान पूर्णरुपेण गुञ्जित छ भन्न सकिने आधारभूत तर्कहरू जुराउन सकिंदैन किनकि उहाँको लेखनी नेपाली जाति विशेषमा केन्द्रित छ। नेपाली समाजका दुःख र सुखका रुाोत, नेपाली भावना र नेपाली शैलीको खोज, नेपाली भाषा र नेपाली संस्कृतिको मोल, नेपाली चिन्तन र नेपाली चरित्रको ओज उहाँका कलमको विशेषता बनेको छ। समग्रमा हिन्दुस्थानी भनिने साहित्य, संस्कृति, कला आदर्श मूल्य र मान्यताहरू प्रति उहाँ खुलेर प्रकाशित हुन सक्नु भएको छैन भन्ने कति समीक्षक तथा समालोचकहरूको गुनासो हुन सक्छ, छन् पनि हिन्दूस्थान बासी टुक्रा टुक्रामा विभाजित छन्। प्रान्तीय स्वायत्ताको प्रशासनिक परिवन्दभित्र प्रत्येकको आ-आफ्नो विशेषताले हिन्दूस्थान बनेको छ। गोर्खाली नेपालीको एउटा मूल शाखा यस मानेमा हिन्दूस्थानको एउटा हिस्सा भएको छ र यसको कला धर्म-संस्कृति, परम्परा र भाषा हिन्दूस्थानको विशेषता भएको छ। लीलबहादुर क्षत्रीको लेखनी नेपाली जाति विशेषसँग मात्र केन्द्रित छ भन्ने कारणले मात्र सम्पूर्ण हिन्दूस्थानको प्रतिनिधित्व गर्न नसकेको भन्ने कुरा यस कारण पनि युक्ति सङ्गत ठहर्दैन कि – नेपाली जातिको वर्च·ा हिन्दुस्थानमा बेग्लै ढङ्गले कायम भएको छ। असममा लीलबहादुर क्षत्रीका बाबु पुगेका थिए। उनी नेपालको धनकुटा मालदेखि उत्तर बस्नेत गाउँको छेउबाट गएका थिए। लीलबहादुर क्षत्री उतै जन्मिएर, हुर्केर, बढेर, पढेर, विद्वान भएर, जागिरे भएर, प्राध्यापक भएर बाबुको आर्जनमा आफ्नै कमाई पनि केही थप-थाप गरेर गुँड बनाएर बसोबास गरी त्यहींको असल नागरिकको रूपमा सत्तरी वर्षको वय पार गरिसक्नु भएको छ। तर शुरूमा प्रेमबहादुर असमको कुनै गोठमा (झुपडीमा) पुग्दा नेपालीको गोठमा पुगेका थिए। त्यहाँ बाघे महाजन, खरेल मास्टर, साइँला बूढा, लम्बू महाजन आदि व्यक्तिहरू पहिलानै बसोबास गरिआएका थिए। उनी जुन गोठमा पुऱ्याइएका थिए, कट्टेल महाजनकी कान्छी स्वास्नी “कान्छी रानी’ समेत धेरै पहिलेदेखि उतैकी भइसकेकी थिइन्। आइमाई केटाकेटी मात्र हुँदा पनि गरिखाने मेलो मर्दहरू हुँदा सरह नै नेपाली परिवारको गोठ वा छपडीमा नै उसै गरी चल्दथ्यो। असहाय, विधवा अथवा अवला भएर नेपाली समाजमा कान्छी रानी जस्तै आइमाईले रहनु पर्दैनथ्यो। डटेर-खटेर, नोकर चाकर खटाएर, छर-छिमेक, साहु-महाजनहरूसँग मिलेर, स्थानीय जात-जातिहरूको भाषा धर्म र संस्कृति परम्परामा भिजेर, आफ्नो-विरानो नछुट्याइकन, गरी खान सक्ने जुन वातावरण स्थानीय प्रशासनले सिर्जना गरिदिएको थियो त्यस मानेमा नेपाली मूलका भारतवासीहरूको वर्चस्वलाई भारत भूमिमा साधिकार कायम रहन पाउने परिस्थिति परम्परादेखि कायम रहँदै आएको थियो भन्ने कुरा पुष्टी हुन्छ। हिन्दूस्थानले सरकारी स्तरमा यिनीहरूको अस्तित्व स्वीकार गर्न केही विलम्ब गरेर भए पनि कर लाग्नु कारण पनि यही हो। यसकारण यो कृति “प्रतिध्वनिहरू-विस्मृतिका’ले हिन्दुस्थानी आवाज, हिन्दुस्थानी कथा, हिन्दुस्थानी विशेषता बोकेको छ भन्ने कुरामा दुइमत अवश्य छैन।
एउटा सदा सतर्क र सजक लेखकको पितृभक्तिको भेल उर्लेर बग्दा “प्रतिध्वनिहरू-विस्मृतिका’ तयार भएको छ र यो पितृभक्तिको भेलले नेपाली पाठकलाई मात्र होइन सारा हिन्दूस्थानीलाई अप्लावित बनाइदिएको छ। हिन्दूस्थानको आत्मसम्मान र स्वाभिमानपूर्ण इतिहासको साहित्यिक अभिव्यञ्जना …. यो कृतिमा स्वच्छ हिन्दूस्थानी छवि प्रतिविम्बित भएको छँदैछ एकातिर भने अर्कातिर एउटा व्यक्तिको पूर्ण जीवन कथा, देश प्रतिको जिम्मेवारी, समाज प्रतिको उत्तरदायित्व, उच्च आदर्शोन्मुख विचार र कर्मनिष्ठाको ज्वलन्त उदाहरण पेश गरेको छ। यी दुवै उच्च राष्ट्रिय र मानवीय गुणहरूको प्रकाशमा लेखक लीलबहादुर क्षत्री एउटा वैचारिक उदारताले भरिएको, आफ्नो मर्यादाको सीमामा समुद्रसमान चिरस्थायी अस्तित्व कायम राखी लेखन कार्यमा समर्पित रहेको लेखकको रूपमा स्थापित हुनुभएको छ र यो कृतिको मूल्याङ्कन उहाँको यही लेखनधर्मिता र मर्यादाका आधारमा गर्दा मात्र उहाँ प्रति यथोचित न्याय हुनेछ। उहाँको यो चौथो उपन्यास अरू तीन भन्दा फरक प्रविधि र गुण धर्मको सम्वाहक भएर आएको छ। यसर्थ पनि यसले पाठक समीक्षक तथा समालोचकहरूको नवीन पाठकीय, समीक्षा र समालोचकीय दृष्टिकोणको अपेक्षा गरेको छ। परम्परामा यो स्वयं छैन त्यसैले परम्परावादी दृष्टिकोणले यसलाई पढ्नु-बुझ्नु र केलाउनु भन्दा केही नयाँ मापदण्डहरूको खाँचो यसलाई परेको छ भन्ने बुझिदिनु पर्छ।
खासगरी असम गोहाटी र शिलाङको सामाजिक प्राकृतिक र प्रशासनिक परिवेशमा उभिएको यो कृतिमा तर देश विदेशको राजनीतिक विभाजनले प्रभाव पारेको छैन। के नेपाल, के भारत दुवैका लागि यो कृति उत्तिकै महत्वपूर्ण छ। साहित्य र संस्कृतिले राज्यका सीमानाको दशगजा मान्दैन भन्ने एउटा बलियो प्रमाण त यो कृति छँदैछ अझ आजभोलिको बहुसंस्कृतिमूलक समाज अथवा साँस्कृतिक बहुलतावादको प्रभावमा समेत यो छ भन्ने कुरा मान्न यसले कर लगाउँछ असम र गुवाहाटीको एक शतकको जनजीवनको छाँया छवि यस कृतिमा झल्केको छ। नेपालको सामाजिक र राजनीतिक तत्कालीन अवस्थाको चित्रण पनि उत्तिकै टड्कारो छ एउटा असमबासीको हैसियतले त्यस प्रान्तमा बारम्बार हुने गरेका विगत केही वर्ष यताका सम्प्रदायिक दङ्गाको कारणले भइरहेका विभाजनका र समय-समयमा हुने गरेको केन्द्रिय प्रशासनिक हस्तक्षेप र कडा निगरानीका विषयमा लेखक लीलबहादुर क्षत्रीलाई एक प्रकारको ग्लानी महसुस भइरहेको जस्तो लाग्दछ। जुन जातिसँग आपसी सौहाद्र्रताको एउटा निष्कलङ्क इतिहास थियो, जुन जातिका प्रकृतिप्रेमी गुणले भारतलाई सिंगार्न रमाउने प्रकृतिसँग तादात्म्यता स्थापित भई भारतको गौरव बढाउन मद्दत गरेको थियो, जुन जातिमा सजातीय र विजातीय सद्भाव तथा सहयोगको उदारताले उच्च चर्चा पाएको थियो तर त्यही जातिमा आज आपसी विद्वेष र वैमनस्य व्याप्त भएको कारणले आसामको अस्तित्व खतरामुक्त नरहेको र बारम्बार केन्द्र प्रशासनिक निगरानीमा रहनु पर्दाको र स्वायत्त शासनाधिकार गुमाउनु पर्दाको तीतो अनुभव पनि लेखकले गरेको कुरा कृतिमा पाइन्छ। यो एउटा उच्च बौद्धिक स्तरको असल नागरिकले गर्ने अनुभव हो। प्रत्यक्षतः प्रेमबहादुर क्षत्रीको जीवन कथा लेखिरहेको लेखकले यसरी चतुर्दिक दृष्टि राखी देश, काल परिस्थिति र विश्व व्यथाको एउटा सानो चोइटाको रूपमा देखिएको असम विभाजन र साम्प्रदायिक तथा जातिय विद्वेषको प्रसङ्गले ल्याएको आतङ्ककारी प्रलयको संकेतलाई बुज्रुक पाठकले अवश्य नै बुझ्दछ। यसले विश्वव्यापी रूपमा फैलिने भावी आतङ्कको सानो उदाहरण पेश गरेको छ असममा 1960 सन् मा भाषा आन्दोलन हुँदा मच्चिएको साम्प्रदायिक दङ्गा, युगौं देखिको हिन्द-चिन भाइ-भाइको भावना एकाएक 1962 सन् देखि हिन्द-चिन बाइ बाइमा परिणत हुँदाको स्थिति, असमी छात्रहरूको “अमार जुई जलिसे जलिसे’ भन्दै 1965/66 देखि सल्काएको राँकोले डडाएका गैर असमेहरूका घर गोठ र झुपडीहरूको वीभत्स रुप र हिंसा हत्याको अनन्त श्रृङ्खला, वहिरागत वहिष्कारले ल्याएको “प्रतिवन्धित इलाका अनुमति पत्र’ (आर.ए.पी.) को कारणले नेपालीमाथि भएको दुर्दान्त दमन, सर्वत्र आपसी शंका र विश्वासको संकटले निम्त्याएको सामाजिक अस्थिरता र सम्भावित आतंकको कालो छायाँले असमलाई सात जिल्लाहरूमा विभक्त गरिसक्ता पनि शान्ति र चैनको सास फेर्न पाइने स्थिति नपाएर लेखक लीलबहादुर क्षत्री अत्यन्त चिन्तित हुनुहुन्छ। आतंकवादको यो दीर्घ रोग र विभाजनको पीडाले विश्वमानवलाई नै आक्रान्त बनाइरहेको यो एक्काइसौं शताब्दीको प्रवेशद्वारमा आलो रगतसँग मुछिएर बनेको पदचापले प्रत्येक परिवारलाई आफ्नै धुरीमुनि पनि आफूमै सशंकित र त्रसित बनाइरहेको छ। इराक, अफगानीस्थान, अमेरिका, पाकिस्तान मात्र होइन यो अभिशप्त एकाइसौं शताब्दीले के भारत के नेपाल संसारका शान्त र मौन देशका कुना कुनामा आतंकको वीजारोपण गरेको छ र आपसी विद्वेश र द्वन्द्वका विष वृक्षहरू हुर्काइरहेको छ। यो अवस्थाको संकेत र पूर्वजानकारी स्वरूप उपरोक्त दङ्गाहरूको वर्णन गर्दै लेखकले प्रत्येक पाठकलाई सतर्क हुन सुझाव दिएका छन्। असममे र नेपाली मात्र होइन विश्वका प्रत्येक मानवले यस्ता सुझावहरू समयमा नै पाउनु पर्ने आशा गरेका बेला यो पुस्तकले पाठकको त्यो आशा पुरा गरिदिएको छ। यसका लागि पाठक ऋणी भएका छौं। यस मानेमा यो कृति अरू भाषामा (खासगरी अंग्रेजीमा) समेत अनुवाद गर्नु पर्ने देखिन्छ।
जीवनका भोगाइहरूलाई यो कृतिमा दार्शनिक ढङ्गले पनि (कतिको) बयान गरिएको छ। जीवनमा जति दुःख कष्ट, पीडा, उत्पीडन र दमनहरूको शिकार हुनु परे पनि त्यसको दोष अरूलाई नथोपरिकन हाम्रा पूर्वाचार्यहरूले बताएकै विचारहरू अनुसार बडो सहनशील भई सहनु पर्ने आदर्श यो कृतिले अनुशरण गरेको छ। जीवनलाई पूर्वीय दृष्टिकोणले पर्गेल्ने विश्वासमा गरिएको लेखनले उत्तर आधुनिक जीवन चिन्तनलाई समेत प्रस्तुत गर्ने क्षमता राख्तछ। उत्तर आधुनिक जीवन शैली, चिन्तन र बोधको विषयमा यो एक्काइसौं शताब्दीको साहित्यले केही न केही प्रकाश पार्न पर्ने अपेक्षा राखेको हुन्छ। विश्व साहित्यमा देखा परिरहेको नित्य नवीन परिवर्तनको चक्रमा स्पष्ट दृष्टिगोचर हुने विविध रङ्ग-तरङ्गहरू मध्ये परम्पराले खडा गरेको मजबुत किल्लालाई तहस-नहस हुनेगरी तोड्नु र त्यहाँ नयाँ किल्ला खडा गरी त्यसभित्र नयाँ स्वेच्छानुसार वीजारोपण गर्नु एउटा मानिन्छ। यो स्वेच्छाचारी बीजभित्र पनि ज्ञात अज्ञात अनेकौ प्रवृत्तिगत सीमा रेखाहरू अङकित भएका पाइन्छन्। तिनमा मुख्यरूपमा कुनै परम्परारोपित अर्थगत रुढताबाट मुक्ति खोजिरहेको चेतना रचनामा सल्बलाएको हुनुपर्छ। यसरी नै लैङ्गिक विभेद होइन लैङ्गिक समानताको आग्रह हुनुपर्दछ। आर्थिक रूपले गरिने वर्ग विभेदका आलाप गाउनु भन्दा मानव मात्रको उन्मुक्त चिन्तनको स्तरलाई पक्रेर समान चिन्तन योग्यताको अधिकार प्राप्त गर्ने र अघि बढ्न पाउने चेतनाको सम्वहन गर्ने शब्द सामर्थ्य रचनामा हुनुपर्छ। क्लासिकल विज्ञानमा र यो भौगोलिक पिण्डको अहोरात्रको समयमा भन्दा आधुनिक विज्ञान र स्पेशटाइममा उक्लेर सोच्ने प्रवृत्तिको विकास गर्ने तर्फ साहित्य उन्मुख हुनुपर्ने आग्रह अबको रचनामा हुनुपर्छ। यस्ता रचनाहरू अर्थहीनताको अर्थमा पनि केही अर्थको संवहन गरिरहेकै हुन्छन् भन्ने जस्ता कुराहरूमा अहिले विश्व साहित्यमा आइरहेको नयाँ धार उत्तरआधुनिक चिन्तन धारको नाममा चलिरहेको लेखनमा छ। हाम्रा पूर्वीय जीवन दर्शनका धेरै आधारभूत तथ्यहरू उत्तरआधुनिक साहित्यिक धारले अवलम्बन गर्न अग्रसर भइरहेको अवस्था छ। यस्तो अवस्थामा लीलबहादुर क्षत्रीको यो कृतिमा जीवन भोगाइका अनुभवहरूको प्रस्तुति जसरी भएको छ, त्यसको मूल्याङ्कन गर्दा उत्तर आधुनिक धारको साहित्यिक चिन्तनबाट यो अभिप्रेरित छ भन्न हिचकिचाउनु पर्दैन। यता नेपाली साहित्यमा लीलालेखनको नाममा उक्त प्रवृत्ति भित्रिएको छ। यो नामसँग जोड्दा यो कृति लीलालेखन अन्तर्गत र लीलालेखनपरक साहित्यिक धारमा खडा भएको भन्न पनि अप्ठ्यारो मान्ने स्थिति देखिंदैन। जीवनमा आउने सुख दुःखहरू कति आफ्ना काबु बाहिरका परिस्थितिले निम्त्याएकाहरू हुन्छन् र कति आफ्नै कारणले सिर्जिएका हुन्छन्। सबै प्रकारका दुःख, सुख, चिन्ता, रोग, भय, आतङ्कहरूको एकलौटी आक्रमण मानिसलाई भइरहन्छ ती सबसँग विचलित नभइकन निश्चित लक्ष्यले अग्रगामी चिन्तनलिई अघि बढ्नु मानवीयता हो। यो कृतिको नायक चरित्र प्रेमबहादुर क्षत्रीको जीवन सम्बन्धी चिन्तनको समग्रमा यही निचोड निकाल्न सकिन्छ। यो चिन्तन लीलबहादुर क्षत्रीको कलमबाट निसृत भएको हुनाले उहाँको साहित्यिक चिन्तनले उत्तर आधुनिक धारमा समाहित भई आफ्ना तरङ्गहरू र छालहरू फैलाएको कुरा साबित भएको छ।
तुलनात्मक दृष्टिमा समीक्षकृति
नेपाली आख्यानको इतिहासमा अहिलेसम्म “प्रतिध्वनिहरू-विस्मृतिका’ जस्ता इतिहासमा आधारित र जीवित पात्रहरू प्रयोग गरी लेखिएका उपन्यासहरू कम्तिनै छन्। राणादरवारभित्रका रहस्यमय जीवन पद्धतिलाई सर्वसाधारणका लागि खुलासा पारिदिने डायमण्ड शमशेरका उपन्यासहरू निकै रुचिका साथ नेपाली पाठकले मात्र होइन अन्तर्राष्ट्रिय भाषामा अनुवाद गरी गैर नेपाली पाठकहरूले पनि पढेका हुन्। निरक्षरहरूका लागि हेरेर बुझ्न फिल्मिकरण पनि केही भएका छन्। इतिहासले रूखो ढङ्गले गरेको तथ्यवद्ध बयानमा मानवीय जीवनको संवेदनात्मक पक्ष एकदमै नहुने हुनाले र साहित्यिक कलामा त्यसले प्राण पाउने, रूप पाउने, सजावट पाउने र संवेदना साटासाट गर्न पाउने अधिकारिकता प्राप्त गर्ने हुनाले इतिहासलाई साहित्यमा धेरै रुचिसाथ पढिन्छ। त्यसमा पनि राणा खानदानको र चरित्रको रहस्योद्घाटन गरिएको हुनाले सर्वसाधारण मानिसका लागि त्यो असामान्य जीवनशैली र चरित्रले धेरै आश्चर्यचकित पारेको हुनाले “सेतो बाघ’ “बसन्ती’ जस्ता उपन्यासहरू धेरै पाठकहरूले रुचिसाथ पढेका हुन्। औपन्यासिक कला पनि राम्ररी सजाइएको हुनाले राम्रै लोकप्रियता पाएका डाइमण्ड शमशेरका कृतिहरूमा र लीलबहादुर क्षत्रीको यो “प्रतिध्वनिहरू विस्मृतिका’ कृतिमा इतिहासका तथ्यहरूलाई उद्घाटित गर्ने र पात्रहरूका चरित्रहरूको वर्णन गर्ने शैली केही फरक छ। संरचनात्मक आधारमा नै पनि फरक संरचना पद्धति अँगालेका यो कृतिमा व्यक्तिगत जीवनको भन्दा राष्ट्रिय ऐतिहासिक घटनाहरूको उल्लेखमा विशिष्ट औपन्यासिक कलाको उपस्थिति दृष्टिगोचर हुन्छ। यसमा असाधारण जीवन चरित्रको श्रङ्खलाबद्ध दैनिन्दिनी तयार छैन। यसमा सम्भ्रान्तता र मदोन्मत्तताले निम्त्याएका अपराध र यौनदुराचारहरू छैनन्। गरिवी र उत्पिडनाले निम्त्याएका अपराधहरू छन् र सहृदयता र सद्भावपूर्ण जीवनका कथा छन्। विधि र परिस्थितिले बाध्यतापूर्वक थोपरेको विडम्बनापूर्ण गतिविधिहरूको बयान छन् यसमा नायकीय सर्वश्रेष्ठता र नायककेन्द्री कथा र इतिहास मात्र छैन। यसमा एउटा परिवार परिवेश मात्र छैन। अनेकौं सर्वसाधारण चरित्रहरू समाजका सदस्यहरू नै छन्। यथार्थतासँग लपक्क मिलेको साहित्यिक कलाको उपस्थितिले सबैलाई आ-आफ्नै कथा भनिरहे जस्तै आभाष दिन्छ। यसको परिवेश पनि एक परिवारीय मात्र नभई सामाजिक र देश विदेशका विभिन्न क्षेत्रगत आधारमा खडा भएको कारणले डायमण्ड शमशेर राणा र लीलबहादुर क्षत्रीका कृतिमा उत्तिकै ऐतिहासिक र संस्मरणात्मक औपन्यासिक कला हुँदाहुँदै पनि केही फरक विशेषताहरू पनि पाइन्छन्।
विषेश्वरप्रसाद कोइरालाको “आफ्नो कथा’, “आत्मवृत्तान्त’, “जेलजर्नल’, आदिमा भएको रचनाधर्मिता कथानकता, शिल्पशैली र विशेषताहरूसँग केही सूक्ष्म ढङ्गले मात्र यो “प्रतिध्वनिहरू-विस्मृतिका’ ले समतुल्यता राख्तछ। आत्मनायकत्वबाहेक अरू प्रसङ्गमा यी कृतिहरूसँग तुलना गर्ने ठाउँ राष्ट्रिय ऐतिहासिक तथ्यहरूसँग आफूलाई जोड्नु पनि हो। यो कृतिले अँगालेको आत्मकथात्मक र संस्मरणात्मक शैलीसँग मिल्दो कृति गत साल (2060 साल) प्रकाशित भएको कृष्ण धरावासीको “आधाबाटो’ देखिएको छ। यसको भूमिकास्वरूप यस कृतिबारे उनले केही लेखेका पनि छन्। त्यहाँ समाजका आवश्यक यावत सदस्यलाई उपन्यासको पात्र बनाएर लेख्नु, आफूलाई नायक बनाउनु, साँच्चै नै घटेका घटनाहरूलाई उल्लेख गर्नु र तिनमा आफ्नो र तत्पात्रहरूको संलग्नताबारे बयान गर्नु एउटा ठूलो जोखिमको काम हुन सक्ने कुरा थियो भनेर उनले उल्लेख गरेका छन्। “उपन्यासमा उल्लेख गरिएका नामहरू र घटनाहरू यदि कसैसँग मिल्न गएमा त्यो संयोगमात्र हुनेछ’ भन्ने गरिएको एउटा परम्पराको पर्खाललाई धराशायी बनाएर सबै पात्र र घटना समाजबाट नै लिएर तर त्यसलाई औपन्यासिक कलाले सिंगारेपछि त्यो उपन्यास मानिने हुन सक्तोरहेछ भन्ने मान्यता स्थापना भएकोमा आफूले अपनाएको खतरापूर्ण शैली खतरामुक्त नै रहेछ भनी आश्वस्त हुन पाएको कुरा पनि उल्लेख गरेका छन्। लीलबहादुर क्षत्रीले पनि आफ्नो कृति “उपन्यास बन्यो कि जीवनी, वा संस्मरण वा इतिहास वा कुनै वकम्फुसे गफ – म आफैं खुट्याउन सकिरहेको छैन’ भन्नु भएको छ। तर उपन्यासकै रूपमा यसले नवीनता प्रदान गरेको छ।
“प्रतिध्वनिहरू-विस्मृतिका’ र “आधाबाटो’ उपन्यासको संरचनात्मक शैली समतुल्य भए पनि अरू कति कुराहरूमा यी आ-आफ्नै ढङ्गका पनि छन्। पहिलोले इतिहास र अघिल्लो पुस्तालाई प्रमुखता दिएको छ भने दोरुाोले वर्तमानलाई र स्वयंलाई प्रमुखता दिएको छ। एउटा (पहिलो) पितृस्नेहको मधुर स्मृतिमा लेखिएको छ भने अर्को मातृस्नेह गुमेको पीडामा लेखिएको छ। पहिलो अलि व्यापक परिवेशमा खडा भएको छ भने दोस्रो प्रायः स्थानीय परिवेशमा सीमित हुन खोजेको छ। एउटा केही परकेन्द्री भावनामा पनि सचेष्ट देखिन्छ भने अर्को आत्मकेन्द्री ब्याख्यानमा रमाएको पाइन्छ। एउटामा श्रृख्लाबद्ध र समयाबद्ध घटनाहरूको क्रमिक बयान पाइँदैन भने अर्कोमा समयसँगै आएका घटनाहरूको श्रृङ्खलाबद्ध बयान पाइन्छ। पहिलोमा आफू निमित्त मात्र भएको अन्दाजमा लेखक उभिएका पाइन्छन् भने दोरुाोमा लेखक स्वयभूको भूमिकामा भएको पाइन्छन्। तर दुवै उपन्यासले दिएको चुनौती एउटै छ – दुवैमा समाजका सर्वसाधारणदेखि राजनेताहरू सम्मलाई पात्रको भूमिकामा लिइएको छ। दुवैले यथार्थ तथ्यगत इतिहासलाई आधार बनाएका छन्। दुवै प्रामाणिकताको वकालत गर्छन्। दुवैले पारिवारिक सुखदुःखलाई देशीय र प्रान्तीय बनाउने चेष्टा गरेका छन्। दुवैले “कसैको जीवनसँग यो कथा मिल्न गएमा संयोग मात्र हुनेछ’ भन्ने भनाईलाई “समाजमा त्यो गतिविधिको चरित्र र पात्र नभएमा वा त्यो भूमिकामा व्यक्ति नभएमा अनि वर्णित घटनाहरू इतिहासेतर भएमा चाहिं संयोग मात्र मान्नु पर्ने’ दावी गरेका छन्। सामाजिक यथार्थताको यति स्पष्ट अभिव्यक्ति दिन र साहित्यलाई सबैको साझा बनाउनलाई सबैलाई पात्र बनाउन सबैको आफ्नै कथासँग कथा मिल्नु पर्ने आवश्यकता हुँदोरहेछ। आफ्नो नाम र कामलाई कसैले कहीं उल्लेख गरिदेओस् भन्ने चाहाना पनि सबैमा हुँदोरहेछ क्यार र नै प्राय लीलबहादुर क्षत्री र कृष्ण धरावासीको लेखाइले लोकप्रियता प्राप्त गरेका हुन् कि भन्ने अन्दाज लगाउन पनि आपत्ति छैन। साँच्चै नै अब साहित्य सिङ्गो समाजलाई पात्र बनाएर लेख्नुपर्छ, प्रतिनिधि पात्रले अथवा छद्मनामले अथवा लेखकेच्छित कल्पित पात्रले अबको साहित्यमा प्रयुक्त भएर पाठकलाई सन्तुष्ट हुने वा स्पष्ट पार्ने भूमिकामा सफल होला वा लेखकले उसको सफल चित्रण गर्न सक्ला र आजका समाजको यथार्थता प्रष्टयाउन सक्ला भन्ने आशा कम्ति नै गर्न सकिन्छ। अब लेखकले परोक्षमा बसेर अपरिचित भएर, कुराचवाएर आफ्नो लौकिक आवरूले आफूलाई ढाकिराखेर हुँदैन, आफू स्वयं एक पात्र भएर प्रत्यक्षरूपमा परिस्थितिको सामना गरिरहेको अवस्थामा लेखक हुनुपर्छ। लेखक पण्डित्याई छाँट्ने र पाठक अवाक् (सुनिरहने) पढिरहने हुन सक्तैन। पाठक र लेखकको हैसियत एउटै हो, उपन्यासको पात्र र समाजको सदस्य एउटै हो। सोझो व्यक्तिनिष्ठ र वस्तु (यथार्थ) निष्ठ लेखन नै आजको सम-सामयिकतासँग प्रतिस्पर्धा गर्न सक्छ। आजको समाज आधुनिक मात्र छैन, आजको समाजले वर्तमान मात्र बाँचेर हुँदैन, आजको समाजले समयको यो चौविसी चक्करभित्र मात्र रूमलिएर हुँदैन। अबको समाजले उत्तर आधुनिक समाजको चिन्तन बिन्दु र यसको प्रकाशक साहित्य संरचित हुने आशा लिएको हुन्छ। आजको समाजले स्पेशलाइफ बाँच्ने परिकल्पना गरिरहेको छ लेखकले पनि समाज र समयलाई समाउन सक्नु पर्छ। व्यक्तिसँग समय समाप्त हुने होइन नत सम्पूर्ण समाज नै समाप्त हुन्छ। समय र समाज अखण्डित र अनन्त छन्। यी भावमा तिरोहित भएर अबको लेखकले व्यष्टि र समष्टीलाई पर्गेल्न सक्नु पर्छ। एक अर्कालाई परस्पर द्वन्द्वमा मुछ्ने गरी होइन समग्रको आत्मीय भावमा अबको साहित्य लेखिनु पर्छ उपरोक्त दुइ कृतिले समग्रका आत्मीय भावमा सिर्जना हुने साहित्यको स्वरूपलाई प्रष्ट पारेका छन्। एक-अर्का प्रतिको विद्वेष र द्वन्द्वलाई बिर्सेर एक अर्काप्रति सौहार्द र सदा सहयोगी रहने भावनालाई उत्खनन् गर्ने प्रयासमा कलमलाई कुदाएका छन्। दुवैले आफूलाई समष्टीसँग बडो कुशलतासाथ एकाकार गराएका छन् कसैले आफ्नो भूमिकामाथि औलो ठड्याउन र लेखकलाई सवाल गर्न सकेका छैनन्। समाज चित्रणको यो यथार्थता सँगको खेलले नै दुवै लेखकलाई बडो रसहस्यमय साहित्यिक खेलाडी बनाएको छ।
यो सञ्चार माध्यमको सञ्जालले साँगुरो पारेको विश्व ब्रह्माण्डको अब कुनै आकार र स्थुलता छैन। एक बिन्दुसरह मात्र यसको अस्तित्व बाँकी छ। हामी यही सञ्जालमा बेह्यिएका तर पिण्डीय अस्तित्वले प्रभावित, अझसम्म स्पेसमा उठेर हाम्रा पूर्वाचार्यहरूले झैं सोच्न लेख्न र तदनुरूप चिन्तनको विकास गर्न बाँकी नै भएका, नसकिरहेको अवस्थाका मानिसहरू साहित्यको झिनो सहयोग अपेक्षा गरिरहेका हुन्छौं। जीवनको, निस्तार खोज्ने, आफ्नो दुःख अरूलाई सुनाएर केही हलुङ्गो महसुस गर्ने, जीवन बाँच्ने संघर्षमय प्रतिस्पर्धाका क्षणहरूमा भएका टक्कर र लागेका ठक्करहरूले अरूलाई पुऱ्याएको दुःखप्रति सानुनय क्षमायाचना गर्न चाहने र अन्त्यमा प्रायश्चित गरेको सुखानुभूति लिई भगवानको प्यारो हुन चाहने हाम्रो भावनानुकुल उक्त कृतिहरूको दृष्टिकोण र प्रयोग पाएर पनि शायद यिनले हाम्रो मन जित्न सफल भएका होलान्। र जति जति जीवन मृत्युको समिप हुँदै जान्छ उति उति हाम्रा भावना र अभिव्यक्तिहरूमा उदारता र क्षमाशीलता प्रकट हुँदै जान्छ। आफ्ना जीवनका सम्पूर्ण रहस्यहरूलाई सबैका सामुन्नेमा खोलिदिन सकियो भने आफ्नो नितान्त निजी भन्ने कुनै पनि वस्तु र भावनाको भारी अरूले नै बोकिदिएका छन्जस्तो लाग्ने र आफूलाई हलुङ्गो अनुभव हुने कुरा शायद मानिस वृद्धत्वतिर लम्कँदै गर्दा केही उदार र क्षमाशील बनाउने मनोवैज्ञानिक प्रभावतिर डोऱ्याइँदैरहेकोले होला। लीलबहादुर क्षत्रीका लेखाइमा पाइने सर्वाधिक प्रभावकारी तत्व उहाँका जीवन भोगाइका ढिक्का अनुभवहरू हुन्। जीवन सजिलो र खुकुलो अनुभव गर्न राग-द्वेषहीन अनुभूतिहरू अव्यक्त रूपमा नै मानिसमा प्रवाहित भइरहेका हुन्छन्। यो अव्यक्ततालाई अव्यक्त रूप दिन सक्ने क्षमतावान साहित्यिक श्रष्टाहरू मध्ये लीलबहादुर क्षत्री र कृष्ण धरावासी हुनु भएको छ। आफ्ना दृष्टिकोणहरू यसरी गीता दर्शनतिर झुकेका र तदनुरूप साहित्यमा उतार्न सफल भएका हुनाले यी दुवै साहित्यकारहरूका कृतिहरूमा समुतुल्यता पाइएको हुनसक्छ। सांसारिक व्यवहारमा हुने राग-द्वेष, लोभ, पाप, मोह-माया, आदि विकारहरूभन्दा माथि उठेपछि यो ब्राहृ पिण्डीय समयको चौविसी चक्करबाट पनि माथि उठिन्छ र अनन्तताको बोध भएपछि जीवनलाई यस्तो उदार र लीलावन्त दृष्टिले अध्ययन गरिन्छ। लीलबहादुर क्षत्रीका “प्रतिध्वनिहरू-विस्मृतिका’ कृतिबाट यी उद्धरणहरू हेरौं – “यो जीवन नाटकको न आउने सम्पूर्ण पटकथा थाहा छ, न निर्देशकको अग्रिम निर्देशन केही स्पष्ट छ।’ “कसैले छोरा-छोरी पाएका छन् भने कतिपयले मोरामोरी पाएका छन् बाबू यो संसाररूपी नाट्यशालामा।’
“यो जीवन एउटा चक्र रहेछ बाबू। आखिर कुनै अज्ञात ठाउँबाट आकार खोज्दै आमाको कोखबाट निस्की भुँइमा एकदिन फ्यात्त पल्टन पुगेको थिएँ। त्यहाँदेखि यता कति फन्को मारिसकियो कति चाक्लो कावा साइसकियो।’ अन्त्यमा यो मोटो कलेवरको कृति पढेर लीलबहादुरलाई र भारतीय नेपालीलाई उपर्युल्लिखित ढह्गले चिन्न पाएर लेखकप्रति पाठक अनुगृहित हुनेछन् भन्नु पर्छ र अझ बढी भारतीय नेपाली साहित्य उत्कृष्टतातिर उक्लन सफल भएकोमा गौरव गर्नु पर्छ।
शनिश्चरे, झापा, नेपाल
रचनाकाल वि.सं. 2061
▬
इतिहास बनिसक्नु भएका लीलबहादुर सर
◙ डम्बर दाहाल
लीलबहादुर सर अब इतिहास बनिसक्नु भएको छ भन्दा अतिरञ्जित भने जस्तो लाग्न छाडेको छ मलाई। किनभने असमदेखि बाहिर जाँदा विशेष गरी नेपाल जाँदा उहाँ प्रचार-माध्यमको केन्द्र-बिन्दु बन्नु हुन्छ। एकदिन कृष्ण धरावासीको घरमा “कान्तिपुर’ दैनिक समाचारपत्रको एक विशेष पृष्ठ नै लीलबहादुर सरका बारेमा पढ्न पाउँदा हर्षले गद्गद् भएको थिएँ। विभिन्न कोणबाटलिएका तस्वीरहरू देख्न पाउँदा उहाँलाई नै भेटेको जस्तो लागेको थियो मलाई। उतातिर जहाँ जाँदा पनि उहाँलाई मान्छेहरूले घेरिराख्छन्। अघाउञ्जेल हेर्छन् छेउबाटै उहाँलाई। अघाउँजी बात मार्छन् उहाँसित। जताततै आग्रह हुन्छ उहाँको चरणधूलिको। किनभने उहाँ हुनुहुन्छ बहुचर्चित र बहुप्रतिष्ठित साहित्य-कृति “बसाइँ’का रुाष्टा। नेपाली मात्रको ढुकढुकी “बसाइँ’ का लेखकलाई अझै देख्न पाउँदैछौं, उहाँसित बोल्न पाउँदैछौं भनेर छाती ढक्क फुलाउँछन् उताका मानिसहरू। उताका मानिसका मानस-पटमा “बसाइँ’ले नै सबैभन्दा गहिरो जरा गाडेको छ। “बसाइँ’ बारे कमल दीक्षितले लेखेका चिठीहरू र स्वयं लीलबहादुर सरले “बसाइँ’ को प्रकाशनबारे लेखेका चिठीहरू अब चिठी मात्र भएर रहेका छैनन्। ती भएका छन् अब नेपाली साहित्यका ऐतिहासिक दस्तावेजहरू। पूर्वाञ्चलको पहिलो पूर्णाङ्ग नेपाली उपन्यासको रूपमा “बसाइँ’ जस्तो उत्कृष्ट उपन्यास दिएर लीलबहादुर सरले पूर्वाञ्चललाई नै गौरवान्वित पार्नुभएको त छ नै, त्यसमाथि पनि पूर्वाञ्चलबाट सर्वप्रथम साहित्य अकादमी र भानु पुरस्कार थापेर इतिहासै त बन्नु भएको छ नि।
लीलबहादुर सरका बारेमा धेरै कुराहरू गहिरिएर सोच्दै ल्याउँदा श्रद्धाले शिर झुक्छ। कहिलेकाहीं उहाँलाई भेट्दा तीर्थ पुगेजस्तो लाग्छ। उहाँ हिंडेको देख्दा जीउँदो इतिहास हिंडेजस्तो लाग्छ। उहाँ बोलेको सुन्दा हाम्रै इतिहासको प्रवचन सुनेजस्तो लाग्छ। आजभन्दा केही वर्ष अघिसम्म म यस्तो कुरा लेख्न सक्ने थिइन। तर अब भने यस्तै धेरै कुराहरू लेख्न किन हो हुट्हुटी लाग्दैछ। अरूलाई झन् कति लागेको होला! “हाम्रोध्वनि’ ले उहाँको जन्म-वार्षिकीलाई उपलक्ष्यमा पारेर विशेष संयोजन नै प्रकाशित गरेर यसको सबूत पनि पेश गरिसकेको छ।
लीलबहादुर सरको कृतित्व र व्यक्तित्वका बारेमा पूर्वाञ्चलका पत्रपत्रिकाहरूमा यदाकदा चर्चा भए पनि पर्याप्त चर्चाहरू भएकै छैनन्। अब चाहिं हुनुपर्ने हो। शायद व्यापक चर्चाको शुरूवात गर्न “हाम्रोध्वनि’ले नै थालेको होला। उहाँको बारेमा विशेष गरी “ब्रह्मपुत्रका छेउछाउ’को असमीया अनुवाद पढेर एक-दुइजना असमीया लेखकहरूले असमीया पत्रपत्रिकामा चर्चा गरेको पढ्न पाइन्छ। तर हाम्रा लेखकहरूले असमीया समाजलाई उहाँको कृतित्व छर्लङ्ग हुने गरी असमीया लेखादि लेख्नुपर्ने हो। उहाँ असमेली नेपालीहरूका गौरव हुनुहुन्छ भन्ने कुरा उनीहरूलाई हामीले जान्न दिनु पर्ने हो। किनकि उहाँका बारेमा असमकै वरिष्ठ असमीया लेखकहरू अनभिज्ञ छन्। यहाँ त्यसको एउटै मात्रै उदाहरण दिन चाहन्छु म।
कुरा 24 जनवरी 2007 को हो। गुवाहाटी प्रेस क्लबमा एच.एम.एस. पब्लिकेशनद्वारा प्रकाशित केही पत्रपत्रिकाहरू विमोचन गर्ने कार्यक्रम थियो। नेपाली “सपरिवार’ विमोचन गर्न लीलबहादुर सरलाई बोलाइएको थियो भने असमीया “सपरिवार’ असम साहित्य सभाका पूर्व सभापति होमेन बरगोहाइँलाई। कार्यक्रम शुरू भएको थिएन्। म होमेन बरगोहाइँसित कुराकानीमा व्यस्त थिएँ। यतिकैमा हाम्रै अगाडिबाट लीलबहादुर सर पार भएर जानुभयो। सरले बरगोहाइँलाई देख्नु भएन। तर बरगोहाइँले राम्ररी ख्याल गर्नु भयो र उहाँलाई एक वचन पनि नलगाई गएको देखेर मेरो कानकै छेउमा आएर सोध्नुभयो –
“लीलबहादुर क्षत्री उहाँ नै हुनुहुन्छ होइन?’
“हो।’ मैले सहजरूपमै भने।
“मलाई चिन्नु भएन क्यार उहाँले!’
उहाँको गुनासोलाई शान्त पार्दै उहाँलाई मैले भने – “उहाँले तपाईंलाई किन नचिन्नु? हलभित्र पस्नेबित्तिकै धेरै मान्छे एकैचोटि देख्दा उहाँ अलमलिनु भयो निश्चय।’
उहाँले मलाई पुनः सोध्नु भयो – उहाँ कहाँ, के गर्नुहुन्छ, कहाँ बस्नुहुन्छ – आदि। मैले सबैथोक बताइदिएँ। यो पनि थपिदिएँ कि नेपाली साहित्यको सबैभन्दा अधिक संस्करण निस्किएको उपन्यास पनि उहाँकै हो। नाम हो “बसाइँ’।
“कतिवटा संस्करण निस्क्यो?’
एकतीसौं। मेरो मुखबाट स्वतः निस्क्यो। तर यो शब्दले तत्कालै मलाई नै पिऱ्यो। हाम्रो लेखकलाई ठूलो देखाउने भएर यो तथ्य त भनें तर हो कि होइन। एकछिन पछि फेरि आफै चित्त बुझाएँ। किनभने यो तथ्य मैले कहीं न कहीं त भेटेकै हुँ। पाप नलाग्ला नै।
“एकतीसौं संस्करण?’ भन्दै बरगोहाइँले हलको पल्लो छेउमा बस्नु भएको लीलबहादुर सरतिर पुलुक्क हेर्नुभयो। मैले मनमनै गौरवबोध त गरें त्यसरी हेर्दा। तर अर्को एउटा कुराले मेरो छाती चस्चस् घोच्न थाल्यो। त्यो के भने – एउटै महानगरीमा बस्ने दुइ भाषाका दुइ महान साहित्यिक महारथीबीचको सम्पर्कमा यत्रो व्यवधान कसरी? बरगोहाइँले हाम्रा लीलबहादुर सर के जागीर गर्नुहुन्थ्यो, कहाँनेर बस्नुहुन्छ त्यति पनि नजानेको? मनमा धेरै धेरै प्रश्न एकाएक उब्जिन थाले। फेरि यसका अनेक कारणहरू मनमा पौरिन थाले। मनले ठान्यो -उहाँले असमीयामा नलेख्नु, असमीया साहित्यकारहरूसित प्रशस्त घुलमिल नगर्नु, हामीले उहाँबारे प्रतिष्ठित असमीया पत्रपत्रिकामा केही लेखी नदिनु, असमीयामा उहाँका बारेमा कुनै पुस्तक (जीवन परिचय) नलेखिनु, दुवै अत्यन्त व्यस्ततामा रहनु आदि-पक्कै यिनै कारणहरू होलान्।
उपेन्द्रनाथ बरकटकीले “विचित्र व्यक्तित्व’ नामक पुस्तकमा के.बी.नेपालीको व्यक्तित्वलाई पनि समावेश गरेका छन्। त्यो पुस्तक पढेपछि के.बी. नेपालीसित भेट गर्न आतुर हुनुहुन्थ्यो रे बरगोहाइँ। त्यसरी नै उहाँलगायत अरू साहित्यकारहरूलाई हाम्रा लीलबहादुर सरसित पनि भेट गर्न आतुर तुल्याउने उपाय हामीले सोच्नै पर्ने भयो अब। सरलाई अरूले राम्ररी चिन्दैनन् भन्ने गुनासोलाई एकछिन पर पन्छाएर हामीले चाहिं कति चिनेका छौं त भन्ने कुरालाई एकैछिन केलाएर हेर्ने हो भने पनि आङ जिरिङ्ग हुने स्थिति देखा पर्दछ।
लीलबहादुर सर यति सजिला हुनुहुन्छ कि जसले जहाँ बोलाए पनि गइदिनुहुन्छ। वक्तव्य राख्नुहुन्छ। कतिले सुनिदिन्छन् औपचारिकता पालन गर्नको निम्ति, कति बात मारिरहेका हुन्छन्, कति उँघिरहेका हुन्छन्, कति सांस्कृतिक कार्यक्रम हेर्नका लागि मात्रै त्यहाँ बसिरहेका हुन्छन्। उहाँको वक्तव्यलाई कसैले महत्व दिएका हुन्छन् कि हुँदैनन्, सन्देह हुन्छ। अँ, स्वागत समितिलाई भने धाक लडाउन सजिलो हुन्छ – यी देख्यौ? हामले लीलबहादुर क्षत्रीजस्ता प्रसिद्ध साहित्यकारलाई बोलाएर ल्यायौं। उहाँसित हाम्रो राम्रो परिचय छ। हामीले बोलाएपछि उहाँ खुरूक्क आइहाल्नु हुन्छ। बस उहाँसित हाम्रो परिचय, सम्पर्क र कर्तव्य यत्ति नै हो। त्यसपछि न कसैलाई उहाँको खबर लिन फुर्सद छ न कयौंपल्ट गुवाहाटी जाँदा त्यो खोपभित्र छिरेर उहाँको घरसम्म पुग्ने सदिच्छा देखिन्छ।
गफगफमै सर आफ्नो प्रतिवेशी परिवेशले नराम्रो गरी सताइएको कुरा दुखका साथ पोख्नुहुन्छ। यस सन्दर्भमा एकैपल्ट सरकोमा आइपुगेका नेपालका एकजना लेखकले केही वर्षअघि “हाम्रोध्वनि’मा लेखेका पनि थिए। लीलबहादुर क्षत्रीजस्ता जातीय विभूतिको हेरचाह यही ठाउँका मानिसहरूले नै गर्नुपर्छ भन्ने आग्रह गरेका थिए। अर्काले यसरी होस् हालिदिंदा पनि हाम्रो जडतामा अलिकति पनि सुधार आएजस्तो लागेको छैन। जतिले उहाँप्रति चासो लिन्छन्, उहाँको क्षेत्रमा त्यो एकदमै नगण्य हो। प्रशस्त मानिसको आवतजावतले उहाँको धूमिल प्रतिवेशी परिवेशमा केही सुधार पनि ल्याउन सक्छ।
मेरा एकजना अत्यन्त प्रिय लेखकका हैसियतले कहिलेकाहीं गुवाहाटी जाँदा अलिकति समय उबारेर म उहाँकोमा पस्ने गर्छु। हरेकचोटि त सम्भव हुँदैन नै, तैपनि गएका बेला उहाँका गफ मज्जले सुनिदिन्छु। कति अभियोग गर्छन् – “लीलबहादुर आफ्ना मात्रै कुरा गर्नुहुन्छ के सुन्नु?’ म भन्छु – उहाँ अब जातिको जीवित इतिहास नै भइसक्नु भएको छ। इतिहासको किताबमा इतिहासकै कुरा त पाइन्छन् नि। हाम्रो इतिहास हामीले नै सुनी नदिए अरू कसले सुनिदेला त? सुन्नुमात्र होइन, भाषा, साहित्य, संस्कृति तथा अरू अनेक विषयका परिपक्व अनुभवहरू अब हामीले सुन्दै लेख्दै गए पनि हुन्छ। मैले ता अझ उहाँलाई निकै साल अघिदेखि आत्मजीवनी लेख्नोस् भन्दैछु। उहाँ भन्नुहुन्छ – “प्रतिध्वनिहरू विस्मृतिका’ मेरो आत्मजीवनी नै त हो नि। तर म मानेको छुइन। किनभने उहाँले त्यसलाई उपन्यास भन्नुभएको छ। उपन्यासमा कल्पना हुन्छ। लेखकीय जीवनका केही छापहरू पर्न गए पनि उपन्यास चोखो आत्मजीवनी हुन सक्दैन। त्यसैले एउटा चोखो आत्मजीवनी उहाँले लेखेकै हुनुपर्छ – यो हामी सबैको दाबी हो। आत्मजीवनी लेख्ने प्रक्रिया हाम्रा सबै प्रतिष्ठित एवं वयोवृद्ध लेखक, कलाकार, समाजसेवीहरूले शुरूवात गर्नुपर्ने हो जातिको निम्ति। एउटा जातिको अस्मिताको निम्ति महान व्यक्तिहरूको आत्मजीवनीले ठूलो महत्व राख्दछ। अर्काले लेखिदिएको जीवनीले कदापि यो खाँचो पूरा गर्न सक्दैन। डा. जनशनले भनेका छन् -Every man’s life may best be written by himself. मलाई लाग्छ – हाम्रा लीलबहादुर सरले अब लेख्नु भएको (लेख्नु भयो भने) आत्मजीवनी सारा नेपाली जगतले अँगाल्ने छ र त्यो कृति नेपाली साहित्यको श्रेष्ठ कृतिहरूमा गनिने छ।
सुनिन्छ, अन्याय भाषाका देशी तथा विदेशी प्रतिष्ठित लेखकहरूले किताब लेखेर राम्रो रोयल्टी पाएका हुन्छन्। ठाटसित महल बनाउँछन्, आफ्नै गाडी हुन्छ, ठूलो प्रतिष्ठा छ। तर हाम्रो समाजमा भने लीलबहादुर क्षत्रीजस्ता साहित्यका शीर्षव्यक्तिले कतै आमन्त्रित भएर जानुपर्दा पब्लिक बसको घुइँचोमा एक्लै लुखुर-लुखुर जानु पर्ने स्थिति छ। अरू भाषाका प्रतिष्ठित लेखकहरूका अघिपछि साथीहरू हुन्छन्। अधिवेशनहरूमा, सङ्गोष्ठीहरूमा, भानुजयन्तीहरूमा उहाँले आफ्नो किताब “खुबै राम्रो छ’ भन्दै बेच्दै हिंड्नु पर्ने स्थिति छ। यो भन्दा ठूलो विडम्बना अरू के हुन सक्छ हाम्रो निम्ति? हाम्रा लेखकहरूको यो स्थिति असममा मात्रै होइन, धेरथोर सबैतिर नै छ। यहाँनेर, विगत केही वर्षभित्र पढेका निबन्धहरूमध्ये मलाई श्रेष्ठ लागेको चन्द्रप्रसाद भट्टराई लिखित “कार र नेपाली साहित्यकार’ शीर्षक निबन्धबाट (मधुपर्क-असोज, 2063) एउटा छोटो प्रसङ्ग तान्न चाहन्छु।
एउटी पाश्चात्य लेकिकाले पपुवा न्यूगिनिमा निबन्धकार भट्टराईलाई सोधिन् –
“तपाईंको नेपाली भाषामा साहित्य लेख्ने मान्छेलाई के भन्छन्?’
निबन्धकारले सहजरूपमै भनिदिन्छन् – “साहित्यकार।’ अब उनी अन्योलमा पर्छिन् साहित्यसित यो “कार’ कसरी जोडिन पुग्यो भनेर। उनी सम्झिन्छिन् – शायद नेपाली साहित्यकारले प्रशस्त रोयल्टी पाउँछन्। उनीहरू मालदार हुन्छन्। सबैको एउटा एउटा कार हुन्छ। तर निबन्धकार नेपाली साहित्य कारहरूको “कार’सित सौतेलो सम्बन्ध दर्शाउँदै घुमाउरो पाराले भन्छन् – “जहाँ “कार’ भेला भएका हुन्छन् त्यहाँ साहित्यकार हुँदैनन् र जहाँ साहित्यकार भेला भएका हुन्छन् त्यहाँ तपार्इंले “कार’ देख्न पाउनुहुन्न।’ यसको मूल तात्पर्य बुझ्न लेखिकालाई गाह्रो पर्छ। उनले बाह्र-बहत्तर कुरा मनमा खेलाउँदा खेलाउँदै निबन्धकारले वास्तव कुरो बताइदिन्छन् – “नेपाली साहित्यकारसँग कार चढ्न पुग्ने धन कहिल्यै हुँदैन।’ उनी छक्क पर्छिन् र प्रश्न गर्छिन् – “उनीहरूले पाउने रोयल्टीचाहिं केको निम्ति साँच्तछन् त?’ अनि निबन्धकार मज्जले सम्झाउँछन् उनलाई कि नेपाली साहित्यकारहरूले रोयल्टी पाउँदैनन् भन्दा पनि हुन्छ। उनीहरू आफ्नै भाषामा लेख्छन्। आफ्नो भाषामा लेख्नुमा उनीहरूलाई गर्व लाग्छ। यो भाषाका पाठक अङ्ग्रेजी भाषाका जस्ता संसारभरि छैनन्। नेपाली पाठकको परिधि नेपाल, दार्जीलिङ, सिक्किम, आसाम बनारससम्म मात्र छ। त्यसमाथि पनि किनेर साहित्यिक किताब पढ्न सक्नेको सङ्ख्या एकदमै कम हुनाले धेरै प्रति छापिंदै छापिंदैनन्। धेरै प्रति बिक्री हुने भए पो धेरै छापिन्थ्यो, अनि लेखकले पनि रोयल्टी पाउँथे, अनि कार चढेर हिंड्न पाउने थिए। – यी कुराहरू सुनेपछि मात्र बिचरी गोरेनी दिदीको घैंटामा घाम लाग्छ। नेपाली साहित्यकारहरूको दयनीय रूप सम्झेर उनी निबन्धकारको अनुहारतिर ट्वाल्ल परेर हेरिरहन्छिन्। हाम्रो वास्तव स्थिति नै यस्तै छ। सरको पनि निश्चय किताब छाप्दा (आफूले छापेका) डुबेको लागत फर्केर आएको छैन। रोयल्टीको ता कुरै छाडौं।
अब हामीले लीलबहादुर सरलाई धेरै महत्व दिने समय आएको छ। उहाँका कृति हामी आफैले खोजेर किनिदिनुपर्छ, पढिदिनुपर्छ। उहाँले आफैं किताब बेच्दै हिंडेको देख्दा अब हामीलाई लाज लाग्नुपर्छ। उहाँको स्वास्थ्यको पनि अब हामीले ख्याल राख्दै गर्नुपर्छ। कहीं जाँदा वा निमन्त्रण गर्दा उहाँलाई साथ दिनुपर्छ एक्लै हिंडे्को राम्रो देखिंदैन। धेरै किताबहरूको भूमिका लेख्न लगाएर उहाँलाई उल्झनमा पार्नु पनि हुँदैन्। यसो गर्दा उहाँको मौलिक सृष्टिमा बाधा आउन सक्छ। शुभेच्छाहरू लेखिदिनु भनेको अलग कुरा हो। मेरो भन्नुको आशय हो बेला छँदै उहाँको महत्व बुझौं। प्रसिद्ध लेखक कृष्णप्रसाद पराजुली भन्छन् – “को कस्तो साहित्यकार हो, त्यसको पारख र कदर हुनुपर्छ। बाँचुञ्जेल साहित्यकारको महत्व नबुझ्ने र मरेपछि मात्र तिनका खाँचोको अनुभव गरी शोक, जयन्ती आदि मनाउने रोगले देशलाई उँभो लगाउन सक्दैन। यसैले जीवित छँदैदेखि तिनका पीर, मर्का र समस्या बुझ्ने तथा समाधान गर्ने बढी कर्तव्य, बानी र क्रियाकलाप सिर्जनुपर्छ। देश र समाजले यस तथ्यलाई बिर्सनु हुँदैन।’ (पन्ध्रतारा र नेपाली साहित्य-बाटः
अन्तमा, जनप्रिय लेखक लीलबहादुर सरको 77 औं जन्म वार्षिकीको शुभ अवसरमा उहाँप्रति हार्दिक श्रद्धा निवेदन गर्दै दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दछु।
हवाइपुर, कार्बिआङलङ
▬
हाम्रोध्वनिका अन्य पोष्टहरू :
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
